Mahesh Bikram Shaha – Bhuin Khat

महेशविक्रम शाह – भुइँखाट
(नेपाल साप्ताहिक)

म भुइँखाटमा नै लम्पसार परेँ । म भुइँखाटमा सुत्न थालेको करिब एक साता हुन थालेको थियो । हुन त हाम्रो कोठामा डबल बेडको गद्दादार शय्या नभएको होइन । र, हामी दुई जोईपोइले त्यस गद्दादार बेडमाथि गुटुमुटिँदै जीवनका आनन्ददायक र रोमाञ्चक क्षणहरू नबिताएका पनि होइनौँ । हामीले यस पुरानो पलङको सट्टामा बजारमा आयात गरिएका विदेशी महँगा डबल बेडका पलङहरूमाथि सुत्ने सपनाहरू पनि नदेखेका होइनौँ । तर, यी सम्भावनाहरूका विपरीत हामी दुई जोईपोइको समान हक लाग्ने उक्त डबल बेडमाथि मेरो लोग्ने एक्लै उत्तानो परेर सुतिरहेको थियो अथवा सुत्ने नाटक गरिरहेको थियो ।

मलाई किनकिन यो जान्न मन लाग्यो कि यो भुइँखाटको आविष्कार सर्वप्रथम कसले र किन गर्‍यो होला ? आफू सुत्ने शय्यामा अटाउन नसकेर भुइँखाटको जोहो गर्‍यो होला कि वा हामी दुई जोईपोइको झैँ खटपट भएका बेला सङ्कटकालीन ओछ्यानका रूपमा व्यवस्था गरेको थियो होला । जेहोस् ! जसले यसको रचना गरे पनि ऊ भुक्तभोगी थियो । लोग्ने र स्वास्नीका मनोभावनाहरू केलाउने मनोविश्लेषक थियो ऊ ।

म मेरो लोग्नेलाई यो भान पार्ने प्रयास गरिरहेकी थिएँ कि म भुइँखाटमा ‘कम्फरटेबल’ छु । भलै त्यस भुइँखाटको तीनफीटे चौडाइमा मेरो अधबैँसे मोटो जीउ सात नम्बरको जुत्तामा नौ नम्बरको खुट्टा जबर्जस्ती घुसारेझैँ भएको किन नहोस् ! सिरानीमा टाउको जोत्दै गम्भीर भएर मैले सोचेँ कि हामी दुई लोग्नेस्वास्नी जीवनको त्यस मोडमा आइपुगेका छौँ, जहाँ हामी एउटै कोठामा दुई भिन्न ओछ्यानमा लम्पसार परेर सुतेको असफल नाटक गरिरहेका छौँ । र, एकअर्कालाई यो देखाउने प्रयास गरिरहेका छौँ कि तिम्रो शारीरिक स्पर्शले अब मेरो जीवनमा कुनै गम्भीर अर्थ राख्दैन । हामीहरू एकअर्काको गन्धलाई पनि बिर्सिन थालेका थियौँ । उक्त गन्धलाई स्मरण गर्ने हामीमा इच्छा र जाँगर थिएन भन्दा अझ इमानदारी हुन्छ होला ।

बिहान ऊ अफिस गएदेखि मैले दिनभर डबल बेडको पलङमाथि सुतेर आफ्नो रातभरको थकान मेटेँ । मलाई यो कुरा सम्झेर हाँसो उठ्यो कि लोग्नेको उपस्थितिमा रातभर मेरो कित्तामा भुइँखाट परेता पनि दिनभर डबल बेडको शय्या मेरो आफ्नै थियो । मैले राती लोग्नेले खुजमुज्ज बनाएको च्यादर र तकियाको खोल फेरेँ । डबल बेडलाई यसरी सिनित्त पारेँ कि मानौँ मेरो मायाको भोको लोग्ने व्यग्रतापूर्वक हान्निदै साँझ घर र्फकनेछ र म सम्हालिन नपाउँदै मलाई अँगालोमा बाँधेर ओछ्यानमाथि उत्तानो लडाउनेछ । ती रमणीय दिनहरू पुराना थिए र क्षणहरू पनि अतीत भइसकेका थिए । तर, रमणीय ती दिन र मधुर क्षणहरूको स्मृतिले मेरो तीतो मनलाई मिठ्याइरह्यो । म डबल बेडमाथि लम्पसार परेँ । एउटा तकिया टाउकोमुनि र अर्काे तकियालाई दुई खुट्टाका बीचमा च्यापेर कल्पनामा रमाइरहेँ । मानौँ, त्यो तकिया तकिया नभएर मेरो लोग्नेको पोटिलो तिघ्रा हो । मैले तेस्रो तकियालाई छातीले थिचँे र कल्पना गरेँ कि मेरो लोग्नेले मलाई आफ्नो छातीमा टाँसिरहेको छ । म डबल बेडको पूर्ण लम्बाइ र चौडाइलाई शरीरका अङ्गप्रत्यङ्गले समेट्ने प्रयास गर्दै छरपस्ट भएँ ।

मैले यो आशा गरेँ कि आज मेरो लोग्ने अफिसबाट घर र्फकंदा आँखाभरि घृणा र अनुहारमा सन्ताप बोकेर फर्किने छैन । ऊ ओठमा मधुर मुस्कान खेलाउँदै मसँग दुई शब्द भए पनि बोल्नेछ । घरभित्रको निःशब्दतालाई चिर्दै उन्मुक्त हाँसो हाँस्नेछ ऊ । धेरै दिनपछि हामीहरू आमनेसामने बसेर सँगै खाना खाने छौँ । ऊ मैले पकाएका परिकारहरूको मुक्तकण्ठले प्रशंसा गर्नेछ । यही सोचेर मैले आफ्नै हातले उसलाई मनपर्ने परिकारहरू बनाएँ । ममा आशा जाग्यो कि उसले मलाई आज ऐनाअगाडि उभ्याएर मुक्तकण्ठले मेरो रूपको प्रशंसा गर्नेछ । यही मधुर स्मृतिको जादूले तानिएर मैले धेरै दिनपछि ड्रेसिङ् टेबलको अगाडि आफूले आफैँलाई नियालेर हेरेँ । मैले दिनभर मेकअपले आफूलाई सिँगारेर सकभर राम्री बनाउने प्रयास गरेँ । हो, म साँच्चि सुन्दरी देखिएकी थिएँ । आफँैले आफैँलाई हेरेर मख्ख परेँ म । मेरो रूपबाट मोहित भएर भए पनि मेरो लोग्नेको मौनव्रत तोडिनेछ आज । यस अनुभूतिले कताकता रोमाञ्चित बनायो मलाई । आफूभित्र उर्लेको रोमाञ्चको लहरलाई फैलाउँदै म कल्पना गर्न थालेँ कि सायद आज हामी दुवै भोका गिद्धहरूझैँ एकअर्कामाथि झम्टिनेछौँ । हामी दुवैको काँचो मासु एकअर्काको तातोले फत्फत् गल्दै पग्लिनेछ र हामीहरू दुवै एकअर्कामा घुलनशील हुँदै सम्पूर्ण ओछ्यानलाई निथ्रुक भिजाउनेछौँ । यस अनुभूतिले मेरो सम्पूर्ण जीउ पसिनै पसिना भयो । मेरा ओठहरू काँपेका थिएँ । मेरो अनुहारको रङ परिवर्तन भएर म लालीगुराँस भएकी थिएँ । म यस कुराले आश्चर्यचकित भएकी थिएँ कि यस अधवैँसे उमेरमा पनि मेरो मन आफूलाई भर्खरकी तरुनी ठानिरहेको थियो, जसको हृदयको अन्तरकुन्तरमा जीवनका मीठा सपनाहरूका असङ्ख्य शृङ्खलाहरू हुने गर्दछन् ।

साँझ पर्‍यो …। रात ढल्यो …। ऊ बल्लतल्ल घरको सँघारमा देखापर्‍यो । म आफ्नो कोठाभित्र नै बसेर उसको प्रतीक्षा गरिरहेकी थिएँ, यो सोच्दै कि ऊ कछुवाको चालमा विस्तारै मछेउ आउनेछ र पछाडिबाट मलाई ग्वाम्म अँगालो हालेर आफू मेरो लोग्ने भएको र म उसकी स्वास्नी भएको अनुभूति दिनेछ । तर, मेरो अनुमान र आशाविपरीत ऊ बतासको झोँकाझैँ हुर्रिदै कोठाभित्र प्रवेश गर्‍यो र मतिर हेर्दै नहेरी डबल बेडको पलङमाथि काठको मूढोझैँ डङ्ङ पल्टियो ।

आहा ! मेरा सपनाहरू हिजोअस्तिझैँ आज पनि स्खलित भए । उसले मेरो अनुहारमा एकपटक पनि हेरेन । उसको विमुखताले मलाई आफ्नै अनुहार कुरूप लाग्यो । मैले एकै झट्कामा हातको पन्जाले आफ्नो अनुहार कोपरेकी थिएँ । मेरो शरीरले थुनेर राखेको संवेगको बाँध पलभरमै भत्केको थियो । मलाई के गरूँ, के नगरूँ भयो । एक मनले ठान्यो अहिले नै यो घर छोडेर निस्कूँ । आफ्नै कोठाभित्र एउटी स्त्री लोग्नेबाट परित्यक्त बन्न थालेपछि उसको आफ्नो घर नै कहाँ बाँकी रहन्छ र ! मलाई आफ्नै कोठाका भित्ताहरूले गिज्याउन थाले । मेरो निरीह अवस्थामाथि व्यङ्ग्य गर्दै डबल बेडको पलङ अट्टहास गर्न थाल्यो । यो शय्या त्यही थियो, जहाँ मैले पहिलोपटक आफू पूर्ण स्त्री भएको अनुभव गरेकी थिएँ । मेरा लागि मेरो लोग्नेभन्दा दोस्रो पि्रय वस्तु रहेको थियो यो पलङ, जहाँ म आफ्नो जीवनको बढीभन्दा बढी समय व्यतीत गर्ने गर्दथेँ । मेरा इच्छाहरू, आकाङ्क्षाहरू, सपनाहरू, मेरा खुसी र रहरहरू यही पलङको आयतनमा फैलिएका थिए । यो पलङ मेरा लागि प्रायः खुसी लिएर आउँथ्यो । यो डबल बेडको पलङ मेरा लागि ब्याट्रीचार्ज गर्ने चार्जरझैँ थियो, जुन हामी जोईपोइलाई कहिल्यै डिस्चार्ज हुन दिँदैनथ्यो । जब हामी दुई चार्ज हुन्थ्यौँ, हाम्रो शरीरमा नयाँ करेन्टका तरङ्गहरू लहरिन्थे र हामी आनन्दको मादकताले आह्लादित हुन्थ्यौँ । यो छफिटे पलङले हामीलाई यति खुसी दिन्थ्यो कि पलङबाहिर पनि हाम्रो खुसी रित्तिँदैनथ्यो । पलङभित्रको आनन्द चारैतिर छताछुल्ल भएर पोखिन्थ्यो र हामी लोग्नेस्व्ाास्नी आनन्दको सरोवरमा हेलिँदै जीवनको समग्र उमङ्ग र उल्लास भेट्टाउथ्यौँ ।

भुइँखाटमा सुतेको सुत्यै म कोल्टो फर्किएँ । मैले अर्धमुदित आँखाले उदासभावमा डबल बेडको शय्यालाई हेरँे, जुन शय्या मेरा लागि आजकल बिरानो बनेको थियो । मेरो लोग्नेलाई अङ्कमाल गरेर मेरो शय्या मस्त निदाइरहेको थियो । मैले लाख कोसिस गर्दा पनि आफ्नै पलङमाथि उक्लिन सकिरहेकी थिइनँ । मलाई आफैँ अचम्म लागिरहेको थियो कि जुन पलङमाथि एकछिन बस्न पनि म सदा लालायित रहन्थेँ, आज पलङमाथि पसि्ररहेको लोग्नेको जिउँदोजाग्दो शरीर देखेर पनि म रोमाञ्चित हुन सकिरहेकी थिइनँ । लोग्नेेको संवेदनाहीन मूढोजस्तो शरीरले मलाई विरक्त बनाइरहेको थियो । बितेका सात दिनमा मानौँ हामीभित्रको चुम्बकीय शक्ति क्षीण भइरहेको थियो । दिनदिनै हामी एकअर्काबाट विकषिर्त भइरहेका थियौँ । यही विकर्षणले नै मलाई मेरो हक लाग्ने गद्दादार शय्याबाट भुइँखाटमा हुत्याएको थियो ।

अचानक मैले आभास गरेँ कि पलङमाथिको मूढोमा केही हलचल भएको थियो । मेरो लोग्ने त्यस बडेमानको पलङमाथि एक्लै सुतेको कत्ति पनि सुहाएको थिएन । ऊ कहिले दायाँ र कहिले बायाँ कोल्टो फेर्दै निदाउने असफल प्रयास गरिरहेको थियो । सायद ऊ सोचिरहेको थियो कि म भुइँखाटमा मस्तसँग निदाइरहेकी छु, उसको कुनै पर्वाह नै नगरेर । यही सोचले सम्भवतः ऊ झन् तनावग्रस्त बनेको थियो । उसको यस अवस्थाको भेउ पाएर मलाई खुलेर आफू उसप्रति बेपर्वाह भएको देखाउन मन लाग्यो । म उत्तानो पल्टिएँ । मैले आफ्ना खुट्टाहरू दुईतिर फाडेर दुई हातका पन्जा पनि उत्तानो राखेँ । अहिले मेरो सासको गति बढेको थियो । र, सासको चालसँगै मेरा दुई स्तनहरू पनि चलायमान भएका थिएँ । नाकबाट निस्केको सासको न्यानो स्पर्शले अनायास मेरो शरीरको तापक्रम बढाइरहेको थियो । अचानक ऊ जर्‍याकजुरुक उठ्यो र पलङमाथि टुक्रुक्क बस्यो । केहीबेरको मौनतापछि ऊ उठ्यो र बाथरुमभित्र पसेर ढ्याम्म ढोका लगायो । ऊ बाथरुमभित्र छिरेपछि मैले सन्तोषको लामो सास तानेँ । मानाँै अघि मेरो कोठाभित्र छिरेको बतासको झोँका बल्ल कोठाबाट बाहिरिएको छ । मेरो शरीरमा स्फूर्ति पलायो । मैले अरठ्ठ परेका आफ्ना हातखुट्टाहरू खुम्च्याएँ, तन्काएँ र सजिलो गरी घोप्टो परेर सुतेँ । उसले बाथरुमभित्र के गर्‍यो मलाई थाहा भएन तर उसले फ्लस गरेको र पानीले छ्याप-छ्याप गरेको आवाज भने मेरो कानमा परेको थियो । ऊ बाथरुमबाट बाहिर आयो । मैले महसुस गरेँ कि उसले उभिएको उभियै पछाडिबाट भुइँखाटमाथि घोप्टिएको मेरो शरीरलाई घुरेर हेर्‍यो । उसले एकटक लगाएर हेरिरह्यो होला मेरा गोरा पिँडौलाहरू, मेरो फराकिलो नितम्ब, मेरो माँसल पिठ्यूँ, उसले चुम्ने गरेको दाहिने गाला र उसले लुछ्ने गरेको एउटा कान । मेरो अर्धदेहयष्टि देखेर उसमा के प्रतिक्रिया भयो म यसै भन्न सक्दिनँ तर म के अनुमान गर्न सक्छु भने म यसरी मनमौजी सुतेको देखेर उसलाई पक्कै पनि ईष्र्या लाग्यो होला र आफू यसरी किन सुत्न सकिनँ भन्ने सन्तापले ऊ पिरोलियो होला । मैले अनुभव गरेँ उसले आफूलाई फेरि पलङमाथि गिराएको छ । ऊ पलङमाथि तनावग्रस्त भएर उत्तानो पसि्रयो, म भुइँखाटमा मनोग्रस्त भएर घोप्टिएँ । हामीहरू एउटै पलङमाथि भएको भए सायद म उत्तानो परेकी हुन्थे र ऊ ममाथि घोप्टिएको हुन्थ्यो होला । उत्तानो पर्ने र घोप्टिने क्रियाहरू पनि सधैँ एउटै अवस्थामा लागू हुँदा रहेनछन् ।

भुइँखाटमा घोप्टो परेको पर्‍यै मैले स्मरण गरेँ आफ्नो विवाहपछिका थुप्रै दिन र रातहरू ! हामीहरू दिउँसै रात पाथ्र्याैं भने रातलाई झन् तन्काएर झिसमिसेको उत्कर्षसम्म्ा ल्याई पुर्‍याउँथ्यौँ । मेरा आँखामा लोग्नेको अनुहार नाच्यो, कति हिस्सी परेको छ ऊ, मलाई लाग्यो कि उसको अनुहारलाई हत्केलाको बीचमा राखेर सधैँ चुमिरहूँ । उसको मायालु अनुहार र अबोध आँखाहरू सम्झेर मेरो जीउमा एकाएक स्फूर्ति पलाएर आयो । मैले मीठो कल्पना गरेँ कि म हरियो दुबोको चौर हुँ र ऊ मदमस्त साँढेकोे रूपमा शरीर थर्काउँदै, जुरो हल्लाउँदै, पुच्छर बटार्दै र खुट्टा बजार्दै चरचर चौरको दुबो चरिरहेछ । हरियो दुबोका मुन्टा चपाएर ऊ तृप्त भइरहेछ र म आफू रित्तिएर पनि नयाँ पालुवा बनेर टुसाइरहेकी छु । मलाई तन्द्रामा नै यस्तो आभास भयो कि मेरो लोग्ने पनि त्यही सोचिरहेछ, जुन म अहिले सोचिरहेकी छु । मौन भाषामा ऊ मलाई आफूतिर आउने आमन्त्रण गरिरहेको छ । मेरो शरीरको स्वच्छन्द अवस्था र सुताइको चेष्टा देखेर उसले किन बुझ्न सकेन कि म पनि त उसलाई खुला हृदयले आफूतिर आउने निमन्त्रणा दिइरहेकी छु । ऊ एकपटक मात्र मछेउ आएर मलाई स्पर्श गरेर मात्र हेरोस्, त्यतिबेला उसले थाहा पाउनेछ कि उसको स्पर्शका लागि म कति आकुल र व्याकुल बनिरहेकी छु । म पलभरमै पानीमा सोडियम घोलिएझैँ उभित्र लुप्त हुनेछु । उसभित्र लुप्त हुने लालसाले मात्र पनि मेरा अङ्गप्रत्यङ्गहरू आरनमा हालेको फलामझैँ रापिन थाले । मलाई महसुुस भयो कि मेरा रक्तनसाहरूमा तातो रगतको बाढी उर्लेको छ । मेरो फोक्सो फुलिरहेछ र बढेको सास थाम्न मलाई मुस्किल परिरहेछ । अँध्यारोमा नै म भुइँखाटबाट जुरुक्क उठेँ । मेरा खुट्टाहरू स्वचालित रूपमा मेरो लोग्ने सुतिरहेको पलङतिर बढे । तर, अचानक बीचैमा म जोडले कसैसँग ठोक्किएँ र हामी दुवै जना भुइँखाटमाथि डङ्ग्रङ्ङ पछारियौँ । म यो कुरा थाहा पाएर आश्चर्यचकित भएँ कि म ठोक्किएको वस्तु अरू कोही नभएर मेरो आफ्नै लोग्ने थियो र सायद ऊ पनि अँध्योरामा नै छामछुम गर्दै भुइँखाटतिर बढिरहेको थियो । धेरै दिनपछि यति नजिकबाट उसको पुरुष गन्ध सँुघ्न पाएर म निस्सासिन थालेकी थिएँ । म सुतेको भुइँखाट अब भुइँखाटमा सीमित थिएन । हामी लोग्नेस्वास्नीको सशरीर उपस्थितिमा तीनफिटे भुइँखाट छफिटे डबल बेडको पलङभन्दा पनि लामो, चौडा, मुलायम र आनन्ददायक बनेको थियो । एक सप्ताहपश्चात् त्यो सानो भुइँखाटमा हामी जोईपोइ यसरी मच्चियौँ कि मानौँ भर्खर मात्र हामीहरू विवाहको पहिलो रात मनाइरहेका थियौँ ।

नेपाल साप्ताहिक
अंक १३८

Ramkumar Basnet – Drishya

रामकुमार बस्नेत – दृश्य
(मधुपर्क बैशाख, २०६७)

नेपालनाथका छोराहरू सगोलमा बस्न नसक्ने भएपछि बाबुसँग अंशबण्डा गरिदिन भने । पढेका र बढेका छोराले आ-आफ्नै गृहस्थी चलाउन भनेर नेपालनाथले पनि आफूले दुःखले कमाएको एउटा घर छोराहरूको नाममा जति पुग्छ खुसीकासाथ सबैलाई बराबर बण्डा गरिदिए ।

बाबुबाट अंशको रूपमा पाएका घरका केही कोठामा छोराहरूले आ-आफ्नै तरिकाले रङरोगन गरे । केही दिनमा नै त्यो घर रातो, पहेलो, हरियो, कालो, सेतो रङले रङ्गीचङ्गी भयो । नेपालनाथले जिन्दगीभर रङरोगन गर्न नसकेको घर रङी विरङ्गी देखेर केही पीडाबोध गरे ।

दिन बित्दै जाँदा छोराबीच वैमनैश्यता बढ्यो । छोराहरूले आफ्नो कोठा-चोटा आँगन सबैतिर पर्खाल लगाए । आवतजावत गर्न नै मुस्किल भयो । नातिनातिनी एउटै आँगनमा खेल्न पाएनन्, यो दृश्य दे्रख्नु अघि नै नेपालनाथले यहाँबाट विदा लिए ।

Ramesh Bikal – Ti Dui Nirdosh Ankhaharu

रमेश विकल – ती दुई निर्दोष आँखाहरू

तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन ।

तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन । तर, ऊ पहाडको किसानकै छोरा हो । किसान पनि अर्धकिसान । पश्चिम पहाडमा एउटा सानो गाउँ थियो, गर्भे । त्यसैको पुछारमा एउटा सानो झुप्रोमा उसको बाबु बिर्खे- बिर्खबहादुर र आमा दिलमाया दुःखजिलो गरी बसेका थिए । तर, पहाडमा मारकाट चल्न थालेपछि उनीहरू मैदानतिर झरेर एउटा सानो सहरनजिकै गाउँमा बस्न थालेका थिए ।

बिर्खबहादुर उमेर त्यति र्घर्किइनसकेको केही गरौँला भन्ने हिम्मत उसमा । ऊ नजिकैको सहरमा साहूहरूको भारी बोक्छ । अनि घरसर बनाउने काममा ठेकेदारहरूको काम पनि गर्छ । त्यसरी उसले एक पेट खान-लाउन पुर्या एर पनि दिलमायाको नाक, कान, घाँटीमा एकसरो सुन पनि भिर्दिनसकेको छ । दिलमाया पनि गाउँका ठूला ठालुका धन्दा चुलो गरेर केही न केही आर्जन गर्छे।

यसपल्ट बिर्खेले ठेकेदारबाट झन्डै एक महिनादेखिको ज्याला पाएको छैन । त्यसैले उसको भण्डारमा फाँकमुठी पनि छैन । त्यसैले ऊ ज्याला उठाउन गएको फर्केको छैन । दिलमाया आफ्नै करेसाबारीबाट तिहुन ल्याएर केलाउन लागेकी छ । सानो छोरो भुन्टे भोक लाग्यो भनेर रोर्यारइ गरिरहेको छ । “आमा भात किन नपका’ – हाम्लाई भोक लाग्यो भन्या भात दिनु हाम्लाई ।”

साँझ पर्न लागिसकेको छ । बिर्खबहादुर यतिखेरसम्म पनि आएको छैन । दिलमाया च्याँठिन्छे, “भोक लागे म के गरौँ त ? बा पैसा उठाउन जानुभा’छ । पसलबाट चामल, पीठो, नुन, तेल, मसला ल्याउनुहुन्छ । अनि पकाउँला ।”

तर, भुन्टे कराउन छोड्दैन । केटाकेटी हो, उसलाई घरमा केही छैन भन्ने के थाहा । उसको बिलविलाउदो मुख हेरेर दिलमाया भित्रभित्रै कल्पिन्छे । अनि त्यसैबेला झोलामा सामल बोकेर बिर्खबहादुर भित्र पस्छ । दिलमाया झोलाको सामान हेरेर असन्तुष्ट स्वरमा भन्छे, “यति मात्रै – दुइ-तीन दिनलाई पुग्दैन ।”

“के गर्ने हेर न त्यो मोरो राणा बाउ ठेकदारले पूरा पैसै दिएन । हजारवटा रुपिया फालिदियो । पैसा बाँकी छ । एक मन त त्यो पैसा त्यसैको मुखमा हिर्काएर आऊँ जस्तो लागेको थियो । तर, यो भुन्टेको पिलपिलाउदो अनुहार सम्झेँ । अनि पाँच सयको सामल ल्याएँ, दुइ-चार दिनलाई भए नि पुग्छ भनेर । पाँचोटा सयचैँ पैसै ल्याएको छु । केही परिहाल्ला भनेर “लौ ला, राख ।” बिर्खबहादुर जगमा पानी लिएर हातगोडा धुन भनेर बाहिर निस्क्यो । केहीबेरपछि हातगोडा धोएर भित्र पस्यो ।

“आमा हाम्लाई भोक लाग्यो भन्या, भात दिनु ।” सानो भुन्टे रोड्याइ गरेको गर्यौभ थियो । बिर्खबहादुरले टीठलाग्दो गरी उसको मुख हेरेर भन्यो, “ए झट्टै भात पका न त । मलाई पनि भोकले खरो भैरा’ छ ।”

दिलमायाले टुकी बाली । अनि भान्छाको सार्दाम ठीक गरेर दमचुली (स्टोभ) सल्काएर भात बसाली । तिहुन पहिले नै पकाएर झिकी । भात छड्कन थाल्यो । बाहिर रात निकै छिप्पिइसकेको थियो । त्यसैबेला ढोका घर्या क्क खोलेर दुर्इ जना बन्दुके भित्र पसे । चाइँचुइँ केही नगरी एउटाले बिर्खबहादुरलाई लडाएर घाँटीमा खुकुरी तेर्स्यायो, “तैँ होइनस् हाम्रो सुल्सुले लाग्यो ?”

“होइन के गरेको तिमरुले – को हौ तिमरु -” दिलमाया आतेसले चिच्याउन थाली । बाबुलाई लडाएको, आमा चिच्याएको देखेर सानो भुन्टे अताल्लिए रुन थाल्यो । अर्को चाहिले उसलाई सातो खायो । भुन्टे डरले चुप लागेर ओछ्यानमा घुस्य्रो ।

“पापी राक्षस हो । एउटा खाली हातको मान्छेलाई अत्तेचार गर्र्छौ – “मर्द हौ भने आओ मसँग जुध्न ।” दिलमाया नजिकैको खुर्पा उझाउँदै रणाचण्डीझैँ गर्जंदै उनीहरूतिर झम्टिछे । तर, अर्कोचाहिँले उसको खुर्पा समातेको हात समातेर बेस्सरी बटार्योर । खुर्पा भुइमा खस्यो । यतिञ्जेलसम्म पछिल्लोले बिर्खबहादुरको घाटी कसाइले रागो बोको रेटेझै रेटेर टाउको छुट्याइसकेको थियो । मझेरीमा रगतको ताली बनिसकेको थियो ।

दोस्रो चाहिले दिलमायालाई जकडेर विवश तुल्याएर भित्तामा अचेटेको थियो । यसले पहिलोलाई सम्बोधन गरेर कुत्सित पाराले भन्यो, “कसो, भाइ यसले त मर्द खोजेकी जस्ती छ नि – दिऊ यसलाई मर्द ?”

“ठीकै छ । यस्ता बराठसँग कुस्ती खेल्नु मजै हुन्छ ।” पहिलोले त्यही किलामा झुन्डिएको पुरानो लुँगीले रगतले भिजेको खुकुरी पुछ्तै भन्यो । अनि दुवैले दिलमायालाई हात बाँधेर मुखमा कपडाको बुझो कोचेर मझेरीमा लडाए । अनि दुवैले पालैपालो आफ्नो पाशविक यौनतृष्णा मेटे । सानो पुन्टे सातो गएर एउटा प्लास्टिकको निर्जीव पुतलीझैँ भएर हेरिरहेको थियो ।

आफ्नो पशुक्रीडा सकेर दुवै उठे । अनि कुत्सित हासो हास्दै अश्लील पाराले पहिलोले भने, “भाइ, यो बराठ आइमाईसँग कुस्ती खेल्दा भोक पनि लाग्यो । केही खान पाए ।”

“हो, मलाई पनि भोकले तालाबाला खेलाएको छ । हिजोदेखि यही सफाइ दौड म कुद्दाकुद्दा एक मुठी अन्न पनि पेटमा पर्याम होइन हेर न यसो केही पाइन्छ कि,” दोस्रोले भन्यो र दुवै मिलेर खानेकुरो खोज्न थाले । पहिलोको आँखा भान्छाको भातको कसौडीमा पर्योक । उसले खुसीको स्वरमा भन्यो, “भाइ कसौडीमा भात छ जस्तो छ नि हेर हेर”
दोस्रोले दमचुलीबाट कसौडी उतारेर हेर्योि अनि चहकिदै भन्यो, “रे’छ भाइ भात त, भर्खरै पकाएको, तात्तातै छ । स्टोभ पनि भर्खरै निभेको जस्तो छ । ए, यहा तिहुन पनि रहेछ । लौ थालौ । पेट पूजा गर्न ।”

दर्ुइ लास र रगतको तालबीच दुवै हिंस्रक जनावरहरूले आफ्नो हृदयहीन, पशुभोज मनाए । अनि जाने तरखर गर्दै दिलमायाको अचेत शरीरतिर हेरेर दोस्रोले सोध्यो, “यसलाई के गर्ने – यतिकै छोडिदिने ?”

“किन छोड्ने त्यसै बोल्ने जोखिमलाई – पुर्याोइदिने उसको लोग्ने गएको ठाउमा,” पहिलोले क्रूर स्वरमा भन्यो । अनि काधबाट बन्दुक उतारेर अचेत शरीरमा गोली हानेर पूर्णामृत तुल्याइदियो । त्यसपछि बाहिर निस्किएर अध्यारोमा हराए ।
अध्यारो रातको बीभत्स नाटकको पहिलो यवनिका पतन भयो ।

अनि फेरि दोस्रो दृश्यको पर्दा उठ्छ ।

भित्र उही पहिलो पर्दाकै दृश्य छ । त्यसैबेला अर्का दुइटा बन्दुकधारी दृश्यमा पस्छन् । ती पनि पहिलेकै जस्तो फौजी पोसाकमा छन् । काधमा बन्दुक छ । भित्रको त्यो बीभत्स दृश्य देखेर दुवै जना एकछिन अलमल्ल पर्छन् । अनि एउटाको बक फुट्छन्, “ए जोडा यहा यो हत्याकाण्ड मच्चाएर ती आतङ्ककारी त फुरुर उडिसकेछन् । हामी त आज पनि ढिला भएछौ । सधै हामी अपराधीभन्दा चार पाइला पछाडि नै पर्र्छौं । मरेपछि ओखती भन्याजस्तो ।”

“गर्ने के त यार आदेश नै ढिलो गरी पाउछौ । माथिका आदेश दिनेहरू आफ्नै मोजभोजमा मस्त भएर सबै कुरा बिर्सिन्छन् । अनि माझीको सल्लाहले सय घर डुबिसक्यो भन्याझै सबै हुने कुरा भैसकेपछि अनि हुकुमको गोली दाग्छन्, “लौ फलानो ठाउमा हमला हुदैछ रे । कुदिहाल कारबाहीमा । कति सजिलो,” दोस्रोले भन्यो ।

“त्यै त । हाम्रो मात्र ज्यानै नभएजस्तो । रातदिन डाँडाकाँडा भीर पाखा कुद्नु छ, खान र पिउनको नाउँमा एक पुरिया बिस्कुट, एक पुरिया चाउचाउ छ । अनि हामीलाई पनि त थकाइ लाग्छ, अल्छी लाग्छ । अनि भर्सर् परोस् भनिन्छ ।”

“हो भन्या हिजोदेखि त्यही एक पाकेट चाउचाउ, एक पुरिया बिस्कुट र एक तुम्लेट पानीको भरमा कुदिया’ छ । मलाई त यति उखर्माउलो भोक लाग्या छ, ढुङ्गो पाए पनि पचाउला भएको छ ।” अर्कोले भन्यो, “घर तन्नमजस्तो छ । यस्ता तन्नमहरूलाई पनि किन यसरी हत्या गरेका होलान् – यस्ताले कसैको के बिगार गरे होलान् र ?”

“होला केही वैरभाव भैगो छोडिदे । बरु कतै केही छ कि यसो आन्द्रासम्म उकास्न । मलाई भोकले तोरीको फूल देखायो ।” दोस्रोले भन्यो । अनि त्यो दुइटा बीभत्स लास, त्यो रगतको अहाल सबै कुरालाई त्यत्तिकै बेवास्ता गरेर त्यहा धुइधुइती छामछाम छुम गर्न थाले । एक जना हातको चोर बत्ती र्-र्टचलाइट) बालेर भित्री कोठातिर गयो । अर्को त्यही टुकीको बत्ती उठाएर धुइपत्तँल गर्न थाल्यो ।

“ए एक जोडा बाहिर हेर हेर यहा कसौडीमा अलि कति भात रहेछ । तिहुन पनि रहेछ, कसैले खाएर छोडेको । तैले के भेटिस् त्यहाभित्र -” पहिलोले कराएर भन्यो । दोस्रोले भित्रबाट निस्किदै भन्यो, “त्यहाँ त केही पनि छैन । घ्याम्पाघैटा रित्तै छन् । केही थाङ्नाथरा छन् त्यति हो ।”

“यहाँ अलिकति भए पनि भात रहेछ । अलिअलि भए पनि बाडीचुडी खाऊ आइज । एउटा आन्द्रेँ मात्रै भए पनि भरिएला । पहिलोले भन्यो । अनि दुवै जनाले बाडीचुडी कसौडीको भात सोरसार पुछपाछ गरेर खाए । अनि, हातसात धोएर जान भनेर उठे । तर, पहिलोको आँखा दिलमायाको नाक, कानका फूली, रिङ् र घाँटीको तिलहरीमा परे । उसले चहर्किंदै भन्यो, “जोडा यस मुर्दाको घाँटीमा, नाककानमा यी सुनका गहनाको के काम – हामीलाई बेचबाच गरेर दुई-चार दिन मैच्याङको भट्टीमा रमाउन त हुन्छ । फेरि हामीलाई दोष लाग्ने पनि त होइन । जङ्गलीहरूले मारेर नाक, कान, घाँटी पनि रित्याएर गएछन् भनिहाल्छन् ।”

अनि दुवैले मिलेर दिलमायाको लासबाट कति पनि धक/सङ्कोच नमानी ती सुनहरू झिकेर हिड्न तरखराए । तर, एक्कासि अर्कोको आँखा दिलमायाको धोतीको सक्कोमा बाँधेको गाँठोमा पर्योर । उसले खसखसिएर त्यो गाँठो फोएर हेर्यो्, बिर्खबहादुरले साँझ स्वास्नीलाई दिएको पाँच सयको नोट थियो । उसले चहकिएर साथीलाई भन्यो, “जोडा यहा एउटा पाच सयको नोट पनि रहेछ ।”

“खोइखोइ ?” अर्कोले त्यो नोट उसबाट झन्डैझन्डै खोसेझै गरी लिए भन्यो, “वा जे होस्, आजको दिनचाहि छुकै परेको रहेछ लौ ।”

अब त्यहाँबाट जान तर्खराउँदै एउटाले भन्यो । “जोडा भात त तातै थियो । हत्याराहरू भरखरै निस्केका जस्ता छन् धेरै पर पुगेका छैनन् होला । अलि छिटो गए भेट्न सकिन्छ । हिँड झट्टै ।” एउटाले हतार लगायो । अर्कोका आखा ओछ्यानमा दुम्किएर अत्यन्त त्रसित र भयभीत सातो उडेझै आखाले त्यस नाटकका दारुण, बीभत्स दृश्य हेरिरहेको सानो दर्शक पुन्टेमाथि परे । उसले सोध्यो, “जोडा यहाँ एउटा पिउसो रहेछ, यसको के गर्ने ?”

“के गर्नु अब । घाँटीमा घटेसी बनाएर झुन्ड्याएर हिँड्नुभएन । छोडिदिने यतिकै । भोलि बिहान कसैले आएर देख्लान् । अनि कोही नातेदार भए जिम्मा लाइदेलान्, नभए कुनै टुहुराहरूको बालघरमा लगेर राखिदेलान् हिँड ।” अर्कोले भन्यो र दुवै त्यहाँ बाट निस्केर अध्यारोको खोकिलामा हराए ।

यहाँ यसरी एउटा बीभत्स नाटकको मञ्चन भयो । तर, त्यस नाटकका दर्शक कोही थिएनन्, खालि एउटा सातो गएर संज्ञाहीनझैँ भएको सानो पुन्टेका दर्ुइ निरीह निर्दोष आँखाहरू मात्र थिए ।

दोस्रो प्रहरको रात बाहिर डरलाग्दो गरी चकमन्न थियो । त्यस चकमन्नतालाई घरिघरि पर गाउँ माझका गल्लीहरूमा भौतारिने भुस्याहा खिच्चाहरूले रोएको हुहु स्वरले भत्काउथ्यो । अनि बेलाबेलामा ज्यादै उराठलाग्दो गरी लाटोकोसेरो र अरू रात्रि चराहरूका कर्कश स्वरले रातको त्यो शून्य अध्यारो आकाशको विस्तृत छातीलाई चिर्दै दिगन्तमा गुज्थ्यो, “किर्रकिर्र किरिरिर्र । हुँ हुँ हुँ हुँ .. ह्वाँ ह्वाँ । यिनै स्वरहरूका माझ त्यहा एउटा अर्को स्वर थपियो, द्वाङ द्वाङ धडाम् ।”

यस स्वरले भने त्यहाँ गाउँ र बजारमा खतिखेरसम्म पनि जागा बसेकाहरूको मुटुको चाल बन्द गरायो । सबैका भयाल ढोकाहरू बन्द भए ढ्यामढुम ढ्याम्ढुम । अलि त्यसको दोस्रो दिन मध्याह्नको सबैजसले एफएम रेडियोमा महिला खबर वाचिकाको जीवनहीन स्वर गुज्यो, “गए राती पश्चिमाञ्चलको राजधानी नजिकैको एउटा सानो गाउँमा केही जङ्गलबाट आएका बन्दुकधारीहरूले त्यही सानो गाउँको पुछारमा छाप्रो बनाएर बसको ज्याला मजुरी गरेर खाने दुई लोग्ने-स्वास्नीलाई आधारातमा घरमा पसी बीभत्स हत्या गर्नुका साथै भएका धनमाल र महिलाका नाक, कान, घाटीका सुनको गहनासमेत लिएर फरार भए । घटनास्थलमा एउटा सानो तीन-चारवर्षो बालक लगभग संज्ञाहीन अवस्थामा भेटिएर उसलाई बालघरमा बुझाइएको । पछि गस्तीमा गएका सुरक्षाकर्मीहरूसँगको भिडन्तमा लुटेराहरूमध्ये दुर्इजना बन्दुकधारीहरू पनि मारिएका हाम्रा स्थानीय संवाददाता … ले बताएका छन् । अहिलेलाई म मेरा सहकर्मी … लाई यतिकैमा बिदा दिनुहोस् । पछि बजे यस्तैयस्ता खबर लिएर फेरि उपस्थित हुनेछैन । नमस्कार जय नेपाल ।

यो खबर रेडियो, एफएम, टेलिभिजन र स्थानीय राष्ट्रिय पत्रपत्रिकाले फूल जडीजडी प्रसार गरेपछि जनमानसमा एउटा आतङ्कको सृजना भयो । के पत्तो, समाचार वाचकले अर्को हत्या र हिंसाको खबर वाचन गर्ने बेलासम्म आफैँ पनि त्यसको सिकार बनिने हो कि ?

Madhuwan Paudel – Arkale Lekhi Diyeko Niyati

पासपोर्टमा उसको फोटो देख्नासाथ मेरा आँखा अगाडि मुरलीधरको अनुहार नाच्न थाल्छ विभिन्न मुद्रामा ! मैले तीन महिना अगाडि उसलाई भेट्दा बेग्लै विस्मात् र पीडा पढेको थिएँ उसको अनुहारमा । उसको कथा र व्यथा सुनेको जो कोहीले पनि मुरलीधरलाई सहानुभूतिका दर्ुइशब्द बोल्ने गरेको देखिन्थ्यो । मलाई भेट्नु अघि काउन्टरमा दर्ुइ-चारजनासँग र त्यसपछि मेरा सहयोगीसँग उसले आफ्नो वह पोखिसकेको थियो । “कति भयो यता आएको -” मैले उसलाई सोधेको थिएँ । “नौ महिना ।” नौ महिनाको प्रवासमा मुरलीधर स्याङ्जाको एउटा गाउँको फूर्तिलो लक्का जवानबाट यहाँको एउटा सानो फाउण्ड्रीको रक्स्याहा, अल्छी र अनुत्तरदायी हेल्पर बनिसकेको थियो । वरपरका छरछिमेकी र इष्टमित्र सबैलाई जे पर्दा पनि अगाडि देखिने र सबैको प्रियपात्र मुरलीलाई अहिले जसले पनि आफूभन्दा तीन हात पर उभिएरै जे भन्नुरपर्छ भनोस् भन्ने चाहन्थे । महिनौं ननुहाएजस्तो अनुहार मैले कपडा र जीर्ण शरीर तर तीखा शब्द बोल्ने मुरलीधर भएको थियो ऊ अहिले ।

आफ्नै मामाको छोराले अरबको सपना र बेग्लै संसारको बखान गरेको सुन्दा कति उत्साहित भएको थियो मुरलीधर ! “तिमीजस्तो फूर्तिलो मान्छे यसरी हल्लिएर बस्ने हो – तीनवर्षउता गयौ भने कहाँ पुग्छौँ कहाँ !” सपना बेच्ने पेशाको उसको मामाको छोरो अनि सपनामा आफूलाई डुबाउन खोजिरहेको मुरलीधरबीच देखिएको द्वन्द्व ! मुरलीधर आफ्नै गाउँ, आफ्नै संसारमा रमाइरहेको थियो । सानोतिनो मर्मतदेखि मेलापातसमेत भ्याएर ऊ सबैको प्रियपात्र भएको थियो । उसको सानो गाउँमा मात्र होइन, भञ्ज्याङपारि र वल्लोपल्लो गाउँमा समेत कसैको घरमा बत्ती निभ्यो अथवा कसैको औजारले काम गरेन भने सबै मुरलीधरलाई सम्झन्थे । मुरलीधर बिजुलीको फ्युज हाल्नेदेखि लिएर, कोदालीको पाइन लाउने, खर्ुपाको धार लाउने अनि हुँदाहुँदा कसैलाई परेका बेला बोकेर हेल्थपोस्ट पुर्‍याउने अथवा सदरमुकाम पुगेर वस्तुभाउको औषधि ल्याइदिने कामसमेत सबै गरिदिन्थ्यो । उसको आफ्नो भन्नु पनि को थियो र ! बूढो राँडो बाउ अनि पोइल गइसकेकी एउटी दिदी, जसलाई बाउले घरभित्र नहुलेकाले ऊ लुकीलुकी भेट्न जान्थ्यो र बेलाबेलामा नलीको मार खान्थ्यो । सबै काम जान्नुपर्ने उसका लागि साँच्चिकै बाध्यता पनि थियो । दूइजना प्राणीको भातभान्छा त के कुरा भो र – सानोतिनो खेतीको काम हेलैसँग सकेर ऊ अर्काको काम सघाउन पुग्थ्यो । डिलाघरका काकालाई औषधि थप्नुपर्‍यो कि उनलाई मुरली नै चाहिन्थ्यो, गाउँको पसले काजीलालको भरियालाई बाटो देखाउने काममा पनि मुरली अघि सथ्र्यो, अनि पुरेतको छोरो बिदामा आउँदा सदरमुकाम पुगेर राम्ररी बस चढाएर पठाउने जिम्मा पनि उसैले लिएको थियो । सधैं यस्तै विनासिती गोरु जोतिएझैँ जोतिएर, त्यसै बस्छस् – तेरो फर्ूर्ति र सीपले तँलाई काँबाट काँ पुर्‍याउँछ, थाहा छ तँलाई -”
मामाको छोराको रट !
“हाम्ले त्यत्रो पैसा काँबाटो ल्याउनु नि ठूल्दाइ -”
मुरलीधरको वेदना !
“धत्तेरी लाटा ! बाउलाई भन्ने नि ! त्यत्रो जग्गा जमिन छ, त्यसलाई राखेर अलिकति रिन लिने, तैँले दुइ वर्षै निखन्न सकिहाल्छस् !” पल्लो गाउँको उसको दौँतरीको बाबु सदरमुकामको बैंकमा आफ्नो छोराले पैसा पठाउँदा आफूलाई साथी लगेको सम्झन्छ मुरलीधर ! त्यही पैसाले उनले आफ्नो आधा खेत निखनेका थिए । तर बाँकी आधा अझै गाविसकै कब्जामा थियो ।

“केही पर्‍यो होला त बाबु ! पठाउँला नि फेरि !” बूढा निकै खुसी थिए र छोराले अर्को किस्ता पठाउँछ भन्ने कुरामा आशावादी थिए ।
मुरलीधर र मामाको छोरालाई झण्डै एक महिना लागेको थियो – उसको बाबुलाई चित्त बुझाउन ! मुरलीधरकै मुख हेरेर काजीलालले पैसा दिएको रे ! खेत वन्धकी परेको भन्दा पनि बाउलाई छोरो हिँड्न लागेकोमा बढ्ता पीर लागेको थियो । कुरा मुरलीले नबुझेको होइन । तर सपनाको संसार अनि त्यसको मृगतृष्णाले मुरलीले अरु केही सोचेन । सदरमुकाममा कागजपत्र बनाउने, पासपोर्ट, भिसा, टिकट, डलर साट्ने भन्दाभन्दै मामाको छोराले उसलाई लाख रुपियाँभन्दा बढीको रिनको भारी बोकाइसकेको थियो । हवाइजहाज चढ्ने दिनसम्म पनि मुरलीधरको व्यग्रता कम भएको थिएन । बरु बढ्दो थियो । “घरखेत, त राखियो, भोलि के हुने हो – कस्तो ठाउँ होला….” आदि-आदि चिन्ताले सताइरहन्थ्यो मुरलीधरलाई । बाउलाई पनि विधुवा काकीको हेरचाहमा छाड्नुपर्‍यो । हवाइजहाजभित्र चढेदेखि नै स-साना झोला बोकेर असङ्ख्य सपनाको मायावी संसारमा आफूजस्तै डुबिरहेका अरूलाई हेथ्र्यो मुरली ! अनि आफैँमा हराउँथ्यो । चार घण्टापछि ऊ अर्कै संसारमा आइपुगेको थियो । चौडा र राम्रा सडक, दिन र रात नछुट्टनिे गरी बलेको झलमल बिजुली, विशाल र गगनचुम्बी घर, ढकमक्क फूलेका फूल र हरियाली नाघ्दै त्यो दिन मुरलीधर र अरू नौजना गल्लीभित्रको लामो कोठामा पुगेका थिए । अनि ऊ छाँगाबाट खसेजस्तो भएको थियो । “लौ, अब तिमेरुको पासपोर्ट, ट्राभेलर्स चेक सबै मलाई देओ, भिसाको काम नसकी काम गर्न पाइन्न । दरुइचार दिन घुमघाम गर ।” मुरलीधर र अरूलाई ल्याउने दलाल त्यस दिन यति भनेर हिँडेको थियो । भोलिपल्ट बिहान सबैलाई ५०।५० स्थानीय मुद्रा थमाएर “लौ पल्लो सडकमा खाने ठाउँ छ, म तिमेरुको काममा लाग्छु । दरुइचार दिन आउन्न होला , न हड्बडाउनु” भन्दै ऊ हिँडेको थियो । ऊ र उसका नौ साथी केवल निन्याउरो मुख पार्न सक्थे । टाइ-सुटमा टिपिक्क परेर दामी ब्रिफकेस बोकेर त्यो यच. आर. एजेन्ट भनिने दलाल दरुइचार दिनमा देखा पर्ने गथ्र्यो अनि एक जनालाई लिएर जान्थ्यो । अनि एक दिन उसले मुरलीधरलाई सोध्यो – “ए भाइ ! तिमी फाउण्ड्रीमा काम गर्न जाने अब ! इरानी अर्बाब् -मालिक) छ, काम अलि गाह्रो भए पनि ओभरटाइम पनि भएकोले राम्रो हुन्छ ।” झण्डै एक महिना झयालखानाजस्तो ठाउँमा कोच्चिएर बस्दा मुरलीधर अर्ध विक्षिप्त भइसकेको थियो । कहाँ आफ्नो स्वेच्छामा सबैको हाई हाई बनेर डाँडापाखा दगुरिरहेको मुरली, कहाँ दर्ुबईको एउटा गल्लीमा भेडाबाख्राभन्दा पनि गए गुज्रिएको स्थितिमा कोच्चिएर बस्नुपरेको अहिलेको मुरली !
केही नसोची उसले भनेको थियो, “जान्छु ।”

दिन, हप्ता र महिना बिते – फाउण्ड्रीको मालिकले दिने जाउलो र छजना कोच्चिनुपर्ने सानो कोठा । तीन महिनापछि मुरलीको हातमा १५०० दिरहम परेको थियो । त्यसको केही दिनपछि अर्को ६०० दिरहम ओभरटाइम वापत ! मुरलीधरसँग केही कागज थिएन, केही निस्सा वा परिचयपत्रसमेत थिएन । एक दिन उसलाई फाउण्ड्रीमा लगाउने एजेन्टलाई उसले अकस्मात् बजारमा भेट्यो र कठालो समात्यो । अनि मात्र उसको हातमा आफ्नो पासपोर्टको फोटोकपी र फाउण्ड्रीमा काम गरेको कच्चा निस्सा हात परेको थियो । तिनै कागजात च्यापेर मुरली मकहाँ न्याय माग्न आएको थियो । उसलाई आफ्नो मामाको छोराको नामबाहेक अरु कसैको नाम, ठाम केही थाहा थिएन ।

फाउण्ड्रीको मालिक भन्थ्यो –
“मैले भिसा प्रोसेस गरिराखेको छु ।”
“यसले कामै गर्न छाडिसक्यो म आफ्नो पैसा नउठाइ यसलाई त्यसै कहाँ छाड्छु ! यसले आफ्नै इच्छाले कन्ट्राक्ट्मा सही गरेको छ ।”
मुरली भन्थ्यो –
“मलाई करबलले सही गरायो त्यो अर्बाबले ! केही कागज दिएको पनि छैन, टाइममा तलब पनि दिँदैन । मेरो सेक्रेटरी र उसको गलफती अनि मुरलीको एकोहोरो रर्टाई सुन्दासुन्दा म आजित भइसकेको थिएँ । आफूले गर्न सक्ने एउटै उपाय थियो – औपचारिक उजुरी ! उजुरीपत्रको प्रतिलिपि आफ्नो बर्ुर्सटको खल्तीमा घुसारेर हिँडेपछि मुरलीधर मकहाँ आएन । हामीले सम्झयौँ – मुरलीधर मामिला सल्टिएछ ! तर हिजो एक्कासि खबर आयो – एउटा नेपाली एक हप्ता अगाडि ट्रकले किचेर मरेछ !

आज उसको पासपोर्ट र अरू कागजात मेरो टेबुल अगाडि असरल्ल छन् । म एकपटक मुरली र एकपटक उसको बाबुलाई सम्झन्छु । मलाई लाग्छ – मुरलीको दुर्घटना र उसको मृत्यु कुनै दुर्घटना होइन, बरु एउटा नियति हो, त्यो पनि अर्काले लेखिदिएको ! विधिको विडम्बना, अनि अनेकौं मुरलीधरहरूको एउटा व्यथा । आफ्नो माटो, आफ्नो गाउँ, आफ्नो देशभन्दा धेरै टाढा विदेशमा । म र मजस्ताले सुन्न र देख्न सक्ने तर निदान गर्न नसक्ने !

Acharya Prabha – Akalpaniya Nimantrana [Nepali Laghukatha]

सरोज र प्रकाश डाइनिङ्ग टेबुलमा राखिएका परिकारहरु बडो स्वादले भोजन गरिरहेका हुन्छन् । प्रकाशले एकथरिको मासुको परिकार सरोजको अगाडि सार्दै भन्छन् “यो परेवाको मासु चाख त मेरी श्रीमतिले बडो मीठो गरि पकाएकि छिन् । ”

सरोज अनायास झस्किन्छ । अनि प्रश्न गर्छ “पकाश, कहाँबाट ल्यायौ त परेवा?” प्रकाश ठट्टाको साथ जवाफ दिन्छ “ख्वै? कुन धर्मात्माले के को भाकल गरेर परेवालाई पूजाआजा गरि रातो अविरको टिका लगाएर उडाएको रहेछ । कहाँबाट कसरी मेरो कौशीमा बस्न आएछ । यसो छेउमा गएको त भागेन, अनि मैले समातेर किन यसको स्वाद नलिउँ त भनेर मारिवरी श्रीमतिलाई पकाउन लगाएँ । यसै खुशीमा तिमिलाईपनि बोलाई हालेको नि । खाउ न मीठो छ । मलाई त परेवाको मासु असाध्य मीठो लाग्छ ।” यतिका गफ चुट्दै प्रकाश मासुको टुक्रा चपाउनमा व्यस्त हुन्छ । सरोज भने प्रकाशको शब्दहरुले किँकर्तव्यविमूढ बन्छ । उसलाई त्यो मासुको भाँडो नै आफुबाट टाढा हुँईक्याई दिउँ जस्तो लाग्छ । उसलाई एक पलपनि त्यहाँ बसेर अरु गाँस मुखमा लगाउन पटक्क ईक्षा हुँदैन । उ विचलित बन्छ । सरोज अनायास गम्भिर भएको देखेर प्रकाशले पुनः प्रश्न गर्छ “सरोज, के भयो ? तिमि अचानक गम्भिर भयौ । तिमिलाई परेवाको मासु मन पर्दैन ?”

प्रकाशको यस प्रश्नले सरोज अनुत्तरित बन्छ । उसलाई दिक्क लाग्छ किनकि यहि परेवालाई उसले बिहानमात्र देशको शान्तीकोलागी कामना गरेर पूजा आजा गरि उडाएको थियो । उ पश्चातापमा पर्छ अनि मान्छेको जातलाई धिक्कार्छ । जसलाई शान्तीको प्रतिक मानेर पूजा गरिन्छ उसैको मासु जिब्रोमा फडकार्दै स्वादिष्ट मानेर खाईन्छ । यो कस्तो बिडम्बना, उ अन्यौलमा पर्छ । उठेर भागुँ या साथीको निम्ता स्विकारुँ ? यत्तिकैमा उसको मोबाईलको घण्टि बज्छ । फोन रिसिभ गर्दा एक अप्रत्यासित घटनाको खबर आउँछ । दुई पार्टीबीचको झगडामा पाँचजनाको मृत्यू र ति मध्ये एक सरोजको आफ्नै भाई परेको खबरले सरोज अवाक् बन्छ र प्रकाशलाई खबरको वृत्तान्त नभनि हत्तारिँदै बाहिर निस्कन्छ ।