Shiva Prakash – Sapath

एककान दुईकान मैदान गाइँगुइँ चल्न थाल्यो मन्त्रीज्यूका बारेमा। गाउँको स्कूलको एउटा साधरण मास्टर, राजनीतिमा लागेर मन्त्री हुने वित्तिकै कायापलट भयो उनको।

अहिले के छैन उनीसँग श्रीमतिका नाउँमा आलिसानको बङ्गला। सालासालीसम्मका नाउँमा जताततै घरघडेरी जग्गा। घरमा महँगो गाडी पार्क गरेर राखेको छ। परिवारलाई सरकारी सुविधाका गाडीहरू उपलव्ध छन्। छोराको चुरीफुरी र मैमत्तता निकै बढेको छ। वैंक व्यालेन्स टन्न छ। हिजोको ख्याउटे मास्टरको जीउडाल मन्त्रीभएपछि भ्यागुते भएको छ। यो देखेर टोल छरछिमेक र गाउँबाट मन्त्री भेट्न आउनेहरू सबै छक्क पर्छन्।

धेरैको मनमा लाग्छ सबै काम छोडेर राजनीतिमा लाग्नु पर्ने रहेछ। कमालको पेशा रातारात मालामाल अरु त अरु आफ्नै श्रीमती पनि छक्क परेकिछिन् आफ्नो लोग्ने मन्त्री भएदेखिको उत्पात देखेर। गाउँमा मास्टरनी नानी भनेर चिनिने सिदासादा स्वास्नीमान्छे बेलाबेला रेडियो, टिभी र अखबारमा आएका समाचारले झस्किन्छिन् पनि। कतै यस्तै हुने त होइन  त्यसलाई उनी दूर्दशा ठान्छिन।

टोलछिमेकमा चर्चापरिचर्चा बढी नै हुन थाल्यो मन्त्रीज्यूको बद्लदो र उर्लदो जीवनशैलीप्रति।

मन्त्राणीका कानमा पनि गाँइगुँइ पर्न थाल्यो आफ्नो लोग्नेका बारेमा चलेको चर्चा परिचर्चा। हुन त उनले पहिलेदेखि नै लाग्नेलाई लागार्थिन् र बेलाबेलामा सोध्ने गर्थिन ‘हैन कहाँबाट आउँछ रातारात मुठाका मुठा अति गर्नु तर अतिसारो गर्नु त राम्रो हुदैन नि ! भोली फन्दामा परिएला, भन्नेबेलामा देशर जनताको निस्वार्थ सेवा गर्छु भन्ने गर्ने बेलामा रातारात यस्तो लुटपात गर्ने ?’

मन्त्रीज्यू उल्टो लघार्थे – “नकरा तँ। म के गर्दैछु मलाइ थाह छ। ममात्र मंगलग्रहबाट आएको हँ र ? तँ गोज्याङ्ग्री यस्ता कुराहरू बुझ्दिनस् चुपलाग।”

भोलिपल्ट अचानक मन्त्रीमण्डल विघटन भयो। विघटित मन्त्रीमण्डलका सदस्यहरूको सम्पत्ति छानविन अख्तियारले गर्ने समाचारसँग भ्रष्टाचारमा यिनै मन्त्रीको नाउँ सबैभन्दा पहिलो नम्बरमा आयो।

मन्त्राणी अत्तालिदै मन्त्रीलाई सुनाउन आइन – “मैले त भनेको हो नि उ अब अख्तियारले समाउने भयो। अब कसरी मुख देखाउनु यो समाजमा। जति सोधे नि कहिल्यै भन्नु भएन। मसँगै लुकाउनु भो। जति कराए नि कहिल्यै मान्नु भएन। अब के गर्ने हे भगवान्”
श्रीमतीको अत्याहटबाट अलिकति पनि विचलित नभइ मन्त्रीले गम्भीर र शान्त मुद्रामा जवाफ दिए -“नकारा केही हुदैन। यस्ता समाचार त मन्त्रीमण्डल परिवर्तन हुँदैपिच्छे सधैं आउछन् अलिपछि आफैं हराउँछन्। बाँकी रह्यो मैले तँलाईसमेत नभन्नुको कारण चाँही मन्त्री हुँदा पद तथा गोपनियताको सपथ खाएको हुनाले मैले आफनै श्रीमतीसँग समेत पद अनुरुपको गोपनीयता भंग नगरेर इमान्दारीता निभाएको हुँ।”

Ratna Prajapati – Mangsir Faguko Rangle Tarangiyeko Man

रत्न प्रजापति – मंसिर फागुको रङले तरङ्गिएको मन
(मधुपर्क २०६६)

उसले औँला भाँचेर गन्ती गरी- ठ्याक्कै दुई वर्ष भएछ उसको लोग्ने विदेश गएको ।

देशमा द्वन्द्व चर्किएपछि गाउँमा टिक्न नसकेर उनीहरू सहर पसे । सहर पसेर मात्रै उनीहरूको हैरानी सकिएन । बाँच्नै पर्यो र बाँच्नका लागि खानै पर्यो । अनि खानका लागि कमाइ हुनै पर्यो तर उनीहरूको भरपर्दो कमाइको स्रोत केही पनि थिएन सहरमा । लोग्नेस्वास्नी एउटा कोठा भाडामा लिएर बसेका थिए । त्यही कोठाको भाडा पनि समयमा तिर्न नसकिने स्थिति उत्पन्न हुँदै गइरहेको थियो उनीहरूको । लोग्ने दिनभरि काम खोजेर साँझ लखतरान भएर कोठामा र्फकन्थ्यो र दुखी समाचार सुनाउँथ्यो- आज पनि कतै कामको कुरो मिलेन । सुनेर ऊ पनि दुखी हुन्थी तर केही गर्न सक्दिनथी । अनि ऊ चुप लागेर लोग्नेको मुख हेरेर टोलाएर बस्थी ।

उनीहरूको भर्खरै बिहे भएको थियो । त्यसैले बाँच्नेक्रममा आफ्नो गरिखाने घरखेत र गाउँ छोडेर सहर पस्दाको दुःख त थियो नै तर लोग्नेस्वास्नीको आत्मीय प्रेमको सुख पनि साथै थियो । विरानो सहरमा बेरोजगार भई बस्नु पर्दाको दुःख जतिसुकै भए पनि लोग्नेस्वास्नी सँगै भइसकेपछि उनीहरूले सारा दुःखलाई बिर्सेर प्रेम गर्न भने कहिल्यै भुलेनन् । लोग्नेको मीठो स्पर्श मात्रैले ऊ सारा दुःख बिर्सन्थी भने उसको उस्तै मीठो समर्पणले उसको लोग्नेले पनि आफ्ना सारा तनावहरू बिर्सन्थ्यो ।

दिनहरू यसैगरी बित्दै गए । एक दिन उसको लोग्नेले एउटा प्राइभेट कम्पनीमा जागिर पायो । जागिर पाएको खुसीमा उसको लोग्नेले त्यस दिन एक जना साथीसित सापटी मागेरै भए पनि आधा किलो मासु लिएर आयो । त्यो दिन उनीहरूका लागि ठूलो खुसीको दिन भयो । सहर पसिसकेपछि त्यसै दिन मात्रै उनीहरूले सुखको अनुभूति गरे । सोचे – अब जिन्दगीको नाउ सहज ढङ्गले चल्नेछ ।

चल्दै गयो जिन्दगीको नाउ तर अब जिन्दगीको नाउ जसरी चल्छ भनेर उनीहरूले सोचेका थिए, त्यसरी भने चल्न सकेन । प्राइभेट कम्पनीको जागिरको सीमित कमाइले सहरको जिन्दगी त्यति सहज ढङ्गमा चल्नु सम्भव पनि थिएन । हरेक कुरामा महँगी यसरी चुलिएको थियो, त्यो चुलीलाई उसको कमाइले कहिल्यै भेट्न सकेन । त्यसैले उनीहरूको जिन्दगीलाई फेरि पनि अभावले लखेट्न छोडेन । अभावको अघिअघि भाग्दाभाग्दै सहरको जिन्दगीले केही महिना पार गर्यो । यसैबीच ऊ उनीहरूको गहिरो प्रेमको प्रतिफलस्वरूप आमा बन्ने भई तर जिन्दगीमा पहिलोपटक प्राप्त यस्तो खुसीको बेलामा पनि उनीहरू खुलेर खुसी हुन सकेनन् किनभने अभावको पीडाले उनीहरूलाई कताकता घोचिरहेको थियो ।

‘के छ र जिन्दगी, यसैगरी बिताइदिन्छु ।’ कुनै कविको कविताको अंश हो यो । उनीहरूले पनि यही कविताजस्तै उसैगरी जिन्दगी बिताउने अठोट नगरेका होइनन् तर अभावको पीडाले कहिलेकहिले कताकता दुख्न भने छोडेन उनीहरूको जिन्दगीमा । अनि यही दुखाइ कम गर्न एक दिन उसको लोग्नेले धेरै कमाइ हुने आशामा काम गर्न विदेश जाने निधो गर्यो ।

अरूले जस्तै उसको लोग्ने पनि साथीभाइ र आफन्तसँग ऋणपान गरेर अरू धेरै जनासित काम गर्न विदेश गयो । दुई जीउ भएकी उसलाई एक्लै छोडेर उसको लोग्ने विदेश गयो । लोग्ने विदेश गएको दुई महिनामै उसले छोरा जन्माई । तथापि छोरो जन्मिएको खुसीमा रम्न उसले आफ्नो तन र मन दुवै मिल्ने साथी पनि पाइन । लोग्ने सँगै हुँदो हो त उनीहरू कति खुसी हुँदा हुन् । लोग्ने साथमा नभएको हुँदा सँगैको कोठामा भाडामा बस्नेहरूले नै उसलाई मद्दत गरे र उनीहरूसितै उसले आफ्नो खुसी बाँडी । यो खुसी कागजमा लेखेर उसले लोग्नेसम्म पुर्याई । लोग्नेले पनि विदेशमै पटकपटक त्यो कागजलाई चुमेर आफ्नो खुसी प्रकट गर्यो ।

लोग्नेले विदेशबाट कमाइ गरेर पठाएपछि उसलाई बाँच्नका लागि नभई नहुने धनको अभाव भएन । तैपनि कुनै कुराको अभावको महसुस भने हुन छोडेन । सायद त्यो कसैको तनको अभाव थियो र मनको अभाव थियो । एउटा त्यस्तो तन जससित अँगालोमा बाँधिएर सुखदुःख बाँड्न सकियोस् र त्यस्तो मन जससित छातीभित्रबाट अटेसमटेस गर्दै उर्लिएर आउने भावनाहरू साट्न सकियोस् । हो, उसलाई त्यस्तै तन र मनको अभाव महसुस हुनथाल्यो ।

दुई वर्ष भएछ उसले लोग्नेलाई नछोएको र उसको लोग्नेले उसलाई नछोएको । एकले अर्कोलाई छुँदा पनि कस्तो मीठो तृप्ति मिल्थ्यो त्यसबेला । उसले त्यो तृप्ति नपाएको पनि दुई वर्ष भएछ । अहिले फेरि उसका हातका औँलाहरू सलबलाउन थालेका छन् लोग्नेलाई स्पर्श गर्नलाई । उसैगरी उसको शरीरका अङ्गअङ्गहरूमा लोग्नेले स्पर्श गर्दाका काउकुतीको अनुभव हुन थालिरहेछ उसलाई तर खोई उसले लोग्नेलाई एकपटक यसो छुन पाएको ? अनि खोइ उसको लोग्नेले उसका काउकुती लाग्ने अङ्गहरूमा सुस्तरीसुस्तरी स्पर्श गरेको ? एकले अर्कोलाई स्पर्श गर्ने कुरा सोचेर अझ भनुँ सम्झेर ऊ भित्रभित्रै रोमाञ्चित हुन थालेकी छ । ऊ सोच्न थालेकी छ- एकले अर्कोलाई एकपटक पनि नछोइकन कसरी बिते यी दुई वर्ष ?

ऊ सोच्न थालेकी छ- कस्तो अनुभव हुन्छ होला अब लोग्नेमान्छेलाई छुँदा ? अथवा लोग्नेमान्छेले आफूलाई छुँदा ? यस्तो सोचेर मात्रै पनि ऊ रोमाञ्चित भई । लाजले उसको शरीर खुम्चेजस्तो भयो । शरीरको कोमल अङ्गमा कसैले स्पर्श गरेजस्तो लाग्यो । कताकता काउकुती लागेजस्तो भयो । अनि ऊ खितखिताएर हाँसी ।

‘किन हाँस्नु भो भाउजू ?’ सँगैको कोठामा बस्ने तन्नेरी लोग्नेमान्छेले ऊ हाँसेको सुनेर सोध्यो ।

ऊ झसङ्ग भई । हाँस्नका लागि कोठामा ऊबाहेक अरू कोही थिएन । उसको छोरो आनन्दले सुतिरहेको थियो । अब किन हाँसेको भन्ने ? ऊ अलमल्ल परी । अनि एकछिन् सोचेर भनी, ”यत्तिकै ।”

‘ए.. ।’ उता कोठाबाट लोग्नेमान्छेले यस्तो भनेको सुनियो । ऊ भने भर्खरै आफू एक्लै हाँसेको र लोग्नेमान्छेले सुनेको कुराले झनै रोमाञ्चित भइरही ।

अब उसको मन त्यही लोग्नेमान्छेतिर एकोहोरिन थाल्यो । त्यो लोग्नेमान्छेलाई लिएर ऊ केके कुरा सोच्न थाली । मैले उसलाई छोएँ भने कस्तो अनुभव हुन्छ होला ? उसले यस्तो सोची । मैले छुँदा उसको प्रतिक्रिया कस्तो हुन्छ होला ? उसले यस्तो पनि सोची । ऊ अब यस्तैयस्तै मात्र सोच्नथाली । ऊ लोग्नेमान्छेलाई छुन आतुर हुनथाली ।

ऊ बाहिर घाममा निस्की । त्यो लोग्नेमान्छे पनि बाहिर घाम तापिरहेको थियो । त्यसलाई देखेर ऊ एकपटक झस्की । दुवैका आँखा जुधे । अनि अघिको कुरा सम्झेर ऊ फेरि एकपटक फिस्स हाँसी । त्यो लोग्नेमान्छे पनि हाँस्यो । उसलाई कताकता लाज लागेजस्तो भयो । कताकता काउकुती लागेजस्तो पनि भयो । अनि त्यो लोग्नेमान्छे निहुरिरहेको मौका पारेर उसले त्यसलाई नियालेर हेरी । त्यो लोग्नेमान्छे साँच्चै नै सुन्दर थियो । त्यसका बलिष्ठ बाहु, चौंडा छाती र कस्सिएका तिघ्राले उसलाई निकै आकषिर्त गर्यो । उसले ख्यालै गरेकी रहिनछ त्यो लोग्नेमान्छे त्यति लोभलाग्दो रहेछ ।

उसको भित्री मनमा कताकता एकपटक त्यही लोग्नेमान्छेलाई छोइ हेर्न रहर लाग्यो तर के भनेर छुने ? ऊ अलमलमा परी । फेरि छोएर मात्रै के नै पो हुन्छ र ! अलिकति यसो छातीमा मुख लुकाउन पाए पो ! ऊ सोचमग्न हुनथाली । अनि उसले यस्तो पनि सोची- उसको मनमा यस्ता भावनाहरू किन आइरहेछन् ? किन लोग्नेमान्छेलाई छुने रहर लागिरहेछ उसलाई ? किन लोग्नेमान्छेको स्पर्श पाउने रहर लागिरहेछ उसलाई ? यो कस्तो तृष्णा जागिरहेछ उसलाई ? आफ्नो लोग्ने आफूसित नहुँदा सबै स्वास्नीमान्छेलाई यस्तै हुन्छ ? ऊ मनमनै आफैँलाई प्रश्न गरिरहेकी छे ।

उसले विदेशमा रहेको आफ्नो लोग्नेलाई सम्झी तर उसको आँखामा लोग्नेको तस्बिर आएन । बरु त्यही लोग्नेमान्छेको तस्बिर आयो उसका आँखामा । ऊ झसङ्ग भई । यो के भयो मलाई ? उसले आफैँलाई प्रश्न गरी । अनि फेरि उसले आँखा चिम्म गरी र आफ्नो लोग्नेलाई सम्झी । फेरि पनि उसको आँखामा त्यही लोग्नेमान्छे नै देखापर्यो । त्यसपछि भने उसको मुटुको धड्कन तेज हुनथाल्यो । कुन्नि यो के हुनथाल्यो उसलाई ।

अब भने उसलाई एकपटक त्यो लोग्नेमान्छेलाई नियालेर हेर्न मन लाग्यो । उसले त्यो लोग्नेमान्छेको कोठाको ढोकाबाट भित्र चियाएर हेरी । त्यो लोग्नेमान्छे किताब पढिरहेको रहेछ । त्यसले उसलाई देख्यो र भन्यो- ”किन त्यहाँ उभिइराख्नुभएको, भित्रै आउनुस् न ।”

आफूले लुकीलुकी हेरेको त्यो लोग्नेमान्छेले थाहा पाएको हुँदा उसलाई निकै अप्ठ्यारो लाग्यो । मुटुको धड्कन झन् तेज भयो । उसलाई के गरुँ के गरुँ भयो । लोग्नेमान्छे मात्रै बसेको कोठामा ऊ भित्र पस्नु हुन्छ कि हुँदैन भन्ने कुरा उसले सोच्नै भ्याइन । त्यो लोग्नेमान्छेको बोलीले तानिएझैँ ऊ खुरुखुरु कोठाभित्र पसी तर ऊ त्यहाँ उभिइरहन सकिन । उसको मुटुको धड्कन एक्कासि बढेर आयो र उसलाई उकुसमुकुस हुनथाल्यो । अनि त्यो लोग्नेमान्छेले केही भन्नुभन्दा अघि नै ऊ त्यहाँबाट दौडिँदै आफ्नै कोठामा पुगी र ढ्याम्म ढोका लगाई । छोरालाई सुताइराखेको खाटमा ऊ पनि डङ्रङ्ग पल्टी र छातीमा हात राखेर छिटोछिटो सास फेर्न थाली ।

‘हे भगवान्, मलाई यो के हुन लागिरहेछ ?’ यसो भनेर उसले एक छिन आँखा चिम्म गरी र फेरि खोली । यसपटक उसको आँखा भित्तामा झुण्डिरहेको लोग्नेको तस्बिरमा पर्यो । अनि ऊ एकछिनसम्म त्यही तस्बिर हेरेर टोलाइरही । उसलाई आफ्नो लोग्नेको अनुहार अरू बेलाभन्दा बढी मायालाग्दो लाग्यो ।

एकातिर लोग्नेमान्छेको स्पर्श पाउने रहर र अर्कोतिर आफ्नै आँखामा आफ्नो लोग्ने परपर र त्यो लोग्नेमान्छे आफ्नो वरवर आइरहनुको डरले गर्दा ऊ सोचमग्न हुनथाली । अनि एकातिर छातीभित्र भावनाको भुसे आगो विस्तारै बल्दै गइरहेछ भने अकोतिर चिन्ताले मुटु जल्दै गइरहेछ । यसैले गर्दा उसलाई बिसन्चो महसुस हुनथाल्यो । ऊ विस्तारै आफैँभित्र हराउन थाली । हिजोअस्तिसम्म वास्तै नगरेको त्यो लोग्नेमान्छेको बारेमा पनि अब उसले बेलाबेलामा सोच्नथाली ।

उसको केही बद्लिएको र अनौठो व्यवहार देखेर त्यो लोग्नेमान्छेले पनि उसलाई अनौठोसित हेर्नथाल्यो । त्यसको मनमा पनि उसका बारेमा विभिन्न भावनाहरू आउन थाले । उसको व्यवहारप्रति त्यो लोग्नेमान्छेलाई चासो लाग्नथाल्यो । ऊ भित्रबाहिर गर्दा त्यो लोग्नेमान्छेले उत्सुकतापूर्वक उसलाई नियाल्न थाल्यो । स्वास्नीमान्छेलाई देखेर अथवा नजिक पाएर हरेक लोग्नेमान्छेको मनमा उठ्ने तरङ्ग र भावनाहरू त्यो लोग्नेमान्छेको मनमा पनि आउन थाले । अनि त्यसले अनेक उपायले उससित नजिक हुने प्रयत्न गर्न थाल्यो ।

उसलाई पनि त्यो लोग्नेमान्छे आफूसित नजिक हुन खोजिरहेको आभास हुनथाल्यो । कताकता ऊ स्वयं पनि त्यो लोग्नेमान्छेको नजिक हुँदै गएकी हो कि जस्तो लाग्नथाल्यो । यसरी दुवै जनामा जानीनजानी नजिक हुने क्रम चली नै रहृयो । एकआपसमा विस्तारैविस्तारै नजिक हुँदाहुँदै फागु पूणिर्माको दिन फागु खेल्ने निहुँमा उनीहरूको जम्काभेट भयो र जेजे हुनुपर्ने हो त्यही दिन भयो ।

फागु पूणिर्माको दिन । बिहानैदेखि केटाकेटीहरू लुकेर लोला र पिच्कारीले हान्ने, रङ दल्ने र पानी छ्याप्ने गरिरहेका थिए । घरको छतमा बसेर सँगैको घरका छतहरूमा लोला हान्ने क्रम निरन्तर चलिरहेको थियो । विशेषगरी केटाकेटी र युवायुवतीहरू फागुको रङमा रमाइरहेका थिए । मध्यान्ह भएपछि घरका गृहिणीहरू पनि घरधन्दा सकेर केटाकेटी र युवायुवतीसँगै फागु उत्सवमा सामेल हुनथाले । एकले अर्कालाई रङ दलिदिने र पानी छ्याप्ने तथा बाल्टिनबाट जीउभरि पानी खन्याइदिने काममा सबै उमेरका मानिसहरू सहभागी हुनथाले । कहिले लुक्दै, कहिले छल्दै र कहिले भाग्दै रङ र पानी छ्याप्दै रमाइलो गर्ने क्रम चलिरहृयो ।

त्यो लोग्नेमान्छे पनि विभिन्न रङहरूले रङ्गिइसकेको थियो । त्यसको हातमा पनि रङको पोको थियो र कसलाई दलिदिउँ भनेर मौका हेरिबसेको थियो । यता ऊ पनि झ्यालको पर्दापछाडिबाट बाहिरको रमिता हेरिरहेकी थिई । अरू रमाएको देखेर उसलाई पनि त्यो रङ र पानीको रमाइलो खेलमा सामेल हुन रहर लागिसकेको थियो । तैपनि रङ खेल्नुभन्दा त्यो रमाइलो हेर्ने मनसाय लिएर ऊ कोठाबाट बाहिर निस्की । ऊ बाहिर निस्कनेबित्तिकै अघिदेखि मौका पर्खिबसेको त्यो लोग्नेमान्छेले उसलाई रङ दलिदिने प्रयास गर्यो । ऊ भागेजस्तो गरेर आफ्नै कोठाभित्र पसी । त्यो लोग्नेमान्छेले भने उसको पिछा छोडेन र कोठाभित्रैसम्म आएर उसलाई गालाभरि रङ दलिदियो । उसले पनि दुई हातले छेकेजस्तो गरिरही तर त्यसले भने रङ नदली छोडेन । उसको हात समातेरै भए पनि दुवै गाला राताम्मे हुनेगरी त्यसले रङ दलिदियो ।

त्यो लोग्नेमान्छेले त्यसरी जबरजस्ती रङ दलिदिँदा उसलाई रिस उठ्नुपर्ने हो तर उठेन । त्यो लोग्नेमान्छेले उसको गालामा हात रगडीरगडी रङ दलिदिँदा र उसको हात पन्छाउने क्रममा उसको हात बेसरी अँठ्याउँदा उसलाई धेरै दिनपछि एक किसिमको आनन्द र तृप्ति मिलेजस्तो भयो । त्यो लोग्नेमान्छेको हातको स्पर्शले उसलाई असीम सुखद अनुभूति भयो । उसलाई धेरै दिनदेखि नपाएको कुरा बल्ल पाएजस्तो भयो । उसलाई एकदमै सन्चो अनुभव भयो । जुन कुराको उसलाई धेरै दिनदेखि प्रतीक्षा थियो, त्यो आज पूरा भएजस्तो लाग्यो । धेरै दिनदेखि लोग्नेमान्छेलाई छोएर सुखद अनुभूति प्राप्त गर्ने उसको मनको रहर पनि आजै पूरा भयो । त्यसैले ऊ भित्रभित्रै खुसी भई ।

Kusum Gyawali – Sandesh (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – सन्देश (लघु कथा)

फूलपातीको दिन म घर पुगेँ । पुग्नासाथ मेरा बालसखा शर्माको घर पुगेँ । विधवा श्रीमती र ५-६ वर्षो छोरो नफर्किने पति/पिताको आगमन पर्खेझैँ बसेको थिए ।
‘आमा ! बुबा किन दसैंमा पनि घर नआ’को ?’ छोराले सोध्यो ।
गहभरि आँसु पारेर आमाले भनिन् ‘सानु तिम्रो बाबु शहीद हुन भो ।’
‘शहिद भनेको के आमा ?’ उनले धोतीको सप्कोले मुख छोपिन् ।
सानुले मसँग साध्यो ‘अंकल, शहदि भनेको के हो ?’
‘शहिद भनेको संसारको सबैभन्दा ठूलो मान्छे हो बाबु ।’
‘मेरो बुबा ठूलो मान्छे हो अंकल ?’
‘हो बाबु, सबैभन्दा ठूलो मान्छे ।’ मेरो गला पनि अबरुद्ध भयो ।
‘ठूलो मान्छे आफ्नो छोरालाई माया गर्दैनन् अंकल ?’
गर्छन् बाबु, आफ्नो छोरालाई मात्र होइन सबैलाई असाध्ये माया गर्छन । ‘
‘मन्त्री अंकलभन्दा पनि ठूलो हो ?’
‘हो ।’
‘त्यसो भए मेरो बाबुलाई दसैंमा आउँदा मलाई लुगा ल्याइदिन भन्दिनुस् है ! मन्त्री अंकलको छोरालाई मन्त्री अंकलले के के ल्याइदिनुहुन्छ । उसले मलाई हेर्न पनि दिँदैन । कस्तो छुच्चो मान्छे ! मेरो बाबु दसैंमा आएको भए त म पनि उनीहरुले झैं पेटभरि मासुभात खान पाउथेँ नि होइन त अंकल ?’

Sushma Manandhar – Joon Timi Ra Ma … Mero Anubhuti Bhitra

सुषमा मानन्धर – जून तिमी र म…मेरो अनुभूतिभित्र

जीवन न कथा हो न कुनै कविता यो मात्र एउटा भोगाइ हो, आ-आफ्नो । देखे सुनेका त्यही भोगाइलाई मानिसहरुले गीत बनाई गाएका छन् कथा बनाई अरुलाई सुनाएका छन् । कथा भनेर मैले लेख्ने कुनै टुक्रा मेरो लागि कल्पना हुन सक्छ कसै न कसैका विगत वा वर्तमानको कुनै अंश । कसैका भोगाइ पढ्नु एउटा कुरा हो, त्यसलाई महसुस गर्न सक्नु अर्को कुरा । अरुलाई महसुस गर्न भावुक मन पनि चाहिन्छ । अनुभूति विनाको हतारको कुनै पढाई अक्षरहरुका पहाड लाग्छन्यसको चढाई अझ उत्तिकै पट्टयांइ लाग्दो र समय लाग्ने हुन्छ । अक्षरहरुमा डुबेर जब तिमीले आत्मसात गर्न सक्छौ अरुका भावनाहरुलाई ती शब्द तिम्रो अस्तित्व बन्छ र तिमी आफै पनि त्यसको कुनै एक पात्र ।

रात जब आँखामा निद्राले डेरा सारेको हुंदैनआंखाहरुले हेरेर नभ्याइने आकाशको विशाल टापुमा एउटा छुट्टै आकर्षण मैले पनि पालेकी छु । पर… कुनै क्षितिजीय दूरीबाट उठेको तिम्रो दृष्टि पनि ताराहरुको भीड छिचोल्दै जूनलाई नै खोजिरहेको हुन्छ तिमीले कुनै दिन यही भनेका थियौ मलाई । आकाशमाथि हामीले हेर्ने तिम्रो र मेरो जून उही हो एउटै । सांच्ची हामीले यसरी हेर्दै जूनलाई खोजेका हुन्छौं या एक अर्कालाई जुन दिनदेखि थाहा पाएकी छु तिमी जूनका कुराहरु बढी गर्छौ भन्ने जूनलाई हेर्ने आकांक्षा र जूनलाई पाउने अदम्य लालसा मभित्र पनि अझ बढी गाढा हुन थालेको छ ।

हरेक रातको विशाल कालो पर्दाभरि सितारा टाँसे जस्तै चम्किएका लाखौं ताराहरुबीच म प्राय चिरपरिचित र विज्ञानमा पढिएका ताराहरुले बनाउने अनेकौं आकृतिहरु खोजिरहन्छु । ती अनुहार र आकृतिहरु माथि आकाशमा आज त्यहाँ हुन्छन् भोलि हुन्नन पछि फेरि केही अन्तरालमा अन्तै देखिन्छन् । समय आफ्नै गतिमा घुमिरहेको के यो एउटा प्रमाण हैन र यी ताराहरुसंग उदाउंदै हरेक पन्ध्र दिनसम्म फेरिदै जाने आकाशमाथिको त्यो मनमोहक जूनपूर्णिमाको रात जब आफ्नो पूर्ण यौवनमा हुन्छ नियालेर कहिल्यै अघाउँदिन म । दुधिलो शान्त स्निग्ध र शीतल रश्मी यति कोमल कि मानौं सेता गुलाफका कोमल पत्रहरु सुस्तरी वर्षिएका हुन्छन् ।

के तिमीले सम्झेका छौ अस्ति पानी परेर निख्री सकेपछिको सगर नीलो आकाशमाथि कनिका झैं छरिएका पिलपिल बल्ने ताराहरु सम्मोहक जून त्यो संगै अलि मास्तिर एउटा चम्किलो तारा अनि जूनलाई आधै छेल्ने गरी एक थु्रपो सेता बादल … …। जूनका कुरा त्यो पनि गाढा रात तारा र सेता काला बादलका हल्का रेशमी थुम्काका प्रसंग बिनापूर्ण कहाँ हुन्छ र पक्कै तिमी मग्न भएर हेर्दै थियौ त्यो जूनलाई एकटक लाएर । म पनि त्यही बेला त्यो जूनलाई हेर्दै थिएँ । हामीले हेरेका थियौं एकै समयमा त्यो जूनलाई…! जूनले हामीलाई … जूनभित्रबाट हामीले एक अर्कालाई । सेता पातला बादलुको खास्टो ओढी ताराहरु टिम्टिमाएको म आज नियास्रो आकाश नियाल्दैछु र ती सम्भावित दिशाहरुमा पनि खोज्दैछु जूनलाई जुन ठाउँबाट तिमी यति बेला जून देखिन्छ भन्ने गथ्र्यौ । तर आज यथास्थानमा छैन जून । त्यसो त यो संधै एकै ठाउँबाट मात्र देखिने कहाँ हो र समय ऋतु फरक अक्षाँश र देशान्तरभित्र जूनले पृथ्वीलाई परिक्रमा गरिरहन्छ हामी घुमिरहन्छौं । यही परिक्रमाभित्र तिम्रो मेरो जूनले एउटा वृत बनाइरहन्छ झिनो रेखाबाट फेरिंदै एउटा सग्लो वृतमा । औंसीको कालीमाबाट बढ्दै एउटा मादक जुनेली रात आउँदासम्म मैले धेरै पर्खाई भोगिसकेकी हुन्छु ।

ऊ हेर…भर्खरै माछाको कत्ला जस्ता बादलसंग लुकामारी खेल्दै झुलुक्क देखापरेको जून फेरि विलायो बादलको ओतभित्र । किन छेकियो जून? अनायसै मन दुख्छ लाग्छ शायद तिमी रिसायौ । जून नहुँदा तिमी देखिन्नौ शायद छेलिन्छौ थुप्रै बादलका परतहरुले । म पर्खिरहन्छु पुनः जूनको आगमनको जब यसले मेरो जलनलाई शीतल गर्छ र मलाई सम्मोहित पनि । म चाहन्छु जून सिर्फ मेरै आँखा अगाडि रहोस मेरै आकाशमाथि तर हेर्दा हेर्दै जून मेरो आँखा अगाडिको आकाशबाट सर्दै ओझेल हुन्छ हर रात । म विवश रोक्न सक्दिन उसलाई । न त मेरो चाहनाले जून अडिन्छ । शायद त्यही भएर होला आफ्नो निरीहपना लुकाउनयो मदेखि लुकिरहन्छ बारम्बार । तिमी खिन्न हुन्छौ आफूलाई पनि परेको यही अनुभव मलाई सुनाउँदा हाम्रो साझा पीडा । जुन नहुंदाको हाम्रो दुखाइ।

साँझ आकाशको कुनै पनि छेऊबाट उदाएदेखि तिमी जूनलाई सम्पूर्ण सम्मोहनले तानिरहन्छौ किन स्पष्ट भन्न सक्दैनौ तिमी त्यो जूनलाई हैन मलाई भनेर । अंध्यारो गाढा हुन पाएको हुन्न अचेल आंखाहरु अनायसै आकाशमा उठछन् र जूनलाई खोज्न थाल्छन् । कैलेकांही घण्टौंको प्रतिक्षापछि पनि जब जून देखिंदैनधमिलो बाक्ला बादल मुनि लुकेर के यसले मेरो धैर्यताको परिक्षा लिंदै छ या तिमीले बादल नलागेको खुला रातमा टुट्दै गरेका ताराहरु…तिमीले पनि त्यहीबेला आंखाले देखुन्जेल हेरेका होलाऊ मनमनै केही मागेका होलाऊ । शब्दमा अव्यक्त तिम्रा इच्छाको कम्पन मैले तिम्रो ओठमा देखिरहेछु । त्यो तातो नरम र आमन्त्रण गर्ने ओठमा कुनै नाम थियो तर कसको?

झ्याल माथिको आकाशमा आइपुगेको छ अहिले जून ठीक त्यहींनिर जहाँ विछ्यौनामा पल्टेरै म त्यो जून र त्यसको सुन्दरता हेर्न सक्छु । सफा नीलो आकाशमा कपास झैं हल्का रेशमी बादलका धर्काहरुमा बग्दै उत्रंदै गरेको मोहक जून कति मादक छ ! सम्पूर्ण प्रेम वर्षाएर जून मलाई हाउभाउमा सम्मोहित गरिरहेछ । कल्पना गरिरहेछु, अनिंदा आँखाहरुले तिमीले पनि हेरिरहेछौ जूनलाई कि जून छिचोली मलाई?

जूनको शीतल किरण नरम न्यानो र मादकता के यो मात्र मेरो सोचाइ हो सिर्फ एउटा भावुक अनुभूति काला टाटा भैकन पनि किन जूनको त्यो सौन्दर्य औधि राम्रो लाग्छ मलाई किन थाक्दैनन् र अघाउंदैनन् यी आँखाहरु हेरेर उसलाई । शायद जूनमा मन र मायाको अभिव्यक्ति भएर होला । कोही भन्छन् जूनप्र्रतिको आसक्तिमा मानिस भावुक बन्छ रे मन त्यसै द्रवित र उदाश उदाश हुन्छ रे । के त्यसो भए तिमी पनि भावुक छौ त जून खोज्नेजून रोज्ने र जून नियाल्ने म जस्तै सम्वेदनशील मान्छेको मन जून जस्तै कोमल हुन्छ भन्छन् । त्यो हृदय जहाँ आँखा हैन अनुभूति हुन्छ त्यसले देख्दैन तर छुन्छ । मन मुटु र भावनाको प्रतिक जून तर जून आफैभित्र के छ त त्यहाँ केही र कोही छैन सिवाय ठूला साना खाल्डाहरु विज्ञान यही भन्दछ । तर म त्यहाँ धेरै देख्छु । त्यहाँ विश्वास र आस्था देख्छु पर्खाइ र प्रेम देख्छु व्याकुलता र पीडा देख्छु । यस्तो लाग्छ जून मलाई संधै अव्यक्त भाषामा केही भनिरहन्छ कि जून भएर तिमीले जब जब छट्पटिन्छु जूनलाई हेर्न पुग्छु…अनि जूनबाट तिमीलाई । तिमी पनि समर्पित जून हेरिरहेछौ र मलाई ।

तिमीलाई राम्रो संग थाहा छ तिम्रो र मेरो आकाशमा दोस्रो अर्को जून छैन र हुनै सक्दैन । एउटा कुरा स्पष्ट छ चाहे तिमीले जहाँ कहींबाट पनि हेर त्यो जूनलाई त्यो निश्चित समयमा… सधैं नै मैले पनि हेरिरहेकी हुन्छु मेरो जूनलाई । त्यो जून मात्र एउटा जून नभै एउटा माध्यम पनि बनेको छ तिमीलाई हेर्ने । तिमी छौ त्यो जूनको पाश्र्वमा जून हेर्दै जून भएर मलाई । तिमी संधै जून हेर्न चाहन्छौ म चाहन्छु अनि निसन्देह हामीले एक अर्कालाई ।

तिमी हर रात जून भएर आउँछौ । जूनको आगमनमा मलाई तिम्रो आउनुको अनुभूति हुन्छ । म जान्दछु यो रात पनि तिमी जुनको टहटहमा जून पढिरहेछौ । म आज अहिले पनि यहाँ निस्तब्ध रातमा कोठाभित्र झ्यालका पारदर्शी पर्दा हटाई ती बग्रेल्ती मसिना ताराहरु त्यो ठूलो चम्किलो तारा र बादलको थुप्रोनिर आधा छेलिएको जूनलाई तिमीले झैं नियालीरहेछु । जून भएर तिमीलाई नियालिरहे छु ।

आफ्ना भाग लगाइने समयहरुलाई उबारेर एकै छिन भए पनि कौसीको डीलमा बसी कोठाको भित्तामा अडेसिएर बरण्डामा वा झयालको पारदर्शी सीसाभित्रबाट सुकोमलसुकुमार त्यो जूनलाइ एकोहोरो नियाल्दै जूनको समय सम्वेदनशील भएर जिउन पनि कम्ती मीठो हुँदैन । मधुरो प्रकाशमा तिम्रो कोठाको झ्यालको पर्दा सुस्तरी हल्लिएको छ भर्खरै फेरि चियाएका छौ तिमीले जूनलाई र जूनवाट मलाई । अझैं पनि आफूलाई खोल्न नसकेका तिमीशायद तिम्रै मन अभिव्यक्तिको आकर्षणमा बांधिएर मेरो जून म पनि तिमीलाई हेरिरहेछु । यहां अहिले यो जमेको निस्तब्ध रातमा हामी वीच बनेको समिकरणभित्र सिर्फ जून छ अनि तिमी र म । मेरो जून… सिर्फ तिमी र म ।

Abhimanyu Nirabi – Dukheko Raat

अभिमन्यु निरवी – दुखेको रात
(Source: Himal Khabar)

पहाडको बाटो, हिँड्दाहिँड्दै झ्मक्क भयो। आकाशमा जून पनि खुलिसकेको थिएन। चिसो हावासँगै झयाउँकिरीको एकोहोरो आवाजले वातावरण गुञ्जायमान थियो। निकै उकालो चढिसकेपछि पर एउटा गाउँ देखियो। सन्तुष्टिको लामो सास फेरेर म त्यतैतिर हिँडें। गाउँ नजिकै पुग्दा विस्तारै मानिसहरूको आवाज गुञ्जियो। कतै कोही बोलिरहेको, कतै गीत गाएको अनि कतै मादलका तालहरूसँगै एककिसिमको खुशी छचल्किएको। किन यो खुशी? अनि फेरि सम्झ्ें, आज त दशैं हो, दशैंको फूलपाती। भोलि त म पनि घर पुग्छु। आमा, बा, भाइबहिनी … ‘हो, कति रमाइलो होला! खुशीले झ्ञ्कृत भएँ म।

गाउँको बीच-बीचजस्तोमा बाटैछेउको एउटा घरको आँगनमा उभिएँ। बत्तीको मधुरो उज्यालो ढोकाको चेपबाट चियाइरहेको थियो। गुनगुन बोलेको सुनिन्थ्यो। बास पाइएला भन्दै बोलाएँ, “आमा, आमा, भित्र कोही हुनुहुन्छ?” बोलाएको पाँच सेकेण्ड पनि बित्न नपाउँदै ढोका खुल्यो र एउटी महिला हतारिएर मेरो अगाडि आइन्, पछि पछि ५० वर्षजतिका पुरुष पनि थिए। जून लागिसकेकोले नजिकको मान्छे प्रस्ट चिनिन्थ्यो। ती महिला मेरो छेउमा उभिएर हेरेको हेर्‍यै भइन् र छिनमै भुइँमा लडिन्। ढोकामा उभिएका पुरुष आत्तिँदै उठाउन आइपुगे, मैले पनि उनलाई सहयोग गरें। सारै नरमाइलो लाग्यो।

ती पुरुष केही नबोली महिलालाई लिएर भित्र गए। म एकछिन् सोचमग्न भएर आँगनमै उभिरहेंर दोधारे मानसिकतालाई सम्हाल्दै अन्तै जान भनेर फर्किन के लागेको थिएँ उनी बोले, “बाबु? कहाँबाट आउनु भाहो? केको लागि हो?” मैले भनें “बा, बास पाइन्थ्यो कि भनेर?” उनले फेरि एकटकले मलाई हेरे र भित्र आउन सङ्केत गरे।

भित्र मझ्ेरीमा राखिएको खाटमा पल्टेकी महिला केही सञ्चो महसूस गर्दै थिइन्। पिर्कामा म बसेँ। छेउमै टुसुक्क बसेका बाले मतिर हेर्दै सोधे, “बाबुको घर कहाँ हो?” मैले भनें, “काठमाडौं।” आमा उठेर बस्न चाहन्थिन् तर बाले उठ्न दिएनन् र आराम गर्न भने। ती दुईलाई देखेर मभित्र धेरै कुराहरू खेले। आमाकिन लडिन् होली? तर सोध्नु कसरी? त्यसैले म चुपचाप उनीहरूलाई हेरेर बसेको थिएँ।

“अनि बाबु कति कामले यता आउनु भाहो त?”, बाले आमाको निधार छाम्दै मलाई सोधे। मैले व्याग अलिपर राख्दै भनें, “म एउटा प्रोजेक्टको कामले आको बा। हिजो मात्रै काम सकियो। अहिले घर जान ला।” बा केहीछिन् बोलेनन्। घरमा ती दुईभन्दाअरू देखिएनन्। झ्न्झ्न् मनमा कौतुहल छाइरह्यो, तर सोध्ने आँट आएन। बाले खाटबाट उठ्दै भने, “बाबुलाई भोक लाग्यो होला?” मैले हतारिएर भने, “हैन, हैन ठिकै छ …।” उनले भान्सातिर लाग्दै भने, “ल के भन्नु भा? हाम्ले नि खाछैनम्, अबसँगै खाउँला पख्नुस्।”

खाना खाइसकेर मझ्ेरीमा ‘छ्याइएको गुन्द्र्रीमा बसेँ। केहीबेरको कुराकानीपछि सोधें, “आमा तपाईंलाई अहिले ठीक भो?” ठीक भएको भावमा आमाले मुन्टो हल्लाइन्। “के भाथ्यो तपाईंलाई अघि?”, फेरि सोधें तर उनी मौन भइन्। “यसको व्यथा बल्झयो, बाबु”, मौनतालाई चिर्दै बाले जवाफ दिए। “कस्तो व्यथा?” मैले अझ् जान्न चाहें। “भनेर के फाइदा र बाबु?” उनले भने। मैले निकै कर गरेपछि बाले निराश पाराले भने, “यो बेलाबेलामा छोराको सम्झ्नाले बेहोस हुन्छे।” मैले प्रश्न गरें, “किन तपाईंको छोरो छैनन् अहिले?”

लामो सास फेरेर उनी बोले “छैन, जबदेखि त्यो हिँड्यो तबदेखि यसलाई कोही नौलो मान्छे आयो कि छोरो आयो भन्ने लाग्छ। झ्न् कसैले आमा भनेर बोलायो भने त …”, एकछिन् घोरिएर भन्दैगए, “यस्तै दिन थियो त्यो शायद, दशैंको दुई दिनअघिको जून लागेको …।” बा आफ्नो अतीत सम्झ्िन खोज्दैथिए। म छेवैमा निकै गम्भीर भएर सुन्दैथिएँ।

उनी भन्दै गए, “एउटा मात्र छोरोथ्यो रमेश। हाम्रा लागि सबै उही नै थियो। निकै सोझ्ो त्यो पढ्नमा पनि रामै्र थियो। सदरमुकाममा बीए अन्तिम वर्षमा पढ्थ्यो। दशैँको बिदामा घर आएको थियो। घरमा खुशी छाएको थियो। आमा चाहिँ त औधी खुशी थिई। गाउँलाई दशैँले छोपेको थियो। अहिले जस्तै मानिसहरू खुशी मनाउँदै थिए। रमेश साथीहरूलाई भेट्न भन्दै देवीटार गयो। रातको दशबजेसम्म पनि आएन। आमाचाहिँ निकै छट्पटाई। मैले नै उसलाई सम्झ्ाएँ कतै साथीहरूका तिरै बस्यो होला भनेर। मन बुझ्ाएरै हामीले त्यो रात काट्यौं।

भोलिपल्ट दिउँस्ाोसम्म नि नआएपछि म खोज्न निस्कें। देवीटारमा थाहा पाएँ, ऊ हिजै साँझ् हिँडिसकेको रहेछ। काँ गयो होला भनेर गम्दै निरास भएर फर्कें। बाटोभरि कताकता डर लागिरह्यो। बेलै त्यस्तो थियो― देशमा सशस्त्र द्वन्द्व चर्किएको, कसैको भर कसैलाई नभएको,सधैं डराएर बस्नुपर्ने। द्वन्द्वमा सामेल समूहहरू गाउँघरमा छ्याप्छ्याप्ती भेटिन्थे। चाहेर पनि दुई शब्द बोल्न पाइन्नथ्यो। कसलाई भन्ने? के गर्ने? घरमा आएँ। आमाचाहिँ बाटो हेरेर बसेकी थिई। म एक्लै आएको देख्दा उसको पर्खाइका आँखा मैतर्फ एकटक तेर्सिए। म कुनै हारेको सिपाही जस्तो भुइँतिर हेरेर बसिरहें। उसले कुरा बुझ्ी कि कसो, आँखाबाट आँसुको मूल फुटाउँदै रोई। मैले कति सम्झ्ाएँ, मनाउन सकिनँ। सबैको घरमा दशैंको खुशियाली थियो, तर हामीकहाँ आँगनबाटै फर्कियो, दशैं।

छिनको छिनै छोरो हराएको खबर गाउँघरमा फैलियो। सबै अचम्ममा परे। घरमा आमाचाहिँ रोएको रोयै गर्थी। छिनछिनमा बेहोस हुन्थी। कति खोजियो, कति ठाउँ धाइयो? तर पनि छोरोको पत्ता लागेन। देख्नेहरूले पछि भने एउटा समूहले उसलाई लिएर जाँदैथिए रे! कस्तो, कुन समूह भनेर पत्ता लगाउन खोजें, तरसकिनँ। दशैँ सकियो, तिहार सकियो। बारी र आँगन डिलका सयपत्री ‘इलाए, तर छोरो भेटिएन। कसले, किन रमेशलाई बेपत्ता पार्‍यो? रहस्य नै बन्यो।

आमाचाहिँ छोराको सम्झ्नाले निकै गली। दुई वर्षसम्म लगातार बिरामी परी। घरव्यवहार सम्हाल्न मलाई धौ-धौ भयो। हेर्दाहेर्दै छोरोका लागि भनेर हेरिवरी ठिक्क पारिएकी केटीको अन्तै बिहे भो। उसकै लागि बनाइएको तिलहरी, झ्ुम्का सबै आमाचाहिंको उपचारमा मासिए। यस्तो लाग्थ्यो, कुनै दिन त छोरो आउला र भन्ला― बा, किन यस्तो झ्ुत्रे भएर बस्नुभा? तर ऊ कहिल्यै आएन। मैले त आशै मारिसकें, तर यो चाहिँ अझ्ै पनि आश गर्छे। आमा न हो। झ्न् यी दशैँका रातहरू त हामीलाई सताउन मात्र आका हुन् जस्तो लाग्छ। मर्नै पाए हुन्थ्यो बरु। हुनत अहिले बाँचेको पनि के बाँचेको भन्नु, छोरोको सम्झ्नाले दिनहुँ मरेजस्तै भइएको छ।”

बाले एकै सासमा बेलिविस्तार लगाएर लामो सुस्केरा हाले। मेरो मन त्यसै त्यसै ढक्क फुलेर आयो। आँखाहरू रसाए। छेउमै बसेकी आमा फेरि रुन थालिन्। वातावरण स्तब्ध थियो,हावा पनि रोकिए जस्तो। हिँडाइले गलेर लखतरान भएपनि किन किन मलाई निद्रा लागेन। उनीहरूको असह्य पीडाको अगाडि म घुँडा टेकेर रुन चाहें। कहालिएर भन्न चाहें― तपाईंको छोरा म नै हुँ, चिन्नु भएन? तर के गर्ने वास्तविकता त्यो थिएन। चाहेर पनि केही बोल्न सकिनँ। साँच्चै आजभन्दा पाँच वर्ष अगाडि जस्तै त्यो घरमा यो साल पनि दशैँ आएन। न मुहारमा खुशी, न घरमा चमक, न रमाइलो; कस्तो उदास्ालाग्दो घर। जति बुझदै गएँ, म उति पीडामा फँस्दै गएँ।

गाउँमा गुञ्जिएका गीत र मादलुका तालहरू बन्द भइसकेका थिए। अब एकोहोरो कुकुर भुकेको र कीराहरू कराएको आवाज आइरहेको थियो। म सोच्दैथिएँ कस्तो घाउ होला त्यो, सशस्त्र द्वन्द्व सकिएको यतिका समय बित्दा पनि त्यसमा खाटा बसेको छैन। शायद यी दम्पतीको मृत्युशैय्यासम्म पनि द्वन्द्वको त्यो घाउ आलै रहनेछ।

मार्क्सले भनेको सम्झ्ेँ, समाजमा जहिले पनि द्वन्द्व हुन्छ, द्वन्द्वले नै समाज परिवर्तन हुन्छ। भनाइ त सही नै होला, तर त्यस्ता द्वन्द्वले समाज परिवर्तन त गर्ला नगर्ला तर मान्छेको मन भने भाँच्दोरहेछ। मान्छेलाई यस्तै कहिल्यै नपुरिने घाउ पनि दिँदोरहेछ। मन भारी पारेरै भएपनि म मझ्ेरीको ‘छ्यानमा पल्टें। घरका हर दलिनहरूलाई एकटकले हेरें। टुकी विस्तारै धिप्धिप् गर्दै बल्दैथियो। आँखाहरूविस्तारै लोलाउन खोज्दैथिए। आमाले विस्तारै भनिन्, “छोरा, मेरो छोरा, चाँडै आऊ न।”

एक्कासी आएको आवाजले मलाई झ्स्कायो। जुरुक्क उठें रहेरें, आमा तन्द्रामा बोलिरहेकी थिइन्।