Kabin Basnet – Kaalo Gulab

कबिन बस्नेत ‘सिउँडी’ – कालो गुलाब

मेरो कोठाभित्र
एउटा अँध्यारो कुनामा
जहाँ पुग्दैन घामको जीवनदायिनी किरण
हुर्किएको छ – एउटा कालो गुलाब ।

मध्यरातमा,
यस कालो गुलाबबाट
प्रवाहित हुन्छ – बारूदको गन्ध !
र, उत्निखेरै अपहरित भईसक्छ
मेरो मिठो निद्रा
र सपना पनि ।

यस कालो गुलाबको
काला पत्रदलभित्र
सलबलाइरहेछन् – युद्धका किराहरू,
निशाचरका भ्रुणहरु,
षड्यन्त्रका जालो बुन्दैछन् यसभित्र
अँध्यारो पिउँदै प्रत्येक रात,
ढाडिरहेछन् – मानवताका भ्याम्पायरहरू !

प्रत्येक बिहान
यस कालो गुलाबमाथि
जब शीत बनेर छचल्किएको देख्छु –
बलात्कृत किशोरीहरुको आशुँ
म तर्सिएर भाग्छु कोठाबाट
र, दिनभर
हराउँदै जान्छु फुटपाथमा
असङ्ख्य पैतालाहरूबीच ।

सोच्दै छु ,
यो कालो गुलाब कोसेली दिऊँ कि !
कुनै वेश्यालाई ,
जो आफैं यो कालो गुलाब जस्ती होस् ,
जो साँच्चिकै जन्मेकी होस् कालरात्रीको गर्तबाट,
जो प्रतीक होस्
जूनको कालो दागको
र, जसमा गाभिउन् मेरो अखण्डित प्रेम
अनि, स्खलित भईदेउन्
तृष्णाको कालो रूप
र जुगुप्साबोध !

यतिखेर ,
मेरो हात अग्रसर भइरहेछ ,
त्यो कालो गुलाब टिप्न
तर, डर लाग्छ –
कतै सङ्क्रमित नभइदेओस् मभित्र –
एउटा कालो अस्तित्व !

Kabin Basnet – Usko Bhannu Kehi Chhaina

कबिन बस्नेत – उसको भन्नु केही छैन

ऊ फेरि आईपुग्यो
पिठ्युँमा घोषणा-पत्रहरु बोकेर
आन्दोलित समयको उदिग्नतासगैँ बगेर
ऊ केहीबेर उभिरह्यो
उपेक्षित शालिकको छाँयासँगै बसेर
हेरिरह्यो-
उसको नाकैमुन्तिर
चार थान सुकिला बोलेरोहरू
धुलो छ्याप्दै ओझेल भए ।
दृश्यबोधमा ऊ,
ऊ दुरदर्शक थिएन
ऊ पारदर्शक होइन
ऊ मुकदर्शक भईसकेछ ।
मुकदर्शक, अर्थात्
उसको भन्नु केही छैन ।

राफिलो सडकका बान्कीहरूमा
चिसा खल्तीहरु सुम्सुम्याउँदै
ऊ निधारका गाँठोहरु फुकाउँदै थियो ।
खै ? कहाँ छुटे ?
सहृदयी हातहरु
किन साँघुरिँदै छन्?
मायालु टेको अडिने अग्रगामी अँगालोहरू
एउटा असंगत सत्यको अविर्भाव !
यौनबजारका बिचौलियाहरूलाई
प्रेमको पाठ पढाउनु ?
बोझिल आँखाहरूमा
सपना कैद छ-
माखेसाङ्लोमा,
निकास बनेर
कुनै प्रोमिथियस आईपुगेन
आग्नेय फिलुङ्गो लिएर ।

उसले निर्णय लिइसकेको छ –
महाभिनिष्क्रमणको कसीमा
ऊ खाडी मुलुकको बोर्डिङ पाससँगै उभिनेछ ।
सलिचासगँ इमान साट्नेहरूलाई
उसको भन्नु केही छैन ।

– देवीनगर, बुटवल

Kabin Basnet – Kunai Din Yesto Pani Aaunechha

कबिन बस्नेत – कुनै यस्तो दिन पनि आउनेछ

अराजक बस्तीहरूमा
सिमलका भुवाहरू जस्तै
मागका पर्चाहरू आबाद छन् ।
हामी वीर गोर्खालीहरूका सन्तान
भी.सी. नजित्नेहरूको बलिदान
तथापी सोधेनौ हामीले इतिहाससँग कहिल्यै पनि
त्यो बलिदानको मूल्य,
नाथे अश्रुग्याँसको धूवाँले हाम्रो आखाँ रसाउदैन ।
एक थोपा रगतले कोरिदैन
क्रान्तिको मानचित्र ,
क्रान्तिको शङ्खघोषले आकाश छुँदा
रक्तरञ्जित वर्षा हुन्छ
र, हाम्रो बस्ती निथ्रुक्क भिज्नुपर्छ ।
रूनुपर्छ सयपत्री र सुनाखरीले
शहिदहरूको आँसु ।
आउ ! भत्काऔँ रूढीग्रस्त पर्खालहरू!
मेटाऔँ संकुचित पाइलाका डोबहरु !
मृत्युभन्दा जीवनले त्रसित छौँ हामी ,
हामीले उन्मुक्तिका ज्वारहरूसँग
बगरका ढुङ्गाहरू साटिरह्यौ ,
ए बगरमा जीवनको भारी बोक्ने मेरा साथीहरु !
म आव्हान गर्दै छु
च्यातौँ, जलाऔँ
झुत्रो इतिहासका पानाहरुलाई
कुनै यस्तो दिन पनि आउनेछ
कि हामीले जलाएको इतिहासको
खरानीको गर्भबाट
जन्मिनेछ एउटा फिनिक्स चरो
जसले सुनौलो घामको प्रभातमा
स्वतन्त्र उडान भर्नेछ
हाम्रो छोराछोरीहरूको निमित्त ।

– देवीनगर, बुटवल

Kabin Basnet – Prashna Haru

कबिन बस्नेत ‘सिउँडी’ – प्रश्नहरू

वसन्तहरू
टाउकोले टेकेर
भास्सिएछन् मुग्लानतिर ।
ज्ञानप्रदत्त ओठहरु
दोहोरीसाँझका नियोन-बत्ती पिइरहेछन्
डबल ब्ल्याकका चुस्कीसँगै।
उनीहरु अब गाउँ फर्किदैनन् ।
के दोहोरी पनि अब गाउँ फर्किदैन ?
काल पर्खेकाहरू
हिउँदको चिसो सिरेटो भर्दै
फोक्सो भरि-भरि
गइरहेछन् देवीदेउरालीहरूको मलामी ।
ढिकीजाँतोहरूमा जिवित छ
अहिल्याको आत्मा
रामहरू अझैं फर्केका छैनन् ।
गल्छेडो तिर्खा मेट्दैछ मिनेरल वाटरले ।
पँधेरो ?
ऊ त गाउँको खण्डहर बाँचिरहेछ ।

किन हाँस्दैन गुराँस ?
किन मौन छन् सुबी र जुरेलीहरू ?
कहाँ हराए खर्कका चौरीहरू ?
किन दिउँसै सुतिरहेछ मेरो गाउँ ?
कसरी अनिलो भयो आज
मेरो गाउँको माटो ?

Kabin Basnet – Laato

कबिन बस्नेत – लाटो

म लाटो हुँ ।

बोल्न नसकेर होईन
जमाना अनुसार चल्न नसकेर
म लाटो भएको छु ।

हाटबजारका
प्रत्येक आलु, प्याज र गोलभेँडाको मोलमोलाइमा
ढक र तराजुका पल्लाहरूसगँ
म सधैं पराजित हुन्छु ।
मुल्यवृद्धिका तहहरू छिचोल्न असमर्थ
मेरा पाइलाहरू लुइँलुइँ हिँड्छन्,
मेरा चप्पलहरू चुइँचुइँ रून्छन्
मुलबाटोको सिमान्तकृत बटुवा
म चोरबाटोहरू ठम्याउदै बाठो हुन जान्दिनँ ।
मोलम्बा लेपिएका संवादहरूलेे त्रसित
विवश लाटोकोसेरोको मानसिकता बोकेर
प्रतिक्रियाहीन, उत्तेजनाहिन
म यसैगरी सधैँ लुरूलुरू लाटो गतिले
एकसुरले हिँड्छु आफ्नै बाटो
जसरी आज हिँड्दैछु
र, सम्झिँदै छु
मधुमासको सुगन्ध जस्ती मेरी श्रीमती
( उसलाई मैले नयाँ साडी किनिदिने बाचा गरेको थिएँ )
बालसुलभ उत्साहले तरङ्गिदै,
आफैसगँ दङ्ग पर्दै
म एउटा पब्लिक बस चढ्छु ।

( दाई…? भाडा पाऊँ न ? )

ओहो ….!
मेरो वालेेेट….?
हरे….! म कति लाटो मान्छे
पत्तै नपाई
पाकेटमारको पन्जाले चुँडिसकेछ,
मेरो वालेेट
जसमा टम्म थिए श्रीमतीलाई नयाँ साडी किनिदिने सपना ।
डेरा पुग्नासाथ
मेरी श्रीमतीको अघिल्तिर
म रित्तो खल्ती फर्लक्क फर्काउछु,
र, मेरो लाटो करामतको बेलिबिस्तार लगाउँछु
मेरी श्रीमती ओठ लेप्राउदै
दैलोमै थचक्क बस्छे,
हातका चुराहरूले निधार ठोक्दै
आफ्नो दुर्भाग्यलाई सक्दो सराप्छे
मेरो लाटो चेतनालाई धिक्कार्दै रून्छे ।
म घोसेमुन्टो लाउदै
उसका प्रत्येक गुनासोहरूलाई स्वीकार गर्छु
सायद सदृश पीडाबोधले म पनि उसँगै रून्छु
प्रस्तरको मूर्ति जस्तै निर्वाक, अचल
म उसलाई ढाडस दिन सक्दिनँ,
भुङ्ग्रो जस्तै तात्तिएर
वर्तमानको विरूद्ध उठ्न पनि सक्दिनँ
किनकी
निहत्था, निरीह
म लाटो हुँ ।

बोल्न नसकेर होईन
जमाना अनुसार चल्न नसकेर
म लाटो भएको छु

Kabin Basnet – Timi Ra Ma

कबिन बस्नेत – तिमी र म

तिमीजस्तै
म पनि सन्तप्त छु
कैयन् कैयन् पीडाहरूको दवाग्नि
मभित्र पनि हुर्हुती बलिरहेछन्,
कति कति सपनाहरूको हत्या
मैले पनि तिमीले जस्तै
विवश मनले सहेको छु
फरक यत्ति हो-
तिमी सबैको अगाडि
आँसु रित्ताएर बग्न सक्छयौ
र, दु:खको वैतरणी पारी पुगेपछि
एकछिन फेरि फूल जस्तै फुल्न सक्छयौ,
म आँसुहरू सँगाल्दै जान्छु
घल्चा भरि टिलपिलाएर
जब पोखिन खोज्छन् तिनै आँसुहरू
बन्द कोठाको अन्कन्टार कुनामा पुग्छु
अनि सानो आवाजले रून्छु
तर, म तिमीले जस्तै
विगतका काँडेतार छिचोलेर
फेरि-फेरि त्यसैगरी
फूल बनेर हाँसिरहन सक्दिनँ ।

Kabin Basnet – Biswasghaat

कबिन बस्नेत – विश्वासघात

मध्यरातमा लर्खरिएको समय,
रित्तिसके बोतलका बोतल
थपिसकेँ पेगमाथि पेग
अझै किन दुख्दैछन् अतृप्त जिजिविषाहरू,
ए रक्सी !
शङ्का लाग्छ तेरो नियत
कतै संसारले जस्तै
स्वार्थको रङ्ग ओढेर
मलाई विश्वासघात त गर्दै छैनस् ?

Kabin Basnet – Aja Pheri

कबिन बस्नेत – आज फेरि

आज फेरि
सिङ्गो आकाश
मण्डपमा सजिएको छ
भर्खरै,
केही लजाउँदै, केही मुस्कुराउँदै
जूनले वरमाला लगाइदिएर
थामेकी छ
रातको अँध्यारो हात
आज फेरि,
आकाशमा
सहयात्राको नयाँ अध्याय लेखिएको छ।

आज फेरि
रात दङ्ग छ,
जून मख्ख छ
आज फेरि, ताराहरु जन्ती जाँदैछन्
झ्याउँकिरीहरूको पञ्चेबाजाले
अनुगुञ्जित छ प्रकृति सर्वत्र
आज फेरि, ज्योत्सना पोखिएको धर्तीमा
जूनकिरीहरू नाच्न तम्तयार छन् ।
यी सबै दृश्यहरू

आज फेरि,
एउटा सानो झ्यालबाट हेर्दैछु
ईन्सम्निया ग्रस्त आँखाहरूले ।

आज फेरि,
बादलको घुम्टो उघारेर
रात
जूनलाई सुटुक्क म्वाँई खान खोज्दै छ
आज फेरि,
म चाल मारेर भाग्न चाहन्छु
यो शहरदेखि
टाढा,……धेरै टाढा ।

-चाबाहिल, काठमाडौं

Kabin Basnet – Aahwaan

कबिन बस्नेत – आव्हान

अराजक बस्तीहरूमा
सिमलका भुवाहरू जस्तै
मागका पर्चाहरू आबाद छन् ।
हामी वीर गोर्खालीहरूका सन्तान
भी.सी. नजित्नेहरूको बलिदान
तथापी सोधेनौ हामीले इतिहाससँग कहिल्यै पनि
त्यो बलिदानको मूल्य,
नाथे अश्रुग्याँसको धूवाँले हाम्रो आखाँ रसाउदैन ।
एक थोपा रगतले कोरिदैन
क्रान्तिको मानचित्र ,
क्रान्तिको शङ्खघोषले आकाश छुँदा
रक्तरञ्जित वर्षा हुन्छ
र, हाम्रो बस्ती निथ्रुक्क भिज्नुपर्छ ।
रूनुपर्छ सयपत्री र सुनाखरीले
शहिदहरूको आँसु ।
आउ ! भत्काऔँ रूढीग्रस्त पर्खालहरू!
मेटाऔँ संकुचित पाइलाका डोबहरु !
मृत्युभन्दा जीवनले त्रसित छौँ हामी ,
हामीले उन्मुक्तिका ज्वारहरूसँग
बगरका ढुङ्गाहरू साटिरह्यौ ,
ए बगरमा जीवनको भारी बोक्ने मेरा साथीहरु !
म आव्हान गर्दै छु
च्यातौँ, जलाऔँ
झुत्रो इतिहासका पानाहरुलाई
कुनै दिन यस्तो पनि आउनेछ
कि हामीले जलाएको इतिहासको
खरानीको गर्भबाट
जन्मिनेछ एउटा फिनिक्स चरो
जसले सुनौलो घामको प्रभातमा
स्वतन्त्र उडान भर्नेछ
हाम्रो छोराछोरीहरूको निमित्त ।

– देवीनगर, बुटवल

Kabin Basnet – Sister

कबिन बस्नेत – सिस्टर !

सिस्टर !
बेड नम्बर तीसको पेसेन्ट फेरि एजिटेटेड भयो ।
छिट्टै जानुस् रे !
सिरिन्ज, भायल र ऐम्पुल
डाक्टरको फोन व्यस्त छ ।
कस्तो आत्तिनुभएको ?
हामीसँग हेलोपेरीडोल एस. ओ.एस मा छँदैछ नि !
अरे सिजोफ्रेनियाको पेसेन्ट हो ।
उसलाई केही भएकै छैन
तपाईंलाई के भयो ?
कृपया नैराश्यका फूलहरुलाई स्थान नदिनुस् ।
यस वार्डमा अरू पनि त छन् –
यिनीहरु प्रत्येकलाई खाँचो छ
‘लेडी विथ द ल्याम्प’का प्रेमिल स्पर्शहरू ।

सिस्टर !
इमरजेन्सीबाट नयाँ पेसेन्ट आउँदैछ।
मेडिकल अफिसरलाई पूर्वसुचना दिनुस् ।
उसलाई अब भर्ना गर्नुपर्छ
बेडको बन्दोबस्त कस्तो छ ?
फलानो डाक्टरको सोसियल केस हो रे !
विशेष हेरविचार गर्नुहोला
ह्यान्ड-ओवर लिनुस् ।

सिस्टर !
हिड्नुस् ।
राउण्डमा जाऔं,
अँ ….यो पेसेन्टको स्याचुरेसन ड्रप हुन सक्छ
विशेष ध्यान दिनुहोला ,
एउटा एबिजी अहिल्यै गरौँ है ।
सिस्टर ! सुन्नुस् न !
रिपोर्ट आएपछि मलाई फोन गर्नुहोला ।
मेनटेन भएन भने आईसियू सिफ्ट गरिदिए हुन्छ ।
अनि, सिस्टर !
यो बुबाको छातीको एक्सरे रिपिट गर्नुपर्छ
दमको रोगले ग्रस्त
हिँड्यो कि सास फुलेर आउँछ भन्नुहुन्छ
बरू सिस्टर , एउटा ह्विलचियरको प्रबन्ध मिलाईदिनुस् ।

सिस्टर !
ड्रेसिङको समय भएछ ।
स्पिरिट-श्वाब, बिटाडिन, गजपीस
एन.एस्, फोरसेप्स, ईजीफिक्स
मृगौला आकारको स्टिल ट्रे
कृपया यता नछुनुहोला
यो स्टेराइल जोन हो ।

सिस्टर !
थाहा पाउनुभो?
बेड नम्बर सत्रको पेसेन्टलाई त बेडसोर भएछ नि !
पेसेन्ट पार्टीहरूले कत्रो जात्रा गरेछन् ,
उनीहरु डाक्टरलाई दोष दिँदै थिए ,
डाक्टरको भनाई अनुसार ऊ त निर्दोष थियो रे ,
पोजिसन चेन्ज गरिरहनु भनेर
ईन्सट्रक्सन कार्डेक्समा दिएकै हो रे !
पेसेन्ट पार्टीहरू अब तपाईंलाई खोज्दै छन् ।

सिस्टर !
आज मेरो छोराको डिस्चार्ज गर्नुपर्ने
किन यस्तो ढिलो भईरहेछ ?
पेमेन्ट गरेको एक घण्टा बितिसक्यो ।
के भन्नुभो ?
डाक्टर टाईप गर्दैहुनुहुन्छ ,
लौन सिस्टर , छिट्टो गरिदिन भन्दिनुपर्यो
हामीलाई धेरै टाढा जानुछ ।

सिस्टर ?
हामी हाम्रो बिरामीलाई अन्तै लैजान्छौँ,
आ …….कति राख्नु !
कति खानु त्यै औषधी , निको हुने होइन
डाक्टर पनि उस्तै
कति भाउ बढेको
खुलस्त कुरै नगर्ने
पैसाको मात्रै सत्यानाश
हैन , सुन्नुभएन र?
सिस्टर ?…….सिस्टर ??

Kabin Basnet – Dobato Samma Aaipugda

कबिन बस्नेत ‘सिउँडी’ – दोबाटोसम्म आईपुग्दा

दोबाटोसम्म आईपुग्दा
हामीसँगै साँझ पनि अलमलिरह्यो,
एक कप चियाको निहुँमा ,
विभाजित थियो समय –
माछिकाँडे केशविन्यासका केस्रा-केस्राहरूमा ,
प्रत्येक फूलहरू
दिंग्भ्रमित यात्रीझैं
सोध्दै थिए आकाशसँग
फक्रिनुको अर्थ
र, प्रत्येक चराहरु
गाउदै थिए-
अनन्तको गीत ।

दोबाटोसम्म आईपुग्दा,
डुब्नै बिर्सेर
घामले चियाउदै थियो तिमीलाई
ईर्ष्याको विस्फोटले घाइते म
म चाहन्थे-
घामलाई हत्केलाले छेकिदिउँ
म चाहन्थे-
बादलका स-साना धर्साहरूले
क्षितिजका पाना भरि-भरि लेखिदिउँ आज
एकोहोरो प्रेमको गाथा
तर,
विवश म
दोबाटोको देवल जस्तै ,
आखाँहरू साक्षी राखेर
आँसुको पारदर्शी पत्रभित्र
लुकिरहेँ
मौन स्वीकृतिको प्रतिक्षामा
हेरिरहेँ, हेरी मात्र रहेँ
तिमीलाई , अनि
यूक्ल्याप्टसका लामा-लामा पातहरूलाई
जो हल्लिदै थिए
हावासँगै,
तिम्रो बिदाईका हातहरुसँगै !