Pratima Baskota – Aghoshit Sambandha

प्रतिमा बाँस्कोटा – अघोषित सम्बन्ध
(Source: नेपाल साप्ताहिक)

सरी है,” हतारमा एक युवतीसँग ठक्कर खाएपछि झसंग हुँदै मैले भनें।

उसले आँखाको कालो ठूलो गगल्स निकाल्दै मलाई हेरी।

कता-कता चिनेको अनुहारझैँ लाग्यो।

“तिमी कहिले आयौ लन्डनबाट?” उसको प्रश्नले बल्ल उसलाई ठम्याएँ।

ऊ पाँच वर्षअघिको क्याम्पसे जीवनकी मेरी सहयात्री सरिना थिई।

चार वर्षअघि हामी छुट्टिएका थियौँ।

त्रिभुवन विश्वविद्यालयमा एउटै कक्षामा पढ्थ्यौँ। पढाइ सकेर म पैसाको लोभमा विदेशिएँ तर ऊ आफ्नै देशमा केही गर्छु भन्ने ढिपी कसेर बसेकी थिई। त्यतिबेला ऊ चुलबुले थिई।

कति दिन त हामीले एउटै थालमा भात खाएका थियौँ। कति दिन सँगै भोकै पनि बस्यौँ।

विश्वविद्यालयको खाली चौरमा रूखको फेदमुनि बसेर कोर्सभित्र र बाहिरका ठूल्ठूला पुस्तक पढ्थ्यौँ। घर, परविार, आफन्त र विद्यार्थी जीवनको काठमाडौँ बसाइका बारेमा कुरा गर्थ्यौं। क्याम्पसे जीवनमा केटाहरूले हातले कोरेर दिएका प्रेमपत्र एकअर्कालाई सुनाएर ठट्टामा उडाइदिन्थ्यौँ।

तर, आज ऊ ठट्टा गर्ने मुडमा थिइनँ। गम्भीर देखिन्थी। हरियोमा सेतो मिसिएको कुर्ता-सुरुवाल लगाएकी सामान्य देखिन्थी ऊ। चर्को घामबाट आँखालाई जोगाउन गगल्स लगाएकी थिई।

पाँच वर्षपछि उसलाई भेटेपछि आफ्नो हतारो बिर्सिएँ मैले। क्याम्पसे जीवनकी मेरी एक मात्र मिल्ने साथी थिई ऊ। भेट्दा झ्वाम्म अँगालो हाल्ने उसको स्वभाव थिएन। हामी उसैले प्रस्ताव गरेको दरबारमार्गको त्यही क्याफेमा पुग्यौँ। अस्ताउँदो सूर्यले विश्राम लिन हतार गररिहेको थियो। हामी रूखको छायाँ परेको फलामे कुर्सीमा बस्यौँ। दुवैबीच निकैबेर एक किसिमको मौनता छायो।

“के गर्दै छेस्, कहाँ छेस्?” मौनता चिर्दै मैले सोधेँ।

लामो सास फेर्दै ऊ बोली, “बाँचेकी छु, पुराना याद ताजा गराउन साँझपख यहाँ आएकी।” वेटर आयो मैले कफी अर्डर गरेँ। त्यसमा उसले चुरोट र वाइन थपी।

“तँ वाइन र सिग्रेट पनि पिउन थालिस्?” मैले सोधेँ। अस्ति जस्तो लाग्छ क्याम्पसको क्यान्टिनमा कोही बसेर चुरोट खायो भने हातले धूवाँ हम्किँदै ऊ गाली गरेर खेदाउँथी।

एक दिन मेजर इङ्लिस पढाउने प्राध्यापकले मादक पदार्थ सेवन गरेर कक्षामा आएछन्।

अगाडिको सिटमा बसेकी उसले प्राध्यापकको यस्तो करामत थाहा पाएर झगडा गरेकी थिई। प्राध्यापकसँग झगडा गरेको आरोपमा क्याम्पस प्रमुखको कार्यकक्षमा हामी दुई स्पष्टीकरण दिन पुगेका थियौँ।

तर, आज ऊ आफैँ त्यसको अर्डर गररिहेकी छ।

उसका आँखा नदेखे पनि उसले लगाएको कालो गगल्सभित्र म आफ्नो सानो अनुहार देखिरहेकी छु। अनि, आफैँलाई सोधिरहेकी छु, “यसलाई के भयो?”

एकैछिनमा उसले मोबाइलको एउटा तस्बिर देखाई। मोबाइल हातमा लिएर हेरेँ। रातो वर्णको, उमेरले पाको र अग्लो कदको मान्छे छ त्यहाँ।

“को हो यो?” मैले सोधेँ। चुरोटको धूवाँ आकाशतिर उडाउँदै उसले भनी, “त्यही हो, जसले मलाई जिन्दगी चिनायो, जिउन सिकायो। नदी तर्न किनारमा भौतारँिदै थिएँ,नदी तर्न साथ दिन्छु भन्दै हात समातेर बीचधारमा लगेर छाड्यो।”

ऊ सम्बोधनमा तिमीबाट ‘तँ’मा झरसिकेकी थिई।

“तँ विदेश जानुअघिदेखि नै यो मान्छेलाई म सामान्य चिन्थेँ। एक दिन हिँडिरहेका बेला उसको र मेरो यही ठाउँमा जम्काभेट भयो। हामीले यही कुर्सीमा बसेर कफी खाएका थियौँ। मेराबारेमा सोध्यो, बताइदिएँ। सबै बेलीविस्तार लगाएँ। त्यो दिन उसले मसँग यति नजिक भएर कुरा गर्यो कि मैले आफूले आफैँलाई उसको नजिक ठेलेर पुर्याएँ,” ऊ भन्दै थिई।

“यत्रो सहरमा आफूले आफैँलाई एक्लो नठान्नू, तिम्रो आफ्नो मान्छे पनि कोही छ, केही समस्या परे, एक्लो महसुस गरे मलाई सम्झनू, एउटा असल साथीको भूमिकामा म सधैँ रहिरहन्छु। तिमी ठूलो मान्छे बनेको हेर्न चाहन्छु,” यस्तै यस्तै लामो कुरा गर्यो।

चुरोटको अर्को लामो सर्को तानेर धूवाँ अस्ताउन लागेको सूर्यतिर फाल्दै संकेत गरेर बोली, “सानैदेखि हेलाँको जिन्दगी बाँच्दै आएकी मेरो जीवन सधैँ यस्तै छ।”

म उसका कुरामा चाख दिन थालेँ। त्यो मान्छेसँगको उसको सम्बन्ध के हो? किन ऊ यसरी टुटी? के यो अब यस्तै रहिरहन्छे? मेरा लागि चाखलाग्दा विषय बने।

“अनि?” मैले एउटा प्रश्न तेस्र्याएँ।

“तँलाई त थाहा छ म टुहुरी केटी। आमा सानैमा बितेपछि बाबुले अर्की आमा ल्याए। सानीआमाको रातदिनको टोकसो सहँदै एसएलसी सकेर म सहर आएकी हुँ। यहाँ पनि अर्काको घरमा बसेर उनीहरूकोे जुठो खाएर जुठा भाँडा माझेर पढाइ गरेँ।”

“बच्चैमा आमा गुमाएकी मलाई केही थाहा थिएन। माया के हो? कस्तो हुन्छ? तर, उसँगको सामीप्यले मलाई यी सबै कुरा सिकायो। मेराबारेमा धेरै नै चिन्ता लिन्थ्यो उसले। मेरो मनमा यति गहिरो गरी स्थान दिएको उसलाई अहिले चाहेर पनि निकाल्न सकेकी छैन।”

यति भन्दा उसले दुईवटा चुरोट फुकिसकेकी थिई भने वाइन नि दुई ग्लास। फेरि अर्को सल्काई। उसका कुरा सुन्दा मलाई लागिरहेको थियो, म कुनै कथा सुनिरहेकी छु। जुन मलाई नौलो लागिरहेको छ।

उसले कुरा अघि बढाई, “त्यहीबीचमा म उसको सरकारी कार्यालयनजिकको एक कम्पनीमा काम गर्न थालेँ, ३ हजार ५ सय रुपियाँ तलबमा। उसले फुर्सद पाउनेबित्तिकै फोन गथ्र्यो, “तिमी कता? मेरो काम सकियो।” मलाई लिन आउँथ्यो। हामी टाढाटाढा गएर निकै लामो समय बिताउँथ्यौँ। उसको छातीमा टाउको अडेस लगाएर म स्वर्गीय आनन्दमा डुब्थेँ। उसले मेरो कपाल मुसार्दै पीर नगरी काम गर्ने हौसला दिन्थ्यो। म पनि अफिसको काम छिटोछिटो सकेर उसलाई भेट्न हतारिन्थेँ।

ऊसँगका दुई वर्ष यति छिटो बिते कि मैले पत्तै पाइनँ। मैले मेरा समस्या भनिनँ भनेर ऊ रिसाउँथ्यो पनि। म टुहुरीले यति धेरै माया पाएकी, जो सम्हाल्न कठिन भयो।

तर, पछिल्लो समयमा उसको व्यवहारमा निकै परविर्तन आयो। भेटघाट त परै जाओस्, फोन आउने क्रमसमेत घट्यो। मैले गर्दा नि झर्किन थाल्यो। चोर-पुलिसको झैं कथा चलिरह्यो। साँच्चै ऊ निकै बदलियो। म उसलाई जति माया गर्थें, त्यसभन्दा बढी सम्मान पनि।

“म उसँग डराउँथे नि ! मलाई थाहा थियो। ऊ स्वास्नी, छोरा-छोरी भएको झन्डै मेरो बाबुसँग उमेर मिल्ने मान्छे हो। तैपनि, म उसको व्यवहारबाट आकर्षित थिएँ।”

“बिहान ओछ्यान नछाड्दै फोन आउँथ्यो, “उठ्यौ? उठ उठ, धेरैबेर सुत्न हुन्न। अर्काको घर जाने छोरीले छिटो उठ्ने बानी गर्नुपर्छ।” अनि, म प्याउली भएर भन्थेँ, “टाढा भएर उठाउँदा त हजुर यसो भन्नुहुन्छ, नजिक भए त कान तान्नुहुन्थ्यो होला?” “मसँग नजिस्क बाबा, छिटो उठ !” ऊ फोन राख्थ्यो।

“ऊ मेरो साथी मात्र होइन, एउटा असल अभिभावक पनि थियो। अफिसको काममा केही अप्ठ्यारो परे उसैलाई सोध्थेँ। मैले ऊसँगको सम्बन्धको गलत फाइदा कहिल्यै उठाइनँ, न त उसले नै उठायो। विश्वास गर्थ्यौं हामी एकअर्काप्रति। तर, जब उसको फोन आउन छाड्यो। भेट्न आएन। मलाई एक्लै छाड्यो। म सहरमा नितान्त एक्ली भएँ। मन बहलाउने कोसिस नि नगरेकी होइन, काम छाडेर दुई चार दिन बरालिएँ। अँह ! तर, सकिनँ। जागिर पनि छाडिदिएँ।” ऊ भनिरहेकी थिई। म मूर्तिवत् सुनिरहेकी थिएँ।

मैले मलाई देखाई दे म कुरा गर्छु पनि भनेँ, अहँ तर सरिनाले मानिन। भन्थी, “मेरो कारणले उसको जिन्दगी बिगार्नु हुँदैन। म ऊ खुसी भएको हेर्न चाहन्छु।”

चुरोटको ठुटो टे्रमा राख्दै भनी, “सबै थोक गुमाएँ केही छैन अब मसँग।” अनि, लामो सास तानी।

रातको ८ बज्न लागेको छ। वेटरले बिल ल्यायो।

फोन नम्बर मागेँ। मोबाइल बोक्दिन भनेर उसले ढाँटी मलाई। तर, त्यो फोटो उसले एकछिन अघि मात्र मोबाइलमै देखाएकी थिई। ऊ दिन चाहन्न भनेँ मैले नि जबरजस्ती गरिनँ।

“धेरै बाँच्नु छ, जिन्दगी सुधार,” भनेँ। “कसका लागि सुधारौँ? किन सुधारौँ?” ऊ बोली, “बच्चैदेखि हेलाँ, तिरस्कृत र घृणापूर्ण जिन्दगीको भारी बोकेर बाँच्दै आएकी हुँ, मलाई अब सुध्रिनु छैन।”

म निरुत्तर भएँ।

तीन घन्टा उसँग यसरी बिताउँदा मैले केही ठम्याउन सकिनँ। के भयो यसलाई? के यो अब यसरी नै बाँच्छे त? किन त्यसले उसलाई यो हालतमा छाड्यो? के सरिनाको गल्ती नै थियो त? प्रश्नैप्रश्नले मेरो मस्तिष्क भरियो।

उत्तर खोजिरहेँ तर पाइनँ। म रातभरि उसैका बारेमा सोच्दै निदाएँछु। सपनामा पनि उसैलाई देखेँ। ऊ उसैको प्रेमीसँग विवाह गाँठोमा बाँधिएर लजाउँदै विवाह मण्डपमा विस्तारै घुमिरहेकी थिई। सपनामै भए पनि म रमाएँछु र उसलाई अँगालो हाल्न पुगेँछु। अँगालो हाल्दा सिरकलाई मेरा पाखुराहरूले स्पर्श गरेछन्। यसले म अचानक ब्युझिंएँ। बिहान भइसकेको रहेछ। कतिबेलादेखि मेरो फोनको घन्टी बजिरहेको थियो। मैले फोन उठाएर हेलो भनेँ। उताबाट कुनै पुरुषले मेरो नाम सोध्यो, मैले उसले सोधेको नामको महिला म नै हुँ भनेँ। फोनमै त्यो पुरुष स्वरले भन्यो, “म टिचिङ् हस्पिटल, महाराजगन्जबाट बोल्दैछु, तपाईं सरिना भन्ने महिलालाई चिन्नुहुन्छ?” मैले आश्चर्य मान्दै स्वीकारोक्तिमा जवाफ दिएँ।

त्यो पुरुषले भन्यो, “हामीले सरिनाको ब्यागमा तपाईंको भिजिटिङ् कार्ड पायौँ र फोन गरेको। तपाईं कृपया उहाँको लास बुझ्न तुरुन्तै आउनू होला।” अनि, म छाँगोबाट खसेजस्तो भएँ। के, किन, कसरी? भन्ने अनेकौँ प्रश्नहरूको घेराबन्दीमा म बाहिर निस्केँ र एउटा ट्याक्सीमा बसेर अस्पतालतिर लागेँ। मलाई यसबेला दुईवटा प्रश्नले बारम्बार घोचिरहेको छ? रातारात यो के गरी सरिनाले? त्यो पनि मलाई भेटेपछि । र, अबको उसको लास म एक्लैले कहाँ लगेर दाहसंस्कार गर्नू? म यतिबेला साँच्चै संवेदनाहीन भइरहेकी छु। साथी गुमाउनुभन्दा उसको दाहसंस्कारको पीरले मलाई पिरोलिरहेको छ। म रुन चाहेर पनि रुन सकिरहेकी छैन। सायद मेरो जीवनको अग्निपरीक्षा पनि यही हो । समस्यामा सायद मानिसको संवेदना पनि हराउँदो रहेछ ।

नेपाल साप्ताहिक अंक ४१३

Kusum Gyawali – Sambidhan (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – सम्बिधान (लघु कथा)

परिवार थिएनन, छोराछोरी थिएनन, नीजि आफ्नो भन्ने केही थिएन उनको। सामाजिक परिवर्तन र चेतनाका लागि उनले आफ्नो सिङ्गो जीवन अर्पेका थिए। जीवनभरको परिश्रम र समर्पणलाई उनका साथी संगी सहयात्रीले सघाएर सहयोग गरेको रकमको अक्षयकोश चल्थ्यो, त्यसबाट आज सयौं गरिब विद्यार्थीहले निःशुल्क पढ्थे, सयौं गरिबहरु उपचार गरिन्थ्यो।
उनी अक्सर पैदल हिड्थे, बस चढ्थे बढीमा। उनले अलिकति सुविधा त्यागेर समाजमा समर्पित हुन उनका आफ्ना सहकर्मीहरुलाई समेत आग्रह गर्थे। उनको समाजसेवी संस्थाका कसैलाई पनि सुख सयलको जीवन नविताउन निर्देशन दिन्थे। स्वयं त्यागका प्रतिमूर्तिका अगाडि जो पनि नतमस्तक हुन्थे। यसरी उनको गरिबी विरुद्धको सशक्तिकरण अभियानले निकै ठूलो सफलताहरु पाएको थियो।
उनले बारम्बार आफ्ना कार्यकर्ताहरुलार्य भन्थे ट्याक्सीमा नचढ्नु, बसमा चढ्नु। ती महान ऋषिका कुरा काट्न कसैले पनि सक्ने कुरा थिएन। उनले आफ्ना अनुभवहरु उपदेश ढुङ्गामा खोपेर कार्यालयमा टाँसेका पनि थिए। उनका अनुयायीका लागी यो यो अकाट्य संविधान थियो। उनको अवसान पछि त्यस संस्थाका एक जना व्यक्ति प्रभुत्व बने। व्यक्तिगत सुखसयल छोडेर सामाजिक सेवामा जुट्ने मान्छे कार ट्याक्सी नचढ्नु भन्ने संस्थाका संस्थापक गुरुका उपदेश कसैले काट्ने कुरा भएन।

संस्थाका नयाँ प्रमुख अचेल बसमा मात्र यात्रा गर्छन। तर बस भने सुविधा सम्पन्न बेडरुम र “इन्टरटेनमेन्ट रुम” सहितको बिशेष खालको छ। त्यसमा संस्थाका नयाँ प्रमुख मात्र एक्लै चढ्ने त्यो बसलाई करौडौं पर्छ र दर्जनौ कारलाई पुग्ने ईन्धन त्यो बस एक्लैलाई चाहिन्छ।

Mitra Pathak – Bhashan Ra Byabahar (Nepali Laghu Katha)

मित्र पाठक – भाषण र व्यवहार (लघुकथा)

समाजमा भलाद्मी र समाजसेवी गनिएको उसले आजपनि चोक बजारमा सबैका सामू चर्को चर्को भाषण दियो – “छोरा र छोरी दुइमा केहि फरक छैन । छोरीले पनि छोराले बराबर गरेर देखाउन सक्छन, यदि अवसर पाए भने ।”

यति भन्दा नभन्दै उसले झल्लक सम्झियो उसलाई आज अलि हतार थियो । २-४ दिन भित्रै उसको दोस्रो बिहे हुन लागेको थियो । त्यो पनि छोरो पाउने श्रीमतीको साथमा । उसले आफ्नो कुरा टुंग्यायो र मनमनै सोच्दै अगाडी बढ्यो – “छन त छोरा र छोरी दुइमा केहि फरक छैन तर……..।”

मित्र पाठक “राजु”
देवचुली-८ , सिताबास , नवलपरासी
हाल: किर्तिपुर, काठमाडौँ

Kusum Gyawali – Shanti Chhayeko Gaun (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – शान्ति छाएको गाऊँ (लघु कथा)

शान्ति सम्झौता स्वागतमा गरिएका ठूलाठूला झाँकी र जुलुसहरुको क्रम टुङ्गी सकेको थिएन । जताततै उत्साहका वातावरण देखिएको थियो । गाउँजान नपाएका जनता गाउँ र्फकन पाएकोमा आल्हादित थिए । सबै संसदीय पार्टी कार्यकर्ताहरु गाउँ फर्कने क्रममा थिए ।
सशस्त्र द्बण्दको सास्ती खेपेर पहिलोपल्ट उत्मुक्त श्वास फेर्न पाएका ग्रामिण भेगका जनताको यथार्थ स्थिति थाहा पाउन जनयुद्धका कमाण्डर गाउँ जाने निधो गरे । राष्ट्रसंघका प्रतिनिधि पनि साथै जाने कुरा पक्का भयो । गाउँ जाने सबै जना चढेको हेलिकप्टर डाडाखर्कको चाक्ले बारीमा धुलोको कुहिरीमण्डल पारेर उत्रियो । नेताको पूर्व आदेश अनुरुप पुराना मिलिसियाहरु हातमा फूलमाला लिएर बारीको डोरामा तैनाथ भए । पल्लावारी भरी मान्छेको कुँडुलो लागेको थियो ।

“कत्राकत्रा व्यारेक एक्लै उर्डाई दिन सक्थे रे ती कमाण्डरले “एकजनाले भिडमा भन्दै थियो । कतिलाई त हेरेर मात्रै पनि ठहरै पार्थे रे ती नेताले” अर्कोले तिनै नेताका बारेमा थप्यो । यसरी दन्त्यकथाका नायक बनाइएका कमाण्डर गाउँ फर्केको हर्ेन मान्छेको ठूलो भिड जम्मा भएको थियो । पत्रकारहरुको ताँतीका साथमा थुप्रै अंगरक्षक सहित कमाण्डर थाप्लेडाँडाको ओरालो लागे । ओरालोका छेवैमा झुप्रोमा एकाएक पसे त्यो हुल सहित उनी ।

“बसम काम्रेटहरु !” गुन्द्री आँगनतर्फ हाल्दै बुढीआमाले भनिन -“हतियार झन नौला नौला पो देखिन थालियो त ! काठमाण्डुंमा कुरा मिलेन र तपाईहरुको । रिडियाले त कुरा मिल्यो भन्थ्यो ।” ट्राईपोड सहितको ठूला भिडियो क्यामेराहरु देखेर बुढीआमाले शंका व्यक्त गरिन ।

-“कुरा मिलेकै हो आमा ! यी बन्दुक हैनन् । फोटो खिच्ने क्यामेरा हो” एउटा फुच्चे क्यामेरामेनले भन्यो ।

-“आमा गाउँमा कस्तो छ ? शान्ति भा’छ हैन त ?” कमाण्डर नेताले मख्ख पर्दै कुम उचाल्दै सोधे ।

-“असाध्यै आनन्द भा’छ अचेल । यस्तै होस बाबु । मर्ने बेलामा सुख शान्ति देखेर मर्न पाइने भो ।” बूढीआमा दाँत नभएका गीजा देखाएर मुस्कुराइन ।

-“हाम्रो पार्टीले माने शान्ति स्थापना गरेर छाड्ने भएको छ । कसैले दुःख दिएका छैनन, हैन त आमा” कमाण्डर नेताले थपे ।
“हो बाबु अब त आनन्दै भा’छ नि । अलिकमै मात्र दुःख दिन्थे यस क्षेत्रका ठुला काम्रेट, मन्त्री हुन काठमाडौं गा’छन् रे, कैलेकाँही दुःख दिने जिल्लास्तरका काम्रेट सांसद हुन उनी पनि उतै गा’छन् रे । खान र वस्न दिनुपर्छ भनेर सधैं धुरुक्कै पारेर दुःख दिने मिलिस्याहरु पनि डाँडामा वसेको क्याम्पाँ छन रे । ती कोही पनि नभएपछि हाम्रो दुख हराइहाल्यो नी ! शान्ति त आइहाल्यो नि बाबु ! आनन्द छ गाउँमा अचेल ।” बूढीआमा फेरि उसै गरी मुस्कुराइन ।

Thakur KC – Euta Kasilo Handshake

ठाकुर  केसी – एउटा  कसिलो  ह्यान्डसेक

अफिसबाट बिहानै फोन आयो, तुरुन्तै अफिस अउनु भनेर । ‘किन आउनु पर्ने ?’ मैले तत्काल सोधें । ‘हैन एकपटक तुरुन्तै आउनु पर्यो रे, साउजीले भनेको’ । म हतारिए, किनकी साउजीले बोलाएका थिए अन्यथा म प्रति नकारात्मक धारणा उब्जिन सक्थ्यो । ‘यो मेरो दास मानसिकता हो कि’ मनले अचानक मेरो आतुरता माथि टिप्पणीे गर्यो, आफु निरिह दास बनेको कल्पे म अल्तालिए । टाउकोमा गरुङ्गो भारिले थिचेझै भयो तथापी शरिर जतिसक्दो चांडो साउजीको अगाडी उपस्थित हुन आतुरिएको थियो ।

अफिसको ढोकामै एक बथान युवाहरुको झुण्ड थिए, मैले झुण्डलाई बिस्तारै भनौ बडो जतनकासाथ पन्छाउंदै भित्र छिरे । ‘हामीहरु तंपाईकै प्रतिक्षामा थियौ’ ढोकाबाट भित्र छिर्दासाथ एक जना मध्यम कदको युवाले भन्यो । म अलिक अचम्मित भए किनकी उ जस्तै अरु युवाहरु पनि मलाईनै हेरेर छेवैमा बसेका थिए । ‘किन होला’ मैले फ्यास्स भने ‘मैले त चिनिन’ । ‘म केदार’ उसले एउटा लुखेर हात मतीर बडायो, मेरो हात अनायासै अगाडी बड्यो । उसले च्याप्प हात अठ्यायो, सारै कसेर समात्यो भनौ हात मिलायो । उसले हात छाडेन च्याप्प समाती रह्यो, ‘तंपाईहरुलाई सारै अन्याय भएको रहेछ’ म अचम्ममा परें र चारैतीर एकपटक हेरे, साउजी नजिकैको सोफासेटमा हंसिलो मुहार बनाएर बसी रहेका थिए, अन्य कर्मचारीहरु चाहीं निर्धक्कसंग एउटा अर्धचन्द्राकार घेरा बनाएर उभिएका थिए । ‘यिनीहरुले’ उसले मेरो हात समातेरै साउजीतर्फ ईशारा गर्दै भन्यो ‘तंपाईहरु माथि धेरै सोशण गरेका रहेछन हैन ?’ मैले तुरुन्तै हो भनेर भन्न सकिन एकपटक साउजीको अनुहारमा हेरे ऊ सारै निरिह देखिन्थ्यो । सायद कर्मचारीहरुप्रती भएका दुव्र्यवहार र शोसणको बारेमा मैले एकशब्द पनि नबोलोस् भन्ने चाहन्छ, मैले तत्काल अनुमान लगाए । ‘तंपाई यस होटेलको जिम्मेबार व्यक्ति भएर यसरी आफु मातहतका कर्मचीहरुको बारेमा अलिकता पनि बोल्नु भएनछ’ उसले मेरो हात पुन एकपटक झट्कार्दै भन्यो । मैले आफ्नो हात विस्तारै तान्न खोजे तर उसले समाती रह्यो मानौ उसले मेरो हात छाड्दासाथै म भागी हाल्ने छु । मैले पनि अलिक निडर भएर टाउको उठाए तर अचानक साउजी र मेरो आंखा जुध्यो, आंखामा एउटा अनौठो लाचारी देखे र याचना पनि भनौ एउटा ठुलो अपराधबाट उम्कन गरेको याचना झै । साउजीको अनुनय विनय थियो या,े केहि पनि नबोल्नको लागि भनौ यो साउजीले यहांका कर्मचारीहरुप्रती सारै उदार व्यवहार देखाएका छन् भनेर भन्नु पर्ने भयो मैले । मैले असमन्जस्यताका साथ अर्धचन्द्राकार भएर उभिएका कर्मचारीहरुतीर आंखा दौडाए ।

एउटा डर अचानक उब्जियो भनौ केहि बेर यसरीनै चुपचाप भनौ केहि पनि नबोलीकन बस्ने हो भने सम्पुर्ण कर्मचारीहरु म माथि जाईलाग्ने छन् । म डरले एकपटक काम आङ्ग सिरिङ्ग भएर आयो जब सारा कर्मचारीहरु ममाथि जाईलाग्दै गरेको दृश्य आंखा अगाडी मडारीयो । ‘सर भन्नु पर्यो साउजीहरुले हामी माथि गरेका ज्यादतीहरुको बारेमा’ छेउमै उभिएको एउटाले मतीर हेर्दै भन्यो । ‘तलव र सुविधाहरु सांच्चै अलिक कमै छन्’ मैले साउजीको अनुहातीर हेर्दै नहेरीकन भने, साउजीले एकपटक हतासीएर मतिर हेर्यो । उसले मेरो हात सर्लक्क छाडिदीयो मानौ यी केहि शब्दहरु नबोल्नाले नै उसले मेरो हातलाई जकडिरहेको थियो । ‘हैन सर यीनीहरुले हामिमाथी दुव्यवहार पनि गरेका छन्’ एउटाले फेरी कड्केर भन्यो, सबैजनाले उतीर नै हेरे । साउजी बोलेन केबल निरिह बनेर अन्यत्र आंखा घुमाई रह्यो । ‘ल तपाई पनि यसरी साउजीको मतीयार भएर चुपनलाग्नुस्’ उसले मतीर हेर्दै भन्यो, मैले तत्काल उसको आसयको चाल पाउन सकिन तर मेरे साउजीहरुसंगको निकटतालाई कर्मचारीहरुले साउजीको बफादारी भनेर रुपान्तरण गरिसकेको अनुमान लगाए । ‘ल हामी जान्छौ’ उसले साउजीतीर हात बडाउदै भन्यो ‘हुन्छ हजुर मैले सक्दो गर्नेछु’ साउजीले हात मिलाउंदै भन्यो ।

उनीहरु एक हुल बांधेर ढोकाबाट बाहिरीए, सम्पुण कर्मचारीहरु सारै दङ्ग देखिन्थे भनौ साउजीको यो निरिहेता उनीहरुका लागि असाध्यै आनन्दको क्षण थियो । तर ममा कुनै परिबर्तन देखिएन न त म खुशी भए, न दुखिनै, केबल हत्केलामा उसले अठ्याएको ऐठनको नमिठो अनुभव मात्र शरिरभरी रङ्गबङ्गीएको थियो । ‘एक दुई शब्द मेरो हितको लागि पनि बोलिदिएको भए हुन्थ्यो नी’ मनले अनायासै एउटा ईच्छा पोख्यो ।