Narayan Tiwari – Upahar Sasurako Faisala Hajurbaako

नारायण तिवारी – उपहार ससुराको फैसला हजुरबाको
(गोरखापत्र)

हाम्रो समाजमा बिहेको माग राख्ने चलन नभए पनि मागी बिहेमा केही न केही पाइहालिन्थ्यो । केही नभए पनि एकसरो लुगाफाटो र सुत्नलाई एउटा खाट र डसना सिरक कतै नजा ! तर मैले मागी कोइन ‘भागी’ बिहा गरेको थिएँ । अर्थात् ‘प्रीति’ बसेर अभिभावकको मन्जुरीबिना केटी भगाएको थिएँ । जातपात केही नमिल्ने भएर होइन धनसम्पत्ति नमिल्ने भएर । अर्थात् उनीहरू धनी थिए र म पढेलेखेको भएर पनि गरीब ।

पछि त चलिहाल्छ नि । चल्यो, आउने जाने चल्यो । पढेलेखेकै भएकाले भनौँ न ससुरालीमा मेरो पानी चल्यो र मेरो सिक्का पनि चल्यो । सासु-ससुराले माया गर्न थाले, इज्जत गर्न थाले । संयुक्त परिवारमा बसेका मेरा ससुराका अरू भाइहरू पनि थिए । अर्थात् मेरा काका ससुराहरू । उनीहरूमध्ये काइँलाले मलाई घुरेर हेर्थे । माइलाले व्यङ्ग्य वाण चलाउँथे । साहिँलाले अलि अलि माया गरेजस्तै गरे पनि मौकाका खसाएर कुरा गर्थे ।

“ज्वाइँ ! तपाईंलाई एउटा मोटरसाइकल किनिदिएको छु ।” ससुराले सुनाउनु भएको थियो ।

मनमनै खुसी भए पनि मुखले भनेका थिएँ – “मलाई किन चाहियो र ….?!”

“तपाईंलाई नचाहिए पनि मेरी छोरीलाई चाहियो नि, उसलाई राखेर कुँदाउनु होला ….” म हाँसिदिएको थिएँ ।

मोटरसाइकलको चर्चा धेरै चल्यो । भित्रभित्रै लड्डु फुटिरहेको थियो मेरो पनि र मेरी श्रीमतीको पनि । मोटरसाइकल चलाउन नजाने पनि ‘सिकिहालिन्छ नि कुन ठूलो कुरा हो’ भनेर म रमाइरहेको थिएँ ।

दसैँ आउन आँटेको थियो । ससुराले फोनमा फेरि जिस्क्याउनु भयो – “ज्वाइँ ! चलाउन सिक्नुभो के ? यसपल्ट दसैँमा मोटरसाइकल लिएर जानुहोला … !”

यस्तैमा दसैँ आयो । मुटु ढुकढुक गर्यो । जोई-पोइ मोटरसाइकलको सपना ओढ्दै लाग्यौ दसैँमा ससुराली …!

ओसरैमा देख्यौँ – नयाँ मोटरसाइकल .. । मोटरसाइकलतिर देखाएर ससुराले भन्नुभयो – “यो ज्वाइँलाई मोटरसाइकल !”

त्यतिबेला त कोही बोलेनन् तर दसैँभरि कसैले मलाई घुरेर हेरे, कसले वयङ्ग्य वाण प्रहार गरे । कसैले खसाएर कुरा गरे ।

-“ज्वाइँलाई त साइकल चाहिन्छ, साइकल ! कहाँको मोटरसाइकल …!”

-मोटरसाइकल भनेर मात्र हुन्छ, धान्न सक्नुहुन्छ ज्वाइँले यसको खर्च ?”

-“मोटरसाइकलको त मलाई आवश्यकता छ । म ज्वाइँलाई नयाँ गेयरवाला साइकल किनिदिउँला !”

यो भारी छ, ज्वाईं सक्नुहुन्न ! दुब्लो पातलो मान्छेलाई त साइकल नै ठीक हुन्छ, कहाँ मोटरसाइकल !”काका ससुराहरूको बचनले घोच्नुसम्म घोचे । ‘मैले मागेकै थिइन किन दिने भनेको ?’ स्वाभिमान माथिको प्रहारलाई मनले भित्रभित्रै प्रतिरोध गर्यो । प्रकटमा बोली फुटेन ।

आखिर संयुक्त परिवारमा काकाहरूकै पहिलो हक स्थापित भयो । हजुरबाले फैसला गरिदिनुभयो -“यो मोटरसाइकल जेठाले ज्वाइँलाई किनिदिएको भए पनि काइँलाले लैजा, काइँलालाई अफिस जान खाँचो छ ।

अनि सुन् काइँला ! तैले ज्वाइँका लागि एउटा राम्रो साइकल १० दिनभित्र किनिदिएस्…!”

मेरा आफ्ना सासु ससुराले मेरो आँखामा हेरे र शिर निहुर्‍याए । म आफू छातीमा अपमानबोधको पीडा झेल्दै थिएँ । अकिति आफैँद्वारा उत्पेरित लालस र धेरैजति भावनालाई उचालेर पछारिदिने ससुराली व्यवहारबाट मर्माहत हुँदै श्रीमतीका अनुहारमा पुलुक्क हेरेँ । ऊ आँखा रसिलो पार्दै मलाई नियालिरहेकी थिई ।