Ramesh Bikal – Bhid Sangai Hindi Raheko Euta Manchhe

रमेश विकल – भीडसँगै हिंडिरहेको एउटा मान्छे
(रचना द्वैमासिक)

भीड लगातार अगाडि बढिरहेको थियो । ऊ पनि भीडसँगसँगै हिंडिरहेको थियो । सँगै हिंडिरहेको एउटा साथीले सोध्यो – “होइन, तँ हामी (भीड) सँग छस् कि छैनस् – ”

“तिमीहरूसँग नभएर कहाँ छु त म – … तिमीहरूसँगै त हिंडिरहेको छु म ।” – उसले जवाफ दियो तर साथीलाई चित्त बुझेन । उसले भन्यो – “तर म तँ लाई त हिंडिरहेको देख्तिन । तेरा गोडा मात्र हिंडिरहेको देख्छु म, तेरो मन कहाँ हिंडिरहेको छ र हामीसँग”

“हिंड्ने त गोडैले हो नि ! तिमीहरू पनि गोडैले त हिंडिरहेका छौ नि, होइन र <” उसले हाँसेर जवाफ दियो । तर सँगै हिंडिरहेको अर्को साथीले भन्यो – “होइन, कहिलेकाहीं गोडा र मन छुटाछुट्टै हिंड्छन् । मन त स्वतन्त्र हुन्छ । गोडाले हिड्दैमा ऊ पनि सँगै हिंड्छ भन्ने छैन ।”

“तर मन नहिंडी गोडामात्र त हिंड्नै सक्तैन । शरीरका सबै इन्द्रियलाई हिंडाउने त ‘मन’ नै होइन र <” – उसले गम्भीर भएर, तर हाँसेकै छन्दमा भन्यो । भीड हिडिरहेको थियो । ऊ पनि सँगै हिंडिरहेको थियो । भीडको माझबाट एउटा प्रश्न उठेर आकाशभरि फैलियो – “तर हामी कहाँ जाँदै छौं <”

“तत्काललाई त हामी खुला मञ्चमा जाँदैछौं । त्यहाँ हाम्रा नेताहरूले हामीलाई ‘नेतृत्व’ (मार्गदर्शन) दिंदैछन् । त्यहाँ आज पचासौं लाख जनता जम्मा हुन्छन् ।” – भीड बाटै अर्को आवाज उठ्यो । तर कुनै अर्कोले कुरा काट्यो – “होइन खुलामञ्चमा त्यत्रो – पचासौं लाख मानिस अटाउने ठाउँ कहाँ छ र <”

“आजलाई अटाउँछ; अटाउनै पर्छ । आजको यत्रो अभूतपूर्व ऐतिहासिक दिन ।” – पहिलोले जोडदार स्वरमा भन्यो । त्यत्तिकैमा भीडका अगिल्लो खण्ड खुला मञ्चमा पुगेर फैलियो । यो मञ्च मुलुकभरिका प्रमुख प्रमुख सहरहरूमा थियो । मञ्चमा ठूलाठूला नेताहरूको भाषण चलिरहेको थियो । भीडको वैरिने क्रम जारी थियो । कहाँबाट मात्र वैरिएका होलान् त यी मान्छेहरू सलहका बथान सरह ।

भव्य सजिएको मञ्चमा नेताहरूको बेग्लै भीड थियो । वक्ता नेता कुर्लिई कुर्लिई भाषण गरिरहेका थिए । त्यसलाई लक्ष्य गर्दै भीडबाट एउटा तीखो प्रश्न फैलियो । “नेताज्यू तपाईंहरू हामीलाई कता लाँदैहुनुहुन्छ – गन्तव्य के हो तपाईंहरूको <“बोलिरहेको नेता अलि अकमकियो । उसले आफू नजिकको अर्को नेतासँग कानेखुशी गर्‍यो । अनि भीडको प्रश्नतिर प्रतिप्रश्न हुर्र्‍यायो -“तपाईंहरू कहाँ जान चाहनुहुन्छ < किन भने तपाईंहरू सार्वभौमसत्ता सम्पन्न जनता ! जनताको इच्छा नै सर्वोपरि हुन्छ । जनता समूह हो – विश्वरूप हो भगवानको । समूहको (विश्वरूपको) इच्छा सामू व्यक्ति -नेता दल, पार्टीको इच्छाको केही मूल्य हुँदैन । भन्नोस् तपाईंहरू कहाँ जान चाहनुहुन्छ <”

“हामी प्रजातन्त्र पुनर्वहालीमा जान चाहन्छौं । हामी त्यहीं जान भनेर यत्रो लाठी मुङ्ग्री गोली खाएर आएका हुँ । – भीडमाझबाट एकजना बलिष्ठ युवक उठेर रोबदार आवाजमा भन्यो -मानौ ऊ नै यो सम्पूर्ण भीडको एक मात्र प्रतिनिधि हो । बोल्ने नेताले पनि आकाशतिर भालाजस्तो चोरी औंलो ठडयाएर भन्यो – “हो मैले तपाईहरूलाई त्यहीं लान ल्याएको । हामी लगभग त्यहाँ पुग्दैछौं । त्यसको पूवार्ध भेटिसकेका छौं । त्यसको पूर्व स्वरूप पुनर्जीवित भएर उभिइसकेको छ ! प्रतिगमनको शक्तिले हात खुट्टा छोडिसकेको छ ।” अब यसको उत्तर्रार्ध पूर्ण स्वरूपको भएर आउनु मात्र बाँकी छ । ”

यो नेता अगाडि अरू कोही बोल्न खोज्दै थियो, तर अर्को माइक्रो फोन अगाडि उभिएको नेताले उसलाई बोल्ने अवसर नदिएर भन्यो – “तर हामीले तपाईंहरूलाई लोकतन्त्रमा लान भनेर पो ल्याएका । हामी त्यहीं लान्छौं ‘राजा’ शब्दसँग अन्योन्याश्रति (राजाप्रजा) रहेको ‘प्रजातन्त्र’ धनी वर्गको विलासको साधन हो । हामीलाई धनको प्रभुत्वमा चल्ने प्रजातन्त्र होइन जनताको लोकतन्त्रमा जानु छ । ”

“तर लोकतन्त्र त हाम्रो एजेण्डामै छैन ।” – मञ्चको एउटा कुनामा खुम्चिएको अर्को नेताको स्वर उठ्न खोज्यो – “संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र (पुरानो संसद) को पुनर्जीवन ।” यहीं पुग्न त हिंडेका हौं हामी । अहिले फेरि कुरा फेर्नु त भएन नि ।”

“कुरा फेर्ने नफेर्ने मूल मुद्दा होइन । नेपाली जनता ‘राजा’ सँग अन्योन्याश्रित भएर टाँस्सिएको ‘प्रजा’ (राजा-प्रजा) तन्त्रमा जान होइन शुद्ध जनता (लोक)को सम्पत्ति ‘लोक तन्त्र’मा जान भनेर हिंडेको हो । त्यसैले दलहरूको एजेण्डामा छैन भने राख्नु पर्‍यो । कुनै एजेण्डाले बनाएको होइन लोक ! लोक (जनता)ले बनाएको हो एजेण्डा । ” – अपार भीडबाट तुमुल ध्वनि निस्कियो अनि मञ्चमा कुर्लिइ रहेका नेतागण पनि जोस्सिए । एउटा नेताले माइकबाटै चर्को आवाजमा नारा लगायो – “लोक तन्त्र !” “जिन्दावाद ! जिन्दावाद !!” – आँखाले भेटुञ्जेलसम्म मञ्च अगाडि अपार भीडको आकाश भेदी प्रत्युत्तरले दिगन्त थर्कायो । तर मञ्चमा बसेका नेताहरूको भीडबाट एउटा नेताको चर्को स्वर जनसमूहको स्वरलाई उछिनेर माइकमा गुञ्जियो – “लोक तन्त्र मात्र होइन गणतन्त्रोन्मुख लोक तन्त्र ! हाम्रो अभियान त्यसै निम्ति हो ! त्यसैले हाम्रो अहिलेको नारा हो ! – गणतन्त्रोन्मुख लोकतन्त्र !

“हो हो हामी लोक तन्त्रमा मात्र अड्दैनौं । हाम्रो गन्तव्य गणतन्त्र हो ! हामी गणतन्त्रमा जान्छौं !” भीडबाट केही सशक्त आवाजहरू उठे । त्यस आवाजको संक्रामक लहर वायुमण्डलमा लहराउँदै मञ्चतिर बढ्दै मञ्चमा विराजमान सप्तदली नेता उपनेता गणहरूमा मतैक्य खलबलियो बोली चर्को स्वरमा साट्टियो । त्यो चर्को स्वरले पनि बढ्दै हल्लाको रूप लियो ! हल्ला खल्लाले विकसित हुँदै झगडाकै रूप लियो ।

“संवैधानिक राजतन्त्र हो हाम्रो परंपरा ।”

“संवैधानिक राजतन्त्र मात्र होइन संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र- हाम्रो माटो सुहाउँदो तन्त्र संविधानले निर्दिष्ट गरेको तन्त्र ।”

“त्यो संविधान काम लाग्दैन अब ।”

“तर खारेज भएको छैन अझै सबै काम यसै अन्तरगत भैरहेका छन् ।”

“खारेज भैसकेको छ – जनताको मतले । नभएको भए गर्नुपर्छ । जनचाहना यही छ । संविधान सभा त्यसै कारणले ।”

“तर हाम्रो संविधान विश्वमा उत्कृष्ट संविधान ! सबैले भनेका । हामीले पनि मुक्त कण्ठले प्रशंशा गर्दै आएका । ”

“एउटै कुरा सधैं उत्कृष्ट रहिरहन्न; सधैं निकृष्ट पनि रहँदैन । सबै कुरा समय सापेक्ष हुन्छ । आजको हाम्रो माग अर्को संविधान ! संविधानसभा !”

“संविधानसभा अनि गणतन्त्र !”

“होइन, गणतन्त्रमा जाने बेला भएको छैन । हाम्रो देशले थाम्न सक्तैन त्यो । हाम्रा लागि लोक तन्त्र नै ठीक हुन्छ । ।”

“यो सोच प्रतिगामी सोच हो, देश र समाजको गति अवरुद्ध गर्ने । गणतन्त्रोन्मुख लोकतन्त्र नभै समाज देशले एक पाइला पनि अगि बढाउन सक्तैन । त्यसैले …. ”

“त्यसैले सीधा गणतन्त्र ।” – एउटा रोवीलो नेताले पहिलोको हातबाट माइक्रोफोन खोस्तै उच्च स्वरमा घोषणा गर्‍यो । “एकै फट्कोमा पुगिने ठाउँमा बीच बीच बेकारका अल्झोमा अल्झिएर ढिलाइ गर्नु प्रतिगमनको लक्षण हो । … प्रति क्रान्तिलाई मौका दिनु हो ।”

“होइन, यो व्यावहारिकता हो, सतर्कता हो, पोल्दा पोल्दैको भात नफुकी मुखमा हाल्दा जिब्रो डामिन्छ । यो मुखले मात्र गर्छ । मूर्खता प्रतिगमनको कारक हुन्छ ।”

“कसलाई भन्नुभो तपाईंले मूर्ख – ” – एउटा उपनेता जुरुक्क उठेर उग्र स्वरमा करायो । पहिले बोल्नेले पनि त्यस्तै ठाडो स्वरमा जवाफ दियो – “तपाईं आफैंलाई सम्झनु हुन्छ भने तपाईंलाई नै । मेरो विचारमा यस्तो प्रतिगामी प्रतिकृयावादी सोच राख्ने जति सबै मूर्ख – इतिहास नबुझने, समयको दिशासङ्केत नबुझने, राजनीति नै नबुझने स्वाँठ हो । हाम्रो लक्ष सीधा गणतन्त्र हो । ”

“होइन, त्यो हाम्रो माटोमा जन्मिएको होइन । …. हाम्रो आफ्नो त प्रजातन्त्र हो । हाम्रो परिचित ।”

“प्रजातन्त्र मात्र भन्नु धोका हो । लोकतन्त्रनै समाजका लागि उपयोगी हो ।”

मंचको हल्ला तीब्र हुन्छ । माइक खोसाखोसले मेच भाँचाभाँच । गाली गरागरको रूप लिन्छ । यो रोग संक्रामक हुँदै मञ्चमुनिको अपार भीडमा फैलियो । त्यहाँ पनि प्रत्येक मानिस प्रत्येक समूह, प्रत्येक गूट आफ्नो आफ्नो वर्चस्व कायम गर्न धक्कामुक्की गर्दै, एक अर्काको काँधमा चढ्दै अर्काको भन्दा आफ्नो स्वरलाई उग्र चर्को तुल्याउँदै, आफ्नो रुचि, आफ्नो अभीष्ट अनुरूप दिगन्त थर्काउँदै आकाशको छाती चिर्ने गरी नारा लगाउनथाले; लाखौं अन्धा मुक्काहरूले आकाशको छातीमा प्रहार गर्न थाले – “ईन्कलाब – जिन्दावाद !”

“प्रजातन्त्र – जिन्दावाद, जिन्दावाद !”

“लोक तन्त्र – जिन्दावाद, जिन्दावाद !”

“गणतन्त्रोन्मुख लोकतन्त्र – जिन्दावाद, जिन्दावाद !”

“जन-गणतन्त्र- लोकतन्त्र – जिन्दावाद, जिन्दावाद !”

त्यसै बेला त्यहाँ एउटा भीडबाट विचित्र नौलो दृश्य देखियो ! नौलो स्वर नौलो आवाज गुँजियो । एउटा मान्छे बीर अस्पतालको माथिल्लो वरण्डामा उक्लिएर घनगर्जन स्वरमा घोषणा गर्दैथियो :–

“मान्छे – मूर्दावाद ! मूर्दावाद !!”

“मानवतन्त्र – मूर्दावाद ! मूर्दावाद !!”

त्यो त्यही शुरुदेखि भीड सँगसँगै एक्लो हिडिरहेको मान्छे थियो ।

२०६३ जेठ १६

Krishna Dev Rimal – Antim Malami

कृष्णदेव रिमाल – अन्तिम मलामी

यतिखेर कसैले सोधेमा मैले आफू मलामी भएको परिचय दिनै पर्ने हुन्छ । मेरो अगाडि चिता दन्किरहेको छ । दागबत्ती दिनुभन्दा पहिले मूढाहरूको चाङमाथि शव सुताइएको थियो । मृतकका छोरा रमेश शोकाकूल थिए , विह्वल थिए । अनिवार्य नियतिलाई भोग्न बाध्य थिए र सो भोग्दै थिए । बत्ती लिएर तीन पटक लडखडाउँदै चितामाथिको शव घुमेपछि टक्क रोकिए रमेश । संस्कार—निर्देशकहरूको निर्देशन नसुनेर होइन, मन सुन्निएर तन नचल्नाले मात्र हो । रमेश एकोहोरो टोलाइरहे । मनको आँखाले जिउँदा बालाई पो देख्न थाले । पुरोहितको दोस्रो आज्ञा आएपछि झस्किएर उनी हल्लिए र हत्पतिए झैं गरेर बाबुको मुखमा दाग नामधारी बत्ती झोसे । कपूर,घिऊ, तुलसीको डाँठ,पराल अनि मसीनु पारेर चिरिएको समिधा हुँदै काला टुप्पा भएका पँहेला आगाका लप्काहरू यमानका मूढाहरूतिर सल्कँदै गयो । आगाको अघोर दन्काइभित्र शव अदृष्य हुँदै गयो । रमेश आँखा चिम्म पारेर आकाशतिर फर्किए । सन्नाटामय रातमा सबै मलामीहरू मसँगै रमेशका दायाँ बायाँ बसेर दृश्य दन्काउँदै थिए । रमेश आकाशतर्फ फर्किएपछि म पनि आकाश हेर्न थालेँ ।

शुक्ल द्वादशीको वृत्ताकारोन्मुख चन्द्रमा चिताको ठीक माथिको आकाशबाट आर्यघाटीय कृत्यानन्द लुटिरहेथ्यो । चन्द्रमाको छेवैमा एउटा गजवको तारा आफैंलाई सजाएर चम्किरहेको थियो । बाँकी आकाश कालो थियो । मर्नेहरू तारा बन्छन् भन्ने कथा सुनेको थिएँ । त्यो एक्ले ताराले मलाई कस्तो कस्तो बनायो । रमेशलाई तारा देखाउँ देखाउँ लागेर आयो तर यस युगमा यस्ता कुराले उनको आहत घट्ला भन्नेमा आफैँ अविश्वस्त भएँ र देखाउन सकिन ।

केही घण्टा अघि शिवपुरी लेक वर्षामय थियो । अहिले उर्लिरहेको वागमतीले सोको पुष्टि गरिरहेछ । आज वागमतीमा ढलको दुर्गन्ध छैन बरु पाँगो माटोको सुगन्ध आइरहेछ । हज्जारौँ घनमिटर माटो पानीसँग लुटपुटिएर बंगालको यात्रा तय गर्दैछ । वास्तवमा वागमती उर्लिएकै दिन त हो नि काठमाण्डु सफा हुने । हरेक सालको वर्षाले यस उपत्यकाको सभ्यतामा उर्जा थप्ने गरेको छ । सो आज पनि थपिएको भान भैरहेछ ।

वागमती नदी मानवको पर्याय झैँ पो लाग्छ त आजकल । साँच्चै दुबै उस्तै छन् । कुशासनको ढल मानव जीवन माथि छङ्छङी खसालिएका बखत ढलाम्य वागमती भन्दा मानव जीवन कति पो टाढा बोध हुन्छ र । अहो, आज वागमतीमा ढलको दुर्गन्ध छैन ! केवल धमिलो पानी बग्दैछ । वागमती ठूलो छ आज, त्यसैले ढलहले छोप्न सक्या छैन बरु अदृश्य भएका छन् तिनिहरूनै । मैले मनमनै भनें– चार दिनको चाँदनी फेरि अँधेरी रात नभैदिउन् वागमती त्यसैगरी, जसरी जनआन्दोलनका भेलहरूले भत्काएका अव्यवस्थाका पर्खालहरू मुटुको शूल बनेर नठडियून् जनजिन्दगीहरूमा ।

म ढलनगरस्थित कल्पनाकोठीमा घुिमरहँदा पुरोहितले म नजिकै बसेका रमेशलाई बोलाए । म झसङ्ग भएँ । रमेश चिता नजिकै पुगे । अलिकति चामल,जौ,तिल कुश अनि एउटा टिलो बाबुको चिता नजिकैको भुईँमा चढाए । अलिकता जल पनि चढाए । फर्केर मनेरै आएर बसे रमेश ।

पाटीको टुँडालमा एउटा बाँदर सुतिरहेको थियो । चिताको तातोमा ऊ आह्लादित झैँ लाग्थ्यो ।ऊ एक्कासी थाम हुँदै सुलुत्त तल झ¥यो । चिता नजिकै गएर टप्पाटपी चामल टिपेर खान थाल्यो । ऊ असाध्यै खुसी देखिन्थ्यो ।उसले मानिसलाई उपकारी प्राणी सम्झेझैँ लाग्थ्यो ।अनुग्रह मिश्रित आँखाले पुलुक्क मलामीको लामतिर हे¥यो । मलामीको मौनताले उसलाई अझै हौस्यायो अनि ढुक्कसँग पेटभरी चामल खायो । सिनित्तै पारेर चामल ननिखारेसम्म ऊ चनाखो भएर खाईरह्यो ।सकिएपछि फेरी टुँडालमै गएर मजाले सुत्यो ।यसरी लाशको आशमा टुँडाल कुर्ने अनि चिताको रापमा अलमस्त सुत्ने यस्ता बाँदरहरु यस देशमा कति होलान् भन्ने चिन्ताले म खग्रास भएँ ।

वाग्मतीपारी एउटा भजनटोली शिव आरतिमा तन्मय देखिन्छ ।शंकराचार्यकृत शिवस्तोत्र, रावणकृत शिवस्तोत्र र अन्य शिव भजनहरु संगीत सहित गुञ्जीरहेका थिए ।साँच्चै भजन शान्तीकारक अभिव्यक्ति रहेछ । साङ्गीतिक सघनताले पाशुपत क्षेत्रको आकाश घनिभूत भए झैँ अनुभव भइरहेथ्यो । आफन्त वियोगको पीडामय क्षणमा समेत संगीतले राहत पस्कँदो रहेछ । नत्र त रमेश बेला बेला चिताबाट ध्यान झिकेर पारी संगीत टोलमा नपु¥याउँदा हुन् नि । आफन्त वियोग र संगीत सामिप्यताको बिच सायद कुनै अन्योन्याश्रीत संबन्ध पो छ कि ।

अलिपरको एउटा अर्को चिताबाट बियोगपिडा विभुभर मडारियो ।नारी चित्कारहरु हाम्रा कानैसम्म आइपुग्यो । अरण्य रोदनको आवाजले अनायास म थाहै नपाइ उतै खिंचिएछु । चारवटी महिला मुख जोडेर अँगालामा बाँधिएर रुँदै थिए । रोदन मिश्रित आवाजहरु उति बुझिएनन् । अभिब्यक्त विरह नेपाल भाषामा भएकोले पनि कम बुझिएको हुन सक्छ । “ए माँ जित त्वता छाय् वना, जी गथे याना म्वाना च्वने ।” यस्तै थिए पिडाका स्वरहरु ।

जाने गैगए यसरि नरोए हुने नि । मेरो मनले अघिनै देखि भनेको कुरा यतिखेर प्वाक्क मुखबाटै निस्केछ । सुनेपछि एकजना मित्र मलामीले प्रतिक्रिया जनाइहाले । हम दो हमारे दो भन्ने कुरा बुझेका मान्छे यसरी रुँदैनन् ।

यो त भारतिय परिवार नियोजनको नारा जस्तो पो छ । नेपालीमा पनि यस्तै नारा छ — हामी दुई हाम्रा दुई । मैले प्रतिक्रिया जनाएँ ।

मित्र मलामी—त्यो त प्रष्टै छ नि ।

म —अनि अप्रष्ट चैँ के छ त ?

मित्र मलामी —यसको लाक्षणिक अर्थ छ ।

म —???

मित्र मलामी —’हम दो भनेको आत्मा र परमात्मा, हमारे दो’ भनेको शरीर र संसार । परमात्माको एक अणु आत्मा हो । हरेक आत्माहरु परम् आत्माबाट स्खलीत बुँदहरु हुन् जो पुनः परम् आत्मामा एकाकार हुन्छन् । आत्माको स्खलन आधार शरीर हो । शरीर सांसारीक भौतिक बस्तुहरुबाट निर्मित छ । यस अर्थमा संसारबाट स्खलित शुक्ष्म इकाइ शरीरहरु हुन् , जो पुनः परम् संसारमा एकाकार हुन्छ । आमा जीबको छातिमा बच्चाजीब खेलेजस्तै संसारको छातिमा शरीर रङमङीन्छ र समय भएपछि त्यही संसारमा मिल्न जान्छ ।

चिता पखाल्ने बेला भो । मृत शरीर खरानी बनेर वाग्मतीमा बग्यो । त्यही चितामा भर्खर सुताईएको भर्भराउँदो अनुहार भएको शव अब छैन । चीता उजाड छ । सबै मलामी फर्के म पनि फर्केँ । बाटाभरी अनेक तर्कनाहरु ज्वार झैँ उर्लिएको मन बोकेर हिडिरहेँ । स्वास्थ बजेटहरुको मलाम जान पाए हुन्थ्यो । किन यसरि उपचार नपाएका असामयिक मृत्युहरुको मलाम जान परिरहेछ । जीवनजलको कमिशन खानेहरुका मलाम जान पाए हुन्थ्यो । किन यसरि झाडापखालाको कारण मर्नेहरुको मलाम जान परिरहेछ । कुशाशनको मलाम जान पाए हुन्थ्यो । किन यसरि सभ्यताहरुको मलाम जान परिरहेछ ।

म घर आइपुगेको छु । मलामीको परिचय सकिनु पर्ने हो मबाट तर मलामीबोध अझै हटेन । रातभरी मलामी गैरहेछु जस्तो लाग्छ । कैले शुशाशनको मलामी जाँदैछु झैँ लाग्छ कैले सभ्यता मुर्दा भैmँ बाँधिएर मेरो अघि अघि चितातिर गैरहेछ जस्तो लाग्छ । हे मेरा मित्र मलामीहरु मलाइ अझै मलामी जान मन छ । एक पटक फेरि सबै मलामी जाउँ । एकैचोटी थुप्रै लाशहरु बोकेर मलामी जाउँ । अशिक्षाको हत्या गरौं र त्यसकै मलामी जाउँ । अविकाशको हत्या गरौँ र त्यसको मलामी जाउँ । अन्धकारको हत्या गरौँ र त्यसको मलामी जाउँ । समग्र कुशाशनको हत्या गरौँ अनि विजयोत्सव मनाउँदै त्यसकै मलामी जाउँ । आउनोस मित्रहरु म अघि लाग्न किञ्चित र किमार्थ हिच्किचाउँदिन । अव हामी अन्तिम मलामी जाउँ । हो अन्तिम मलामी जाउँ ।

Kusum Gyawali – Ekata Nagara (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – एकता नगर (लघु कथा)

ढुङ्गे युगमा पशुपंक्षी, मानव सबैको आपसमा खुबै झगडा परिरहन्थ्यो, एक-अर्कोबीच मारामार परिहन्थ्यो ।
मान्छेको बस्ती देखेपछि जनावर डराउँथे, बाघहरुको ओडार देखिपछि मान्छे डराउँथे । एक-अर्काबीचमा सधैँ तनाव भइरहन्थ्यो ।

यसरी एकै जङ्गलमा तनाबीच बाँच्नुपर्दा सबैलाई दिक्क लागेको थियो । बाघले प्रस्ताव राख्यो ‘कस्ले कसैलाई भेदभाव नगरौँ, के कुकुर, के भेँडा, के घोडा सबै मिलेर बसौं, तेरो-मेरोको विभाजन नगरौं, मारामार नगरौं ।

सबैको मत मिल्यो । सबैले नयाँ नगर बनाए । उक्त एकता नगरमा हात्तिले ठूलाठूला रुख ओसारेर ल्यो । बाघले नङ्ग्राले कलात्मक बुट्टा हाल्यो । यसरी आ-आफूले जानेको काम गरेर एउटा सुन्दर नगर बन्यो । उक्त नगरको काम सबैले मिलिजुली गर्न थाले ।

मान्छेले अन्न उत्पादनमा ध्यान दियो । बाघले पशुपालनमा जोड दियो । यसरी मांसहारीले प्रशस्त पशुहरुलाई खाँदा ती पशुभित्र असन्तुष्टि देखा पर्दै गयो । तर आफ्ना कारणले एकता नगर नभत्कोस् भनेर कोही बोलेनन् ।

प्रशस्त खेतीको सम्भावना बढेपछि मान्छेले एकता नगरको अझ उन्नतिका लागि भनेर मतसङ्ग्रहको नाटक रचेर पुनः नगरमा विभाजनको रेखा कोर्‍यो ।

आज नगर उस्तै भताभुङ्ग र लथालिङ्ग भएको छ । तर पनि मांसहारी र शाकाहारी प्राणी बीचमा एकताका कुरा अझै पनि ती मान्छेहरु नै गर्दैछन् ।

Kusum Gyawali – Shahid Le Birseko Gaun

शहीदले बिर्सेको गाउँ

भीरमुनि खोरियामा आइपुग्दा जिपको टायर पञ्चर भयो । झमक्क साँझ परिसकेको थियो । परपरसम्म कतै घर नदेखेपछि म उकालो लागेँ । एक त भरखर-भरखर मोटाएको मान्छे, त्यसमाथि नयाँ गाडी किनेदेखि हिँड्न भनेपछि मरेतुल्य हुन्छु । एउटा झुप्रोमा पिलपिले बत्ती देखेर बोलाएँ ।
“आमा, भित्र को हुनुहुन्छ ?”
“छोरा आइस्, बाबू !” बुढी आमा भित्रबाट बोलिन् । असी हिउँद काटेकी बूढी आमा हातमा मलिन टुकी लिएर बाहिर आइन् । नियालेर हेरिन् । बरर आँसु झारेर भनिन् -“म त छोरो आएछ भनेर झुक्किएँ !”
“बास पाइन्छ आमा ?”
“बास किन नपाउनु आफ्नै छोराजस्तो नानीलाई । छाप्रो नछाएको दुई वर्ष भयो । पानी चुहिन्छ, श्राप नदिए है यो बूढीलाई मर्ने बेलामा । नानी मसँग यही बासी मकैको रोटी छ । नमिठो छ कसरी निल्छौं रु तर अलिकति भए पनि खाऊ है नानी, साँझको पाउनो, यो बूढीलाई पापमा नपार है !”
“छोरो कहाँ गएको नि आमा ?” मैले कुरा झिकेँ ।
“जुलुस उठ्ने बर्षमेरो लुरे पल्ला गाउँका मास्टर नानीसँग देश गएको फर्केन नानी ! मलाई बिस्र्यो । तिम्लाई देखेर मास्टर नानीको झझल्को आयो । मास्टर नानी पनि सहराँ ठूला मान्छे भा’का छन् रे । उनी दुब्ला पातला थिए, तिमी मोटा छौं । उनी देश जन्ता के के जातिका कुरा गर्थे । उनी शीर ठाडो पारेर हिँड्थे । तिमी टाउको झुकाएर कुरा गर्र्छौ । फरक यति हो ।”
म चुपचाप सुनिरहेँ, बढी आमा भन्दै गइन् ।
“भोलि त तिमी सहराँ जान्छौं । मेरो लुरेलाई भेटेर मेरो खबर भने है नानी ! मर्ने बेलामा एकपल्ट लुरेको मुख हेर्ने धोको छ । मेरो लुरेले सहराँ ठूलो मान पा’को छ रे ! राजाभन्दा पनि ठूलो मान ! थाहा छ नानी, शहीद भएको छ रे मेरो छोरा १ पोहोरसालबाट महिनाको आठ बीस रुप्पे पठाइदिन्छ प्रधानपञ्च नानीको हात । लुरेका बाबु मुग्लान भासिएपछि घरबारी साहुले बन्धक खायो । त्यो निखन्न महिनाको पाँच बीस रुप्पेंले पुग्छ त नानी ? आमाको मुख हेर्न एकपल्ट त घर र्फकन पर्छ नि ! म भने बाटो हेरेर आशामा बाँचेकी छु । छाप्राको दुःख लुरेले बिर्से जस्तो छ नानी, लुरेलाई सम्झाइ दिए है ! पैसा र मानको अभिमानले आमाको आँसुको अपमान गर्‍यो भने समयले नराम्रो दण्ड दिन्छ ”
ङ्गङ्गङ्ग
म बिहान झिसमिसेमा ओरालो लागेँ । असी बर्षो बूढा आँखाले आफ्ना अगाडीका मास्टर नानीलाई ठम्याउन सकेनन । कठै बूढी आमा कहाँ हिजोको भूमिगत मास्टर, कहाँको आजको ठूलो पार्टीको बिशिष्ठ नेता तथा सांसद ! मलाई शहीदकी आमाको वेदनाले र सहयात्री लुरेको सम्झनाले पोलिरहृयो, बिझाइरहृयो निरन्तर निरन्तर।

Din Man Gurmachhan – Tyo Raat

दिनमान गुर्मछान ‘दिगु’ – त्यो रात
(Source: मधुपर्क २०६७ असोज)

रात छिप्पिदो थियो सायद चुक घोप्टिएझैँ गरी । तपाईंको कोलाहलमय सहरमा वल्ल ध्वनि प्रदूषणको मत्थरताले स्थान पाउँदै थियो होला । हो त्यहीँ समय एकादेशको कुनै सहरको एक कुटीमा मलाई छिटो पुग्नु थियो ।

सडक अलपत्र त्यही भुइँमा असरल्ल अस्तव्यस्त लडिरहेको थियो । त्यही माथि म आफूलाई बिना सङ्कोच डोर्‍याइरहेको थिएँ । सडक नापिरहेको थिएँ या जिन्दगीको नाप लिँदै छोट्याइरहेको थिएँ । जे होस् यो निष्पट अँध्यारोमा गन्तव्यतिरै पाइला बढेको थियो । गल्लीका कुकुरहरू घरिघरि रातको चकमन्नता चिर्दै भुक्ने गर्थे । कुनै बेला त्यसको भुकाइ डरलाग्दो पनि हुन्थ्यो । लाग्थ्यो सुतिरहेका आत्माहरूलाई ब्यूँझाइरहेको छ, केही भनिरहेको छ-कति सुत्छौ, अब त उठ ।

मन ढक्क भएर अडियो, श्वास फुलेर आयो । अचानक डरले डेरा जमाइसकेकोझँै लाग्यो । मुटुले ठाउँ छोडिसकेको थियो । एउटा कालो छायाँ आफ्नै अगाडिबाट हिँडेको देखियो । पोथ्राइलो झाडीबाट निस्किएको छायाँ छेउ हुँदै मध्यसडकमा फुत्त हिँडेको आफ्नै आँखाले देख्दा गोडा लगलग कामेको थाहा पाएँ ।

म जहाँको त्यहीँ अडिएँ ।

”थुक्क !” आफैँलाई हकार्न मन लाग्यो । आफँैप्रति हाँसो पनि उठ्यो । जाबो एउटा कुकुरदेखि पनि डराउने त लाछी, डरछेरुवा रहेछस्, मनमनै आफँैलाई गाली गरेँ । कुकुरको छायाँ हिँडेको थियो त्यो, पल्लो पट्टीबाट प्रकाशको कारणले छायाँ सडकमा परेको थियो ।

मनमनै हाँसो पनि उठ्यो । खुल्ला आकाश, शान्त वातावरण र सडकमा एक्लो यात्री म मात्र थिएँ । अलिकति थियो त शरीरमा अलकोहलको धङधङी ।

आफँैलाई गिज्याउँदै अँध्यारोमा पाइला अघि सार्दै रहेँ । परपर कुनै घरको सजावट र उज्यालो चहक पनि देखिन्थ्यो । त्यो रात्रि जीवनको समय कटाउने थलो हो भन्न सकिन्थ्यो । त्यहाँबाट प्रतिध्वनित सङ्गीतका धुन चर्को आवाजमा निस्किएको हुनुपर्छ, यहाँसम्म आउँदा मधुरो सुनिन्थ्यो । अर्धनग्न होर्डिङबोर्ड यहाँबाट पनि प्रस्टैसित नियाल्न सकिन्थ्यो ।

रात्रि यौन जीवनको रमाइलो क्षण त्यहीँ बिताउन पाइन्छ । काठमाडौँको रात्रि जीवन अचेल बडो सहज भएको छ ।

दिउँसोको समय बितिसकेपछि हामी साँझ पर्ने बेलामा भेट्टिएका थियौँ । हामीले मिटिङप्वाइन्ट घण्टाघरको जामे मार्केटमा रहेको पुस्तक पसललाई बनाएका थियौँ । -तपाईंलाई सम्भिmन गाह्रो भएन होला भन्ने मलाई लागेको छ, किनकि तपाई पनि कहिलेकाहीँ त्यहीँ पुस्तक पसलमा साहित्यिक कृति किन्दै गरेको कसैले त देखेकै होला ।) हो त्यहीँ हाम्रो भेट सधैँझैँ भएको थियो । मौसम हिमालयनको विरानो जङ्गलको एकान्तकुनामा मन्द चिसो भएजस्तै थियो । भर्खरै पानी परेर शान्त थियो । आकाश कुनै नवयौवनाको गोरो छात्ती खुल्ला भएझैँ विल्कुल नाङ्गो थियो । चिसोले शरीरको अङ्गअङ्गको नाप लिइरहेको जस्तो लाग्थ्यो ।

हामी बागबजारको एउटा होटलको कुनामा थियौँ । एकान्तताले यहाँ हामीलाई साथ दिइरहेको थियो ।

“चिसोमा जीउ तताउने काम यो वाहियात भूलमात्र हो । शरीरको तातोजस्तो त्यो मजा यसमा कहाँ ।” कमलले टेबलमा राखेको गिलास उठाउँदै भन्यो ।

कमलराज यौनका वाहियात कुरा उसको मुखबाट ओकल्दै थियो । यस्तो लाग्थ्यो ऊ रात्रि जीवन र स्त्रीका बारेमा सम्पूर्ण ज्ञान राख्दछ । मलाई शब्द-संयोजनमा निर्भिक राईको कविता छापिएको याद यति बेला आयो । यौन जति गोप्य राखियो त्यति नै खुला र भावनात्मक हुन्छ भन्ने धेय त्यस कविताको थियो । टुँडालको वास्तविकताबाट जो कोही जान्दछ त्यहाँ खुलापन छ र त त्यहाँ अश्लीलता छैन ।

जो कोही हेर्न सक्छन् । पढ्न सक्छन् ।

“यी आवश्यक कुरा होइनन्” विजयले कुरा अन्तै मोड्न चाहे । उसले जीवन र यथार्थता भोग्नु र झेल्नुमा अन्तर रहेका कुरा गरे । हिजोआजका प्रयोगसम्बन्धी धेरै जानकारी गराए ।

“हो, प्रयोग आवश्यक छ । प्रयोग यौनमा पनि आवश्यक छ । आजको दिनमा” कमल ऊर्जा थप्दै गिलासमा स्यानमिगल भर्दै थियो । हामी निक्कैबेरसम्म शान्त वातावरणको होटलको एक कुनामा गफिरहेका थियौं ।

त्यसबेला मलाई विजयको विजेता कथाको मुख्य पात्रको याद आइरहेको थियो । उसले भोग्नु परेको कुण्ठित यौन जीवनको पनि दृश्य आँखाभरि नाचिरहेको भान हुन्थ्यो ।

“च्याटमा यौन क्रियाकलाप गर्छन् हिजो आज” कमल मादकतामा हल्लिरहेको थियो । भन्दै थियो- “नयाँ प्रविधिको फाइदा र प्रयोग हो यो ।”

“म त भन्छु यौन शोषणको अर्को रूप र प्रयोग हो । स्त्रीहरू अब यसरी पनि शोषित र पीडित हुनेछन् । पुरुषले फाइदा लिइरहेको उनीहरूले पत्तो नै पाउँदैनन्” विजयले नयाँ थप कुरा भनिरहँदा मलाई विश्वप्रसिद्ध सुन्दरी क्लियोपेट्राको सम्झना भइरहेको थियो । जसले आफ्नो यौवनको जालमा धेरैलाई फसाएकी थिई र त्यसै यौवनको उन्मादले उसलाई डसेको थियो ।

होटलबाट निस्किँदा बाहिर अन्धकारले प्रभुत्व जमाउने सुरसार गरिसकेको थियो । बत्तीको उज्यालो कतैकतै थियो । सबै पसलहरू बन्द थिए । धेरैबेर बसेको थाहा पायौँ । अलकोहल शरीरको नशानशामा दौडिरहेको थियो ।

हामी छुट्टिएर आ-आफ्नो गुँड खोज्दै बाटो नाप्न लागिपर्‍यौँ ।

अन्धकार र सुनसान गल्ली हुँदै म आफ्नो कुटीको सामुन्ने पुगेँ । ढोका बन्द थियो । ढोकाले मलाई एकोहोरो हेरिरहेथ्यो । म भने यतिबेला भित्र पसिसकेको थिएँ । ढोका खोल्नै परेन ।

भित्र पस्नासाथ शरीर अनौठो किसिमले हल्का भएको महसुस हुन्थ्यो । खाना खाने मन भएन । कोठामा मधुरो उज्यालो फैलिएको थियो । शून्यता यहाँ व्याप्त थियो । यस घरमा म एक्लो छुजस्तो भान भइरहेको थियो । झ्यालहरू सबै ड्याम्मडुम्म बन्द थिए तर झ्याल बाहिरको दृश्य भने म देखिरहेको थिएँ । कस्तो आश्चर्य थियो भने बाहिरको अन्धकार सम्पूर्ण मेरो आँखा अघिल्तिर छर्लङ्ग थियो ।

अघिसम्म थकान अघ्घोरै लागेको थियो, जुन अहिले बिल्कुलै छैन । यो कस्तो जादू थियो ।

“आज मलाई के भएको छ” आफैँलाई मनभित्रै प्रश्न गर्छु । जवाफ केही छैन । म को हूँ भन्ने पनि बिर्सन खोजेझैँ हुन्छ ।

ओहो ! म त आखिर म नै हूँ । -सोच्छु ।

टेबलमा तस्बिरहरू ठडिएका छन् । मेरो आफ्नै तस्बिर छ, जहाँ एउटी सुन्दरी केटीको पनि फोटो छ । जुन मेरी श्रीमतीको हुनुपर्छ ।

“मलाई पर्खिरहेकी होली” अचानक केही याद आएझैँ भयो । वास्तवमा म मेरै घरभित्र थिएँ, त्यसैले कुनै द्विविधा थिएन मलाई आफ्नो शयनकक्षसम्म पुग्न । म आफ्नो घर यसैका लागि त्यति लामो बाटो काटेर आएको थिएँ ।

आफ्नो कोठामा पुग्नुअघि लगाइराखेको कपडा खोल्न मन लागेको थियो । सधैँ लुगा फुकालेर भित्ताको हृयाङ्गरमा झुण्ड्याउने गरेको थिएँ । कस्तो अचम्म त्यहाँ लुगा पहिलेदेखि नै झुण्डिएको थियो ।

त्यो मैले अहिले लगाइराखेकै लुगा झुण्डिरहेको थियो । मलाई चक्कर आएजस्तै भयो । मैले केही बुझ्न सकिरहेको थिइन ।

घटघटी पानी पिएँ, टेबलमा रहेको गिलास उठाएर पिएको थिएँ । त्यो वास्तवमा पानी थिएन ।

अलकोहलले ज्यादै नै लागेको महसुस हुन्थ्यो । म सरासर आफ्नो कोठाको ढोकामा पुगेँ । म लगत्तै कोठाभित्र पुगेँ । ढोका मैले खोल्नै परेन । त्यहाँ एकदमै मधुरो प्रकाश फैलिएको थियो । राति सधैँ सुत्दा रातो मधुरो बत्ती बाल्ने गथ्यौर्ं । त्यसैले पुष्पाले सुत्नु अघि नै यो बत्ती बालेर सुतेको हुनुपर्छ, मलाई यस्तै लाग्यो ।

यतिबेला म गञ्जी र अन्डरवेयरमा मात्र छु ।

तपाईं अनुमान लगाउन सक्नुहुन्छ । एउटा लोग्नेमान्छे आफ्नो कोठामा सुत्न गइरहेको छ, उसको हालत कस्तो हुन्छ ।

तर, यतिबेला म आश्चर्यको चरम विन्दुमा थिएँ । म, ..म यो के देखिरहेको थिएँ । मेरी श्रीमती पुष्पा जो अर्को पुरुषसित थिई । पलङमा रहेको ओछ्यान अहिले अस्तव्यस्त थियो । लाग्थ्यो यहाँ केहीबेर अघिमात्र ठूलै युद्ध मच्चिएको थियो ।

पुष्पाको शरीरमाथिको लुगाले उसका सम्पूर्ण अङ्गको सुरक्षा गरेको थिएन । उनी विलकुल अर्धनग्न देखिन्थिन । छातीको आधिभाग उदाङ्गो थियो । हिमालको उच्चतामा हिउँको उज्यालोजस्तो देखिन्थ्यो । केशराशी असरल्ल फिजिएको थियो जस्तो घना जङ्गलको बढ्दो विकराल झैं ।

म उसैलाई हेरिरहेको थिएँ । उसको त्यो मादक अङ्गलाई नियालिरहेको थिएँ । जसले मलाई उहिले मादकता दिन्थ्यो तर आज ममा त्यस्तो केही थिएन । यतिबेला मलाई विजय मल्लको कालो चश्माको याद आइरहेको थियो । त्यो कालो चश्मा उनले लगाएझैँ गरी म कसरी लगाउन सक्थे ?

अचानक मेरो नेत्र विजुली चम्किएसरी कुनै भ्रमको शिकार भएझैँ देखिन्थ्यो । म चुपचाप हेरिरहेको थिएँ । पलङछेउमै रहेको टेवलमा उभिएको प|mेमभित्रको मेरो फोटोले मलाई एकोहोरो घुरिरहेको थियो । म भने पलङमा मस्त मेरी पुष्पासँग सुतिरहेको भुसतिघ्रे शरीरलाई हेरिरहेको थिए । जुन मेरै शरीर थियो । अचम्म लाग्यो, मेरैसामु मेरो अर्को शरीर थकित भएर पसि्रएको थियो । यो कस्तो जादू थियो ।

म अलकोहलको धङधङीमा अचेत छु । म भ्रममा थिएँ कि जस्तो पनि लाग्यो । धेरै नजिकबाट एकोहोरो नियालेँ । वास्तवमा के भनौँ त्यो म नै थिएँ । होइन, मझैँ लाग्ने शरीर भने अवश्यक थियो । म त मनै थिएँ, जो आफ्नै प्रतिविम्बझैँ कुनै शरीर नियालिरहेको थियो ।

जाडोमा पनि गञ्जी र अन्डरवेयरमा मात्र थियो, त्यो मस्त सुतिरहेको शरीर । म आफैँ पनि यही अवस्थामा थिएँ । दुरुस्त देखिन्थ्यो । हे ! भगवान् यो कसरी हुनसक्छ- म अत्तालिन्छु । चिटचिट पसिना आउन थालेथ्यो ।

देख्छु, सिलिङ पङ्खा अघिसम्म बन्द देखिएको अहिले फनफनी नाचिरहेको छ । मधुरो रातो बत्ती हरियो, नीलो बलेको देखिन्छ । के भइरहेको छ थाहा पाउदिनँ ।

म एकपल्ट म झैँ लाग्ने शरीरलाई पुनः घुरेर अवलोकन गर्न खोजेझैँ गर्दै थिएँ । कोही अरू नै हो कि भन्ने उद्देश्यले हेरेको मात्र हुँ । अहँ त्यो म नै थिएँ । पिठ्यूको दाग मेरै थियो । म सोच्छु-त्यो कसरी हुनसक्छ ? फनक्क फर्किएर उभिएँ । मलाई अब त्यो हेरिरहन पटक्कै मन थिएन । पिँठ्यू त्यसतर्फ फर्काएर उभिरहेको थिएँ । यसबेला मेरो सामुन्नेमा भने एउटा विशाल ऐना अवश्य थियो । ऐनाले मलाई एकोहोरो घुरिरहेको थियो ।

केवल ऐना मात्र थियो । त्यहाँ मेरो प्रतिविम्ब पटक्कै देखिनँ । कस्तो आश्चर्य म ठीक ऐनाको अघिल्तिर उभिएर ऐनालाई हेरिरहेको थिएँ, ऐनाले मलाई हेरिरहेको लाग्थ्यो । ऐना कुनै भित्तोझैँ भयो, किनकि त्यहाँ म थिइँन ।

अब भने मैले बुझिसकेको थिएँ । ओछ्यानमा सुतिरहेको व्यक्ति किन म झैँ थियो । यो कोठा, ओछ्यान र घरको झझल्को मेरो मस्तिष्कमा सपनाझैं भयो । म त्यहाँबाट भाग्न चाहन्थे औडाहा भएर बेतोडले । त्यहाँबाट म कुदेँ । मेरो कुदाइ अचानक त्यही ऐनामा गएर ठोक्कियो ।