Achyuraman Adhikari – Khade Saansad

खडे सांसद झगडे सांसद निकै नै बहादुर हुँ भन्दछ ऊ । उसलाई त न आश नत्रास । यसभन्दा अघि पनि उसलाई मन्त्रीपदमा लान कसैले मानेन । खुबी छैन त्यस व्यक्तिको, त्यति मात्र होइन सोमत पनि छैन । त्यसकारण ऊ जनप्रिय छैन तर पनि पहिल्यैदेखि त्यो त्यता, उता र उताबाट धेरैको सेवा गर्दै आएको मानिस हुँदा यसपटकको सुरिलो संसदमा त्यो पनि मनोनित भएथ्यो क्या ! धेरै हत्ते गरेर, साह्रै अत्तो थापेर काले शाहका कलवारहरूलाई खुशी पारी-पारी खाएकै थियो । अहिले मूर्च्छा पारिएको संसद फेरि बौरिएपछि त खडे संसदको दिन पो भएछ गाँठे ! अब त खडे पनि तगडे नै भयो नि होइन र !

अस्ति झँिगेटाएको झिक्रे पनि अएर के के भन्दै कराउन थाले छ । त्यहाँ पहिले खडे सांसद थिएन । यसले सम्झाउँदा झिक्रेले पटक्कै टेरेन । उल्टै सांसदहरूलाई गाली गर्दै तथानाम बोल्न थालेछ । त्यसैबेला खडे सांसद आयो, उसले उसको सातो खायो । त्यस व्यवहारले मात्र होइन पछि यस्तै गरी फुर्ती देखाउँछौ भने जेलमा पनि जानुपर्ला होस । गर ! भन्ने धम्कीसमेत थाहा पाएपछि झिक्रे चुपचाप भयो । उसले दिएको सल्लाह र निर्देशन अनुसार काम सबै सम्पन्न गर्यो, गयो पनि । त्यसपछि त झिक्रे कार्की निकै भक्त भएर खडे सांसदका पछि-पछि लाग्न पो थाल्यो । वास्तवमा सांसदका नाताले धाक धक्कु होइन मानवीय सेवा गर्ने खडे कडा सांसद हो ।

खडे सांसद शक्तिमा नगए पनि भक्ति र अनुरक्तिमा, र्फमभार सेवामा त निकै प्रबल मानिस हो । ऊ सफा हृदयको थियो नै । खडेको यस्तो व्यवहारले त्यहाँ धेरैले डाह पनि पो गरेका थिए त गाँठे । डाडेहरूको भाँडे चरित्र र त्यो व्यवहार अर्कै हुन्छ । उनीहरूले अर्कै रोल खेलेर के के गर्दै गए । आजको आँखामा नबिझाउने र शीतल बनिसकेको खडे सांसद एक दिन अचानक दुर्घटनामा पर्यो र पर्यो पनि । तर तरिकासँग मोटर फालेर कार्यसिद्ध गर्ने ड्राइभर जोगियो र भाग्यो पनि । खडे गाडी खसी खोलामा पर्यो मर्यो तर त्यस घटनाले धेरैको रहस्य भेदन पनि गर्यो । अब त्यस घटनापछि त खडे सांसद भनेको संसद प्रमुख प्रबल व्यक्ति पो भयो त गाँठे !

Dr. Dinbandhu Sharma – Tama

डा. दिनबन्धु शर्मा – तामा
(मधुपर्क २०६६ चैत)

मुडुलो बाच्छो ओसेपिलो कान्लाबाट घाँसका बुजा निकालिरहेको छ । पुच्छर डोलाउनसम्म बिर्सेर गाडिएको गाडिएकै छ ।

‘यस्तो घाँस त यो कान्लामा ठामठामै रैछ’, नन्दुको अगाडि खुर्पा लिएर उभिएको दाजुचाहिँले बाच्छोलाई हेरेकै उभिएर भन्यो । बाँसको झ्याङमुनि आइपुग्दा अहिले घाम अस्ताइसकेको छ ।

‘चिसो छ, माटे लाग्छ कहिले त वस्तुलाई यस्तो घाँसले,’ बोकेको बाक्लो झार सिरुको बीचबीचमा गुथ्थगुथ्थ परेको रहेछ । तल कान्लामुनि सानो पानी ठाउँठाउँ लुक्तै र निक्लँदै तलपट्ट िचिसो बग्दै गएको हरियो सितलो छ ।

‘यो कर्कलो हो ?’ बादलको पहेँलो आएर छपक्कै टाँसिएको पाखामा ठूलाठूला पात हुने घाँस जस्तोलाई देखाएर नन्दुले सोध्यो । आफ्नो दाजुको आधा ढाडभन्दा माथिसम्म अग्लो भएर नन्दु छायाँझैँ हिँडेको देखिन्छ । पुक्क गालाको माझमा सानो बाटुलो नाकमाथि गोलो निधार अलिकति बलैले खुम्च्याएर दाजुलाई र घाँसलाई पालैपालो हेरिरहेको छ ।

”हुन्छ, कर्कलो …, गबदो हो गबदो, चिन्दैनस् गबदो र कर्कलो पनि ?” दाजुले भन्यो । ऊ बाँसका घारीमा छेउछेवै भएर लहरै उठेका विभिन्न आकार र उचाइका तामाहरू गनिरहेको थियो ।

“लौ हेर, बेलैमा यही कान्लाको माटो खसालेर पुरिदिएको भए यस्तो हुन्थ्यो ? तामाको गति …,” गाँजबाट उछिट्टएिर बाहिरैसम्म जरा देखाएर निक्लेको मसिनो तामा देखाएर उसले भन्यो – “वैशाख नलाग्दै गर्नुपर्छ तामा पुर्ने काम ।”

“आज काट्ने कुनचाहिं ?” बहिनी पनि आएर कान्लामाथि नै उभ्भिसकेकी रहिछे । अरू तीन-चारजना केटाकेटीहरू उसैसँग उभिएका थिए ।

पल्लो कान्लामा रहेकी ठूलापाटेकी छोरी पनि पाठाहरूलाई पेटारे माउको पछि छोडिदिएर त्यहीँ आइपुगी ।

“तिम्रोमा तामा खाएँ ः” बहिनीले सोधी ।

त्यसले मुन्टो हल्लाई र अलिकति सम्झनाको उज्यालो आँखामा आइसकेपछि भनी – “बा छँदा त कत्ति खाइन्थ्यो ।”

“हाम्रो त हिजो खाइसकियो … कत्ति ठूलो थियो हगि,” सुब्बाको छोरोले छेउमा उभिएकी आफ्नी बहिनीसँग समर्थन मागेर भन्यो ।

दाजुचाहिँ बाँसको घारी घुमेर वरिपरि अझै जोख्तै थियो । सुब्बाको छोरोसम्मले तामा खाएको सम्बन्धमा गरेको फाइँफुइँले उसलाई फेरि रिस उठ्लाजस्तो भएको थियो । हिजो बेलुका उठेर बल्लतल्ल थामिन खोजेको रिसलाई फेरि उसले जिस्क्याइदिएको थियो । हिजो बेलुका बरु त्यो सुब्बाले बलेनी जोडिएको घरमा तामा काटेर पठाउँदै नपठाएको भए केही थिएन । हेपेरै हो त्यसले, त्यति सानो जर्कटो मात्र पठाएर नबिच्काइदिएको भए उसलाई यो साल तर्कारीको निम्ति तामा काटुँला थिएन । बेलुका भाइबहिनीहरूले गर्नु गरे ।

“हाम्रोमा तामा काट्नु हुँदैन ?”

“हाम्रो पनि कत्ति तामा छ नि हगि ः”

राति अबेरसम्म कचकच गरे तिनीहरूले ।

“ल, भैगो भोलि काटिदे ठूला, यो सुब्बाको चिहानले हेपेको तेरा भाइबहिनीलाईसम्म सहन गाह्रंो भएको छ,” आमाले राति भनिन् – “ल अहिले सुत, कत्ति कचकच गरेको दाजुलाई ।”

घरको आँगनसम्म पहेँलो साँझ छापिइसकेको थियो । दाजुचाहिँ तामा भुत्ल्याएर सकिरहेको देखियो । वरिपरि झु/mम्म भएर घेरिरहेका केटाकेटीहरूको बीचमा ऊ पसिना काढिरहेको रहेछ । घैयापाटे माइलीका छोराछोरीहरू, सुब्बाका छोराछोरीहरू र धन्सार्नीको परिवारै उल्टेर तामाको वरिपरि भुम्मिरहेका थिए ।

“छि, कति गाँडाघेर लागेका, खसी नै ढलाएको त होइन, केही नदेखेको यो मुलुक,” आमा फतफताउँदै भित्र भान्सासम्म पुगिन् । फेरि लगत्तै निक्लेर भनिन् – “यी केटाकेटीलाई त्यसैत्यसै चाड आएजस्तो हुने किन होला ?”

“के हो ? तामा काटेको ? हो त रै छ नि,” घाँसको भारी लिएर उकालिँदै गरेकी आँटीघरे भाउजूले भनिन् – “हाम्लाई पनि एक टुक्रा दिए कस्तो हुन्थ्यो ।”

“तिमीहरूको नयाँ बारीमा कस्तो सप्रेको तामा,” उकालो लागिसकेकी भाउजूले सुन्ने गरी आमैले फेरि भनिन् – “जिरो पठाएको छ दुलही लाहुरेले ?”

“नयाँ बारीमा त छ नि बज्यै, बूढाले छुन दिने होइन तामा ।”

“जुगजुगसम्म घाँस काटेर गाईवस्तु पाल्ने बाँस एकछाक तर्कारी” भनेर काट्न गाह्रै हुन्छ नि जेठी । यहाँ त तेरा ससुरालाई तर्कारी नै सबभन्दा ठूलो कुरा हुन्छ र पो । यति खेर त पल्लोघरमा काटेको देखेपछि भुराहरूले सुख्खै दिएनन्, काटिदे भनेँं ।”

“अलि उता सर न” नन्दुचाहिँ अरूलाई परपर घचेटेर दाजुकै पछाडि उभिन आइपुगेको थियो । छातीदेखि आँखासम्म आएको खुसीले उज्यालो भएर ऊ बडो गौरवपूर्वक आफ्ना दौँतरीहरूको माझमा उभिएकोमा आमालाई खुसी लाग्यो ।

“कत्ति ठूलो – कत्ति सेतो हगि ?” नन्दुले साथीहरूतिर फर्केर भन्यो ।

“हाम्रो पनि हिजो है ?” सुब्बाको छोरोले भन्यो ।

“भो, योभन्दा त सानै थियो ।”

“तैँले भनेर हुन्छ ?”

“हुन्छ नि, तैँले भनेर हुन्छ ?” नन्दुले जङ्गएिर अलिकति घचेडिदियो ।

“ए, बदमासहरू,” दाजुचाहिँ गिंड-गिंड पारेर टुक्र्याउँदै गरेको तामा छोडेर उनीहरूतिर फक्र्यो ।

आमाले पिँढीबाटै कराएर भनिन् – “जर्रो भएको छुट्टै राख, अमिल्याएर झोल खानुपर्छ, अहिले खानलाई कलिलो ठिक्क पार ।”

“अनि जिरा रै छ त आमा ?” नन्दुको दाजुले सोध्यो । ऊ चुलाको डिलमुनि गहिरो ओछ्यानमा नन्दु र बहिनीलाई राखेर तामाको प्रसङ्ग भएको कथा सुनाइरहेको थियो ।

“कसरी हुनु, त्यही आँटीघरे जेठीले अलिकति दिएर गई, तामाको टुक्रो भनेर आएकी थिई । फलेबास जाने कोही भए किन्न पठा अलिकति । अलिकति गिंड राखिदे जेठीलाई पनि ।”

क्रमश ः तामाको मसालेदार बास्ना घरभरि फैलियो ।

नन्दु एकपटक बाहिर निस्क्यो र आँगन छेउसम्म पुग्यो । हाँडीकोटको कालो पहाडमा बाहेक केवैदेखि फुर्केसल्ला हुँदै अझै पर लम्पेकसम्म बाक्लै मलिन बत्तीहरू देखिए । आकाशमा पनि ताराहरू अग्घोरै बाक्लो गरी टाँसिएका थिए र अन्धकारमय रातमा मलिनो उज्यालो पठाइरहेका थिए । आँप र नासपातीको रूख भए ठाउँमा कालो अँध्यारो बाक्लिएको थियो ।

“को हो ?” अँध्यारो बाटोमा कालो छायाँले बोलेको सुनियो ।

“बा आउनुभएको हो ?” नन्दुले सोध्यो ।

“अँ ….., तँ किन बाहिर – यस्तो अँध्यारोमा ?”

“म तपाईंलाई नै हेरिरहेको थिएँ, थाहा छ तपाईंलाई ? आज तामा काटेको छ ।”

“हो ? ल, खासा भयो ।”

आँटीमुनि नन्दु र उसकी बहिनी आमने-सामने बसेर खाइरहेका थिए । चुलोमा बा र दाजुचाहिँ खाँदै थिए । तामाको झोलसँग भात सप्काएको आवाज र तामाको मीठो बास्ना घरभरि छपक्क थियो । ठूलीभाउजू अँगेनामा सानो आगो बालेर काखको नानीलाई सेकिरहेकी थिइन् ।

“मरिचको के कुरा, बेसारसम्म माग्नुपर्‍यो,” आमाले भनिन् ।

“मरिच भएको भए अझ स्वादिलो हुन्थ्यो ।”

“मीठो हुन्छ हगि तामा ? कस्तो पीरो, कत्ति पीरो,” नन्दुले बहिनीतिर फर्केर भन्यो ।

“कत्ति पीरो छ,” बहिनी रुनै थाली । तिनीहरू हाउहाउ गरिरहेका थिए ।

“ए दुलही, पानी देऊ त, नानीहरूलाई, पीरो पनि नराखेर कसरी पकाउनु फेरि ?” आमाले भनिन् ।

नन्दुलाई जिब्रो र ओठ सप्पै तातो र पीरोले खुल्किएर गएजस्तो लाग्यो । सबै शरीरदेखि टाउकोसम्म तातेर ज्वरो आइरहेको थियो र पसिनाको भल बगिरहेको थियो । जिब्रो त माझ ढाडबाट काटिएरै खसिसकेको जस्तो लागेको थियो र तालु सुकिरहेको थियो तर तामा काटिएर खाइसकिएकोमा खुसी नहुनु सम्भव थिएन ।

“आजको तामा मीठो भो,” दाजुले भन्यो ।

भन्नुपर्छ लागेको, सबैले भनेको, नन्दुले पनि भन्यो – “तामा त मीठो छ ।”

“तामा ठिक्क काट्ने बेलाको रै छ,” बाबुले भने ।

“जिराको पनि कुरा हो,” आमाले भनिन्, “लाहुरेले पठाएको मीठो हुन्छ, काँचो जिरा, जत्ति नयाँ भो त्यति मीठो हुने त हो नि ।”

“ल पानी खानु त, हेर त आँसु बलिन्द्र धारा,” भाउजूले बहिनीको हातमा अम्खरा दिएर भनिन् ।

भोलिपल्ट गाईका बाच्छा खेदेर वनमा पुग्दा सुब्बाको छोरोसँग नन्दुले भन्यो – “हिजो तामा खुब मीठो भएछ, मैले त कत्ति खाएको ।”

बहिनीले पनि भनी – “मद्रासी जिरा हालेको थियो – काँचो जिरा, जिरा जत्ति नयाँ हुन्छ, त्यत्ति मीठो हुने त हो नि ।” अहिले उसको अनुहार आफ्नी आमाको जस्तो देखियो ।

गाईहरू लहरै मइरेको डाँडो घुमेर उपल्लो कुलासम्म ओर्लिसकेका थिए ।

बहिनीचाहिँलाई त्यसपछि दिनभर पनि लागिरहृयो – “मीठो भनेको के हो ?” उसका हिजो तामा काट्ने बेलादेखिका सबै हर्कहरू सेलाइसकेका थिए तर पनि एउटा गौरव अझै उसको अनुहारमा थियो- तामा खाइएको गौरव ।

Ram Bharos Kapadi – Valentine Gulab

रामभरोस कापडि ‘भ्रमर’ – भ्यालेन्टाइन गुलाब

मैतीदेवी चोकमा रङ्गीचङ्गी उपहार सामग्रीहरू बिक्री भइरहेका थिए। युवक-युवतीहरू एक-अर्कालाई पाखा लगाउँदै सामग्री चयनमा व्यस्त थिए। म टक्क उभिन्छु। के मलाई केही लिनुपर्दैन? फेरि आफैँसँग प्रश्न गर्दछु कसका लागि?

साँच्चै, कसका निमित्त! यी सामग्रीहरू कुनै रहरले लिने होइन। मानिस अब आफ्नो चित्तको कुरा झिक्न अवसरको खोजी गर्दछन्, कुनै बहानाको प्रतीक्षा गर्दछन्। त्यो चाहे खानेपिउने होस्, कसैसँग दुश्मनी पोख्न होस् अथवा कुनैवेला कसैद्वारा गरिएको उपकारको बदला चुकाउन होस्। त्यस्तै कसैलाई प्रसन्न पार्न, अझ नजिक पुग्न १४ फरबरीको इन्तजार गर्दछन्, यसै निहुँमा कतै हात लागी हाले भने!

तर मलाई हात लगाउन केही बाँकी छैन। वेला रहँदा त्यतातिर ध्यानै गएन। अहिले नयाँ जमातको जगजगी बढेको देख्दा भित्रभित्रै रोमाञ्चित हुन पुग्दछु। उमेरको पर्वाह नगरी भेलमा समाहित हुन मन लाग्छ।

हैन, घरतिर जाऊँ कि क्या हो। बरु त्यहीँ कुनै पुस्तक अथवा विभागीय कागजहरूमा रमाउँला। बेकारमा यो उपहार अथवा भेटीको चिन्तनमा अड्किरहेको छु। टाउको बटारेर एक-दुई पाइला अगाडि बढ्छु पनि, तर फेरि मनमा कुरा खेल्न थाल्दछ। फर्केर फेरि त्यही तरुनाहरूको भीडमा पस्न चाहन्छु- मेरो लागि पनि केही छ कि!

इच्छा र गोजी अनुसार उपहार सामग्री किनिरहेका हुन्छन्। उनीहरूको अनुहार हेर्छु, उमेर अनुमान गर्छु- सबका सब १५ देखि २० वर्षभित्रका लागिरहेका छन्। मैले कुनै सामग्री किने भने यिनीहरूले दुई वटा लख काट्लान्। पहिलो, घरमा केटाकेटी होलान्। अर्को, बुढेसकालमा अतीतले घचघच्याएको जस्तो छ! साँचो कुरा के छ कि म ती दुवै कुराबाट प्रभावित छुइनँ। आज कसैलाई प्रेम सम्वादको प्रतीक दिउँ्क भन्ने मात्र हो। मेरो यो सोच बुझदा धेरैको मनमा दया पलाउन सक्दछ। बुढेसकालमा यी के गर्न खोज्दैछन् हँ? जवानी बरालिँदै बिताए। अब जब कतै केही दिनको लागि स्थिर हुन संयोग जुडेको छ त फेरि मन बरालिन थालेको छ।

बरालिन जो सोच्छन् सोचुन, म त आज केही न केही किन्छु जरुर। साँच्चिकै मलाई आज जबर्जस्ती केही गर्न मन लागेको। भेलेन्टाइन डेको लागि छानिएका सामानहरू माथि आँखा फ्याँक्छु। एक से एक वस्तु छन्। सस्तो-महँगो पनि। म रातो गुलाबको गुच्छा मन पराउँछु।

“साहुजी, यो गुच्छा कतिमा दिनुहुन्छ?”

पसले मलाई राम्ररी नियाल्छ। भन्न सक्दिनँ, उसको मनभित्र के खेलिरहेको छ। “एक सय रुपैयाँ!” अन्तमा संयमित जवाफ फर्काउँछ।

“तीनवटा गुलाबलाई एक सय रुपैयाँ!”

“आफ्नो जमाना सम्झौ । कसैलाई नजिक पार्न दिनुहुन्थ्यो भने यसरी आँखा तर्काउनुहुन्थ्यो?”

केही युवक पसलेको समर्थनमा हाँस्न थाल्दछन्। म साँच्चिकै गलेको महसुस गर्छु। अब त मेरो लागि त्यहाँबाट जान पनि मुश्किल, न लिऊँ भने झन मुश्किल। हत्तपत्त पसलेलाई रु.११० दिएर गुलाब गुच्छा किनिलिन्छु। ताजा गुलाबका पत्तीहरू सुगन्धित पनि थिए। त्यसलाई कलात्मक डालीमा सजाएर राखिएका थिए। गुच्छा हातमा लिएर चोकमा आई विचार गर्न थाल्दछु- म यो गुलाब लिएर घर जान नसकुँला। हातैमा लिएर घुमिरहनु पनि अप्ठ्यारो नै थियो। तब या यसलाई कतै ठाउँमै पुर्‍याउनुपर्‍यो या त कुनै कुनामा सुक्न छाडिदिनु पर्‍यो।

धर्मसङ्कट बढ्दै गइरहेको थियो। गुलाबको गुच्छा कसैको हातमा दिएर आफ्नो प्रेम जताउँ अथवा फालिदिऊँ? अब जे हुन्छ देखा जाला, यो कुनै नयाँ कुरा होइन। समय निकै बितिसक्यो, सबै कुरो ब्ल्याक एण्ड ह्वाइट फिल्म जस्तै धमिलो भइसकेका छन्। टेक्निकलर, हैन मेगाकलर, थ्रीडी, फोरडीको जमाना आइसकेको छ। हामीहरू अगाडिको कुरा मात्र सम्झेर हीनभावना पाल्दै आएका छौं। हैन, प्रेमलाई स्मरण गर्न केको अप्ठ्यारो? आजको दिनको सार्थकता यसैमा हुनेछ।

म गुलाबको गुच्छा हातमा लिएर चाबहिल जाने टेम्पूमा बस्न पुग्दछु। म आफैँ अचम्मित छु। यो टेम्पू मित्रपार्क, चाबहिल, बौद्ध र जोरपाटीसम्म जानेछ। म कता जान लागेको छु? उता को छन् मेरा? गुलाबको फूल बोकेको छु, गन्तव्य भने छैन।

गन्तव्य सम्झँदा हँसी पलाउन थाल्छ, जसलाई म रुमालले छोपेर लुकाउँछु। नेपाल सरकारले २०११ लाई पर्यटन वर्ष घोषित गरेको छ। कति लाख पर्यटक भित्र्याउने रे? ती पर्यटकहरूबाट हुने आयभन्दा बढी खर्च प्रचार-प्रसारमा भइरहेको छ। कहिले समुद्रपार पर्यटनको नाउँमा त कहिले तराई पर्यटनको नाउँमा खुबै मस्ती छ, पर्यटन प्रबर्द्धकहरूको। मलाई भने गन्तव्य शब्दबाटै चिढ भइसकेको छ। हैन, यो शब्द मेरो मनमा आयो कसरी!

आज मेरो कुनै गन्तव्य छैन। टेम्पूमा गइरहनेछु। मेरी आत्मीय यतै कतै छिन्। यो गुलाब उनको हातमा थमाइदिनेछु। म पनि यसै महानगरमा छु भनेर उनी सम्झ्ुन्। यो गुलाब स्मरणाञ्जली बन्ला।

टेम्पू हुँइकिँदैछ। मेरो मस्तिष्कले फन्को मारिरहेको छ। बालसखी मुटु चुँडेर तीस वर्ष अगावै कतै हिँडिहालिन्। जिन्दगीको रुमानी उमेरमा कुनै गीतालाई पनि सजाउन सकिनँ। उनी निराश भएर खुसीको जिन्दगी बाँचिरहेकी छिन्- मभन्दा टाढा बसेर। एउटाको मायाजालबाट बडो मुश्किलले बाहिर उक्लिन भ्याएँ। केही सखी आउँदै, हराउँदै गइन्। एउटी राखी छिन, दिल्लीमा। आक्कल-झ्ुक्कल यहाँ पनि आउँछिन्। यो अवसर परेको भए यही फूल अर्पित गर्थें, उनलाई…!

टेम्पू पुरानोबानेश्वर चोकमा अडिन्छ। तीन जना र्झ्छन्, त्यति नै चढ्छन्। एकजना अधबैंसे छन्, हातमा प्रोफाइल ब्याग बोकेका। एजेन्ट जस्तो लाग्दछ। अर्का जो चढे असल जोडी छन्। भर्खरै बिहे गरेका १८-२० वर्षकी केटी र २४-२५ वर्षको केटो। म अलिपर सरेर उनीहरूलाई ठाउँ दिन्छु। जोडी टेम्पूवालालाई हकार्छ- हिँड्।दुवैलाई हतार थियो।

मेरो चिन्तन भङ्ग भइसकेको थियो। टेम्पूको गतिसँगै फेरि क्रम जुड्न थाल्दछ। अबता जो छन्, यहीं छन्। हो, त्यसलाई त यो दिन सकिन्छ। अनाहक मैले कता-कता के-के सोचें!

फेरि मनमा कुरा खेल्छ- साँच्चिकै उनी यति नजिक थिइन् भने किन सम्झ्न सकिनँ? नत्र, यो फूल उनलाई जिम्मा लगाइसक्थें। मानिसहरू बुझन चाहँदैनन्। समय पदचिन्ह छोड्दै जान्छ, जसको आकृति हुरी, बतासमा खण्डित भइरहन्छ।

सम्बन्ध यति खराब भएको छैन कि गुलाबको फूलसम्म दिन नसकोस्। म निश्चय गरिहाल्छु- यी फूल यहीं दिनु पर्‍यो। मन प्रसन्न हुन्छ, भारी हलुङ्गो हुन्छ। मेरो बरालिने बानीले कतै ठाउँ पायो!

मेरो छेउका जोडी त एकआपसमा समाहित हुने गरी टाँसिएका छन्। उनीहरूको व्यवहारले टेम्पूवासीहरूलाई रोमाञ्चित बनाउन थालेको छ। युवतीको स्वेटरमा गुलाबको फूल रोपिएको छ। यी दुई जना कतैबाट मस्ती मार्न गइरहेका छन् अथवा मस्तीपछि आइरहेका छन्। जे भए पनि भेलेन्टाइन डेको भरपुर आनन्द उठाउन कुनै कसर बाँकी राखेका छैनन्।

टेम्पूलाई मित्रपार्कनिर रोक्छु। एकचोटि गहिरिएर युवतीको स्वेटरको गुलाब र फेरि आफ्नो हातमा जतनले राखेको गुच्छा नियाल्छु। लाग्छ, ती युवतीको गुलाबको अगाडि मेरो गुलाबको सुवास र कान्ति क्षीण हुँदै गइरहेको छ।

टेम्पूबाट र्लेर टेम्पूवालालाई रु.१० भाडा दिन्छु। मित्रपार्कको पूर्वतर्फको ढलानमा आँखा दगुराउँछु। पन्ध्र मिनेटको बाटो, घण्टाको लाग्छ। थाकिसकेको खुट्टाले जबाफ दिइसकेको हुन्छ। गुलाबको गुच्छालाई बीच सडकमा थचारेर म मैतीदेवी जाने टेम्पूमा सवार भइहाल्छु। अब म आफूलाई बढी सहज महसुस गर्न थाल्दछु।

जनकपुरधाम, धनुषा

हिमाल खबरपत्रिका पूर्णांक २७३

Hom Shankar Bastola – Lobh

होमशंकर बास्तोला – लोभ
(मधुपर्क २०६६ असार)

नदीको छेउबाट भँगालो आएको थियो । ऊ भँगालो तरेर नदी र भँगालोको बीचमा बसेर सोचिरहेको थियो- ‘नदीमा बाढी आयो भने म कता भाग्ने ? नदीको कति मीठो सुसेली! ईश्वरले अहिले मलाई पखेटा हालिदिए नदीपारि पुगेर फेरि यतै र्फकन्थेँ ।’

मौसम परिवर्तन भयो । भीषण वर्षा भयो । ऊ खयरको रूखको फेदमा गएर ओत लाग्यो । पानी ठूलो परेकोले नदीको वहाव बढ्यो र भँगालोसमेत तर्न नसक्ने भयो । ऊ खयरको फेदमा ओत लागेर सोचिरहेको थियो- ‘खोलो बढेर आफू नजिक आयो भने के गर्ने, आज बाँचिदैन होला ।’ उसको मुटुमा ढ्याङ्ग्रो ठोकिरहेको थियो ।

उसले सोचेजस्तै नदीको पानी बढेर ऊ नजिक आयो । ऊ चिच्यायो, करायो- ‘प्रभु! बचाऊ । ईश्वर बचाऊ!!!’ उसको होस्हवास उड्यो । उसले आफू मृत्युको मुखमा पुगेको अनुभव गर्‍यो ।

नदीको पानी बढ्दैबढ्दै उसको पैताला छोयो । ऊ झन् हतासहतास हुँदै चिच्यायो- ‘प्रभु बचाऊ! भगवान् बचाऊ! खै ईश्वर, खै भगवान् ? यदि भगवान् भएका भए म निर्दोष मान्छे विपत्तिले मर्न लाग्दा बचाउनुपर्ने हो तर ईश्वर रहेनछन् । ईश्वर मरिसकेछन् । ईश्वर भन्ने कुरा भ्रम हो । ऊ हतास हुँदै चिच्याइरहृयो ।

‘मलाई किन पुकार्‍यौ मनुष्य ?’ एकाएक भगवान् प्रकट भए । उसलाई सपनाजस्तो लाग्यो । उसले आँखाले भ्रम देख्यो कि भनेर थुक लाएर आँखा मिच्यो तर उसको अगाडि साँच्चै ईश्वर प्रकट थिए । उसले हात जोडेर भन्यो- ‘भगवान् मलाई बचाउनुहोस् नदीले बगाउन लाग्यो ।’

‘मूर्ख मनुष्य! वषर्ा रोकि सक्यो । केहीछिनमा नदी घट्ला । किन आत्तिन्छस् ।

‘होइन भगवान्! वषर्ा रोकिए पनि नदी रोकिएको छैन । मलाई बचाउनुहोस्’- उसले भगवान्सँग अनुरोध गर्‍यो ।

भगवान्ले भने- ‘मलाई किन पुकारेको ? के माग्छस् माग, मलाई हतार भइसक्यो ।’

यस क्षण के माग्ने ऊ अत्तालियो । बचाउनुहोस् भन्दा नदी घट्न लागेको ईश्वरकै मुखबाट उसले सुनेकाले बाँच्ने आशा पलाएको थियो । गाडी, घर, सम्पत्ति, जग्गा, जमिन के माग्ने, ऊ सोच्दै थियो ।

छिटो माग तर एउटा कुरा मात्र माग्नुपर्छ भने भगवान्ले । ऊ झसङ्ग झस्कियो । के माग्ने मन्त्री, प्रधानमन्त्री, पद, प्रतिष्ठान, अर्बौँ रुपियाँ । के माग्ने ऊ एकीन गर्न सकिरहेको थिएन ।

छिटो माग! मेरो समय सकिन लाग्यो- भगवान् उडौँलाझैँ गर्न लागे ।

उसले सोच्यो करोडौँ रुपियाँ माग्छु । पैसाको थुप्रो भएपछि यसैमा ओत लागे पनि हुन्छ । नदी पनि घट्दैछ । पैसा मागेँभने जेमा खर्च गर्दा पनि हुन्छ । उसले प्वाक्क बोल्यो- ‘एक अर्ब रुपियाँ दिनोस् प्रभु!’

‘मूर्ख मनुष्य!’ भगवान् मुसुक्क हाँसेर’ तथास्तु भनेर अन्तध्र्यान भए ।

छिपछिपे पानीमा एकाएक एक अर्ब रुपियाँको थुप्रो देखापर्‍यो । ऊ हर्षले चिच्यायो र आँखा चिम्लेर गम्ल्याङ्ग अँगालो हाल्यो । त्यति नै खेर नदीको वेगले उसलाई र पैसाको थुप्रोलाई बगायो ।

Kusum Gyawali – Swabhimani Kabi (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – स्वाभिमानी कवि (लघु कथा)

“आँखा बाँधेर बन्दुकका कुन्दाले हिर्काउँदा करङ भाचिएको छ। म सोझो गरी बस्न सक्तिन। आन्द्रामा घाउछ, लठ्ठि कोचेर यातना दिए, दिशा बस्न पनि असहज छ। टाउकोमा चोटैचोट बेहोस हुने गरी कुट्थे हरेक दिन। ती टाटेपाटे कपडा लगाउने जल्लादहरूले। मेरा दाँत भाँचिदिए, हात भाँचिदिए, खुट्टा भाँचे तर मेरो स्वाभिमान भाँच्न सकेनन्।” आदरणीय विद्रोही जनसमुदायको जीत भएपछि आज म रिहा हुन पाएँ। अरू केही महिना म जेलमै रहेको भए म ज्यूँदो रहने थिंईन। “दोसल्ला ओढाइएका सम्मानित कवि विप्लवको भाषणमा जीवनका हृदय विदारक भोगाई अभिव्यक्त भइरहँदा दर्शक दीर्घाका गहभरी आशु थिए। केही युवा दर्शकका आँखामा आक्रोशको आगो बलेको थियो।”

“केही कार्यकर्ताले विप्लवलाई राष्ट्रले सांस्कृतिक विभागलाई लोकतान्त्रिकरण गर्ने जिम्मा दिनुपर्ने माग राखे। ठूला नेताले आफूले सत्ता सम्हालेपछि विप्लवलाई ठूलो जिम्मा दिने घोषणा गरे। सत्ताका अनुहार परिवर्तन भए, जेलमा बस्ने कुर्चीमा बैंसे। पहिले कुर्चीमा बसेका नयाँ नेताका प्रवक्ता बने। नयाँ नेतृत्वको भयानक तारिफ भयो। ठूलठूला वक्तव्य र प्रचारबाजी भए पत्रिकाहरूले विशेषाङ्क निकाले। बडा नेतालाई तारिफ र वन्दना नगर्न सञ्चार माध्यम कुनै भेटिएन। समग्र कर्मचारी संयन्त्र नै आफ्नो भए जस्तो देखिन थाल्यो बडा नेतालाई तपाइहरू कसरी हाम्रो पाटीमा समाहित हुन भयो?” भनेर, बडा नेताले सोध्दा, “विचारको विजय हो, कमरेड! तपाई जस्ता युगश्रष्टाले देश हाँक्नु पर्छ बुझ्नुभो हामीले जहिले पनि नयाँ कुरालाई स्वीकार गरेर आफूलाई फेर्नुपर्छ भन्नै कुरा हजुरबाट सिक्यौ। बडा नेताले कर्मचारीबाट पाएको जवाफले दङ्ग परे।
“तपाई जस्तो त्यागी र स्वाभिमानी कविले पनि बिक्छन् भन्ने मलाई लागेको थिएन। सत्ता बाहिर रहेका हाम्रा विचारसँग सहमत नभएका मान्छेले हामीलाई तारिफ गरेको बेलामा तपाईले नै झन सरकार मातहतको विभाग कै जिम्मा लिएको मान्छेले पनि हाम्रा नेताका ससाना झिना मसिना गल्ती कमजोरी उछालेर आलोचना गर्ने।” अर्का थरी नयाँ टाटेपाटे पोसाक लगाउने कार्यकर्ता आएर कविलाई बडानेताको आदेश अनुरूप धम्क्याए। उनले तारिफ बडा नेताको फोस्रो तारिफ गर्न र माफ माग्न अस्वीकार गरे।

प्रतिगामीको गद्दार बनेको आरोपमा विभागको जिम्मेवारी मुक्त गरेर पुनः जेल हालियो र कारबाहीमा परेका पुरानै विभागीय प्रमुखलाई सोही विभागको जिम्मा पुनः दिईयो भन्ने खबर पत्रिकाहरूमा छापिएको कुरा जेलमै त्यहीको पुरानो सिपाहीले विप्लवलाई सुनायो।