Philos Sharma Paudel – Awashadh

“त्यो पत्रमा मलाई धेरै कुरा लेख्नु थियो तर त्यो पत्र लगभग रित्तो नै रह्यो। लेख्न लाग्दा सुरुमा मेरा लालित्य काँपे, त्यसपछी शब्द काँपे, अनि हात काँपे। कसैगरी पनि लेख्न सकिन।

लेखेको भएपनी के नै लेख्थेँ हुँला र खै! आफ्नो नैराश्यता न पोख्थेँ। त्यो पढेर ऊ पनि निराश हुन्थी…

आ…! केही कुरा आफैभित्र दबाएर राख्दा ठिक हुन्छ।(केही कुरा होइन, सबै कुरा भनौँ न)। अरुको सामु व्यक्त किन गर्नुपर्यो? त्यसो हुँदा ती कुराले कमसेकम बिगार गर्छन् नि। होइन र? तँ के भन्छस्?

ती कुराले म भित्र कति बिगार गर्दैछन्, हरेक पल मलाई कुन गहिरो खाडलभित्र धकेल्दैछन् भन्ने कुरा मैले मात्र जानेको छु। अरुले जानिराखुन् भन्ने चाहन्न पनि।

सायद यो खाल्डोबाट बाहिर निस्कने उपाय छैन। म शान्त रहनुपर्ने होला तर त्यसो गर्न म सक्दिनँ। मेरो दिमाग सधैं दुखिरहन्छ। मन डराइरहन्छ। के सँग? आफू बाहिरको दुनियाँसँग। मलाई आफू भित्रको दुनियाँमा नै निहित रहन मन छ। त्यसै गरे ठिक होला जस्तो लाग्छ… तर म कसैगरी पनि खुशी हुँदिन। पहिले पहिले आफू निराश हुँदा ‘यो मुड बदलेर म खुशी हुन पर्छ’ भन्ने लाग्थ्यो, तर अचेल नैराश्यता साधारण भइसक्यो।

डायरी, बाबाले मलाई, हामीलाई छाडेर जानुभन्दा केही समय अघि देखि तँ मसँग छस्। तेरो मेरो भेट बाबाले नै गराइदिनु भएको थियो। याद छ नि है तँलाई? आजसम्म तँ मेरो साथी भएको छस्। मसँग रोएको छस्…

हेर्, आज म तसँग कुरा गर्दैछु, भोलि मपनि बाबाको बाटो लागेर गईजान सक्छु।…अबको उपाय नै त्यही हो जस्तो मलाई लाग्न थालेको छ। तँ तयार रहनुपर्छ। मैले ॠतुसँग बिदा मागेको छैन। ऊसँग यी कुरा गरेको छैन तर उसले बुझेकी छे। मलाई मद्दत गर्न खोजेकी छे, माया गरेकी छे। तर म नै ऊ सामु खुल्न सकेको छैन। तँलाई रुवाएझैँ उसलाई रुवाउन म सक्दिनँ। म गएपछी कुनैदिन ॠतुसँग तेरो भेट भयो भने, म उसलाई एकदम माया गर्छु भन्दे है।”

उसले लेखेका अन्तिम वाक्यहरुमा मेरा आँखा गडिरहे, धेरै बेरसम्म। आँखा उठाएर ॠतु तर्फ हेर्न नै सकिनँ। नजर झुकाइरहेर नै त्यो डायरी ऊतर्फ बढाएँ।

   उसका आँखाबाट अश्रुधारा छुटे। संवेदनहिन आँखाले डायरीतर्फ हेर्दै डायरीका पानाहरुमा कुँदिएका शिशिरका अक्षरमाथी उसले आफ्ना हत्केला चलाउन थाली। संबेदनहिन आँखा, सपनाले साथ छाडेका आँखा यस्तै त हुँदा हुन्।

– स्पन्दन।

Madhab Sayapatri – Taarkik Nirshkarsha

माधव ‘सयपत्री’ – कथा : तार्किक निष्कर्ष

भगतसिं दोस्रो पटक गाउँमा आयो बीस वर्षपछि ऊ पहिलो पटक गाउँ भएको थियो । त्यो चोटि भरियासहित आएको थियो । भरियाका पिठ्यूँमा जनतालाईं बाँड्ने चामल होइन, कागजका ठेली थिए । कागजका पन्नामा महफ्वपूर्ण कुरा लेखिएको थियो । साथमा दुईंचार जना अरू ठालुहरू पनि थिए ।

भगतसिं विधानसभा चुनावमा समानुपातिकको कोटामा परेको विधायक हो । उसले बीसवर्ष अघि नै गाउँ छाडेको थियो । पहिलो पुस्ताको नेताको चाकडी गर्दागर्दा ‘ग’ श्रेणीको ठेकेदारको लाइसेनस पाएको यिो । जनतालाईं थाहा थिएन – ऊ कहाँ बस्थ्यो । के व्यवसाय गथ्र्यो । ठेकदारीबाट ऊ मालामाल भइसकेको यिो । सहरमा राम्रो घर बनाइसकेको यिो । छोराछोरीलाईं सरकारी छात्रवृत्तिमा अमेरिका र अष्टे्रलियामा पढ्न पठाएको थियो ।

जनता अनविज्ञ थिए ऊ कुन पार्टीमा, कुन स्तरको काईंकर्ता वा नेता हो ।

कागजको भारी चौतारीमा बिसाएपछि भगतसिंले पोका खोल्यो । चौतारीमा दुईं दर्जन मानिस भेला भएका थिए । केही मात्र पढेलेखेका र धेरैजसो निरक्षर थिए । कागजको पोको फुकाएपछि उसले जम्मा भएका मानिसहरूलाईं एकएक पन्ना कागज दियो र भन्यो – ‘हामी सहरबाट धेरै दुःखसास्ती सहेर तपाईंहरूकै विचार लिन आएका । सबैले आ-आफ्ना पानामा राम्रो विचार दिनुस् । तपाईंंहरूका लागि यस्तो कष्ट गरी उकालो ओरालो हिँडेर आएका छौँ । यो ऐतिहासिक अवसर हो ।’

जनताले आ-आफ्नो पानाहरूमा हेरे । कागजमा यस्ता प्रश्नहरू थिए –

सङघीयताबारे तपाईंंको धारणा के छ ?

शक्ति पृथकीकरण भन्नाले के बुझ्नुहुन्छ ? हाम्रो देशका कस्तो निर्वाचन प्रणाली हुनुपर्छ ?

शासकीय अधिकार कोसँग रहनुपर्छ ? संविधानको प्रस्तावनामा के लेखिनुपछ ? …………..?

कागजका पाना हेर्दै जनता अलमल्ल परेका थिए । साठी प्रतिशतलाईं त ‘कालो अक्षर भैंसी बराबर भयो ।’ बीस प्रतिशतले कनीकुथी प्रश्नहरू मात्र पढ्न सके । बाँकी बीस प्रतिशतले प्रश्न बुझे तर उत्तर लेख्न कठीन भयो । आईं.ए. सम्मका अध्ययन गरेको कुन्दन भाइले भन्यो – ‘हैन माननीयज्यू यी प्रश्नहरू स्नातकहरूको राजनीतिशास्त्र विषयका प्रश्न हुन् कि, संविधान लेखनमा सुझाव मागेको हो ? लेख्न त परै जाओस् बुझ्न पनि सकिएन ।’

सुझावकर्ता जनता कलम टोकेर मुखामुख गर्न लागे । विधायक भगतसिंले भन्यो – ‘हामीलाईं जे गर्नु भनेर अह्राएको छ त्यै गर्दैछौँ । तपाईंंहरू पनि हामीले जे अह्राउछौँ त्यै गर्नुस् । तपाईंहरूको उचित सुभाव र रायले नै राम्रो संधिवान बन्छ । इतिहासमै कम आउने मौकाको सदुपयोग गर्नुस् । शान्ति प्रक्रियालाईं छिटो तार्किक निष्कर्षमा पुर्‍याउनुछ ।

अर्को पढेलेखाले भन्यो – ‘विधायकज्यू, उत्तर तपाईंले नै बताइदिनु पर्‍यो । तपाईंंले भने अनुसार नै लेख्छौँ हामी ।’

विधायक भगतसिं रिसायो – ‘हामीले लेखेर हुनेभए माथि नै बसेर लेखिहाल्थ्यौँ नि । यति दुःख गरेर गाउँ गाउँ, अप्ठेरो बाटो हिँडेर किन आउथ्यौं । खुरुक्क लेख्नुस् । नजाने खाली नै बुझाउनुस्’ जनता झनै अलमल्ल परे । एकछिन हल्लाखल्ला र गाँइगुँइ चल्यो । भगतसिंको नेतृत्वमा आएका अन्य विधायकहरू पनि अलमलमा परे । ती मध्ये कसैलाईं ती प्रश्नहरूको जवाफ आउँदैनथ्यो । सबै विधायक जहाँ जस्तो अवस्थामा छन् टपक्क टिपेर विधायक बनाइएको थियो । वातावरणमा अन्योल छायो । कसैले पनि प्रश्नहरूको जवाफ लेख्न सकेनन् । केहीले जे आउँछ केरकार पारेर बुझाए । धेरैले जस्ताको तस्तै बुझाए ।

भगतसिंलाईं जनतादेखि रिस उठ्यो -‘यस्ता पनि जनता ! जसलाईं यति सजिला प्रश्नको उत्तर लेख्न पनि आउँदैन । के मत सङ्कलन गर्नु ?’ कुन्दन उठेर बोल्यो -‘यी प्रश्नले जनताको भावना समेटिँदैन विधायकज्यू, तपाईंंनै लेखेर लानुस् । सरकारी पैसाको नष्ट र कागज, छपाइ, भत्ता, राज्यको कति खर्च भयो होला ।’

विधायक भगतसिं कडि्कयो – ‘तपाईंं चुप लाग्नुस् । हामी महान् अभियानमा हिँडेका । तपाईंंले त्यसो भन्न मिल्छ । छिटो तार्किक निष्कर्ष ……………’

कुन्दन बोल्यो -‘नमिले कागज तपाईंंलाईं नै भो ।’ उसले कागजको पाना विधायक अगाडि फालिदियो । सबैले त्यसै गरे । नब्बे प्रतिशत पानाहरू खाली बुझाइए ।

विधायक भगतसिं बोल्यो -‘श्रीखण्ड हो कि खुर्पाको बींड । यस्ता पटमूर्खको अगाडि के बोल्नु । उठ्नुस् अर्को ठाउँमा जनता भेला भइसके होलान् । यो ठाउँमा जीवनमा फर्केर आउनु नपरोस् ।’

एकजना वयस्कलाईं रिस उठेछ, भन्यो -‘नआए पनि हुन्छ । कहिले आउनु भएको थियो र । तपाईंं यहाँको माननीय बनेको कुरा त थाहा थिएन । तपाईंं कुन पार्टीको तर्फबाट बन्नुभएको ?’

विधायक भगतसिं झर्कियो -‘आफ्नो क्षेत्रको माननीय कुन पार्टीको भन्ने नै थाहा छैन । यस्तो ठाउँमा के मत सङ्कलन गर्नु ?’

विधायकहरू र कारिन्दा उठे । कागज कोचकाच पारी पोको पारे । भरियाले कागज बोराको खाँद्यो । उनीहरू दक्षिणतिर लागे । जनता आ-आफ्नो घरतिर फर्किए । बाटोभरि कागजका प्रश्नहरूकै चर्चा गरे जनताले ।

विधायक दोस्रो पटक गाउँ आउँदा निकै हल्लीखल्ली मच्चियो । उनीहरू संविधानको मस्यौदाको ठेली लिएर आएका थिए । तामझाम पहिल्यै कै थियो । सबैले रुकस्याक बोकेका थिए । मिनेरल वाटरका बोतलहरू रुकस्याक माथि तेस्र्याइएका थिए ।

फेरि चौतारीमा केही मानिसहरू जम्मा भएका थिए । संविधानको मस्यौदा केहीलाईं बाँडियो । विधायक भगतसिंले भन्यो – ‘हामी पुनः दुःखसास्ती सहेर गाउँमा आएका छौँ । संविधानको मस्यौदा पढ्नुस् तपाईंंहरूलाईं कस्तो लाग्यो, खाली पानामा राय दिनुस् । संशोधन गर्नुपर्ने भए यहाँ यस्तो लेख्नुपर्छ भनेर लेख्नुस् । तार्किक निष्कर्षमा …………..।’

त्यो पटक पनि कुन्दन उपस्थित थियो । उसले मस्यौदा पढ्यो । थोरै बुझ्यो । धेरै बुझेन । जात र भाषाको आधारमा प्रदेशहरू छुट्याउने आशयको मस्यौदा थियो । त्यो पनि अस्पष्ट र दोहोरो अर्थ लाग्ने खालको थियो । यसले झनै विभेद र झडप निम्त्याउँछ भन्ने कुरा उसलाईं थाहा थियो ।

उसले दरो प्रश्न तेस्र्याईं हाल्यो – ‘यो तपाईंंहरूले के गरेको ? घरघरमा झगडा र झडप निम्त्याउन खोजेको हैन ? यही क्षेत्रमा एक दर्जन भाषा बोलिन्छन् । कसको भाषा कसले बुझ्छ । यो चाहिँ सरकारी काम चलाउ र सम्पर्क भाषा हुनेछ भनेर लेख्नुपर्छ कि पर्दैन ?

अर्को बोल्यो -‘भोलि बहुमतमा रहेकोले जातले अल्पमतकालाईं कस्तो व्यवहार गर्ला ? त्यति पनि सुझबुझ नभएका पनि कसरी विधायक बनाइन्छन् ।

विधायक बोल्यो – ‘छिटो संविधान बनाउने र शान्ति प्रक्रियालाईं तार्किक निष्कर्षमा पुर्‍याउने हाम्रो दायित्व हो । हामीलाईं कसेको व्यक्तिगत पूर्वाग्रह प्रति चासो छैन ।’

कुन्दन बोल्यो -‘के तार्किक निष्कर्ष भनेको ?’ भगतसिं बोल्यो -‘तार्किक निष्कर्ष भनेको तार्किक निष्कर्ष हो ।’

ऊ स्टेरियो टाइपमा तार्किक निष्कर्ष मात्र भनिरहयो । जनता उठेर लाखापाखा लागे । भगतसिंको जमात उठेर फेरि दक्षिणतिर लाग्यो ।

-रामेछाप

(स्रोत : गोरखापत्र – शनिबार – कार्तिक २८, २०६६)

Badri Adhikari – Jit Haar

बद्री अधिकारी – जित-हार !
अरूमाथि शंका, उपशंका तथा आरोप–प्रत्यारोप गर्न मानिसलाई सजिलो हुन्छ तर कसैले आफूमाथि सोही प्रकृतिको विषय र अवस्थामा सोही बमोजिमको कार्य गरिरहेको कुराबाट जब ऊ परिचित हुन्छ त्यसबखत मर्माहत हुँदै आक्रोश व्यक्त गर्न थाल्दछ । यस्तो कुराको मात्रा स्वभाव हेरी हरेकमा पृथक हुन सक्छ तर हुँदैहुँदैन चाहिँ भन्न सकिन्न । यो उनको अनुमान मात्र हो । हिजोआज उनको लोग्ने बिदेशबाट आएपछि पहिलेको जस्तो छैन । उनी भनेपछि मरिहत्ते गर्ने ! उनको सामीप्यता रुचाउने मान्छे अलि पृथक भएझैँ लागिरहेको थियो । कार्यव्यस्तताले हो कि उसको चालचलन व्यवहारले त्यो कुरा पुष्टि गरिरहेको थिएन । जति नै व्यस्त हुँदा पनि उनका लागि समय निकाल्ने मान्छे आजकल व्यस्त नभए पनि व्यस्तताको नाटक गरिरहेको हुन्छ । उनी आफ्नो कमजोर पक्षलाई अतीतदेखि वर्तमानसम्म केलाउन व्यस्त हुन्छिन् । कयौँ घन्टाको झोक्राइ व्यर्थ हुन्छ । उनी आफ्नो त्रुटि पर्गेल्न सकिरहेकी थिइनन् । सात वर्षको छोरोसँग उनी ऊ विदेश जाँदा एक्लै बसेकी थिइन्, छुट्टभिन्न भएकाले गर्दा……..। मूल घर नजिकै थियो । हिजोआज प्रायः ऊ बाबुआमा, दाजुभाइसँग गफ छ भनेर गाँस टिपेपछि उतै लाग्छ । मान्छेको मन शङ्कालु हुन्छ, मूल घरका मानिसले उनको विरूद्ध केही सुनाइदिए कि ? या गाउँलेले पो केही सुनाए कि ? परिस्थितिले गर्दा एउटी तरुनी एक्लै छोराछोरीसँग बस्नु पर्दा हाम्रो जस्तो समाजमा बढी शंका–उपशंका, चियोचर्चो गर्ने चलन छ । उनी यसरी नै मनोसंवाद गर्दै घरमा एक्लै बसिरहेकी थिइन् । उसको आफूप्रतिको व्यवहारले उनीभित्र विक्षोभ उत्पन्न भइरहेको थियो । उनी मुस्कुराउँदै नजिक पर्न खोज्थिन् तर ऊ मोबाइल खेलाउँदै अर्को छेउतिर लाग्थ्यो । मानौँ ऊ कसैको नम्बर डायल गर्दै छ । एउटै घरको बसाइ एउटै ओछ्यानको सुताइ हुँदा पनि दुई बीचमा टाढापन थियो । उनीसँग ऊ टाढिनुको तात्पर्य बुझ्न सकिरहेकी थिइनन् । ऊ उनीसँग टाढिनुको अर्थ खोलिरहेको थिएन भन्ने उनीलाई भान भइरहेको थियो । ऊ आजकाल गम्भीरसँग केही सोचिरहेछ झैँ लाग्दथ्यो । यो उनको ठम्याइ मात्र थियो । अस्तिको कुरा हो जेठानीसँग भेट भएको ।
“के छ तिम्रो खबर ?”
“राम्रो छ ।” जेठानीको प्रश्नमा उनले यसरी उत्तर दिएकी थिइन् । जेठानीको मुस्कानभित्र कुटिलता लुकेझैँ लागेथ्यो । मनको पीडा उनीसँग पोख्ने विचार हुँदाहुँदै पनि त्यसो गर्न सकिनन् । उनलाई जेठानीका आँखामा कपटपूर्ण चञ्चलता झल्केझैँ लागेथ्यो । जेठानीले पहिला पनि उनलाई विवाह नगरौँ भनेकी रे ! उनको ‘ऊ’ लाई निकै सम्झाएकी रे ! उनको ‘ऊ’ ले उनलाई मन पराएपछि जेठानीको माइततिरकी केटीसँग देवरको विवाह गराउँने धोको पूरा नभएको रे ! “अब त म उनीहरूकी मान्छे भइसकेँ । के अझै जेठानी दिदी मेरो दाम्पत्य जीवन सुखमय नहोस् भन्ने चाहन्छिन् ?” मनमा यसरी खेलिरहेका कुराले झन उनी मर्माहत भइरहेकी थिइन् । आफ्नो मान्छेले अरूको कुरा सुन्न थालेपछि घरभित्र कलहको जन्म हुनु स्वभाविकै कुरा हो । सबको कुरा सुने पनि निर्णय आफ्नो दिमागले गर्नुपर्छ । पैँचो लिएर गरेका निर्णयहरू सबै ठीक हुन सक्छन् र ? त्यति अबुझ मान्छे त हैन, यसमा पनि देशप्रदेश घुमेर सुखदुःख देखेको मान्छे । चारचार वर्ष विदेश बसेर आ’को ! के विदेशमा ‘ऊ’ ले अरूको कुरा मात्र सुन्नुपर्छ भन्ने ज्ञान प्राप्त गरेर आयो त ? उनीभित्र आश्चर्यको सीमा झनझन बढिरहेको थियो । डाँको छोडेर रून मन लागिरहेको थियो । उनका हातखुट्टाहरू थरथर कापिरहेका थिए । भएभरको बल लगाएर चिच्याउन मन लागे पनि अरूले के सोच्लान् ? भन्ने त्रासले त्यसो गर्न सकिरहेकी थिइनन् । घरको बरण्डामा उभिएर अगाडिको ग्राभेल सडकलाई हेरिरहेकी थिइन् । जो शान्तसँग आफूमाथि हिँडेका सवारी साधन र यात्रीहरूको बोझ झेलिरहेको थियो, उनीझैँ ।

“नुतन, ए ! नुतन !”
“ए ! दिदी पो, नमस्कार ! –झस्कदैँ बाटातिर हेर्दै उनले भनिन् ।
“भाइ छैनन् ?”
“हुनुहुन्न त । मूलघरतिर जानुभएको छ । दिदीलाई हतार छैन भने एकछिन आउँनु न !”
“भाइले विदेशबाट राम्रो खानेकुरा ल्याएको छ कि कसो ?”
“जे छ त्यसैले सत्कार गर्छु नि !” उनले मुस्कुराउँदै भनिन् । बाटाबाट बोल्ने ती महिला माइती गाउँकी दिदीकी साथी । उनी बरन्डाबाट बैठक कोठातिर लागिन् दिदीको स्वागतका लागि । गर्मीको समय भएकाले उनले दिदी र आफूलाई फ्रिजको पानीमा सर्वत बनाइन् ।
“भाइबिदेशबाट भर्खर आएको भए पनि तिम्रो मुहारमा खुसीका रेखा नाँचेका देखिदैनन् त !”
“होइन दिदी ! त्यस्तो केही होइन ।”– झस्कँदै उनले भनिन् ।
“तिम्रो दिदी मेरो साथी भएपछि म तिम्रो दिदीसरह हुँ । के आजकाल तिमीहरूबीच खटपट चल्दै छ ? भाइलाई पनि प्रायः घरमा बसेको देख्दिनँ ।”
“…………………. ।” उनले बोलेर केही जवाफ गरिनन् । मिना दिदीको स्नेह र माया भरिएको स्वर सन्दा उनका आँखाहरू रसाएर आएका थिए । बगिरहेको आँसुलाई उनले साडीको सप्कोले पुछिन् । दिदीले जिद्धि गरेर सोधेपछि उनले ढाँट्न सकिनन् । ‘ऊ आफूसँग टाढिँदै गएको’ सबै कुरा मिना दिदीलाई सुक्सुकाउँदै ओकलिन् । मिना दिदीले उनलाई धैर्यधारण गर्ने सल्लाह दिँदै भनिन्– “तिम्रा घरपट्टिका र अरू केही मानिसले तिम्रो छोरोलाई घरमा आएर ट्युसन पढाउने रुप्सिलो राहुलसँग तिम्रो अनैतिक सम्बन्ध छ भनी चर्चा गर्दा रहेछन् । मैले पनि घाइँघुइँ त्यस्तो सुनेथेँ ।”
“दिदी यो कस्तो अचम्मको कुरो ! दिदी म त्यस्ती भए आजको रात काट्न नपाऊँ ।” यति भन्दै उनी घुँक्कघुँक्क गर्दै रून थालिन् ।
“बहिनी हिम्मत नहार ! विष नखाईकन लाग्दैन । ‘आफ्नो आङको हात्ती नदेख्ने, अर्काको आङको जुम्रा देख्ने’ मानिसहरूको कुरा पत्याउँनु हुँदैन । केही भए हामी पनि छौँ । माइती पनि छन् ।” उनलाई मानसिक र शारीरिक दुवै रूपले मिथ्या आरोपका विरूद्ध लड्नका लागि तयार रहन सल्लाह दिँदै मिना दिदी विदा मागेर त्यँहाबाट लागिन् । ऊ टाढिएको यथार्थदेखि परिचित भएपछि उनी झन् छट्पटिन लागिन् ।
काम गर्ने जाँगर उनमा मरिसकेको थियो । आफूमाथि मिथ्या शंका गर्ने ऊप्रति क्रोध उत्पन्न हुँदै थियो । शरीरका हरेक जोर्नीहरूमा असह्य पींडाबोध भइरहेको थियो । भविष्यको सुनौलो महललाई आँधीबेहरीले भत्काउन सक्ने संकेतले उनी किंकर्तव्यविमूढ हुँदै गइरहेकी थिइन् । असन्तुलित मस्तिष्क र मन भएको अवस्थामा मान्छे सही प्रकारले आफ्नो दैनिकी गर्न सक्दो रहेनछ । के बिर्सेँ ? के भुलेँ ? के हराएँ ? जस्तो लाग्दो रहेछ । उनलाई पनि त्यस्तै भइरहेको थियो । उनलाई औधि माया गर्ने दिदीको घर धरानमा थियो । दिदीसँग भेट्न नगएको पनि धेरै समय भइसकेको थियो । फोनमा यदाकदा कुरा हुन्थ्यो । ‘रूप्सिलो’ अहिले पनि छोरालाई पढाउन आइरहेको थियो । सारै हँसिलो र सहयोगी भावना भएको मान्छे । उनले उसलाई तिहारमा भाइ बनाएर भाइटिका लगाइदिएकी थिइन् । प्रत्येक तिहारमा भाइ दिदीको हातबाट टीका थापिरहेको थियो । ‘ऊ’ ले नै घरमै आएर ट्युसन पढाउन लगाएको थियो । दैनिक भेटघाट भएपछि हेमखेम बढ्नु र पारस्परिक सर–सहयोग हुनु अस्वभाविक कुरापनि होइन । मीठोमसिनो पाक्दा भाइको नाताले नदिई खाने कुरा पनि भएन । त्यही सानो कुरालाई लिएर बढाई–चढाई गरेर अर्काको घर बिगार्दा के पाइन्छ ? त्यो पनि घरतिरका आफ्ना मान्छेहरूले । खोई ! कसलाई आफ्नो भन्नु र कसलाई पराई ? छोरालाई पढाउने कुरामा ‘ऊ’ ले ‘रूप्सिलो’ लाई केही भनेको छैन । ‘रूप्सिलो’ ले आदरपूर्वक भिनाजु भन्दा हायहल्लो मात्र ‘ऊ’ ले भनेको देखिन्थ्यो । सायद, ‘रूप्सिलोले’ पनि त्यो कुरोको लख काटेको थियो क्यारे ! एकपटक ‘रूप्सिलो’ले मलाई भनेको थियो– “दिदी ! भिनाजु त पहिलाको जस्तो फरासिलो हुनुहुन्न, चिन्तित भएझैँ देखिनुहुन्छ ।”
“कामको व्यस्तताले होला । खोई मलाई त त्यस्तो लाग्दैन ।“ यसरी उनले उसको प्रश्नको उत्तर दिएकी थिइन् । अरू थोक भन्नु पनि के ? अरूहरूले चर्चा गरेका कुरा भाइलाई सुनाएर दिल दुखाउन चाहन्थिनन् उनी । यसरी नै सुखको अनुभूत नगरी दुःखका भावसागरमा पौडँदै उनका दिनहरू बितिरहेका थिए । समयको गति कसैको दुःख होस् या सुख, वास्ता नगरी आफ्नै पाराले चिप्लिरहेको थियो । समयको गतिलाई हालसम्म कसैले उछिन्न सकेका छैनन् र कहिल्यै पनि कसैले उछिन्न नसक्लान् ।
“पख ! तँलाई र तेरो नाँठोलाई प्रहरी थाना लगेर ठीक पार्छु ।” एकाबिहानै झोँकिएर ‘ऊ’ घरबाट आँधीसरह बाहिरियो । ‘ऊ’ लाई उनले घरबाट गएको हेरी मात्र रहिन् । उनको शरीर दुःखिरहेको थियो । बेलुका ‘ऊ’ ले रक्सि पिएर आएको रहेछ । ‘रूप्सिलो’ सँग लागेको भनेर निकै लछारपछार गरी उनलाई हिर्काएको थियो । त्यसबखत रूँदै भनेकी थिइन् “पापको पनि ख्याल राख ! त्यस्तो बानी मेरो भए रात काट्न नपाऊँ । तिमी कसको लहैलहैमा लागेका छौ आजकाल ?”
“तेरो कसम त दूध र भात, गर्भ पनि फ्याँकिस् भन्ने हल्ला छ । निस्किहाल मेरो घरबाट ।” लात र घुस्सी उनीमाथि बर्साउँदै झन लछारपछार गरेको थियो ‘ऊ’ ले ।
“नचाहिँदो आरोप नलाऊ ! प्रमाणविनाको कुराले मेरो मात्र बेइज्जती हुँदैन । कमसेकम इज्जतको त ख्याल राख !” उनले दस औँला जोडेर बिन्ति गरेकी थिइन् । ‘ऊ’ उनको कुरा सुन्ने पक्षमा थिएन । ‘ऊ’ मुखमा जे आयो त्यही फलाकिरहेको थियो । छोरोलाई पनि हप्कीदप्की गरिरहेको थियो । ‘ऊ’ क्रोधले थरथर कापिरहेको थियो । उनी मुख फर्काउन छाडेर कुनामा टुक्रुक्क बसेकी थिइन् । आँखाबाट बलिन्द्र आँसुका धारा बगिरहेका थिए । ‘ऊ’ फत्फताउँदै सुत्ने कोठातिर लागेको थियो । अनेकौँ कुरा खेलाउँदै उनी कुनाको कुनै बसिरहिन् । ‘के गर्नु ? के नगर्नु ? सुद्धि हराइसकेको थियो । छोरो बैठक कोठाको ओछ्यानमै निदाइसकेको थियो । कुटाइले दुःखेको शरीर र असन्तुलित भएको मनमा निन्द्रा लाग्ने कुरै भएन । घरभित्रको रडाकोले गर्दा बेलुका खाना खाने कुरै भएन । हल्लीखल्लीले गर्दा छिमेकीहरूका झ्यालढोका उघ्रेका थिए । क्षणभरमै चकमन्न भएकाले होला एक–दुईजना उनको घरसम्म आएका छिमेकीहरू पनि फर्केर गइसकेका थिए ।
प्रहरी थानाको कम्पाउन्डको एक छेउमा उनीलाई गाउँका ठूलाबडाहरू केरकार गर्दै थिए भने अर्को छेउमा ‘रुप्सिलो’ लाई । ‘रुप्सिलो’ ले त्यो कुरा स्वीकार्दै स्वीकारेन । नभएको आरोपलाई स्वीकार्ने कुरा पनि भएन, त्यसमा पनि कुमार केटो । उनको ‘ऊ’ सँग प्रमाण थिएन, भनेका भरको कुरा मात्र । उनका आँखाबाट आँसुको भेल बगिरहेको थियो । केश पाकेका बूढापाकाहरू उनको ‘ऊ’ लाई ‘प्रमाणविनाको कुरा नगर, छोराको मुख हेर, प्रमाणविहीन कुरा पानीको फोका समान हुन्छ’ भनेर सम्झाइरहेका थिए तर ‘ऊ’ सम्झने पक्षमा थिएन । ऊ त झन उनले गर्भ पनि फ्याँकेको आरोप सार्वजनिक रूपमा लगाइरहेको थियो । उनले रूँदै भनिन् “सीता पनि पटक–पटकको आरोपलाई सहन नसकेर धर्तीमाताको शरणमा गएकी थिइन् । मैले त्यस्तो गर्भ फ्याँकेको भए पिसाव परीपक्षणबाट थाहा हुन्छ । त्यसका लागि तयार छु । आरोप लगाउँदैमा म आत्महत्या गर्दिनँ । एक्लै भए पनि स्वअस्तित्वको लागि सङ्घर्ष गरिरहनेछु ।” मानिसहरू दुई खेमामा बाँडिएका देखिन्थे । “हावा नचली पात हल्लिँदैन ।” “गल्ति गर्ने मान्छे केही न केही गल्छ नि तर खोई ! दुवै जना गल्दैनन् ।” “गल्ति भए डाक्टरी जाँचका लागि किन तयार हुन्थिन् ?” जस्ता बिचार तथा दृष्टिकोण दुवै पक्षबाट आ–आफ्नो ढंगले आइरहेको थियो– “धेरै मान्छे धेरै कुरा ।” देखेको नदेखै गर्नु एक दिन भेद खुलिहाल्छ या त भागिहाल्छन् ।” “लोग्नेस्वास्नीले केही समयका लागि अलग बसेकै राम्रो । नत्र दुर्घटना हुनसक्छ ।” अदालतले मात्र नाता कायम गर्ने भएकाले उनको ‘ऊ’ लाई अदालत जाने सल्लाह प्रहरीको थियो । राजीखुसी नभएपछि प्रहरीले केही गर्न सक्ने कुरो भएन । उनलाई सम्झाउनेहरू भनिरहेका थिए– “लोग्ने हो, पछि मन फर्केला । केही समयका लागि तिमी माइतीमै बस । छोरोले पनि आमा खोज्ला, मान्छे हो मन फर्किन सक्छ ।” आखिर सबैले सम्झाउँदा तत्कालका लागि उनी माइत जान तत्पर भइन् । जुनसुकै विचार कहिल्यै शून्य हुँदो रहेनछ । विचारका पछि केही न केही सङ्का हुँदो रहेछ । उनको पक्षमा पनि मानिसहरू थिए भने ‘ऊ’ को पक्षमा पनि । केवल फरक यति मात्र थियो कि उनका पक्षमा मानिस स्वस्फूर्त लागेका थिए मसिनो स्वरमा भने ‘ऊ’ पक्षका मानिस ठूलो स्वरमा, मानौँ खाइपचनी गरिरहेका छन् । यो उनको अनुमान मात्र हो । उनको विरोधमा बोल्नेहरू उनलाई गाउँबाट धपाउन सकेकोमा हर्षित देखिँदै थिए । उनीहरू एकापसमा खुसी व्यक्त गरिरहेका देखिँदै थिए । मसिनो स्वरले बोल्ने बूढापाकाहरू उनको लोग्नेले– “दुःख निम्त्यायो, भविष्यमा दुःख पाउँछ ।” भनिरहेका थिए ।
उनी माइत बसेको पनि एक बर्ष नाँघिसकेको थियो । छोराको सम्झना आइरहन्थ्यो । “रुप्सिलो” ले पनि त्यो गाउँ छाडेर गयो भन्ने खबर सुनेकी थिइन् । भाइटीका लगाउने एउटा भाइ गुमेकामा मनको एक कुनामा चस्स काँडाले घोचेझैँ भएको थियो । पवित्र भावनाबाट उब्जेको सम्बन्ध रगतको नाता र सिन्दुरको साइनोभन्दा उपासनीय हुन्छ भन्ने कुरालाई उनको ‘ऊ’ ले बुझेन । नबुझ्नेसँग कस्को के लाग्दो रहेछ र ! उनीभित्र ‘ऊ’ को सम्झना सल्बलाउन खोजेको बेला टाउको झड्कारेर अलग्याउन खोज्थिन् । एक दशकभन्दा लामो जीवन ‘ऊ’ सँग बिताएकी थिइन् कसरी सम्झना नआउनु र ! अतीतले मानिसलाई नलगार्न सक्ने कुरो हुँदै हुँदैन । चाहे त्यो राम्रो होस् या नराम्रो । राम्रा क्षण र नराम्रा क्षणले अवस्था अनुकूल बढी र घटी सताउने गर्दा रहेछन् । ‘दुःख र सुखको सम्मिश्रण नै जीवन हो ।’ उनलाई कसैले भनेको यो कुरा यथार्थ लागिरहेको थियो । छोरोलाई हेर्ने प्रवल चाहनालाई उनी दबाइरहेकी थिइन् । स्कूलमा फोन गर्दा प्रिन्सिपलले– “तपाईंको फोन छोरोलाई नदिनु भनेको छ ।” भनेर फोन राखिदिन्थ्यो । घरमा फोन गर्ने कुरा भएन । “बाबुछोरा मुल घरमै खान्छन् केवल सुत्न मात्र घर आउँछन् भन्ने खबर सुन्दा उनलाई नरमाइलो लाग्दथ्यो । “आफूसँग एउटै ओछ्यानमा सुत्ने छोरो कसरी सुतिरहेको होला ? पेटभरि खान पाउँछ कि पाउँदैन ? भुटेको मासु भनेपछि हिरिक्क हुने……., त्यत्रो जहानमा ………. !” समय चिप्लँदै थियो आफ्नै पाराले…। जेठानी दिदीकी माइती गाउँकी केटी सौता परिछे ।
बहु विवाहमा उनले ‘ऊ’ लाई जाहेरी गरिसकेकी थिइन् । “अर्को विवाह ग¥यो रे !” भन्ने सुन्दा उनीभित्र क्रोधको ज्वाला दन्केको थियो । आफ्नो भविष्य स्वयम् निर्माण गर्नुपर्ने उनीमाथि अर्को चुनौति थपिइसकेको थियो । बूढापाकाले दिएको– ‘झीनो मन कम्लाउँने आशा’ रित्तिइसकेको थियो । थानामा उनी र ‘ऊ’ को बीचमा कुरा मिलेन । अंश दिने कुरामा ‘ऊ’ कञ्जुस्याइँ गरिरहेको थियो । थानाले उजुरी गरेपछि जिम्माजमानीमा पनि ‘ऊ’ लाई छोड्न मानेन । उनकी सौतालाई चाहिँ भोलि दाखिल गर्ने सर्तमा प्रहरी थानाबाट छाडिएको थियो । अहिले उनी ‘ऊ’ भन्दा माथि परेकी थिइन् । नयाँ दम्पत्तिलाई जेल सजायसम्म हुन सक्ने भएकाले ‘ऊ’ पक्षका मानिसहरू खुसामद गरिरहेका थिए । एक भाग अंश नपाउन्जेल उनी नमिल्ने कुरा गरिरहेकी थिइन् । एक भागमा पनि करिब पचास लाखको जेथो पर्ने सम्भावना थियो ।
आज पनि थानामा भएको कचहरीमा दुवै पक्ष आ–आफ्नो अडानमा अडिरहेका थिए । धेरै समयको वादविवाद निष्कर्ष विहीन भएका कारण दुवै पक्षले पत्याएका प्रतिनिधिमुलक तीन सदस्यीय न्यायिक मण्डली गठन गरियो । त्यस मण्डलीले गरेका निर्णय दुवै पक्षलाई मान्य हुने सर्त गरियो । उनी त्यो भीडलाई मिहिन ढङ्गले नियालिरहेकी थिइन् । उनलाई आरोप लगाउँदाको कचहरीमा रमाउनेहरू मरिच चाउरिएझैँ देखिन्थे भने अनुनयविनय गर्दै मिहिन स्वर ओकल्नेहरूको मुहारमा मुस्कान नाँचिरहेको देखिन्थ्यो । दुई भागमा बाँडिएका मानिसका मुहारमा प्रष्ट रूपले हार र जितका रेखाहरू सल्बलाइरहेका थिए । उनले आफ्नो मनमस्तिष्कलाई छाम्दै आफूले आफैंसँग प्रश्न गरिन ‘जित–हार ! मैले जितेँ भने पनि म किन रमाउन सकिरेकी छुइनँ ? उफ् ……. !” उनले दुवै हातका बूढी औँलाले दुखेको दुवै कन्चटलाई थिचिन् । उनी जमिनको एक छेउमा टुक्रुक्क बसेकी थिइन् भने उनको ‘ऊ’ सोही अवस्थामा अर्को छेउमा ।
निर्णायक मण्डलीले निर्णय सुनायो– ‘एक महिनाभित्र पीडितलाई अंश स्वरूप पच्चीस लाख नगद दिने या त घरघडेरी पास गरिदिने ।’
“दिदी ! आउनुहोस् तपाईँले जित्नुभयो ।” नजिकै उभिएको भाइको स्वर उनको कानमा गुञ्जियो ।
“भाइ ! तिमीले हा¥यौ तर धन्ना नमान ।” अर्कोतिर उनकी जेठानी दिदी उनको ‘ऊ’ सँग भनिरहेकी थिइन् । कानमा ठोकिएको त्यो कुराले उनको मन भक्कानिएर आइरहेको थियो । उनले आँखा घुमाएर चारैतिर हेरिन् ।
उनी सिंहको वेगले जुरुक्क उठेर ठूलो स्वरले चिच्याइन् “दिदी तपाईं भाइलाई स्यावासी दिनुहोस् नेपालको कानुनमा श्रीमतीको नाममा रहेको सँगोलको सम्पत्ति पोइल जाँदा स्वतः श्रीमानको नाममा कायम हुन्छ तर श्रीमानले अर्को विवाह गर्दा उसको नामको सम्पत्ति जेठी श्रीमतीको नाममा स्वतः सरिजाने ब्यवस्था छैन, त्यसैले लोग्ने मान्छेले आइमाइलाई दोहोरो शोषण गरिरहेका छन् तर त्यसको एकदिन अन्त्य हुनेछ । त्यसैले होला ऊ हारेर पनि दुःखित छैन र म जितेर पनि रमाउन सकिरहेकी छुइनँ । मेरो जस्तो घटना यहाँ उपस्थित कसैको घर परिवारमा पनि नघटोस् र दिदी तपाईंको घरमा पनि कसैद्वारा नघटाइयोस् । म भगवानसँग यही प्रार्थना गर्दछु ।” सबै उपस्थित भद्र भलाद्मी महिला, पुरुष, राजनीतिककर्मी र न्याय सेवामा खटिएका प्रहरी एक प्रकारको नमिठो मान्दै ट्वाल्ल परेर मुखामुख गर्न थाले । उनी मूर्तिझैँ नमस्कारको मुद्रामा ठिङ्ग उभिइरहेकी थिइन् । छलफलमा उपस्थित भएकी महिला सांसद सदनमा यस पटक नुतनले उठाएको कुरा कानून संसोधनका लागि उठाउने अठोट गरिरहेकी थिइन् । नूतनको हारजित केहो सांसद स्वयम् छुट्याउन सकिरहेकी थिईनन् ।

Shreejit – Living Man

श्रृजित – लिभिङ्ग म्यान

धेरै भएको रहेछ, म घरबाट कतै ननिस्किएको, आज फोनको रिमायन्डर हेर्दा पो पत्तो पाए । लेख्न पनि त्यति लेख्दिन, के मा पो ब्यस्त हुन थालेछु ? “कतै घुम्न जानुपर्यो, सायद पानामा केहि उतार्ने बिषय पो भेटिहाल्छु कि !” आफैंसित बात मार्दै तयार हुन बाथरुम पस्छु । नुहाउँदैगर्दा तल फिँजहरु गुजुमुजु परेर बसेको देख्छु, त्यस्तो के हतार यिनिहरुलाइ गन्तब्यमा पुग्न ? आफुलाइ हेर्छु, के म पनि हतारमा बाँचिरहेछु ? म खुब लेख्थेँ गन्तब्यको बारेमा, लेख्दालेख्दै आफैँलाइ बिरक्त लाग्न थालेको थियो, मेरो अन्त्यहिन गन्तब्य सोचेर । के समय त्यति सजिलै चिप्लिन्छ होला र ? हातबाट साबुन चिप्लेर तल खस्छ, म झसंग हुन्छु । “चिडियाघर घुम्न जानुपरो ।”
घर नजिकै भएपनि मेरो ध्यान कहिल्यै त्यतातिर गएन, दसदुनियाँ हेर्यो सब उस्तै लाग्छ, केहि फरक थिएन चिडियाघर भित्र–बाहिर । सोच्दै गेटैमा पुगिसकेको हुन्छु, गेटमा रोबोट बोल्छ, “स्वागत छ । टिकटको लागी दाहिनेपट्टिको मेसिनमा ए.टि.एम. स्वाईप गर्नुहोला । धन्यबाद ।” म उसको निर्देशन पालना गर्दै भित्र पस्छु, उसैले बताएको बाटो हुँदै पुग्छु जन्जिरहरुको दुनियाँमा । अब कता जाने ? म अलमल्ल पर्छु । त्यहाँको बातावरण बेग्लै छ, तर त्यो बातावरण मेरो मनभित्र चल्नेझैं लाग्छ । मनमा अनेकन कुरा खेलाउँदै गति चालिरहन्छु, बच्चैदेखी सिंबोट हेर्ने खुब रहर थियो, त्यतै पो जानुपर्ला । बाँबोट, मृबोट पनि देखिएला नि ! सिंबोट गर्जिएको टाढैबाट सुन्छु, कस्तो गहिरो आवाज । यो सिंबोट कहाँबाट ल्याएका होलान् ? एक्कासी तर्सन्छु, एउटा बाँबोटले झन्डै झोला उडाइदिएको । धन्न ! जनाबोटहरुको रमिता हेर्दै अगाडी बढ्छु, अलि पर भिँडजस्तो छ, के भएछ ?
सबैजनाको ध्यान एक अजिब बस्तुले तानेको छ, मैले पनि पहिलो चोटि देखिरहेछु त्यो चिजलाइ, “के बस्तु हो यो ?” कसैलै जवाफ फर्काए त मर्नु । त्यो बस्तु भुइँमा लडिरहेछ, अचल । कस्तो रमाइलो दृश्य, म पनि भुलिन्छु त्यो अजिब बस्तुको रमितामा ।
. . . . . . . . . . . . . . . . . . .
“म कहाँ छु ? कसरी यो ठाउँमा आईपुगेँ?” मेरो शिर भारी भएको छ, यो के हुँदैछ म अनबिज्ञ छु । मेरो अगाडी अजिब बस्तुहरुको भिड देखेर म झन् अचम्म परेको छु । किन यसरी मलाई घुर्दैछन्, म पत्तो पाउन सकिरहेको छैन । मलाई बारभित्र थुनेर राखिएको छ, म पुरा बेसहारा छु, एक्लो । ति बस्तुहरुको भिड झन्झन् बढिरहेको छ, म जोडजोडले चिच्याउँदा ति झन् अचम्म मान्दै मलाई घुर्छन् । ति बस्तुहरु कस्तो निर्जिव जस्तो, तर चलमल त गरिरहेछन् फेरी । म झन् डराईरहेको छु, मेरो मुटु फुट्लाजस्तै भएको छ । किन दया गर्दैनन् यिनिहरुले ? के यिनिहरुको मन छैन ? अर्थहिन छ सब ।
ओडारको परतिर उज्यालो देख्छु, हत्तपत्त जोड लगाएर भाग्न खोज्छु, “खल्र्याङ्ग !” खुट्टामा बाँधेको साङ्लोले जोडले थचार्छ त्यहि । उठ्ने प्रयास गर्दिन । एउटा साने बस्तु मेरो अगाडीको बोर्ड पढ्छ “लिभिङ्ग म्यान !”

Rajesh Pudasaini – Nautheko Laas

न उठेको लास

सिरिर्र चिसो वतास ले मेरो मुख मा एकैचोटी स्पर्श गर्यो । मुटु हल्लियो , हातका रौँ ठाडा भै उठे । मनमा एक किसिम को डर जस्तो चिज पैदा भयो । सुनसान मसानघाटमा अरु कुराको आभाष थोडी गर्न सक्थे म । म छु , केवल म, तर उक्त समय म, म भएर पनि म थियिन । बन्द मोबाइल, कालरात्रि , चकमन्नता , सानो हसिया जस्तो देखिने मधुर चन्द्रमा जसको प्रकाश म भएको ठाउमा आइपुगेको थियन, सायद चन्द्रमा पनि मेरो पक्ष्यमा थियन । मेरो पक्ष्यमा उ भएतापनि कालो मडारिरहेको बादलले मलाई उसको प्रकाश को आभाष गर्न नदिने सोचेको थियो सायद । मेरो चस्मामा लागेको वाफले मलाई हेर्न अझै मुश्किल बनाउदै थियो । चिसो वतासले मैले लगाएको कालो T-Shirt खुकुलो पारामा थोरै हल्लिन्थ्यो ।

एता-उता हेरे । न त मैले कसैलाई देखे न कोहि बोलेको सुने, म चिच्याउन चाहन्थे , तर स्वर अड्किन्थ्यो ; म कतै नहेरी बेतौड कुद्न चाहन्थे , तर पाइला चाहेर पनि अडिग थियो ,अब म स्वास मात्र राम्ररी फेर्न चाहन्थे , तर मेरो गला दबिएको थियो , स्वास फेर्न पनि गाह्रो हुने गरि । म साथ चाहन्थे तर साथि थियनन , म आड चाहन्थे तर परिवार नजिक थिएनन् , म अब सिर्फ बाच्न चाहन्थे , तर सम्भव म कतै बाट पनि देखिरहेको थियिन ।

बिस्तारै मेरो अगाडीतिर, स्टेजमा पर्ने जस्तै गाडा रातो प्रकाश छरियो । मेरो अगिल्लतिर सेतो कपडामा छोपियको केहि चिज थियो । म यसै त अन्जान, कसरि पुगे त्यहाँ केहि थाहा छैन , झन् अगिल्तिर त्यो दृश्य । मेरो मुटु खालि भयो , म एकोहोरो हेरिरहे, त्रसित मुद्रामा । मसानघाटमा लास हुनु ठुलो कुरो थिएन , तर त्यो समयमा मेरो अगाडी हुनु निकै नै ठुलो कुरो थियो ।

सिरिर्र बतासको झोकाले सेतो कपडा माथितिरबाट केहि उड्यो, म अटल थिए , गर्न सक्ने केहि भए मरिजानु । बिस्तारै लासको अनुहार देखे , बील्कुल अपरिचित, न कतै देखेको , न त कतै कल्पना नै गरेको आकृति । तर नचाहेरै नियाल्दा पनि स्थिर र सालिन अनुहार,सायद…बरफ जस्तो चिसो गाला, बन्द आँखा, तर केहि खोलिएको ओठ ; केहि भन्दा- भन्दै प्राण फुत्किए जस्तो ।

म एकोहोरो नियालिरहेको थिए , एक्कासी लडिरहेको सालिन लासको बन्द आँखा खुल्दा म भुत्रुक्क उफ्रिन पुगेछु , अब चिसो उ हैन , चिसो त म थिए , मन त मेरो चिसो थियो । आखिर यो सब के का लागि? मेरो होस्-हवास ठाउमा थियन, होस पनि कसरि ? अब एउटा लास जसले मलाई हर क्षण तड्पाई रहेको छ, म त्यस बाट के अपेक्षा राखु?

विस्तारै लास उठ्न खोज्यो, निकै कम्जोर मानिस जसरि । म बेहोस पनि हुन सकिन , होसमा त म थियिन नै ।

‘बाबु ! सहयोग गर्नु हुन्छ? ‘… अब लासको ध्वनि पनि म संग ठोक्किदै थियो ।

म केहि बोल्न सकिन ।

‘हुन त जिउदो छदाँ त कसैले सहयोग गरेनन, लास परेपछि सहयोग के गर्थे?’…… लास आफै उठ्दै गर्न लाग्यो , म उसको कुरा केहि बुझिरहेको थियिन । एकैछिनमा लास खडा भयो ,म उसको सामुन्ने । र मेरो आँखा उसको आँखा को सामुन्ने ।

‘म यहाँ किन छु? मेरो गल्ति के छ ? किन तड्पिरहेको छु म यहाँ? कसले ल्यायो मलाई यहाँ?’….. मेरो मेसिन-गन जस्तो प्रश्नको लहरलाई उसले एकै हातको इशाराले रोकिदियो , आफ्नो हत्केला मेरो अगाडी तेर्स्याईदियर ।

‘यो सब को उत्तर म संग छैन ।’….. डरलाग्दो आवाज ।

‘को संग छ त ? मलाई येहा लिएर आउनुको कारण नि?’ ……कम्पित स्वरमा मेरो अर्को प्रश्न ।

‘ ‘तिमीलाई कसैले लिएर आएको हैन बाबु , तिमि यहाँ आफै आएका हौ ।’

‘के रे ? सुनसान एस्तो चिहान- घारीमा म आए ? मलाई के को रहर थियो?’ ….मेरो हरेक प्रश्न उचित थियो मलाई थाहा थियो तर हरेक सवाल गर्दा म निकै डराएको थिए ।

‘सायद एउटा सत्य को आत्मसाथ गर्न? ‘

‘कस्तो सत्य ? ‘

‘सत्य यहि कि आजकल समाजमा लास पनि उठ्दैन ।’

‘मतलब? समाज अनि लास ? ह्या म केहि बुझ्दिन एस्त कुरा , मलाई घर जानु छ ।’

‘तपाइको पो घर छ , जानुहुन्छ , तर बाबु समाजमा यस्ता मानिस पनि छन् जसका आफन्ती छैनन् , घर-बार केहि छैन , मात्र छ न फाल्नु न पाल्नुको ज्यान ।’

म लासको केहि कुरा बुझिरहेको थियिन । आखिर उसको मतलब के हो? त्रसित मुद्रामा उसको कुरोले मलाई येसरी घोच्दै थियो , मलाई असह्या भैरहेको थियो ।

‘उसोभए म के सत्य खोज्न आएको त यहाँ? ‘

‘समाज परिवर्तनको नाममा यसरि बदलिएको छ कि बाबु, जिउदो हुदा छोडिदिनुस , मुर्दा पर्दा पनि कसैले वास्ता गर्दा रहेनछन । म अलि पर एकान्त ठाउमा एक्लै बस्थे बस्थे , छोरा-बुहारीले घर बाट निकालि दियेपछी म भौतारिदै हिडेको थिए । जिउदो हुदा नि बाच्न चाहने रहर पुग्दै थियो , काललाइ पुकार्थे , एकदिन काल ले मेरो सुन्यो बाबु , म खुसि भए । मैले मृत्युलाइ सजिलै अंगाले , प्राण जान लागेको थाहा हुदो रैछ बाबु , सायद भगवान को नाम जप्दै थिए , म सक्किये । ‘

‘तेस्पछि?’ … थोरै डर र आश्चर्य मिश्रित भाबमा मैले प्रश्न गरे ।

‘तेस्पछि , मेरो लास तेही लडिरह्यो , कयौं दिन सम्म, कतिले देखे र एकपल्ट पछाडी नहेरी कुदे , धेरैलाई डर लायो, थोरैलाइ घिन र केहीलाई वास्ता लागेन ।हुन त लासलाई ठेगान लगाउन चाहिने समान र प्रक्रियामा पैसा खर्च कसले गरिदिने बाबु? कसले गरिदिने? यो स्वार्थी समाजमा , तेसैले देखे पनि नदेखे झैँ गर्न नै सरल लग्यो उनीहरुलाई । आफ्नै छोरा-बुहारीले त नहेरिएको म, अपरिचितले के हेर्थे ? म नउठेको लास भै सडिरहे ।

एकदिन एक मानिसले देखे , उनको हल्ला ले मलाई हेर्न सबैतिर मानिस जम्मा भए , मानौं म विश्वको ८औ आश्चर्य हु , केहि प्रहरी आए र मलाई उठाएर लगे । ग्लानि त तब भयो , मृत्यु लाइ अंगालेर पनि मेरो खिल्ली उड्यो , जुन पहिले घर बाट निकालिदा पनि उडेको थियो । तेस्पछि बेबरिशे लास हरुको घुइचोमा राखी मलाई पनि जलाइयो र खरानी बनाइयो । ‘

म आश्चर्यचकित मुद्रामा उसका कुरा सुन्दै थिए ।

‘बाबु ! तपाई समाज को सत्य बुझ्न येहा आउनु भएको हो , यो समाज को तितो सत्य, परिवर्तन को नाममा हाम्रो समाज कहाँ पुगेको छ थाहा पाउनुभयो । ‘

मैले टाउको हल्लाए । बिस्तारै , वाफ जसरि उक्त लास विलिन भयो । मन अलि हलुङ्गो भय जस्तो लाग्यो ।

“हो ! मेरो समाज यति स्वार्थी बन्दै छ कि, कुनै दिन मलामी जान पनि मान्छे पाइने छैन , यदि पाई हालियो भने नि “कति पैसा दिन्छस” भनेर सोध्ने वाला मलामी पाइन्छन , र सत्य येही हो ।

मेरो समाजको बिग्रदो रुप आज एउटा नउठेको लासले मलाई सिकाएर गयो । समाज यति स्वार्थी छ कि जिउदो मान्छेले त यति सिकाउन नि भुलिसके ।