आनन्द अधिकारी – म
पानीको फोकाजस्तो
मुखबाट बाहिर निकालेर
फवाक्क फुकायौ
फुकेँ
तन्कायौ―तन्किएँ
पड्कायौ―पड्किएं
निकै चपायौ―चपाईएँ
क्रम चलि नै रहयो, के.हि समय
जव तिम्रा काननेर कंचट दुख्यो
भुइमा Continue reading “Ananda Adhikari – Ma”
नेपाली कविता को बिशाल संग्रह
आनन्द अधिकारी – म
पानीको फोकाजस्तो
मुखबाट बाहिर निकालेर
फवाक्क फुकायौ
फुकेँ
तन्कायौ―तन्किएँ
पड्कायौ―पड्किएं
निकै चपायौ―चपाईएँ
क्रम चलि नै रहयो, के.हि समय
जव तिम्रा काननेर कंचट दुख्यो
भुइमा Continue reading “Ananda Adhikari – Ma”
जसका लागि समर्पित छन्– यी शब्दहरू
उनीहरू बुझ्दैनन्– यसको अर्थ !
उनीहरू बुझ्छन्– बतासको रङ
आकाशको भाका
र झरीको मौनता
मेरा यी शब्दहरू विपरीत– उनीहरू
मानिसलाई ठान्छन्– शब्दको ईश्वर
र आफ्नै रगतका उज्याला फूलहरू
चढाउँछन् – त्यसलाई
भत्काउन दिन्छन्– पसिनाका प्रस्तरहरू
दाँत खसेको कोदालो
निभ्नलाई बलेको लालटिन
लहरे खोकी
र मध्यअसारको चकाभक…
कति गम्भीर छन्– शब्दका ईश्वरहरू
उनीहरूले बुझून् भनेर
मानिसको शालीनताविरुद्ध मैले
आफ्ना धारिला शब्दहरूलाई उफारेँ–
सडक–सडक
चोक–चोक
गाउँ–गाउँ
बस्ती–बस्ती
पर क्षितिजमा अल्पिरहेका ताराका बथानहरू देखेर
थाहा हुनुपर्ने हो– शब्दको जीवन
एक्ली साँझको सुकसुकाहट सुनेर
फर्किनुपर्ने हो– त्यो तन्नेरी शब्दको वैरागी अर्थ
त्यो शून्य रात उसलाई भञ्ज्याङमै भेट्नुपर्ने हो
–उनीहरूका निश्चल आँखाहरूले
केहीछिन–
आलीमा बसेर सुर्ती खानु
उठेको धुवाँभित्र
उडिरहेको जहाज र उङिरहेको जून हेर्नु
ओढिराखेको घुम खस्नु
हल्लिरहेको बाँसको टुप्पोमा निदाएको कुनै चराले
आफू मरेको सपना देख्नु
यी सबै ईश्वरहरू हुन्–शब्दका
जसका लागि समर्पित छन्– यी शब्दहरू
उनीहरू बुझ्दैनन्– यसको अर्थ ।
उनीहरू बुझ्छन्– बतासको रङ
आकाशको भाका
र झरीको मौनता
‘सुनको दिन एक उदाउँछ रे
यस देश खुलिकन आउँछ रे’
कविको यस पंक्ति बिरान भयो
नखुलिकन देश त धुम्म भयो
न त पुर्व खुल्यो, न त पश्चिम नै
न आकाश खुल्यो, न त पिर्थिवी नै
न त राप जुट्यो, न प्रकाश जुट्यो
मधुरो Continue reading “Hari Govinda Luitel – Sun Ko Din [Nepali Bal Kabita]”
शिर्षक :- मानव उपहार
कवि:- मार्सेल मानसिहं मुर्मु
अति नै विशुद्ध प्रकृतिको मानवको छ यो जीवन,
फरकपन्ता सबैमा रहे पनि सज्जिनु पर्छ यहाँ,
कतै खुसीको हाँसो आलाप व्यापत त कहीं दुखको विलाप,
यति भिन्न प्रकृतिले राज गर्छ, हुन्छ मानव जहाँ।
बीउ रोप्यो, त्यो हुर्कियो फक्रि सकेसी कसैले ग्वाम बनायो,
मेहनत गर्यो, त्यो बानी बसाल्यो कसैले त्यसलाई हसुर्यो,
उमार्ने म, त्यो हुने सब मध्येका कोहि, आफु गुम्यो,
स्विकारोतीमा रहेछ त्यो महान्ता बनाई सारा आफु अर्थपूर्ण।
जन्म दिनेले पाइला बडाउन सिकाउछ, बडने नि चक्रभागी,
अघि बढ्दा आफ्नो मात्र होइन सबको निम्ति हुनुपर्छ लागी,
जति लाग्यो, गर्यो, हिसाब नगरी रहुँ सन्तुष्ट केही नमाघी,
कारण आफु हिडेको पाइलाले गरोस सृष्टिकर्ताको प्रशंसा।
म हौउ त्यसैले एक असल अौजार मानवताको,
म बनु त्यसैले एक ज्योति बडारिएका निम्ति हसुर्ने,
म रहुँ त्यसैले एक उदाहरण रहि सकारात्मक सदा,
म गुम भई दिउ सकिने जति उहीँ ईश्वर एकको महिमा।
(मार्सेल मानसिहं मुर्मु
स्थायी ठेगाना- बिसनपुर,(साविकको- होक्लावारी-८), कानेपोखरी गा.पा.-१, मोरङ्ग
अस्थायी ठेगाना- गोर्खा
पेसा- शिक्षक)
इन्दिरा गौतम – बस्ती बसाल्नु छ
हिजो आज तिमी
समानताका कुरा दोहोराउँछौ
पूर्ण विकसित नभइ
छाती भित्र हजारौं, लाखौं चाहना
दबिएका हुन्छन्।
समयका हुङ्कारमा
लाचार अनि दुर्बल आत्मकथा
मर्मान्तिक पीडामा छट्पटाउँछन्।
आँसुले नुहाएर
अस्मिता लुटिएका
अघाएर फ्याँकिए
घरबार भत्किएका
विवश नारीहरु।
आरोप-प्रत्यारोपका
अशुभ र अलपत्र शब्दहरु
वर्बर नृशंसताका घटनाहरु
तेर्सिएका छन् वरिपरि।
छोरो नजन्माउँदाको उपहार
कतै साङ्लोले बाँधिएका
कतै दाईजोले पोलिएका
कतै विषाक्त तेजाबले अनुहार डढेका
कतै घाँटी च्यापिन्छ
निष्पट अँध्यारो कहाली लाग्दो जीवन।
फुल्न आँटेका कोपिला
शरद अघिनै तहस नहस हुन्छन्
पासविकता फैलिएर मौलाएका छन्
मासु लुछ्दै हिडन लागेका छन्।
मेरो मनमा आँधी चल्छ,
बारबार प्रश्न उठ्छ…
आज प्रतिवादीहरु किन मौन छन् ?
मलाई चिच्याउन मन लाग्छ
मलाई चिथोर्न मन लाग्छ
अब, अब विद्रोही कलमहरु
न्यायका आवाज खोज्दै छन्
नव युग जन्माउनु छ,
एउटा छुट्टै बस्ती बसाल्नु छ
समयको पाइला सँगै
हाम्रो पदचापले
थर्कमान हुने छ समय।
पक्षपाती समाजलाई सूर्योदय अघि नै
तहस नहस पार्नु छ।
एउटा खण्डहर युगलाई
सगोल बाहिर निकाली सिंगार्नु छ
चारैतिर बिषाक्त काँढाहुन्
ढुङ्गाको पर्खाल होस्
कसैले नाघ्न नसक्ने,
जहाँ निःसङ्कोच नारी विचरण गरुन
जहाँ परिश्रमी नारी उद्यमी बनुन्
एउटा सुरक्षित, सुन्दर शान्त
नारी शक्तिको बस्ती बसाल्नु छ।
पीर भारी भएर
हिजो राति आकाश खसेछ।
घनीभूत अँध्यारोले
प्रगाढ़ बनेको छ
यो रात।
मनको आधा पाटोमा
खर्लप्पै पैह्रो लागेको छ
आशाको झीनो त्यान्द्रो
यतै कतै अल्झिरहेथ्यो
यो अपशकुन क्षणमा
म कुन खुसीको
कल्पनामा निमग्न थिएँ?
अलमल्ल परेको छु।
मेरो सपनाहरूमा
माकुराले जालो बुनेको छ।
अत्यास लाग्ने
यो समयमा
म हिंडिरहेकै छु
तर मलाई
गन्तव्य थाहा भएन।
हिजो का ती यादहरू
भारी भै रहेको छ
विस्मृतिको गहिराईभित्र
जन्म-जन्मातरका
व्यथा कथाहरू
कति बनायौं, कति भत्कायौं
यस्ता अनेकौं घरहरू!
खै कस्ले पो
राख्न सक्यो र
यस्को लेखा-जोखा
मान्छे धेरै थोक पाउने आशामा
दगुरी रहेकै छन।
एक तमाशको दौड-धूप छ
बाटोभरि
देख्दछु कोलाहल
छाएको छ
कालो रातको
पिठ्युँभरि
मन एकोहोरो
विलाप गाई रहेछ
कस्लाई के भनौं
म यस घडी
जीवन एउटा
बेहिसाबको व्यथा बनेर
दुखिनै रहेको छ।
वैद्यनाथ उपाध्याय
सौरभ नूतन – झन् राम्रो
एउटा बच्चाले एउटा पानामा
एउटा जून बनायो
र,लगाइदियो त्यो जूनका ओठमा
रातो लिपिस्टिक!
राम्रो जून झन् राम्रो देखियो ।
त्यसपछि उसले
एउटा पानामा
एउटा इन्द्रेणी बनायो
र,त्यो इन्द्रेणीको अनुहारभरि
पोतिदियो रङ्ग नानाथरि!
राम्रो इन्द्रेणी झन् राम्रो देखियो ।
यो दृश्य हेरिरहेको
मैले सोचें-
ईश्वरले नबनाएर
बच्चाले बनाएको भए
यो ब्रहमाण्ड झन् सुन्दर देखिन्थ्यो ।
ठेगाना: निजगढ ५, बारा
इन्दिरा गौतम – मृत्यु
मलाई कोपर्न खोज्छ
लुछ्न खोज्छ
चिथोर्न खोज्छ
एउटा सिङ्गो समयले।
व्यस्तताको भीडमा
तछाड मछाड गर्दै
हतारिएको समयले,
खातामा लेखिएका
एक एक पल समाधितर्फ
लम्किरहेको छ।
भोलिको दिनमा
न म हुन्छु
न मेरो रहर
केवल अलपत्र परेको बिहानीसँग
मेरा पुराना यादहरु
ताजा हुने छन्।
एक चुट्की वायुमा अडिएको प्राण
अहिले हो या भरे?
अब त सत्य र स्वास्वत मृत्युलाई
स्विकार्न तयार छु
जीवनको अन्तिम विश्रामस्थल
समाधिमा ओच्छ्याएका फूलहरु
मेरो पर्खाइमा ताजै छन्।
ओदालगढी, असम
(यस कारण सायद यस्तो भयो कि
तिमीलाई आफ्नै ज्यामिति थाहा थिएन- लोर्का)
उहिले उहिले
धेरै पहिले नै यो देशबाट
गुमाएका थियौँ हामीले आफ्नो देश ।
तर, उहिले उहिलेदेखि नै
हामी यो देशको सौर्न्दर्यगाथा गाइरहेका थियौँ
हो, हामी यो देशको
अबिरल र अजस्र पानीको कुरा गरिरहेका थियौँ
हरियो वन नेपालको धन भनिरहेका थियौँ
यो देशको स्वच्छ हावा र शीतल वातावरणको कुरा गरिरहेका थियौँ ।
यो देश
एसियाको स्वीजरल्याण्ड हो
यो गौरवलाई जोगाउनुपर्छ भनिरहेका थियौँ
सगरमाथा र गौतम बुद्धलाई उभ्याएर
संसारसामु नाक ठूलो पारिरहेका थियौँ ।
पक्कै पनि यहाँ
मौसमअनुसार चल्नसक्ने नेताहरू पनि थिए
क्षणमै उचालिने र क्षणमै पछारिने जनता पनि थिए
आन्दोलन, विद्रोह र वार्ता पनि
थोक बिक्री शैलीमा भइरहेकै थिए
मानचित्रमा पनि त देश छँदै थियो
तर, विडम्बना, देशभित्र कतै देश थिएन ।
उहिले उहिलदेखि नै
यहाँ न्यायालयमा कतै न्याय थिएन
उहिले उहिलदेखि नै
यहाँ सुरक्षामा कतै शान्ति थिएन
हो, उहिले उहिलेदेखि नै यहाँ
क्रान्तिमा इमान
सत्याग्रहमा सत्य
र, मुक्तियुद्धमा कतै मुक्ति थिएन
हो, हामीसँग देशका प्रशस्त गौरवगाथा त थिए
तर विडम्बना, देशभित्र कतै देश थिएन ।
स्वप्नसम्वोधिः विवर्तित वाँदरहरु
वमका गिदीहरु बोकेर
माधे सक्रान्तिको मेला भर्छन्
ढुङ्गे साँघुतिर
फाटेका धर्तीहरु
जिन्दावाद !
तुहिएका युगहरु
परावैजनी स्पर्शहरुमा
ओजन छिद्रित छन्
धमिराका जनप्रसादतिर
कमिलाहरुले धावा बोलेका छन्
काँचुलीमा हराएका जिन्दगीहरु
हुस्सुका सुरुङ्गभित्र
भोका अजिङ्गरहरु जन्माइरहेछन्
हिमालहरुको देशः ताण्डव नृत्य चलेको छ
ढाड भाँच्चिएका पहाडहरु
वसिवियाँलो गर्दैछन् –
‘हामी कहाँ एटना र भिसुभियसहरु छैनन
त्यसैले मान्छेहरु विस्फोटित छन् !’
अग्रिम युद्धमोर्चाः मनका प्रक्षेपाश्त्रीय भूमिहरु
आउ, हिमालका आँसुहरु पिएर
फोसिल उत्खनन् गरौं
शुम्भ निशुम्भका
किरातार्जुनीय तपोभूमिः छलनाहरु वर्जित छन्
आउ, हाकाहाकी मनको खेती गरौं
मान्छेको आधा मन देउताको जीउमा छ
आधा मन राक्षसको जीउमा छ
प्रकोपप्रकृतिः किन जिन्दगीको गतिलो पाठ वन्दैन ?
यहाँ जड पदार्थहरु दङ्ग छन् किन
चेतनपदार्थहरु वर्गीकृत छन् ?
सक्रान्तिप्रतीक्षाः वनवास गएका राजनीतिहरु
हेर, हामी नक्सा देशका बासिन्दाहरु
नक्सा देशमा मरिरहेका छैनौं
अन्ततोगत्वाः देश कस्ले विगा¥यो ?
कुम्भकर्णहरुले देश विगार्दैनन् ।
भोरको उज्यालोमा उसलाई निभाएर
सधै–सधै म घरबाट निस्कन्छु
र दिन–दिनभरि
सूर्यसरि
यस क्षितिजबाट त्यस क्षितिजमा
भट्किरहन्छु
मानिसहरुको बीचमा
अनि जब रातमा घर फर्कन्छु
ऊ त्यहीँ त्यसरी नै
निभेर झोक्रिएर बसेको हुन्छ
जाग्छ मनको कुनै कुनामा
एक अव्यक्त माया
र हठात् म उसलाई स्पर्श गर्न पुग्छु
ऊ खुशीले धप्प बल्छ
ऊ मेरा कोठाको ‘बेड–ल्याम्प !’
ऊ मेरी ‘धर्मपत्नी’ ! !’
मुरारी राज मिश्र – मेरो देशको प्लटिङ्ग
राजनीतिक दलहरु–
हाउजिङ्ग कम्पनी र पोपर्टी डिलरमा
परिणत भएका छन्
अनि, नेताहरु नियुक्त भएका छन्
त्यस्को प्रोप्राईटरको पदमा,
मेरो देशको जमिनलाई
धमाधम टुक्र्यांईदै
र प्लटिङ्ग गरिंदै छ
रोपनी–रोपनीको प्लट
स्वायत्त गणराज्यमा ।
सवैको भाग पुर्याउँदा
देशको हजारौ टुक्रा हुने भयो
वाईसे–चौविसे मात्रै होईन अब त
प्रत्येक वडा–वडामा एक–एकवटा
स्वायत्त गणराज्य बन्ने भयो ।
युवा बराल अनन्त – कविको घर
उसका आँगनभरि अक्षरका चल्लाहरु चिल्बिलाइरहेका छन्
उसका सिकुवातिर झन झन अटेरि गर्दै लहसिन्छन्
थुप्रै परेवाहरु…
हच्काएर कहाँ हच्किन्छन् र !
साँझपख गुँड़ खोज्दै पुन: छिल्बिलाउँछन ती चल्लाहरु
उसरी नै ती परेवाहरु घुर्दै कविको आश्रय माग्छन् ।
कविको घर !
कलमको सिह्रानी
पन्नै पन्नाको ओछ्यान ।
पल्टाएर सुत्छिन् कविकी श्रीमती कविको बेस्याहार कविता
शब्दका मुलायम हातहरुले केश सहलाउन चाहँदै
एकपल्ट अनुनय गर्छिन् उनी
कविता मीठो कि म ?
बिहानी पख कविका बालबच्चाहरु उड़ाउदै गरेका हुन्छन्
कविता रचिएका पन्नाहरुको पुतली !
घरको बलेंशीमा उभिएर…
परेवा अक्षरका, चिङ्गना शब्दका, चारो मागिरहेका निरीह माथि
कविकी अर्धाङ्गनी झटारो हान्दै गरेकी भेटिन्छिन्
एकाबिहानै अभावको अगुल्ठोले ।
अझ थपिन्छन् कविका घरमा उसका शुभचिन्तकहरु
जुरेली रुपी अनि कल्चुँड़ाहरु
क्ररेसा बारी अनि घुरेनभरी चिर्बिराउँदै अपुगहरु ।
शरीर एकातिर मन अर्कोतिर उछिटिएकोको बेला
काम गर्ने पातलीले बड़ारेर कहाँ हुत्याइदिन्छे
कविको अधकल्चो भावना ।
डोकोमा दुहीरहन्छ कवि, भाग्यको कविता
उत्तरदायित्वको बिरालोले चालै नपाई चाटिसकेको हुन्छ
उसको अलिकति पग्रिएको लाग्ने दिमाग ।
भावहरु अभावको गाली सुनेर एकातिर तर्सिन्छन्
विचारहरु कर्तव्यबोधको भारीले थिचिन्छन् अनि
उसको मनको धुरीबाटै हच्किएर उड़िजान्छन् ती परेवाहरु ।
– शुक्रबार, 6 भाद्र, 2071
भूपिन ब्याकुल – अन्तिम हस्ताक्षर
यो निर्दयी इश्वरले
के लेख्छ मेरो निधारभित्र
सिस्मोग्राफ ?
त्यहाँ त एउटा प्रिय हस्ताक्षर छ
अरुले गरिदिएको
डाक्टरहरुले सुनून्
मेरो मुटुको कालजयी सङ्गीत
र जानून्
कार्डियोग्राफमा Continue reading “Bhupin Byakul – Antim Hastakshar”
उपेन्द्र श्रेष्ठ – हाम्रोलागि किन ?
(मधुपर्क २०६६ असोज)
अरूको निम्ति
मर्ने
र मार्ने
खोक्रो उद्देश्य बोकेको हाम्रो संस्कृति
हाम्रो परम्परा
र हाम्रो इतिहास
हाम्रोलागि किन ?
हाम्रोलागि
अर्थहीन छ यो हाम्रो अतितको गाथा
अर्थहीन छ यो हाम्रो लाखे परम्परा
र यो हाम्रो गथु संस्कृति
हाम्रोलागि
भोको बस्तीको लागि
यी खोक्रा नाराहरू किन ?
यी खोक्रा भाषणहरू किन ?
हाम्रोलागि
यो लुट र अपहरण किन ?
हाम्रोलागि
यो उग्र आतङ्कवाद र हिंसाहरू किन ?
खोइ हाम्रो गाँस ?
खोइ हाम्रो बास ?
खोइ हाम्रो गन्तव्य ?
अरूको निम्ति
मर्ने
र मार्ने
खोक्रो उद्देश्य बोकेको हाम्रो संस्कृति
हाम्रो परम्परा
हाम्रोलागि किन ?
हाम्रोलागि
अर्थहीन छ यो हाम्रो गथु संस्कृति
अर्थहीन छ यो हाम्रो लाखे नाच र तानाकिसी
विवेक दुलाल क्षेत्री “दमक” – पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस
असहाय हुन्छ
निरूपाय हुन्छ
अपाहाज हुन्छ
फुर्ति सबै हराएको हुन्छ
निरह हुन्छ
पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस .
त्यो बेला उसको अनुहार हेर्न लायकको हुन्छ
जागर मरी सकेको हुन्छ
उससित आफैले आफैलाई तर्साएको क्षणको झल्को हुन्छ
उसका इच्छाहरूको मृत्यू हुन्छ
नेपथ्यमा खित्काको आवाजले उसालाई गिज्याउदै हुन्छ
निरह हुन्छ
पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस .
लाचार हुन्छ
छुब्द हुन्छ
बच्चा झैँ नाजुक हुन्छ
सुन्ने कुराहरू पनि हुदैनन् उससित
सुनाउने कुराहरू पनि हुदैनन् उससित
लक्ष्यमा हिड्न खोजेर पनि सक्दैन
एक ठाउमा स्थिर मन लिन पनि सक्दैन
निरह हुन्छ
पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस .
जसरी पुराना पातहरू झर्दै
नया पातहरू पलाउछन्
रुखमा ,विरुवामा
त्यसरी नै खराब बिचार उबाट खसेर
उसमा सज्जन बिचारहरूले हराभरा हुनु पर्ने हो ;
जसरी नदि अविचलित रूपमा
अविरल बगिरहेकै हुन्छ
त्यसरी नै उसले दृढ भै आफुलाई
आफ्नो सुदूर भबिश्यमा हिडाउनु पर्ने हो ;
तर उ सबै कर्मबाट चुके पछि निहत्था हुन्छ
उसको भाग्य बिचमै फुटेपछि उ फाल्टू हुन्छ
अनि त –
हावामा कावा खादै हिडिरहन्छ उ
अनि त –
मूलबाटो नै भुले जसरी डुलिरहन्छ उ .
यसरी –
निरह हुन्छ
पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस .
अस्तु :
दमक ,झापा
भारी ट्रकमुनि थिचिएर
म¥यो एउटा कलिलो ठिटो
हत्केला खोलेर
उसको आयुरेखा लामो थियो
लामो थियो
मेरा विगत असफल सपनाहरु जस्तै ।
भीरा खड्का – मृत्योत्सव
म
दिनहु
नजिकिदै गरेको आफ्नो मृत्युलाई
स्वागत गरी रहन्छु
क्रमस: सधै भरि
मृत्युबोधको
स्पर्शानुभुतिमा
पुलकित बनि रहन्छु /
जीवन ?
छंभंगुर छ
मृत्यु नै शास्वत हो
तब किन Continue reading “Bhira Khadka – Mrityosav”
उमेश राई’अकिञ्चन’ – हिउँद
दिनको आयु छोटिएर क्रुसमा
प्रस्तरको समाधिस्थ छानामाथि
उदाउँछ रातको लकेट
क्रिसमसको पाइलामुनि
फुल्छन् हिउँका फूलहरू
बाँडेर शीतको दाह्री
हराउँछ कतै सान्तक्लज
हुस्सुको Continue reading “Umesh Rai Akinchan – Hiund”
कुमार सिंखडा – ए नारा’न एनआरएन
ए नारा’न,
यहाँ पनि सत्ताकै खेल
ए नारा’न,
यहाँ पनि भत्ता कै खेल
दिनभरिको नूनको सोझो साधु,
साँझ परेसि त हामी एनआरएन
आरएन भएनि एनआरएन भएनि
लत्ता, भत्ता, र सत्ताको खेल।
ए नारा’न,
यहाँ पनि जत्थाको खेल
ए नारा’न,
यहाँ पनि आत्थाको खेल
हप्ताभरि सोझा, त्यागी, परिश्रमी
हप्तान्तमा त हामी एनआरएन
आरएन भएनि एनआरएन भएनि
आत्था! मत्ता जत्थाको खेल।
ए नारा’न,
यहाँ पनि सत्ताकै खेल
ए नारा’न,
यहाँ पनि भत्ता कै खेल।
(अनेसास जापानद्वारा आयोजित भानु जयन्ती २०६५ मा वाचित)