Ganesh Ghimire 'Marmik' – Manchhe (Nepali Laghu Katha)

गणेश घिमिरे ‘मार्मिक’ – मान्छे

उसले धेरै जनाको मुखबाट धेरै ठाउँमा र धेरैपटक सुनेको छ- मुलुकमा गणतन्त्र आयो, अब त सर्वसाधारण जनताको पनि पहुँच सिंहदरबारमा पुग्यो । अब भने नेपाली जनता साँच्चैका सार्वभौम भएका छन् ।

उसको मनमा उसले सुनेका ती कुराहरू एकाएक गुञ्जिए । उसले सोच्यो- हो त नि म पनि त नेपाली जनता । आज भने सिंहदरबार पसेर मज्जाले हेर्ने हो । रहर पुग्ने गरी ।

मनमा यस्तो कुरा सोच्दासोच्दै ऊ सिंहदरबारको पश्चिमतर्फ अविस्थत मूलगेटमा पुगिसकेको थियो । ऊ सरासर भित्र छिर्न खोज्यो तर मूलगेटमा पहरा दिएर बसेका राष्ट्रसेवकले उसलाई रोक्दै भने- ए दाइ  कहाँ जान लाग्नु भा’को ? यहाँबाट मान्छे छिर्न मिल्दैन ।

उसलाई अचम्म लाग्यो- मान्छे छिर्न नमिल्ने भए केका निमित खोलिएको हो त यत्रो यामानको गेट हँ भाइ ?- उसले प्रश्न गर्‍यो ।

चुप लागेर उताबाट जानुस् न, मिल्दैन भनेपछि । पहरा गणले अलि रुखो स्वरमा जवाफ फर्काए ।

ठीक त्यसैबेला उसको अगाडिबाटै ३-४ वटा सरकारी गाडीहरू सरासर गेटबाट भित्र छिरे । उसले देख्यो- ती गाडीहरूभित्र पनि मान्छे नै सवार थिए । ऊ असमञ्जसमा पर्‍यो । मान्छे छिर्न नमिल्ने गेटबाट सरासर छिर्ने ती को थिए त ? उसले आफैँलाई प्रश्न गर्‍यो ।

उसले धेरैबेर निधार खुम्च्याएर सोच्यो र एउटा निष्कर्षमा पुग्यो । वास्तवमा अबचाहिँ हामी सर्वसाधारण नेपाली जनता पनि वास्तविक ‘मान्छे’ भएछौँ, मुलुकमा गणतन्त्र आएपछि । त्यसैले त मान्छे छिर्न पाइने गेटबाट छिर्न पाइएन नि ।

के सोचर हो कुन्नि, ऊ फिस्स हाँस्यो र अर्कोतिर मोडियो मान्छे हुनुको नियति बोकेर ।

Bindu Lama – Dandahinata (Nepali Laghu Katha)

बिन्दु लामा – दण्डहीनता (लघुकथा)
(गोरखापत्र)

युवाको समूहले देशव्यापी रूपमा ‘अपराध किन बढ्छ’ भन्ने शीर्षकमा अन्तक्रिया कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरे । देशमा अपराधिक क्रियाकलाप एकपछि अर्को गर्दै दिनप्रतिदिन बढिरहने क्रम जारि थियो । यसैले यो चिन्ताको विषय बन्न पुग्यो । युवाले विशेष चासो राखे । छलफलमा धेरैजसो युवाको नै सहभागिता थियो । देशको मेरुदण्ड अर्थात् विकासका कर्णधार भनेकै युवानै भएको हुँदा जोसिला र फूर्तिला युवा नै अग्रसर जागरुक देखिन्थे । छलफलमा आ-आफ्नो विचार व्यक्त गर्ने क्रम चलिरहेको थियो । निडर र दक्ष युवा अगुवा रामकेशवले बोल्यो -‘हाम्रो देशमा अपराध किन बढ्छ भन्दा आफै बोक्सी आफँै झाँक्री बन्ने परिपाटीले गर्दा हो भनेर भन्दा फरक नपर्ला । उदाहरणको लागि अछाममा एक महिलामाथि सामूहिक बलात्कार भयो तर सोझालाई जेल हालियो भनियो । विशेष उक्साउने र आफैँ पनि शिकार गर्ने शिकारीलाई चँै कारवाही गर्नुको साटो बरु उल्टै संरक्षणका साथै निर्दोष सावित गरेर राखियो । कारवाही सबैलाई गरिनुपर्छ, सबैलाई हुनुपर्छ । चाहे जो कोही होस् । कानुनको कठघरामा उभ्याउनु पर्छ अपराधीहरूलाई .. । निर्दोषलाई दोषीलाई बनाई दोषीलाई निर्दोषको तक्मा लगाइदिने ऐन नियम छ यो देशमा । यो त्यसैले अपराध बढ्छ् ।

फूर्तिका साथ हरिशंकर बोल्यो -“हो, रामकेशवजीले कुरो सही गर्नुभो’ । देशमा निर्धा, निमुखा, दुःखी र गरिबलाई मात्र कानुन लाग्छ । जसले जे गरे नि हुन्छ भन्ने परिपाटी बसेको छ । त्यसैले युवा साथीहरू हामीले अब देश व्यापी रूपमा ‘अपराध किन बढ्छ’ भन्ने शीर्षकमा अन्तक्रिया कार्यक्रम सञ्चालन गर्नुपर्छ । सफल पार्नको लागि हामी सबैले भूमिका खेल्नुपर्ने समय आएको छ । हो । त्यसैले सबैको सहमति छ कि छैन ? धेरैको एकै आवाज भो । सहमति देखियो । भेलामा उपस्थित एक व्यक्तिलाई भने नराम्रोसँग चस्का परेछ क्यार । शङ्कालु पाराले सबैतिर हेर्दै ऊ आफ्नो बाटो लाग्यो । सबैले ऊ गएतर्फ हेरिरहे । उसलाई बोलाएर अन्तक्रियाका लागि सहमत गराउन कसैले पहल गरेन । दण्डहिनताको जरो कतै यस्तै र यतैसम्म फैलिएको त छैन ?

आश्विन ९, २०६७
शनिबार, गोरखापत्र ।

Rajesh Natansh – Samaya Chakra Ma Bikal Sir

राजेश नतांश – समयचक्रमा विकल सर

निकै ‘रोमान्टिक’ थिए विकल सर । मोटो, ओग्लो, हृस्टपुष्ट थियो शरीर । सेतो चस्मा लगाउँथे । स्वीटर, पेन्ट, सर्ट मनपर्ने पहिरनहरू थिए । पढाईका हरेक सन्दर्भमा मजाक गर्ने बानी रमाइलो थियो उनको । सबै विद्यार्थीलाईं हँसाई-हँसाई पढाउँने गर्दथे । हेर्दै सरल, सभ्य र हृष्टपुष्टताले गर्दा जो कोहि पनि उनीप्रति आर्कषित हुन पुग्थें । झन् क्याम्पसका केटीहरू त ज्यानै दिन खोज्थे । हरपल झुमिरहन्थे उनीहरू । क्याम्पसमा उनी अंग्रेजी विषय पढाउँथे । सार्‍है सिर्जनात्मक थिए । उनको सफलताका पछि उनको संघर्षको अर्को पाटो थियो । बुबा-आमा सानै उमेरका बितेका थिए । धेरै वर्ष संघर्ष गरेर यो स्थानसम्म आएका थिए उनी ।

बिहान सबेरै उठ्ने गर्दथे । दैनिक कर्मकाण्ड सकेर, खाना पकाउने, भाडा माझ्ने, लुगा धुने र घर पुछ्ने लगायतका कामहरू कति पनि झन्झट नमानी सम्पन्न गर्दथे । ठिक १० बजे सम्पूर्ण कामहरू सकेर तयारी हुन्थे । निकै मेहनत गर्दथे दिनहुँ विकल सर । आधा दर्जन बढी क्याम्पसहरूमा ठूलो दौडधुपका साथ पढाउन पुग्थे । दिनमा उनलाई खाजा खाने समयको समेत फुर्सद मिल्दैन थियो । उनको हरेक यात्रामा उनको थोत्रे मोटरसाइकलले ठूलो साथ दिएको थियो । कुनै पनि काममा विलम्ब गर्दैन्थे उनी ।

विनु उनकी सहचारिका, जीवन सङ्गीनी, अर्धाङ्गिनी थिई र मेरी आत्मिय साथी । हामी एउटै कक्षामा अध्ययन गर्दथ्यौ, सार्‍है मिल्दथ्यौ । सम्पूर्ण आत्मिय कुराहरू हामीमाझ साटासाट हुन्थे । हेर्दा सोझी, सीधा देखिने विनु उनको प्रशंसा गर्न सकिदैन थियो । उनलाई उनको रुपप्रतिको घमण्ड कति पनि थिएन । सबैलाई सहयोग गर्ने, सबैको भावना बुझ्ने, हरेक समस्यासँग लड्ने अनौठो गुण थियो उनमा ।

यति विध्न गुणहरू भएकी विनुलाई अप्रत्यासित रुपमा विकल सरले मन पराएका रहेछन् । विनु विकल सरसँग नजिकिदै जाँदा उनले पनि थाहा पाएछन् कि विनुले आफूलाई मन पराउँछें भनेर । यसरी सम्बन्ध बढ्दै जाँदा दुवैजनाले विर्सिएछन् सर विद्यार्थीको सम्बन्ध । आखिर प्रेम न हो । कोसँग हुन्छ, कस्तोसँग हुन्छ, किन हुन्छ भन्ने कुराको मनन् गरिदैन् । उनीहरू एकअर्कालाई निकै प्रेम गर्दथे । एकदिन विनु क्याम्पस नआउँदा छट्पटिन पुग्थे विकल सर ।

दुवैजना दाम्पत्य जीवनमा बाँधिएको धेरै समय बितिसकेको थियो । उनको जीवनमा विनुको प्रवेशपछि निकै सरल र सुन्दर बनेको थियो । उनको हरेका पाइला-पाइलामा साथ दिएकी थिई विनुले । बैवाहिक जीवनमा बाँधिएपनि विनुको पढाई प्रखर थियो । झन् गूरु नै आफ्नो श्रीमान् भएपछि त उनको पढाईमा सुनमाथि सुगन्ध नै थपिएझैँ भएको थियो ।

छुट्टीका समयमा उनीहरू जहिल्यै नयाँ पार्क, रिर्र्सोट, स्मारक, संग्राहलय, मठमन्दिर घुम्न पुग्थे । राती अबेरसम्म घुमफिर गर्दथे । साँच्चै यी दुई जनाको दाम्पत्य जीवन सबै दाम्पत्य जोडीहरूका लागि उदाहरणीय बनेको थियो । विकल सरभन्दा कम पढेकी, कम उमेरकी भएपनि विनुले एउटा असल र निपुण श्रीमतीको भूमिका निभाएकी थिई । उनीहरूको दाम्पत्य जीवनमा कुनै असहमतिका खाल्डाहरू थिएनन् । कुनै छलकपट, रिस, राग, शंका-उपशंका थिएनन् । विकल सरले विनुलाई सधैं सम्मान गर्दथे ।

हामीलाई पढाउन मात्र के सूरु गरेका थिए विकल सरले । उनको मोबाइल बज्यो । फोन ‘रिसिभ’ गरेपछि उनको अनुहार एक्कासि फेरियो । अनुहार भयावह भएको थियो । निकै आर्श्चर्यजनक थियो उनको अनुहार । हतारिदैँ उनी कक्षा छोडेर निस्किए । हामीहरू अचम्ममा पर्यौं । क्याम्पसैभरि खैलाबैला मच्चियो ।

विकल सर निकै दिन हामीलाई पढाउन आएनन् । क्याम्पस प्रशासनमा पनि सम्पर्क राख्दा केही थाहा नभएको सूचना पाइयो । पछि सम्पूर्ण कुराहरू थाहा पाएपछि हामी छाँगाबाट खसेजस्तै भयौँ । विनुलाई ट्याक्टरले ठक्कर दिएको रहेछ । बजारमा किनमेल गर्न जादाँ । उनको हालत निकै खराब रहेछ । उनी जीवन र मृत्यूसँग संघर्ष गरिरहेकी रहिछिन् ।

विकल सर बौलाहाएको जस्तो देखिन्थे । आफू भन्दा बढी माया गर्थे विनुलाई । ट्याक्टरको ठक्करपछि दिनहुँ बेचैन जस्तो देखिन्थे । शरीर सारा सुकेर ख्याउटेजस्तो भएको थियो । पढाईमा पनि विलम्ब गर्दथे । उनको मजाक गर्ने बानी पनि हराई सकेको थियो । किनकी उनकी प्राणझैं प्यारी श्रीमती विनु मृत्यूसँग खेलवाड गर्दै ओछ्यानमा लडिरहेकी थिई ।

Shiva Prakash – Sapath

एककान दुईकान मैदान गाइँगुइँ चल्न थाल्यो मन्त्रीज्यूका बारेमा। गाउँको स्कूलको एउटा साधरण मास्टर, राजनीतिमा लागेर मन्त्री हुने वित्तिकै कायापलट भयो उनको।

अहिले के छैन उनीसँग श्रीमतिका नाउँमा आलिसानको बङ्गला। सालासालीसम्मका नाउँमा जताततै घरघडेरी जग्गा। घरमा महँगो गाडी पार्क गरेर राखेको छ। परिवारलाई सरकारी सुविधाका गाडीहरू उपलव्ध छन्। छोराको चुरीफुरी र मैमत्तता निकै बढेको छ। वैंक व्यालेन्स टन्न छ। हिजोको ख्याउटे मास्टरको जीउडाल मन्त्रीभएपछि भ्यागुते भएको छ। यो देखेर टोल छरछिमेक र गाउँबाट मन्त्री भेट्न आउनेहरू सबै छक्क पर्छन्।

धेरैको मनमा लाग्छ सबै काम छोडेर राजनीतिमा लाग्नु पर्ने रहेछ। कमालको पेशा रातारात मालामाल अरु त अरु आफ्नै श्रीमती पनि छक्क परेकिछिन् आफ्नो लोग्ने मन्त्री भएदेखिको उत्पात देखेर। गाउँमा मास्टरनी नानी भनेर चिनिने सिदासादा स्वास्नीमान्छे बेलाबेला रेडियो, टिभी र अखबारमा आएका समाचारले झस्किन्छिन् पनि। कतै यस्तै हुने त होइन  त्यसलाई उनी दूर्दशा ठान्छिन।

टोलछिमेकमा चर्चापरिचर्चा बढी नै हुन थाल्यो मन्त्रीज्यूको बद्लदो र उर्लदो जीवनशैलीप्रति।

मन्त्राणीका कानमा पनि गाँइगुँइ पर्न थाल्यो आफ्नो लोग्नेका बारेमा चलेको चर्चा परिचर्चा। हुन त उनले पहिलेदेखि नै लाग्नेलाई लागार्थिन् र बेलाबेलामा सोध्ने गर्थिन ‘हैन कहाँबाट आउँछ रातारात मुठाका मुठा अति गर्नु तर अतिसारो गर्नु त राम्रो हुदैन नि ! भोली फन्दामा परिएला, भन्नेबेलामा देशर जनताको निस्वार्थ सेवा गर्छु भन्ने गर्ने बेलामा रातारात यस्तो लुटपात गर्ने ?’

मन्त्रीज्यू उल्टो लघार्थे – “नकरा तँ। म के गर्दैछु मलाइ थाह छ। ममात्र मंगलग्रहबाट आएको हँ र ? तँ गोज्याङ्ग्री यस्ता कुराहरू बुझ्दिनस् चुपलाग।”

भोलिपल्ट अचानक मन्त्रीमण्डल विघटन भयो। विघटित मन्त्रीमण्डलका सदस्यहरूको सम्पत्ति छानविन अख्तियारले गर्ने समाचारसँग भ्रष्टाचारमा यिनै मन्त्रीको नाउँ सबैभन्दा पहिलो नम्बरमा आयो।

मन्त्राणी अत्तालिदै मन्त्रीलाई सुनाउन आइन – “मैले त भनेको हो नि उ अब अख्तियारले समाउने भयो। अब कसरी मुख देखाउनु यो समाजमा। जति सोधे नि कहिल्यै भन्नु भएन। मसँगै लुकाउनु भो। जति कराए नि कहिल्यै मान्नु भएन। अब के गर्ने हे भगवान्”
श्रीमतीको अत्याहटबाट अलिकति पनि विचलित नभइ मन्त्रीले गम्भीर र शान्त मुद्रामा जवाफ दिए -“नकारा केही हुदैन। यस्ता समाचार त मन्त्रीमण्डल परिवर्तन हुँदैपिच्छे सधैं आउछन् अलिपछि आफैं हराउँछन्। बाँकी रह्यो मैले तँलाईसमेत नभन्नुको कारण चाँही मन्त्री हुँदा पद तथा गोपनियताको सपथ खाएको हुनाले मैले आफनै श्रीमतीसँग समेत पद अनुरुपको गोपनीयता भंग नगरेर इमान्दारीता निभाएको हुँ।”

Ratna Prajapati – Mangsir Faguko Rangle Tarangiyeko Man

रत्न प्रजापति – मंसिर फागुको रङले तरङ्गिएको मन
(मधुपर्क २०६६)

उसले औँला भाँचेर गन्ती गरी- ठ्याक्कै दुई वर्ष भएछ उसको लोग्ने विदेश गएको ।

देशमा द्वन्द्व चर्किएपछि गाउँमा टिक्न नसकेर उनीहरू सहर पसे । सहर पसेर मात्रै उनीहरूको हैरानी सकिएन । बाँच्नै पर्यो र बाँच्नका लागि खानै पर्यो । अनि खानका लागि कमाइ हुनै पर्यो तर उनीहरूको भरपर्दो कमाइको स्रोत केही पनि थिएन सहरमा । लोग्नेस्वास्नी एउटा कोठा भाडामा लिएर बसेका थिए । त्यही कोठाको भाडा पनि समयमा तिर्न नसकिने स्थिति उत्पन्न हुँदै गइरहेको थियो उनीहरूको । लोग्ने दिनभरि काम खोजेर साँझ लखतरान भएर कोठामा र्फकन्थ्यो र दुखी समाचार सुनाउँथ्यो- आज पनि कतै कामको कुरो मिलेन । सुनेर ऊ पनि दुखी हुन्थी तर केही गर्न सक्दिनथी । अनि ऊ चुप लागेर लोग्नेको मुख हेरेर टोलाएर बस्थी ।

उनीहरूको भर्खरै बिहे भएको थियो । त्यसैले बाँच्नेक्रममा आफ्नो गरिखाने घरखेत र गाउँ छोडेर सहर पस्दाको दुःख त थियो नै तर लोग्नेस्वास्नीको आत्मीय प्रेमको सुख पनि साथै थियो । विरानो सहरमा बेरोजगार भई बस्नु पर्दाको दुःख जतिसुकै भए पनि लोग्नेस्वास्नी सँगै भइसकेपछि उनीहरूले सारा दुःखलाई बिर्सेर प्रेम गर्न भने कहिल्यै भुलेनन् । लोग्नेको मीठो स्पर्श मात्रैले ऊ सारा दुःख बिर्सन्थी भने उसको उस्तै मीठो समर्पणले उसको लोग्नेले पनि आफ्ना सारा तनावहरू बिर्सन्थ्यो ।

दिनहरू यसैगरी बित्दै गए । एक दिन उसको लोग्नेले एउटा प्राइभेट कम्पनीमा जागिर पायो । जागिर पाएको खुसीमा उसको लोग्नेले त्यस दिन एक जना साथीसित सापटी मागेरै भए पनि आधा किलो मासु लिएर आयो । त्यो दिन उनीहरूका लागि ठूलो खुसीको दिन भयो । सहर पसिसकेपछि त्यसै दिन मात्रै उनीहरूले सुखको अनुभूति गरे । सोचे – अब जिन्दगीको नाउ सहज ढङ्गले चल्नेछ ।

चल्दै गयो जिन्दगीको नाउ तर अब जिन्दगीको नाउ जसरी चल्छ भनेर उनीहरूले सोचेका थिए, त्यसरी भने चल्न सकेन । प्राइभेट कम्पनीको जागिरको सीमित कमाइले सहरको जिन्दगी त्यति सहज ढङ्गमा चल्नु सम्भव पनि थिएन । हरेक कुरामा महँगी यसरी चुलिएको थियो, त्यो चुलीलाई उसको कमाइले कहिल्यै भेट्न सकेन । त्यसैले उनीहरूको जिन्दगीलाई फेरि पनि अभावले लखेट्न छोडेन । अभावको अघिअघि भाग्दाभाग्दै सहरको जिन्दगीले केही महिना पार गर्यो । यसैबीच ऊ उनीहरूको गहिरो प्रेमको प्रतिफलस्वरूप आमा बन्ने भई तर जिन्दगीमा पहिलोपटक प्राप्त यस्तो खुसीको बेलामा पनि उनीहरू खुलेर खुसी हुन सकेनन् किनभने अभावको पीडाले उनीहरूलाई कताकता घोचिरहेको थियो ।

‘के छ र जिन्दगी, यसैगरी बिताइदिन्छु ।’ कुनै कविको कविताको अंश हो यो । उनीहरूले पनि यही कविताजस्तै उसैगरी जिन्दगी बिताउने अठोट नगरेका होइनन् तर अभावको पीडाले कहिलेकहिले कताकता दुख्न भने छोडेन उनीहरूको जिन्दगीमा । अनि यही दुखाइ कम गर्न एक दिन उसको लोग्नेले धेरै कमाइ हुने आशामा काम गर्न विदेश जाने निधो गर्यो ।

अरूले जस्तै उसको लोग्ने पनि साथीभाइ र आफन्तसँग ऋणपान गरेर अरू धेरै जनासित काम गर्न विदेश गयो । दुई जीउ भएकी उसलाई एक्लै छोडेर उसको लोग्ने विदेश गयो । लोग्ने विदेश गएको दुई महिनामै उसले छोरा जन्माई । तथापि छोरो जन्मिएको खुसीमा रम्न उसले आफ्नो तन र मन दुवै मिल्ने साथी पनि पाइन । लोग्ने सँगै हुँदो हो त उनीहरू कति खुसी हुँदा हुन् । लोग्ने साथमा नभएको हुँदा सँगैको कोठामा भाडामा बस्नेहरूले नै उसलाई मद्दत गरे र उनीहरूसितै उसले आफ्नो खुसी बाँडी । यो खुसी कागजमा लेखेर उसले लोग्नेसम्म पुर्याई । लोग्नेले पनि विदेशमै पटकपटक त्यो कागजलाई चुमेर आफ्नो खुसी प्रकट गर्यो ।

लोग्नेले विदेशबाट कमाइ गरेर पठाएपछि उसलाई बाँच्नका लागि नभई नहुने धनको अभाव भएन । तैपनि कुनै कुराको अभावको महसुस भने हुन छोडेन । सायद त्यो कसैको तनको अभाव थियो र मनको अभाव थियो । एउटा त्यस्तो तन जससित अँगालोमा बाँधिएर सुखदुःख बाँड्न सकियोस् र त्यस्तो मन जससित छातीभित्रबाट अटेसमटेस गर्दै उर्लिएर आउने भावनाहरू साट्न सकियोस् । हो, उसलाई त्यस्तै तन र मनको अभाव महसुस हुनथाल्यो ।

दुई वर्ष भएछ उसले लोग्नेलाई नछोएको र उसको लोग्नेले उसलाई नछोएको । एकले अर्कोलाई छुँदा पनि कस्तो मीठो तृप्ति मिल्थ्यो त्यसबेला । उसले त्यो तृप्ति नपाएको पनि दुई वर्ष भएछ । अहिले फेरि उसका हातका औँलाहरू सलबलाउन थालेका छन् लोग्नेलाई स्पर्श गर्नलाई । उसैगरी उसको शरीरका अङ्गअङ्गहरूमा लोग्नेले स्पर्श गर्दाका काउकुतीको अनुभव हुन थालिरहेछ उसलाई तर खोई उसले लोग्नेलाई एकपटक यसो छुन पाएको ? अनि खोइ उसको लोग्नेले उसका काउकुती लाग्ने अङ्गहरूमा सुस्तरीसुस्तरी स्पर्श गरेको ? एकले अर्कोलाई स्पर्श गर्ने कुरा सोचेर अझ भनुँ सम्झेर ऊ भित्रभित्रै रोमाञ्चित हुन थालेकी छ । ऊ सोच्न थालेकी छ- एकले अर्कोलाई एकपटक पनि नछोइकन कसरी बिते यी दुई वर्ष ?

ऊ सोच्न थालेकी छ- कस्तो अनुभव हुन्छ होला अब लोग्नेमान्छेलाई छुँदा ? अथवा लोग्नेमान्छेले आफूलाई छुँदा ? यस्तो सोचेर मात्रै पनि ऊ रोमाञ्चित भई । लाजले उसको शरीर खुम्चेजस्तो भयो । शरीरको कोमल अङ्गमा कसैले स्पर्श गरेजस्तो लाग्यो । कताकता काउकुती लागेजस्तो भयो । अनि ऊ खितखिताएर हाँसी ।

‘किन हाँस्नु भो भाउजू ?’ सँगैको कोठामा बस्ने तन्नेरी लोग्नेमान्छेले ऊ हाँसेको सुनेर सोध्यो ।

ऊ झसङ्ग भई । हाँस्नका लागि कोठामा ऊबाहेक अरू कोही थिएन । उसको छोरो आनन्दले सुतिरहेको थियो । अब किन हाँसेको भन्ने ? ऊ अलमल्ल परी । अनि एकछिन् सोचेर भनी, ”यत्तिकै ।”

‘ए.. ।’ उता कोठाबाट लोग्नेमान्छेले यस्तो भनेको सुनियो । ऊ भने भर्खरै आफू एक्लै हाँसेको र लोग्नेमान्छेले सुनेको कुराले झनै रोमाञ्चित भइरही ।

अब उसको मन त्यही लोग्नेमान्छेतिर एकोहोरिन थाल्यो । त्यो लोग्नेमान्छेलाई लिएर ऊ केके कुरा सोच्न थाली । मैले उसलाई छोएँ भने कस्तो अनुभव हुन्छ होला ? उसले यस्तो सोची । मैले छुँदा उसको प्रतिक्रिया कस्तो हुन्छ होला ? उसले यस्तो पनि सोची । ऊ अब यस्तैयस्तै मात्र सोच्नथाली । ऊ लोग्नेमान्छेलाई छुन आतुर हुनथाली ।

ऊ बाहिर घाममा निस्की । त्यो लोग्नेमान्छे पनि बाहिर घाम तापिरहेको थियो । त्यसलाई देखेर ऊ एकपटक झस्की । दुवैका आँखा जुधे । अनि अघिको कुरा सम्झेर ऊ फेरि एकपटक फिस्स हाँसी । त्यो लोग्नेमान्छे पनि हाँस्यो । उसलाई कताकता लाज लागेजस्तो भयो । कताकता काउकुती लागेजस्तो पनि भयो । अनि त्यो लोग्नेमान्छे निहुरिरहेको मौका पारेर उसले त्यसलाई नियालेर हेरी । त्यो लोग्नेमान्छे साँच्चै नै सुन्दर थियो । त्यसका बलिष्ठ बाहु, चौंडा छाती र कस्सिएका तिघ्राले उसलाई निकै आकषिर्त गर्यो । उसले ख्यालै गरेकी रहिनछ त्यो लोग्नेमान्छे त्यति लोभलाग्दो रहेछ ।

उसको भित्री मनमा कताकता एकपटक त्यही लोग्नेमान्छेलाई छोइ हेर्न रहर लाग्यो तर के भनेर छुने ? ऊ अलमलमा परी । फेरि छोएर मात्रै के नै पो हुन्छ र ! अलिकति यसो छातीमा मुख लुकाउन पाए पो ! ऊ सोचमग्न हुनथाली । अनि उसले यस्तो पनि सोची- उसको मनमा यस्ता भावनाहरू किन आइरहेछन् ? किन लोग्नेमान्छेलाई छुने रहर लागिरहेछ उसलाई ? किन लोग्नेमान्छेको स्पर्श पाउने रहर लागिरहेछ उसलाई ? यो कस्तो तृष्णा जागिरहेछ उसलाई ? आफ्नो लोग्ने आफूसित नहुँदा सबै स्वास्नीमान्छेलाई यस्तै हुन्छ ? ऊ मनमनै आफैँलाई प्रश्न गरिरहेकी छे ।

उसले विदेशमा रहेको आफ्नो लोग्नेलाई सम्झी तर उसको आँखामा लोग्नेको तस्बिर आएन । बरु त्यही लोग्नेमान्छेको तस्बिर आयो उसका आँखामा । ऊ झसङ्ग भई । यो के भयो मलाई ? उसले आफैँलाई प्रश्न गरी । अनि फेरि उसले आँखा चिम्म गरी र आफ्नो लोग्नेलाई सम्झी । फेरि पनि उसको आँखामा त्यही लोग्नेमान्छे नै देखापर्यो । त्यसपछि भने उसको मुटुको धड्कन तेज हुनथाल्यो । कुन्नि यो के हुनथाल्यो उसलाई ।

अब भने उसलाई एकपटक त्यो लोग्नेमान्छेलाई नियालेर हेर्न मन लाग्यो । उसले त्यो लोग्नेमान्छेको कोठाको ढोकाबाट भित्र चियाएर हेरी । त्यो लोग्नेमान्छे किताब पढिरहेको रहेछ । त्यसले उसलाई देख्यो र भन्यो- ”किन त्यहाँ उभिइराख्नुभएको, भित्रै आउनुस् न ।”

आफूले लुकीलुकी हेरेको त्यो लोग्नेमान्छेले थाहा पाएको हुँदा उसलाई निकै अप्ठ्यारो लाग्यो । मुटुको धड्कन झन् तेज भयो । उसलाई के गरुँ के गरुँ भयो । लोग्नेमान्छे मात्रै बसेको कोठामा ऊ भित्र पस्नु हुन्छ कि हुँदैन भन्ने कुरा उसले सोच्नै भ्याइन । त्यो लोग्नेमान्छेको बोलीले तानिएझैँ ऊ खुरुखुरु कोठाभित्र पसी तर ऊ त्यहाँ उभिइरहन सकिन । उसको मुटुको धड्कन एक्कासि बढेर आयो र उसलाई उकुसमुकुस हुनथाल्यो । अनि त्यो लोग्नेमान्छेले केही भन्नुभन्दा अघि नै ऊ त्यहाँबाट दौडिँदै आफ्नै कोठामा पुगी र ढ्याम्म ढोका लगाई । छोरालाई सुताइराखेको खाटमा ऊ पनि डङ्रङ्ग पल्टी र छातीमा हात राखेर छिटोछिटो सास फेर्न थाली ।

‘हे भगवान्, मलाई यो के हुन लागिरहेछ ?’ यसो भनेर उसले एक छिन आँखा चिम्म गरी र फेरि खोली । यसपटक उसको आँखा भित्तामा झुण्डिरहेको लोग्नेको तस्बिरमा पर्यो । अनि ऊ एकछिनसम्म त्यही तस्बिर हेरेर टोलाइरही । उसलाई आफ्नो लोग्नेको अनुहार अरू बेलाभन्दा बढी मायालाग्दो लाग्यो ।

एकातिर लोग्नेमान्छेको स्पर्श पाउने रहर र अर्कोतिर आफ्नै आँखामा आफ्नो लोग्ने परपर र त्यो लोग्नेमान्छे आफ्नो वरवर आइरहनुको डरले गर्दा ऊ सोचमग्न हुनथाली । अनि एकातिर छातीभित्र भावनाको भुसे आगो विस्तारै बल्दै गइरहेछ भने अकोतिर चिन्ताले मुटु जल्दै गइरहेछ । यसैले गर्दा उसलाई बिसन्चो महसुस हुनथाल्यो । ऊ विस्तारै आफैँभित्र हराउन थाली । हिजोअस्तिसम्म वास्तै नगरेको त्यो लोग्नेमान्छेको बारेमा पनि अब उसले बेलाबेलामा सोच्नथाली ।

उसको केही बद्लिएको र अनौठो व्यवहार देखेर त्यो लोग्नेमान्छेले पनि उसलाई अनौठोसित हेर्नथाल्यो । त्यसको मनमा पनि उसका बारेमा विभिन्न भावनाहरू आउन थाले । उसको व्यवहारप्रति त्यो लोग्नेमान्छेलाई चासो लाग्नथाल्यो । ऊ भित्रबाहिर गर्दा त्यो लोग्नेमान्छेले उत्सुकतापूर्वक उसलाई नियाल्न थाल्यो । स्वास्नीमान्छेलाई देखेर अथवा नजिक पाएर हरेक लोग्नेमान्छेको मनमा उठ्ने तरङ्ग र भावनाहरू त्यो लोग्नेमान्छेको मनमा पनि आउन थाले । अनि त्यसले अनेक उपायले उससित नजिक हुने प्रयत्न गर्न थाल्यो ।

उसलाई पनि त्यो लोग्नेमान्छे आफूसित नजिक हुन खोजिरहेको आभास हुनथाल्यो । कताकता ऊ स्वयं पनि त्यो लोग्नेमान्छेको नजिक हुँदै गएकी हो कि जस्तो लाग्नथाल्यो । यसरी दुवै जनामा जानीनजानी नजिक हुने क्रम चली नै रहृयो । एकआपसमा विस्तारैविस्तारै नजिक हुँदाहुँदै फागु पूणिर्माको दिन फागु खेल्ने निहुँमा उनीहरूको जम्काभेट भयो र जेजे हुनुपर्ने हो त्यही दिन भयो ।

फागु पूणिर्माको दिन । बिहानैदेखि केटाकेटीहरू लुकेर लोला र पिच्कारीले हान्ने, रङ दल्ने र पानी छ्याप्ने गरिरहेका थिए । घरको छतमा बसेर सँगैको घरका छतहरूमा लोला हान्ने क्रम निरन्तर चलिरहेको थियो । विशेषगरी केटाकेटी र युवायुवतीहरू फागुको रङमा रमाइरहेका थिए । मध्यान्ह भएपछि घरका गृहिणीहरू पनि घरधन्दा सकेर केटाकेटी र युवायुवतीसँगै फागु उत्सवमा सामेल हुनथाले । एकले अर्कालाई रङ दलिदिने र पानी छ्याप्ने तथा बाल्टिनबाट जीउभरि पानी खन्याइदिने काममा सबै उमेरका मानिसहरू सहभागी हुनथाले । कहिले लुक्दै, कहिले छल्दै र कहिले भाग्दै रङ र पानी छ्याप्दै रमाइलो गर्ने क्रम चलिरहृयो ।

त्यो लोग्नेमान्छे पनि विभिन्न रङहरूले रङ्गिइसकेको थियो । त्यसको हातमा पनि रङको पोको थियो र कसलाई दलिदिउँ भनेर मौका हेरिबसेको थियो । यता ऊ पनि झ्यालको पर्दापछाडिबाट बाहिरको रमिता हेरिरहेकी थिई । अरू रमाएको देखेर उसलाई पनि त्यो रङ र पानीको रमाइलो खेलमा सामेल हुन रहर लागिसकेको थियो । तैपनि रङ खेल्नुभन्दा त्यो रमाइलो हेर्ने मनसाय लिएर ऊ कोठाबाट बाहिर निस्की । ऊ बाहिर निस्कनेबित्तिकै अघिदेखि मौका पर्खिबसेको त्यो लोग्नेमान्छेले उसलाई रङ दलिदिने प्रयास गर्यो । ऊ भागेजस्तो गरेर आफ्नै कोठाभित्र पसी । त्यो लोग्नेमान्छेले भने उसको पिछा छोडेन र कोठाभित्रैसम्म आएर उसलाई गालाभरि रङ दलिदियो । उसले पनि दुई हातले छेकेजस्तो गरिरही तर त्यसले भने रङ नदली छोडेन । उसको हात समातेरै भए पनि दुवै गाला राताम्मे हुनेगरी त्यसले रङ दलिदियो ।

त्यो लोग्नेमान्छेले त्यसरी जबरजस्ती रङ दलिदिँदा उसलाई रिस उठ्नुपर्ने हो तर उठेन । त्यो लोग्नेमान्छेले उसको गालामा हात रगडीरगडी रङ दलिदिँदा र उसको हात पन्छाउने क्रममा उसको हात बेसरी अँठ्याउँदा उसलाई धेरै दिनपछि एक किसिमको आनन्द र तृप्ति मिलेजस्तो भयो । त्यो लोग्नेमान्छेको हातको स्पर्शले उसलाई असीम सुखद अनुभूति भयो । उसलाई धेरै दिनदेखि नपाएको कुरा बल्ल पाएजस्तो भयो । उसलाई एकदमै सन्चो अनुभव भयो । जुन कुराको उसलाई धेरै दिनदेखि प्रतीक्षा थियो, त्यो आज पूरा भएजस्तो लाग्यो । धेरै दिनदेखि लोग्नेमान्छेलाई छोएर सुखद अनुभूति प्राप्त गर्ने उसको मनको रहर पनि आजै पूरा भयो । त्यसैले ऊ भित्रभित्रै खुसी भई ।