Baidyanath Upadhyaya – Samaya Le Lekhne chha Itihas

वैद्यनाथ उपाध्याय – समयले लेख्ने छ इतिहास

तिमी आफैंलाई
विशिष्ट भाषासेवी भन्न रूचाउँछौ
नेपाली भाषाको विशिष्ट लेखक कहलाउँछौ
आफैंलाई समाज सेवक भनि ठान्छौ।

तिम्रो भाषा सेवा
केवल तिम्रो बोलिमा मात्रै सीमित छ
तिम्रा लेखहरूमा कुनै दर्शन भेटिदैंन
समाज सेवा त तिम्रो
भाषणबाजी मै संकुचित छ।

भाषालाई त तिमीले
आफ्नो घरबाट निष्कासित नै गरिदियौ
तिमीले आफ्नो घरमा न त
पत्र पत्रिकाहरूलाई नै कुनै स्थान दियौ
न त संतान संततिहरूलाई
भाषा पढन नै लगायौ
साहित्यको नाउँमा तिमीले जथाभावी कोरेका
काला अक्षरहरू मात्रै भेटिन्छन
न साहित्य पढने, चर्चा गर्ने
तिम्रो कुनै आदत नै छ
छ त केवल अरूको कुत्सा रटने
चिराचरित तिम्रो बानी।

तै पनि तिमी
समाजमा अति विशिष्ट कहलिन्छौ
भाषा प्रतिको तिम्रो प्रेम
अब चौकी र पदमा मात्रै देखिदैंछ।

समयले लेख्ने छ
त्यस्को पनि इतिहास
बदल्नेछ तिम्रो विशिष्टताको परिभाषा।

Baidhyanath Upadhyaya – Yo Man

वैद्यनाथ उपाध्याय – यो मन

कति नकच्चरो छ
यो मन त
अति प्रिय लागेको चीज पनि
केही क्षणमै अप्रिय लागिरहेको हुन्छ

लगातार खोजीरह यो मन
यो पनि हैन, त्यो पनि हैन
घरि कसैको अनुहारभरि
सौन्दर्य खोजीरहेछ
घरि ऑफैले रोजेको विषयप्रति
पछुतो गरिरहेछ

यही मन न हो
मान्छेलाई ऊचाई र गहिराइको तलसम्म
लिएर हिंडिरहेछ
निद्रामा पनि अताल्लिएर
हिंडिरहेछ यो मन

खोजीरहेछ, रोजीरहेछ
भेटेका जम्मै चीजहरू
अस्वीकार गरिरहेछ
पीडाहरूको अातीशबाजीभित्र
आफ्नै सुध बुध हराएर
कराईरहेछ यो मन!

Baidhyanath Upadhyaya – Bipatti

वैद्यनाथ उपाध्याय – विपत्ति

विपत्ति पनि पर्खेर बसेको हुन्छ
मान्छेलाई
बाटो घाटो र अस्पताल का बेडहरूमा
मान्छे
भित्र भित्रै कत्ति असहाय
एक्लो हुन्छ।
आफ्नो सामर्थ्य देखि पर
सबैथोक घटिरहेको हुन्छ।
हामी केवल आफ्नो र परको
धर्को कोरेर
रूने र हाँस्ने
अभिनय गरिरहेका हुन्छौं।
आखिर मान्छे पनि
धेरै घटना र परिघटनाको
एक सग्लो रूप न हो
उ के गर्न सक्छ
हामी केवल केही गरिरहेको
स्वाँग मात्रै रचिरहेका हुन्छौं।

Baidhyanath Upadhyaya – Sangharsha Gatha

वैद्यनाथ उपाध्याय – संघर्ष गाथा

निर्जन पाहाडको भीरमा
आफ्ना जिजीविषाहरूलाई
चट्टानको शुष्क छातीमा
विनाशको विकरालताभित्र
क्षणिकनै भए पनि
जीवनको जयघोष गर्दै
आकाश लम्किरहेका वृक्षहरू
अरू केही हैन
त्यो मेरै जीवनको संघर्ष गाथा हो।

Baidyanath Upadhyaya – Peer Bhaari Bhayera

पीर भारी भएर
हिजो राति आकाश खसेछ।
घनीभूत अँध्यारोले
प्रगाढ़ बनेको छ
यो रात।

मनको आधा पाटोमा
खर्लप्पै पैह्रो लागेको छ
आशाको झीनो त्यान्द्रो
यतै कतै अल्झिरहेथ्यो
यो अपशकुन क्षणमा
म कुन खुसीको
कल्पनामा निमग्न थिएँ?
अलमल्ल परेको छु।

मेरो सपनाहरूमा
माकुराले जालो बुनेको छ।
अत्यास लाग्ने
यो समयमा
म हिंडिरहेकै छु
तर मलाई
गन्तव्य थाहा भएन।

हिजो का ती यादहरू
भारी भै रहेको छ
विस्मृतिको गहिराईभित्र
जन्म-जन्मातरका
व्यथा कथाहरू
कति बनायौं, कति भत्कायौं
यस्ता अनेकौं घरहरू!

खै कस्ले पो
राख्न सक्यो र
यस्को लेखा-जोखा
मान्छे धेरै थोक पाउने आशामा
दगुरी रहेकै छन।
एक तमाशको दौड-धूप छ
बाटोभरि

देख्दछु कोलाहल
छाएको छ
कालो रातको
पिठ्युँभरि
मन एकोहोरो
विलाप गाई रहेछ

कस्लाई के भनौं
म यस घडी
जीवन एउटा
बेहिसाबको व्यथा बनेर
दुखिनै रहेको छ।

वैद्यनाथ उपाध्याय

Baidyanath Upadhyaya – Baato

बैद्यनाथ उपाध्याय – बाटो

मेरो घरको अघाडि एउटा बाटो छ
सँधै आउने-जाने हजारौं मान्छेहरु
कहाँ देखि कहाँ पुगे
एक दिन यही बाटोबाट आएकाहरु
जीवनको लम्बाई समेटेर
आफ्नो पोका-पत्यौरा बोकेर
निक्लिए अन्तिम यात्रामा…
बाटाको छेउमा उभिएको बटबृक्ष काँप्दछ
पथिकहरुको दुख-गाथाहरुमा।
हावा दौडन्छ स्वाँ स्वाँ
पल पल यता उता
जीवनको त्रासदीबाट त्रस्त
पथिकहरुको गाथा पल्टाइ पल्टाइ
लपेटिन्छ बाटो हिंडनेहरुसँग
धूलो पनि।
देखिंदैनन अब बाटाहरुमा
आउँदै जाँदै यही बाटोबाट
खतम भए धेरै मान्छेहरु
टाढासम्म फिंजिएको
पार गर्दै अनेक मोड
जीवनको एक छेउ बाट अर्को
छेउ सम्म-
र त्यो भन्दा पनि अघाडि
निक्लन्छ यो बाटो।

(Sent to Sanjaal Corps via Email)

Baidyanath Upadhyaya – Maunata

मौनता

दिन आउँछ, अनि रात आँउछ
यो श्रृंखला चलिरहेछ
अविराम….
जीव जगत एक लहरमा
मृत्युको द्वार तर्फ
दगुरिरहेछ निरन्तर।
मान्छेले देखेका सपनाहरू
विपना न भै
कहीं, कतै हराउँदो रहेछ।
वास्तवको थेगो नपाएर
शहीद बनेका सपनाहरू
एक अँजुली अश्रुको आसमा
दो बाटो भरी पर्खिबस्छन।
कहिलेकाँही म एकलै
हिंडीरहँदा ति सपनाहरू
मलाई ऱ्याखऱ्याखती पार्छन
हामीलाई किन यसरी
अलपत्र छाडेको?
यस्तै अकथनीय
अवर्णनीय पीडाहरू छन
जो सँधैं सँधैं
मलाईनै जवावदेही बनाउँछन।
यसरी धेरै टुक्रा टुक्रामा
बाँचेको मान्छे आँफैमा
कति एक्लो, निसंग हुन्छ
विवशताका पर्खालहरूमा
कुन्नि के के भाकि रहेको हुन्छ।
कति नरमाईला
यी दिनहरू
यी रातहरू
मेरो पर्खाईमा जाग्रत बसेका
यी निसास्सिने क्षणहरू
खै कस्तो
कर्म साँचिएछ!
सँधै अत्यास लाग्ने
यी पलहरु
मलाई सँधै सँधैं नै
घँचेटी रहन्छ।
त्यसैले म मौन रहन्छु
किनकी म भित्र
एक तमासको कोलाहल छ!

Baidyanath Upadhyaya – Rukh

रूख

मेरो आँगनमा
एउटा नरियलको बूचो रूख छ।
अरू रूखहरू ढालदा
त्यस्का पातहरू
केही भाँचिए
केही काटिए
धेरैले भने
आँगनमा यो के राखेको?
काटि दिनु नि!
रूख काटनेहरूले पनि हेरे
अनि सल्लाह दिए
अब यो पलाउँदैन।
एक दिन मेरी पत्नीले
कोदालो ल्याएर
वरी परी खनिन
यस्लाई उखेलेर निकाल्नु पर्छ
भनिन
मैले भनें
यो त फेद बाट पलाउँदैन
किन उखेल्नु परो।
त्यस्ले केही बिगारेको छैन
किन काटिहाल्नु
मैंले सोचें।
केही दिन पछि देखें
त्यस्ले गुवा हालेछ
अब त्यो बूचो छैन
एक सग्लो रूख बन्दैछ।

Baidyanath Upadhyaya- Anuhar

अनुहार

मेरा शब्दहरूले अर्थ गुमाएपछि
म असहाय छु
म वाकरूद्ध भएको छु।
छुवा-छुत र जात-पातको
व्याधिले छटपट्टिदैं छ
समाज
ज्ञानको चिन्तन गर्ने उमेरमा
युवा जमातहरू
तास र मदिरा सेवनमै
आधुनिकता खोजिरहेछन।
सादगी छोडेर
तडक-भडक र यन्त्रनिर्भर भै
दैहिक अव्यवस्था भित्र्याई रहेछन।
यत्तिका दिनहरूमा
हामी धेरै अघिबढ्यौं
पैदल युगबाट
मोबाईल युगसम्म आईपुग्दा
उत्तर आधुनिकताको
संघारमा उभिएको समाज
गरूड पुराणको जालमा
नरक बुनिरहेको छ।
मेरा शब्दहरू
अर्थहीन नभएको भए
अक्षर र मात्राहरू बदल्दै
म तिमीलाई बताउने थिएँ
घोर अँध्यारोमा
ऐनाको सामु उभिएर
मेरो उत्तर आधुनिकता भित्र्याउन
लम्किरहेको समाज
अनुहारको कस्तो श्रृंगार
गरिरहेछ।

बैद्यनाथ उपाध्याय

Baidyanath Upadhyaya – Samjhana Ko Jhyal Bata

वैद्यनाथ उपाध्याय – सम्झनाको झ्यालबाट

म हेरिरहेछु
तिमीले वेवारिस
लाचार बनाएर छोडेका
एक एक शब्दहरूलाई।

तिमी अरूलाई
जातीय हितको कुरो सम्झाउथ्यौ
भाषा साहित्य र संस्कृतिको
जगेडा गर्नुपर्छ भन्थ्यौ
शब्दहरूको जाल बुन्दै
घोक्रो सुकुन्जेल
भीडमा चिच्याई चिच्याई
भन्दै हिडथ्यौ
हामीले जातीय चेतनाको
विकास गर्नुपर्छ।

म आज
तिमीलाई तिम्रै शब्दहरूको
शोक सभा देखाउन चाहन्छु।
भाषा साहित्य संस्कृति प्रति
तिम्रै निर्लिप्तताले
लाचार, विवश र हीन भयेका
ति शब्दहरूले
आश्रयहीन, बुभूक्षु र निर्वस्त्र
दोबाटोहरूमा
जिजीविषाहरूको मृत्युशोक
मनाइरहेको यो दृश्य
मेरो सम्झनाको झ्यालबाट
च्याइरहेछ।

संवेदनाको खडेरी परेको
संक्रमणको
यो समयमा
म अति लाचार छु
म मेरो संझनाको झ्याल
बन्द गरिरहेछु।

Baidyanath Upadhyaya – Ma Ta Malaami Hindi Rahechhu

वैद्यनाथ उपाध्याय – म त मलामी हिंडिरहेछु

म त
आफ्नै इच्छा-आकांक्षाहरूको
मलामी हिंडिरहेछु।

यो अपशकुन समयमा
सामर्थ्यको साँगुरो गल्लिभित्र
आत्महत्या गरिरहेका हुन्छन
अनगिन्ती अभिलाशाहरू।

जलिरहेकै छन चितासरी
विवशताको कात्रोमा लपेटिएका
मेरा चाहनाहरू।

धेरै सपना थिए
कुनै दिन
इन्द्रेणी सजाउने
आकाशभरी
जीवनको खुला फाँटभरी
नियतिको कोपदृष्टी परेको
यस घडीमा
भताभुंग मेरो गाँउ-बस्ती
छर-छिमेक सबैसंग
एक साथ
म त
आफ्नै इच्छा-आकांक्षाहरूको
मलामी हिंडिरहेछु!

Baidyanath Upadhyaya – Dhani Manchhe

धनी मान्छे

तिमीलाई धनको घमण्ड छ
मेरो गाडी छ
बैंंकमा अजस्र जमा छ
मेरो आलिशान महल छ
भन्ने ठान्छौ भने
तिम्रो भए भरको धनले
थोरै सुख किनेर त देखाउ।

तिम्रो धनले सुविधाको ओछयान किन्न सक्ला
तर निद्रा किन्न सक्तैन
तिम्रो धनले मीठो भोजन किन्न सक्ला
तर भोक किन्न सक्तैन
तिमी सुविधाको शीत ताप नियंत्रित कक्षमा
रात भरि निद्रा नलागि ऐया र आथा गरिरहँदा
गरीब झोपडीमा मान्छे
थाहा नपाउने गरि निँदाईरहेका हुन्छन।
तिमीलाई भोजन अपच भएर
खान मन नलागि रहेको बेला
गरीब मानछेहरू रुखा सुखा
मस्ती ले खाई रहेकै हुन्छन।

तिमी गुणी पनि छैनौ
ज्ञानी पनि छैनौ भने
तिम्रो धन तिम्रो लागि
एउटा रोग हो
आपत हो
अनि केवल धन मात्रै भएको व्यक्ति त
अति दुखी
अनि दरिद्र पनि हो।

साँचो अर्थमा
धनी व्यक्ति त त्यो हो
जो सुखी छ, संतुष्ट छ
धनले किन्न नपाउने
कति चीजहरू तिमीसँग छ।
त्यस्लाई जाँचि हेर
त्यो नै धनी हुनुको
विशेषता हो।

Baidyanath Upadhyaya – Jeevan Ko Baali

वैद्यनाथ उपाध्याय – जीवनको बालि

यो देह को त
कुरै के गरूँ?
यो त आफ्नै यात्रा हिंडिंरहेछ ।
साथमा छ
कालो पोतिए जस्तो
असन्तोषले भरिएर
दूखीरहने मन..
अनि
अगाडि छ
एउटा अनन्त यात्रा..
जीवन के हो?
यो हिंडाई हो
या कि बाटो !
अनुभव भन्दछ-
‘जे हुनूपर्ने छ
त्यही हुन्छ
मैले चाहनु
न चाहनुले
केही फरक पर्दैन ।’
कल-पूर्जा जस्तै
जुटेको छू म
दिन-रात

उद्यमले रंग ल्याउँछ रे भन्थे

बालि सुकेर आँफैं
शर्मसार छ
जीवनको फाँटभरी !

Baidyanath Upadhyaya – Lockdown Ko Aatma Manthan

वैद्यनाथ उपाध्याय – लॉकडाउनको आत्ममन्थन

देश र दुनियामा
जति नै लॉकडाउन भए पनि
मनभित्र कुनै लॉकडाउन
नहुँदो रहेछ।

समयले क्वारान्टाइनको
पाहाड उक्लदैं गरेको बेला
बिबिध आशंकाहरू पस्कँदैछन
समाचार माध्यमहरू

गरिबीको चोट झेलिरहेका
निमुखाहरूको दुख
कोरोना र लॉकडाउन बीच
हिंडिरहेछ बाटोभरी।

दुखमाथि
दुखै थपिएर धुमिल बनेको
मेरो आकाश
थाह छैन के सोचिरहेको होला!

हाम्रो विश्वास
मान्छे निश्चय सबल भएर
निस्कने छ
लॉकडाउनको आत्ममन्थनबाट…..

Baidyanath Upadhyaya – Bhok

भोक

महामारीको सुतक परेको
यो घडीमा
पीर घनीभूत भएर
आकाश धस्किएको छ
मेरो आँगनभरि

झुल्के घाम सँगै
छाक टार्ने सामलको खोजिमा
भोकको जुलुस निस्किरहेछ
लॉकडाउनको छातिभरि

हामीले विश्वायनको
ऊकालो चढदै गरेको बेला
बुनियाद धस्किएर
लॉकडाउनमा घरभित्रै
आएर हामी समेटिएका छौं।

विश्वत्रास
कोरोना महामारी खनिएको
यो विकट स्थितिमा
हामी चिराचरित
भोक सँगनै लडिरहेका छौं।

खै,
मानव सभ्यताको विकास!

न्यूयर्कका वैभवशाली
अट्टालिकाहरूमा महामारीले
मान्छेको औकात
छामिरहेको बेला
हामी नेताहरूको आश्वासन
चपाएर
भोक टार्ने प्रयासमा छौं !

Baidyanath Upadhyaya – Shukumbasi

वैद्यनाथ उपाध्याय – शुकुम्बासी

म त सँधैको शुकुम्बासी
न मेरो कहीं वास
न कहीं ठेगाना
सजिलो अप्ठ्यारोको
के कूरो
जबकि
हिंडनु नै जीवन हो।
मेरै स्पंदनले सजीव छ
पहाड-पर्वत, खोला र नाला
टक् टक् टक् टक्
धडकीरहेछ समय
मेरै मुटूभित्र
लगाईरहेछ हिसाब
जीवनको खेल
सकिंदै गएको!
यो यायावरीमा
लगाईयो होला
कहाँ कहाँ वास
लगाईए होला कति आस
सजाईए होला
सपनाका कयौं रंगमहल
बिलाए सब सीतसरी
जीवन
सँधैंको शुकुम्बासी
न कहीं स्थायी निवास
न कहीं ठेगाना!

Baidyanath Upadhyaya – Ma Waakarudhha Bhayeko Chhu

वैद्यनाथ उपाध्याय – म वाकरूद्ध भएको छु

मान्छे
भनिरहेछ एकथोक
गरिरहेछ अर्कैथोक
उ जे भनिरहेछ
त्यो अर्थ बुझाउन
आज शब्दहरू अक्षम छन।

उस्को भन्नुमा
गर्नुमा
र हाम्रो बुझ्नुमा
जुन फासला छ
अब त्यो Continue reading “Baidyanath Upadhyaya – Ma Waakarudhha Bhayeko Chhu”

Baidhyanath Upadhyaya – Sapana Ko Rukh

वैद्यनाथ उपाध्याय – सपना को रूख

मेरा गाँउका मान्छेले
सपना को बीउ रोपेका छन।
सपना बढन थाले
अनि गाँवको सादगीबाट
वाक्क भए
सपना को आफ्नै बडप्पनमा
जीउने आदत छ।
त्यसैले उनिहरूलाई
निद्रामा हिंडने लत बसेको छ।
सपना को आडमा अब
मान्छेहरू शहरको चकाचौंधमा
जीवनका पलहरू खोजी रहेछन।
उनिहरूलाई थाह छैन
सपना न कहिल्यै आफ्नो हुन्छ
न त वास्तव नै।
फूटेका सपना का टूक्राहरू
बिझ्दछन पैतालाहरूमा
गाँउमा छूटेका
बाउ-बराज्यूहरूको !

Baidyanath Upadhyaya – Paryaya

वैद्यनाथ उपाध्याय – पर्याय

नहेर मलाई
तिम्रा बैंशालु नजरले
यो छाती मेरो
चिरिएर दुख्छ !

न देउ माया
तिम्रा कोमल स्पर्शहरूले
मेरो मुटू त्यसै
टुक्रा टुक्रा भएर फुटछ!

कहाँ मेरो भाग्य
तिमिलाई म पाऊँ
निको भै सकेको घाउ
बल्झिएर उठछ !

कति पीरहरूले
सँधै बास दिए
मेरो यो यात्रा
धेरै चौतारीले छेक्छ !

हिंडिरहेछु
हिंडिरहेछु
बाटो नै जीवनको
पर्याय भएको देख्छु ।

Baidyanath Upadhyaya – Naya Bhabishya Ka Aadhar Haru

वैद्यनाथ उपाध्याय – नयाँ भविष्यका आधारहरू

भोलि व्यूँझदा
म अर्कै देहमा
जीवनको नयाँ पडावको
शुरुवात गर्दै गरेको
हुनसक्छु।

धेरै भयो पीडा सहेको
यो देहमा
तर मलाई
अति निर्धो न सम्झ

भोलि
अर्कै जुनीमा
नौलो आश र उद्यम जुटाएर
म नौलो शुरुवातको
जग बसाउँदै गरेको हुनेछु।

कालो पाटीमा
लेखिएका अक्षरहरू
मेटाएसरि
मेटाउनेछु पीर व्यथाका
जम्मै यादहरू
भोलि उदाउने त्यो दिनको
चौडा निधारभरि
कोर्नेछु आफैं
भविष्यका नयाँ आधारहरू।