Basudev Adhikari – Test Tube Karkhana Ko Manager

वासुदेव अधिकारी – टेष्टट्युब कारखानको मेनेजर

ज्ञान छोप्न युरोप आएपछि
पैसा बटुल्न अमेरिका पुगेपछि
कहाँ रुने अवसर हुन्छ र अरबिन ?
तिम्रो साटो हामी नै रुन्छौँ
घाँस काट्दा औँलो काटिएको रन्कोमा
अभावको बाघसँग लडिरहनु पर्ने सुर्तामा

अहो !
त्यत्ति सफा शहर
हिउँको काँडालाई घोच्ने
भुवै भुवाको न्यानो
गर्ल फ्रेन्ड ब्वाइ फ्रेन्डको लर्को
टेष्टट्युब बेबीको आविष्कार
टेष्टट्युब उत्पादन गर्ने ठुलठुला कारखाना
अरबिन, तिमी नै त्यसको म्यानेजर
कति ब्यस्त तिमी ?
कहाँ छ र तिम्री मायालुलाई सन्तान पाउने मन ?
कति बज्र भएको हगि ?
सृष्टिको मलिलो माटो
ढुङ्गै ढुङ्गाको धरती
शिलै शिलाको आकृति
अरबिन, साँच्चै ब्यस्त छौ तिमी
टेष्टट्युब उत्पादन गर्न

चाङका चाङ पैसा गन्न
गाउँमा तिम्री बहिनी
तीनै बेतमै छ वटा बच्चा पाउँछे
सुत्केरी बहिनीलाई
न माछामासु न ज्वानाको झोल
जुम्ल्याहा भाञ्जा भाञ्जीलाई
न दूध न गतिलो स्याहार !
तिमी कोक्किन्छौ कि रुन्छौ
यस परिदृश्यमा ?
कि रुन लाज लागेर
भित्रभित्रै आँसु खसाल्छौ हृदयमा
तप तप तप …!
सधैँ हाँसिरहने तिमी
कि हाँसोमै वाष्पीकरण गर्छौ आँसुलाई ?
शित जस्तो !
बेथा मिसिएको गीत जस्तो !

– सोमबार, 26 जेठ, 2071