Suren Upreti – Nyaya

सुरेन उप्रेती – न्याय

छोरा न्यायको बारेमा अरुले सुनाएका कुराले बाबु आमा चिन्तित भए । तेत्रो खर्च गरेर पढाएको त्यसै खेर गएछ । वारी पारी सबै तिर उसकै चर्चा हुन थाल्यो । केटाकेटी देखि बुढापाका सम्म उसको कुरा गर्थे । केही कलेज र स्कुलका केटा केटी र यूवा यूवती भने उसको नाम लिएर गर्व गर्थे । बुढ्यौली लागेकाहरु भने उसलार्इ देख्दा नाक खुम्च्याएर अर्को तिर लाग्दथे । तेती धेरै पढेर पनि कस्तो बुद्धी नआएको होला भनेर जिब्रो निकाल्थे । गाउँको स्कुल हुलाक चिया पशल सबै तिर उसैको कुरा हुन थाल्यो ।

पहिला पहिला गाउँलेहरु उसलार्इ गाउँको इज्वत र प्रतिष्ठा हो भनेर् गर्व गर्थे । आफ्ना छोरा छोरीहरुलार्इ उसको उधाहरण दिन्थे । उसको जस्तो श्वभाव र पढाइ हनु नी आदि भनेर आआफ्ना छोरा छोरीहरुलार्इ अर्ति गर्थे । तर आज ठिक त्यसको विपरित भयो । आजकाल मान्छेहरु उसको संगत नगर्नु है । त्यसले भनेको कुरा पनि नसुन्नु । आ आफना छोराछोरीलार्इ टाढै रहन उर्दी गर्थे।

न्यायका बा आमालार्इ भने उसका बारेमा केही थाहा थिएन।गाँउलेहरुले हिंजो सम्म तिमिहरुको कस्तो ज्ञानी छोरा भन्थे । आज तिमिहरुको छोरा पनि बिग्रेछ भन्छन् तर कसरी विग्रियो भन्ने चैं कसैले भनेका थिएनन् । उनीहरुले पनि सोधेका थिएनन् । उ विगतमा जस्तो थियो ठ्याक्कै तेस्तै छ । बानी व्यहोरा कत्ति पनि बद्लिएको छैन । तर गाउँलेहरुको कुरा सुन्दा सुन्दा बाआमालार्इ पनि सारै पिर पर्न थाल्यो । जोतिषि हेराए । धामीलार्इ फुक्न लगाए । धामीले फुकेको अक्षेता सिरानी मुनी हाली दिए । तर गाउँलेहरुले कुरा काट्न छाडेनन् । बा आमालार्इ झन पिर पर्यो । उनीहरुले डाक्टरलार्इ सोध्ने निधो गरे । तर डाक्टरले सोध्दा के भयो भन्ने थाहा भएन। त्यसैले गाँउलेहरु संग सम्पर्क गरे । त्यसपछि बल्ल थाहा भयो । गाउँको स्कुल सँगै गाविस छ । त्यहाँ एउटी तल्लो जात घोषणा गरिएकी महिला सानो नानी च्यापेर उजुर गर्न आइछन् । उनको दाबी अनुसार त्यो बच्चा गाँउका ठूला बडा मानिएका र ठानिएका पण्डितको हो भन्ने रहेछ । त्यो कुरा सचिवले ठाडै इन्कार गरेर निवेदन लिन मानेनछन् । तेत्रो ठूला मान्छेलार्इ दोषलाउने भनेर उल्टै हप्काएछन् । पण्डित पनि त्यो बच्चा जन्मिनु भन्दा पहिलै गाँउ छोडेर शहर तिर स्विंकुच्चा ठोकेछन् । यो कुरा न्यायले सुने पछी निवेदन आफैंले लेखेर दर्ता गर्न गएछ । सचिवले निवेदन दर्ता गर्न नमाने पछी स्कुलका विधार्थी शिक्षक सबैलार्इ कुरा बुझाए छ ।त्यस पछी सबै भएर निवेदन दर्ता गराएछन् । यो कुरा चारै तिर फैलियो । सबैले चालपाए । पण्डितले तेस्तो के गर्थे । त्यो केटी नै उस्ती हो भन्दै बुढा पाकाहरु त्यो न्याए भन्नेले नै उचालेको हो भनेर विरोध गर्न थाले ।

कसै कसैले चाहीं यो पण्डितका विरोधी पार्टिकाहरुको खेल हो पनि भने । कसैले चाँही अब न्याय भन्ने केटो पनि राजनीति गर्न थालेछ भने । राजनीति भनेको त काम नभएका । पढालेखा नभएकाले पो गर्ने त । तेत्रो एम ए पास गरेर पनि राजनीति गर्ने हो ।कसैले त बहुलाएछ पनि भन्न भ्याए । त्यस्तो सोझो मान्छेलार्इ कसले भड्काएर राजनितिमा हाल्दिए छ । पक्कै पनि कसैले टुना मुना गरेको हुनु पर्छ पनि भने । बाबुआमाले सम्झाउँदै अस्पताल लगे । लामो प्रतिक्षा पछी डाक्टर सँग भेट भयो । डक्टरले न्यायका सबै कुरा सुने । ती महिलार्इ अंश र बच्चालार्इ बाबुको नाम दिन सफल भएको कुरा न्यायले सुनाए । डाक्टरले प्रफुल्ल मुद्रामा बाआमालार्इ भने । तपार्इहरु साँच्चै भाग्यमानी हुनु हुँदो रहेछ । न्यायले न्याय दिलाएरै छोडेछन् । भन्दै धन्यवाद न्याय तिमी नाम अनुसारकै रहेछौ भनेर हात मिलाए ।

Dhruba Madhikarmi – Jam Ma (Nepali Laghu Katha)

ध्रुव मधिकर्मी – जाममा
(Source: मधुपर्क साउन, २०६७)

ऊ त्यहाँ पुग्दा जाम शुरु भइसकेको थियो । बाटोभरि बस, मिनीबस, टेम्पो, ट्याक्सी, साइकलहरूको ठेलमठेल थियो । न बढ्नलाई बाटो थियो, न र्फकने ठाउँ नै । अब अस्पताल पुग्न घण्टौ लाग्ने भयो । यसैबेला उसको मोबाइल बज्यो ।

हेलो, म डेभिड बर्नर ।

उसले चिन्यो डा. डेभिड बर्नरलाई । विदेशमा सँगै डाक्टरी पढेको अत्यन्त मिल्ने साथी । तिनीहरूले उत्कृष्ट अङ्क ल्याएर डाक्टरी पास गरेका थिए । ऊ आपनो मुलुक सम्झेर फक्र्यो ।

हेलो, मि. बर्नर के छ हालखबर । अहिले के गर्दैछौ ?

यार काममा धेरै जोतियो । कमाइयो पनि । अब यसो अन्तरीक्षतिर घुम्न जाउँ कि भनेर सोच्दैछु । सोच्दैछु के म त तयारी पनि

गर्दैछु । मित्र, तिमीले पनि यहीँ बसेर काम गरेको भए आज हामीसँगै अन्तरीक्षमा घुम्न जान हुन्थ्यो ।अनि भन तिमी के गदैछौ ? के छ तिम्रो योजना ?

म….., ऊ अक्मकियो ।

अन्तरीक्षमा घुम्न जान लागेको साथीलाई के भन्ने । यार म त यहाँ घण्र्टौदेखि जाममा फसिरहेछु भन्ने । म त बन्दको मारमा छु भन्ने । अथवा म त यसरी नै वर्षौदेखि द्वन्द्वले पिल्सिरहेको छु भन्ने ।

मेरो शुभकामना छ, तिम्रो यात्रा सुखद् होस्, मित्र बर्नर । उसले यति भनेर मोबाइलको स्विच थिच्यो र जाम कतिखेर खुल्ला भन्दै सोच्दै आˆनो सेकेण्ड हृयाण्ड गाडीको स्टियरिङ्गमा हात राखेर पर्खन थाल्यो ।

Sushma Manandhar – Saathi (Nepali Laghu Katha)

सुषमा मानन्धर – साथी
(Source: मधुपर्क साउन, २०६७)

हतार हतार हिँडिरहेको उसले अत्यास लागेर एकपव्ट फेरि माथि हेर्यो । ऊ , … त्यो पहाडको टुप्पो । टुप्पोमा रहेको त्यो मन्दिर । ऊ त्यही पुग्नलाई हिँडेको छ । ठाडो उकालो र साँघुरो ढुङ्गे बाटोले गर्दा त्यहाँसम्म पुग्न विकट नै छ भन्ने जान्दाजान्दै पनि त्यहाँ साक्षात् ईश्वर बस्छन् र त्यहाँ पुगेपछि आफ्नो कुनै पनि कामना पूरा हुन्छ भन्ने आस्था र प्रचलित विश्वासका कारण उसले मन्दिरमा पुग्नुलाई आफ्नो गन्तव्य बनाएको छ ।

यात्रा थाल्दा ऊसँग सहयात्रीहरूका रूपमा एउटा निकै ठूलो जमात थियो । कस्तै गाह्रो परे पनि उनीहरूको साथ आफ्नो कठिन र लामो यात्रा सजिलै छिचोल्न सकिन्छ भन्ने आशामा ऊ हिँडिरहेछ । तर यात्रा नसकिँदै थाकेर, अल्मलिएको र गाह्रो भएर धेरैजनाले यात्राबाट बीचैमा उसको साथ छोडिसकेका छन् । निकै ठूलो भीडको रूपमा रहेका आफ्ना सहयात्रीहरू घटेर दुईतीन जना मात्र बाँकी हुन थालेकाले ऊ आत्तिन थालेको छ ।

लामो र उदेकलाग्दो बाटो । उसमाथि कहिले डढाउने घाम, कहिले झरी । आफ्नो अनवरत यात्रामा धरमराउँदै हिँडिरहेको बखत उसले देख्यो कि ऊभन्दा केही पर अलि दुब्लो देखिने एक व्यक्ति पनि ऊसँगसँगै हिँडिरहेको छ । डुब्न लागेकोलाई त्यान्द्रोको सहारा भनेझैँ उसमा थोरै भए पनि साहस पलायो । हुँदाहुँदा अन्तमा उसको साथ नछाड्नेमा त्यही दुब्लोव्यक्ति मात्र बाँकी रहन गयो । उसलाई छाडेर जाने साथीभाइहरूका के कुरा, ऊ आफैंले पनि यात्राको किचलो र कठिनाइसँग आजित भएर निकैपल्ट यात्रा छोड्न खोजेको थियो ।

‘यहाँसम्म त पुगिनैसक्यौ, फेरि किन हरेश खान्छौ ? हेर, कसैले साथ नदिँदा पनि म छु तिम्रो साथमा ।’ निराश भै फर्किन खोज्दा साथमा आउने दुब्लो साथीले बारम्बार सम्झाउँथ्यो । साथीको भरोसामा ऊ बढ्यो, बढ्दै गयो ।

धेरै दुःखकष्ट आए, त्यो साथीले उसको साथ छोडेन र अन्तमा साथीकै हौसलाले टुप्पोमा भएको मन्दिरमा पुगिछाड्यो । अथाह शान्ति थियो त्यहाँ र ऊ त्यतिबेलासम्ममा कामनारहित भैसकेको थियो । उसले पछाडि फर्केर आफ्नो उत्साह बढाउने साथीसँग उसको परिचय माग्यो । ‘अझै चिनेनौ मलाई ? म हुँ तिम्रो आडभरोसा, तिम्रो आफ्नै आत्मविश्वास ।’ साथीले उसको काँध थप्थपाउँदै हाँस्दै जवाफ दियो ।

Bindu Lama – Dandahinata (Nepali Laghu Katha)

बिन्दु लामा – दण्डहीनता (लघुकथा)
(गोरखापत्र)

युवाको समूहले देशव्यापी रूपमा ‘अपराध किन बढ्छ’ भन्ने शीर्षकमा अन्तक्रिया कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरे । देशमा अपराधिक क्रियाकलाप एकपछि अर्को गर्दै दिनप्रतिदिन बढिरहने क्रम जारि थियो । यसैले यो चिन्ताको विषय बन्न पुग्यो । युवाले विशेष चासो राखे । छलफलमा धेरैजसो युवाको नै सहभागिता थियो । देशको मेरुदण्ड अर्थात् विकासका कर्णधार भनेकै युवानै भएको हुँदा जोसिला र फूर्तिला युवा नै अग्रसर जागरुक देखिन्थे । छलफलमा आ-आफ्नो विचार व्यक्त गर्ने क्रम चलिरहेको थियो । निडर र दक्ष युवा अगुवा रामकेशवले बोल्यो -‘हाम्रो देशमा अपराध किन बढ्छ भन्दा आफै बोक्सी आफँै झाँक्री बन्ने परिपाटीले गर्दा हो भनेर भन्दा फरक नपर्ला । उदाहरणको लागि अछाममा एक महिलामाथि सामूहिक बलात्कार भयो तर सोझालाई जेल हालियो भनियो । विशेष उक्साउने र आफैँ पनि शिकार गर्ने शिकारीलाई चँै कारवाही गर्नुको साटो बरु उल्टै संरक्षणका साथै निर्दोष सावित गरेर राखियो । कारवाही सबैलाई गरिनुपर्छ, सबैलाई हुनुपर्छ । चाहे जो कोही होस् । कानुनको कठघरामा उभ्याउनु पर्छ अपराधीहरूलाई .. । निर्दोषलाई दोषीलाई बनाई दोषीलाई निर्दोषको तक्मा लगाइदिने ऐन नियम छ यो देशमा । यो त्यसैले अपराध बढ्छ् ।

फूर्तिका साथ हरिशंकर बोल्यो -“हो, रामकेशवजीले कुरो सही गर्नुभो’ । देशमा निर्धा, निमुखा, दुःखी र गरिबलाई मात्र कानुन लाग्छ । जसले जे गरे नि हुन्छ भन्ने परिपाटी बसेको छ । त्यसैले युवा साथीहरू हामीले अब देश व्यापी रूपमा ‘अपराध किन बढ्छ’ भन्ने शीर्षकमा अन्तक्रिया कार्यक्रम सञ्चालन गर्नुपर्छ । सफल पार्नको लागि हामी सबैले भूमिका खेल्नुपर्ने समय आएको छ । हो । त्यसैले सबैको सहमति छ कि छैन ? धेरैको एकै आवाज भो । सहमति देखियो । भेलामा उपस्थित एक व्यक्तिलाई भने नराम्रोसँग चस्का परेछ क्यार । शङ्कालु पाराले सबैतिर हेर्दै ऊ आफ्नो बाटो लाग्यो । सबैले ऊ गएतर्फ हेरिरहे । उसलाई बोलाएर अन्तक्रियाका लागि सहमत गराउन कसैले पहल गरेन । दण्डहिनताको जरो कतै यस्तै र यतैसम्म फैलिएको त छैन ?

आश्विन ९, २०६७
शनिबार, गोरखापत्र ।