Rajab – Ghara Gayepachhi

अरूलाई विश्वास छैन
तर ऊ आफैँलाई विश्वास छ
ऊ बाँच्छ
अस्पतालको सघन शैयामा बाँच्छु भन्ने
विश्वास नछोडेर
ऊ अर्धबेहोस छ
र कुरिरहेछ अस्पतालबाट घर हिँड्ने समय
तर डाक्टरहरू भन्छन्
केही दिनपछि
ऊ मृत घोषित हुनेछ
त्यस कारण उसका निकटस्थहरू
ऊ नहुंदाको पीडा खप्ने अभ्यासमा
लागिसके
तर ऊ अर्धचेतनमा सोचिरहेछ
अस्पतालबाट घर जानेछु
र जीवनलाई
ठीक मानिस भएर सपार्नेछु
ऊ सोचिरहेछ
बेलाबेला
सम्बन्ध बिग्रिएका
सबैसँगको कटुता
मधुर गर्नेछु
र मायाका धेरै दृष्टिहरू
जम्मा गर्नेछु
घरको बूढो कुकुरलाई
आफ्नै हातले स्याहार्छु र
अर्को नयाँ छाउरो पाल्न थाल्नेछु
र मानिसको जीवनसँग जोडिने
पशुहरूको प्रेम बुझ्ने
सविस्तार कोसिस गर्नेछु
ऊ सोचिरहेछ
घरमा पस्नेबित्तिकै
सबभन्दा पहिले
सब किताबहरूको
धूलो झार्छु
र तिनलाई
सफा कपडाले पुछ्दै
¥याकमा राख्दै गर्छु
विशेष गरी कथाका, निबन्धका
कविताका, स्मृतिका पुस्तकहरू
चाहनासाथ देखिने, पाइनेतिर राख्छु
र नयाँ किताबहरू
छानीछानी किनेर
थप्छु
र सकभर सब किताबहरूलाई
आफूबाट ओझेल पर्न दिन्नँ
ऊ सोचिरहेछ
यो शैयाबाट घर गएपछि
साँझका
बिहानका
एकएक प्रकृतिको
स्वाद लिन्छु
र सखारका कोपिलाहरू
र सन्ध्याका वयस्क फूलहरू छुन्छु
हिउँ भएका
नदी जमेका
झर्ना बोकेका पहाडहरूको यात्रा गर्छु र
लेकसँग
बेसीसँग
शिखरसँग भेट्छु
ऊ सोचिरहेछ
घर गएपछि
राम्रा साज र शब्दका
ह्दयले बुनेका र गाएका
सबै धुनहरू र गीतहरू सुनिरहन्छु
र बाँच्नुको स्वाद बराबर लिन्छु
तर घर गएपछि