Kabin Basnet – Aja Pheri

कबिन बस्नेत – आज फेरि

आज फेरि
सिङ्गो आकाश
मण्डपमा सजिएको छ
भर्खरै,
केही लजाउँदै, केही मुस्कुराउँदै
जूनले वरमाला लगाइदिएर
थामेकी छ
रातको अँध्यारो हात
आज फेरि,
आकाशमा
सहयात्राको नयाँ अध्याय लेखिएको छ।

आज फेरि
रात दङ्ग छ,
जून मख्ख छ
आज फेरि, ताराहरु जन्ती जाँदैछन्
झ्याउँकिरीहरूको पञ्चेबाजाले
अनुगुञ्जित छ प्रकृति सर्वत्र
आज फेरि, ज्योत्सना पोखिएको धर्तीमा
जूनकिरीहरू नाच्न तम्तयार छन् ।
यी सबै दृश्यहरू

आज फेरि,
एउटा सानो झ्यालबाट हेर्दैछु
ईन्सम्निया ग्रस्त आँखाहरूले ।

आज फेरि,
बादलको घुम्टो उघारेर
रात
जूनलाई सुटुक्क म्वाँई खान खोज्दै छ
आज फेरि,
म चाल मारेर भाग्न चाहन्छु
यो शहरदेखि
टाढा,……धेरै टाढा ।

-चाबाहिल, काठमाडौं