Abhimanyu Nirabi – Saanghu

अभिमन्यु निरवी – साँघु
(मधुपर्क बैशाख, २०६७)

विवाहको दिन ऊ निराश देखिएकी थिई । गरगहना, रातो सारी, झिलमिल सितारा जडिएको घुम्टो ओढेर पनि ऊ खुलेकी थिइन । के के नपुगे जस्तो, कताकता के बिगि्रए जस्तो विवाहको वातावरण खल्लो खल्लो थियो उसको लागि । मनमा केवल पीडा र डरहरू मात्रै थिए । खुसीको एक चिम्टी पनि उसको अनुहारमा नदेखिएकोले आउने-जानेहरू मुखामुख गरेर हेर्थे । विवाह राजीखुसीले नभएको अड्कल काट्थे । हुन पनि त्यति लामो विवाहमा उसले एकपटक पनि बेहुलाको मुहार हेरिन । ऊ मौन रहेर एकोहोरो भएकी थिई । त्यसैले नजिकै बसेकी साथीले साउती गरेझैँ भनी, शान्ता के भो ? के गति बनाकी ? के भन्लान मान्छेले ? उसको कुरामा शान्ताले केही भनिन । बरु उल्टै पीडा भरिएको आँखाले उसलाई एकपटक हेरेर फेरि पहिलेकै मुद्रामा बसी ।

बिदाईको बेला आयो । शान्ताका आँखाहरू बिस्तारै रसाए । जीवनको बाइस वसन्तहरू बिताएको प्यारो घरको आँगन छाड्नुपर्दाको दुःख उसको रुवाइसँगै गुन्जियो । वातावरण स्तब्ध भयो । बाबाको पिठ्यूँमा बुई चढेर जग्गेमा बिदाईको अन्तिम फन्को घुमिरहँदा उसले सिँगै बालापन सम्भिmई । त्यतिबेला उसले ठानेकी थिई यो घर मेरो हो, म कैले कतै जान नपर्ला तर त्यो भएन, सोचाइहरू उल्टो भए । सदाको लागि घरलाई माइत बनाएर पराइ घरलाई आˆनो भन्न जाने दिन आयो । ऊ सम्झीसम्झी रोइ, घर, आँगन, बा, आमा………अनि दिललाई । उसको आँसु भेल बनेर गालाबाट तल बगे र भुइँमा झरे । उसले बाचा तोडेकी थिई । सँगै जिउने, सँगै मर्ने वाचा । यो बिदाईको अन्तिम घडीमा उसको पूरै शरीर काम्दै थियो । उसले दिललाई सम्झेर आँखा चिम्म गरी । दिलको प्यारो तस्बिरहरू उसको मानसपटलमा यताउता घुमिरहृयो । सँगै हिँडेका, सँगै बिताएका मीठा क्षणहरूले शान्ता रोमान्चित भई तर पलमै ऊ कल्पनाबाट यथार्थमा उत्री । रुवाइहरू फेरि विस्तारै बढ्यो । बाजाका धुनहरू ऊसँगै रुँदै थियो । त्यो क्षण विरक्त लाग्दो, दुःखदायी र पीडादायी बनेको थियो । अन्तिम बिदाईमा उसको साथीले घुम्टो खोलेर बिस्तारै भनी राम्ररी जा, नरोइकन जा, …., रुँदारुँदै शान्ताले भावुक भएर भनी, मैले जीवनको एउटा युद्ध हारेँ । त्यसैले बन्धक बनेर जाँदैछु । उसको कुराले साथीको मनमा चस्स छोयो । ऊ रुन पनि सकिन र हाँस्न पनि ।

विवाहको पहिलो रात उसले रोएर बिताइ । बाआमाको करले उसले एउटा अपरिचितसँग विवाह गरेकी थिई । उसले न त बाआमासँग झगडा नै गर्न सकी, न त कुनै स्पष्ट निर्णय नै । बाहिर पढिरहेकी उसलाई एक्कासि घरमा बोलाएर केही दिनको कुराकानीमै उसको विवाह भएको थियो । न त उसले दिललाई भन्न भ्याई न त धेरै साथीहरूलाई । उसले आफूले आफैँलाई धोकेबाज ठानी । हुन त ऊसले घरमा दिलको बारे कुरा गरेकी थिई तर परिवारको अगाडि ऊ टिक्न सकिन । जातीयताको पर्खालले उसको सारा सपनाहरू तुहायो । उसले तर्कबितर्क गर्न सकिन । फलस्वरूप जिन्दगीले उसलाई यो नमिठो घाउ दियो जुन अझै आलै थियो । तथापि उसले कसैलाई दोष दिइन । उसले जिन्दग्ाीको त्यो निर्णयलाई स्वीकारेर सोची “जिन्दगी एउटा सम्झौता हो, सम्झौता गरेरै बाँच्छु । ”

Continue reading