Chandani Shah – Aama Bhayera

चाँदनी शाह –  आमा भएर

आमा भएर बोकिहेर सन्तानका पीरहरू
आमा भएर बाँढिहेर सन्तानका खुसीहरू
आफ्नो लागि त सबै बाँच्दछन् यस लोकमा
अरूको लागि बाँचिहेर सन्ताप अनि दुःखमा

एकपल्ट नियाली हेर आमाका दुवै आँखामा
बुझ्न खोज त्यसमा लुकेका दुःख सुस्केराहरू
एक पल्ट अडेर हेर आमाको सङ्गलो मनमा
छुन सक त्यसमा उर्लेका माया ममताहरू

धर्ती भई एक चोटि सहिहेर अरुले कुल्चेको
आगो भई एक चोटि बलिहेर अरुले तापेको
आकास भई फैलाई हेर मायाको ओढ्ने
पवन बनेर फिजाई हेर स्नेहको बिच्छ्यौना

स्वर: तारादेवी
रचना: चाँदनी शाह

Chandani Shah – Ukali Orali Haru Ma

चाँदनी शाह – उकाली ओरालीहरुमा

उकाली ओरालीहरुमा भन्ज्याङ अनि चौतारीहरुमा
सुन्दर ती दहहरुमा हिमालका विशाल छातीहरुमा
जहाँ जहाँ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु
ती छहरा खोला खहरेहरुमा सम्झना बनी बगिरहन्छु
उकाली ओरालीहरुमा

तराइँका हरिया फाँटमा पहाडका तरेलीहरुमा २
हिमालका सुन्दर अनि विकट ती बस्ती बस्तीहरुमा
जहाँ जहाँ जान्छौ तिमी म बाटो बनी साथै आइरहन्छु
ती सुस्केरा थकाई सुसेलीहरुमा गीत बनी गुन्जिरहन्छु
उकाली ओरालीहरुमा

मुटु कमाउने जाडोहरुमा कपाल दुख्‍ने गर्मीहरुमा २
मन हर्ने सुन्दर दृश्य शान्त शीतल वातावरणमा
जहाँ जहाँ जान्छौ तिमी म आकाश बनी देखिरहन्छु
ती लेक बेसी अनि पाखाहरुमा पवन बनी भेटिरहन्छु
उकाली ओरालीहरुमा

स्वर : तारा देवी
शब्द : चाँदनी शाह

Chandani Shah – Timilai Hansera

चाँदनी शाह – तिमीलाई हाँसेर

तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें
आशु झरिसकेछन् (म तिनलाई पुछ्न थालें) २
तिमी मलाई छोडी गैसकेको मात्र के थियौ
तिमी फर्कने दिन (म हतारिदै गन्न लागें) २

(यो दुई दिनको विछोड पनि कति नमीठो
के बिर्सिए जस्तो हराए जस्तो नपुगे जस्तो) २
मान्छेको हुलबीच पनि शून्यपन कस्तो २
ताराहरुलाई छोडी चन्द्र लुकिदिए जस्तो

तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें
आशु झरिसकेछन् (म तिनलाई पुछ्न थालें) २
(यी दिन यी रातका हर पल नरमाइला
लाग्छ समय नै सुस्तिएर चलिदिए जस्तो) २
यी मीठा गीतका धुनका पनि कति झर्को लाग्दा २
फूल झरि काँडा मात्र बाँकी भइदिए जस्तो
तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें
आशु झरिसकेछन् (म तिनलाई पुछ्न थालें) २

स्वर : तारा देवी
शब्द : चाँदनी शाह

Manoj Kafle (Mansoon) – Tukriyera Feri (Nepali Gajal)

मनोज काफ्ले ‘मनसुन’ –  टुक्रिएर फेरी

टुक्रिएर फेरी आफै डोरिएका हातहरु
मुटुभरी पिडा सही घोरीएका रातहरु

छताछुल्ल पारिदिउकि जमघटमा रोइदिउ
जीवन भयो पातै पात सोरीएका खातहरु

सहिदिउला निधारमा कोरीएको Continue reading “Manoj Kafle (Mansoon) – Tukriyera Feri (Nepali Gajal)”

Rakesh Karki – Eklai Bolne Baani (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – एक्लै बोल्ने बानी (गजल)

एक्लै बोल्ने बानी हो की कोही एक्लै बोली दिन्छन्
फत्फताएर मुस्कुराउँदै मनको कुरा खोली दिन्छन्

पोखुँ सामु खै के पोखुँ आफ्नो व्यथा अरुलाई के र
त्यसैले एक्लै गन्गन् गर्दै दुःख आँशुले घोली दिन्छन्

कसैलाई मायाको तोड होला प्रेमीको विछोड होला
एक्लै बर्बराउन थाल्छन् जब पींडाले पोली दिन्छन्

आफूभित्रको पीर आफैँलाई आफैँ बोलुँ सुनुँ भन्दा
डाक्टरले किन होला मानसिक रोगको गोली दिन्छन्

– लस् एन्जेलस्

Bhim Darshan Roka – Ritu Basanta Na Aayeko Bhaye

ऋतु वसन्त नआएको भए
तिमीले गीत मेरो नगाएको भए
गुराँस यति रातो हुने थिएन
तिमी यसरी नशर्माएको भए !
धर्तीले छातीमा फूल नलाएको भए
छहरामा लहराले चुल्ठी नबाटेको भए
यो वसन्तमा म के पाउने थिएँ ?
पोहर वसन्तमा तिमीले क्यै नलुकाएको भए !
वनले बस्ती नछोएको भए
मनमा मस्ती नआएको भए
फूलको प्याला रित्तिने थिएन
तिमीले यसरी नपियाएको भए !

Homnath Pathak – Kachhuwa (Nepali Baal Kabita)

होमनाथ पाठक – कछुवा

सोझो थियो कछुवा छट्टु थियो खरायो
दौडको होड राख्यो घमण्डी खरायो

आफै जस्तै कछुवालाई फाने गर्यो कछुवाले
उस्तै उस्तै कछुवाहरू प्रत्यके ठाउँ मा बसे

गटे सेट गो भन्दै दौड सुरु भयो
हावाको वेगमा खरायो दौडेर गयो

जुन स्टेसनमा पुग्दा पनि कछुवालाई देख्दा
घमण्डी खरायोको राम्रै मर्यो मेख्ता

Deepak Raj Pandey – Andhyaro

दीपकराज पाण्डे – अँध्यारो

अँध्यारोले चपाइरहेछ
गाउँ, शहर, पहाड, तर्राई र सिंगै देश
अनि निलेको छ जून घाम पनि सुलुत्त !
यसरी चारैतिर अन्धमुष्टि अँध्यारोले
साम्राज्य फैलाएको बेला
कतै तिमी वनमै निभ्न लाग्यौ कि ?
कतै तिमी मनमै निभ्न लाग्यौ कि ?
निभ्ने होइन बल्नुपर्छ तिमी
झिल्को होइन बल्नुपर्छ तिमी
झिल्को होइन मुस्लो भएर
र चिर्नुपर्छ अँध्यारोलाई
उज्यालोका धारिला आराहरूले
र ल्याउनुपर्छ उज्यालो
पुस्तौं पुस्ताका लागि
ता कि यहाँ अँध्यारो ढिम्किनै नपाओस् ।

Rajab – Ghara Gayepachhi

अरूलाई विश्वास छैन
तर ऊ आफैँलाई विश्वास छ
ऊ बाँच्छ
अस्पतालको सघन शैयामा बाँच्छु भन्ने
विश्वास नछोडेर
ऊ अर्धबेहोस छ
र कुरिरहेछ अस्पतालबाट घर हिँड्ने समय
तर डाक्टरहरू भन्छन्
केही दिनपछि
ऊ मृत घोषित हुनेछ
त्यस कारण उसका निकटस्थहरू
ऊ नहुंदाको पीडा खप्ने अभ्यासमा
लागिसके
तर ऊ अर्धचेतनमा सोचिरहेछ
अस्पतालबाट घर जानेछु
र जीवनलाई
ठीक मानिस भएर सपार्नेछु
ऊ सोचिरहेछ
बेलाबेला
सम्बन्ध बिग्रिएका
सबैसँगको कटुता
मधुर गर्नेछु
र मायाका धेरै दृष्टिहरू
जम्मा गर्नेछु
घरको बूढो कुकुरलाई
आफ्नै हातले स्याहार्छु र
अर्को नयाँ छाउरो पाल्न थाल्नेछु
र मानिसको जीवनसँग जोडिने
पशुहरूको प्रेम बुझ्ने
सविस्तार कोसिस गर्नेछु
ऊ सोचिरहेछ
घरमा पस्नेबित्तिकै
सबभन्दा पहिले
सब किताबहरूको
धूलो झार्छु
र तिनलाई
सफा कपडाले पुछ्दै
¥याकमा राख्दै गर्छु
विशेष गरी कथाका, निबन्धका
कविताका, स्मृतिका पुस्तकहरू
चाहनासाथ देखिने, पाइनेतिर राख्छु
र नयाँ किताबहरू
छानीछानी किनेर
थप्छु
र सकभर सब किताबहरूलाई
आफूबाट ओझेल पर्न दिन्नँ
ऊ सोचिरहेछ
यो शैयाबाट घर गएपछि
साँझका
बिहानका
एकएक प्रकृतिको
स्वाद लिन्छु
र सखारका कोपिलाहरू
र सन्ध्याका वयस्क फूलहरू छुन्छु
हिउँ भएका
नदी जमेका
झर्ना बोकेका पहाडहरूको यात्रा गर्छु र
लेकसँग
बेसीसँग
शिखरसँग भेट्छु
ऊ सोचिरहेछ
घर गएपछि
राम्रा साज र शब्दका
ह्दयले बुनेका र गाएका
सबै धुनहरू र गीतहरू सुनिरहन्छु
र बाँच्नुको स्वाद बराबर लिन्छु
तर घर गएपछि

Laxmi Prasad Devkota – Sankalpa Hamro Falos

लक्ष्मी प्रसाद देवकोटा – संकल्प हाम्रो फलोस

संसारै घुमियो भएर विषयी मीठो विषै पो पिएँ,
लेख्थें धेर वितर्क तर्क मनमा उल्टो भई पो जिएँ,
आयो धेर तनै प्रलय भो आगो जल्यो लौ जलोस्,
भावै मात्र फिंजे तथापि ‘सबको सङ्कल्प हाम्रो फलोस्’ ।

Bhanubhakta Acharya – Khwamit Yas Giridhaari Le

Nepali Poet Bhanu Bhakta Acharya
Bhanu Bhakta Acharya

भानुभक्त आचार्य – ख्वामित् यस् गिरिधारिले

ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी,
यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी।
ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ,
मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छीनिन्छ पाऊ-पर्याँ।।
बीस् साल् सम्म त ज्यान त्यान यहिं वाँद् लाग्यो र खेत् रोपिया,
यो साल् बाँद पनि खोलिएछ जलले ढुङ्गा सबै छोपिया,
ढुङ्गा खोजि लगाउँ बाँद कसरी राख्तैन ढुङ्गा पनी,
मानिस् पस्न त क्वै सकेन जलमा स्वात्तै बगम्ला भनी।।
अर्ज्याल् भाट ढकाल् अचार्ज इन चार् जम्मा भई सब् वस्यौं,
मील्यो मत् सब मोहिको र मतले बाँद् लाऊनामा पस्यौं,
उस् मौका गिरिधारि एहि पनि भाट् सल्लाहमा नै थियो,
भर् यस्को नभएर मात्र अहिले यस्तो उजुर् पो दियो।।

Indra Narthunge – Simmako Naam Ma Naya Chiththi

इन्द्र नारथुङे – सिम्माको नाममा नयाँ चिठ्ठी

तुँवालोको खास्टो ओढेर
सँधै गजधम्म बस्ने निनाम्मा
एक्कासी आधा उधारिएको देखेर
म अलिकति परिवर्तन भएको छु सिम्मा
सायद,
उज्यालोको क्यानभासमा
प्रतिविम्ब उतार्न थालेको छु
तिम्रो र मेरो ।

चौबन्दीको तुनामा तिमीले भिर्ने त्यो बिनायो
म पनि बजाउन चाहन्छु आज
सिम्मा,
भाका तिम्रै भए पनि
शब्द मेरो हुने छ त्यहाँ
आमाले सुनाउने मूलखाँबोको कथा
नक्छुङले फलाक्ने मुन्धुमहरु
थिविया चरीले बोहोरीको रुखमा बसेर कराउने
विरही स्वर
मेरो शब्दभित्र पक्कै हुने छैनन्
विश्वास गर सिम्मा
मेरो गीत तुवाँलो हटेको निनाम्मा जस्तै
सागर पोतिएको हुनेछ,
निराकार, निरामय, निरावृत,
निरालस्य, निरापद्, निराकुल…..
जहाँ हामी,
घाम सँगसँगै उदाउने छौं
घाम सँगसँगै अस्ताउने छौं ।

सिम्मा,
हामीले धेरै पुज्यौं दायलुङलाई
र,
थकाई मेट्न वालाखा पुग्यौं ।
साकेलामा नाच्यौं अनगिन्ती सिलीहरु
हुनसक्छ,
खर्कभरि बुकी फुल्दा
रहरहरु फुले होलान् तिम्रो र मेरो
तर एकदिन
गोठालाको खस्रो हातले निमोठियौं र,
दर्शनढुङ्गामा चकमकको ठ्याक्कसँगै बल्यौं झुलो बनेर ।

हो,
निनाम्मा उघ्रिएको बेला
मन उघार्नु पर्छ अब ।

के छैन हामीसँग
सबथोक छ
पूर्खाको विरासत
तोयामाखियामाको तान
र, घु¥यानमा सिस्नोको झाडी लुटिएको छैन अझै
यति हो,।
अरुको सुरक्षार्थ बुट बजार्दाबजार्दा दिमाग भुत्तिएको छ
सेहें मनहरुको मान राख्दाराख्दै सपना लुटिएको छ
त्यसैले त सिम्मा,
साकेला गीतको भाकाहरुमा
म नयाँ शब्दहरु थप्दै छु,
“सेल्मे र ट्याम्के हाराहार
अधिकार सबैको बराबर
सैसैला हो हुर्रा हाहा” ।

सिम्मा,
निनाम्मा उघ्रिएको बेला
सँघार नाघेर आँगनमा निस्कनु पर्छ आज
पाखाभरी राताम्य फुलेका गुराँशहरुसँग
हामी लिम्चिङबुङ दाँजिनु पर्छ
भत्काएर संस्कारका पर्खालहरु
ढलाएर शासकका शालिकहरु
च्यातेर नाटकका पर्दाहरु
रोकेर निरन्तरताका गतिहरु
एउटा नयाँ बिहानको संखघोष गर्नुपर्छ
सबैले छुन सक्ने
सबैको हुन सक्ने
त्यो विहान
बादल फाटेको निनाम्मा जस्तै
सागर पोतिएको हुनेछ
नराकार, निरामय, निरावृत
निरालस्य, निरापद्, निराकुल…..
जहाँ हामी
घाम सँगसँगै उदाउने छौं
घाम सँगसँगै अस्ताउने छौं ।

*****
किरात चाम्लिङ राई भाषाका शब्द र मिथकहरुको अर्थ

सिम्मा —खुसे, कान्छी छोरी
निनाम्मा–आकाश
लिम्चिङबुङ–लेकमा फुल्ने एक प्रकारको वास्नादार फूल
वालाखा —-पानी भर्ने पँधेरो (किरात राईका बिजुवाहरुले मुन्धुम फलाक्दै
जाँदा पहिलो पल्ट बिसाउने ठाउँ)
मुन्धुम——किरातहरुको धर्म शास्त्र
तोयामाखियामा—एक किरात लोककथा भित्रका किराती दिदीबहिनी, छोरीचेली
साकेला——किरात राईहरुको बिजुवाले जमिन खोस्रेर निकाल्ने अण्डा आकारको ढुङ्गा, (जुन ढुङ्गाको रङ हेरेर शुभ अशुभ छुट्याईने गरिन्छ) ।
सिली——-साकेला नाच नाच्ने विधी
दायलुङ——चुल्हा, अगेना
नक्छुङ——किरात राई जातिको बिजुवा
मूल खाँबोको कथा—किरात राईहरुमा प्रचलित एक मिथक
थविया चरा र बोहोरीको रुख—किरात राईहरुमा प्रचलित एक मिथक
सेहें —–तलबितल परेर मृत्यु भएकाहरुको आत्मा, जसले बाँच्नेहरुलाई दुःख दिन्छ भन्ने भनाई छ ।

Sulochana Manandhar Dhital – Jajarkot

सुलोचना मानन्धर धिताल – जाजरकोट

सिङ्गो पोखरीमा
विष घोलेपछि
के ठूलो माछा
अनि के सानो माछा
सबैलाई मर्नु नै त छ !

Basu Dev Adhikari – Safa Tempo

वासुदेव अधिकारी – सफा टेम्पो
(मधुपर्क जेठ, २०६८)

कति चढ्नु
प्रदुषित टेम्पो ?
म त सफा टेम्पो चढ्ने साथी
म त सफा टेम्पो ।
कीर्तिपुर जान
उत्ति लाग्ने हो पैसा
उस्तै लाग्ने हो समय
किन चढ्ने धुँवाको Continue reading “Basu Dev Adhikari – Safa Tempo”

Nawaraj Subba – Ma Naharayeko Suchana

कसैलाई कहीँ पर्खाएर
म यहाँ यसै अल्मलिइरहेछु
वाध्यताको झरीमा रुझिरहेछु
खुट्टा थाकेका छैनन्
ईच्छा मरेका छैनन्
यात्रा टुङ्गेको छैन
कुहिरो नहटुन्जेल
आफैमा ओत लागेको छु
सम्झ झाडी पन्छाउदैछु
गोरेटो Continue reading “Nawaraj Subba – Ma Naharayeko Suchana”

Lucky Chaudhary – Madhuparka Timlai Subhakamana

लक्की चौधरी – ‘मधुपर्क’ तिम्लाई शुभकामना !
(मधुपर्क भदौ , २०६७)

मधुपर्क तिम्लाई मेरो, मुरीमुरी छ बधाई ।
जारी रहोस् अनवरत्, साहित्यिक तिम्रो लडाइँ ।।
बयालीस वसन्त पार गरी, त्रिचालीस लाग्यो ।
वाङ्मय क्षेत्रको श्रीवृद्धिमा, सबलाई नाघ्यो ।।
अझ लम्क अगाडि, नथाक क्यै गरी ।
जुध्नु छ तिम्ले, निरन्तर अगाडि बढी ।।
लाखौँ पाठक तिम्रा, शुभचिन्तक जो छन् ।
तिम्लाई पढी गर्छन्, एक अर्कासँग मन्थन ।।
धेरै तिम्ले गर्‍यौ, अझ धेरै गर्न बाँकी छ ।
तिम्रो ज्ञानवर्द्धक खुराक, हाकाहाकी छ ।।
तिमी नै हौ अगुवा, साहित्यिक फाँटको ।
नगर्नु है भेदभाव, कुनै जातिवादको ।।
तिम्रा पथप्रदर्शक बढून्, अनगिन्ती ।
निडर, निष्पक्षी बन, गर्छु म बिन्ति ।।
नलागोस् दाग कुनै, घृणा र पक्षपातको ।
सबको मनमा बस्नु, नगर्नु काम विश्वासघातको ।।
समाज बदल्ने अभियान तिम्रो, शिखर चुमोस् ।
क्यै गरी तिम्रा साहस, आँट, कदाचित नगुमोस् ।।
मैदानमा एक्लो खेलाडी, नठान्नु है तिमी ।
अरु पनि छन् पछाडि, यो बात जान्नु है तिमी ।।
तिम्ले बाटो बिर्से, अरु अगाडि बढ्लान् ।
तिम्रो एक लापरवाहीले, तिम्रै बुइ चढ्लान् ।।
तिम्रो शान, मान, विरासत, गुम्ला नि
तिम्ले चुम्ने ताज, अरु कोही चुम्ला नि
लाखौँ तिम्रा सिपाही छन्, कदाचित नडराऊ ।
सबको मन जिती, करोडौंमा आफूलाई पुगाऊ ।।
न थाक, नलेऊ विश्राम, गर हरदम सामना ।
सगरमाथा शिखर चुम, यही छ शुभकामना ।।

– धनगढी, कैलाली

Asha Gurung – Euta Sankalpa

आशा गुरुङ – एउटा संकल्प

म हिंड्न खोजिरहेकी छु तर कतै बिच बाटोमा आफू हराएजस्तो
म पोखन चाहन्छु आत्मबाटै तर म सकिरहेकी छैन
म आकाशमा खुल्ला सयर गर्ने प्रयास गर्छु
तर चुम्बक झै एकैठाउँ टाँसिरहेजस्तो म चल्नै सक्दिन

म आँफैलाई थाहा छैन के भैरहेको छ मलाई
कसैले अठ्याइरहे जस्तो, कसैले घाँटी निमोठिरहे जस्तो
म आँफैभित्र उकुसमुकुस हुन्छु तर ब्यक्त गर्न असमर्थ छु
म केहीसँग अल्झिरहेजस्तो,कसैको सहाराको पर्खाइमा छु

तर वास्तबमा म आँफैभित्र अल्मलिरहेकी छु
त्यसैले आँफैसँग भित्रभित्रै आफ्नै लागि लँडाइ गरिरहन्छु
म चाहँदिन म त्यही दोभानमा बाँचिरहुँ
म चाहँदिन त्यही त्रिबेणीहरुमा आफुलाई घोचिरहुँ

म निस्किन चाहन्छु त्यो भयाबहबाट
र राख्न चाहन्छु आफुलाई बिशाल आकाशको छातीभित्र
जहाँ म केबल सिमित हुँदिन म भित्रै जसरी म थिएँ
त्यसैले सकिनसकी धकेल्छु आफुलाई सकारात्मक सोचहरुसगैँ
अन्तत बिजयी पनि हुन्छु आशाहरुको नौलो किरणहरुसगैँ

जहाँ म फुल्न सक्छु,फक्रन सक्छु बिस्तारै भएपनि
म पोख्न सक्छु मेरा भावनाहरु स्वतन्त्र रुपले
जसरी चराहरु उड्छन निस्चिन्त आफ्नै वेगमा मनपरी
म बग्न सक्छु अबिरल नदीजस्तै एकैमासमा
जसरी यसको कसैलाई कुनै प्रश्न छैन,गुनासो छैन न त प्रतिकार नै

फेरी पनि मैले घचेटेँ आँफैलाई त्यो कल्पनाको संसारमा
जहाँ सपनाहरुको बास छ, जहाँ सिर्जनाहरुको भण्डार छ
जहाँ म डुबिरहन सकुँ,घोत्लिरहन सकुँ र ब्यक्त गरिरहन सकुँ निरन्तर
लीइ सुन्दर्,सभ्य अनि सन्तुष्टिको पाठहरु अबका बाँकी दिनहरुमा

बिचलित नहुँ म कहिले त्यो अन्धकारको बाटोहरुमा
म हुनेछु मेरो विश्वाशहरुको साथमा हरेक मोडहरुमा
जसरी यसले मलाई साथ दिरहनेछ,
जिउने हिम्मत म भित्र जगाइरहनेछ ।।

इजरायल

Keshav Baniya – Shahidi ko Mulyankan

शहिदीको मुल्यांकन

भाग्न पनि सक्थे,
समर्पण,
गर्न पनि सक्थे,
मर्नु नै किन थियो र !
के को सोख हो त्यस्तो ?
कति सजिलो छ,
भन्न,
फौज मा थिए, लडे, मरे,
कति सानो दर्जा को भयो त तिनका मरण !
केहि मूल्य साच्चै राख्दैनन् र ?
त्यसो भए,
थपि हेरौ न त,
छातीमा गोलि,
चुच्चोले घोचेजस्तो हो र?
इन्जेक्सन को |

गोलीको छर्रा फाल्दै,
तिव्र घुमिआएको,
बारूद भरिएको चुच्चोले,
बाहिरी छालालाई परपर सार्दै,
हाडका लट्ठा चिर्दै,
गएर,
रगत संचार नाली छेदन गरि,
बहंदा अनि रगत,
आँखाले देख्ने रातो,
छालाले छुने तातो, अनि तरल,
गंगा बहेझै,
शरीरका पहराबाट,
रसाएर,
माटोसंग,
पाऊछुदै,
होलि खेल्न लाग्छन,
निरन्तर,
कसैले छेकेर छेकिन्न,
माटोमै,
सर रगत सकिएर,
शरीर,
विलिन,
हुन खोज्दा,
हेर्दा हेर्दै,
आफ्नै अगाडी,
आफ्नै सास टुट्न लाग्दा,
अनि चाहेर पनि,
बाच्ने आश जोड्न नसक्दा,
बरु मर्ने नै आकान्क्षा,
बेश मान्दै,
स्वहत्या गर्न,
मनले, आग्रह गर्दा,
तर,
दिमागको अझै बाच्ने रहरको,
विद्रोहको सुरुवातले,
अंग अंग,
हातका नशा,
मुटुका नली,
दिमागको गिदी,
थरथर थरथर काप्दै,
संसार शिवजीको डमरुमा,
आर्तनाद गरेको महसुस हुन्छ,
अनि बल्ल सुरुवात हुन्छ,
रणभूमिमा,
स्वयम्को मृत्युको |

कहाँ सजिलो छ र?
जमिनको लागि,
ज्यान दिन,
कहाँ सजिलो छ र?
बोलेजस्तो हो र?
डुङ्ग डुङ्ग बन्दुक पड्केको आवाज,
गोलि आई,
बगल्को साथीको,
सहासिलो मुटु भेद्दा,
शोक मनाम कि बहादुरी देखाम,
दिमागभित्र हस्यांग्फस्यंग गर्छन,
यस्ता प्रस्न हरु,
दुश्मनका छन् हात्तीका पाइला,
आफै तिर सरेका ति पाइलाक,
आवाज,
पृथ्वीभरि,
गुन्जयमान हुँदा,
सोच्न भ्याएको हुँदैन,
कि म कसैका लागि बाच्नु पनि पर्छ,
घोक्रे दुश्मनको आवाजको डर,
साथै,
अन्तिम श्वास,
आफुले टेकेको माटोकै निम्ति,
बलिदान दिने साहसले,
थर्किरहेको हुन्छ,
मुटु,
कापिरहेको हुन्छ |

जीवनका,
सास फेर्ने जस्ता आवश्यकताले,
समेत,
प्राथमिकता पाइरहेका हुदैनन्,
तातो रक्तभुमिमा,
रातो रणभूमिमा,
हजार बन्दुकको गोलीको,
निशाना मात्र एक,
तिमि हुँदा,
निर्धक्क खडा,
होलान कसरि खुट्टाहरु,
अघि बढ्ने आँट,
जुटाऊँन् कसरि पाउहरू?
अनि फेरि,
लम्बू फौजका अघि,
जिरे राइफलको के धाक!
तर सोच,
ति खुट्टा हरु मुर्झाएनन,
ति पाउहरू,
मरण-गान मा नाचिरहे,
निर्धक्क, निडर,
कुन खुसीमा हाँसेका थिए,
ति होठहरु,
चेतना छ हामीमा,
मर्म बुझ्ने?
बुद्धिमता छ,
कुन साहसको कुरा गर्दै छु म?
कत्रो साहसको कुरा गर्दैछु म?

अनि तिमि,
सोफामा बसी,
मच्छर मार्दै,
बहादुरीको कुरा गर्छौ,
दुश्मनले,
जित्न नसकी,
पानि पिउने नहर काट्दा पनि,
भोकले पेट ख्याउ ख्याउ कराउदा,
प्यासले मुख प्याकाप्याक हुँदा,
नुख भिजाउन,
थुक समेत सिध्धिये पनि,
हार निश्चित होला,
तर,
कर्मभूमिमा,
खुट्टा गडाई लडेर नै,
तोप लिई बसेका,
गोरा शिरहरु,
निहुरिएक थिए,
शरमले,
त्यसै,
इतिहास रचिंदैन,
त्यसै,
दुश्मनले समेत,
गुणगान गाऊदैन,
पत्थरमा नाम कोरी,
त्यसै,
बहादुर लेखिदैन,
त्यत्तिकै,
बहादुर कहलाईदैन |

Kabin Basnet – Aja Pheri

कबिन बस्नेत – आज फेरि

आज फेरि
सिङ्गो आकाश
मण्डपमा सजिएको छ
भर्खरै,
केही लजाउँदै, केही मुस्कुराउँदै
जूनले वरमाला लगाइदिएर
थामेकी छ
रातको अँध्यारो हात
आज फेरि,
आकाशमा
सहयात्राको नयाँ अध्याय लेखिएको छ।

आज फेरि
रात दङ्ग छ,
जून मख्ख छ
आज फेरि, ताराहरु जन्ती जाँदैछन्
झ्याउँकिरीहरूको पञ्चेबाजाले
अनुगुञ्जित छ प्रकृति सर्वत्र
आज फेरि, ज्योत्सना पोखिएको धर्तीमा
जूनकिरीहरू नाच्न तम्तयार छन् ।
यी सबै दृश्यहरू

आज फेरि,
एउटा सानो झ्यालबाट हेर्दैछु
ईन्सम्निया ग्रस्त आँखाहरूले ।

आज फेरि,
बादलको घुम्टो उघारेर
रात
जूनलाई सुटुक्क म्वाँई खान खोज्दै छ
आज फेरि,
म चाल मारेर भाग्न चाहन्छु
यो शहरदेखि
टाढा,……धेरै टाढा ।

-चाबाहिल, काठमाडौं

Pravin Rai Jumeli – Euti Aama Ko Smriti

प्रवीण राई जुमेली – एउटी आमाको स्मृति

जीवन र जगतमा विमर्श गरिने सफलता र सभ्यताका हजार थोकहरु छन्
आफ्नै सन्तानका कुकृत्यहरुको लेखाजोखा गर्दै हिंड्ने अनेकौं मुखहरु पनि छन्
हतार पैसा अहँकार र आत्मालापहरुले Continue reading “Pravin Rai Jumeli – Euti Aama Ko Smriti”