Pravin Rai Jumeli – Warjan

प्रवीण राई जुमेली – वर्जन

पहाड़को चेप-चापबाट बादलको सतहबाट सञ्चारित भइरहेछ सारंगीका सेता धूनहरू, अविरल। नदीको स्वरलाई पनि जितेर। म त साह्रै खुशी छु है आज।
अचानक नै शहरको कुनै गल्लीबाट एकजना मत्थु मुख्यसड़कमा कलाउनलागेको थियो। तब, वर्षा ऋतुपछि भदाैरे घामले सेकिएर एक प्रकारले निन्याउरो भएको शहरको वातावरणमा क्षणिक नै भए पनि एउटा राेमाञ्चको सिर्जना भयो। गाउँले जन-जीवनको निम्न आर्थिक अवस्थालो गर्दा उति व्यस्त नरहने त्यो शहरको सबै खालका मानिसहरू भने सधैं यस्तै मनोरञ्जनपूर्ण घटनाहरूको प्रतीक्षामा रहन्थे।

मत्थुले उसको शरीर केही सन्तुलित राख्ने कोशिश गरे तापनि उसका खुट्टाहरूमा नियन्त्रण थिएन। बेवास्तासित उँभो पल्टाइएको पुरानो पतलूनका मोहोरीहरूबाट निस्कोका दुइ जिरिखिम्टे नाङ्गा धेरै दिन अघिदेखि नधोइए झैं देखिन्थे। आफ्नो असली रंग गराइसकेको मैलो कमेजका दुइवटा टाँकहरू पनि तल-माथि पारेर लगाइएको थियो र मैला पारेर बेस्याहार केशराशीचाहिँ पुरै गुजिल्टिएको थियो।

सुन, ए बिल्डिङहरू हो… मलाई दामी घर चाहिँदैन, अघाइञ्जेल खानु चाइन्दैन। मेरो छोरी स्कूल नपढ़्दा पनि हुन्छ। मेरो स्वास्नी खोकेरै मरोस्… हा-हा
मत्थुको असली उमेर अङ्कल्न गाह्रो थियो। जीवनको कुनै न कुनै विषमताले गर्दा उमेरभन्दा अघाड़िनै उसको जवानी परास्त भइसकेको थियो। त्यस मत्थुलाई चिन्ने प्रयासमा शहरका भेगीदार लफंगाहरू चारैतिरबाट भेला हुनथाले पनि पक्कासित ठिम्याउन चाहिँ कसैले सकेन। मत्थु निश्चयनै कुनै गाउँबाट आएको हुनुपर्छ भन्ने अङ््कलबाजीले नै प्राथमिकता पाएको थियो बरू।

यो बिल्डिङ कसको हो… चिन्दिनँ म, अघिल्तिर उभिएको अग्लो बिल्डिङतिर इशारा गर्दै त्यसले भन्यो, मेरो झुप्रोमा सुत्दा मज्जा आउँछ त्यति मज्जा पनि आउँछ कि आउँदैन यो बिल्डिङभित्र सुत्नेहरूलाई… हा-हा वर्षौंदेखि एउटा विरक्तलाग्दो र एकोहोरो जीवन बाँच्दै आउने ती मानिसहरूले अब आ-आफ्नो सुविधाअऩुसारको ठाउँ चुनी मत्थुतिर केही लापरवाहीसित हेर्न लागेका थिए। त्यसबेला तल्लो कुइनेटोमा अवस्थित एलएसजी विभागले राखेको मैला फ्याँक्ने ढ्वांगबाट एउटा लुते कुकुर निस्केर मत्थुकै छेउछाउ भई जानलागेको थियो। लुतोले पिल्सिएर शरीरको कमै भागमा मात्र रौ त्यस कुकुरको अवस्था मत्थुको भन्दा कम दयनीय थिएन। मेरो छेउ भएर किन हिँड़्छस्, एई… ला। भन्दै मत्थुले अचानक नै त्यस लुते कुकुरको भुँड़ीमा मुंग्रे लात कस्यो। खान नपाएर त्यसै त अधमरो भइसकेको कुकुर, अचानक यस्तो अप्रत्यासित आक्रमण खप्न नसकी काँयु-काँयु गर्दै डाँड़ै काटेर भाग्यो। लात कस्दा बंल परेर मत्थुको शरीरको सन्तुलन पनि बिग्रिएछ क्यार… सड़कमा झण्डै पछारियो। तर सम्हालिँदै त्यो बोलिहाल्यो पनि, आफूभन्दा कम्जोरलाई हेप्ने बानी यो हाम्रै समाजको बानी हो। ईः त्यसैले मैले पनि त्यो लुते कुकुरलाई कुटें।… तर हामी जस्तो मान्छे त यो समाजको मालिकहरूका लागि यो मैले कुटोको लुतेकुकुर जतिकै र भइदिएका छौ नि हा-हा.. मालिक र कुकुरको साइनोमा हामी मानिसहरू बाँचिरहेछौ।

त्यहीक्षण, केही परबाट जानलागेका दुइजना केटीहरूलाई देखी मत्थुको ओंठभरी एउटा रहस्यमय मुस्कान आएक सजियो कै राम्री बैनीहरू हौ…. एकातिर पनि हेरिदिने।
केटीहरूले निकै ठूल्ठूला आँखाहरू फुकाली हेरिदिएपछि फेरि मत्थुले अर्कैतिर हेर्दै टोलाउन लागेको थियो। यो क्षण मत्थुको अनुहारमा उसको आफ्नै अभाव, परिस्थिति, सफलता र वाद्यताहरू अवरोध बनी उभिएका छैनन्। उसको आस्थाको असीमतामा भूत, वर्तमान र भविष्यको प्रवर कहीं छैन।

आज त घरमा गाई र बाख्रालाई घाँस पनि काटिएन होला, सुँगुरलाई चारो पनि पकाइएन होला केटा-केटीहरूको ज्ञानै छिपिएकोछैन, तिनीहरूको आमा अन्धीमाथि पनि बिमार छ… र पनि म आज यसरी रमाउन सकें – बोल्दा-बोल्दै उ रोकिएकोमा वरिपरिकाहरूले केही काैतुहलतासित उतिर नियाले तर, एई रोक-रोक… भन्दै यसबेला आवास-कोलोनीतिरबाट आउँदै गरेको एउटा गाड़ीको ठीक अघि उभिएर दुवै हात माथि उठाइरहेको थियो मत्थुले। गाड़ी त्यसको डेढ़-दुइ फूटभन्दा टाड़ा रोकिएन होला।
चालकले झ्यालबाट शीर बाहिर निकालेर आँखा फुकाल्दै- औ, मर्नु मन लाग्य भने चाहिँ पर भीरतिर जाऊ ल… मेरो गाड़ीमुनि चाहिँ होइन-बुझ्यौ यति भनिसकेपछि मत्थु पनि उसको नजिक गयो। पछि-पछि चाहिँ लफंगा र नाम्लेहरूको ताँतीले पछ्याउन थालिसकेको थियो, मत्थुलाई।

गाड़ी कुदाएर तिमी खुशी छौ… ईः म त साह्रै खुशी पो छु त मत्थुका राता आँखाहरूले झिम्किन बिर्से झैं लाग्थ्यो तर त्यहाँ पनि हाँसोको पुट भने भरिएकै थियो।
चालकले मेरो खुशीसित तिमीलाई केको खस-खस् … पर जाऊ, गतिछाड़ा मान्छे भन्दै र मत्थुलाई छातीबाट ठेलिराख्दै पनि गाड़ी अघि बढ़ाएथ्यो। भुइँमा चित्त परेको उसको ओठबाट भने मुस्कान हराएन।

मलाई कुट, पिट… तर मखुशी हुनु छोड्छु र, बइयौ हा-हा-हा त्यो अट्टहासमा पनि सारंगीको एउटा अनाैठो तरंग थियो। फेरि अचानक नै त्यो मत्थु उठेर गीत गाउँदै नाच्न पनि थाल्यो। उसको यस्तो अनौठो नृत्यमा लफंगाहरूले चाहिँ ताल मिलाएर थपड़ी मार्नलागे। यतिञ्जेलसम्म त्यहाँ मानिसहरूको एउटा झुण्ड नै तयार भइसकेको थियो। कुन्नि कतातिरबाट घुम्दै-घुम्दै दुइजना डण्ठे पुलिसहरू पनि त्यहाँ आइपुगे। मत्थुको नाच देखेर, लफंगाहरूको थपड़ी सुनेर… तर पुलिसहरू पनि माैन उभिएका थिए। यो गानभजनको प्रक्रम यथावत चलिरह्यो तर मत्थुको शरीर र स्वरमा भने शिथिलता आएको थिएन।

भदौको खुल्ला आकाशमा घामको सत्ता थियो। क्षितिज छेउ छाउ छटाक-छिटिक उँड़िरहेका भुवाहरूले पनि घामको यो उत्तापलाई कति नै रोक्ने प्रयास गरेका थिएनन्। शहरलाई फन्को मारेर बग्ने नदीको एकनासे स्वर स्वाँ…. को व्याप्ति थियो चारैतिर। तापनि अब केही दिनहरूपछि आउनेवाला दशैंको सुनौलोपन रातमाटे भित्ताहरूतिर, साल र सैगुनका रूखहरूतिर टाँसिएर बसेको थियो। यो क्षण पृथ्वीको यो भागमा अवस्थित त्यो शहर र त्यहाँ विचरण गर्ने मानिसहरू धेरै अनौठो प्रतीत लाग्थ्यो… अझ आजको यो घटना थपिँदा त कुरै अर्को भएको छ।

पहाड़हरूको फेदमा स्थित त्यो शहर कुनै ठूलो शहर थिएन। केही सहकारी एकाई र कार्यालयहरू, आवासगृह एवं केही मसिना व्यापार-विनियमको आधारले हटाका दिनहरूमा अनि चाढ़-पर्वको छेक पारेर भने व्यस्त हुन्थ्यो त्यो शहर। पहाड़का निम्न उर्वर जमीनहरूमा येनकेन उमारिएका अन्न, फल-फूल र साग-सब्जीहरूको पनि पर्याप्ति थिएन त्यहाँ। तापनि प्रान्तका विभिन्न गाउँ र बजारहरूसित जोड़िएको थियो त्यो शहर, विशेष गरी चुनाउको समयमा त्यसको महत्व आफ्नै प्रकारको हुन्थ्यो।
मुख्यसड़कको एकछेउमा त्यो मत्थुको नाच र लफंगाहरूको थपड़ी रोकिएको छैन, अझै पनि।

के हुँदैन हँ…. याँ। फेरि एउटा अप्रत्यासित आवाजको झटारोले थपड़ीको श्रंखला टुट्छ, झुण्ड केही फाटिन्छ। तर मत्थुको नाच थपड़ीबिनै पनि जारी रहिरहन्छ। झुण्डको केही छेउमै एउटा सेतो गाड़ी रोकिएको छ र त्यसको झ्यालबाट एउटा चश्माधारी अनुहारले चियाइरहेको पनि छ। को हो यो नाच्ने चश्माधारी गाड़ीवालाको कठोर स्वर सुनेर झुण्ड पन्छिन्छ, पुलिसहरू पनि एक छेउ लाग्छन्। मत्थुको निद्रा पनि बाधित बन्छ र उ धर्खाराउँदै गाड़ीको नजिक जान्छ।

यो नाच्ने सोधेको मत्थुको स्वरमा पुलिस वा लफंगाहरूमा झैं डरको आभास तर किमार्थ पनि छैन, बिस्यौ तिम्रो जुलूसमा हिँड़ेको मिटिन मा भात पकाइदिएको… हा-हा। तर डराउनुपर्दैन तिमीले अब-मलाई केही दिनुपर्दैन। तिमीहरूले नदिँदा पनि म खुशी छु, खुशी… अब यति आफैं रमाउने र खुशी हुने छुट त छ होला नि यो देशमा छ कि छैन चश्माधारी मानिसका आँखाहरू केही परतिर उभिरहेका पुलिसहरूमाथि पुगेर रोकिन्छ र के हेरेको तिमारले समात यसलाई भन्ने आदेश जारी गर्छ उसको कटु मुखरविन्दले। पुलिसहरू मत्थुतिर बढ़्छन्।

मलाई थानामा थुन कि धुलाई देऊ… तर म रमाउनु छोड़्दिनँ। तिमीहरूले आश देखाएको त्यो कहिल्यै नपाउने खुशीभन्दा यो मेरो रमाहट कता हो कता ठूलो छ, बुझ्यौ चश्माधारीले पुलिसहरूलाई नजिकमा बोलाएर भन्यो – यसलाई थानामा लगेर तबसम्म चुट््नू जबसम्म यसले खुशी भन्ने शब्द भुल्दैन। भरै म आउँछु। त्यसपछि चश्माधारीको इशारामा सेतो गाड़ी अघि बढ़िहाल्यो। पुलिसहरू मत्थुलाई तन झ्याई पार्दै थानातिर हानिन्छन्। झुण्ड पुरै छरिएर जान्छ। कसैको हुकुमले र पुलिसको चुटाइले मेरो खुशी लुटिन्छ भनेको इस..। केही बेरसम्म टाड़ाबाट पनि मत्थुको स्वर कता-कति गुञ्जिरहन्छ। अनि शहरमा अघि जस्तै चकमन्नता व्यप्तिन्छ। फेरि मानिसहरू हिज जस्तै यो घटनालाई भूलेर आ-आफ्नो धूनमा लाग्छन्।

बेलुकीपख त्यो सेतो गाड़ी शहरको थानाअघि रोकिन्छ। पुलिसहरू सतर्क बन्छन्। थानाको कुनै अनाम कोठाको भुइँमा मत्थु लड़िरहेको हुन्छ, त्यसको मुखबाट रगत बहेको हुन्छ। अनुहार निलडामले सुनिएको छ। हा-हा, खुशी कस्तो हुन्छ अरे मत्थुको लड़िरहेको शरीरमा हल्कासित लात दिँदै चश्माधारीले प्रश्न गर्छ। उसले मत्थुको जगटे केशमा समाएर खुबै गहिरोसित अनुहारमा नियाल्छ, अचानक मत्थुको एक कुना ओठ मुस्काउँछ। चश्माधारी जुरूक्क उठेर पुलिस अधिकारीको कोठाभित्र पस्छ।
म चाहन्छु यसको अनुहारमा मुस्कानको अलिकति पनि छेस्का बाँकी नरहोस्। सास राखेर अझै चुट्नू यसलाई। अनि क्षणभरमै चश्माधारीको गोजीबाट केही ओजनदार वस्तु पुलिस अधिकारीतर्फ हस्तान्तरण भइसकेको हुन्छ।

ढुक्क हुनू होला, हजूरको निर्देशन म इमान्दारीसित पालन गर्नेछु। पुलिस-अधिकारीको त्यस्तो आश्वासन पाएपछि म भोलि आउँछु भन्दै चश्माधारी बाहिरिन्छ। राती पनि कालो चश्मा धारण गरिएको त्यो परिदृश्य केही अप्ठ्यारो किसिमको लाग्छ पुलिस अधिकारीलाई, तर रहस्य जान्न मुख फोर्नसक्तैन। कोही बेरपछि त्यस अधिकारीलाई मत्थु भएको कोठामा पस्दैगरेको देखिन्छ। सारंगीको स्वर अझ गहिरिन्छ। पहाड़को कुनै गाउँमा एउटी रोगी आईमाई खोक्दै हुन्छे, घरभरि केटा-केटी रोएका स्वर ढाकिएको हुन्छ। चकमन्नता र भतुवा कुकुरहरूका क्षीण भुकाइहरूबीच फेरि रात बितेर जान्छ। अहोरात्र चिच्याइरहन्छ नदी। सबै स्वाभाविक रूपमै हुन्छ, हिज जस्तै। बिहान पूर्वबाट घाम झुल्किएपछि स्वभाविक चहलपहल पनि शुरु हुन्छ शहरमा। अनि चश्माधारीको सेतो गाड़ी आएर थाना अघिल्तिर रोकिएको देखिन्छ। के त्यसले रमाउनु बिर्स्याै थानाको सिड़ी उक्लिँदै चश्माधारीले सतर्क पुलिस अधिकारीसित प्रश्न गर्छ।

स्वयं हेर्नुहोला हजूर। मत्थुको शरीर अझ पनि कोठाको भूइँमै लड़िरहेको हुन्छ। चश्माधारीले उसको अनुहार राम्ररी नियाल्छ – आज त्यहाँ खुशीको प्रतिछायाँ हुँदैन। त्यो देखेर चश्माधारी भित्रदेखि नै रमाउँछ। उसले पुलिस अधिकारीको ढाँड़ थप्थ्याउँछ। दुवै बाहिर आउँछन्।
अन्यथा नठान्नु भए एउटा प्रश्न राखूँ हजूर। पुलिस अधिकारीले एउटा अनुनयसित प्रश्न राख्छ – मात्नु मात्र त्यसको अपराध होभने यति ठूलो दण्ड ठिक थियो मात्नेलाई तिमीहरू के गर्छौ। केही घण्टा थुनेर मात्रै छोड़िदिन्छौ।

त्यसको अपराध मात्नुभन्दा धेरै ठूलो थियो। कसरी जसरी त्यसले खुशी हुनु जानिरहेको थियो, त्यो हाम्रो लागि खतराको संकेत थियो। तिनीहरूले यो भ्रम राख्नुपर्छ कि खुशी हामीबाट मात्रै सम्भव हुनेछ, यही भ्रम बेचेर हामी आफ्नो अस्तित्व कायम राख्छौ। यो देशमा कसैलाई पनि आफैं रमाउने अधिकार छैन, चश्माधारीले पुलिस अधिकारीको कान नजिकै मुख लगेर भन्यो, तिमी र तिमीजस्तो हरेकलाई पनि त्यो अधिकार छैन। पुलिस अधिकारी अवाक बन्छ। चश्माधारी चाहिँ एउटा कुटिल मुस्तानसहित थानाका सिँड़ीहरू ओल्र्हिँदै उसको सेतो गाड़ीसम्म पुगेको देखिन्छ। फेरि अचानक नै सारंगी बज्न छाड़्छ, वातावरणभरि बिगुलको रातो स्वर गुञ्जिन थाल्छ।

Thakur Man Lama – Shistachar [Nepali Laghu Katha]

शिष्टचार भन्ने चिज कति मिठो हुदो रहेछ भन्ने कुरा बल्ल हरिरामले बुझ्यो । उसले त्यही शिष्टचारको बिभिन्न अभ्यास भने यसरी गरेको थियो ।

प्रथम शिष्टचार अभ्यासः कामको लागि बिभिन्न सँग हार गुहार गर्योह। अरुको खुट्टा समातेर ढोग्यो पनि । शिष्टचारको यो अभ्यासमा उसले एकदिन सफलता पायो । उसले एउटा नयाँ कार्यालयमा जागिर पायो ।

दोस्रो शिष्टचार अभ्यासः कार्यालयमा भर्खर नयाँ नयाँ जागिरे भएको हुनाले कार्यालयको कर्मचारीहरुसँग राम्रो रसबस बसाउन सानो देखि ठुलासम्मलाई नमस्कारको अभिवादन चढाउँदै गयो । सबले उसको त्यो नमस्कारलाई स्वीकार गर्योा । सबैसँग हेलमेल भइसकेपछि शिष्टचारको त्यो अभ्यास अब खल्लो लाग्न थालिसकेको थियो ।

तेस्रो शिष्टचार अभ्यासः पहिलो र दोस्रो शिष्टचार अभ्यास सफल भइसकेपछि तेस्रो शिष्टचार अभ्यास गरी हेर्ने बिचार उसमा आयो । तेस्रो शिष्टचार अभ्यासमा कर्मचारीहरुको मिलेमतोमा आफुलाई कार्यालयको हाकिम बनाइदिन आग्रह गर्दै कार्यालयको कर्मचारीहरुलाई एउटा शानदार होटलमा ठुलो भोज राख्यो । आफु हाकिम भएपछि उनीहरुको स्तर बढाईदिने आश्वासान दियो उसले । आफ्नो खल्तिबाट केही रकम झिकी अरुलाई बाड्यो पनि। अरुले पनि यस काममा उसलाई सघाउने प्रदिबद्धता जाहेर गरे । केही दिनमै उ त्यो कार्यालयको हाकिम भयो जुन कार्यालयबाट उसले आफ्नो जागिरको पहिलो सिढी चढेको थियो ।

चौथो शिष्टचार अभ्यासः हाकिम भएपछि उसको शिष्टचार त्यसपछि कहाँ पुग्यो कहाँ । पहिले अरुको खुट्टा ढोगेर कैयनलाई निधारमा हात लगि नमस्कार स्वस्ति गर्ने उसको प्रबृति भनौ वा ब्यबहार त्यसपछि एकाएक परिवर्तन भयो । बरु उल्टै उ कहाँ काम माग्न आउने मानिसहरुको नमस्कार स्वस्ति लाई तुच्छ ठान्दै गमक्क पर्दै छाती फुलाउँदै आफ्नो शान शोहरत देखाउन थाल्यो । आफ्नै नजिकका नातागोतालाई पनि टाढै राख्ने कोशिश गर्योद। तर धन हुनेहरुसँग भने टिमिक्क टासुँला झै गरी ब्यबहार भने उसले यथावत राख्यो । सायद त्यो ब्यबहारमा पनि उसले शिष्टचारको नयाँ रंग खोजिरहेको थियो । कुनै स्वार्थ उसले त्यसमा लुकाइरहेको थियो । जे होस् ” शिष्ट ” को त्यो ” अचार ” भने उसलाई एकदम फापिरहेको थियो । स्वादिलो भइरहेको थियो ।

Pragya Niraula – Aamaa

प्रज्ञा निरौला – आमा
(मधुपर्क बैशाख, २०६७)

आजभन्दा केही वर्ष अगाडिको कुरा हो, एकदिन मलाई आˆनी आमासँग रमाउने तीव्र अभिलाषा जागेर आयो । आमाको काखमा घाम तापेर मीठामीठा गफ गर्न र आराम गर्न मन लागेको थियो । आमालाई यसो चियाएर हेर्न खोजेँ, आमा आफ्नै भावभङ्गमिामा रमाइरहनु भएको थियो । केही समय मैले आमाको भावलाई भङ्ग गर्न चाहिँन । केवल टाढैबाट टुलुटुलु हेरिरहेँ । आमा आफ्नै संसारमा रमाइरहनुभएको थियो । आफ्नो अनुहारको भावभङ्गमिालाई छिनछिनमा बदलिरहनु भएको थियो । कहिले दाह्रा किट्नु हुन्थ्यो, कहिले मुठी कस्नु हुन्थ्यो, कहिले कसैलाई थुकेझैँ गर्नुहुन्थ्यो, कहिले रुनुहुन्थ्यो त कहिले हाँस्नुहुन्थ्यो, कहिले कसैलाई सम्झाए जस्तो गर्नुहुन्थ्यो भने कहिले के के ।
मलाई आमालाई बोलाउने साहसै आएन र दिदी सैपाललाई खबर गर्न थालेँ । दिदी पनि अचम्म मान्दै आमालाई हेर्न थाल्नुभयो । हामी दिदीबहिनी आ-आफ्नो स्थानमा खडा भइरहृयौँ । आमाको अवस्थामा कुनै परिवर्तन आएको थिएन । बरु झन् विक्षिप्त बन्दै जानुभएको थियो । कपाल फिँजारेर उहाँ एक्लै फतफताइरहनु भएको थियो । दिदीले आमालाई हेरेर फेरि मलाई हेर्नुभयो र भन्नुभयो- यालुङकाङ्ग आमा त बौलाहिसक्नु भएछ । विचरा के भएको होला है आमालाई ? दिदीको यस्तो आवाज सुनेर आमाले झस्केर हामीतिर हेर्नुभयो । हामी दुई दिदीबहिनीलाई देखेर झन् विक्षिप्त हुँदै भन्नुभयो-मेरा सैपाल र यालुङकाङ्ग छोरी हो, तिमीहरू मलाई हेरिरहेका छौ ? तिमीहरूको मुटु त लुछेर खाएका छैनन् ? मेरो त हल्लाइसके अब खान्छन् कि के हो ? आफ्नै सन्तानले यस्तो गर्लान् भनेर के थाहा ? म त आफ्नो आँखाले सधैँ सधैँ हरियाली, शान्त र सौम्य हेर्न चाहन्थे तर आज यस्तो विचित्रको दिन हेर्न बाध्य भएकी छु । छोरीहरू हो तिमीहरू मेरो अनुहार हेर त मलाई जबर्जस्ती हँसाउन भनेर मेरा ओठ तानीतानी च्यातिसके । मेरो ओठको दुवै कुनाबाट रगतका धारा बगिसके । मेरा नातिनातीनाका छालसँगै रगतको भेल मिसिएको छ । तिनीहरू विवश छन् मेरा पीडालाई बोकेर समुद्रपार पुग्न । मेरा सन्ततिहरू कस्ता भएका छन्, ल हेर भन्दै आमाले एउटा कुनामा देखाउनुभयो । वाह Û त्यहाँ त हामीले चिनेका थुप्रै मानिस झगडा गरिरहेका रहेछन् । एकअर्कामा काटाकाट, मारामार गरिरहेका, झगडा गरिरहेका, आपसका लखेटालखेट गरिरहेका रहेछन् ।
हामीले केही बोल्न नपाउँदैमा फेरि आमाले अर्को कुनामा देखाउनुभयो । झन् त्यहाँ त लासैलास, मान्छेका टाउकैटाउका, रगतैरगत, मासुका चोक्टैचोक्टा, बीभत्स रूप रहेछ । तिनीहरूका हातहरू एकअर्कामा खप्टिएर जनतालाई एक हुन आहृवान गरिरहेकाजस्ता देखिन्थे भने टाउकाहरू एक ठाउँमा थुपि्रएर आक्रोश पोखिरहेजस्ता देखिन्थे र शरीरका मासुका टुक्राहरू थुपि्रएर पहाडको स्वरूप लिइरहेको जस्तो भान हुन्थ्यो ।
फेरि अर्को कुनामा आमाले हेर्न भन्नुभयो । त्यहाँ त छिन्नभिन्न भएका मृत शरीरलाई पीताम्बरले सजाएर लहरै राखेका रहेछन् । ती लासहरूले विश्वशान्तिको कामना गरिहेजस्ता देखिन्थे । फेरि अर्को कुनामा हेर्दा त एउटा ठूलो खाल्डोमा मरेका थुपै्र मान्छेलाई एकै ठाउँ खाँदेर सिन्की बनाएका रहेछन् । तिनीहरू आफूलाई अमर घोषित गरिरहेजस्ता देखिन्थे । त्यहीँ अर्को कुनामा छटपटाइरहेका अपाङ्ग-अशक्त, घाइतेहरू आँसु र पोखरीमा डुबिरहेका थिए मानौँ तिनीहरूको चीत्कारमा विश्वशान्ति नै गुञ्जिरहेको थियो ।
आमाले अर्को कुनामा लक्ष्य गर्नुभयो हामी दिदीबहिनी त्यता हेर्न थाल्यौँ । त्यहाँ त भव्यभव्य महल, आरामदायी सोफा, भद्रभलाद्मी व्यक्तित्वहरू सजावटका साथ हृविस्कीको चुस्की लिइरहेका देखिन्थे, मानौँ यो संसारको सारा चीत्कारलाई एकै चुस्कीमा रित्याइरहेका छन् । पार्टी र भोजभतेरमा रम्नेहरू एकातिर छन् भने अर्कातिर मर्नेहरूका नाममा समवेदना दिनेहरू टाउको निहुराएर बसिरहेका छन् । यो कस्तो विचित्र संसार हो यो । कसरी सहनु आमाको मनले । विरक्त लाग्न थालिसकेको थियो अमाले जेजे मन लाग्छ हेर भन्दै आफ्नो सारा अवस्था उदाङ्गो पारिदिनुभयो । हामी दिदीबहिनी पनि धेरै दिनदेखि आफ्नो काममा व्यस्त भएर होला सायद यो संसार नियाल्न नपाइरहेका थियौँ, आज हेर्न थाल्यौँ । मठमन्दिर, देवीदेवता, गाउँघर, सहरबजार सबै हेर्न थाल्यौँ । गाउँघरमा लुटपाट, मारकाट, अस्तव्यस्त जीवन भोगिरहेका मानव समुदायहरू, आमाको छातीमा घोप्टो परेर रोइरहेका नावालकहरू, सहरमा त्रसित त्रसित मानिसहरू, मानिसकै गर्मी धेर भइरहेको, मन्दिरका देवताहरू चुपचाप बसेर सिँगारिरहेका, तिनीहरूका पेटीमा थरीथरीका मगन्तेहरू, कोही सडकमा खाते भएर पल्टिरहेका, कोही नशासेवनमा फसिरहेका, कोही हिँडिरहेका, कोही खाँदिएर बसमा गुडिरहेका, कोही कारमा गुडिरहेका, कोही साइकल, मोटरसाइकलमा हुँइकिरहेका, कोही खान नपाएर मागिरहेका, कोही सडक दुर्घटनामा मरिरहेका, कोही पेट्रोलको लाइनमा बसिरहेका, कोही बाढीमा फसिरहेका, कोही नाङ्गा, कोही ठाँटिएका, कोही चिसोमा सुतिरहेका, कोही महलमा उँघिरहेका, कसैका घरमा अन्न कुहिरहेको, कसैका घरमा अँध्यारो मुहार र भोको पेट आदि इत्यादिका दृश्यहरू हेरिरहृयौँ ।
धन्य आमाको छाती, धन्य हृदय भन्दै फेरि आमातिर हेर्न थाल्यौँ । त्रस्त आँखाले आमाले अर्कातिर हेर्न थाल्नुभयो । हामी पनि त्यतैतिर हेर्न थाल्यौँ । त्यहाँ त आइमाई, केटाकेटीहरू, रोदन र चीत्कारसँगका करिब एउटै पीडामा डुबिरहेका १५-१६ वर्षदेखि ६०-७० वर्षसम्मका विधवाहरूको भीड रहेछ । तिनीहरूका फुटेका चुराले सानो पहाड बनेछ, पुछिएका सिन्दूरले त्यो पहाडलाई छोपेछ, राता रङ छातीमा रङ्गिएछन् । फेरिएका सेता धोतीहरू आँखाआँखामा छाइएछन्, ती कपालका काला चुल्ठाहरू आँखामा पट्ट िभएर बाँधिएछन् । त्यसैगरी मुखबाट निस्किएका रोदन र चीत्कारहरू हावामा गएर बिलाएछन्, आँखाबाट झरेका आँसुहरू नदीमा गएर मिसिएछन्, बाँकी रहेका जीवनका खुसीहरू बन्दुक र हतियारबाट खोसिएछन् भविष्यका कल्पनाहरू सबै माटोमा मिसिएछन् । विधवाका छातीमा चिरिएका डोबहरूमा टुहुरा छोराछोरी अटाइएका रहेछन् । एउटा विकृत डरलाग्दो स्वरूप मात्र कङ्काल भएर उभिइरहेका रहेछन् । हामी दुवै दिदीबहिनी पूर्व र पश्चिमबाट हेरिरहेका थियौँ । थाप्लोभरि चिसो हिउँ बोकेर पनि छातीमा दनदनी आगो बलिरहे जस्तो हुन्थ्यो । टाउको तातेर फुट्ला जस्तो हुन्थ्यो । धन्य आमा धन्य तिम्रो सहनशीलता भन्दै हामी दिदीबहिनीका आँखा जुध्न पुग्छन् ।
दिदीबहिनी भेटघाट भएर रमाइला कुराकानी गर्न त कता हो कता टाढाबाट देखादेख हुँदासम्म पनि आँखा ओभाना हुन सकेनन् । आमाको पीडा झन् थपिँदै थियो । हामी दिदीबहिनीले पूर्व र पश्चिमबाट एउटा एउटा औँला समातेर सान्त्वना दिने कोसिस गर्‍र्यौँ तर आमाले हामी दुवै दिदीबहिनीलाई अँगालो हालेर रुन थाल्नुभयो । युगौँदेखि युगौँसम्म ठडिएकोठडियै हामीले नेपाली सीमाको रक्षा गर्ने गरेको वाचा भङ्ग हुने त होइन ? आमाको त ख्याल नराख्ने सन्ततिले झन् यो देशको सीमाको के ख्याल
राख्लान् ? भन्ने पीडाले हामीलाई सताउन थाल्यो । आफ्नै सन्ततिको उपद्रवदेखि वाक्क लाग्न थाल्यो । पवित्र हिउँ बोकेर उभिएका हामीलाई आफ्नै नेपाल गनाएको भान भयो । नेपाल नेपालमा मात्र गनाएन, यो त सारा विश्वमै गनायो । सबैको छिछि र दूरदूर हुने भयो । आ-आफ्नो अहं नभाँच्नाले आज यो गति भयो नेपाल आमाको । आमा फेरि रुँदै भन्न थाल्नुभयो- छोरी हो मेरा करोडौँ सन्तति एकआपसमा यसरी झगडा गर्छन् । आफ्नै भाइले आफ्नै दाइलाई मार्छ, आफ्नै छोराले आफ्नै बाबुलाई मार्छ, आफ्नै दाजुले बहिनीलाई बलात्कार गर्छ, एउटै लाम्टो चुसेका सन्ततिहरू एकआपसमा काटाकाट गर्छन्, आˆनै काखमा रमेका छोराछोरी एकअर्कालाई बेचिदिन्छन्, एकअर्काको अपहरण गर्छन्, अनि केही गर्लान् कि भन्ने सन्ततिहरू भ्रष्टाचार गर्छन्, निमुखालाई उठ्न दिँदैनन् । कोही कालगतिले मर्न नपाउने भए यहाँ । लडेर मरेका पशुको जस्तै गरी मान्छेको मासु गनाइसकेको छ यहाँ । कुकुर पनि उचितरूपमा पन्छिन्छ तर मानव सन्तति त्यतिका पनि भएनन् । मैले यस्ता बीभत्स रूपहरू हेर्नु परिरहेको छ, छोरी हो । म मेरा आँखाका ज्वालाबाट जलेर आफैँ मरौँ र खरानी पारौँ ? तर म त्यसो गर्दिनँ, यो सब हेरिरहन्छु, सहिरहन्छु । म केवल माकुराकी आमा त भए नि अरू के भएँ र ? मेरो मूल्य नै के रहृयो र ? आफ्नै छोरीबुहारी विधवा भएको आफ्नै सन्ततिको दुर्दशा हेरिरहन्छु र मर्नु परे पनि म अन्त्यमा यिनीहरूकै हातबाट मर्छु । यदि म मरेँ भनेँ छोरीहरू हो यिनीहरूले तिमीहरूलाई पनि टोक्छन् । तिमीहरूका टाउकामा भएको पवित्र हिउँ पनि राक्षसी जिब्राले चाट्छन् र चाट्दाचाट्दै तिमीहरूलाई नै सक्छन् । नानी हो बाँकी रहेको तिमीहरूको अवशेषलाई पनि यिनीहरूले बेचिदिन्छन् । यदि कुनै असल सन्तान जन्मेर फेरि तिमी हाम्रो अस्तित्व रक्षा गरे भनेँ मात्रै नत्र दास बनेर यी सब कुरा सहनभन्दा अरू उपाय हुनेछैन । आमा आफ्नो कुरा भनिसक्न नपाउँदैमा मुर्छित बनेर विक्षिप्त अवस्थामा जानुभयो, हामी दिदीबहिनी हेरेको-हेर्‍यैँ भएका थियौँ र भविष्यको त्रासदीपूर्ण समयलाई पर्खिएर बस्न बाध्य भएका थियौँ ।
आमाको छातीमा लागेको आगो अचेल के कति शान्त भएको छ खै कुन्नि ? भेटेर भलाकुसारी गर्न पनि पाएको छैन । दिदीबहिनीले पनि नजिकबाट गफ गर्न नपाएको धेरै भइसकेको छ । नेपालआमाका सन्ततीहरू लडाइँ, झगडा गर्दागर्दै थाकेर केही बेर भयो बिसाएको तर पनि अझै कतिपय लडाइँमा लागिरहेका छन् । यस्तो विपत्ति आमाले अझै कति दिन भोग्नुपर्ने
हो ? त्यसमाथि पनि फेरि प्राकृतिक विपत्तिले नेपालआमाका सन्तानलाई सताइरहेको छ । केही मानिस शान्ति स्थापना गर्न तम्सिरहेका छन्, कतिसम्म सफल हुने हुन् ? युद्धका बेला चहर्‍याएका आत्माले कहिले शान्ति पाउने हुन् ? मृतआत्माले कहिले आफ्नो वीरतामा आनन्द लिने हुन् ? यी सब कुराले आनन्द भएका दिन फेरि हामी दिदीबहिनी एकअर्कालाई आमन्त्रण गरेर आमाका पासमा गई रमाइला कुरा गरौँला नत्रभने आमा रोएकोभन्दा अन्य कुरा सुन्न पाउने छैनौँ । यी कुरा हुन् जजसका तर्फबाट जेजे आवश्यक पर्छ त्यो सबै नेपालीले पूरा गर्ने प्रण गर्नुपर्छ नत्र आमाको रोएको आँखाभन्दा अरू हेर्न पाउने छैनौँ । आमाको धैर्य गर्ने शक्ति बढोस्, यही हामी दिदीबहिनीको शुभकामना ।

Kapil Lamichhane – Loktantrik Bus

कपिल लामिछाने- लोकतान्त्रिक वस
(Source: Madhupark, मंसिर २०६५)

किसन काका एफ.एम. सुन्दै थिए । जिल्लाका हरेक गाउँमा लोकतान्त्रिक वस चलाइने कार्यक्रम रहेको समाचार सुनेर उनी खुसीले बुरुक्क उफ्रे । उनले भेटे जतिलाई ‘खुस खबरी’ सुनाए । – ए सुन्यौ हाम्रो गाउँमा लोकतान्त्रिक बस चल्ने भयो रे !

खबर सबैतिर फैलियो । टीकाटिप्पणी पनि सुरु भयो ।

– लोकतन्त्र भनेको लोकतन्त्रै हो । लोकतन्त्रमा आमजनताको सुखदुख हेरिन्छ भनेको यही हो ।

– वस चल्ने भो’ भने त्यसभन्दा पहिले त बाटो बन्ला नि ?

– ठीक भनिस् ! बाटो बन्ने भो’ भने हामीले काम यहीँ पाइहाल्छौं । कोरिया किन जाने ? अहँ ! म त यहीँ काम गर्छु, राष्ट्रनिर्माणको काम गर्छु ।

– बाटो बन्ने भयो हैन ? म त ड्याडलाई भनेर बाइक किन्छु ।

– म त बैंंकबाट लोन लिएर माइक्रो बस किन्छु, गाउँगाउँ घुमाउँछु र पैसा कमाउँछु ।

– म ? म त बेपार गर्छु । बेपारमा कमाइ छ । काठमाडौँबाट होलसेलमा सोझै सामान यहीं ल्याइपुर्‍याउँछु । धेरै नाफा हुन्छ ।

– म क्रसर इन्डस्ट्री खोल्छु । बाटो भएपछि विकास खुल्छ । घर बन्छन् । अफिस बन्छन् । स्कुलकलेज बन्छन् । रोडा, गिट्टी सबैलाई चाहिन्छ ।….

रामाश्रेचाहिँ कल्पना गर्दै थिए कि त्यो बस समावेशी खालको हुनेछ, एकले अर्कालाई सहयोग र सम्मान गर्ने खालको हुनेछ, महिला-वृद्ध र अशक्तलाई विशेष सुविधा हुनेछ, सफासुघ्घर हुनेछ, नयाँ टलक्क टल्केको, हिमाल, पहाड, तराई झल्केको … ।

साँझपख पनि चौतारीमा थुप्रै मानिस जम्मा भएर खुसी जाहेर गर्दै थिए । नयाँ नेपालको नयाँ सरकारलाई आभार प्रकट गर्दै र धन्यवाद दिंदै थिए । ‘नयाँ नेपाल भनेको यस्तो पो’ भन्दै थिए । किसन काका एफ.एम. सुन्दै त्यहीँ सामेल हुन आइपुगे । उनले रेडियोतिर देखाउँदै भने- सरी है सरी ! लोकतान्त्रिक बस हैन बहस भन्या रैछ यो ठाँडाले । लौ सुन-सुन फेरि त्यही भन्न लाग्या छ ।’

उनले एफ.एम.को भोलम बढाए । एफ.एम. भन्दै थियो- ‘जनतामा व्यापक जागरूकता अभिवृद्धि गर्न जिल्लाका हरेक गाउँमा लोकतान्त्रिक बहस सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

Pradeep Nepal – Kathmandu Flu

प्रदीप नेपाल – काठमाडौं फ्लु

काठमाडौंबासीलाई रामरी सिध्याउन सकिन्छ भनेर चार वर्ष पहिले बर्डफ्लु पस्न खोजेको थियो । खुला ट्रकमा बसेर आएका सय थान बर्ड फ्लुहरू ढुङ्गाअड्डाबाट ओरालो लाग्दानलाग्दै हिक्हिक् गर्न थाले । कलङ्कीको जाम र बल्खु खोलाबाट उठेको दुर्गन्धको निश्वासले पचास थान फ्लुलाई ठहरै पार्‍यो भने बाँकी पचास थान फ्लु पनि लल्याकलुलुक भैदिए ।

पचासै भए पनि काठमाडौंको अस्तव्यस्ततामा राज गर्न पाइन्छ भन्ने सोचेर बर्ड फ्लु आफूले चढेको ट्रकमै बसेर पूर्वतिर लागे । विष्णुमती नदीको पुलमा ट्रकको अघिल्लो पाङ्ग्रो परेको मात्रै के थियो सबै बर्डफ्लुहरू हप्याक्हप्याक् गर्दै मर्न थाले ।

मेक्सिकोमा आतङ्कराज मच्चाएपछि स्वाइनफ्लुले पनि काठमाडौंमाथि चौतर्फी हमला गर्ने निर्णय गर्‍यो । बर्डफ्लुको मृत्युकथा सुनेका स्वाइनफ्लुहरूले आक्रमणको क्षेत्र र सङ्ख्यालाई धेरै फराकिलो पार्नुपर्ने सल्लाह गरेर पाँच सय स्वाइनफ्लु काठमाडौंमा आक्रमण गर्ने गरी सडक र आकास दुबै क्षेत्रमा छरिए ।

हवाइजहाज चढेर आएको स्वाइनफ्लुलाई पुग्नु थियो ठमेल । पश्चिमी सभ्यतामा रमाउने मानिसहरू त्यतै बस्थे । त्यसैले हवाइजहाजबाट आएको स्वाइनफ्लुले दुइतिरबाट ठमेलबासीलाई च्यापेर सिध्याउने निर्णय गर्‍यो । एउटा हूल चक्रपथको बाटो बालाजु चोकतिर लाग्यो । नयाँबजार छिरेर ठमेल पस्ने योजना बनाएको त्यो फ्लुले पशुपति मुन्तिरको पुलमा हुलुक्क छाद्यो । ठमेल आक्रमणमा खटिएका दुई सय फ्लुहरू लल्याकलुलुक हुँदै बालाजु चोकसम्म आइपुगे । सास बढेर तिनीहरू इन्तुनचिन्तु भएका थिए । चोकबाट दक्षिण लागेर विष्णुमतीको पुलमा आउन पाउँदा नपाउँदै छाद्नु र छेर्नु भएर दुई सय स्वाइनफ्लु ठहरै भए ।

काठमाडौलाई दक्षिणबाट च्यापेर सिध्याउने दाउ बोकेर आएको स्वाइनफ्लु बिचरो त अरु साथीहरू जति पनि बाँच्न भ्याएन । तीनकुनेबाट हान्निएर बानेश्वर छिमल्ने दाउमा आएका सबै फ्लुहरूले बागमतीको पुल पनि कट्न पाएनन् ।

हवाइजहाज चढेर आएका फ्लुको त यस्तो हालत भयो भने बाटाबाट आएकाहरूको हालत के भयो होला ? कालीमाटीसम्म जसोतसो आइपुगेका फ्लुहरूले टेकूमा टेक्न पनि पाएनन् ।

सबै फ्लुहरू मरेपछि नर्क जाने भैहाले । काठमाडौंलाई मृत्युको सोत्तर बनाउन पठाएका फ्लुहरू आफैँ सोत्तर भएर नर्कमा आएपछि यमराजलाई पनि रिस उठ्नु स्वाभाविक भैहाल्यो ।

“किन रित्तो हात आइस् ए फ्लु ?” यमराज जङ्गयिो ।

“काठमाडौंमा हामीलाई पनि मार्ने गन्धे फ्लु रहेछ यमराज,” सबै फ्लुहरूले थर्थराएको स्वरमा बिन्ती गरे, “खोलामाथि पुग्नेबित्तिकै हामी त छाद्नु न छेर्नु भैहाल्यौँ । काठमाडौ फ्लुलाई जित्न हामी नसक्ने रहेछौँ यमराज”

च मङ्सिर ०६६