Dr. Dinbandhu Sharma – Tama

डा. दिनबन्धु शर्मा – तामा
(मधुपर्क २०६६ चैत)

मुडुलो बाच्छो ओसेपिलो कान्लाबाट घाँसका बुजा निकालिरहेको छ । पुच्छर डोलाउनसम्म बिर्सेर गाडिएको गाडिएकै छ ।

‘यस्तो घाँस त यो कान्लामा ठामठामै रैछ’, नन्दुको अगाडि खुर्पा लिएर उभिएको दाजुचाहिँले बाच्छोलाई हेरेकै उभिएर भन्यो । बाँसको झ्याङमुनि आइपुग्दा अहिले घाम अस्ताइसकेको छ ।

‘चिसो छ, माटे लाग्छ कहिले त वस्तुलाई यस्तो घाँसले,’ बोकेको बाक्लो झार सिरुको बीचबीचमा गुथ्थगुथ्थ परेको रहेछ । तल कान्लामुनि सानो पानी ठाउँठाउँ लुक्तै र निक्लँदै तलपट्ट िचिसो बग्दै गएको हरियो सितलो छ ।

‘यो कर्कलो हो ?’ बादलको पहेँलो आएर छपक्कै टाँसिएको पाखामा ठूलाठूला पात हुने घाँस जस्तोलाई देखाएर नन्दुले सोध्यो । आफ्नो दाजुको आधा ढाडभन्दा माथिसम्म अग्लो भएर नन्दु छायाँझैँ हिँडेको देखिन्छ । पुक्क गालाको माझमा सानो बाटुलो नाकमाथि गोलो निधार अलिकति बलैले खुम्च्याएर दाजुलाई र घाँसलाई पालैपालो हेरिरहेको छ ।

”हुन्छ, कर्कलो …, गबदो हो गबदो, चिन्दैनस् गबदो र कर्कलो पनि ?” दाजुले भन्यो । ऊ बाँसका घारीमा छेउछेवै भएर लहरै उठेका विभिन्न आकार र उचाइका तामाहरू गनिरहेको थियो ।

“लौ हेर, बेलैमा यही कान्लाको माटो खसालेर पुरिदिएको भए यस्तो हुन्थ्यो ? तामाको गति …,” गाँजबाट उछिट्टएिर बाहिरैसम्म जरा देखाएर निक्लेको मसिनो तामा देखाएर उसले भन्यो – “वैशाख नलाग्दै गर्नुपर्छ तामा पुर्ने काम ।”

“आज काट्ने कुनचाहिं ?” बहिनी पनि आएर कान्लामाथि नै उभ्भिसकेकी रहिछे । अरू तीन-चारजना केटाकेटीहरू उसैसँग उभिएका थिए ।

पल्लो कान्लामा रहेकी ठूलापाटेकी छोरी पनि पाठाहरूलाई पेटारे माउको पछि छोडिदिएर त्यहीँ आइपुगी ।

“तिम्रोमा तामा खाएँ ः” बहिनीले सोधी ।

त्यसले मुन्टो हल्लाई र अलिकति सम्झनाको उज्यालो आँखामा आइसकेपछि भनी – “बा छँदा त कत्ति खाइन्थ्यो ।”

“हाम्रो त हिजो खाइसकियो … कत्ति ठूलो थियो हगि,” सुब्बाको छोरोले छेउमा उभिएकी आफ्नी बहिनीसँग समर्थन मागेर भन्यो ।

दाजुचाहिँ बाँसको घारी घुमेर वरिपरि अझै जोख्तै थियो । सुब्बाको छोरोसम्मले तामा खाएको सम्बन्धमा गरेको फाइँफुइँले उसलाई फेरि रिस उठ्लाजस्तो भएको थियो । हिजो बेलुका उठेर बल्लतल्ल थामिन खोजेको रिसलाई फेरि उसले जिस्क्याइदिएको थियो । हिजो बेलुका बरु त्यो सुब्बाले बलेनी जोडिएको घरमा तामा काटेर पठाउँदै नपठाएको भए केही थिएन । हेपेरै हो त्यसले, त्यति सानो जर्कटो मात्र पठाएर नबिच्काइदिएको भए उसलाई यो साल तर्कारीको निम्ति तामा काटुँला थिएन । बेलुका भाइबहिनीहरूले गर्नु गरे ।

“हाम्रोमा तामा काट्नु हुँदैन ?”

“हाम्रो पनि कत्ति तामा छ नि हगि ः”

राति अबेरसम्म कचकच गरे तिनीहरूले ।

“ल, भैगो भोलि काटिदे ठूला, यो सुब्बाको चिहानले हेपेको तेरा भाइबहिनीलाईसम्म सहन गाह्रंो भएको छ,” आमाले राति भनिन् – “ल अहिले सुत, कत्ति कचकच गरेको दाजुलाई ।”

घरको आँगनसम्म पहेँलो साँझ छापिइसकेको थियो । दाजुचाहिँ तामा भुत्ल्याएर सकिरहेको देखियो । वरिपरि झु/mम्म भएर घेरिरहेका केटाकेटीहरूको बीचमा ऊ पसिना काढिरहेको रहेछ । घैयापाटे माइलीका छोराछोरीहरू, सुब्बाका छोराछोरीहरू र धन्सार्नीको परिवारै उल्टेर तामाको वरिपरि भुम्मिरहेका थिए ।

“छि, कति गाँडाघेर लागेका, खसी नै ढलाएको त होइन, केही नदेखेको यो मुलुक,” आमा फतफताउँदै भित्र भान्सासम्म पुगिन् । फेरि लगत्तै निक्लेर भनिन् – “यी केटाकेटीलाई त्यसैत्यसै चाड आएजस्तो हुने किन होला ?”

“के हो ? तामा काटेको ? हो त रै छ नि,” घाँसको भारी लिएर उकालिँदै गरेकी आँटीघरे भाउजूले भनिन् – “हाम्लाई पनि एक टुक्रा दिए कस्तो हुन्थ्यो ।”

“तिमीहरूको नयाँ बारीमा कस्तो सप्रेको तामा,” उकालो लागिसकेकी भाउजूले सुन्ने गरी आमैले फेरि भनिन् – “जिरो पठाएको छ दुलही लाहुरेले ?”

“नयाँ बारीमा त छ नि बज्यै, बूढाले छुन दिने होइन तामा ।”

“जुगजुगसम्म घाँस काटेर गाईवस्तु पाल्ने बाँस एकछाक तर्कारी” भनेर काट्न गाह्रै हुन्छ नि जेठी । यहाँ त तेरा ससुरालाई तर्कारी नै सबभन्दा ठूलो कुरा हुन्छ र पो । यति खेर त पल्लोघरमा काटेको देखेपछि भुराहरूले सुख्खै दिएनन्, काटिदे भनेँं ।”

“अलि उता सर न” नन्दुचाहिँ अरूलाई परपर घचेटेर दाजुकै पछाडि उभिन आइपुगेको थियो । छातीदेखि आँखासम्म आएको खुसीले उज्यालो भएर ऊ बडो गौरवपूर्वक आफ्ना दौँतरीहरूको माझमा उभिएकोमा आमालाई खुसी लाग्यो ।

“कत्ति ठूलो – कत्ति सेतो हगि ?” नन्दुले साथीहरूतिर फर्केर भन्यो ।

“हाम्रो पनि हिजो है ?” सुब्बाको छोरोले भन्यो ।

“भो, योभन्दा त सानै थियो ।”

“तैँले भनेर हुन्छ ?”

“हुन्छ नि, तैँले भनेर हुन्छ ?” नन्दुले जङ्गएिर अलिकति घचेडिदियो ।

“ए, बदमासहरू,” दाजुचाहिँ गिंड-गिंड पारेर टुक्र्याउँदै गरेको तामा छोडेर उनीहरूतिर फक्र्यो ।

आमाले पिँढीबाटै कराएर भनिन् – “जर्रो भएको छुट्टै राख, अमिल्याएर झोल खानुपर्छ, अहिले खानलाई कलिलो ठिक्क पार ।”

“अनि जिरा रै छ त आमा ?” नन्दुको दाजुले सोध्यो । ऊ चुलाको डिलमुनि गहिरो ओछ्यानमा नन्दु र बहिनीलाई राखेर तामाको प्रसङ्ग भएको कथा सुनाइरहेको थियो ।

“कसरी हुनु, त्यही आँटीघरे जेठीले अलिकति दिएर गई, तामाको टुक्रो भनेर आएकी थिई । फलेबास जाने कोही भए किन्न पठा अलिकति । अलिकति गिंड राखिदे जेठीलाई पनि ।”

क्रमश ः तामाको मसालेदार बास्ना घरभरि फैलियो ।

नन्दु एकपटक बाहिर निस्क्यो र आँगन छेउसम्म पुग्यो । हाँडीकोटको कालो पहाडमा बाहेक केवैदेखि फुर्केसल्ला हुँदै अझै पर लम्पेकसम्म बाक्लै मलिन बत्तीहरू देखिए । आकाशमा पनि ताराहरू अग्घोरै बाक्लो गरी टाँसिएका थिए र अन्धकारमय रातमा मलिनो उज्यालो पठाइरहेका थिए । आँप र नासपातीको रूख भए ठाउँमा कालो अँध्यारो बाक्लिएको थियो ।

“को हो ?” अँध्यारो बाटोमा कालो छायाँले बोलेको सुनियो ।

“बा आउनुभएको हो ?” नन्दुले सोध्यो ।

“अँ ….., तँ किन बाहिर – यस्तो अँध्यारोमा ?”

“म तपाईंलाई नै हेरिरहेको थिएँ, थाहा छ तपाईंलाई ? आज तामा काटेको छ ।”

“हो ? ल, खासा भयो ।”

आँटीमुनि नन्दु र उसकी बहिनी आमने-सामने बसेर खाइरहेका थिए । चुलोमा बा र दाजुचाहिँ खाँदै थिए । तामाको झोलसँग भात सप्काएको आवाज र तामाको मीठो बास्ना घरभरि छपक्क थियो । ठूलीभाउजू अँगेनामा सानो आगो बालेर काखको नानीलाई सेकिरहेकी थिइन् ।

“मरिचको के कुरा, बेसारसम्म माग्नुपर्‍यो,” आमाले भनिन् ।

“मरिच भएको भए अझ स्वादिलो हुन्थ्यो ।”

“मीठो हुन्छ हगि तामा ? कस्तो पीरो, कत्ति पीरो,” नन्दुले बहिनीतिर फर्केर भन्यो ।

“कत्ति पीरो छ,” बहिनी रुनै थाली । तिनीहरू हाउहाउ गरिरहेका थिए ।

“ए दुलही, पानी देऊ त, नानीहरूलाई, पीरो पनि नराखेर कसरी पकाउनु फेरि ?” आमाले भनिन् ।

नन्दुलाई जिब्रो र ओठ सप्पै तातो र पीरोले खुल्किएर गएजस्तो लाग्यो । सबै शरीरदेखि टाउकोसम्म तातेर ज्वरो आइरहेको थियो र पसिनाको भल बगिरहेको थियो । जिब्रो त माझ ढाडबाट काटिएरै खसिसकेको जस्तो लागेको थियो र तालु सुकिरहेको थियो तर तामा काटिएर खाइसकिएकोमा खुसी नहुनु सम्भव थिएन ।

“आजको तामा मीठो भो,” दाजुले भन्यो ।

भन्नुपर्छ लागेको, सबैले भनेको, नन्दुले पनि भन्यो – “तामा त मीठो छ ।”

“तामा ठिक्क काट्ने बेलाको रै छ,” बाबुले भने ।

“जिराको पनि कुरा हो,” आमाले भनिन्, “लाहुरेले पठाएको मीठो हुन्छ, काँचो जिरा, जत्ति नयाँ भो त्यति मीठो हुने त हो नि ।”

“ल पानी खानु त, हेर त आँसु बलिन्द्र धारा,” भाउजूले बहिनीको हातमा अम्खरा दिएर भनिन् ।

भोलिपल्ट गाईका बाच्छा खेदेर वनमा पुग्दा सुब्बाको छोरोसँग नन्दुले भन्यो – “हिजो तामा खुब मीठो भएछ, मैले त कत्ति खाएको ।”

बहिनीले पनि भनी – “मद्रासी जिरा हालेको थियो – काँचो जिरा, जिरा जत्ति नयाँ हुन्छ, त्यत्ति मीठो हुने त हो नि ।” अहिले उसको अनुहार आफ्नी आमाको जस्तो देखियो ।

गाईहरू लहरै मइरेको डाँडो घुमेर उपल्लो कुलासम्म ओर्लिसकेका थिए ।

बहिनीचाहिँलाई त्यसपछि दिनभर पनि लागिरहृयो – “मीठो भनेको के हो ?” उसका हिजो तामा काट्ने बेलादेखिका सबै हर्कहरू सेलाइसकेका थिए तर पनि एउटा गौरव अझै उसको अनुहारमा थियो- तामा खाइएको गौरव ।