Indira Gautam – Covid 19 (Nepali Laghu Katha)

कोभिड-१९

बिनु अस्पतालको मेटर्निटि हलमा झुन्डिएको केलेंडरलाई निकै बेर देखि ध्यान गरिरहेकी हुन्छिन्। घडीको काँटा घुमेको घुमै छ। हिजो जहाँ बाट सुरु भएको थियो आज फेरि त्यहींबाट अघि बढिरहेको छ। यो समय पनि कहाँ जान हतारिएको हो खोइ कस्ले बुझ्न सक्ने र? आज घरिघरि प्रसवको बेदनाले छट्पटी हुँदै छ। एक एक पल कटाउन मुस्लिम भएको छ। सास फेर्न त झनै गाह्रो छ। खोइ कति दिन सम्म यसरी समय कुर्नु पर्ने हो थाहा छैन। डाक्टरले दुई दिन पछि मात्र भनेको थियो। उनलाई संसारको सबैभन्दा धेरै भाग्यमानी हुँ भन्ने लाग्छ । रबिन र सासुआमाले धेरै हेरचाह गरेका छन्। समय समयमा ख्याल राख्दै आएका छन् । प्रेग्नेंसीको समयमा राम्रो सोच विचार, मुल्यवान किताब पढ्दा नानीलाई त्यही प्रभाव पर्छ भनेर उनले सधैं राम्रा-राम्रा किताब पढ्ने बानी बसालेकी थिइन्। यस्तै कुराहरु सोच्दा सोच्दै समय बित्दै जान्छ । फेरि प्रसव वेदनाले छट्पटी हुन्छ। एक एक पल उनको गाह्रो हुन्छ।

रबिन , उनको श्रीमान टिफिनमा खाने कुरा लिएर आउँछन्। आज ऊ निकै हताश देखेर बिनु भावुक हुन्छिन्। रबिन भन्छन्, यो अस्पताल अब हाम्रो लागि सुरक्षित देखिन। यहाँका नयाँ पेसेन्ट पनि पोजेटिभ निस्किएछन्। अब छिटै सुरक्षित ठाउँमा जानु पर्दछ भन्दै मात्रै थिए। अचानक बिनु छट्पटाऊन थाल्छिन्। टिफिन टुंगोमा राख्न नभ्याइ हातबाट खसेको आवाजले छेउछाउका महिलाहरु पनि आत्तिएर आउँछन् । लगत्तै बिनुलाई अप्रेसन थिएटरमा पुराइन्छ।
बिनुले झिमझिम गर्दै बिस्तारै आँखा खोल्दा अर्को बेड अर्कै केलेण्डर देख्छिन्। भित्तामा हाँसिरहेका नानीका चित्रहरु थिएनन् । उ छट्पटाऊन पनि सकेकी थिइनन्। पेट भित्रको नानीले लात्तीले हानेको छैन। आफैंलाई निकै हलुङ्गो लाग्यो।

लामो सास फेर्दै आँखा चिम्लेर बालस्मृतिमा हराउछिन् । कुनै पनि नारी आमा भै सकेपछि आफ्नो सबै थोक बिर्सेर त्यही वात्सल्य प्रेममा रमाउँने गर्छन् ।ऊ पनि रमाउन थालेको धेरै दिन भयेको थियो । कल्पनाको आकाशको दिगन्तमा लामो उडान भर्छिन्। नानीलाई रबिनको काखबाट खोसेर आफ्नो अङ्गालोमा राख्ने कोशिश गर्छिन् । दुबैको बीचमा खुशीले रमाउने र बेला-बेला झगडा गर्ने कारण नानी छ। रबिन हिजो आज बालसुलभ व्यवहार र चन्चले स्वभावका भएका छन्, आफ्नो अनुहार संग नानीको अनुहार मिलेको जिद्दी गर्छन् । रबिनले नानी ऊ बाट खोसेर लगेको लगै ओझेल हुँदा सहन नसकी चिच्चाउँदा चिच्चाउँदै झसङ्ग झस्किएर आँखा खोल्छिन्।

एता उता आँखा डुलाउँदा सारा सपना लाग्छ। पछि थाहा हुन्छ ओल्टे कोल्टे फेर्न नसकेपछि अरुको गुहार माग्न पुग्छिन्। तर कोही पनि बोल्दैनन् । ऊनको टेम्परेचर हेर्न आउने नर्सहरुलाई ऊनले बारम्बार धेरै प्रश्नहरु गरेकी थिइन् । उनीहरुको केही प्रत्युत्तर नपाउँदा झनै दुखि हुन्छिन्। कुन बिहान कुन राति केही थाहा छैन। छेउमा कोही छैनन्। परैबाट खाना राखेर जान्छन्। राम्रो गरी कोही पनि बोल्दैनन्। बस्न उठ्न गाह्रो हुन्छ।

बिहे भएको सात बर्ष सम्म कोख खाली हुँदा धेरै ताना-बाना सुन्नु परेको थियो । तर आज उनको कोखमा आएको खुसीलाई पनि छेउमा पाएकी छैनन्। भित्तामा झुन्डिएका कोभिड-१९का तस्बिरमा आफ्नो बिरामीको लक्षणहरु छुट्याउन सक्ने भएकी छन् ।अछूत बिरामले च्यापेपछि को पो उनलाई सुम्सुम्याउँदै आउँछ र ? कस्ले पो सुत्केरी भन्दै स्याहार सुसार गर्ने।आँखाबाट बरबर आँसु झार्दै मृत्युको परिभाषाका तस्बिरहरु पलपल छेउमै घुमिरहेको देख्छिन् । यस्ता सोचहरु मानसपटलमा वरिपरि मौरी जसरी घुम्न थालेका छन्। नानी पनि सुरक्षित छ भन्ने कुरा थाहा पाए पछि आफ्नो इमिउनिटी शक्ति बढाएर बिरामलाई जित्नु परेको छ। सकारात्मक सोच संग जिउने साहसिक मानसिकताको मुना पलाउँदैछन्। । छेउ छाउका बिरामीहरुलाई प्रोत्साहन गर्छिन् । आमा भै सकेपछि उनीमा धेरै जिम्मेवारी भएको अनुभव हुन्छ। नारीको कर्तव्य एउटा झ्याङ्गिएको ठूलो रुख जस्तै हो, जस्को शितलताको सहाराले छेउ छाउका निकै बोट बिरुवा, जनावर र चरा चुरुङ्गीहरुले आश्रय लिएका हुन्छन्।

बिनुलाई थाहा थियो कि यो कोभिड-१९ संक्रमणको उपचारका औषधी आविष्कार हुन सकेको छैन। यसबाट बाँच्नलाई र यसलाई हराउँनलाई आत्मबल साह्रै दर्बिलो हुनुपर्छ। डर मानियो भने आफू कमजोर होइन्छ र त्यसले आफूलाई नाश पार्न पनि सक्छ। त्यसैले ऊनी सबेरै उठी आफ्नै बेडमा सुति सुति ईश्वर ध्यान, सकारात्मक सोच, तातो पानी पिउन, तनाव होइन हाँसेर अरु संग बात चित गर्ने, अरुलाई हौसला दिने, नियमित ज्वरोको औषधी सेवन गर्ने गरिन्। आफ्नो सन्तान परिवार र देशकै लागि केही गर्नुपर्छ भन्ने आँटिको सोच अनवरत सोचिरहन्थिन्। सायद त्यसैको परिणाम होला पछिल्ला दिनमा भएको स्वास्थ्य परीक्षणहरुमा कोभिड-१९ का भाइरसहरुको मात्रा घट्दै घट्दै रिजल्ट नेगेटिव निस्किएको बिनुको उपचारमा खटिएका डाक्टर र नर्सहरुको हँसिलो अनुहार पढेरै ऊनीलाई थाहा लागि सकेको थियो। नभन्दै एक दिन अस्पताल बाट औपचारिकरुपमै बिनु कोभिड-१९ बाट मुक्त भएको पत्र हातलागि भयो। ऊनीलाई यो सपना झैं लागि रह्यो। नभन्दै उनीलाई त्यहाँबाट अर्को सेन्टरमा सारियो। जहाँ १४ दिन सम्म फेरि पनि क्वारेन्टाइन् गरी हेरचाहका साथ एक्लै राखियो। मनमा सागरको भेल जस्तै हजारौं प्रश्न उठ्ने गर्थ्यो। दिन-रात सपना विपना सबै एकै बनाउँदा थाहै नपाई त्यो अवधि पनि सकिएछ।

आज त्यस सेन्टर बाहिर केही.कोलाहल छ। सरकारी बिषया आएर आफूलाई घर जाने अनुमतिको पत्र थमाइदिये। हर्षले होला फेरी सबै हात गोडानै बिलाए। सबै सपना झै लागिरह्यो।
बिनु बाहिर आइन, सबैले कोभिड-१९ लाई पराजित गरेकोमा धन्यवाद दिए, फूल बर्षाएर स्वागत गरें। आँखा रसाए। आमा-बाबा, सासू- ससूरा, दिदी-बहिनी, रबिन अनि ऊनको नयाँ प्राणलाई भैटि अंगालोमा लिई हर्षका आँसुले सबै पीडा धोइ रहिन्।

इन्दिरा गौतम
ओदालगढी, असम

Krishna Pariyar Pratibimba – Murga (Nepali Short Story)

कृष्ण परियार ” प्रतिबिम्ब ” – मुर्गा 

             दुई  बर्ष को  विदेश बसाई  पछि नरे आज नेपाल फर्केको छ।  आफ्ना गाउ आफ्नो आफ्नै परिवेश खुसि को सिमा छैन। आज त्यही गाउ को सेरोफेरो नौलो लागेको छ।  घर तल तिर ,माथि तिर हाल खबर को आदान प्रदान भैरहेको छ। एक कान दुइ कान मैदान भने जस्तो उस का साथी हरु लाइ पनि नरे आएको खबर पुगिहाल्यो। यत्तिकै मा एक साथी घर मै आइपुग्छ। “ओहो नरे कहिले आयौ  तिमि ” ,साथी ले सोध्यो। मत हिजै आएको नि , के छ तिम्रो खबर ? जवाफ मा सवाल जोड्दै नरे ले भन्यो। “लहै अब  दरो पार्टी हुनुपर्छ ” , साथीले  प्रस्ताब राख्यो।  “लौ  भोलि दिन्छु पार्टी ”नरे ले फुर्कदै  भन्यो। 

               अर्को दिन  पार्टी भयो। “आज मलाई धेरै खुसि लागेको छ,  दुइ बर्ष पछि यसरि साथी हरु संग रमाइलो गर्न पाउदा। ” नरे ले मन खोल्यो अनि केहि धन पनि खोल्यो। राति अबेर सम्म पार्टी चल्यो ।  प्लेट  रित्तिए  , बोतल रित्तिए। पार्टी सकियो।  एक महिना को छुट्टि  सकियो। “एक हप्ता जस्तो पो  भयो एक महिना पनि ” नरे ले मन मनै गुन्यो।  तर  साचिकै  एक महिना सकिएको थियो।  यसको प्रमाण उसको हात मा रहेको टिकट  र पासपोर्ट  थियो। नरे फेरी  सपनाको पोको बोकेर उड्यो परदेश। यता  गाउ मा साथीहरु माझ नरेले दिएको भब्य  पार्टी को चर्चा चल्दै थियो।  एक जना फ्याट्ट बोल्यो “नरे लाइ  क्या मुर्गा बनाइयो यार” । साथी हरु गलल हासे।  फेरी पनि कुनै मुर्गा को प्रतिक्षा मा छन् रे तिनी हरु।

Suren Upreti – Nyaya

सुरेन उप्रेती – न्याय

छोरा न्यायको बारेमा अरुले सुनाएका कुराले बाबु आमा चिन्तित भए । तेत्रो खर्च गरेर पढाएको त्यसै खेर गएछ । वारी पारी सबै तिर उसकै चर्चा हुन थाल्यो । केटाकेटी देखि बुढापाका सम्म उसको कुरा गर्थे । केही कलेज र स्कुलका केटा केटी र यूवा यूवती भने उसको नाम लिएर गर्व गर्थे । बुढ्यौली लागेकाहरु भने उसलार्इ देख्दा नाक खुम्च्याएर अर्को तिर लाग्दथे । तेती धेरै पढेर पनि कस्तो बुद्धी नआएको होला भनेर जिब्रो निकाल्थे । गाउँको स्कुल हुलाक चिया पशल सबै तिर उसैको कुरा हुन थाल्यो ।

पहिला पहिला गाउँलेहरु उसलार्इ गाउँको इज्वत र प्रतिष्ठा हो भनेर् गर्व गर्थे । आफ्ना छोरा छोरीहरुलार्इ उसको उधाहरण दिन्थे । उसको जस्तो श्वभाव र पढाइ हनु नी आदि भनेर आआफ्ना छोरा छोरीहरुलार्इ अर्ति गर्थे । तर आज ठिक त्यसको विपरित भयो । आजकाल मान्छेहरु उसको संगत नगर्नु है । त्यसले भनेको कुरा पनि नसुन्नु । आ आफना छोराछोरीलार्इ टाढै रहन उर्दी गर्थे।

न्यायका बा आमालार्इ भने उसका बारेमा केही थाहा थिएन।गाँउलेहरुले हिंजो सम्म तिमिहरुको कस्तो ज्ञानी छोरा भन्थे । आज तिमिहरुको छोरा पनि बिग्रेछ भन्छन् तर कसरी विग्रियो भन्ने चैं कसैले भनेका थिएनन् । उनीहरुले पनि सोधेका थिएनन् । उ विगतमा जस्तो थियो ठ्याक्कै तेस्तै छ । बानी व्यहोरा कत्ति पनि बद्लिएको छैन । तर गाउँलेहरुको कुरा सुन्दा सुन्दा बाआमालार्इ पनि सारै पिर पर्न थाल्यो । जोतिषि हेराए । धामीलार्इ फुक्न लगाए । धामीले फुकेको अक्षेता सिरानी मुनी हाली दिए । तर गाउँलेहरुले कुरा काट्न छाडेनन् । बा आमालार्इ झन पिर पर्यो । उनीहरुले डाक्टरलार्इ सोध्ने निधो गरे । तर डाक्टरले सोध्दा के भयो भन्ने थाहा भएन। त्यसैले गाँउलेहरु संग सम्पर्क गरे । त्यसपछि बल्ल थाहा भयो । गाउँको स्कुल सँगै गाविस छ । त्यहाँ एउटी तल्लो जात घोषणा गरिएकी महिला सानो नानी च्यापेर उजुर गर्न आइछन् । उनको दाबी अनुसार त्यो बच्चा गाँउका ठूला बडा मानिएका र ठानिएका पण्डितको हो भन्ने रहेछ । त्यो कुरा सचिवले ठाडै इन्कार गरेर निवेदन लिन मानेनछन् । तेत्रो ठूला मान्छेलार्इ दोषलाउने भनेर उल्टै हप्काएछन् । पण्डित पनि त्यो बच्चा जन्मिनु भन्दा पहिलै गाँउ छोडेर शहर तिर स्विंकुच्चा ठोकेछन् । यो कुरा न्यायले सुने पछी निवेदन आफैंले लेखेर दर्ता गर्न गएछ । सचिवले निवेदन दर्ता गर्न नमाने पछी स्कुलका विधार्थी शिक्षक सबैलार्इ कुरा बुझाए छ ।त्यस पछी सबै भएर निवेदन दर्ता गराएछन् । यो कुरा चारै तिर फैलियो । सबैले चालपाए । पण्डितले तेस्तो के गर्थे । त्यो केटी नै उस्ती हो भन्दै बुढा पाकाहरु त्यो न्याए भन्नेले नै उचालेको हो भनेर विरोध गर्न थाले ।

कसै कसैले चाहीं यो पण्डितका विरोधी पार्टिकाहरुको खेल हो पनि भने । कसैले चाँही अब न्याय भन्ने केटो पनि राजनीति गर्न थालेछ भने । राजनीति भनेको त काम नभएका । पढालेखा नभएकाले पो गर्ने त । तेत्रो एम ए पास गरेर पनि राजनीति गर्ने हो ।कसैले त बहुलाएछ पनि भन्न भ्याए । त्यस्तो सोझो मान्छेलार्इ कसले भड्काएर राजनितिमा हाल्दिए छ । पक्कै पनि कसैले टुना मुना गरेको हुनु पर्छ पनि भने । बाबुआमाले सम्झाउँदै अस्पताल लगे । लामो प्रतिक्षा पछी डाक्टर सँग भेट भयो । डक्टरले न्यायका सबै कुरा सुने । ती महिलार्इ अंश र बच्चालार्इ बाबुको नाम दिन सफल भएको कुरा न्यायले सुनाए । डाक्टरले प्रफुल्ल मुद्रामा बाआमालार्इ भने । तपार्इहरु साँच्चै भाग्यमानी हुनु हुँदो रहेछ । न्यायले न्याय दिलाएरै छोडेछन् । भन्दै धन्यवाद न्याय तिमी नाम अनुसारकै रहेछौ भनेर हात मिलाए ।