Bishwa Raj Adhikari – Euta Anautho Bhet

विश्वराज अधिकारी – एउटा अनौठो भेट

मैले उनको दुवै हात समाते। मेरो त्यस्तो व्यवहारबाट उनले असजिलो नमानेकोले ती दुवै हातलाई मैले मेरो गालासम्म पुर्याए। फेरि कुनै विरोध भएन। म अलि बढी नै उत्साहित भए। मैले मेरो दाहिने हात उनको कांधमा राखे। उनको काँधमाथि राखेको मेरो हातलाई उनले विस्तारै आफ्नो दाहिने हातले समातिन्। मैले विस्तारै भने – म आज डराउदिन। म आज मनमा के लागेको छ पूर्णरुपमा व्यक्त गर्न चाहन्छु। उनले केही पनि बोलिनन्। मैले उनको हात समातेर विस्तारै टेबुलतिर ल्याए। हामी दुवै मेचमा बसौं।

उनले अर्थात शुष्माले विस्तारै भनिन् ‘कहिले आउनु भयो’?

मैले छोटो उत्तर दिए – एक हप्ता भयो।

शुष्माले फेरि सोधिन ‘अलि दिन बस्नु हुन्छ होला?’

मैले भने – बस्छु। अझै अलि प्रष्ट पारे – म एउटा युनिभर्सिटीमा पढाउँछु। युनिभर्सिटी अहिले बन्द छ, क्लास हुँदैन। एक महिना जति बस्छु होला।

शुष्माले सोधिन ‘परिवार पनि ल्याउनु भएको छ’?

म एक्लै आएको छु। आउन त्यस्तो कुनै जरुरी पनि थिएन। तर किन हो मन एकदमै व्यग्र भयो। एकचोटी काठमाडौ जाउ जाउ जस्तो लाग्यो। त्यसैले आएँ। तर आएकोमा एकदम सन्तुष्ट छु म, मेरो यो भनाइ सक्याए पछि मैले शुष्मातिर पुलुक्क हेरे। उनी मतिर हेर्दै थिइन। मैले पनि उनको आँखामा आँखा राख्दै हेरे। एक छिनसम्म हामीले एक अर्कालाई हेर्यो।

मैले भने – ती दिनहरु कति रमाइला थिए, जब हामी बीरगंजमा थियौ, है। मेरो डेरा र तिम्रो घर आमने सामने थियो। दिनमा दसौ पटक हाम्रो भेटघाट हुन्थ्यो। अहिले सम्झिंदा पनि मन सिमलको भुआ जस्तो उडन थाल्छ अतितको आकाशमा। तिमीलाई मेरो कोठामा आउन कुनै प्रतिबन्ध थिएन तिम्रो परिवारबाट। म एक त तिम्रो परिवारको टाढाको नातेदार दोस्रो तिमीले मसँग ट्युसन पढ्ने बाहाना। कति पटक हामी संगै घुम्न निस्केका थियौ। विर्ताबाट हिंडेर हामी ठाकुर राम क्याम्पससम्म पुग्ने गर्थौ। सम्झ त ती दिनहरु।

यति भनेर म एक छिन चुप लागे। शुष्मा मेरो कुरा सुनेर हांस्दै थिइन। मैले फेरि भने ‘ शुष्मा तिमीलाई याद छ एक चोटी साँझमा घुम्ने क्रममा हामी माईस्थान मन्दिर, गीता मन्दिर, महावीर स्थान, अलखियामठ घुम्दा धेरै ढिलो भएको थियो। झमक्क साँझ नै परेको थियो। तीमी निकै हडबडाएकी थियो घर पुग्न। माईस्थान मन्दिरबाट बिर्ता जान रिक्सा नपाएर कति गार्हो भएको थियो, याद छ तिमीलाई?

मेरो कुरा सुनेर शुष्मा हाँसिन। मतिर हेर्दै भनिन ‘अहिले त्यो दिनको घटना सम्झिंदा घरमा गएर गाली खानु पर्ने हुन्थ्यो भन्ने डर भन्दा पनि त्यो रोमान्चक समय याद आउँछ। मन पुल्कित हुन्छ’।

शुष्माले रेष्टुरेन्टको झ्यालतिर हेर्दै भनिन ‘एक दिन तपाँइको कोठामा म निकै बेर बसेको बिर्सिनु भयो नि?’

मैले भने – के को बिर्सिनु। तिमीले त्यो दिन भनेको ‘हेर्नुस, हामी केवल दुइ जना मात्र, त्यो पनि ढोका बन्द गरेर, यसरी बसेको कसैले देखे भने के भन्लान, मलाई त डर र रोमान्चक दुबै लागिरहेछ’ अहिले पनि याद छ। मैले पनि त भनेको थिएँ नि भन्नेले भन्दै गर्छन। भन्नेहरुको परवाह गरेर पनि साद्दे चल्छ र?

शुष्माले प्रशंग परिवर्तन गर्दै भनिन ‘आजभोलि कहाँ बस्नु हुन्छ नि? नेपालमा त हुनु हुन्न भन्ने सुनेको थिएँ। तर कहाँ बस्नु हुन्छ भन्ने चाँहि थाहा छैन’।

मैले जबाफ दिएँ ‘युरोपको एउटा युनिभर्सिटीमा पढाउँछु। नेपाल छाडेको त निकै भयो।

मैले फेरि भने- ठाकुर राम क्याम्पसबाट बि कम गरे पछि म काठमाडौ गए। यस्तै २०३७ साल तिर हुनु पर्छ। त्यस पछि काठमाडौमा बसेर, ४१ हो या ४२ सालमा, त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स गरे। ४५ सालमा म थाइलैण्डको राजधानी बैकक गए, मास्टर्स गर्न। २०५० सालमा मास्टर सक्याएर नेपाल फर्के। नेपालमा यस्तै एक वर्ष जति बसेको हुँला म, फेरि यु यस ए गए पि यच डि गर्न। २०५५ सालमा पि यच डि सक्याए। चार वर्ष जति यु यस ए को एउटा युनिभर्सिटीमा पढाए, अहिले भने युरोपमा छु। फ्रान्सको पेरिसमा।

मेरो लामो भनाईलाई टुङ्ग्याउँदै मैले सोधे- अनि तिमी के गर्दै छेउ नि शुष्शमा? यति भनेर मैले उनको मुहारमा केहि बेर घोरिएर हेरे पनि। शुष्माले पनि मेरो मुहारमा केही बेर हेरि रहिन।

एकै छिन घोरिएर हेरे पछि उनले भनिन ‘ मैले पनि ठाकुरराम क्याम्पसबाट, २०४२ साल तिर हुनु पर्छ, बि ए सक्याए। ४३ सालमा काठमाडौ आएँ। एम ए पढ्न। ४८ सालतिर मैले एम ए सक्याए, त्रिभुवन विश्वविद्यालयबाट। एक दुइ वर्ष यता उता अल मल भयो। ५० साल देखि एउटा प्राइभेट क्याम्पसमा पढाउँदै छु, काठमाडौमा नै। भैसेपाटीमा एउटा सानो घर पनि छ’।

शुष्मा केहि क्षण चुप लागिन। मतिर पुलुक्क हेरिन। म एकटकले उनको मुहार तिर नै हेर्दै थिए। उनले मेरो आँखामा आँखा राख्दै भनिन ‘ बीरगंजबाट काठमाडौ पढ्न आए पछि त तपाँइले चटक्क नै बिर्सिनु भयो नि। एक चोटी पनि मेरो बारेमा कुनै जानकारी लिनु भएन। न त बीरगंजमा नै मलाई भेट्ने कोशिस गर्नु भयो न त काठमाडौमा नै म कहाँ छु भनी पत्ता लगाउनु भयो। बल्ल अहिले आएर भेट हुँदैछ, सँगै हिंडेको, सँगै पढेको उन्नतिस, तिस वर्ष पछि। तिन दशक सम्म हाम्रो भेट हुन सकेन’।

म चुपचाप शुष्माको कुरा सुनिरहेको थिएँ। उनले बोलेको मलाई अति नै रमाइलो लागिरहेको थियो। शुष्माको कुरा सन्दै गर्दा म स्मृतिको गंगामा डुबेर पुगेको थिएँ आफ्नो त्यो विद्यार्थी जीवनमा जहाँबाट शुष्मा र मेरो भेटघाटको शिलसिला शुरु भएको थियो। शुष्मालाई मैले पहिलो चोटी बीरगंजको माईस्थान मन्दिरमा अष्टमीको मेलामा साँझको समयमा देखेको थिए। त्यति खेर मेरो डेरा रानीघाटमा थियो। पछि डेरा सर्ने क्रममा संयोग नै भन्नु पर्छ शुष्माको घर छेउमै पुगें म। यो घटना २०३२ सालतिर को हो। शुष्मासँग मेरो परिचय औपचारिक किसिमले भने २०३२ सालमा भएको थियो, जब म उनको घरको नजीकको घरमा डेरा लिन पुगेको थिए। औपचारिक परिचय हुने माध्यम थियो ट्युसन। यस यल सि को परीक्षा दिन पर्ने थियो शुष्माले। उनको गणित कमजोर भएकोले ट्युसन पढ्नु पर्ने उनको बाध्यता थियो। उनको बुआलाई मेरो गणित निकै राम्रो छ भन्ने थाहा भएकोले मैले उनीलाई ट्युसन पढाउने काम जुरेको थियो। उनीलाई ट्युसन पढाउने क्रममा नै हाम्रो परिचर सामान्यबाट अलि असामान्य हुन पुगेको थियो।

शुष्मा चुप लागिन। मतिर हेर्दै भनिन ‘साँच्चै किन एक चोटी पनि भेट्ने कोशिस गर्नु भएन, हँ?’

शुष्मातिर हेर्दै मैले मधुर आबाजमा भने- त्यति खेर ममा पढ्ने धुन यति बढी सवार भएको थियो कि यता उता केही हेर्न भ्याइन। जहिले पनि मेरो अगाडि कसरी राम्रो विश्वविद्यालबाट डिग्री लिन सकिन्छ भन्ने उद्देश्य नै तेर्छिरह्यो। मैले त विहे पनि अलि ढिलो गर्नखोजेको थिएँ तर मैले न गरे भाइको पनि विहे रोकिने भएको हुनाले ४४ सालमा बिहे गरे। मेरो त नाति नातिना पनि भइसके। मेरो एउटी छोरी र एउटा छोरा छन उनीहरु पनि उतै बस्छन।

बोल्दा बोल्दै म एक्कासी रोकिए। केही सम्झे झै गरी भने- अनि शुष्मा तिम्रो विहे ……………?’ मेरो भनाइ पुरा पनि हुन पाएको थिएन बिचमै रोक्दै शुष्माले भनिन ‘यो उमेरसम्ममा पनि कहीँ बिहे नभएर रहला त कोइ? मेरो विहे पनि २०४६ सालमा भयो। काठमाडौमा बिहे भयो मेरो। वहाँको नाम रमेश हो। एरेन्ज मैरिज भएको हो हाम्रो। वहाँको बुआ र मेरो बुआको पूर्व परिचय थियो। मेरो पनि एउटा छोरा छ। त्यो पनि अठार उन्नाइस वर्षको लाडे जवान भइ सक्यो।

शुष्माको भनाई सकिए पछि फेरि हामी दुइले एक अर्कालाई हेर्यौ। एक अर्कालाई हेरिनै रहेर निकै बेरसम्म हाँस्यौ पनि। हामी जोड जोडले हाँसेको देखेर रेष्टुरेन्टमा भएकाहरु हामीलाइ अनौठो किसिमले हेर्दै थिए। हाम्रो हाँसो तिर एकै छिन ध्यान दिए पछि उनीहरु आफ्नै धुनमा लागे। त्यो रेष्टुरेन्टमा मेरो आग्रहमा नै शुष्मा मलाई भेट्न एक्लै आएकी थिइन। उनले त आफ्नै घरमा भेट्न आउन जोड गरेकी थिइन तर उनको घरमा खुलेर कुरा गर्न नसकिने हुनाले नै मैले त्यो रेष्टुरेन्टमा आउन आग्रह गरेको थिएं। उनको घरको फोन नम्बर बल्ल बल्ल पत्ता लागेको थियो। झन्डै तिन चार दिनको प्रयास पछि। मैले फोनमा कुरा गर्दा शुरुमा मलाई चिन्न शुष्मालाई निकै गार्हो भएको थियो। आफ्नो बारेमा छोटकरीमा बताए पछि मात्र उनीले मलाई चिनिन। तर फोनमा कुराकानी भइरहँदा उनी निकै आश्र्चर्यमा पनि परिरहेकी थिन। उनले पटक पटक भनेकी थिइन ‘धेरै दिन पछि सम्झिनु भयो नि। मलाई त तपाँइले…….. मलाई बिर्सि सक्नु भयो जस्तो लागेको थियो’।

लामो समय पछि शुष्मालाई भेट्दा मलाई अति नै रोमान्चक लागिरहेको थियो। कुराको सिलसिला जति अगाडि बढ्दै थियो म त्यति नै उनीसँग बिताएका बिगतलाई सम्झिरहेको थिए।

कुराकानीको क्रम एकै छिन रोकियो। तर हामी एक अर्कालाई नै हेरिरहेका थियौ। हामीले एक अर्कालाई हेरिरहेको क्रममा नै शुष्माले आफ्नो मुहारमा जिज्ञासा भाव झल्काउँदै भनिन ‘अँ साँच्यै, तपाँईले अघि भन्नु भयो को थियो नि, म आज मनमा के लागेको छ पूर्णरुपमा व्यक्त गर्न चाहन्छु, भन्नुस न त तपाँइको मनमा के लागेको छ’।

शुष्मातिर घोरिएर हेर्दे मैले भने – मेरो कुरामा माइन्ड त गर्दिनौ शुष्मा? तर आज तिमीले माइन्ड गरे पनि म भनेर छाड्छु त्यो कुरा बाँकी राख्दिन। र सकिरहेको छैन मनमा त्यो शूल पाल्न। र अब उप्रान्त शक्तिन पनि पाल्न। अति भयो। आफूले आफैलाई धिक्कार भन्दै छु, वर्षौदेखि। आज …………………..’।

मेरो भनाइ पुरा नै भएको थिएन, बीचमै शुष्माले प्रश्न गरिन ‘के हो त्यस्तो शूल तपाँइको मनमा गाडिएको?

शुष्माको प्रश्नको उत्तरको रुपमा मेरो मुखबाट झ्वाट निस्क्यो – शुष्मा म तिमीलाई प्रेम गर्छु। गर्थ्ये, गर्छु र गरिनै रहने छु। रियली आइ लभ यु शुष्मा। यस आई डु।

मेरो उत्तर सुनेर उत्तेजित हुँदै शुष्माले भनिन ‘एक तिस, बत्तिस वर्ष पहिले किन भन्नु भएन यो कुरा। अहिले भनेर के फाइदा। त्यो बेला भनेको भए हुन्थ्यो नि, जनु बेला …………….। एक चोटी बगेको खोलाको पानी फेरि फर्किएको छ, कहिले? देख्नु भएको छ कहिँ कहिले त्यस्तो?’

शुष्माको कुरामा मैले कुनै प्रतिक्रिमा व्यक्त गरिन। म शान्त बसे। मेरो मनले निकै ठूलो बोझ हल्का भएको महसुस गरिरहेको थियो। मेरो छाती माथि रहेको जाँतो कसैले झिकिदिएको जस्तो लागिहरेको थियो मलाई। तिस बत्तिस वर्ष पहिले त्यो कुरा भन्न नसकेकोमा म आफै हिनताबोध ले ग्रसित थिएँ। त्यो एउटा सम्वाद – शुष्मा म तिमीलाई प्रेम गर्छु भन्न न पाएकोमा मैले आफैले मेरो नाम हुत्तिहारा, लाछि, कायर के के राखेको थिएँ, के के। तर त्यो सम्वाद बोले पछि भने म मा त्यसै त्यसै अनौठो किसिमको आत्मविश्वास जागृत भएको थियो। मेरो मनले मलाई आत्म सम्मान दिइरहेको थियो। म प्रशन्न थिए, पुल्कित थिए। म कायर होइन, म लाछि होइन, म हुत्तिहारा पनि होइन भन्ने मेरो मान्यता निर्वलताबाट सबलतातिर उन्मुख हुँदै थियो। रेष्टुरेन्टमा बजिरहेको संगित मेरो लागि कर्ण प्रिय हुन पुगेको थियो त्यो समय बिन्दुमा। त्यो संगित बजिसके पछि एउटा गित एक कलाकारले गाउन थाले। मलाइ पहिले त्यो गित पट्कै मन पर्थेन। तर त्यति खेर किन हो मलाई त्यो गीत अति मन पर्यो। मनमा उमंगका छालहरु आइरहे। म आनन्दको सागरमा डुबिरहेको थिए। डुबिरहेको थिए। शुष्माले मलाई हेरिरहेकी थिइन। तर उनको मुहारमा कुनै प्रशन्नता झल्किरहेको थिएन। म भने अति प्रशन्न थिए। म कुनै बेला स्टेजमा प्रस्तुत भइरहेको गित र नृत्य हेरिरहेको थिए भने कुनै बेला शुष्मातिर। म चुपचाप थिए। शान्त थिए। सन्तुष्ट थिएँ। भन्ने हो भने एक किसिमले त्यो एउटा सम्वाद बोल्न भनेर नै म युरोपबाट काठमडौ झरेको थिए र शुष्मालाई भेट्न पुगेको थिए।

एकाएक मेरो मनमा के आयो, मैल शुष्मालाई प्रश्न गरे – शुष्मा तिमीले पनि त कहिले त्यस्तो …………………मलाइ भनिनौ नि?

मेरो प्रश्न सुन्ने बितिक्कै शुष्माले भनिन ‘मलाई के थाहा तपाई मलाई कुन दृष्टिले हेर्नु हुन्थ्यो, त्यो बेला, केवल एक छात्राको रुपमा, एक परिचितको रुपमा, या केवल एक मित्रको रुपमा। मैले थाहा नै पाउन सकिन। तपाँइले मलाइ कुन दृष्टिले हेर्नु हुन्छ भन्ने कुराको म केवल अनुमान मात्र लगाउँथे, प्रष्ट हुन भने सक्थिन। तपाँइले पनि त भन्नु भएन न नि तपाँइको मनमा के छ भन्ने कुरा। तपाँइको म प्रतिको दृष्टिकोण बल्ल अहिले तिस ,बत्तिस वर्ष पछि थाहा पाउँदै छु’।

रातको झन्डै नौ बज्न थालेको थियो। हामी उठ्यौ। हामी हिड्न मात्र के आंटेका थियौ, एक दम्पत्ति हाम्रो अगाडि देखा परे। हाम्रो नजिक आएको ती दम्पतितिर हेर्दै शुष्माले मलाई भनिन ‘ मेरो साथी रिता र उनको श्रीमान निरज। यति भने पछि उनले मतिर हेर्दै ती दम्पतिलाई भनिन ‘वहाँ …………………मदन……………………अँ अँ अँ मदन शर्मा। मलाइ के भनेर सम्वोधन गर्ने भनी शुष्मालाई निकै अलमल भएको मलाई लाग्यो। एकै छिनको कुराकानी पछि हामी चारै जना सडकतिर लाग्यौ। मलाई भने तिस बत्तिस वर्ष पहिले वीरगंजको सडकमा शुष्मासंग हिंडेको भान भइरहेको थियो। मेरो मनमाथिको जाँतो पूर्ण रुमपा हटिसकेको थियो, त्यसको अवशेषसम्म पनि बाँकी थिएन।

Krishna Bajgain – Peeda [Nepali Laghu Katha]

हाकिम साहेबलाई केही दिन यता ढाड दुख्ने बिरामले च्याप्न थालेको चर्चा कार्यालयमा चल्दै थियो । साह्रै महङ्गो अति राम्रो यताउता अगाडि-पछाडि जता घुमाउँदा पनि घुम्ने लचकदार आरामदायी कुर्सीमा आफूलाई असजिलो भएको कुरा हाकिम साहेबले मुख फोरेरै भने । ढाड दुखेकोले हाकिम साहेबलाई सिरानी चाहिने भयो । हाकिमले प्रोक्योरमेन्ट शाखाका कर्मचारीलाई एउटा नरम सिरानी किनेर ल्याउन अह्राए । ती कर्मचारीले लेखापाललाई सोको जानकारी गराए । “कहाँ सिरानी किन्न मिल्छ पछि बेरुजु निस्कन्छ ।” लेखापालले प्रोक्योरमेन्ट शाखाका कर्मचारीलाई जानकारी गराए ।
लेखापालको यस्तो जवाफ उनले हाकिमलाई सुनाए । हाकिमले लेखापाललाई बोलाए । र कड्कदै भने -“तुरुन्त सिरानी किनेर ल्याउनुहोस् । बजेट शीर्षक पछि मिलाउँदै गर्नु ।” स्टोरकिपरले नरम मुलायम सिरानी हाकिमलाई टक्रयाए ।

ढाड दुख्ने बिमारले च्यापेको भनिएका हाकिम साहेबले दिनभर सिरानी काखमा खेलाईरहेको देख्दथे कार्यालयका कर्मचारीहरु । हाकिम साहेबले सिरानी खेलाउन थालेपछि टाईपिष्टको पेट दुख्न थालेको चर्चा चल्न थाल्यो । ती टाइपिष्ट कहिले चाँडै घर जान्थिन् कम्मर दुख्यो भनेर कहिले ढिलो अफिस आउँथिन् छाती दुख्यो भनेर । दिनदिनै धेरै बेरसम्म हाकिम साहेबकै कोठामा बसिरहन्थिन् चित्त दुख्यो भनेर । यसैबीच हाकिम साहेबले उर्दी जारी गरे कर्मचारीहरुलाई ।

“म आजकल बिरामी छु । उता टाइपिष्ट पनि बिरामी छिन् । कोठामा हामी आरामका लागि बसेको बेला कोही पनि नआउनुहोला । अत्यावश्यक काम भए भोलिपल्ट सबेरै गराउनुहोला ।” हाकिमको यस्तो आदेशलाई सबै कर्मचारीहरुले शिरोपर गरे । केही समय यतादेखि त्यस कार्यालयका हाकिम साहेबको ढाड दुखेको, टाईपिष्टको कम्मर, छाती र पेट दुखी हाकिम साहेबकै कोठामा आराम गर्न थालेको कुरा सारा कर्मचारीहरुले थाहा पाउनथाले । त्यसपछि बाँकि सबै कर्मचारीहरुको टाउको दुख्न थाल्यो ।

Dr. Rabindra Sameer – Nishedh Ko Raajniti (Nepali Laghu Katha)

डा. रवीन्द्र समीर – निषेधको राजनीति (लघु कथा)

सानो चिटिक्कपरेको सुन्दरघर, घरको वरिपरी सप्तरंगी बगैचा, चिसो झरना, अद्वितीय प्राकृतिक एवं गौरवशाली इतिहास…अवर्णनीय परिवार थियो, त्यो । एकले अर्कालाई सहयोग, सम्मान, माया, सहिष्णुता तथा एकताको थुङ्गाले बुनेको सहअस्तित्वको माला साँच्चै उदाहरणीय थियो । छिमेकीहरूमध्ये अधिकांशले प्रशंसा गरेर थाक्दैनथे, त्यो प्राकृतिक सुखोपभोग गर्न आइरहन्थे, सहयोग गरेर जान्थे भने केही छिमेकीहरू इष्र्या गर्दथे, परिवार बिचको एकता खलबलाउन खोज्दथे ।

चिसो हावाको वहाव एवं सङ्लो पानीको धमिलिकरणसंगै परिवारभित्र पनि कथाहरू फेरिंदै गए, पात्रहरू बहुरुपी हुँदै गए, घरमा आगो लगाउन थाले, आपसमा तानातान र हानाहान गर्न थाले, सम्पत्तिको बाँडफाडको लागि खुकुरी बोक्न थाले, अनि पारिवारिक मामिलामा छिमेकीलाई गुहार्न थाले र छिमेकीका अर्ति सुन्न वाध्य भए ।

…त्यो यो घरवाट निस्कनुपर्छ, त्यसलाई पाता ठोकेर सात डाँडा कटाउनु पर्छ, त्यसलाई एक कौडी पनि अंश दिनु हुँदैन, यो सम्पत्ति मेरो हो तर्सथ सबैले मेरो आज्ञा शिरोपर गर्नुपर्छ …सहअस्तित्व एवं वसुधैवकुटुम्वकम्को वातावरण धमिलिएर त्यहाँ निषेधको राजनीति सुरु भयो । अर्को पक्षको समाप्तिमा आफ्नो पक्षको उदय देख्ने संकिर्णभिडन्तले परिवार भित्रका सवै सदस्यहरू थाके, गले र कमजोर भए ।

यही फुट र धमिलो पानीको फाइदा उठाएर मेलमिलाप गरिदिने निहँुमा सूचीप्वालवाट कमिला भएर छिरेका छिमेकीहरू सुन्दर बगैचामा हात्ती भएर निस्किए, शेर बनेर गर्जिए र अहिले हस्तिनापुरको राजबाट चपरिमुनीको बासमा पुगेका ती पारिवारिक सदस्यहरू एक अर्कालाई गिज्याउँदै थपडी मारेर आत्मरति लिइरहेका छन – बल्ल खायो त्यसले ।

Harihar Dahal – Samaj Sewa [Nepali Laghu Katha]

हरिहर दाहाल – समाजसेवा – लघु कथा

ऊ नम्रतामा विश्वाश गर्छ। सबैलाई झुकेर नमस्कार गर्नु उसको बानी हो। समयले भ्याएसम्म र क्षमताले पुगेसम्म मानबिय आपद-बिपदका अबसरमा चन्दा दिन्छ। सकेजति सबैलाई सहयोगको हात बढाउछ। कसैलाई हुन्न र गर्दिन नभन्नु उसको कमजोरी हो। भ्याए र सकेजति गर्छ पनि। मेलमिलाप र सद्भाबमा विश्वाश गर्छ। आफुले सहेर अरुलाई हँसाउनुमा ऊ रमाउँछ। आँफै अघि सरेर सामाजिक उत्सब,पर्ब र अबसरहरूमा सहभागिता जनाउँछ र सकेजतिको जिम्बेबारी पनि लिन्छ। प्राय सबैखाले सामाजिक कार्यक्रम र मरौपरौमा उपस्थित हुन्छ। हुन नसक्दा दु:ख मान्छ। आफ्नो घर परिवारलाई भन्दा पनि बढी समाजलाई महत्व दिन्छ।यसरी समाजसेवा जस्तो पवित्र काममा थोरै भए पनि संलग्न हुन पाएको र गर्न सकेकोमा आफुलाई भाग्यमानी ठाँन्छ।

समय बित्दै जाँदा उस्का बारेमा बिभिन्न खाले प्रतिकृयाहरू बजारमा आउन थाल्छन। मान्छेहरू भन्छन, त्यो फटाहा हो। सबैलाई नमस्कार टक्र्याउछ किनकि ऊ सबैको अगाडि प्रिय हुन चाँहन्छ। जताततै चन्दा दिन्छ किनकि ऊ नाम कमाउन चाँहन्छ । जहाँतही उपस्थित हुन्छ किनकि सबैलाई धन्यबादी बनाउन चाँहन्छ । सबै संघ-सस्थामा हात हाल्छ किनकि ऊ नामको भोको छ। हरेक उत्सबहरूमा सहभागी हुन प्रोत्साहित गर्छ र टिकट बेच्छ किनकि यसबाट प्राप्त हुने मुनाफाबाट उस्लाई घर परिबारको गुजारा चलाऊन सजिलो हुन्छ ।

यस्ता आरोप, प्रत्यारोप र बिरोधका शब्दहरू सुनेर ऊ मर्माहात हुन्छ। उस्को अन्तर मनले भन्छ- तँ समाज सेवा गर्न बन्द गर । घर परिवारको गाँस काटेर गरेको समाजसेवाको परीणाम तिरस्कार हुन सक्दैन। केबल परिवारको वरीपरी घुमेर बस। मोज मस्ती गर। के तैले समाज सुधार र बिकासको ठेक्का लिएको छस र ? अर्काको नाममा पैसा र समय खर्च नगर।सकेजती सम्पत्ति कमा,बचा र आफु संपन्न हो।भौतिक सुबिधा संपन्न जिबन भोग। अर्को मन ले भन्छ- खराब नियतले सहयोगी हुन खोजेको नाटक गरेको होस् भने तँ दोषी छस नत्र अर्काले बिरोध गर्दैमा तेरो के नोक्सान भएको छ र ? जो केही गर्दैन ऊ केबल बिरोध मात्र गरिरहन्छ। त्यस्ता कृतघ्नहरू समाजका बाधक हुन। तिनिहरू समाजका धमिरा हुँन। उस्ले आफ्नो शरीरका सबै अँगहरू छाँम्छ,सबै अँगहरू यथास्थितिमा पाँउछ । टाउकोमा भएका केशराशीहरू छाँम्छ, एउटै केश पनि झरेको हुँदैन। उस्ले निर्णय गर्छ-कसैले बिरोध गर्दैमा मानवसेवा जस्तो पवित्र काम रोक्नु भनेको निकम्माहरूको आत्माबल बढाउनु हो।

Bakhat Bahadur Thapa – Bikas

बखतबहादुर थापा – विकास

प्रकृतिले मान्छेलाई जति लोभ्याउँछ, मान्छेले मान्छेलाई त्यति नै तर्साउँछ ।

नागबेली डाँडाहरूमा ढकमक्क फुलेका फुलहरू, वन्यजन्तुको लुकामारी, चराचुरुङ्गीको चहचह स्वर, झरनाको मोहक सुसेली । कति सुरभ्य प्रकृति ! यो हाम्रो प्रकृतिको अतिरञ्जित गुणगान हैन । प्राकृतिक सौन्दर्यले परिपुण छ हाम्रो देश । नेपालको सुन्दरता नेपालीका निम्ति गर्भको कुरा मात्र होइन, विदेशीहरूका निम्ति आकर्षणको बिन्दु पनि हो ।

त्यही आकर्षणमा तानिएका अस्टे«लियाली दम्पती राजधानीसँगैको तर विकासको तुलनामा विकट ठाउँतिर सोझिए, त्यहाँको प्रकृतिको आनन्द लिन, मज्जा लुट्न । हेरेर अनुभव गरेर कहिल्यै नअघाइने प्रकृतिलाई आँखाभरि समेट्दै, भमराझैं त्यो सौन्दर्य मनले पान गर्दै उनीहरू एउटा डाँडामा पुगे ।

डाँडामा एउटा रिसोर्ट थियो । ती अस्टे«लियाली दम्पतीले स्थानीय भोजनको स्वाद लिए । एकातिर जंगल, अर्कोतर्फ गाउँ । उनीहरू कुनै बखत दूरबीनद्वारा टाढाटाढाका दृश्य हेरेर रमाउँथे त कुनै बखत तिनलाई क्यामरामा कैद गरेर ओल्टाइपल्टाई हेर्थे । तर, उनीहरूको यो खुसी लामो समयसम्म रहेन । उनीहरूले गाउँदेखि जंगल परास्त हुँदै गएको देखे । यसले उनीहरूको रमाइलोमा बज्रपात भयो । उनीहरू यसको यथार्थ खोज्दै गाउँतर्फ पस्नेबित्तिकै उल्टो भोगाइमा परे । गाउँले बालबालिकाले उनीहरूलाई घेरे, मानौँ उनीहरू फूल हुन् र ती बालबालिका भमरा । उनीहरूले फोटो खिच्न अन्त भौँतारिनै परेन । के के न भेटेभैmँ उनीहरूले झुत्रेझाम्रे काती परेका लुगा पहिरिएका नानीहरूका फोटा खिच्नुसम्म खिचे । तर, ती बालबच्चाहरूको उज्ज्वल भविष्यलाई चरम गरिबीले ओझेलमा पारेको र तिनका इच्छा–आकांक्षा अनि निर्दोषपनलाई भोकतिर्खाले अंकुराउन नदिएको थाहा पाएर दुःखी भए ।

उनीहरूको क्यामरा नजिकैको निकै ठूलो घरतर्फ सोझियो । त्यो घर भर्खरै आँधीले उधिनेर गएजस्तो बेवारिसे लाग्थ्यो । तर त्यो स्कुल रहेछ । गाउँलेहरूको साझा सम्पत्ति । बालबालिकाको भविष्य बनाउने थलो । उनीहरूसँग भमराझैँ झुम्मिएका केटाकेटी त्यहीँका विद्यार्थी रहेछन् ।

“ए भुरा हो,” एक प्रौढ चिच्याउँदै आयो, “तिमीहरू पढ्न आएका कि कुइरेहरूको वरिपरि झुम्मिन ?” तर, विचरा ती बालबालिकाहरू ! शिक्षकहरू स्कुलमा भए न उनीहरू पनि कक्षामा हुन्छन् ! “तलब थापेकै दिन एक कौडी बच्दैन भने घाँटी सुकाउनुको औचित्य के ? समाज सेवा गर्ने बानी परिसक्यो, त्यो त्यसै छाड्न पनि मिलेन ।” अधिकांश शिक्षकहरूको यो साझा धारणा थियो । उनीहरू हाजिरी बहीमा उपस्थिति जनाउनासाथ ‘समाजसेवा’ मा लागिहाल्थे । हाम्रो देशमा इच्छा अनुसारको ‘समाजसेवा’ चल्छ, जसका थुप्रै शाखा–प्रशाखा छन्ः नेताहरूको उछित्तो कढाइ, गुटबन्दी, कुख्यात मान्छेको अनुसरण, उद्दण्डता, जुवातास, आदि आदि ….. ।

प्रायः शिक्षकहरू भन्थे, “समाज सेवाको नाममा मैले कसैको ज्यान मारेको छैन; दुई–चार बात मार्छु, दुई–चार पैसा बाँड्छु के त्यो अपराध हो ?”

ती अस्टे«लियाली जोडीले स्कुल र बालबालिकाबारे सोधपुछ गर्न खोजे तर सबैजसो मानिसहरू कुरा गर्न हिचकिचाए । जे भए पनि, उनीहरूलाई त्यहाँको अवस्था देखेर टीठ लाग्यो । उनीहरूले त्यहाँको प्रकृति र सीधासादा गाउँलेसँग भेटघाट भइरहने बहाना खोजे । यसका लागि भताभुङ्ग भएको साझा सम्पत्ति स्कुलको नयाँ भवन बनाउने माध्यम रोजे ।

यो थाहा पाउनासाथ त्यहाँका टाठाबाठाहरू हात जोड्दै उनीहरूका अगाडि परे । निर्माण समिति बन्यो । समितिले अनुमानित दस लाखको बजेट बनायो । तत्काल निर्माण कार्यको थालनी भयो ।

अस्टे«लियाली दम्पतीले स्कुल भवनको शिलान्यास गर्ने क्रममा भने, “यस भवनको उद्घाटन गर्न आउँदा कम्प्युटर, इन्भर्टर, सोलार सिस्टम, खेलकुद आदी सम्पूर्ण शैक्षिक सामग्री उपलब्ध हुनेछ ।”
जग खन्न सुरु भएपछि उनीहरू स्वदेश फर्के ।

छ महिना नबित्दै भवन बन्यो । त्यो जानकारी पाएर अस्ट्रेलियाली दम्पतीमध्ये पतिचाहिँ आए । भवन देख्दा उनीहरूले दिएको रकमको ५० प्रतिशत खर्च मात्र निर्माणमा लगाएको अनुमान लगाए । जान्न खोज्दा समितिले सोझो जवाफ दियो, “लेबर खर्चजस्ता थुप्रै कुरा जोड्न छुटेको रहेछ ।” दाताका लागि स्कुल भवन खेलौनाजस्तो लागे पनि त्यसैले निमुखा तथा गरिब गाउँलेका बालबालिकाका अनुहार चम्किलो बनाएको थियो । उनले यसमा चित्त बुझाए ।

उद्घाटन धूमधामसँग भयो । गाउँलेहरूले बाजागाजाको जोहो गरेका थिए । मज्जाले खानपिन, नाचगान गरे ।

त्यसपछि दाताको नजिकै देखिने डाँडा घुम्ने योजना थियो । एक गाइड र पाँच–छ जना गाउँलेहरू लिएर उनी त्यतातिर लागे । उनीहरू जंगलको किनारैकिनार हिँड्दै थिए । एउटा खोल्सोछेउमा टपरीमा केही मन्साइएको रहेछ । एउटा गाउँलेले मन्साइएको सामानतर्फ सबैको ध्यान आकृष्ट गर्दै भन्यो, “पाल्तो फालेका रहेछन् हगि ?”

“पाल्टो ?” अस्टेलियाली उत्सुक देखिए ।

टपरीमा एकताले रोटी, काला ध्वजा, काला अक्षता, कुखुराको टाउको, दुई–तीनटा पैसा र बाँसको छडी थिए । यो देखेर दाता छक्क परे, “यो के हो ?”

एउटा गाउँले अग्रसर भयो, “पाल्तो ।”

“पाल्टो भनेको के नि ?” दाता जिज्ञासु बने ।

“पाल्टो हैन पाल्तो, पाल्तो भनेको भूतप्रेत मन्साएको के ?” गाउँलेले झन् भ्रममा पार्ने काम ग¥यो ।

दाताको अनुहार गम्भीर भयो । उनको शब्दकोशमा यस्तो शब्द नभेटिएकाले उनी गाइडतर्फ फर्के, “तिमीलाई थाहा छ पाल्तो भनेको के हो ?”

गाइडले स्वीकृतिसूचक टाउको हल्लाउँदै भन्यो, “तिमीलाई घोस्ट थाहा छ, त्यही भनेको ?”

दाता घोस्टको नाम सुनेर पनि सोचमग्न देखिए । गाइडले अझ सम्झायो, “ग्रह–दशा बिग्रेका बखत प्रेतात्माले छोप्ने सम्भावना हुन्छ । आत्माले छोपेको मान्छेमा आश्चर्यलाग्दो हाउभाउ देखिन्छ, कहिले जीउ तात्ने त कहिले चिस्सिने, कहिले गाँसै नहाल्ने त कहिले दुई–तीन माना एक्लै हसुर्ने हुन्छ ।”

अरू सहयात्री पनि त्यो कुइरेलाई आफुले जानेबुझेको सम्झाउने–बुझाउने प्रयत्नमा जुटे । दाता झन् गम्भीर देखिए उनका ओठतालु सुक्दै आइरहेका थिए । रिंगटा लागजस्तो भयो । उनले आफुलाई चुस्त पार्न ‘हाउ…’ गरेर सबैलाई तर्साइदिए । गाउँलेहरू एकअर्कालाई हेरेर हाँसे र सोचे, भूत–पे्रतको मामिलामा कुइरे हामीभन्दा जानकार रहेछ । तर, गाउँलेले भनेजस्तै दाताको टाउको भारी हुँदै थियो; ओठमुख सुकिरहेका थिए; जे देख्यो खाइदिऊँ जस्तो भोकतिर्खा लाग्न थाल्यो । ब्लड पे्रसर घटेझैं मुटु हल्लिने र कसैले पछाडिबाट धकेलेजस्तो पनि हुनाले उनी बेलाबखत झसङ्ग–झसङ्ग हुन थाले । चाही–नचाही उनको सम्झनामा त्यही पाल्तो आइपुग्थ्यो । टपरी, एकताले रोटी, बाँसमा बाँधिएका काला ध्वजा, छरिएका चामल, सिस्नु र रगतका थोपा… । उनी गम्भीर हुँदै बर्बराउँथे, “पा… पाल्तो !”

कुइरेलाई यस्ता कुरा ठट्टाजस्तो लागेकाले जिस्किरहेको छ भन्दै गाउँलेहरू आ–आफ्नै अड्कल लगाएर हाँस्दै थिए । सबै हाँसेको देखी दाता पनि अमिलो मुख बनाउँदै हाँसिदिन्थे । तर उनमा आलस्य बढ्दै गएको थियो र उनी बेलाबखत गनगनाउँथे– “मलाई बिसन्चो हँुदै गइरहेको छ ।”

खानपिनमा निकै सावधानी अपनाउने र जहाँतहीँ खान हिचकिचाउने उनको बानी थियो । परन्तु आज जे देख्यो किनेर खाइहाल्थे । त्यो देखेर गाइडले सोध्यो, “किन सर, आज कुनै पनि खानेकुरा छोड्नुभएको छैन ?”

“तिमी प… पत्याऊ न, आज मलाई सन्चो छैन,” दाता बोल्दा पनि लरबराउन थाले ।

“घुमफिरको काम टुङ्ग्याऊँ ?” गाइडले नेपालीपन देखायो ।

“नो नो, बस्ने हैन ।”

दाताको रुटिन अनुसार त्यस दिन डाँडाको टुप्पामा पुगेर वरिपरिका दृश्य हेर्ने तथा त्यहीँका भोकानाङ्गा नानीहरू खोजेर फोटो खिच्ने योजना थियो । अनि पारि देखिने झरनामा पुगेर फोटो खिचाउने, नुहाउने र वरपर भेटिने गोठालाहरूलाई दुईचार पैसा दिएर माछा मार्न लगाई पोलेर खाने पनि त्यस दिनको कार्यक्रम तालिकामा थियो ।

झरनामा पुगेर नुहाएपछि उनी ज्वरोले काम्न थाले । उनले सानो झोलाबाट औषधि निकालेर खाए । र सबै जना माछा मार्ने काम छाडेर होटलमा पुगे । त्यहाँ पकाइराखेका माछासँग दाताले तीन थाल भात खाए । अनि त्यस दिनको कामलाई पूर्णता दिए ।

होटलबाट हिँड्दा छ बज्यो । जसरी अँधेरो बढ्दै गयो त्यसै गरी दाताको ज्वरो पनि उक्लिँदै गयो । उनको झोलाको गोलीले छुनै छोड्यो ।

“कहीँ पाल्तो फाल्नु पर्ने अवस्था त आइलागेन ?” गाउँलेमध्ये एउटाले ठट्ट्यौली गरेर दाताको मुटुमा गडेको शङ्का ब्यूँझायो ।

‘पाल्तो !’ दाता सोचाइमा डुबे । उनको मगजमा नाच्न आइपुगे तिनै दुना, टपरी, एकताले रोटी । केही बेर टोलाएर उनी बोले– “कहाँबाट ल्याउनु मैले पाल्तो ?” आखिर उनलाई पनि केही मन्साउनुपर्ने नै हो कि भन्ने भान परेछ ।

साँझ दाताको जीउ ज्वरोले रन्कियो । यो खबर फैलिनासाथ गाउँलेहरू जम्मा भए । तिनमा माइलो थापा पनि थियो । जीउमा देवता चढ्ने भएकाले गाउँलेहरू उसलाई माइलो धामी पनि भन्थे । सबैले उसलाई अघि बढाए । माइलोले आसन जमाएर दाताको जीउ नियाल्दै दुवै हातले नाडी पक्रियो । आँखा चिम्लेर ध्यानमग्न हुनेबित्तिकै काम्न थाल्यो । दातालाई आश्चर्य लागेछ, आँखा च्यातेर भने, “के भयो ? तिमी के गर्दैछौ ?”
“ओ… ओ… ओओ…,” माइलो चर्को स्वरमा कराउँदै जोड–जोडले काम्न थाल्यो । उसमा देवता चढेपछि सबैले सल्लाह गरेजस्तो उचित समयमा सामान आइपुग्यो । तुरुन्तै एक थाली चामल आयो । उसले चामललाई मुठ्याउँदै चारैतर्फ छर्न थाल्यो । घरीघरी मुठीभरि चामल लिएर “गुनमुन गुनमुन… भाग !” भन्दै दाताको जीउमा हिर्काउन थाल्यो । दाता उठ्न खोज्थे, तर सबैले झ्यापझुपै अँठ्याइहाल्थे । उनले बोलेको सुन्ने कोही भएन । यत्तिकैमा एउटा मकलमा रापिलो आगो, एक कचौरा तेल, पन्यूँ र एक झुप्पा कलिलो सिस्नु आइपुग्यो ।

कोठा खचाखच थियो । गर्मी, गन्ध र अस्वस्थताको त्रिवेणीमा परेर दाता छटपटाइरहेका थिए । धामीले आगोले रातो भएको पन्यूँले तेल घसेको आप्mनो हत्केलामा प्याट्टप्याट्ट हिर्काएर झ्याइँ–झ्याइँ पा¥यो र धूवाँको मुस्लो उडायो । अनि “हाँऽहाँऽहाँऽहाँऽहाँऽ” गरेर दातालाई जिस्क्यायो धामीले ।

अन्ततः धामीले थालीको पानीमा सिस्नु चोपेर आफ्नै जीउमा लता¥यो र दातातर्फ आँखा तर्दै सोध्यो– “बोल्, यो विदेशीसँग के चाहन्छस् तँ ?”

दाता छक्क परे, “म आफैँसँग के चाहन्छु ? वाउ, भेरी स्मार्ट डाइलग ।” यस पटक दातालाई चित्त बुझेछ, धामीतर्फ हेरेर आँखा सन्क्याउँदै भने, “यू आर, रियल्ली अ गुड एक्टर ।”
धामीले कान थाप्यो । दाताको कुरा बुझ्न सकेको थिएन या ऊ आफ्नो बढाइचढाइ भएकोमा गर्व गर्न चाहन्थ्यो, कुरो नबुझ्ने थुप्रै थिए ।

“या… या… या… या…,” यहाँनेर धामीको भाषा पनि फेरियो, बुझेर हो वा नबुझेर । देवता भएको नाताले कुइरेकै भाषा बोल्न चाहन्थ्यो कि ? उसले काम्दै उठेर दातालाई एक चक्कर लगायो अनि लामो सुस्केरा हाल्दै भन्यो,
“म योजति सक्दिनँ ।” गाउँलेहरू छक्क परे । आजसम्म यो गाउँठाउँको भूतपे्रतलाई यही धामीले तह लगाएको थियो । के यो कुइरेमा जाइ लागेपछि भूतको पनि शक्ति बढेछ ? अन्ततः बिरामीको साइज र उसको दौलत देखेर धामीले ठूलै बोकाको आवश्यकता देखायो ।

“हुन्छ महाराज, हामी कालो बोको आजै दिन तयार छौं । यो विदेशीलाई तुरुन्तै छोड्दे भन,” एकैसाथ दुईतीनटा स्वर आए ।

धामीले चावल मुठ्याएर “गुनमुन गुनमुन….फु… ल यसलाई सालको पातमा बेरेर गोजीमा राखिराख्नु ।’ भनेर दाताको हातमा राखेपछि काम्न छोड्यो ।

दाताले चावल गाइडलाई दिएर चारैतर्फ आँखा चाल्दै भने, “सकियो तपाईंहरूको नाटक ?”

“हो पाल्तो फाल्नुपर्छ र बोका ल्याएर काट्नुपर्छ तब ठीक हुन्छ,” ठालुले भने ।

“ठीक छ, त्यो सब गर्दै राख्नुहोला । सबै मिलेर मलाई तल बजारसम्म पु¥याइदिनुहोस् । भोलि बिहानैको बस पक्रेर काठमाडौं जान्छु ।”

दाताले भनेझैं आठ–दस जना गाउँले मिलेर तल बजारमा आए । रात त्यहीँ बिताएपछि बिहान पहिलो बसमा चढाएर दातालाई बिदा गरे ।

काठमाडौंमा डाक्टरले चेक गरेर भने, “बढी मात्रामा अफिम र गाँजा खाएकाले यस्तो अवस्था भएको हो ।”

अस्ट्रेलियाली छक्क परे, “गाउँलेहरूलाई सोझा ठान्नु मेरो मूर्खता रहेछ । अहँ, अब म त्यो गाउँमा जाँदिनँ ।” उनले आफ्नो देश अस्ट्रेलियाको टिकट काटे । र, नेपाली विकासलाई सम्झे ।

उता गाउँका ठालुहरूले आ–आफ्नो छानामा सोलार र कोठामा कम्प्युटर जोडे । जस्तापाताहरू निकालेर आफ्ना घरका छाना टाले । सोझाहरूका गोजीमा हजार÷पाँच सयका नोट छिरे । जाँड र रक्सी खानेहरूलाई दसैं आयो । भूतको नाममा उनैको पैसाले गाउँलेहरूले कालो बोको काटेर भोजभतेर गरे । रक्सीका बोतल हातमा लिएर जुलुस निकाले, “पाल्तु भूतप्रेत जिन्दावाद, सिस्नु, भाङ, धतुरो उमार्नैपर्छ । कुइरे दाता जिन्दावाद !” भोलिपल्ट त्यो स्कुल फेरि खण्डहरमा परिणत भयो ।

(Sent to Sanjaal Corps via Email)