दुइचार माना माटो
एकदुइ मुठी मल
र मायाको घाम-पानी दिए
तिमीलाई फुलले
गमला साइजको स्वर्ग दिन्छ ।
Binod Roka – Kata
बिनोद रोका – कता ?
जन्मायो येही धर्तीले तिमीलाई
बढायो झर्दै आँशुका ढिका
कर्म त गर्ने पर्ने हो यो देशमा
किन जान्छु कोस्टारिका
परिबर्तन र बिकासका खातिर
देखाऊ बल तन्नेरीका
पढ लेख येही देशमा
किन जान्छु अमेरिका
दुख गर आफ्नै देशमा
बरु बन ड्राइभर ट्याक्सीको
अन्यथा नसोच नेपाली
किन बेर्थ जान्छु मेक्सिको
बन्छ मिले हामी यो देश
नगरौ बिकासको लागि हतार
ऋणै ऋण थाप्लोमा बोकी
किन जानु साउदी कतार
काम गर्दा चौबिसै घण्टा
परदेशमा हामी हुन्छौ घयेल
सोच फेरी राष्ट्र भक्तहो
कि जान्छौ त इज्रायेल
दुख गरि अर्काको देशमा
किन बच्नु आफ्नो देश बिना
पैसा टिप्न मिल्दैन थिताहो
किन जान्छौ अर्जेन्टिना
परिश्रम गर आफ्नै माटोमा
कुर आफ्नै देशमा काल
गौरब गर नेपाली हुनुमा
भन प्यारो देश नेपाल
भन प्यारो देश नेपाल ||
Bipin Singhal – Pyari Chhori
बिपिन सिंघल – प्यारी छोरी
मेरो ओठ मेरो मुस्कानमा
मेरो नयन मेरो कपालमा
फिदा यी सारा प्रकृति
रंगिदै छन मेरो रङ्गमा ,
कहिल्यै अप्सरा कहिल्यै
परि कहलाउछु म !
सबको मन जितदै
मुटुमुटुमा वास गर्छ म !
कयौंले मलाइ घृणा गरेपनी
बाबा आमाको प्यारी छु म !
घरको महारानी छु म !
म बिनाको
कुनै सुख छैन यहा,
म बिनाको
कुनै दुनियाँ छैन यहाँ ,
प्रकृति भरी सुन्दरता छर्दै
प्रकृति संगै रमने बानी छ मेरो
समाज मा बेग्लै पहिचान छ मेरो ,
प्यारी छोरी भन्नी नाम छ मेरो !!
प्यारी छोरी भन्नी नाम छ मेरो !!
Mani Raj Singh – Timro Sapana Ra Ma
मणिराज सिंह – तिम्रो सपना र म
आलुबारीमा गोडेको
तिम्रो सपना
र रातको अन्धकारमा भौतारिएको
तिम्रो यौवनको लाली
बाँसको झ्याङ्बाट बगेको
बतासको गाढा सुसाई
हत्केलामा नअटेको
गुँरासको रंग
एकविहानै चियाएर हेरे आँखीझ्यालबाट
डाँडापारि रगतको होली खेलेर
घुरझैँ सम्पूर्ण परिवेश तताउँदै
अनन्त ज्योतिका लप्काहरू उचाल्दै
घाँटीमा सुर्केनी कसेझैँ
छङ्छङ झरिरहेको झरनाको पानी
मेघको गर्जन र विजुलीको उज्यालोमा
त्यो परिचित देउरालीमा मयूरको नृत्य
तिमी नै तिमी पोखिएकी रहिछौ
पानी–पानी भएर ।
पसिनाले सुम्सुम्साएर
हातका ज्यावलहरू
एक टुक्रा अध्याँरोसँग
पत्रैपत्र पट्याएर
सम्झनाका चिनोहरू
सिँचेर राखेको छु
मनको अगेनीमा
तिमीलाई पर्खेर रङ्गहरू पोतेको छु
सपनाहरू उघारेर सिरानीमा थापेको छु
तिमी आउछ्यौ कि भनी
घरि–घरि चियाएको छु ।
Damodar Pudasainee – Israel Ko Swad
दामोदर पुडासैनी किशोर – इजरायलको स्वाद
हरिया थुम्काहरूमा
ढकमक्क फुलेकाछन्
सेता ईन्द्रकमलहरू
जहाँ रातभर
आकाशका सबै ताराहरू
भेला हुन्छन्
र दिउसभर
दहीका सेता ढिक्काहरूको
कथा लेख्छन्
केही मान्छेहरू
काँधमा मार्क्स बोकेर आऊँछन्
केही मान्छेहरू
मनमा बुध्द,हब्स ,लक र रुसो बोकेर
उकालो चढछन्
केही मान्छेहरू
ढोका ढकढक्याउँन आइपुग्छन्
रित्तो मन बोकेर
जो जो जसरी आएपनि
सबैले
भेडा चराउँदै मान्छेको मन खोजिरहेका पैगम्बर
र, मान्छेकै मन उजागर गर्दा
क्रसमा टाँगिएका यशुका
सुख दुखका कथा सोध्छन्
जैतुनका मसिना पातहरूमा
मान्छेहरू
निरन्तर
पहिले आफूले टेकेको जमिनलाई
त्यसपछि आफ्नो मनलाई
भूमध्यसागरझैँ निर्मल
र,भूमध्य सागरभन्दा महान सँभाबनाका
चित्रहरू
क्रमश: कुँद्छन्,कुँदिरहन्छन्
आमाहरू
छातीको एक भागमा देश
र ,अर्को भागमा नानीहरू सजाउँछन्
अरुले बनाएका झकिझकाउ गहनाहरूलाई
पुरानो सोकेशमा सजाएर
आफू भने
जन्मदै ल्याएका गहनाहरूबाट
अनबरत उज्यालो छर्दै
हिँडछन् ,हिँडिरहन्छन्
बिश्राम भन्ने शब्दलाई
शब्दकोषका पुराना पन्नाहरूमा
कैद गरेर
सपनाका सागरहरू
उमार्दैछन् भिराला धरातलहरूमा
र,मुटुका कुना कुनामा
उम्रेदेखि डाँडाका जुनसम्मका मान्छेहरू
मलाई बिश्वास गर
तिमीले दिएको बिश्वासको साटो
म दिन्छु तिमीलाई
माया फूलिइरहने मीठा गीतहरू
मान्छे ब्यूँझाउँने गीतहरू
लेख्न सक्तैनन् मान्छे बाहेक अरू कसैले
भनिरहेछन्
बेसीबाट उकालो चढिरहेका मान्छेहरू
रातभर कोही निदाएनन् बस्तीहरूमा
दिनभर कोही थाकेनन्
कारखाना र बारीका पाटाहरूमा
मान्छेको सर्बस्व मान्छेलाई सुम्पन सक्ने मान्छेहरू
मान्छे खोज्दै हिँडिरहेछन्
सँसारका फराकिला भित्ताहरूमा
यो जूनीमा त बिरामी बन्नेपनि
कहाँ फूर्सद छ र
जागिरहेका मान्छेहरूलाई
-२०७५ फागुन २९ गते बुधबार
(सन्२०१९ मार्च १३)
बेन्गुरियन बिमानस्थल,इजरायल
Acharya Prabha – Bandhaki Hanso
उत्कट अभिलाषाको कमारो भएर होइन
जिउने आधार खोज्न
म ,
आफ्नो भुगोलरेखाको सीमाबाट
बाहिरिएकिछु मलाई लालिगुराँश,चाँप् ,चमेलिको मोह
किन थिएन र रु
अनी —सेता अग्ला हिमालहरुको
द्रीश्यले किन मोहित थिइन र Continue reading “Acharya Prabha – Bandhaki Hanso”
Shree Purush Dhakal – Samjhana
श्रीपुरुष ढकाल – सम्झना
(मधुपर्क २०६६ असोज)
सम्झना छ अझै ताजा
वालापनको खेलवाड
हाँस्दै खेल्दै मनाएको
रमाइलो चाडबाड ।
काफल टिप्न रूख चढ्थ्यौँ
गाई चराउन जाँदा हामी
ऐँसेलु टिप्दै खान्थ्यौँ
काँडेदार हाँगा तानी
गर्मी हुँदा पौडी खेल्थ्यौँ
जाडोमा धुनी बाल्थ्यौँ
खोला पुग्दा बल्छी हाल्दै
माछा पोली खान्थ्यौँ ।
कपर्दी र डण्डीबियो
खेल्ने गथ्र्यौ हामी
कहिलेकाहीँ रिसाएर
कुस्ती लड्थ्यौँ हामी
रिसाएको एकैछिनमा
भेटी हालौँ लाग्थो
अँगालेर आपसमा
बोली हालौँ लाग्थ्यो ।
असार पन्ध्र हिलो खेल्दै
दहीचिउरा खान्थ्यौँ हामी
साउने सङ्क्रान्तिमा
लुतो फाल्ने गथ्र्यौ हामी
दसैँ तिहारमा पिङ खेल्थ्यौँ
टीका पनि लाउँथ्यौ
पुसको पन्ध्र घिउखुट्टे
माघमा खिच्रो खान्थ्यौँ
सम्झना छ अझै ताजा
वालापनको खेलवाड
हाँस्दै खेल्दै मनाएको
रमाइलो चाडबाड ।
-ल.पु.,सानेपा
Aryabiman Chitrakar – Brainless Ka Inkalab
हैवान, माफ गर्नुस्, अलि बढि नै भएछ।
राक्षसी स्वभावका, बर्वर भ्याकुर
सतहहीन भई उब्जेका कन्दमुल
अमानवीय अंशका जंगली #स्वाव,
ईर्ष्यालु भाकाका माकुर माकुर घुर…
दम्भरुपि बगैंचाका शालिन माली
द्वेष एरोटिज्मका बिख्यात फ्रायद
बिखण्ड तर बैभव, व्यग्र सायद
विष वमनका रसमा कलह हालि
घुटुक्क निल्छन्, हालीमुहाली
कानोको आँखा फोड्दै ,लाटोको हात काट्दै
अनि अन्धोको जिब्रो थुत्दै, झ्याली पिट्दै भन्दे
अब इन्क्लाब हुन्नन् साहित्यका,पक्षघातका पर्याय भए सबै इन्टेन्स्ड कविहरुका गिद्दी निकालि, तहखानामा थुन्दे।।।
दिवाकार वैरोचनका आगडी, रविभ्रमको चेष्टा
आक्रान्त शिशिर माझ वरुण स्वयम् मिथ्या
मेरो सोचको गर्लाऊ अपहरण, अहम् लाई नाकाबन्दी
विचारको उर्वर भुमीमा, हुन्न एक ब्रेनलेसले कुनै मन्दी
साहित्यमा कू लगाई गर्लाऊ सिर्जनामाथी कर्फ्यू
कठ्पुटलीलाई देखाऊ यस्ता भ्रामक भ्यू
म त्यो कानो होईन जसको आँखो फोडिएको छ
म त्यो लाटो होईन जसको हात काटिएकोछ
म त्यो अन्धो होईन जसको जिब्रो थुतिएकोछ
म रचनाको त्यो गिलोटिन हुँ, धार नै काफि छ
मेरा शब्दले नै धराशयी भएका छौ
फेरि के? एक पटक बोलेर नि देखाऊँ??
Aryabiman Chitrakar – Koila Ka Attahas Haru
कोईलाका अट्टहासहरु
नमस्ते म कोईला।
कोईराला होईन के!!!
अ! हजुर त्यही कोईला
अस्ति भर्खरै तपाईंको सेतो सामाजिक भित्तामा
रिसाएको अवस्थामा
फ * यु कम्युनिज्म लेख्ने
म त्यही अबोध कोईला।
मेरा अहम् का जर्रा जर्रा माथी
पेट्रोलरुपि तिम्रा कथित स्व्यागका
झिल्का फ्याँकि, हाँस्दै छौ साथी??
मलामी ती निर्दोष वर्षा
के बुझ्थियौ, कति भो जाती
स्वान भुकाई तिम्रो , उभों उभों
भुलेछौ के? को वजिर को हाथी??
आज पनि शान्त तर सुसज्जित
मेरा अहम् का कोईला
म त जातै ले कालो
लेख्ने नै भएँ कालो
हिजो उसको त
आज तेरो पालो।
तालव्यमा लगा लगाम्
हस्तलाई भलो
चिन्दैन कोईलाले
को भेना को सालो??
कोईला हुँ, त्यसैले कालो।
खोक्रा आदर्श तिम्रा र मिथ्या छ चिन्तन
म त बुझुँला , सहुँला तर
कोईलाले गर्दैन मनन
लुरुक्क कुन ओढार कुन गुफामा
अचेल गर्दैछौ हाईवर्नेशन??
रवाफका ताँती के भएकै हो त थाँती?
कोईला जान्न चाहन्छ, के हो कारण?
कारण, बिहाईन्ड डिस आईशोलेशन
कोईला खोजी हिडिरहेछ एक्लै
कहाँ हो खोई लोकेशन???
( श्याम, कृष्ण , काला, कालो, डार्क, ब्ल्याक समिश्रणको कोईलाको अट्टहास अचेल सेता भित्ताका अभियन्ताहरुले सन्कुचित र पराजित लवजमा स्वीकार्दै छन्)
कोईला अब इन्क्लाबमा ब्यस्त छ
कालो रुपि अमिलो चोपले
तिम्रो पोल खोल्नुमा मस्त छ।
कोईला फीलिङ्ग प्राउड
इट ईश बियोण्ड क्लाउड।
हेल्लो आईम कोईला।
माफ गर्नु होला
नमस्ते म कोईला।
कोईराला होईन के
अ! हजुर म कोईला
Keshar Thulung – Mera Bhagawanharu
केशर थुलुङ – मेरा भगवानहरु
आमाको गर्भबाट पहिलोपल्ट
जब धर्तीमा पाइला टेकेँ
रगताम्य भइन् मेरी आमा
मूर्छा परिन् मेरी आमा
तथापि मेरो चिच्चाहटमा
होस सम्हाल्दै
मसँगको स्पर्षमा
बिर्सिन् सम्पूर्ण कष्टहरु।
प्रगाढ प्रेममा लिप्त भएर– बुबा
मेरो आगमनसँगै
घण्टौ खटिरहे सायद
आमा र मेरो सुरक्षामा
ताते–ताते गर्दै हिँडाउने
तीनै कोमलहातहरु
मेरो आँत भरिदिने
तीनै मीठास बोलीहरु
उनैको अमूल्य चुम्वनहरु
जसले मजवूत बनायो– मलाई ।
स्पष्ट थाहा छ मैले जानेदेखि
हरेकपल घोटिरहे आफ्ना हाडहरु
बगाइरहे पसिनाका नदीहरु
म र मेरो भविष्यको निम्ति
मेरो सुरक्षाको निम्ति
मेरो खुसीको निम्ति ।
म दुख्दा निदाएनन् कति रात
पल्टेर दुखिरहे मसँगै
मेरो सफलतामा
मेरो खुसीमा खुसी साटेर
फूलजस्तै फुल्थे
संसार आफ्नै बनाउँथे
आफ्नै भन्थे ।
सताउँथे कति, घुर्काउथे कति
दिक्दार लगाउँथे कतिहो कति
तैपनिआफ्नै छातीमा टाँसेर
मायाले सुम्सुमाउँदै
जीवन्त दिव्योपदेश भर्थे
मेरो मनभरि÷मष्तिष्कभरि ।
धन्य ! धन्य !! छु म–
ममा प्राण भरिदिने
यो संसार चिनाउने
अर्जुनजस्तै खरो उतारिदिने
चुनौतिहरु चिर्न सिकाउने
मलाई ‘म’ को दर्जा दिलाइदिने
कर्मठ÷सुयोग्य योद्धा बनाएर उभाइदिने
स्वावलम्वी मेरी आमा
स्वाभिमानी मेरो बुबा
मेरा भगवानहरु भन्नु नै उनै
उनैलाई मेरो साष्टङ्ग दण्डवत
सर्वदा ! सर्वदा !!…….. ।
दिरुम न.पा.–१०, खोटाङ
हालः काठमाडौँ ।
Marcel Mansingh Murmu – Shanti
मार्सेल मानसिहं मुर्मु – शान्ति
कसैले भन्देउ मलाई शान्ति भाववाचक कि द्रव्यवाचक?
कसैले चिनाई देउ मलाई शान्ति कर्म कि तटस्थता?
कसैले बुझाइ देउ मलाई शान्ति बाहिरी कि भित्री?
सबैले उत्तर देउ मलाई शान्ति प्राकृतिक कि मानविकी?
भाववाचक हो भने किन पार्थिव नियम र ऐन बनाउने?
होइन भने शान्तिको परिपुर्णता कसरी अनुभव गर्ने?
द्रव्यवाचक हो भने किन यो यश-विलासामा पाइन्न?
होइन भने किन हतियारले रगतद्वारा माग्न छोडिन्न?
शान्ति कर्ममा हो भने किन मजदुरको भावी अकास कालो?
होइन भने भिक्षु बनी परोपकारी गर्ने किन अास्तिक जालो?
तटस्थतामा हो भने किन बेरोजगारी अनिदो रात चहार्छ?
होइन भने किन थकित बिहार गुम्तामा तपस्या गर्छ?
शान्ति बाहिर पाइन्छ भने दौड धुप गरि किन प्राप्त गरिन्न?
होइन भने एकान्तमा गई किन टोलाई बस्न छोडिन्न?
यो अाफै भित्र छ भने किन सबै अन्तरदृष्टिले चिन्दैन?
होइन भने अन्तर-मानष किन तृष्ति हुन छोड्दैन?
यो प्राकृतिक हो भने किन प्रकोप हुदा डर नाश अाउछ?
होइन भने प्राकृतिक सुन्दरता बिच अान्नद किन खोजिन्छ?
मानवीय हो भने किन सबैले बराबर पाउदैनन्?
होइन भने किन मानव सकारात्मक हुन छोड्दैन्न्?
Puskar Bista – Swatantrata
पुष्कर बिष्ट – स्वतन्त्रता
कुवामा छोडिदियोै
कुवा नै एकदम उन्मुक्त संसार लाग्थ्यो
त्यही लाग्थ्यो सबथोक
उठाएर पोखरीमा छोड्योै
कुवा कुरुप लाग्यो
लाग्यो जीवनको बृहत् आयाम यो पोखरी रहेछ
लाग्यो पोखरी नै विशाल ब्रह्माण्ड रहेछ
फेरी पनि उठाएर नदीमा हेलिदियोै
बग्नु रहेछ जीन्दगी
यता पो रहेछ उन्मुक्त स्वतन्त्रता
बग्दा बग्दै पुगियो सागरमा
आभाष भैदियो कि
स्वतन्त्रताको महाप्रलय थाम्न कति गाह्रो हुदोरैछ ।
सल्यान , नेपाल
Suman Raj Ghimire – Nirdayi
निर्दयी
कोमल यो मन
सोजो छ चाल्
मायाले भरिएको
स्वार्थ केही छैन
तर गाह्रो छ मलाई
बाँच्न यहाँ
यो निर्दयी संसारमा
निर्दयी मान्छेहरुको माज
खुशी हुँदा नि हस्न सकिएन
ढुखमा नरोँ भन्ने मान्छें पाइयन
एकान्तमा बस्न मन ले मानेन
कस्लाई बोलाउने खै
आएर मेरो मजाक मात्र बनाउछन कि
मेरो दुखेको मनलाई सुइंरो हान्छन् कि
एक्लै बसे म
निर्दयी पो भए कि
यो निर्दयी संसारमा
जलाई आँफैलाई अरुलाई जियाउने कुरा गर्छन्
काम भने अरुलाई तल झार्ने
मान्छे मान्छे बिच नै असमानता छ
तँ ठुलो तँ सानो भनी हेप्ने चलन छ यहाँ
शायद निर्दयी भगवान नै हुनु पर्छ
उस्लाई गोरो मलाई कालो बनाउने
उस्लाई धनी मलाई गरीब बनाउने
उस्लाई चलाख मलाई सोजो बनाउने
ठिकै छ सबै
यो निर्दयी संसारमा
निर्दयी भगवानले बनएका
हामी निर्दयी मान्छेहरुको माज
म एउटा निर्दयी
Dr. Suraj Niraula – Dar
डा. सूरज निरौला – डर
“गुडुर वाक् वाक्…गुडुर वाक् वाक्…”
शान्तिका दुत सेता परेवाहरु
गुड्गुडाइरहेछन्,
“प्रकृतिसगँ किन डराउनू ?
उनैले जन्माउछिन, उनैले नाश गर्छिन् ।
जन्म र मृत्यु त शाश्वत सत्य हो ।
तर,
जब जब अत्याचारले सीमा नाघ्दछ,
डर त मलाई तिमीहरु देखेर जाग्दछ ।
सोच्ने गर्छु,
लालच र अभिमान, ईर्ष्या र बेइमान
मात्र किन तिम्रा मष्तिस्कले राख्दछ ?
तिम्रा नीच सोच र व्यवहार देखेर
मेरो चैन भाग्दछ ।
तिम्रा फोहरी राजनिती, चलखेल हेरेर
साच्चै मलाई डर लाग्दछ ।
किनकी,
अब तिमीमा मानवता हराएर गए ।
यहाँँ मानिस, मानिस नै नरहेने भए ।
बरु आऊ,
कालो मन पखालेर, सेतो तन लिएर
हामी सगैँ उडौँ र सगैँ भनौँ
गुडुर वाक् वाक्…गुडुर वाक् वाक्…”
(धन्यवाद 🙏)
Saroj Dhital – Peeda Ko Chitra (Nepali short Poem)
सरोज धिताल – पीडाको चित्र
ढुङ्गामा बुट्टा !
पीडाको सुन्दर चित्र–
मेरो मनजस्तै ।
फरवरी, २००४
Komal Shrestha – Rahanchha Rahanna
कोमल श्रेष्ठ – रहन्छ रहन्न ?
बिना उत्सव पनि
गुरास फूल्थ्यो
मेचीकालीमा
अब यसरी फुल्छ फूल्दैन ..?.
जात जाती भाषा भाषी
मिलेथ्यो नङमासु झै
अब यसरी
मिल्छ मिल्दैन …. ??
मान्छेहरु
कन्चन कलकल नदीका Continue reading “Komal Shrestha – Rahanchha Rahanna”
Shrawan Mukarung – Aanshu
आँसु नआउँदै–
तस्वीर आउँछ
आँसु पलाउँदा–
सम्झना झाँगिन्छ/क्षितिज धमिलिन्छ
आँसु झर्दा–
आँखामा खस्छ/बालक चलमलाउँछ
आँसु पुछ्दा–
चुरा बज्छ/आँखामै खरानी पस्छ
आँसु सुक्दा–
उज्यालो हुन्छ/ दैलो उघ्रिन्छ
यसरी आँसु बाहिरियो भने त ठीकै हुन्छ
भित्रै रहिरह्यो भने के–के हुन्छ/ के–के हुन्छ
आँसु सम्हाल्ने त मन हुन्छ
नसके रुमाल हुन्छ
भन ए परदेशी !
तिमीले पसिना पुछ्ने रुमाल
सपनामा फूल हुन्छ ?!
Rakesh Karki – Bhupi, Yo Hallai Halla Ko Desh
इन्जिनियर राकेश कार्की – भूपी, यो हल्लै हल्लाको देश
न बाँकी भयो नेपालीपन
न बाँकी भयो आफ्नो भेष
छसय एकको विशाल संविधानसभा
भूपी, यो हल्लै हल्लाको देश
टुँडिखेल खुलामञ्च बोलीरहन्छ
संविधानसभा कान Continue reading “Rakesh Karki – Bhupi, Yo Hallai Halla Ko Desh”
Kundan Sharma – Sadakai Sadak Ma
कुन्दन शर्मा – सडकै सडकमा
उफ्। सडक कहिल्यै खतम हुँदो रहेनछ
एकपछि अर्को बढ्ने
एकले अर्कालाई काट्ने।
सडक र यो हिँडिरहने विवशता
कतैबाट सराप पाएको हो कि ?
कस्तो यो मन, कहिल्यै नअघाएको।
थाकी–थाकी उठेका मेरा पाइलाले
सोधिरहन्छन्, अझ कता ?
यो थकाइ,
सबै जीउभरि सरिसक्यो
तैपनि म किन नअडेकी ?
सडककै छेउमा कुनै दिन
अन्तिम थकाइमा ढल्ने सत्य मेरो।
तर सडक अझ बढ्दै जाला
नटुङ्गीकन… ।
हैन, मैले किन टुङ्गिन जानिनँ त ?
टाढा–टाढा आँखा पुर्याएकी थिएँ
आफ्नो अन्त्य खोज्न,
नपाउँदा पनि
किन अघि बढिराखेँ त्यसै।
किन ? किन ??
किन र ???
सडक कहिल्यै खतम हुँदो रहेनछ
एकपछि अर्को बढ्ने…
म कहिल्यै अडिँदो रहिनछु
थाकेर पनि,
सधैँ नयाँ थकाइतिर लम्किने।
थाहा छ मलाई, अन्त्य मेरो
अन्त्यहीन सडकमा हुनेछ ।
अनि यात्राको यो विवशतालाई
म
घर, सहर र विश्व बनाई
सधैँ नयाँ अर्थ दिन खोज्छु।
नयाँलाई पुरानो पारी
फेरि नयाँतिर लम्कन्छु।
कसरी भनूँ म
मेरो हिँडाइ अर्थहीन छ ?
‘अर्थ’ खोज्नै त म हिँडिरहिछु—
यो रित्तो मनको,
यो हिँडिरहने विवशताको,
र ‘हो’ र ‘हैन’
दुई विरोधी सत्यले ठगिएको
जीवनको।
प्रत्येक ‘किन’ ले मलाई अघि सारेको छ,
म जहाँ थिएँ
त्यहाँ म छैन ।
म जहाँ छु
त्यहीँ भोलि हुनेछैन ।
‘किन’ को अन्त्य ‘अघि’ हुन्छ
अनि प्रत्येक ‘अघि’ ले फेरि ‘किन’ ल्याउँछ ।
सडक कहिल्यै खतम नहुने
म जहिले पनि हिँड्न खोजेर;
म जहिले पनि हिँडिरहने
आफैसँग हारेर ।
एउटै घेराले मलाई
बाँधिराख्न कहाँ सक्यो र ?
मैले बाँधिएर बस्नै पनि कहिले मानेँ र ?
सडक कहिल्यै खतम हुँदोरहेनछ
……………………………………
एकले अर्कोलाई काट्ने।
मैले सडक बनाएँ
हिँडिरहन— नयाँका लागि बढिरहन ।
तर मेरो प्रत्येक पाइलाअगाडि
फेरि यो तगारो किन ?
मलाई अड्याएर
किन मागेको विवरण मैसित,
मेरो हिँड्ने विवशताको ?
मेरो रित्तिँदै गएको मनको ?
र यो हाँसोउठ्दो जीवनको ? … ।
Binod Khadka – Ma Pani Rajniti Ma Lagne Bhaye
बिनोद खड्का -म पनि राजनितिमा लाग्ने भए
तल्ला गाँउको दानविर मात्र होइन
माथ्ला गाँउको गोरुचोर पनि राजनितीमा लाग्यो
पल्ला गाँउको मुखिया मात्र होईन
जमिन्दारको कान्छो छोरो पनि राजनितीमा आयो
पद नपाउन्जेल जनताका नेता रे
पद पाएपछि जनताका मालिक हुन पाईने
अर्को नेता र पार्र्टीको पेलाई आयो की
जनताकोमा जान्छु भनि घुर्र्की लाउँन पाईने
कस्तो राम्रो पेशा यो न त पढ्नु पर्ने
कस्तो फलदायी पेशा यो न त दूख गर्नुु पर्ने
प्रजातन्त्रको दुहाई दिदै पद र गाडी फर्ेन पाईने
बीसौं बर्षराजनितीमै नेता भई जम्न पाईने
देशमा व्यवस्था फेरिए मुखुण्डो फेरे पुग्ने
जुन व्यवस्था आउँछ उसकै भक्ति गाए हुने
वन्द हडताल र चक्काजाम गोजीमा राखी चल्ने
अर्काको कुरा मन परेन की सडकमा झोसिदिने
आश्वासनको भेलमात्र होईन
छुठै छुठको बषर्ा बषर्ाए पनि हुने
महंगी र अभावका कुरा आए
अन्तर्रराष्ट्रिय बजार देखाई दिए पुग्ने
सरकारी खर्चमा चम्चा जम्मा गर्न पाईने
राजनैतिक अपठ्यारो पर्यो की
टायर बोकिहिड्ने चम्चाहरुको भीड
सडकमा ओराली दिए पुग्ने
मुखैले मेलम्ची झारिदिए हुने
बोलीले गरिबी हर्टाईदिए पुग्ने
तथ्यांकै तथ्यांकको जालभित्र
देश विकासको हावा फुके पनि हुने
कस्तो राम्रो पेशा यो राजनिति
छटृँहरुलाई त असाध्यै सुहाउने
त्यसैले
जनता झुक्कयाउने खेल सिक्नको लागी
म पनि नेताको घर धाउँने भए
यस्तो राम्रो पेशा छोडेर
म अन्त नलाग्ने भए
त्यसैले हजुर
म पनि राजनितिमा लाग्ने भए ।
(२३ जुलाई २००८)