Philos Sharma Paudel – Awashadh

“त्यो पत्रमा मलाई धेरै कुरा लेख्नु थियो तर त्यो पत्र लगभग रित्तो नै रह्यो। लेख्न लाग्दा सुरुमा मेरा लालित्य काँपे, त्यसपछी शब्द काँपे, अनि हात काँपे। कसैगरी पनि लेख्न सकिन।

लेखेको भएपनी के नै लेख्थेँ हुँला र खै! आफ्नो नैराश्यता न पोख्थेँ। त्यो पढेर ऊ पनि निराश हुन्थी…

आ…! केही कुरा आफैभित्र दबाएर राख्दा ठिक हुन्छ।(केही कुरा होइन, सबै कुरा भनौँ न)। अरुको सामु व्यक्त किन गर्नुपर्यो? त्यसो हुँदा ती कुराले कमसेकम बिगार गर्छन् नि। होइन र? तँ के भन्छस्?

ती कुराले म भित्र कति बिगार गर्दैछन्, हरेक पल मलाई कुन गहिरो खाडलभित्र धकेल्दैछन् भन्ने कुरा मैले मात्र जानेको छु। अरुले जानिराखुन् भन्ने चाहन्न पनि।

सायद यो खाल्डोबाट बाहिर निस्कने उपाय छैन। म शान्त रहनुपर्ने होला तर त्यसो गर्न म सक्दिनँ। मेरो दिमाग सधैं दुखिरहन्छ। मन डराइरहन्छ। के सँग? आफू बाहिरको दुनियाँसँग। मलाई आफू भित्रको दुनियाँमा नै निहित रहन मन छ। त्यसै गरे ठिक होला जस्तो लाग्छ… तर म कसैगरी पनि खुशी हुँदिन। पहिले पहिले आफू निराश हुँदा ‘यो मुड बदलेर म खुशी हुन पर्छ’ भन्ने लाग्थ्यो, तर अचेल नैराश्यता साधारण भइसक्यो।

डायरी, बाबाले मलाई, हामीलाई छाडेर जानुभन्दा केही समय अघि देखि तँ मसँग छस्। तेरो मेरो भेट बाबाले नै गराइदिनु भएको थियो। याद छ नि है तँलाई? आजसम्म तँ मेरो साथी भएको छस्। मसँग रोएको छस्…

हेर्, आज म तसँग कुरा गर्दैछु, भोलि मपनि बाबाको बाटो लागेर गईजान सक्छु।…अबको उपाय नै त्यही हो जस्तो मलाई लाग्न थालेको छ। तँ तयार रहनुपर्छ। मैले ॠतुसँग बिदा मागेको छैन। ऊसँग यी कुरा गरेको छैन तर उसले बुझेकी छे। मलाई मद्दत गर्न खोजेकी छे, माया गरेकी छे। तर म नै ऊ सामु खुल्न सकेको छैन। तँलाई रुवाएझैँ उसलाई रुवाउन म सक्दिनँ। म गएपछी कुनैदिन ॠतुसँग तेरो भेट भयो भने, म उसलाई एकदम माया गर्छु भन्दे है।”

उसले लेखेका अन्तिम वाक्यहरुमा मेरा आँखा गडिरहे, धेरै बेरसम्म। आँखा उठाएर ॠतु तर्फ हेर्न नै सकिनँ। नजर झुकाइरहेर नै त्यो डायरी ऊतर्फ बढाएँ।

   उसका आँखाबाट अश्रुधारा छुटे। संवेदनहिन आँखाले डायरीतर्फ हेर्दै डायरीका पानाहरुमा कुँदिएका शिशिरका अक्षरमाथी उसले आफ्ना हत्केला चलाउन थाली। संबेदनहिन आँखा, सपनाले साथ छाडेका आँखा यस्तै त हुँदा हुन्।

– स्पन्दन।

Krishna Pariyar Pratibimba – Murga (Nepali Short Story)

कृष्ण परियार ” प्रतिबिम्ब ” – मुर्गा 

             दुई  बर्ष को  विदेश बसाई  पछि नरे आज नेपाल फर्केको छ।  आफ्ना गाउ आफ्नो आफ्नै परिवेश खुसि को सिमा छैन। आज त्यही गाउ को सेरोफेरो नौलो लागेको छ।  घर तल तिर ,माथि तिर हाल खबर को आदान प्रदान भैरहेको छ। एक कान दुइ कान मैदान भने जस्तो उस का साथी हरु लाइ पनि नरे आएको खबर पुगिहाल्यो। यत्तिकै मा एक साथी घर मै आइपुग्छ। “ओहो नरे कहिले आयौ  तिमि ” ,साथी ले सोध्यो। मत हिजै आएको नि , के छ तिम्रो खबर ? जवाफ मा सवाल जोड्दै नरे ले भन्यो। “लहै अब  दरो पार्टी हुनुपर्छ ” , साथीले  प्रस्ताब राख्यो।  “लौ  भोलि दिन्छु पार्टी ”नरे ले फुर्कदै  भन्यो। 

               अर्को दिन  पार्टी भयो। “आज मलाई धेरै खुसि लागेको छ,  दुइ बर्ष पछि यसरि साथी हरु संग रमाइलो गर्न पाउदा। ” नरे ले मन खोल्यो अनि केहि धन पनि खोल्यो। राति अबेर सम्म पार्टी चल्यो ।  प्लेट  रित्तिए  , बोतल रित्तिए। पार्टी सकियो।  एक महिना को छुट्टि  सकियो। “एक हप्ता जस्तो पो  भयो एक महिना पनि ” नरे ले मन मनै गुन्यो।  तर  साचिकै  एक महिना सकिएको थियो।  यसको प्रमाण उसको हात मा रहेको टिकट  र पासपोर्ट  थियो। नरे फेरी  सपनाको पोको बोकेर उड्यो परदेश। यता  गाउ मा साथीहरु माझ नरेले दिएको भब्य  पार्टी को चर्चा चल्दै थियो।  एक जना फ्याट्ट बोल्यो “नरे लाइ  क्या मुर्गा बनाइयो यार” । साथी हरु गलल हासे।  फेरी पनि कुनै मुर्गा को प्रतिक्षा मा छन् रे तिनी हरु।

Madhab Sayapatri – Taarkik Nirshkarsha

माधव ‘सयपत्री’ – कथा : तार्किक निष्कर्ष

भगतसिं दोस्रो पटक गाउँमा आयो बीस वर्षपछि ऊ पहिलो पटक गाउँ भएको थियो । त्यो चोटि भरियासहित आएको थियो । भरियाका पिठ्यूँमा जनतालाईं बाँड्ने चामल होइन, कागजका ठेली थिए । कागजका पन्नामा महफ्वपूर्ण कुरा लेखिएको थियो । साथमा दुईंचार जना अरू ठालुहरू पनि थिए ।

भगतसिं विधानसभा चुनावमा समानुपातिकको कोटामा परेको विधायक हो । उसले बीसवर्ष अघि नै गाउँ छाडेको थियो । पहिलो पुस्ताको नेताको चाकडी गर्दागर्दा ‘ग’ श्रेणीको ठेकेदारको लाइसेनस पाएको यिो । जनतालाईं थाहा थिएन – ऊ कहाँ बस्थ्यो । के व्यवसाय गथ्र्यो । ठेकदारीबाट ऊ मालामाल भइसकेको यिो । सहरमा राम्रो घर बनाइसकेको यिो । छोराछोरीलाईं सरकारी छात्रवृत्तिमा अमेरिका र अष्टे्रलियामा पढ्न पठाएको थियो ।

जनता अनविज्ञ थिए ऊ कुन पार्टीमा, कुन स्तरको काईंकर्ता वा नेता हो ।

कागजको भारी चौतारीमा बिसाएपछि भगतसिंले पोका खोल्यो । चौतारीमा दुईं दर्जन मानिस भेला भएका थिए । केही मात्र पढेलेखेका र धेरैजसो निरक्षर थिए । कागजको पोको फुकाएपछि उसले जम्मा भएका मानिसहरूलाईं एकएक पन्ना कागज दियो र भन्यो – ‘हामी सहरबाट धेरै दुःखसास्ती सहेर तपाईंहरूकै विचार लिन आएका । सबैले आ-आफ्ना पानामा राम्रो विचार दिनुस् । तपाईंंहरूका लागि यस्तो कष्ट गरी उकालो ओरालो हिँडेर आएका छौँ । यो ऐतिहासिक अवसर हो ।’

जनताले आ-आफ्नो पानाहरूमा हेरे । कागजमा यस्ता प्रश्नहरू थिए –

सङघीयताबारे तपाईंंको धारणा के छ ?

शक्ति पृथकीकरण भन्नाले के बुझ्नुहुन्छ ? हाम्रो देशका कस्तो निर्वाचन प्रणाली हुनुपर्छ ?

शासकीय अधिकार कोसँग रहनुपर्छ ? संविधानको प्रस्तावनामा के लेखिनुपछ ? …………..?

कागजका पाना हेर्दै जनता अलमल्ल परेका थिए । साठी प्रतिशतलाईं त ‘कालो अक्षर भैंसी बराबर भयो ।’ बीस प्रतिशतले कनीकुथी प्रश्नहरू मात्र पढ्न सके । बाँकी बीस प्रतिशतले प्रश्न बुझे तर उत्तर लेख्न कठीन भयो । आईं.ए. सम्मका अध्ययन गरेको कुन्दन भाइले भन्यो – ‘हैन माननीयज्यू यी प्रश्नहरू स्नातकहरूको राजनीतिशास्त्र विषयका प्रश्न हुन् कि, संविधान लेखनमा सुझाव मागेको हो ? लेख्न त परै जाओस् बुझ्न पनि सकिएन ।’

सुझावकर्ता जनता कलम टोकेर मुखामुख गर्न लागे । विधायक भगतसिंले भन्यो – ‘हामीलाईं जे गर्नु भनेर अह्राएको छ त्यै गर्दैछौँ । तपाईंंहरू पनि हामीले जे अह्राउछौँ त्यै गर्नुस् । तपाईंहरूको उचित सुभाव र रायले नै राम्रो संधिवान बन्छ । इतिहासमै कम आउने मौकाको सदुपयोग गर्नुस् । शान्ति प्रक्रियालाईं छिटो तार्किक निष्कर्षमा पुर्‍याउनुछ ।

अर्को पढेलेखाले भन्यो – ‘विधायकज्यू, उत्तर तपाईंले नै बताइदिनु पर्‍यो । तपाईंंले भने अनुसार नै लेख्छौँ हामी ।’

विधायक भगतसिं रिसायो – ‘हामीले लेखेर हुनेभए माथि नै बसेर लेखिहाल्थ्यौँ नि । यति दुःख गरेर गाउँ गाउँ, अप्ठेरो बाटो हिँडेर किन आउथ्यौं । खुरुक्क लेख्नुस् । नजाने खाली नै बुझाउनुस्’ जनता झनै अलमल्ल परे । एकछिन हल्लाखल्ला र गाँइगुँइ चल्यो । भगतसिंको नेतृत्वमा आएका अन्य विधायकहरू पनि अलमलमा परे । ती मध्ये कसैलाईं ती प्रश्नहरूको जवाफ आउँदैनथ्यो । सबै विधायक जहाँ जस्तो अवस्थामा छन् टपक्क टिपेर विधायक बनाइएको थियो । वातावरणमा अन्योल छायो । कसैले पनि प्रश्नहरूको जवाफ लेख्न सकेनन् । केहीले जे आउँछ केरकार पारेर बुझाए । धेरैले जस्ताको तस्तै बुझाए ।

भगतसिंलाईं जनतादेखि रिस उठ्यो -‘यस्ता पनि जनता ! जसलाईं यति सजिला प्रश्नको उत्तर लेख्न पनि आउँदैन । के मत सङ्कलन गर्नु ?’ कुन्दन उठेर बोल्यो -‘यी प्रश्नले जनताको भावना समेटिँदैन विधायकज्यू, तपाईंंनै लेखेर लानुस् । सरकारी पैसाको नष्ट र कागज, छपाइ, भत्ता, राज्यको कति खर्च भयो होला ।’

विधायक भगतसिं कडि्कयो – ‘तपाईंं चुप लाग्नुस् । हामी महान् अभियानमा हिँडेका । तपाईंंले त्यसो भन्न मिल्छ । छिटो तार्किक निष्कर्ष ……………’

कुन्दन बोल्यो -‘नमिले कागज तपाईंंलाईं नै भो ।’ उसले कागजको पाना विधायक अगाडि फालिदियो । सबैले त्यसै गरे । नब्बे प्रतिशत पानाहरू खाली बुझाइए ।

विधायक भगतसिं बोल्यो -‘श्रीखण्ड हो कि खुर्पाको बींड । यस्ता पटमूर्खको अगाडि के बोल्नु । उठ्नुस् अर्को ठाउँमा जनता भेला भइसके होलान् । यो ठाउँमा जीवनमा फर्केर आउनु नपरोस् ।’

एकजना वयस्कलाईं रिस उठेछ, भन्यो -‘नआए पनि हुन्छ । कहिले आउनु भएको थियो र । तपाईंं यहाँको माननीय बनेको कुरा त थाहा थिएन । तपाईंं कुन पार्टीको तर्फबाट बन्नुभएको ?’

विधायक भगतसिं झर्कियो -‘आफ्नो क्षेत्रको माननीय कुन पार्टीको भन्ने नै थाहा छैन । यस्तो ठाउँमा के मत सङ्कलन गर्नु ?’

विधायकहरू र कारिन्दा उठे । कागज कोचकाच पारी पोको पारे । भरियाले कागज बोराको खाँद्यो । उनीहरू दक्षिणतिर लागे । जनता आ-आफ्नो घरतिर फर्किए । बाटोभरि कागजका प्रश्नहरूकै चर्चा गरे जनताले ।

विधायक दोस्रो पटक गाउँ आउँदा निकै हल्लीखल्ली मच्चियो । उनीहरू संविधानको मस्यौदाको ठेली लिएर आएका थिए । तामझाम पहिल्यै कै थियो । सबैले रुकस्याक बोकेका थिए । मिनेरल वाटरका बोतलहरू रुकस्याक माथि तेस्र्याइएका थिए ।

फेरि चौतारीमा केही मानिसहरू जम्मा भएका थिए । संविधानको मस्यौदा केहीलाईं बाँडियो । विधायक भगतसिंले भन्यो – ‘हामी पुनः दुःखसास्ती सहेर गाउँमा आएका छौँ । संविधानको मस्यौदा पढ्नुस् तपाईंंहरूलाईं कस्तो लाग्यो, खाली पानामा राय दिनुस् । संशोधन गर्नुपर्ने भए यहाँ यस्तो लेख्नुपर्छ भनेर लेख्नुस् । तार्किक निष्कर्षमा …………..।’

त्यो पटक पनि कुन्दन उपस्थित थियो । उसले मस्यौदा पढ्यो । थोरै बुझ्यो । धेरै बुझेन । जात र भाषाको आधारमा प्रदेशहरू छुट्याउने आशयको मस्यौदा थियो । त्यो पनि अस्पष्ट र दोहोरो अर्थ लाग्ने खालको थियो । यसले झनै विभेद र झडप निम्त्याउँछ भन्ने कुरा उसलाईं थाहा थियो ।

उसले दरो प्रश्न तेस्र्याईं हाल्यो – ‘यो तपाईंंहरूले के गरेको ? घरघरमा झगडा र झडप निम्त्याउन खोजेको हैन ? यही क्षेत्रमा एक दर्जन भाषा बोलिन्छन् । कसको भाषा कसले बुझ्छ । यो चाहिँ सरकारी काम चलाउ र सम्पर्क भाषा हुनेछ भनेर लेख्नुपर्छ कि पर्दैन ?

अर्को बोल्यो -‘भोलि बहुमतमा रहेकोले जातले अल्पमतकालाईं कस्तो व्यवहार गर्ला ? त्यति पनि सुझबुझ नभएका पनि कसरी विधायक बनाइन्छन् ।

विधायक बोल्यो – ‘छिटो संविधान बनाउने र शान्ति प्रक्रियालाईं तार्किक निष्कर्षमा पुर्‍याउने हाम्रो दायित्व हो । हामीलाईं कसेको व्यक्तिगत पूर्वाग्रह प्रति चासो छैन ।’

कुन्दन बोल्यो -‘के तार्किक निष्कर्ष भनेको ?’ भगतसिं बोल्यो -‘तार्किक निष्कर्ष भनेको तार्किक निष्कर्ष हो ।’

ऊ स्टेरियो टाइपमा तार्किक निष्कर्ष मात्र भनिरहयो । जनता उठेर लाखापाखा लागे । भगतसिंको जमात उठेर फेरि दक्षिणतिर लाग्यो ।

-रामेछाप

(स्रोत : गोरखापत्र – शनिबार – कार्तिक २८, २०६६)

Madhab Sayapatri – Makhmali Ka Raaja Haru

माधव ‘सयपत्री’ –  मखमलीका राजाहरू

मखमलीले सोचिथी- आफ्नै स्तरको दर्शनले- ‘गाउँमा धनी, गरिब, साना-ठूला, ठालू-दमित, शासक-शोषित भएझैँ भगवान्को संसारमा पनि त्यस्तै हुन्छ होला ।’ नत्र छिटफुट गाउँतिर लगाइने पुराणमा कृष्ण-सुदामाको कथा किन आउँथ्यो ।

मखमलीको निरक्षर मस्तिष्कले सोचेथ्यो- ‘कृष्ण धनी छन् र सुदामा गरिब ।’ तर उसले त अरू पनि सुनिथी- कृष्णले एकैरातमा सुदामालाई करोडपति बनाइदिए । मखमली सुदामा पत्नी कोचेली हुन चाहन्थी तर ऊ थिई- डुहुरे पत्नी ‘मखमली’ ।

मखमलीले आफू अघोर नर्कमा परेको अनुभव गरी । उसले सुनेको किताबमा लेखेको स्वर्ग-नर्कका लीलामय प्रवचन जब सुन्दै गई ।

त्यो पुराणवाचन स्थल थियो । त्यहाँ एउटा राजा थियो-पण्डित । मन्त्री थियो-उपवाचकी । जी हजुर टक्र्याएर नस्तमस्तक मुद्रामा थियो- कर्ता अर्थात् दानप्रसाद । पुराण सुनेर फर्केको दिन बाटामा मखमलीले सोचेका कुरा हुन् यी ।

पुराण प्रवचनका अन्तिम अन्तिम दिन थिए ती । लगातार लोग्ने डुहुरे भैंसी दुहुने बित्तिकै तरैसँग काँचै दूध ढुङ्ग्रोभरि लिएर पुराण सुन्न गइरहृयो । बुढ्यौलीतिर ढल्केकी उसकी सासुको त के कुरा । भन्थी- “ल है, घरबेबार जे गर्छौ गर म त साताभरि दानप्रसाद पण्डितको आँगन मरे छाड्दिन । करेसामै भने जसो पुराण छ, बूढेसकालमा पनि सुन्न नपाए कैले सुन्नु त Û आफू लगाउन सकिने हैन । त्यत्रो सम्पत्ति चाहिन्छ । अर्काले ला भनेर दिएको पनि नखाए त सधैँ भोकै रहन के बेर । यो बेला पनि यसो धर्मकर्मका कुरा सुन्न नपाए त कैले सुन्ने मरेसी ? मरेसी त कहाँ हो कहाँ आ-आˆनो भोगअनुसार चल्नुपर्छ ।”

मानौ धर्मशास्त्र पूरै पचाएर बोलेकी थिई सासुले त्यस दिन पनि । स्वर्ग-नर्क, बन्धन-मोक्ष सबै थाहा भए झैँ वा कुनै विशेषज्ञले आˆनो विषयमा प्रवचन दिए झैँ बोली थी सासु ।

पुराण सुनेर आएपछि सासुले दिएको प्रवचन झनै ‘विशेष’ हुन्थ्यो । मखमली सुनेझैँ गरी सुन्दिनथी वा थोरै सुन्थी । डुलेर राति अबेर घर आउँथ्यो । दानप्रसादको घरमा सप्ताहभरि जुनजुन काम आइलाग्यो त्यो सबै डुहुरे नै गथ्र्यो अर्थात् उसलाई काम गर्ने आदेश थियो । तर भित्रिया काम दानप्रसादका बुहारीहरू गर्थे । बाहिरको काम जति डुहुरे जिन्दावाद । काम कस्ता भने दाउरा चिर्ने, पानीको रठ्ठापठ्ठा मिलाउने । को आए, को गए, कसले के खायो, कसले खाएन आदि ।

एकदिन मखमलीले दानप्रसादको आँगन टेक्ने नै भई । दिनभरि बस्ने भई । सासु बिहान एक सर्को घरायसी खटनपटन वा उर्दी जारी गरेर उहीँ पुगिसकेकी थिई । डुहुरे पनि आमाको पछिपछि भनेजसो कुद्यो । डुहुरेका सन्तान थिएनन् । भगवानले नै थपक्क हातमा छोरा नै राखिदिन्छन् कि भनेर पनि ऊ अहोरात्र त्यसरी भागवत् भक्तिमा लागेको थियो । बिहे गरेको आठ दश वर्षसम्म पनि सन्तान नहुनु त अचम्मै थियो नि Û

डुहुरेलाई अहिले आफूले बिताइरहेको संसारभन्दा पनि परको संसारको बढी चिन्ता थियो । मरेपछि एकातिर काँध हालेर घाट पुर्‍याउने छोपो गुथेर तेह्रदिनसम्म किरिया गरिदिने र त्यसपछि तिथिमा श्राद्ध गरिदिने एउटा सन्तान होस् भन्ने चाहन्थ्यो ऊ ।

सन्तान उत्पादनमा आवश्यक मात्रामा शुक्रकिट र डिम्ब चाहिन्छ भन्ने कुरा त्यो अनपढ डुहुरेलाई के थाहा Û त्यसैले डुहुरे सन्तान प्राप्तिको लागि लालसारत रहृयो ।

दानप्रसादको पुराणमा जाने योजना बनाई मखमलीले । बाख्रा के गर्ने ? टन्न घाँस हालिदिने । गाइगोरु के गर्ने ? फुकाएर खोलापारितिर धपाइ दिने । घर कसले कुर्ने ? ताल्चामारिदिने । वरिपरिको फलफूल कसले हेर्ने ? पाङ्ग्रेकुकुर घरपछाडि बाँधिदिने । बस यत्ति त हो । राम्रो योजना बनाई मखमलीले ।

ट्याङ्काबाट सारी झकिी । के सारी भन्नु तराईवासीले घुमाउँदै बेच्न ल्याएको । पहिले बाह्र सय मोलेको पछि दुईसयमा छाडेको । दुईचोटि धुन्दा जात हराएको, डोरा सरेको सारी । मिलाएरै लगाई मखमलीको ढङ्ग पुगेसम्म । कपाल पनि सम्याइ । थोत्रो ऐना अगाडि आफूलाई देखाइ र हाँसी मुसुक्क । उसलाई आफू राम्री लाग्यो । अझ अनुहारमा तोरीको तेल दली र मुसारी । झनै राम्री । सोची-‘यति राम्री छु म डेहुरे जस्ताकी हाताँ परे के गर्नु, कर्मै फुटेको ।’ सारा दोष भाग्यलाई थोपडी । फेरि ऐना घुमाएर हेरी । ऐनाले हैन, ऐनामा देखिएकी मखमलीको प्रतिविम्बले मखमलीलाई जिस्क्याइ । सिउँदोमा सिन्दूर भरी । ऐना थन्क्याइ र उठी । जीउ फूलको थुङ्गा झैँ हलुङ्गो भएको अनुभव गरी ।

मखमली ताल्चा मारेर निस्किइ दानप्रसादको आँगनमा पुराण सुन्न । यसो गोठतिर पसेर बाख्रालाई हेरी घाँस थपी । दाम्लो हेरी । खसीको दाम्लो चुँडिन लागेको पाई । सोची ‘यै प्यारो खसीलाई केही भइदियो भने ?’

गाइगोरु फुकाइ । छिटोछिटो लखेटी । एक्लै कराइ- “यी बस्तु पनि हिँड्न किन नमानेका भन्या । आफूलाई कति हतार छ । आज त दिनभरि पुरान सुन्छु । कस्ता मीठामीठा कुरा गर्छन् रे पण्डितले । पल्लो घरको तुलसे त भुतुक्कै भई छ । कुत्कुती लाग्ने कुरा गर्छन् रे । किताबमै लेखेको होला कि मुखले बनाएर भनेका होलान् । पाँचवर्ष पैले माइती गाउँका काजीले लगाका थी सप्ता । दुई दिन सुनेकी थिए । त्यतिखेर त त्यस्तो कुत्कुती लाग्ने कुरा त केही गरेका थिएनन् ।”

मखमली खोलामा पुगिसकिछ । “राम्ररी चरेर बेला घर आउने कि चाँडै आ’र बालीमा पस्ने हैन नि”- मखमली गाइबस्तुसित बोली । हातको सिन्को फाली र घरतिर नगै सोझै दानप्रसाद पण्डितकोमा पुगी ।

मखमलीले देखि- सासु मण्डपको भित्री भागमा एकाग्र कथा सुनिरेकी थिई, लोग्ने डुहुरे यता र उता हिँडिरहेको थियो । मखमली र डुहुरेका आँखा जुधे । डुहुरे मुर्मुरायो । सासुले अनुहार बिगारी । स्रोताको ध्यान भङ्ग हुन्छ भन्ने डरले डुहुरे बोलेन, मात्र ओठ कमायो ।

मखमलीले आँखा घुमाइ- अग्लो आसनमा पण्डित अर्थात् पण्डित राजा । अलितले अर्को लामो टुपीवाल बाहुन । अर्को तेस्रो श्रद्धालुलाई गहुत र टीकाका लागि हातैमा थाली र करुवा लिएर तयार बसेको । सुन्न बसेकाहरू चुँ सम्म नबोली पण्डित वचनतिर ध्यान दिइरहेका । मखमलीलाई बसिहाल्न पनि अप्ठेरो, उठिरहन पनि अप्ठेरो । मखमली असामञ्जस्य परी । तैपनि तुलसेकै छेउमा परालमा बसी खुसुक्क । तेस्रो बाउनले उसलाई गहत दियो र निधारमा टीका टाँसिदियो । मखमलीले भेटी चढाइन् ।

पण्डितले संस्कृत वाचन सके- मण्डपमा हरेराम हरेकृष्ण गुञ्जियो । जयगान घन्कियो । पण्डितले आˆनो बसाइँमा अलिकति यताउति गरे । अनि सुरु भयो कथा उल्था- “सुदामाको परिवार अत्यन्त गरिब थियो । तैपनि भक्ति छाडेको थिएन त्यो परिवारले । एकदिन सुदामाकी गृहिणी कोचेलीले भनिन्- “स्वामीदेव कृष्ण त तपाईंंका बालसखा मात्र हैन, मित पनि हुनुहुन्छ । उहाँ त्यस्तो उच्च पदमा हुनुहुन्छ । जानुहोस्, पुरानो साइनो जोड्न । कति दिन हामी भोकै बस्ने Û”

आˆनी श्रीमती कोचेलीको कुरा सुनेर सुदामालाई रिस पनि उठ्यो । उनले भने- “के म मैले खान पाइन भनेर हात जोड्न जानु, बरु तिमी नै जाऊ कोचेली ।”

कोचेलीको अनुनय पछाडि कनिका कोसेली लिएर सुदामा कृष्णकोमा गए । पुराना सखा र मितज्यू आएको देखेर कृष्ण भगवान् अत्यन्त खुशी हुनुभयो । कोसेलीका कुरा गर्नुभयो । सुदामा लजाए । बेलुका चौरासी व्यञ्जन तयार भएपछि सुदामा खान बसे । कोचेलीलाई सम्झे । त्यहीबेला कृष्णले कनिका कोसेली खाए । बेलुका अबेरसम्म गफिएपछि अत्यन्तै सुन्दर कोठामा सुताइदिए । बिहान भयो । कृष्णबाट केही मिलेन, बिदा भए । निरास भएर घर फर्के । उनलाई आˆनो दुःख देखाउन आएकोमा पछुतो लाग्यो । सुदामा घर पुग्दा त अचम्म, उनले आˆनो घर ठम्याउन सकेनन् । भ्रम हो कि भनेर कचेरा पुछे । हैन रहेछ । भगवान्को भक्ति र कृपाले झुप्रो त दरबारमा बदलिएछ । भगवान् कृष्णलाई धेरै नमस्कार गरे सुदामाले टाढैबाट ।” मखमली एकोहोरो पण्डितको मुखमा हेरेर ट्वाल्ल परिरही । पण्डित फेरि संस्कृत वचन वाचनमा लागे । दानप्रसाद घोप्टे आँखाले मण्डपमा हेर्न लाग्यो । शायद आउनेहरूको अनुहार हेर्न खोजेको हुनुपर्छ । डुहुरेकी आमाले डुहुरेलाई सङ्केत गरी । सङ्केतको अर्थ थियो- “तेरी स्वास्नी सप्ताह सुन्न आइछ । बस्तुभाउ कसले गर्छ । छिट्टै घर पठा ।” सङ्केत पाउने बित्तिकै मातृ आदेश तामेली गर्न डुहुरे मखमलीतिर हुट्टयिो- “राँड, घराँ बस्तुभाउ कसले गर्छ ? छिटो मुन्टी घर । कसलाई सोधेर आइस् ।” डुहुरेले हात मात्र छाडेन । तुलसेले मखमलीको पक्ष लिई- “यी दाइ पनि आफूचाहिँ रातोदिन यतै, भाउजूले पनि सुन्न हुन्छ नि ।”

डुहुरे पुरुषदम्भले सुन्नियो- “तँलाई के मतलब तुलसे । चुपो लागी बस्न । मैले तँलाई भन्या छु र Û यो राँडलाई पो घर जा भनेको ।” हल्लाखल्ला बढ्ला जस्तो ठानी मखमलीले एकवचन नबोली पुराण वाचनस्थलबाट उठी र हिँडी । डुहुरे शान्त भयो । पण्डितले संस्कृत वाचन सके । उल्था वाचन गर्न लागे । मखमलीकी सासू कथा श्रवणमा एकाग्र भई ।

दिनभरि पुराण सुन्ने इच्छाले गएकी मखमली दुईघण्टा पनि बस्न नपाई फर्की अर्थात् फर्काइ । मखमलीलाई कस्तो कस्तो अमिलो मन भएर आयो । मनमा बठ लागेर आयो । सोची, हाम्रो इच्छा अनुसार हामीले कहिले गर्न पाउँछौ । सहराँ त राजा हटाए भन्छन् । गाउँका राजा कहिले हट्लान् Û लोग्ने राजा, दानप्रसाद राजा, पण्डित राजा । झन् यहाँ त धेरै राजा । अझ ठूलो राजा त किताबमा लेखेको कृष्ण राजा ।

मखमलीलाई पापको डर लाग्यो । कृष्णप्रति आएका कुभावनाहरूलाई दबाइ र सरासरी घरतिर लागी । ‘त्यस्तै रहेछ देउताका पालामा त धनी-गरिब, ठूला-साना रहेछन् । यो त झन् कली जुग । साँच्ची म घर पुग्दा सुदामाकै जस्तो भैदिए कति राम्रो हुन्थ्यो । म हेपिनुको कारण पनि सम्पत्ति नहुनु त हो नि Û आˆना त लोग्ने पनि कस्ता कस्ता । त्यै सुदामाजस्ता माया गर्ने भए त दुःख पनि बिर्सिहालिन्थ्यो । सासू त झनै । ती पनि म जस्तै बुहारी भएर सासू भएकी हैनन् र Û’

बाटोभरि असङ्ख्य सोचाइ आए । सबै सोच्नै सकिन । मखमली सोझै गोठतिर लागी । बाख्रो दाम्लो कसिएर अनौठो आवाजले कराएको जस्तो सुने । हतारहतार टाट्नोतिर लागी । मखमलीको प्यारो खसी ‘प्याप्या’ गरी कराउँदै थियो । टाट्नामा दाम्लो धेरै फन्को बेरिएछ । मखमलीको जीउभरि पसिना आयो । खसी तेर्सो पर्‍यो । मखमलीले एकचोटी कृष्ण सम्झी र धिक्कारी । दाम्लो फुकाउँदै गई मखमली ।

-रामेछाप

(स्रोत : कथाकारको कथा सङ्ग्रह “मखमलीका राजाहरू” बाट सभार)