Ramkrishna Sunuwar – Sipahi Ko Sapana

उसलाई बिश्वास नै भएन सिपाहीमा सफलतापूर्बक नाम दर्ता भएकोमा । मात्र सम्झना छ चार-पाँच बजेतिरको झिसमिसे उज्यालोमा धरान क्याम्पको मूल ढोकाभित्र घुसे पछि सिपाहीहरुको जत्थाले हुलका हुल नव जवानहरु उस्तै उस्तै उमेरकाहरुलाई बिभिन्न होडबाजीमा भिडाएको । उसलाई अत्तोपत्तो नै भएन कुनै पनि कुराको जानकारी ठप्प छ ।

कहिले तीनकुनेबाट फोक्सो फुलाउँदै घोडा झैं दौडिरहेको बेला नाक मुख कान आँखा तथा चर्मका हरेक प्वालहरुबाट श्वास-प्रश्वास भै रहेको भान हुन्थ्यो । बर्षादको झरीले मूल फूटाए झैं हुन्थ्यो शरीरभरी । चौतारी परेड भोली पल्ट बिहानै जो जसले तोकिएको समयमा दुरी पार गर्न सत्तैुनन् केही खर्च हात लगाएर ए.आर.ओ. एरिया रेक्रुटिङ्ग अफिसर हरुले संझाउँदै क्याम्पको मूलद्वार कटाई दिने । बचेका सफल जवानहरुको लागि अर्कै कार्यक्रमको तय गरिएको हुन्थ्यो । कहिले शैक्षिक योग्यताको परीक्षा कहिले शारीरिक सुगठन दौड खेलकुद अप्स्ट्याकल पार गर्नु पर्ने झुण्डिने-उफि्रने अनेकानेक अन्तरबार्ता सबै थोक सकिए पछि ठूलो जिम्नाजियम हलभित्र सबैलाई जम्मा पारेर नाम पुकार्ने क्रम । जो जसको नाम अगाडि माचबाट डि.आर.ओ. डिपोट रेक्रुटिङ्ग अफिसर ले पुकार्दछ आपुनो पोका पत्यौरा बोकेर बाहिरिनु पर्ने अन्यौलको क्षण ।

ऊ गतसाल पनि यसै क्रममा हाजिर भएको थियो । जिम्नाजियम हलभित्र बाँकी रहेका अल्पसंख्या भित्र परेको थियो ऊ । हातमा पाँच सय रुपैंयाँ थमाएर फुस्लाउँदै अर्को साल अवश्य सफलता हात पर्ने आश्वासन दिए पछि सिनेमा हलभित्र हिन्दी चलचित्र हेरेर मन बहलाएको थियो उसले । जीवनमा फौजी कहिल्यै नहुने बाचा कसम खाने उसको ऊ उ_िक्सएको थियो गजवले आपुनै कलेजका साथीहरु र अन्य लाहुरे बन्न कम्मर कसेका दौतरीहरुबाट ।

उन्नाईसौं नम्बरमा क्रमबद्ध रुपले नाम पुकारिएको उसले केही बुभुनै सकेन । मूलद्वारबाट बाहिर निस्कनु पर्ने हो कि होईन पत्तै भएन । केहीबेर मै लामा यौवनात्मुक कपाल हजाम घरमा टुकि्रन्दा र हरिया खाकीका लत्ता कपडा झोला निकाल्न क्वाटर माष्टरको स्टोर अगाडि लाईनमा उिभंदा झस्कन्छ ऊ । यो स्वप्न हो कि बिपना एकक्षण अघि सम्म तपाईं हजुर भन्दै बोल्ने गुरुजी भनाउँदो एक्कासी गर्जन्छ । अब तँ हरु बल्ल फेलामा परिस् !” एक दुई शद्व गर्दै सबै जना यसै भन्न थाल्दछन् । कस्तो फेलामा परिने हो सायद सबै जवानहरुको मनमा यस्तै कुरा खेलि रहेको हुदो हो ।
बिहान शारीरिक सुगठनब्यायाम दिउँसो कवाज टन्टलापुर घाममा बेलुकीपख खेलकुद खाना खाई सकेपछि नाचगानमा सहभागी हुनै पर्ने बाध्यता । जो जसले आदेशको पालना गर्न असमर्थ हुन्छन् सजायँको हकदार हुनु नै पर्ने । उसलॆ दौंतेरीहरुसंग जोडजोडले गीत गाउँदा स्फूर्तिकासाथ बुर्लुक्क बुर्लुक्क उप्रुन्दै नाच्ने जवानहरुको कमि पनि थिएन । सायद सबैलाई उस्तै उमङ्ग जागेको हुदो हो भर्ती लागेकेामा । केही ऊमङ्ग अनि न्यास्रोपनाको मन बोकेर जेलिएको छ सिपाहीको जिन्दगीभित्र ऊ ।

धरान-काठमाडौंका रमझम सकिएर काईटक हङ्गकङ्ग बिमानस्थल पुगुाजेल सुनाईएको छ सबै जनालाई ँजुङ्गाको मुठ्ठा बाँधेर पर्खिएका छन् तिमीहरुलाई गुरुजीहरुले ।” काउलुन शहरका गगनचुम्वी भवनहरुले हङ्गकङ्ग टापुका डाँडाहरुलाई सहजै उछिनेकॊ प्रष्टिन्थ्यो । एकै प्रकारका कर्मचारीहरु देखिन्थे बिमानस्थलमा । नाक कान घाँटी कद सबै उस्तै उस्तै । भाषा एउटै जस्तो रङ्ग उस्तै देखिने काला-गोरा अग्ला-होचा नदेखिने ती क्यान्टोनिज जातिय हङ्गकङ्गका । बिजुली बत्तिको झिलिमिलि जमिनभित्रको सुरुङ्गे सडक हुँदै गाडी घ्याच्च रोकिन्छ मलाया लाईन्सको छाउनीभित्र । फेरी लाम लगाएर नाम पुकारिने क्रम जारी आ-आपुनो जत्थामा जम्मा भई तालिम शुरु हुदा सम्म जुङ्गामुठ्ठे जुङ्गामा ताउ लगाउँदै कोही झुल्कँदैनन् अघिल्तिर ।

छ महिने तालिम प्रथम पटक शुरुआत गरिएको त्यो रेक्रुट तालिमभरी नाना प्रकारका कार्यहरु हुन्छन् गुरुजीहरु देखिन्छन् तर जुङ्गामा ताउ लगाउँदै कोही उपस्थित हुँदैन । शैक्षिक योग्यताको थोर बहुत कदर गर्दै प्रशिक्षण दिने शाखाको प्रबन्ध भए पनि बिहानको झिसमिसे देखि मध्य रातसम्मको दैनिक कृयाकलापले थकित बनाउँदथ्यो उसलाई । उसले बिद्यालय-कलेजमा अध्ययन गरेको ती बिज्ञानका मूलशद्व र गणितका फर्मूलाहरु गुरुजीहरुद्वारा उदृत अश्लिल शद्वहरुसँगै घोलिएर साधरण जोड घटाऊमा झरेको प्रत्यक्षदर्शी आफैं मात्र थियो ऊ ।

पहाड जङ्गल-झाडी खोलानाला बाटो गोरेटो-घोरेटो गाऊँ-शहर आदि-ईत्यादि नक्शामा अध्ययन गर्नु पर्ने क्षण । रण कौशल मध्येको एउटा महत्वपूर्ण बिषयवस्तु । आफू अवस्थित ठाउँ दुश्मनको ईलाका र सम्भावित हलचल गर्ने दिशाबोधक युक्तिपूर्ण रण कौशलताको लागि । हुरी झरी टन्टलापुर सूर्यको ताप गर्मी धूलो हिलो डाँडा-पहाड झरना खोलानाला समथर मैदान दिनका आठैपहर दौतेरी साथीहरु प्रशिक्षक गुरुजीहरु एस।ए। एटी।राईफल हेलमेट बुटपट्टी पिठ्यूमा झोला लादिएको मन-मष्तिष्कमा तनाव ।

बर्मा लाईन्स साईनो हङ्गकङ्ग सिमानाको ड्युटीमा आई। आई। गैरकानूनी आप्रवासी चिनियाँ पक्डनको लागि झरी हुरी नभनि चिनियाँहरुको कुखुरा हाँस सुँगुर पालनको रछ्यान निलेर कति अनिन्द्रै रात बिताउँदछ । कहिले भलबाढीले चिनियाँहरुको माछा पालन गर्दै गरेको पोखरी सबै उदाङ्गै भत्काईंदा त्यहीे भेलमा म्याटमाथि तैरी रहेको पाउँदछ । माछाहरुलाई जालीमा हाल्ने आदेशानुसार रमाउँदछ ती भताभुङ्ग पोखरीहरुमा । ती माछाहरु झैं भलबाढीमा परेर लम्पसार परिने दुर्दशाको चिन्तन-मनन अब्यक्त । कहिले बोर्डर ड्यूटीमा छँदा साथै भर्ती भएको सिपाहींको अकस्मात दुर्घटनामा परी निधन हुँदा कवाज खेल्न पुग्दछ क्यासिनो लाईन्सको चिहान घारीमा । हङ्गकङ्गको क्यासिनो लाईन्स गोर्खाली सिपाही र तिनका परीवारहरुका मृत्यु पश्चातको बासस्थान । स्वप्नहरु सिपाही भएर चुरुम चुरुम चपाई रहेछ उसले ।

कहिले ब्रुनाईको टन्टलापुर घाममा एउटा कनिष्ट सिपाही भएर पुग्दछ उ । बुट पड्काउँदै सलाम छडकाउँदै मासिक तलब प्राप्त गर्नको लागि । गोर्खा सैनिकहरुले बैंक खाता खोल्न पाउने प्रावधान शुरु हुदै गर्दा । ब्रुनाई भूमध्य रेखाको ईर्दा गिर्दामा अवस्थित देश गर्मीको चरमचूली घना जङ्गल सैनिकहरुले रणकौशल सिक्ने बातावरण स्क्वाट वन बनेर खुकुरीले जङ्गल फाँड्दै बाटो बनाउनु पर्ने बाध्यता कनिष्ट सिपाहीको । बेतका काँडा र अन्य रुखका हाँगा छड्केहरुले क्षतबिक्षत रगाताम्य हातहरु । तिर्खाले छटपटी आँतहरु बँदेलको आहालमा तृप्त । अनेकानेक जङ्गली किराफट्याँङ्ग्रा सर्प बिच्छी आदिका टोकाई ।

सैन्यदलको मुख्य आखडामा अनेकानेक कामहरुमा ब्यस्त । एक कनिष्ट सिपाही बेयरा झाडुवाला मेतर कान्छा । बिशिष्ठ भ्रमण ताका सिरमुर गार्ड । सधैंको चड्के सिपाही छाला र अस्थिपाजरले मात्र अडिएको छड्के सिपाही । गुरुजीहरुको भनाई हेर चड्के ती भर्खरै परीवार लिएर आएकाहरुलाई सहुलियतार्थ समय दिनु पर्छ।” चड्केले चार गुणन घडीको सेकेण्ड काँटा झैं फनफन्ती घुमेर धपेडी घाममा काम गर्दा एक चौथाई तलब मात्र हात लाग्दथ्यो ज्येष्ठ सिपाहीको दाँजोमा । सँघार रुघ्ने दर्वान सानो छहारी रातभरीको हुरी-बतास र हात्ती सुँढे झरी । दिन दहाडै अन्याय र अत्याचारको पिरलो । कनिष्ठ र ज्येष्ठ सिपाहीको मासिक तलब समान भएको सपना सजाउने चड्के को सपना बि्रगेड अफ गोर्खाजको नयाँ ट्याकस ।

कायर हुनुभन्दा मर्नु निको” मुखमा नपसेको अमिलो अङ्गुर । लाली र काली पूर्वेली र पश्चिमेली भनेर जोसाईन्दा कठपुतली बनेर अनायसै कैंयौं पटकका नाचहरुमा बुर्लुक्क उप्रुन्दै बर्लङ्ग पछारिएको छ भूईंमा । संकोचित भावना पालेर गोर्खा पल्टन मै मात्र सिमित नरहेर खुल्ला नीति अपनाएर दक्ष जवानहरु जल थल र नवका सम्पूर्ण ओहदा आँक्ने फाईटर र ट्याँक हाँक्ने चिकिच्सक र प्रशिक्षक बन्ने सपनाहरु- खुल्लाद्वारको सँघारमा उभिएर दङ्गदास ।
बहादुर मात्र बने ट्याड्ढले किच्न बेर नलाग्ने । पुरानो भाषिक शैक्षिक प्रणालीमा बिषेश फेर बदल हुनु पर्ने स्वप्नको साकार मा केही थप जानकारी । पल्टन घरमा सैन्यहरुलाई सिकाईने एस। एल। पि। स्ट्याण्डर्ड ल्याङ्ग्जेव प्रोफाईल अवकाश पछि कतै मान्यता प्राप्त नभएको मा उ अवाक बन्दछ परिभाषित आँखाहरु लोलाएको बेला केही हेरफेर भएकोमा हर्षित । यद्यपि युवा पिढीहरुले कार्यरत छँदै अध्ययन जारी राख्न सके बाहिरी संसारमा अवतरण हुँदा महत्वपूर्ण भूमिका निभाउन सकिने । युगानुसार नयाँ पिढीले त्यो घुम्तिसम्म आई पुग्दा ईतिहासलाई फर्किएर हेर्नु पर्ने र त्यसलाई बिकसित रुप दिंदै अघि बढ्नु पर्ने स्वर्णिम स्वप्नमा चुर्लुम्मै डुबेको छ ऊ ।

बिगतमा झैं पारिवारीक दुरी हटाईनु पर्ने शैक्षिक-बौद्धिक प्राविधिक कार्यक्रमको सिलसिलाबद्धरुपमा तय गरिनु पर्ने तरङ्गमा उताव चढाव हुदै गर्दा पल्टने सन्ततिहरुले पाएको अवसरलाई सदुपयोग गर्नु पर्ने जोड । बिहानी झुल्को नयाँ पिंढी भविष्यको कर्णधार दर्वान देखि प्रधान मन्त्री सम्मको सपना भविष्यको गर्भमा सुरक्षित । प्रवासमा आर्जेको बौद्धिक आर्थिक सामाजिक भौतिक नैतिक बस्तुहरु मातृभूमीको बिकासार्थ प्रयोग गरिएको बिदेशिएका सबै स्वदेश फर्कदै सेवारत । नेपाल शरणम गच्छामी यत्रतत्र । निबृत्तिभरण सहितका अनेकौं सुबिधामा अलग नीति हट्नु पर्ने स्वप्नमा दङ्गदास एक्काईसौं शताद्विको संघारमा उभिएर पारदर्शिताको स्वागातार्थ ऊ ।

Sharmila Khadka Dahal – Abritti Ko Canvas Ma

शर्मिला खड्का (दाहाल) – आवृत्तिको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, भर्खर एउटा पात्रसँग मेरो भेट भएको छ । ऊ मलाई हातमा समाएर जोडले तान्दै छ । हेरौँ कहाँ लान्छ ? मलाई थाहा छैन कहाँ लाँदै छ भन्ने कुरा । ऊ हष्ट पुष्ट यौवनले भरिपूर्ण भएको पच्चीस–छब्बीस वर्षको जवान ढिटो छ । उसँग म कहाँ दौडनु सक्छु र ? तर पनि उसले तानेपछि मरे छोड्नेवाला छैंन । त्यसैले हुत्तिदै, मुन्टिदै उसको पछि लाग्न बाध्य छु । यो पात्र अरूजस्तो होइन रहेछ । अरूको भावनाको, इच्छाको सम्मान नै नगर्ने ! कस्तो अव्यवहारिक केटो रहेछ ! उसले मलाई केही भन्ने मौका पनि दिएको छैन, हेरौँ मलाई कहाँ लादो रहेछ । म उसलाई पछ्याउँदै छु । अहिले मलाई अनौठो लागिरहेछ । मेरो कथायात्रामा कतिपय ठाउँमा मैले पात्रलाई पछ्याउनु पर्ने हुन्थ्यो तर अहिले त पात्रले नै मलाई जबरजस्ती तानेर लाँदै छ । मलाई अचम्म लाग्दै छ तर पनि म जाँदै छु । दिवाकर नेपालीज्यू, ल अब म त्यो ठाउँमा आइपुगेको छु, हेरौँ यो कस्तो ठाउँ रहेछ !

सन् २०१० को न्यु इयर इभ मनाइरहेको ठाउँ, नेपालको धेरै गाउँ मध्ये चाँडै नै सहरको रूपमा विकसित भएको सहर—इटहरी । न्यु इयर इभमा देशको प्रसिद्ध गायक गीत गाउन मस्त छ । मेरो पात्र मलाई लिएर ऊ प्रोग्रामको लागि भित्र छिरिसकेको छ । मैले वरिपरि नजर घुमाएँ । धेरै जसो ढिटाढिटी र युगल जोडी देखिन्थ्ये । केटाकेटी र बूढाबूढीको सङख्या कतै चामलमा विया मिसिएका हुनकि जस्ता थिए । इटहरीको चिन्तन चौतारी, कला र सँस्कृतिको अनुपम उदाहरण भएको रेष्टुरेन्ट । मौलिक र प्राकृतिक कलाकृतिले सजिएको विभिन्न जातजातिको सँस्कृति झल्कने नमूनाहरू सायद नेपालकै उत्कृष्ट कलाकृति हो यो । यो मनोरम दृश्य देखाउने मेरो पात्रप्रति म अनुगृहित थिएँ । रेष्टुरेन्ट पस्नुअघि नै यसको कलाको अनुपम प्रस्तुति ढोकामा बनाइएको थरुनीको विशाल मूर्तिले मलाई आकर्षित गरेको थियो । थारु समुदायको बाहुल्यता रहेको इटहरीमा यो मूर्ति थारु कलाको एउटा प्रतिनिधित्वको रूपमा उभिएको अद्भुत कला थियो । भित्रपस्नेबित्तिकै बाँसको चोयाँले बुनिएको ठूलो कछुवा अनि विभिन्न देवीदेवताको मूर्तिले मेरो आँखालाई लोभ्याएको थियो । यस कलाकृतिलाई धितमरुन्जेल हेरेर आँखालाई विश्राम दिइ सक्दा नसक्दा भित्रको रोमाञ्चक माहौलले मलाई तानिहाल्यो । उक्त पात्र मसँगै छ । हामी टेबुलमा बसिसकेका थियौँ । एकछिनपछि एउटी थारु जातकी जस्ती ठिटी टाइट जिन्स पाइन्ट र फूलवाहुला भएको भेष्ट लगाएर हाम्रै टेबलको मेच बसी । चिसो निकै बढेको थियो । तराईको मध्यहिउँदको जाडो मस्त जवानीमा थियो । तराईको चिसो नपत्याउदो हुन्छ मुटु नै छेडिनेजस्तो । अझ कार्यक्रम खुला मैदानमा गरिएको हुनाले टाउकोबाट चिसो पस्दा सियो रोपिएझैँ भएको थियो । अलिक पर आगो बालिएको थियो । तर त्यो धिपधिपे आगोले हामीलाई तताउनुको सट्टा हाम्रै तातो उधारोमा लिईरहे झैँ लाग्थ्यो । माहौल निकै तातिएको थियो । छेउछेउमा वियरका बोतलहरू लडिरहेका थिए । गायकसँगै गीत गाउने र उफ्रिनेको कुनै कमी थिएन । मलाई लाग्यो मेरो पात्रको उक्त ठिटीसँग पहिले नै चिनजान भएको हुनुपर्दछ, र त आएर यसरी बसेकी छे । अब दुवै जनाको वार्तालाप सुरु हुने अवस्थामा छ । मेरो पात्र भन्छ —

“मलाई कसरी देख्यौ ?”

“एजेन्टले देखाइ दियो । ”

“ए.. ऽ..ऽ. ” निकै लामो सास फेरेर ऊ रोकियो । यस अघि मेरो पात्र एउटा व्यक्तिसँग हात मिलाउदै गफ गरेको थियो । सायद उक्त व्यक्ति एजेन्ट थियो क्यार !

‘कस्तो एजेन्ट ? को एजेन्ट’ मेरो मस्तिष्कमा चिसोसँगै जिज्ञासा रोपियो । म उनीहरूको संवाद चोर कानले सुन्छु । उक्त केटी मलाई हेर्दै संकोच र लाज मानिरहेकी हुन्छे । म थाहा नपाएझैँ हुन्छु ।

मेरो पात्र भन्छ – “डराउनु पर्दैन उ मेरो कथाकार हो । उसले तिमीलाई केही हानी गर्दैन ।”

म उनीहरूको वार्तालाप नसुनेझैँ र नदेखेझैँ गर्छु । दर्शकहरू जोडजोडले ताली बजाउँदै उफ्रदै गरेका छन् । म उनीहरूको कतिपय वार्तालाप बुझ्दिनँ । बाहिर चिसो स्याँठ चलेझैँ मेरो मनमा धेरै उत्सुकताको स्याँठ चलिरहन्छ । तर पनि म सौभ्य र धैर्य बनेर सब हेरिरहेको छु — चिन्तन चौतारीको कलामय र चर्चित गायकको संगीतमय वातावरण । सायद युवायुवती युगल जोडीहरू सबै आफैलाई भुलेर आनन्द लिनमा ब्यस्त छन् । पुरानो वर्षको सबै दिक्कलाग्दा, कुरा बिर्सिएर नयाँ वर्षलाई रोमाञ्चकारी बनाउँदै स्वागत गर्न तल्लीन देखिन्थे । देशको राजनैतिक अवस्था कहाँ पुग्यो ? संविधानसभा बन्ला कि नबन्ला ? ठूला पार्टीहरूले कस्तो रणनीती खेल्ने हुन ? परराष्ट्र नीति कस्तो हुने हो ? कसैलाई कुनै मतलब नभएझै देखिन्थे । धेरैजसो जोडीमा देखिन्थे । कतिपय बिना जोडीका पनि देखिन्थे । जोडी हुनेहरू अरूका आँखा छलेर एक आपसमा अँगालोमा बाधिँदै चुम्बन साटासाट गर्दै थिए । मैले सोचे सायद नेपालमा पनि पश्चिमी सभ्यता भित्रिसकेछ । बिना भन्सार महसुल छिर्ने यस्ता कुरालाई कुनै कठिनाइ थिएन । कम्युनिष्ट शासन भएको चाइनाले त खुला नीति लिइसकेको अवस्थामा नेपालमा कुनै शासन नै नभएको ठाउँमा कुन भारी कुरा हो र ? यो त बर्ड फ्लुझैँ हावामा उडेर आइपुग्न सक्छ । अझ यति मात्र होइन भविष्यमा अरू कति खाले फ्लु भित्रिने हुन् कुनै अनुमान छैन । मैले विचारको धारो खोलेँ — फ्रायडको मनोविज्ञान अब पुरानो भर्सनको कम्प्युटरझैँ भइसक्यो । अब कसैले पनि यौनमनोविज्ञानलाई कुण्ठित पारेर बाँच्नु पर्दैन । अब यौनविज्ञानको नयाँ भर्सन आउनुपर्छ तर यो सिद्धान्त पनि आयतित नै हुनुपर्ने होला किनभने यताको सबै सिद्धान्तहरू खोलामा गीत गाएझैँ हुन् । ब्रान्डेडको अगाडि लोकलको उभिने के हुर्मत ? यो आधुनिक नेपाली उखानबाट मैले मेरो विचारको धारो बन्द गरेँ ।

सबैको हातहातमा मोबाइल छ । कोही जोडी नहुनेहरू आफ्नो जोडीलाई सम्झँदै यौनकुण्ठा मोबाइलबाट यसरी व्यक्त गर्दै थिए —

“डार्लिङ, आइ लभ यु !, आइ किस यु ! आइ मिस्ड यु मेरी मच ! ”

कोहीकोही लठ्ठारिँदै छेउछाउ किनारिँदै छन् । म यो सब थोक हेरिरहेको छु । मलाई एक्लै बसेको देखेर कतिपय आँखा मै यौन प्यास बुझाउँलाझैँ गरी हेदै छन् । कतिपय मलाइ हेर्दै भालेले पोथीको अगाडि पखेटा फिँजाएर भुनभुनाएझैँ भुनभुनाउँदै थिए । पुरुषहरू स्त्रीहरूलाई यौनवासनाको रूपमा मात्र किन हेर्छन ? यो भन्दा पर उनीहरूको सोचाइले सीमाना नाध्न सकेको नै छैन । म मनमनै उद्वेलित बन्छु । तर यहाँ त वातारणले पनि ठूलो भूमिका खेलेको छ । एउटा कथाको – प्रमुख नायकलेझैँ । जे होस उद्वेलित मनलाई नियन्त्रणमा लिन्छु । म त्यहाँ उपस्थित धेरै जसो स्त्रीहरूको लवाइ, हिँडाइ, बोलाइमा कामुकता पाउँछु । मलाई किन हो यो माहौल ठीक लागिरहेको थिएन । उठेर हिँडि जाउजस्तो लागिरहेको थियो । तर एक्लै कता जाने होला ? मलाई दिक्क लाग्यो । म त यहाँ पात्रसँग कथा लेख्न पो आएकी थिए त ! तर खोई विषयवस्तु ? पात्र आफ्नो प्रेमिकासँग गप्फिन मस्त छ । ऊ मलाई मेरो उपस्थितिको कुनै सरोकार नभएझैँ व्यवहार गरिरहेछ । अब मैले के कथा लेख्नु ? मैले सोचेकी थिए पात्रले मलाई यहा ल्याएर कुनै रोमाञ्चक कथा सुनाउने छ । तर अहिले उसको मुड नै अर्को छ । मैले पात्रलाई पुलुक्क हेरेँ । ऊ आफ्नी प्रेमिकासँग निकै घुलमिल भइसकेको थियो । टेबलमा केही खानेकुरा आएको थियो । मेरो पात्रले मलाई इशाराले खान अनुरोध ग¥यो । मैले पनि आँखा र हातको इशाराले जुसमात्र खाने संकेत गरे । कतै उसको प्रेमिकासँगको प्रेमिल वातावरणमा खलल पुग्ला भन्ने कुराले म सतर्क थिएँ । अहिले म मेरो पात्रको मनोविज्ञान बुझ्ने प्रयासमा थिएँ । ऊ रोमान्टिक मुड भएको कामुक पुरुष रहेछ । ऊ नयाँ–नयाँ ठाउँमा यस्तै केटीको खोजीमा हिँडदो रहेछ । म उनीहरूको वार्तालापलाई यसरी सारांशमा खिचेर जुम गरेर देखाउन चाहन्छु – मेरो पात्र लाहुरे परिवारमा जन्मिएको एकदमै पुलपुलिएको ठिटो रहेछ । ऊ भोगाविलास र आनन्दमा दिन बिताउने गर्दो रहेछ । बुवाको पेन्सन र घर भाँडाले घर खर्च गरेर अरू पैसा कहाँ फ्याकौ भन्ने अवस्था रहेछ उसको । साथीहरूसँग बाइकमा घुमफिर गरेर दिन बिताउनु उसको दैनिकी रहेछ । बाउआमाको करकापमा एउटा पिसिओ पसल खोलेको रहेछ । पिसिओ पसलमा दिनभर कोठामा बाधिएर बस्न उसलाई गारो भइसकेको थियो । उसले पिसिओ साथीको भरमा छोड्ने गर्न थाल्यो । पिसिओबाट कमाइ हुनुको बदला उल्टो घरबाट पैसा तिर्नु परेपछि बुवा आमाले पिसिओ पसल बन्द गर्न लगाएछन् । त्यसपछि उसको काम यस्तै नयाँ—नयाँ ठाउँमा नयाँ—नयाँ रेष्टुरेन्टमा नयाँ—नयाँ भेज, ननभेज चाख्तै हिँड्नु उसको आदत बसेको रहेछ । इटहरीको विराटनगर जाने र पश्चिम जाने राजमार्गमा दुई किनारमा यस्ता खालका रेष्टुरेन्टहरू संचालित थिए । त्यहाँ गाउँमा अभावमा तडपिएका सोह—सत्र वर्षका केटीहरू वेटरको रूपमा काम गर्दथे । सोझासिधा गाउँका अबोध बालिकाहरूलाई फकाइफुल्याइ पैसा र अन्य कुराको प्रलोभन देखाइ रेष्टुरेन्टका मालिकहरू रेष्टुरेन्ट चलाउँथे । यौन के हो भन्ने कुरा पनि नबुझेका ती बालिकाहरू कोही स्कुल पढ्दा पढ्दै बाबुआमाको आँखा छलेर साथीहरूको लहलहैमा आउने गर्दथे । दुई चार सयको लोभमा परेर अझ कति त एक छाक मासुभात खानको लागि आफ्नो अस्तित्व नै गुमाएर जाने गर्दथे । यौनले उन्मुक्त भएकाहरू उनीहरू लाई कसरी गुडिया नचाएझैँ नचाएर आफ्नो यौन तृप्ति लिन्थे भन्नेकुरा ती रेष्टुरेन्टका छेउछाउका घरवालाबाट मैले सुनेकी थिएँ । अझै पत्रपत्रिकाले यसबारे खुलेर लेख्ने गरेकोले पनि थाहा पाएकी थिएँ । त्यहाँ अश्लील कार्य कसरी गरिन्छ र केटीहरूको यौन शोषण होटल मालिक, एजेन्ट र ग्राहकले कसरी गर्छन भन्ने कुरा जिम्मेवार पत्रिकाहरूले लेख्ने गरेका पनि थिए । एकातिर ती केटीहरू लुकीछिपी यो पेशा अपनाउन बाध्य छन् भने अर्कोतिर ती होटल मालिक, एजेन्ट र ग्राहकहरू उनीहरूको विवशता र बाध्यताको भरपुर फाइदा उठाउन कटिबद्ध थिए । उनींहरू अपमानित र घृणित भएर बाँच्नु पर्दा उनीहरूको मानसिकता कस्तो होला भन्ने कुराको विश्लेषण गर्न मन लाग्यो मलाई ।

एकछिनपछि मेरो पात्रले भन्यो– ‘मनसरा’

मेरो कान चनाखो भयो । म छक्क परेँ । उक्त केटी त मेरो तराईकथा ‘पुनर्निणय’ कथाकी नायिका पात्र मनसरा पो रहिछे । ऊ अहिले यो पेशामा खुलेर लागेकी रहिछे । मैले उसलाई गहिरिएर हेरेँ । पक्कै ऊ मनसरा नै रहिछे । मलाई उसँग धेरैकुरा गर्न मन लाग्यो । मलाई सोध्न मन लाग्यो – ‘मनसरा ! तिमीलाई माया गर्छु भनेर तिम्रो अस्तित्व धनाढ्यको सामु लिलाम गर्ने तिम्रो प्रेमी बुधराम खोई ?’ उसलाई मैले पर्नुर्निणय कथामा यसरी प्रवेश गराएकी थिए“ —.. …..वसन्त ऋतुले उराठलाग्दो बनाएको तराईको परिवेश, खरले छाएका दुईचारवटा झोपडीहरू, सबै झोपडीबाट एकनासले धूवाँ आइरहेको छ ।

भर्खरै हुरीबतासले गोधुलि साँझसँगै बिदा लिएको आभास पाइन्छ त्यहाँ । घरका आँगन वरिपरि छरिएका सुकेका पातहरू नहल्लिँदा वातावरण शान्त र स्निग्ध छ भन्ने थाहा हु्न्छ । शहरको चहलपहलभन्दा निकै टाढा त्यस वस्तीमा आधुनिकताको कुनै सङ्केत पाइँदैन । जताततै गरिबी बाँचेको पाइन्छ , विवशता र बाध्यता हाँसेको पाइन्छ । मनसरा भारी पाइला लिएर घरभित्र पस्छे । उसको मन पनि सुकेका पातझैँ भौतारिएको थियो । अहिले शान्त भएको छ । उसले सोच्तै नसोचेको र कल्पना नै नगरेको कुरा भयो । आज उसलाई बैँसको हुरीले खोक्र्याएको छ, रित्याएको छ । घरभित्र उसका पाइलासँगै ठूलो साँझ भित्रिन्छ………

अनि यसरी अन्त्य गरेकी थिएँ– …….अचानक एक दिन उसको बाबु अन्तिम स्थितिमा आइपुग्छ । मनसरालाई उसको बाबुले ‘रोग या भुखसे मोरै से त जेन के भी जियैले ठीक’ भनेको कुरा कानमा गुन्जिरहन्छ । बाबुको असक्त र निसहाय अनुहारले मनसराको सङ्कल्पलाई चुनौती दिइरहेको आभाष हुन्छ । मनसरा बाबुको अगाडि हार खान्छे । आफ्नो सङ्कल्पलाई तोडिदिन्छे । उसले बाबुको जीवनको अगाडि आफ्नो अस्तित्वको आहुति दिन्छे । आमाको च्यातिएको धोतीले उसको अस्तित्वलाई नङ्गाइराखेको अनुभूति हुन्छ उसलाई । समाजको प्रत्येक व्यक्तिलाई ऊ नाङ्गो देख्छे । ऊ गरिबी र अभावका पर्दा च्यातेर समाजलाई देखाउन चाहन्छे । ऊ नङ्गाउन चाहन्छे समाजका ती वर्गलाई जो सम्पन्नताका पारदर्शी पहिरनमा आफ्नो इज्जत ढाक्न असफल प्रयास गरिरहेका हुन्छन् । ऊ बुधराम भएठाउ“ जान्छे , पुनः उस“ग विश्वास जोड्न ।

यो कथामा मनसराको कति दारुणीक कथा थियो । लाचार र विवश मनसराले बाँच्नको लागि यो पेशा अपनाउनु परेको थियो ।

मलाई केही बोल्न सकसक लागेको थियो । तर मेरो पात्रको त्यो रोमान्टिक मुड डिस्टर्व होला भनेर मैले केही भन्न सकिनँ । अहिले उनीहरू मच्चीमच्ची हाँस्दै गफ गर्दै थिए । अहिले मेरो हृदय कताकता, इष्याँ, आक्रोश र सहानुभूतिले ढकमक्क भएर भरिएर आयो । अहिले पनि केही बोल्न नसक्ने अवस्थामा थिएँ म । मनसराको त्यो निरीह र विवश आँखामा धेरै कुरा लेखिएको पाएँ मैले । तर मनसरा पहिलाकोभन्दा निकै परिपक्क र वयस्क देखिन्थी । सायद उसलाई यो पेशामा कामले नै परिपक्क बनाइसकेको हुनु पर्दछ । अहिले ऊ थारु लवजमा नेपाली भाषा राम्रोसँग बोल्न सक्ने भइसकेकी रहिछे । उसको बुवाको मृत्युपश्चात बाध्य भएर ऊ यो पेशामा लागेकी थिई । उसबेला कथा लेख्दा मनसराको निकै माया लागेको थियो मलाई । अहिले ऊ पेशेवर भइसकेपछि पनि उप्रति मेरो सहनुभूति पटक्कै घटेको थिएन । अभाव र गरिबीमा बाँचेको उसको जीवनले यो भन्दा बढी पाउने आशा पनि थिएन उसलाई । ऊ सँग जे थियो उसले त्यसकै सदुपयोग गरी । ऊ समाजमा आफूमात्र बाचेकी छैन धेरैलाई बचाएकी छे । समाजले तिरस्कार र घृणितरूपमा हेर्ने यस पेंशाका तमाम पेशेवरको प्रतिनिधि मनसराप्रति मेरो संवेदना मूल फुटेर बग्यो । आज यिनै पेशेवर नारीले समाजलाई यौन सन्तुलन राख्न मद्दत गरेका छन् । यदि यिनीहरूले यौनवाट विक्षिप्त बनेका पुरुषहरूलाई यौनतृप्ति नदिने हो भने समाजमा कति बलात्कार र हिंसाका घटनाहरू घटिसक्थ्यो । विदेशमा यही पेशामा लागेका नारीहरूले समाजमा आवाज उठाएर, अदालतको ढोका ढकढकाएर आफूलाई सम्मानित जीवन बाँच्न सरकारबाट कानून प्राप्त गरेका छन् । उनीहरू पेशामा लागेपनि स्वतन्त्ररूपले बाँच्न पाएका छन् । कतिपय एसियाली मुलुकले आफ्नो अर्थतन्त्रको मेरुदण्ड नै वेश्यावृतिलाई मानेका छन् । तर हाम्रो देशमा मनसराजस्ता पेशामा लागेकाहरू समाजबाट अपमानित र तिरस्कृत मात्र नभई होटल, ग्राहक र एजेन्टबाट पनि ठगिँदै आएका छन् । उनीहरूको आवाज कसले उठाइ दिने ? मनसरा तिमीले उठ्नुपर्छ ! आफ्नो हक अधिकारका लागि लड्नु पर्छ ! तिमीले सम्मानित जीवन बाँच्न पाउनु पर्छ । तिम्रो साथमा छु म । तिम्रा धेरै कथाहरू मैले लेख्नु छ । मेरो घाँटी यिनै कुराले भरिपूर्ण भएर गाँठो अडकिएझैँ भयो । कहिले ओकलूँ यी कुरा ? मनसरालाई एक्लै पाएँ भने यी सबैकुरा भन्नेछु । तर कहिले ? अहिले ऊ मेरो पात्रसँग सम्पूर्ण पीडा भुलेर वर्तमानमा रमाउन तल्लीन छे । मैले उसलाई गहिरिएर हेरेँ । के मैले भनेका कुरा मनसरा बुझछे ? उसले यस्ता कुरा कसरी लिन्छे ? अशिक्षाको गुँइठाले उसलाई भित्रभित्र जलाइसकेको छ । उसका सोचाइले यी कुराको भार थाम्न सक्ला र ? मनमा अनेकौँ प्रश्नको चाङ थुप्रिदै गयो । यहीबेला मेरो पात्रले मलाई ‘जौ’ भन्ने इशारा ग¥यो । म उसको पछिपछि लागे । मलाई भित्रभित्रै नमीठो लागेर आयो । उसले मलाई किन यहाँ ल्याएको होला ? के देखाउन ल्याएको होला ? मनमा कैयौँ जिज्ञासा उम्रिए । म उसको पछिपछि थिएँ । ऊ मनसराको हात समाउदै हिँड्दै थियो । घरीघरी उनीहरू एकआपसमा टाँस्सिएर हिँड्थे । मलाई लाज लागेर आयो । मैले सोचे साँच्चै यो पात्र सारै बेसोमती रहेछ । मेरो अगाडि यस्तो केटीसँग आफ्नो उच्छङ्खता देखाइरहेछ । मेरा मनमा ऊप्रति पुरै नकरात्मक धारणाले डेरा जमायो । म आफू पनि यसरी आउँदा पछुतो मानिरहेकी थिएँ । उनीहरू गाला जोड्दै, हाँस्दै हिँड्दै थिए । मध्यरातमा सुनसानबाटोले पनि उनीहरूको पक्षमा वकालत गरेझैँ लाग्दथ्यो । म चुपचाप उनीहरूको पछिपछि हिँड्न बाध्य थिएँ । कार्यक्रम भएको ठाउँदेखि होटलसम्म आइपुग्न झण्डै सात मिनेट जति लाग्यो । उसले पहिला नै दुइवटा कोठा बुक गराइसकेको रहेछ । एउटा कोठाको चाबी उसले मलाई दियो । अर्को कोठामा मनसरालाई लिएर ऊ भित्र पस्यो । मलाई अनुमान लगाउन कुनै बेर भएन कि उसले आजको रात मनसरालाई बुक गरेको रहेछ भन्ने कुरा । झण्डै रातिको एक बज्न लागिसकेको थियो । मनसरासँग कुरा गर्ने मन थियो तर वातावरण अझै सहज भएन । म आफ्नो कोठामा नयाँ वर्षलाई स्वागत गर्दै नयाँ बिहानीको प्रतीक्षामा निन्द्रादेवीलाई अँगाल्न पुगेँ ।

बिहान चाडैँ उठेर हात मुख धोएर नित्यकर्म सकेँ । ‘अब मैले मेरो पात्रलाई मलाई यहाँ ल्याउनुको रहस्य सोध्नुपर्नेछ र मनसरासँग पनि कुरा गर्नुछ’ यति सोचेर म मेरो पात्रको कोठातिर लागेँ । तर अचम्म ! उसको कोठामा त चाबी झुण्डाइएको छ ! मैले मेनेजरसँग सोधपुछ गरेँ । मेरो पात्र र मनसराले एकबिहानै होटेल छोडेको खबर पाएपछि म एकाएक स्तब्धित र अचम्मित बन्न पुगेँ । अझ बढी अचम्म त उसले होटलको सबै खर्च मैले दिन्छु भनेर हिँडेको रहेछ ।

कथाकार दिवाकर नेपालीज्यु, म आफ्नै पात्रबाट ठगिएकी थिएँ । उसले मलाई जबरजस्ती ल्याएर अलपत्र पारेर कुनै प्रतिक्रिया पनि नजनाई हिँडेको थियो । कहिलेकाहीँ कस्तो अव्यवहारिक पात्र भेटिदो रहेछ । अझ भनू गलाको पासो हुँदा रहेछन् । के गर्ने ? त्यसपछि होटलको सम्पूर्ण बिल चुक्ता गरेँ । मन त्यसै खिन्न भयो । होटलको बाहिरको लबीमा तातो कफी पिउँदै यिनै कुरा सोचिरहेकी थिएँ । मैले अब के कथा लेख्नु ? पात्र र मनसरा नै छैनन् भने । मन त्यसै विचलित जस्तो भयो । केही समय रेष्ट गरेर घर फर्कने मनसायमा थिएँ म । एकछिनपछि एउटा वेटर आएर पत्रसहितको खाम दिएर गयो । पत्र मेरै नाममा थियो । खोलेर हेरेँ । पत्रभित्र लेखिएको थियो –

कथाकार अनमिकाज्यू

तपार्इँलाई मैले यहाँ यसरी छोडेर हिँड्दा निकै नरमाइलो मान्नु भयो होला । कस्तो फटाहा पात्र रहेछ भन्ने सोच्नु भयो होला । तर यथार्थ कुरा सबै मैले यस पत्रमा खोलेको छु । हो म लाहुरे परिवारको बिग्रेको केटो हुँ । हाम्रो लाहुरे समाजका धेरै छोराहरू साँच्चै बिग्रेका छन् । कतिपय दुव्र्यसनी पनि भएका छन् । हामीले बुवाआमाबाट जुन मार्गदर्शन पाउनु पथ्र्यो त्यो पाउन सकेनौ । त्यसैले हामीजस्ता धेरै युवाले बाटो बिरायौँ । हाम्रो बारेमा धेरैले यस्तै लेखेका छन् । यसमा हाम्रो कुनै गुनासो छैन । तर हामी भित्र पनि मानवीयता छ, संवेदना छ । मलाई कथा, कविता निकै मन पथ्र्यो। अहिले पनि मनपर्छ । एकदिन मैले तपाईको कथा ‘पुननिर्णय’ भन्ने कथा एउटा लोकल पत्रिकामा पढेँ । म निकै भावुक भएँ । त्यस कथाकी पात्र मनसराप्रति मलाई निकै सहानुभूति जागेर आएको थियो । म पनि रेष्टुरेन्ट जाने गर्दथे । म धनी बाबुको छोरा, धनको उन्मात्त भएर रेष्टुरेन्ट जान्थे भने गरिब परिवारकी मनसरा भोको पेटको लागि जान्थी । हामीबीच कति ठूलो दुरी थियो । तर पनि हाम्रो उद्देश्य रेस्टुरेन्ट जानु थियो । म यो कुराले निकै भावुक भए । एकदिन मनसरा सँग त भेटहोला नि भन्ने लागेको थियो ।

एक दिन एउटा रेष्टुरेन्टमा साथीहरूसँग गएको थिएँ । त्यहाँ एउटी नर्तकी नाच्तै थिई । धेरै युवाहरू उसलाई अश्लील शब्द प्रयोग गर्दै बेलाउँदै थिए । रोमाञ्चक गीतको ताल ऊ अझ उत्तेजित बन्दै नाच्तै थिई ।

उसको नृत्य सकिएपछि एकजना धनाढ्य जस्तो देखिने अर्धवैश पुरुषले उसलाई जबरजस्ती तानेर लान खोज्यो । यसरी कसैको इच्छा विपरीत काम गर्नु अपराध हो भन्ने मैले ठानेँ । मैले उक्त धनाढ्यलाई उक्त नर्तकीलाई छोड्न अनुरोध गरे । यो शरीरको व्यापार हो इच्छाले हुनुपर्छ जबरजस्ती होइन भनेर उसलाई सम्झाउन खोज्दा उ मसँग निकै कड्कियो । मैले पनि आफ्नो युवा फौलादी जोश देखाइदिए । ऊ हुत्तिएर पर पछारियो अरू आएर हामी दुवैलाई समाएर झगडालाई साम्य पार्न प्रयास गरे । त्यसदिनको कुरा त्यसै सकियो । साथीहरूले मलाई घर ल्याए । भोलिपल्ट म फेरि त्यो रेष्टुरेन्ट पुगेँ। हिजोको झगडामा मुछिएकी केटीसँग मेरो चिनजान भयो । उसँग मेरो गफ भयो । मलाई अचम्म लाग्यो, ऊ मनसरा रहिछे । त्यसपछि उप्रति मेरो मन संवेदनशीलता बढ्दै गयो । म दैनिक जसो रेष्टुरेन्ट जान थाले ।

मनसरा र मबीच प्रेम बसिसकेको थियो । मैले मनसरालाई विहेको प्रस्ताव राखेँ । उसले सजिलै स्वीकारी । तर हाम्रो बिहेलाई हाम्रा बुवाआमाले पटक्कै स्वीकार गर्ने छैनन् भन्ने कुरा हामीलाई विश्वास थियो । त्यसपछि हामी भागेर जाने योजना बनाउन थाल्यौँ । पोखरामा भएको मेरो एउटा साथीले मलाई होटलमा मेनेजरको काम दिने बचन पनि दिइसकेको छ । अपरिचित ठाउँमा हामीलाई दाम्पत्य जीवन बाँच्न पनि सजिलो हुनेछ भन्ने सोच्यौँ । तर हाम्रो यो कथा कसैले त पक्कै लेखिदिनुपर्छ भन्ने मैले सोचेँ । किनभने समाजले हामी दुवैको जीवनलाई नकरात्मक सोचाइ राखेका हुन्छन् । त्यसैले हाम्रो कथा लेखिदिन मैले तपाईँलाई जोर जबरजस्ती तानेर यहाँ सम्म ल्याए अनि यति धेरै दुख दिएँ । म क्षमा चाहन्छु मेरो गैरजिम्मेवार कार्यप्रति । तपाईँ मन र धन, दुवैकी धनी हुनुहुन्छ भन्ने सुनेको छु । तसर्थ तपाईँलाई होटलको बिल पनि चुक्ता गराउने बोझ दिएँ । पछि कुनै बेला म फर्काइदिनेछु । तपाईँलाई प्रत्यक्ष मैले मनसरालाई बिहे गरेको देखाउन पनि मैले यो सब गर्नुप¥यो । मलाई माफ गरिदिनुहोला ।

तपाईँलाई प्रत्यक्ष भेटेर यी सब कुरा गरेर जान मन थियो । तर उज्यालो भइसक्ता मेरो घर परिवारबाट मलाई थाहा पाएर लिन आउने सम्भावना भएकोले हामी यहाँबाट राम्रो उज्यालो नभइकन मोटरबाइकमा पोखरा जाँदै छौँ । मसँग पोखरासम्म पुग्ने खर्च छ । सकेसम्म मेरो यो कथा सार्वजनिक गरिदिनु होला । तपाईँले हामीलाई विश्वास गर्नु हुन्न की भनेर मनसराले मलाई प्रतिप्रश्न गरेकी थिई । त्यसैले मैले यहाँ उसको हस्ताक्षरमा केही कुरा लेख्न लगाएको छु ।

कथाकार अनामिकाज्यू, माथिका सबै कुरा सही हुन् । म तपार्इँकी पात्र मनसरा हुँ । आज मैले सुरेश जस्तो पवित्र र आर्दश हृदय भएको पुरुष पाएकी छु । हामीले सुखदुखमा सँगै मर्ने र सँगै बाँच्ने कसम खाएका छाँ । म धेरै खुसी छु । हाम्रो कथा सार्वजनिक गरिदिनु होला सबै पुरुषले सुरेशलेझैँ समाजमा नयाँ कथा लेखाउन म यही भन्न चाहन्छु र समाजले हामीलाई सम्मानित जीवन बाँच्न प्रेरित गरुन ।

तपाईँका पात्र

सुरेश+ मनसरा

पत्र पढिसकेपछि म अन्यमयस्क बनेँ । कुनै ठूलो गहिरो तलाउबाट एकाएक किनारमा आइपुगेँ । एकाएक भुइकुहिराले ढाकेको मेरो मनमा छर्लङ्ग भएर घाम लागेझैँ भयो । मेरो पात्रको नाम सुरेश रहेछ । कथाको विषयवस्तु उसको पत्रले नै छर्र्लङ्ग पारेको थियो । उसप्रतिको मेरो फोहरी धारणा सबै पखालिएर सफा भयो । ऊ कति महान र आदर्श पुरुष रहेछ । उसले मनसराजस्ती केटीलाई आफ्नी जीवनसाथी बनाएर समाजमा नया संदेश दिएको छ । मनसराको उज्वल भविष्यको दह्रो आधारशीला बनेको छ । अनि मनसराले पनि यस्तो घृणित कार्य त्यागी सुरेशलाई सुख दुखमा साथ दिने पवित्र निर्णय गरेकी छ ।

कथाकार दिवाकर नेपालीज्यू, मैले मेरा दुवै पात्रलाई उनीहरूको पवित्र भावनाको हृदयदेखि नै अभिवादन गरेँ र सफल दाम्पत्य जीवनको लागि शुभकामना पनि दिए । मैले सोचेँ यो कथा पक्कै सार्वजनिक हुनै पर्छ किनभने यो कथा समाजमा अनुकरणीय हुनेछ र समाजलाई नयाँ सन्देश पनि दिनेछ । यस्ता पात्रहरूलाई समाजले पक्कै सम्मानित जीवन बाँच्न प्रेरित गर्नेछ । मैले मनमनै उनीहरूलाई यो पनि आश्वसान दिए कि तिमीहरूको आर्दश जीवनको कथा समाजले आवृत्ति गरिरहनेछ प्रिय मनसरा . ..अनि….सुरेश…….. ।

Kusum Gyawali – Shalik Ko Mukhakriti (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – शालिकको मुखाकृति (लघुकथा)

–“….उहाँ जस्तो महान निस्वार्थ नेताको अभाब सधै खट्कीरह्यो हाम्रो आन्दोलनमा” दिबंगत नेताको योगदान बारे नेताका सहकर्मी एकजना बृद्ध कार्यकर्ताले टिप्पणी गरे। साठीऔँ जन्मदिवशका अबसरमा आयोजित कार्यकर्मको थालनी गर्न प्रमुख अतिथि महासचिब कमरेड नआइपुगेको अबसरलाई उपयोग गर्दै सहभागीहरु आपसमा गफिँदै थिए।

आगामी आन्दोलनको दिशा, देशका भबिश्य, अर्थतन्त्र, बिश्व कलासाहित्यको झुकाव, दर्शन र मानव बिकासको इतिहास सम्मका सबै बिषय भएका यथेष्ट बहश सकिए पछि गफ केन्द्रित भयो नेताको शालिकको मुखाकृतिको बारेमा।
यस अघि कहिलै हेेक्का नगरेका एक जना कला समिक्षक कमरेडले मुखाकृतिको बारेमा यसो सम्म भने –“यस शालिकको भावानुभुति साँच्चीकै अनौठो छ। मैले यसवारे एउटा लेखनै लेख्ने तयारीमा छु। म यसबारे “रिसर्च” गरिराछु।”
– “बास्तवमा उहाँको अनुहारमा गहिरो बेदना छ। उहाँले महासचिबवाट राजीनामा गरेको त्यो उहाँको अन्तिम महाधिबेशनमा भएको अन्तरघातको पीडा प्रतिबिम्वित भएको छ, यस शालिकमा।” एक जना राजनैतिक बिश्लेषक पत्रकार कमरेडले अमिलो मुखाकृति पार्दै भने। त्यतिबेलाको गुटबन्दिको एक झलक तत्क्षण सम्झना पनि भयो उनलाई।
– “पार्टिमा बढ्दै गएको बुर्जुवा प्रबृत्तिले दिबंगत कमरेडलाइ ज्यादै पिरोलेको थियो। जुनकुरो शालिकमा प्रष्टसँग प्रतिबिम्बित भएको छ।” पार्टीमा अलि “हार्डलाइनर”का रुपमा चिनिने कमरेडले टिप्पणी गर्दै सम्पूर्ण समस्याको जरो पत्ता लगाए झै गजक्क परे।
– “त्यसो होइन कामरेड, यस शालिकमा त उहाँको उपप्रधानमन्त्री हुँदाखेरीको सुखद अनुभुति पो प्रतिबिम्वित छ।” अर्का “मनमा पाप नभएका” मानिने कमरेडले ठट्यौली पारामा भने।
– “पहिले यो शालिकको मुखाकृति हँसिलो थियो। पार्टिले चुनाबमा हारे पछि कमरेडको भड्किएको आत्माको कारण शालिकको अनुहारमा गहिरो पीडा देखिन थालिएको छ।” गलामा मुगा र “स्टोन”का माला लगाएका केन्द्रियस्तरका नेताले निधारमा गहीरा रेखाहरु पार्दै जिकिर गरे।

उक्त शालिक बनाउँदा भारतबाट आएका एकजना कलाकारको खेतालो भएर काम गरेको डकर्मी पनि आज त्यही उपस्थित थियो। कसिलो सङ्ग हात धेरैले मिलाए पनि उसलाइ कसैले चिनेनन्। उसले बिभिन्न कमरेडका शालिकको मुखाकृतिका बारेमा कुरा सुनेर मनमनै भन्यो – “मुला देशीले पैसा नदिए पछि झ्वाँक चलेर मैले विगारी द्या’थेँ। कुरै बर्ता नेताका।” ऊ मनमनै हाँस्यो।

Ramesh Bikal – Pariksha Kendra : Maane Exam Hall (Hansya Byangya)

रमेश विकल – परीक्षा केन्द्र : माने एक्जाम् हल (हाँस्य-व्यंग्य)
(रचना द्वैमासिक)

स्थान : परीक्षा केन्द्र

पात्रहरू :
उल्फ के.सी. – खल पात्र
ज्याकिल शर्मा – अर्को पात्र
भ्यालेन्टाइन गुरुङ – एउटी पात्री
सेक्सी पाण्डे – मुख्य पात्री
फूलन के.सी. – खल पात्री
(अरु धेरै हल्लागिरी पात्र पात्रीहरू)
एङ्कर शर्मा – परीक्षा रेखदेख गर्ने शिक्षक

उल्फ के.सी. : (पप गायन शैलीमा) : ओ ऽऽऽ मा’ भ्यालेन्टाइन ल्यासी ! ऽऽ आई लभ या’ ऽऽ आई लभ याऽऽऽ आई लभ या ऽऽऽ ओ ऽऽऽ

सेक्सी पाण्डेः (उस्तै नक्कल गर्दै) ओ ऽऽऽ यू ब्लडी स्वाइन ऽऽऽ यू लुक अन् द मिरर ऽऽऽ ऽऽ अर ऽऽ अर ऽऽ

उल्फ के.सी. : ओ ऽऽ मा’ ओल्ड बिच ! आ’म द स्मार्ट एण्ड क्यूट ऽऽ आ’म द हिरो नम्बर वान् ऽऽऽ यु’र माई भेलेन्टाइन गर्ल ऽऽऽ ऽऽऽ

(सबै परीक्षार्थी उठेर हल्ला गर्दै नाच्न थाल्छन् । अलि पर एउटा कुनामा एउटा मेचमा उँघिरहेको एङ्कर शर्मा झल्याँस्स हुन्छ ।)

एङ्कर शर्मा : (न्यायाधीशको पारामा) : अर्डर ! अर्डर ! यो तिमीहरूको भाँड भैलो गर्ने ठाउँ डिस्को होइन, भट्टी होइन ! यो परीक्षा केन्द्र हो, एक्जाम् हल ! हल्ला खल्ला होइन ! खुरुक्क बसेर लेख्ने ! टेक योर सिट ! (सबै बस्छन्)

ज्याकिल शर्मा : (नजिकै बसेकोसंग) यो कुन चाहिं फिलीमको गीत हो भाइ ? यो मैले नहेरेको परेछ कि क्याहो ?

रेम्बो : यति पपुलर पिक्चर पनि नहेरेको ? तँ त साँच्चैको ड्याम्फुल नै रहेछस् भाइ ! यो हाम्रो हिरो नं. वन गोगो के.सी. र नं. वन हिरोइन लरनिङ् थापाले खेलेको ‘बलात्कार’को फेमस गीत हो । यस्तो पनि मिस गर्ने ?

ज्याकिल : (खुसामदी स्वरमा) ए ! लौ न भाइ, भन् त्यो कुन सिनेमा हलमा लाग्या छ अहिले ? म भरे नै गएर हर्छु भन् न प्लीज !

रेम्बो : (गजक्क परेर) जनसेवा सिनेमामा !

स्याम्बो : के हावाको भरको कुरा गर्छ यो रेम्बो ! जनसेवा हल भनेको त अहिलेको हो ? उहिल्यै खतम् भैसकेकोलाई आज सपना देख्छ । साउनमा आँखा फुट्या गोरु सधैँ हरियो देख्छ !

भ्यालेन्टाइन : (लाई स्वरमा) सर, सर ! म यो प्रश्नको उत्तर दिन सक्तिन । यसको सट्टा आफैं प्रश्न बनाएर दिन्छु । हाम्रो डेमाण्डमा ब्वाइज एण्ड गर्लको लागि फरक फरक प्रश्न हुनु पर्छ भन्ने छ ।

एङ्कर : त्यो त कसरी हुन्छ ? पुरुष महिला भनेको समान हुन्; समान अधिकार अझ बढी अधिकार हुनु पर्छ भनेर नयाँ सडकमा उफ्रने पनि तिमरु अहिले…

भ्यालेन्टाइन : त्यो त अर्थको मामिला पो त ! अरुमा त हामीलाई पुरुष भन्दा कमै काम गर्ने सुविधा चाहिन्छ नि !

एङ्कर : मैले अगि नै भनिसकें ! प्रिन्सीपल सरले लेख्नु भएको गाइड बुकबाट हेरेर उत्तर दिनु भनेर ? सके गाइड बुक पनि ल्याएकी छैन होली ! पैसा त लाग्छ नि अलि अलि ! त्यत्ति खर्च नगरेर आफ्नै बुद्धि र मिहिनेतले पास हुन खोज्ने कसरी असल र उत्तम विद्यार्थी हुन सक्छ ? यत्रो गाइड बुक किन्न पाइने बेलामा पनि गाइड बुक नल्याएको ? ऊ त्यो कुनाको दराजमा खात पुस्तक देख्यौ ? त्यो पुस्तकालय होइन बेच्न राखेको गाइड बुक हो । लौ तुरुन्त किनी हाल !

(फेरि फोनको घण्टी बज्छ , ऊ फोनको हातो उठाउँछ) ओ सेक्सी पाण्डे भन्या को हो ? तिम्रो फोन !

सेक्सी : (उठेर फोन लिदै) हेलो ! ….को बोल्या ! ? हैण्डसम् डार्लिङ्ग ! …ओ ! माई लभ ! …आई लभ यू ! आ’ रियली लभ या’ । … एक्जाम् ! कस्तो हुनु नि , बोर छ नि यार ! … आफ्नो बुद्धिले लेख्न पाइन्न भन्छ .. हो हो गाइड सर ! …उसको प्रिन्सिपलले लेख्या गाइड बुकबाट एन्सर गर्नु रे ! हेर न यार …कस्तो छ रे ! को गाइड सर ! बोर छ नि यार ! धोक्रे पाइन्ट एलो ज्याकेट, पुरानो ढाका टोपीबाट ‘पिग टेल’ जस्तै टुप्पी निस्केको छ । ऊ धेरैजसो मेचमै निदाइ रहन्छ । … डान्स पनि गर्न दिदैन , सिङ्गिङ् पनि गर्न दिदैन । … हेर न के गर्नु भन्या ! के सरलाई दिनु … सर तपाईंलाई !

एङ्कर : (रिसिभर लिएर) हेलो को ! …मलाई थाहा छैन । म त आफ्नो ड्युटी गर्ने हुँ । माथिबाट जे भन्छन् त्यै मलाई, तिमीसँग … (सेक्सीतिर) लौ फेरि तिमीलाई !

सेक्सी : हेलो ! हैण्डसम् डार्लिङ् ? उल्फ के.सीले आफ्नो अगाडि डेस्कमा चक्कु गाडेको छ … म कुमारी अगाडि पर्खन्छु । के फेरि सरलाई दिनु ? सर फेरि तपाईलाई !

एङ्कर : (ग्रहण यन्त्र लिएर) हेलो ? …के भन्नु छ फेरि तपाईंलाई …चक्कु …हो देखिरहेको छु … एउटा केटाको अगाडि डेस्कमा गाडेको छ । के मेरो जीवन बीमा छ ! जहान बच्चा पनि छन् एउटो छोरो एउटी छोरी ! … थ्याङ्क यू !

भ्यालेन्टाइन : साँच्ची सर ! थैङ्क यू लाई नेपालीमा के भन्ने ? मेरो मम् ड्याडले पनि घरमा नेपाली राम्रो बोल्नु हुन्न ! … इस्कुलमा त कुरै भएन …. आउँदै आउँदैन (ब्यागबाट लिपिष्टिक निकालेर ओठमा दल्न थाल्छे) ।

उल्फ के.सी. : साँच्चै ओ, माष्टर ! हाम्रो मागको बारेमा के भयो ?

एङ्कर शर्मा : मलाई थाहा छैन ! सुपरिटेन्डेन्ट कहाँ गएर सोध !

उल्फ के.सी. : तपाईंलाई थाहा नभए तपाईंको के काम त यहाँ ? …हेर्नोस् हामीलाई अरुथोक थाहा छैन, हाम्रो सबै माग पूरा हुनु पर्छ । चोरेर र किताप हेरेर मात्र होइन, आफ्नो बुद्धिले लेखेको एन्सर पनि मानिनु पर्छ । नत्र अनिश्चित कालको हडताल गरिन्छ ।

एङ्कर शर्मा : तर मेरो काम त यहाँ तिमरुले नियम पालना गर्छौ कि गर्दैनौ त्यो हेर्ने हो । गरेनौ भने रेष्टिगेट गर्ने हो । अरु कुरा त माथिबाट हेर्ने हो । तै पनि हेरौं त तिमरुले आ आफ्नो बुद्धिले के लेखेका छौ ?

ज्याकल शर्मा : मैले त कितापै हेरेर लेख्या छु । अस्ति मात्र गाइड बुक किनेर ल्याएको …नपत्याए हेर्नोस् यी ! …. (देखाउँछ )

एङ्कर शर्मा : खोई ? … (हातमा लिन्छ) यो चैं होइन । …यो त अर्कै ग्याङ्गको माष्टरले लेखेको । हाम्रो प्रिन्सीपलले होइन । हामीलाई हाम्रै सरको पुस्तकबाट चाहिन्छ । नत्र…

उल्फ के.सी. : (अगाडि सरेर) नत्र के ? … ओ तीन कौडी माष्टर ! अगाडि डेस्कमा चक्कु देख्या छ कि छैन ? र …यी मैले लेख्या छु आफ्नै बुद्धिले ! हेर्र्छौ – …लौ हेर !

एङ्कर शर्मा : खोई ? (उत्तर कपी लिएर पढ्छ) प्र˘न नं. एक गौतम बुद्धको बारेमा के जान्दछौ ? लमकरीमा लेख, उत्तर : बुद्ध पश्चिमको थारु राजा यलम्बरको छोरो हो । उसको मावली पूर्वको लिम्बुवानमा थियो मेरै मावली गाउँमा । …उसकी आमा सुत्केरी हुन माइत जाँदा धरान विजयपुर बुढा सुब्बाको शिकार बनमा ऊ जन्मिएको हो । पछि मावली तिरकै राई केटीसँग उसको बिहा भयो । छोरो पनि जन्म्यो । राई केटीहरू अलि स्वतन्त्र स्वभावका हुन्छन्; कसैको अण्डरमा बस्न सक्तैनन् । …के कुरामा खटपट परेर स्वास्नीले बुद्धलाई लात्तीले हानेर दर्बारबाट निकालिदिई । ऊ विरक्त भएर हिंड्यो । पछि युवराज लामाले उसलाई आफ्नो ‘नगर बधु’ भन्ने पिक्चरमा हिरोको रोल दियो । (पढ्दा पढ्दै खुशी भएर) वा : क्या डिसेन्ट आन्सर !

उल्फ के.सी. : अरु अगाडि पढन अनि देख्छौ ब्रिलियन्ट कसलाई भन्ने !

एङ्कर शर्मा : (पढ्दै) हिरो बन्नु भन्दा पहिले नै ऊ पद्म कन्या क्याम्पस अगाडि घुम्दै रोमाण्टिक गीत गाएर हिंड्थ्यो । ओ माई भ्यालेण्टाइन गर्ल, ऽऽ यू’र सो ब्यूटिफुल ब्यूटि ऽऽऽ आइ लभ् या ऽऽऽ लभ् या ऽऽऽ लभ् या ऽऽऽ एउटी केटीले एक दिन चप्पल फुकालेर मारि दनक दिएपछि ऊ फेरि भिक्षु बनेर स्वयम्भूको जङ्गलमा घुम्न थाल्यो, त्यहीं आम्रपाली भन्ने कलगर्लसँग उसको इलु इलु भयो । एक दिन उ एक्लै वनमा कुनै च्वाँक केटीको खोजीमा घुम्दै गर्दा एउटा रोगी बुढालाई भेट्यो । उसले सोध्यो “बुढा बा ! बूढो भए पछि कस्तो फिलिङ्ग हुन्छ हँ ?” बुढाले लामो सुस्केरा हाल्दै जवाफ दियो – “हेर बाबु ! शरीर बुढो भएर एक्सन अर्गेन चल्न छोडे पनि मनको अर्गेन त चलिनै रहन्छ – ‘जोबन गयो बैंस त गएन लैलै’ ! कुनै च्वाँक गर्ल देखेपछि इलु इलु गर्न इच्छा त हुन्छ । तर आफुले चाहेका योङ गर्ल कण्डाले टर्र्दैनन् । कुनै कुनै आफ्नै उमेर यताउतिका अधवैंसे खास गरी सेक्स हङ्ग्री वीडोहरूले आँखाभरि इलु इलुको भोक बोकेर आफूलाई हेर्छन् । तर आफ्नो मन जाँदैन । … यस्तै हुन्छ । …अनि कल्पनामै इलु इलु गर्‍यो बस्यो ।”

एङ्कर शर्मा : वा : लेख्न त गजबै एन्सर लेखेछौ । तर …. तर….

सेक्सी पाण्डे : तर के तर सर ? के यो झुठो एन्सर हो त सर ? इलु इलुमा स्याण्डलको किस पनि मिसिन्छ ! … मलाई कति रोमाण्टिक बुढाहरू इलु इलुको प्रपोज गर्न हुरुक्कै हुन्छन् । म सेक्सी पनि छु नि त अनि योङ् पनि । लौ त भने टीन एजर, अनि म उसलाई सेण्डलको ‘किस’ दिन्छु ।

फूलन के.सी. : वा ! क्या बोल्ड एक्सन । …के गर्नु, आफूलाई त कुनै योङ् केटाले त के कुरा एजेड विडोअरले पनि फुट्या आँखाले हेर्र्दैन । आफ्नो त पूरा बैंस नै यसै गरी बित्न लाग्यो । बैंस के अब त सिङ्गो जुनी नै बित्ने भयो !

भ्यालेनटाइन : (उत्सुक भएर) अनि सेक्सी ! अनि के भयो ? तिमीले स्याण्डल किस दिए पछि त्यो ओल्ड फुलले के गर्‍यो ?

सेक्सी पाण्डे : इलु इलुमा सेक्स किसको गिफ्ट पाएपछि के गर्छ गर्छ मान्छे – कि रेपिष्ट बन्छ , कि सिङ्गर बनेर साइड सङ्ग गाएर हिंड्छ; कि इलु इलु पोइट्री लेखेर पोएट बन्छ । केही बन्न सकेन भने कि झोली तुम्बा बोकेर जङ्गल तिर, गाउँ तिर पस्तछ । त्यस्तै इमोशनल फुल भए सुसाइड गर्छ । ओल्ड फुलहरू त न सिङ्गर बन्न सक्छन्, न पोएट । उनीहरू त रेपिष्ट पनि बन्न सक्तैनन् त्यो बोल्डनेस कहाँ, न सुसाइड नै गर्न सक्छ । जति बुढो भयो बाँच्ने इच्छा उति नै बढी हुन्छ । उसको एउटै मात्र गोल हुन्छ, झोली तुम्बा बोकेर भजन गीत गाउँदै हिंड्नु ‘अलख बम बम ! … लौ हजूर जोगीलाई मानामुठी दान ! …’ (सबै गल्ल हाँस्छन्) त्यसै गर्‍यो उसले । अथवा घरकै एउटा अँध्यारो कुनामा छोरा बुहारीले लत्याएर दिएको गाँस खाँदै लङ ब्रिदिङ गर्दै बाँच्यो होला । (एक पल्ट फेरि गल्ल हाँसो)

एङ्कर शर्मा : अर्डर अर्डर ! … इट्जि एनफ । …अब आफ्नो काम ! अहिले फेरि सुपरिटेन्डेन्टको राउन्ड हुन्छ । (हल्ला र उफ्राउफ्री झन् चर्किन्छ । डेस्कको चक्कु थरथर काम्न थाल्छ । माष्टर डरले थर थर हुँदै हनुमान चालिसा पाठ गर्न थाल्छ ।)

जय ! जय ! जय हनुमान गोर्साई

कृपा करो गुरु देवकी नाइ

भूत पिशाच नजिक नही आए

महावीर जब नाउँ सुनाए

(अनि उठेर) : म जान्छु प्रिंसिपल कहाँ । (निस्कन्छ )

क्यारोन : देख्यौ कसरी हारेको कुकुर झैं टाङ मुनि पुच्छर लुकाएर भाग्यो ।

उल्फ के.सी. : अकडिएर बस्या भए त खान्थ्यो नि ! राजेन्द्र खड्गीलाई विश्व बस्नेतले ख्वाए जस्तो !

फूलन के.सी. : वा : साँच्चै क्या बक्सिङ थियो हगि ? ढिस्यूँ ढिस्यूँ । .. क्या स्वाद आएको थियो ।

क्यारोन : तिमरु आइमाईलाई के थाहा बक्सिङको स्वाद !

ज्याकिल : आइमाई भनेर नहेप आजका गर्लहरूलाई, याद गर उसले फूलन के.सी. नाउँ लिएकी छ । उसका लागि एक दुइ मर्डर गर्नु ठूलो कुरो होइन ।

क्यारोन : ओ सरी फूलन ! …आफ्नो ‘फूलन’ ……….. मै माथि यूज नगर्नु नि फेरि ।

ज्याकिल : (हाँसेर) उसले अहिल्यै ट्राउजरमा सु सु गरिसके जस्तो छ । (सबै गलल्ल हाँस्छन् टेलिफोन बज्छ)

उल्फ के.सी.: (टेलिफोनको रिसिभर सुन्दै) हैलो ! को माष्टरनी ? उनी ठीक ठाक छन् डोन्ट वरी (हत्केलाले बोल्ने भाग छोपेर) माष्टरनीको सातो उडेजस्तो छ । (हात खोलेर) धन्दा नमान माष्टरनी, हाम्रो डेमाण्ड पूरा गरिदिए सम्म उनलाई केही हुन्न । डोण्ट वरी । (रिसिभर राख्छ )

भ्यालेन्टाइन : अँ साँच्चै त्यो छ नि त्यो नयाँ सिनेमा छ नि त्यो केरे ? ….चाहिया बेलामा आउँदैन नाउँ पनि के रे .. हो ‘लभ मेकिङ’ … हो अनि अर्को लाइन के रे ? भन न क्यारोन (क्यारोन शर्मा उठेर उसलाई आँगालोमा च्याप्छ दुवै हल्लिन थाल्छन् ।)

क्यारोन : ओ माई भ्यालेन्टाइन गर्ल ~~ ओ माई हनी लभ ~ लेट्स मेक ए लभ ~~ टुगेदर ~~ मेक अ रियल लभ ~~ लेट्स प्ले अ प्राक्टिकल लभ मेकिङ ~~ लेट्स डु एक्सपेरिमेन्ट अन लभ मेकिङ् ~~~ इट्स आवर रियल एजुकेशन ~~~ सेक्स एजुकेशन ~~~ इट्स आवर राइट् ~~~ ट्वेन्टी फस्ट सेञ्चुरी नीड्स -~~~ (एङ्कर शर्मा भित्र पस्छ)

उल्फ के.सी. : आयौ माष्टर ? के भने त सुपरिन्टेण्डेन्टले ? ….

एङ्कर : तिमरु बम्वैया नाङ्गा र मारकाटका सिनेमाको अमरीस पुरी, गुल्सन ग्रोभर नठान रे । ज्यादा त्यस्ता सिनेमाका पछि लागेर नहिंड रे । हाम्रा जमानामा त हामीले त्यस्तो केही गरेनौं रे !

फूलन : तपाईंहरूका पालामा त त्यस्ता सिनेमाहरू भए पो हेर्नु नि… ! तपाईंहरू त बारबर एजका ज्यू विस्टहरू !

एङकर : धेरै हामीलाई नहेप नानी ! हाम्रा पालामा जति अहिले के छ ? … हामी त अङग्रेजी नाटक

सेक्सपियर हेर्थ्यौ । संस्कृतका कथाहरू महाभारत पढ्थ्यौं, तरबारका खेलहरू, कुखुरा जुधाउने खेल, बरुवाल थुमा जुधाउने, बट्टाइ जुधाउने खेलहरू हेथ्र्यौ ।

सेक्सी पाण्डे : साँच्चै माडसाप यार ! महाभारत कसले लेख्या हो ?..(तर एङ्कर जवाफै नदिई बाहिर जान्छ)

फूलन : त्यति पनि थाहा छैन ? … महाभारत हरेकृष्णा हरेराम हरेकृष्णा हरेरामले लेखेको । हरेकृष्णा हरेराम भक्तपुर आउँदा तिमीहरू हेर्न गएनौ ? …हो त्यही लेखेको !

भ्यालेन्टाइन : तिमरु सबै बगमफुस । महाँभारत त देवानन्दले लेखेको । हरेकृष्ण हरे रामाले त महाँ भारतको बारेमा गीत पो गाएको ।

ज्याकिल : प्लीज भ्याल; त्यो रेडियो बजाउन बन्द गरिदेऊ न । मैले एक लाइन पनि कपी गर्न सकिन ।

भ्यालेन्टाइन : कहाँ हुन्छ ! म त म्यूजिक नसुनी एक अक्षर पनि लेख्न सक्तिन । …त्यही त भरखर “एउटा क्वेस्चन कम्प्लिट गरें ।

फूलन के.सी.: कम्प्लिट नाऊ लेख्ने जरुरी पनि छैन । पास्ट इज पास्ट !

सेक्सी : दाट्स राइट …तर क्वेश्चन भए पछि एन्सर त गर्नै पर्छ … तर अँ … अँ … पृथ्वी नारायण शाहले कस्तो ड्रेस लाउँथे हँ ? (एङ्कर शर्मा बाहिरबाट आउँछन् उनको पहिरन अहिले विचित्रको छ । अङ्ग्रेज नाइटहरूले लगाउने जस्तो : शिरमा शिर स्त्राण हातमा हर्क्युलसले लिनेजस्तो गदा, आङमा जालीदार ज्याकेट कम्मरमुनि घुँडासम्म झल्लरी जामा (स्कर्ट) ।

परीक्षार्थी : (खास गरी छात्राहरू अताल्लिदै कराउँछन्) : भूत ! भूत ! एकजाम हलमा भूत !

एङकर : ए : म भूत होइन, वर्तमान नै हुँ । तिमरुकै इनभिजिलेटर (मकुण्डो झिक्छ )

सेक्सी : ओ ! माड्साप तपाईंले त झण्डै हाम्रो सातो नै लिइदिनु भो ! …छ्याः म त कस्तरी डराएकी ।

भ्यालेन : म पनि ! म त अङग्रेज नाइटको भूत भनेर … यस्तो ड्रेस किन माड्साप ?

एङ्कर शर्मा : के गर्नु त ? तिमीहरूले कुन बेला चक्कु उठाएर हिर्काउने हो !

ज्याकिल : हामी किन हिर्काउँछौं ? हाम्रो माग पूरा गराइदिनु होस्न भैगो नि । हामीले आफ्नो बुद्धिले लेखेको आन्सर पनि ग्राण्ट हुनु पर्छ ; अनि

फूलन के.सीं : होइन, हामीले लेख्तै नलेखी हाजिर मात्र भए पनि पास हुन पाउनु पर्छ ।

सेक्सी पाण्डे : हाजिर पनि हुन नपर्ने … प्रिभिलेज हुनुपर्छ ; फर्म फिलप गरेपछि अटोमेटिकली पास भएको मानिनु पर्छ । होइन भने …

उल्फ के. सी. : (हावामा घुस्सा हिर्काउदै) हामीसँग जो टकराउला !

भ्यालेन्टाइन : त्यसले पाउडर पाउडर पाउडर भएर डष्टमा मिल्ला (टेविलको चक्कु स्वतः हावामा उठेर माष्टरलाई लखेट्न थाल्छ । माष्टर यो कुना र ऊ कुना भाग्न थाल्छ । आखिर ऊ छुरीको सामू हनुमान मुद्रामा – एउटा घुँडा टेकेर हात जोर्दै भजन गाउन थाल्छ ।)

ओम् जय ………

…………………..

……………………

……………………

(फोन बज्छ । डराउँदै डराउँदै गएर रिसीभर उठाउँछ) ह..ह..हेलो ! को सुपरिन्टेण्डेन्ट साब ! ..सबै ठीक छ । …. गाइड बुक त किनेका छैनन् तर पुस्तकहरू पल्टाएर लेख्ने एटेम्ट गर्दैछन् । … तर उनीहरूको डेमाण्ड चाहिं एकजाममा शामेल नभएपनि फर्म फिलप गरेपछि स्वतः पास भएको मानिनु पर्छ । …हस् ! … (केटाकेटीतिर) सुन्यौ तिमरुले ! मैले त एम्बुलेन्स र फायर ब्रिगेड चाहिन्न भन्या थिएँ , तर बाहिर आएर बसिसकेछ ।

उल्फ के.सी. ल ल भैगो ! अब ज्यादा बक बक नगर ! …हामीलाई आफ्नो काम गर्न देऊ । हामी डान्स गर्ने मूडमा छौं, कसो फ्रेण्डस् एण्ड कम्रेडस् !

फूलन : हो हो वी डान्स् … वी सिङ् … नत्र वी …(छुरा देखाउँछे)

एङ्कर (अलि आँटिलो बनेर) नत्र के ? … घरिघरि ध्वाँस नदेऊ । मसँग पनि छ त्यस्तो टेट फर टाइट गर्ने । (परीक्षार्थीहरूको भन्दा पनि ठूलो छुरी झिकेर देखाउँछ ) तिमरु त मेरा चेला हौ । म त गुरु हुँ तिमरुका ! …कतिसम्म तिमरुका ध्वाँस – डर त्रास र आतङ्कसामू निहुरमुन्टी न मात्र भएर बस्छौं र ? …हामीले पनि जान्या छ बिसौलीमाथि धार्नी बन्न ।

उल्फ के.सी. (कम्मरमा हात राखेर उठ्तै ) साँच्चै खोज्या हो त ?

एङ्कर : सडप् यु ब्लडी फूल !

उल्फ के.सी. यू सडप् ! ओल्ड फूल !

एङ्कर : यू… यू… यू…

(त्यहाँ एक्कासी चकमन्न छाउँछ । डेस्कमा गाडिएको चक्कु नराम्ररी थरथराउँछ । वातावरणमा आतङ्कको गन्ध सुँघेर एङ्कर एक्कासी विनम्र हुन पुग्छ ।)

हेर भाइ बहिनी हो ! … तिमरु भन्या देशका सपूत हौ । म जस्तो एउटा निरीह शिक्षकसँग झगडा गरेर के मिल्छ ? तिमरुसँग साँच्चै जोश छ, त्यो आक्रोश विकृतिसंग जुध्नमा लगाऊ, भ्रष्टाचार, आतङ्क बलात्कार, भ्रष्टाचारको विरोधमा, देश र समाजलाई अधोगतितिर होइन ऊर्ध्वतिर लैजान लगाउ । …तिमीहरूले त यो देशको यसको उन्नति प्रगतिको जिम्मा लिनु पर्छ । हामी त कति रहौंला र ? माटो, यो धर्ति यो देश त तिमरूकै हो ! यसलाई ध्वंशतिर धकेल्दा तिमरु आफैं ध्वंश विनासतिर धकेलिन्छौ । त्यसैले आक्रोश जगाऊ तर विकृतिको विरुद्ध, विनासको विरुद्ध । लौ तिमरु समझदार छौ, जे गर्दा आफ्नो भविष्य उज्यालो हुन्छ , आफ्नो चरित्र सफा र सुन्दर हुन्छ, सृजनात्मक हुन्छ त्यही गर । हामी हस्तक्षेप गर्दैनौ ।

भ्यालेन्टाइन (खुशी हुँदै) के तपाईंले साँच्चै भन्नु भएको हो माड्साप ? के हामीले देश बनाउन सक्छौ ?

एङ्कर : अवश्य सक्छौ , इमानदार बन्न सक्छौ, शुद्ध चरित्र भएका असल मान्छे बन्न सक्छौ तिमीहरूले साँच्चै चाहृयौ भने !

उल्फ के.सी. हो हामी देशका सपूत हौं ! हामी देश बनाउन सक्छौं । हामी मुलुकलाई ध्वंश तिर होइन सृजना तिर निर्माण तिर लगाउँछौं । भ्रष्टाचार !

समवेत स्वर : मुर्दावाद ! मुर्दावाद !

उल्फ के.सी. भ्रष्टाचारी ! … व्यभिचारी, अत्याचारी !

समवेत स्वर : मुर्दावाद ! मुर्दावाद !

उल्फ के.सी. लौ साथी हो ! …अब हामी लेख्न थालौं । हाम्रो कापी खाली छ । दिमाग खाली हुनेको मात्र कापी खाली हुन्छ । हाम्रो दिमाग खाली छैन । त्यहाँ करोडौं समस्याका समाधान छन् । खाली हामीसंग विश्वासको कमी छ । हामी अर्काको लहै लहैमा चाँडै लाग्छौं । हाम्रो यो बानीले भ्रष्ट बदमास र दुष्टहरूले हाम्रो घोडा चढ्छन्; हाम्रो जोश जाँगर र बुद्धिलाई आफ्नो क्षुद्र स्वार्थ पूरा गर्न उपयोग गर्छन् , गर्दैछन् र भोलि पनि त्यस्तै जमर्को गर्न सक्छन् । हामी त्यसमा नफसौं । …लौ अब काममा जुटौं । पढ्न लेख्न पाउने हाम्रो अधिकार !

समवेत स्वर : जिन्दावाद ! जिन्दावाद !

उल्फ के.सी. एकजाम दिन पाउने हाम्रो हक !

समवेत स्वर : जिन्दावाद ! जिन्दावाद !

(फोनको घण्टी बज्छ)

एङ्कर शर्मा (प्रफुल्ल मुद्रामा यन्त्र उठाएर) हेलो ! नानीकी आमा – … अँ, यहाँ सबै ठीक छ । धन्दा मान्नु पर्दैन । केटाकेटीहरू तल्लीन भएर प्रश्नको उत्तर दिंदैछन् । शान्ति छ । चिता बनाउनु पनि पर्दैन, दाउरा बनाउनु पनि पर्दैन । …होइन, होइन घाटको सामान केही किन्न पठाउनु पर्दैन । पुरेत दाजु भाइ कसैलाई बोलाउनु पर्दैन । …चक्कु – चक्कु पनि डेस्कमा गाडिएको छैन । …भनिहालें नि सबै लेख्नमा मग्नछन् । …बरु आफैं सक्छ्यौ भने शिव मृत्युञ्जयको सङ्कटा भैरवको स्तोत्र पाठ गरे हुन्छ; पछि आउने सङ्कट पनि रोकथाम होला ! … ल त… (रिसिभर राख्छ) अँ त तिमीहरूले लेखिसक्यौ !

समवेत स्वर : सक्यौ सर !

एङ्कर शर्मा : कस्तो गर्‍यौं ? …सर होइन, गुरु भन । म रिसाउन्न

भ्यालेन्टाइन : राम्रै गर्‍यौं जस्तो लाग्छ । थैङ्क्यु गुरु । तर थैङ्क्यूसंग गुरु वर्ड कति अड लाग्छ । थैङ्क्यूको नेपालीमा के हुन्छ गुरु ?

एङ्कर शर्मा (अलि अकमकिन्छन्) मलाई अहिले ठयाक्कै आएन । म डिक्स्नरी हेरेर भोलि भनिदिउँला ।

सेक्सी पाण्डे : ओ.के. सर ! ओ गुरु , हेप्पी डे । गुड नाइट् स्वीट् ड्रीम ।

Sangeet Aayam – Usko Mrityu

कुनै कारणबिना नै उसको मृत्यु भयो। मलाई विश्वास नै लाग्दैन कि भर्खरै उसको दाहसँस्कार सकेर म घर फर्किएको छु। खुट्टाहरू फतक्क गलेका छन्। हातहरू मानौं अपाङ्ग भएका छन्। संवाद हराएर ओठहरूमा मात्र मौनता फैलिएको छ। मनहरू लाग्छं आहत् भएका छन् कुनै ठूलो पहाडले किचिएर।

साँझ ढल्दैछ। म झ्याल खोल्छु, हावाको एक चिसो झोका कोठाभित्र पस्छ। लाग्छ हावाको झोंकासँगै उसको सम्झना पनि कोठाभित्र प्रवेश गरेको छ। स्मृतिहरूको भेलले मलाई बगाएर पर कतै एकान्तमा पुर्यामउँछ। म उसको ओठ सम्झन्छु।

उसका कलिला ओठहरूमा अद्भुत प्रकारको जादु थियो। त्यो जादुले ओतप्रोत भएका ती ओठहरू मैले सहस्र पटक चुमेका ओठहरू थिए। अहा! कति राम्रा थिए ती ओठहरू। उसका स्वप्निल तरङ्ग व्यूँझाउने ओठहरू यति सुन्दर थिए कि मानौं ती ओठहरू मैले कोर्समा पढ्ने गरेका शेलीका कविताहरू हुन्। मानौं मैले एकान्तमा भिजेर समयलाई मनोरम बनाउने गरेका डी. एच. लरेन्सका उपन्यासहरू हुन्।

फेरि अर्को चिसो झोंकाले म स्मृतिबाट खस्छु। आर्कल्याम्पको प्रकाशले छोएको सेतो फूललाई झ्यालबाट टाउको निकालेर म बाहिर हेर्छु। बाहिर अलि चिसो नै रहेछ, शायद रात पनि धेरै ढलिसक्यो होला। साँझ डुबेको पनि धेरै समय भैसक्यो, खोइ! निद्रा नै आउँदैन। संझनाहरू चाहिं यसरी आएका छन् कि के भन्ने? म उसको आँखा सम्झन्छु।

उसका ठूला ठूला आँखाले मलाई मानौं मोहनी नै लगाएका थिए। म उसको आँखा हेरिरहन्थें एकनाशले टोल्हाएर। मैले सयौं पटक चुमेका ती आँखाहरू कुनै सुल्झनै नसक्ने रहस्यहरू थिए। कति आत्मीय थिए ती आँखाहरू! कति रोमाञ्चक थिए ती आँखाहरू! ती आँखाहरूको गहिराइमा एउटा पृथक संसार थियो। ती आँखाहरूले बोक्ने गरेका एउटा क्यानभासमा समय लत्पतिन्थ्यो अमूर्त भएर। म कसरी ती आँखाहरूलाई बिर्सन सक्छु र जसले मभित्र सहस्र स्पर्शहरू खोपेर गए। यो पीडाको मौसममा स्मृतिले दिएको थप पीडा पिएर म ऊबाट भाग्नै नसक्ने भएको छु यतिखेर।

रात ढल्दैछ। समय बहकिदैछ। मात्र एकान्तमा रातलाई लिएर बस्नु शायद पागलपन नै हो क्यार! शायद अरु नै केही हुनसक्छ रातभरि भरि आफूलाई टाँगेर बाँच्नु। अनायास यो के? पानी परेजस्तो छ बाहिर। अघिसम्म त पानी पर्ने जस्तो मौसम नै थिएन, मात्र चिसो हावा बगिरहेको थियो। होइन पानीको छिटा त भित्रै पस्नै लाग्यो, झ्याल लगाउनु पर्योत। म उठ्छु। झ्याल तिर बढ्छु तर हातहरू भने सर्न नै मानिरहेका थिएनन्। स्मृतिको कुन सम्मोहनले तानेर मलाई फेरि पनि उसको नजिकै पुर्याैइदिन्छ।

केही दिन पहिलाको त घटना हो। यस्तै झमझम पानी परेको समय थियो। हामी ओत लागेर बसेका थियौं सडकको छेउमैं। बर्सिरहेको पानी देख्दा यस्तो लाग्थ्यो नजिक आउँदै गरेको रातलाई समेत पिइदिनेछ यसले आफ्ना ओठहरू फैलाएर। पानीको भेलमा सडक पनि बगेझैं लाग्थ्यो सँगसँगै। ठीक यसैबेला उसका हातहरू पानीमा सर्वाङ्ग रुझरहेको गुलाफको फूलतिर सोझन्छन्। मैले त्यस फूलमाथि आफ्नो ध्यान केन्द्रित गर्छुं। वास्तवमैं पानीमा भिजेको त्यो फूल यति सुन्दर देखिन्थ्यो कि मन बहकिहाल्दथ्यो। उसका ओठहरूले मसँग त्यो फूल टिप्ने अनुरोध गर्न थाल्छन्।

‘पापा, त्यो फूल मलाई चाहियो, टिपेर ल्याउनोस् न।’

मैले उसलाई भन्छु, ‘पानी परिरहेको छ अहिले हुँदैन।’

ऊ एकदमै जिद्दी थियो, मेरो केही लाग्दैन। म फूलतिर बढ्छु र त्यसलाई टिपेर फर्किदा निथु्रक्क रुझसकेको हुन्छु। मेरा कपडाहरू पानीले लफ्रक्क भिजेको देखेर होला उसको हाँसोले रोकिने नाम नै लिएन। ‘थ्याक्यूं पापा!’ ऊ भन्दै थियो। उसको चञ्चल र कोमल हाँसोले त्यत्रो पानीले भिजाउन नसकेको मेरो मन चुर्लुम्म डुब्ने गरी भिजाएको थियो। मात्र संझना छ, पत्र–पत्र हुँदै उप्किरहेका।

ओहो! पानीले सिरानी पनि भिजाएछ। पानी त क्रमशः बग्दै गएर तन्नाभरि फैलिंदै गएछ। म फेरि उठ्छु। अब त झ्याल लगाउनै पर्छ नत्र पानी कोठाभरि फैलिनेछ। कत्रो पानी परेको? म बाहिर हेर्छु। बाढी नै आएजस्तो छ सडकमा। अनायास आर्कल्याम्पको प्रकाशमा नुहाइरहेको त्यो सेतो फूलमा मेरो आँखा पुग्छ। ठ्याम्मै उस्तै फूल! कत्ति फरक छैन, मानौं त्यो फूल यस फूलमा रूपान्तरण भएको छ अहिले। तर ….. खोइ, उसको हात सोझएको त्यो फूलतिर? खोइ, उसका ओठहरूले त्यो फूल टिप्ने अनुरोध गरेका? पीडाको अदृश्य उदासी कोठाभरि पोखिन्छ र सुस्त सुस्त बढ्नथाल्छ त्यसको गाढा रङ्ग। म चुपचाप अघिको फूललाई नियाल्छु र देख्छु उसको स्मृतिले व्यूँझाएको प्रतिबिम्बित रूपलाई।

ओहो! पानीले तन्ना पुरै भिजाएर कोठाभरि फैलिएछ। अघि नै झ्याल लगाउनु पर्ने! म झ्याल तिर बढ्छु र त्यसलाई बन्द गर्छु।

मध्यरातको शून्यतामा एउटा अनौठो लाग्ने आवाजले मलाई झस्काउँछ, म त्यस आवाज आएकोतिर हेर्नुपुग्छु। ए! आमा पो हुनुहुँदो रहेछ ढोका खोलेर आउनु भएको। आमा पनि उसको मृत्युले आहत् हुनुभएको कुरा म उहाँको भिजेका आँखा हेरेर नै थाहा पाउँछु। आमातिर म सम्पूर्ण रूपमा केन्द्रित हुँदानहँुदै उहाँको वाक्य खसिसकेको हुन्छ।

‘बाबु, तँ अहिलेसम्म सुतेको छैनस्? के गरिरहेको यतिबेलासम्म?’

मैले भन्न खोज्छु ‘आमा, तँपाई पनि त सुत्नुभएको छैन नि!’ तर भन्दिन।

आमाको ओठ फर्फराइरहेको थियो, शायद उहाँ अरु पनि केही कुराहरू भन्न खोज्दै हुनुहुन्थ्यो। आँखामा रसाएको आँसुलाई बलजफ्ती रोक्दै आमाले शब्दहरूलाई बडो कठीन ढङ्गले निकाल्नुहुन्छ।

‘बाबु, गएको मान्छे अब फर्केर आउने होइन। नआउने कुरामा मन लगाएर मात्र के हुन्छ?’ मलाई थाहा थियो, यो कुरा आमाले आफैंलाई सान्तोना दिन भनिरहनु भएको थियो।

‘कसरी भुल्ने आमा उसलाई?’ मैले मनमनै आफूलाई दोहोर्याोउँदै थिएँ।

आमा कतिखेर त्यहाँबाट बाहिर जानुहुन्छ, मलाई थाहा नै हुँदैन। म त आफैंमा हराएको थिएँ, पीडा र उदासीको बोझले थिचिएर।

मैले झ्याल खोल्छु। ए! पानी त थामिएछ। त्यत्रो झमझम परेको पानी थामिएला जस्तै थिएन। आर्कल्याम्पको प्रकाशले त्यो परको सेतो फूलमा उज्यालो छरिरहेको थियो। तर उसको सामीप्यले दिएका सहस्र उत्साहहरू र खुशीका गीतहरू भने हराएका थिए कुनै अज्ञात गन्तब्यतिर यात्रारत रहेर।

मैले अन्तिमपल्ट झ्याल बाहिर हेर्दा बिहान भैसकेको थियो। टेबुलमा चिसो भएको कप थियो चियाको शायद आमाले ल्याएर छोड्नुभएको थियो। बाहिर उज्यालो परसम्म पोखिसकेको हुन्छ, म कोठाबाट बाहिरिन्छु र केही टाढा पुग्छु।

झलमल्ल घाम लागेकोले मौसम सफा थियो। राती परेको पानीले गर्दा प्रकृति मुलायम देखिन्थ्यो। मलाई आफ्नो उदासी केही कम भएको जस्तो महसुस हुँदै जान्छ। सँधै उदास रहेर पनि त बाँच्न सकिदैन, मैले सोच्दै हुन्छु। सँधै पीडा लिएर कसरी यात्रा तय गर्न सकिन्छ र? मलाई समयले सिकाउँदै थियो।

त्यो सेतो फूल त्यहाँ थिएन, मलाई फेरि समयले उपहास गरेझैं लाग्छ। कसले टिपेछ त्यो फूल? कति निष्ठुर हात होला त्यो फूल टिप्ने? उसलाई पनि त मृत्युले यसरी नै टिपेर लग्यो, मैले केही पनि गर्न सकिन। जे कुरा भुल्न खोजिन्छ, त्यही कुराले किन यसरी सताउँछ? प्रश्न जीवन्त हुँदै थियो।

घरी–घरी आइरहने उदासीबाट बच्न म डी. एच. लरेन्सको कथासङ्ग्रह पढ्न थाल्छु। ‘दि रकिङ हर्स विनर’ भन्ने कथा त्यस सङ्ग्रहको शुरुमैं थियो। यस कथामा सानो केटो ‘पौल’को मनोविज्ञान बिगारेर उसकी असन्तोषी आमाले अन्त्यमा आफ्नै छोराको मृत्यु गराएकी कुरा थियो। यो कथाले झन् उसको मृत्युलाई ताजा गराउँछ, म पुस्तकलाई फ्यात्त मेचमा फाल्छु। किन हरेक कुरा उसको मृत्युसँग जोडिएर आउँछन्? के यसबाट बच्ने उपाय छैन? म साँच्चै नै यस्तो कुराको प्रतीक्षामा थिएँ कि कमसेकम उसको मृत्युले दिएको यातनालाई भुल्न सकुँ।

मध्यान्नतिर एकहूल केटाकेटीहरू आउँछन्, म उनीहरूलाई हेर्नथाल्छु। शायद उसका साथीहरू होलान्। अँ, उसका साथीहरू नै रहेछन्। उनीहरूको अनुहारमा अनन्त खुशी छचल्किरहेको थियो। उनीहरूका आँखा यसरी चम्किरहेका थिए कि मानौं जसरी अन्धकारमा हठात् प्रकाश चम्कन्छ। आफ्ना साना हातहरूमा फूलका गुच्छाहरू लिएर उभिएका ती केटाकेटीहरूमाझ मैले उसलाई खोज्छु। अँह, ऊ त्यहाँ थिएन। सँधै साथीहरूमाझ रहने उसको उपस्थिति आज साथीहरूका माझ नै हराएको थियो। मेरो आँखामा हेर्दै एउटा सानो केटाले मसँग केही सोधिरहेको मलाई आभाष हुन्छ।

ऊ भन्दै थियो, ‘अङ्कल, आकाश आज किन स्कूल नआएको? आज हाम्रो रिजल्ट पनि भयो। अङ्कल सुन्नुहुन्छ? आकाश त स्कूलभरिमा सबैलाई टपेर बोर्ड फस्ट भयो नि!

म मौन थिएँ। आफ्ना आँखामा रसाएको आँसुलाई लुकाउन म उनीहरूदेखि उता फर्किन्छु।

एउटी सानी केटी मेरो सामुन्यमा आउँछे र जिद्दी गर्न थाल्छे। ‘भन्नुहोस् न अङ्कल, आकाश खोइ भन्या?’

सार्हैा जिद्दीवाल हुन्छन् केटाकेटीहरू। आफूले खोजेको कुरा पाउने त यिनीहरूको स्वभाव नै हुन्छ। मेरो आकाश पनि सार्हैज जिद्दी गर्थ्यो र पनि अत्यन्त प्यारो थियो। उसले जिद्दी गर्दा उमेर अनुसार कति सुहाउँथ्यो पनि। मैले परतिर हेरें, एकहूल चराहरू स्वतन्त्रताको उपभोग गरेर उडिरहेका थिए।

केटाकेटीहरूको स्वर बढ्दै थियो। ‘अङ्कल, आकाश खोइ भन्या? हामीसँग किन नबोल्नुभएको अङ्कल?

‘बाबुनानी हो, आकाश छैन।’

मेरो कुरा खस्न नपाउँदै एकस्वरमा उनीहरूले सोध्छन्। ‘आकाश कहाँ गयो अङ्कल?’

‘बाबुनानी हो, आकाश त हामीलाई छोडेर टाढा गयो।’ मैले भन्न नचाहँदा नचाहँदै भन्छु।

‘अङ्कल, हामीले आकाशलाई बधाई दिन यी फूलहरू ल्याएका।’ ठूला ठूला आँखा भएकी केटीले फूलहरू मलाई दिदै भन्छे।

केटाकेटीहरू जान्छन्। खोइ, कति बुझे यी अबोध केटाकेटीले मृत्युको भाषा? फूलहरूलाई मायाले सुम्सुम्याउँदै म सोच्न थाल्छु।

केटाकेटीहरू पर पुगिसकेका हुन्छन्। खोइ, कुन सम्मोहनबाट प्रेरित भएर हो म उनीहरूलाई हेर्नथाल्छु। यो के? मेरा आँखा अनायास पछिपछि हिंडिरहेको एउटा केटोमाथि पर्छ। मैले हरेक कोणबाट उसलाई नियाल्छु। आकाशको उचाइको र शरीर पनि आकाशको जस्तै। आकाशकै रङ्गको र हिंडाइ पनि आकाशको जस्तै। मेरा पाइलाहरूमा शक्ति भरिन्छ र त्यो केटोप्रतिको आकर्षणले म उतिर जोडसँग भाग्न थाल्छु। एकछिन पछि म त्यो केटोको नजिकै हुन्छु। हातहरू उसलाई उचाल्न खोज्दै हुन्छन्। ओठहरू उसलाई चुम्न उद्दत देखिन्छन्। काख आफ्नो शून्यपन पर फाल्न सायद रिक्तताको ठाउँमा उत्सर्ग भर्दै हुन्छ। छाती मौनतालाई पृथक गरेर सायद संवाद स्थापित गर्दै हुन्छ।

मेरो आभाष पाएर होला ऊ मतिर फर्किन्छ। मैले उसलाई पैतालादेखि शीरसम्म हेर्छु। ए! आकाश त होइन रहेछ। अँह, आकाश जस्तो लागेको त आकाशको साथी पो रहेछ।

म घरतिर फर्किदै गर्दा परैबाट आमालाई देख्छु। आमाले अघिदेखि नै मलाई हेरिरहनु भएको रहेछ। मलाई कस्तो कस्तो लागेर आउँछ। मलाई साँच्चै नै आफ्नो स्थितिको कारण अप्ठ्यारो महसुस हुन्छ। आमा घरभित्र जानुहुन्छ। म घरसम्म पुगेर टक्क अडिन्छु। वास्तवमा म यस्तो कुराको प्रतीक्षामा हुन्छु जसले उसको मृत्युलाई उसका संझनाहरूदेखि पृथक गरोस्, जसले उसको मृत्युलाई उसका स्मृतिहरूबाट अलग गरोस्।