Kusum Gyawali – Sandesh (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – सन्देश (लघु कथा)

फूलपातीको दिन म घर पुगेँ । पुग्नासाथ मेरा बालसखा शर्माको घर पुगेँ । विधवा श्रीमती र ५-६ वर्षो छोरो नफर्किने पति/पिताको आगमन पर्खेझैँ बसेको थिए ।
‘आमा ! बुबा किन दसैंमा पनि घर नआ’को ?’ छोराले सोध्यो ।
गहभरि आँसु पारेर आमाले भनिन् ‘सानु तिम्रो बाबु शहीद हुन भो ।’
‘शहिद भनेको के आमा ?’ उनले धोतीको सप्कोले मुख छोपिन् ।
सानुले मसँग साध्यो ‘अंकल, शहदि भनेको के हो ?’
‘शहिद भनेको संसारको सबैभन्दा ठूलो मान्छे हो बाबु ।’
‘मेरो बुबा ठूलो मान्छे हो अंकल ?’
‘हो बाबु, सबैभन्दा ठूलो मान्छे ।’ मेरो गला पनि अबरुद्ध भयो ।
‘ठूलो मान्छे आफ्नो छोरालाई माया गर्दैनन् अंकल ?’
गर्छन् बाबु, आफ्नो छोरालाई मात्र होइन सबैलाई असाध्ये माया गर्छन । ‘
‘मन्त्री अंकलभन्दा पनि ठूलो हो ?’
‘हो ।’
‘त्यसो भए मेरो बाबुलाई दसैंमा आउँदा मलाई लुगा ल्याइदिन भन्दिनुस् है ! मन्त्री अंकलको छोरालाई मन्त्री अंकलले के के ल्याइदिनुहुन्छ । उसले मलाई हेर्न पनि दिँदैन । कस्तो छुच्चो मान्छे ! मेरो बाबु दसैंमा आएको भए त म पनि उनीहरुले झैं पेटभरि मासुभात खान पाउथेँ नि होइन त अंकल ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *