Baidyanath Upadhyaya – Samaya Le Lekhne chha Itihas

वैद्यनाथ उपाध्याय – समयले लेख्ने छ इतिहास

तिमी आफैंलाई
विशिष्ट भाषासेवी भन्न रूचाउँछौ
नेपाली भाषाको विशिष्ट लेखक कहलाउँछौ
आफैंलाई समाज सेवक भनि ठान्छौ।

तिम्रो भाषा सेवा
केवल तिम्रो बोलिमा मात्रै सीमित छ
तिम्रा लेखहरूमा कुनै दर्शन भेटिदैंन
समाज सेवा त तिम्रो
भाषणबाजी मै संकुचित छ।

भाषालाई त तिमीले
आफ्नो घरबाट निष्कासित नै गरिदियौ
तिमीले आफ्नो घरमा न त
पत्र पत्रिकाहरूलाई नै कुनै स्थान दियौ
न त संतान संततिहरूलाई
भाषा पढन नै लगायौ
साहित्यको नाउँमा तिमीले जथाभावी कोरेका
काला अक्षरहरू मात्रै भेटिन्छन
न साहित्य पढने, चर्चा गर्ने
तिम्रो कुनै आदत नै छ
छ त केवल अरूको कुत्सा रटने
चिराचरित तिम्रो बानी।

तै पनि तिमी
समाजमा अति विशिष्ट कहलिन्छौ
भाषा प्रतिको तिम्रो प्रेम
अब चौकी र पदमा मात्रै देखिदैंछ।

समयले लेख्ने छ
त्यस्को पनि इतिहास
बदल्नेछ तिम्रो विशिष्टताको परिभाषा।