Kumar Simkhada – Siko

कुमार सिंखडा – सिको

“ममी? मेरो ममीलाई के भयो?” यो बालस्वर सुनिनु र उसका आँखा खोल्नु एकै साथ भयो। उसले आफूमाथिको सिलिङ् मा टाँगिएको बत्तीको चहक सहन नसकी आँखा एक पटक आँखा बन्द गरी। अनि नाक र घाँटीको बिचभागबाट बलपूर्वक सास बाहिर फालेर मलिनो आवाज निकाली – “अहँ”। कष्टपूर्वक फेरि आँखा खोली र कौतुहलपूर्वक आँखाका नानीहरु ठुला बनाएर टाउको घुमाउँदै वरपर हेरी। ऊ वरिपरि अग्ला अग्ला दिवारहरुको बिचमा फैलिएको एउटा लाम्चो परेको कोठाको कुनामा ढेपिएको शैय्यामा थिई – एक बिरामी जस्ती लाग्दथी। शैय्यासँग जोडिएको भित्ताको माथिल्लो भागमा घुमिरहेको भेन्टिलेटरको एक तमासको आवाज र बाहिर कोरिडरमा समय-समयमा मान्छेहरु गुन् गुन् बोलेको मधुर स्वरको बिचमा एउटा अपूर्व शान्ति थियो। त्यो शान्ति भङ्ग गर्दै बालिका र एउटा सेतो कोट लगाएको चालीस-पचास देखिने मानिस कुरा गर्दै थिए।

“तिम्रो ममीको होस गुमेको छ प्रीति!” त्यस मानिस भन्दै थियो, “तर मलाई पूर्ण विश्वास छ कि तिमी र म, अनि हाम्रो समाजको वातावरणले उनीलाई फेरि पनि पहिलेकै अवस्थामा पुर्याउन सक्नेछौं।”
“तर कसरी डाक्टर पान्डे?” प्रीतिले पत्यार नलागेको आवाजशैलीमा सोधी, “मेरो ममीको त दिमागमा नै असर परेको छ भनेको होइन?”
“हो छोरी हो! तर आजको यस युगमा असम्भव केही छैन। म आफैं दिमाग विशेषज्ञ हुँ र मलाई राम्ररी थाहा छ तिम्री ममीलाई के भएको छ।” डाक्टर पान्डेले अर्को पट्टि भित्तामा राखेको मनिटरतिर लेजर पोइन्टरले देखाउँदै भन्यो, “प्रतिभालाई चोट परेको यस भाग हो। र, त्यो भाग म सजिलैसँग मानवनिर्मित रसायन हालेर फेरिदिन सक्छु। तर यहीं तिम्रो ममीको अहिलेसम्मको जीवनी किताब झैं लेखिएर बसेका छन्, र मलाई अफसोच छ कि तिम्रो ममीले पहिलेका कुरा सम्झिन सक्दिनन्। तर जीवन भनेको बिगतको स्मृतिमा बाँच्ने हैन, आउँदो सुमधुर भविष्यको लागि बाँच्ने हो। र प्रीति, मलाई विश्वास छ तिमीले नयाँ नयाँ सपना देखाएर, जीवनको रहस्य बुझाएर प्रतिभालाई यस जीवनको सार्थकता बुझाउनेछौ।”

प्रीति मुक रही, उसले यी सबै बुझ्नु सम्भव थिएन। ऊ भावरहित अनुहारले मनिटरमा दृष्यांकित दिमाग एकोहोरो हेर्दै निकै बेर टोलाइरही। डाक्टर पान्डेले केही बोल्नु उचित ठानेन, ऊ आफू अगाडिको कम्प्यटरतिर हेर्दै नोटबुकमा केही मेमो लेख्न थाल्यो।
“ममी! ममी!! तपाईंले हाम्रो प्रमिस् कुनै पनि नसम्झिने? मलाई अर्को जन्मदिनमा मिक्की माउस भएको निलो टिसर्ट किनिदिने भनेको हैन? तर मैले मिक्की माउसको निलो टिसर्ट लाउन नपाउने भएँ।”
“निलो हैन नानू! रातो। तिमीलाई रातो सुहाउँछ।” पान्डेले प्रीतिको आँखाबाट बरर झरिरहेका आँसुका ठुला ठुला थोपा पुछिदिंदै भन्यो, “तिमीलाई मिक्की भएको रातो टिसर्ट किनिदिने। त्यो पनि तिम्रै ममीले किनिदिने। म तिम्रो ममीलाई तिमीसँग मिकीको टिसर्ट किन्ने भनेर गरेको प्रमिस् दिमागमा थपिदिउँला। जिन्दगीभरीको कहानी थप्न नसके पनि त्यति त गर्न सक्छु नि। मलाई धेरै दुख लागेको छ कि मेरै मोटरले तिमीहरुलाई धक्का दिएर यस्तो हुन पुग्यो। यो घटना मेरो जिन्दगीभरिको लागि पश्चातापको कुरा हुनेछ। र प्रायश्चित गर्नको लागि म जुनसुकै काम पनि गर्न तयार छु। त्यसैले प्रीति, मैले तिम्रो ममीको जीवनको ठुलो भाग त तोडें, तर जे जति बाँकी छ त्यसको सकेसम्म फाइदा लिनुपर्छ। र, तिमी र म मिलेर प्रतिभालाई नयाँ जीवन दिनुपर्छ।”
प्रीति केही नबोली डाक्टर पान्डेको हातमा टाउको पुरै अड्याई र मुस्काउने प्रयास गरी; मिक्कीको टिसर्ट लगाउन पाउने कल्पनाले उसलाई वास्तविकताबाट अलिकति भने पनि पर तानिदिएको थियो।

“प्रतिभा! तिमी उठ्यौ?” प्रतिभाले आफूहरुतिर हेरिरहेको देखेर डाक्टर पान्डे बोल्यो, “मलाई थाहा छ तिमी हामीलाई त के आफैंलाई पनि चिन्न सकिरहेकी छैनौ। तिम्रो नाम प्रतिभा हो। यी सानी नानी तिम्री छोरी ‘प्रीति’ हुन्। अनि म यस शिक्षण अस्पतालमा काम गर्छु र पढाउँछु पनि – डाक्टर पान्डे।”
प्रतिभाको होस खुलेको देखेर प्रीति दौडँदै गएर शैय्यामा चढी र उसको औंला खेलाउँदै गुनासो गर्न थाली – “ममी! तपाईंले त अब पहिलेको कुरा केही पनि सम्झन नसक्ने रे।”
प्रतिभा कुनै प्रतिकृया नजनाई ट्वाल्ल हेरिरही। डाक्टर पान्डे अगाडि उसलाई अर्थ्याउँदै गयो “प्रतिभा, तिमी आज दुर्घटनामा पर्यौ र त्यसको कारणले तिम्रो स्मरणशक्ति गुमेको छ। त्यसको लागि म दुखित छु। तर अब तिमीले आउँदा दिनहरुमा यो संसारको रीति रिवाज, नियम कानुन, रहन सहन सबै सुन्यबाट सुरु गर्नु पर्नेछ। मलाई पुरा विश्वास छ कि तिमी यस कुरामा सफल हुनेछौ। र, तिम्रो प्रथम गुरु हुनेछिन् तिम्रै छोरी। हो, प्रीतिले आजदेखि तिमीलाई कसरी खाना खाने, कसरी हिंडडुल गर्ने भनेर सिकाउने छिन् र तिमीले उसको सिको गर्नुपर्नेछ। शारीरिक रुपमा तिमीलाई केही पनि भएको छैन, त्यसैले तिमी आज नै डिस्चार्ज हुन सक्नेछौ। तिम्रो टाउकाको पछिल्लो भागमा दुईवटा धातूका लाइनहरु जोडिएका छन्। र, तिमीले ती लाईनहरु जोडेर बजारमा निस्केका सफ्ट्वेरहरु सिधै दिमागमा डाउन्लोड गर्न सक्छ्यौ र घरमै बसी ज्ञान पाउन सक्छ्यौ। तर मलाई अफसोच छ मैले चाहेर पनि तिम्रो बिगतको सम्झना फिर्ता ल्याइदिन सक्तिन।”

अस्पतालबाट हिंड्ने बेलामा पान्डेले प्रीतिको गाला थम्थम्याउँदै भन्यो “प्रीति, तिम्रा साथीहरु स्कूलमा पढ्दै खेल्दै गर्दा तिमीलाई चाहिं ठुलो मानिसको काम गर्नु परेको छ। तर त्यसको फलस्वरुप तिमीले अन्य भुराहरुभन्दा बेग्लै रमाइलो पाउनेछौ, चौबीसै घन्टा आफ्नो आमाको अगाडि बस्न पाउनु पनि सौभाग्यको कुरा हो।”
प्रीतिले स्वीकारोक्तिको भावमा मुन्टो हल्लाई।

प्रतिभाको सिकाइको गति डाक्टर पान्डेले सोचेको भन्दा छिटो भयो। त्यस दिन घर पुग्ने बित्तिकै प्रीतिले उसको टाउको पछाडिका दुई वटा धातुका पातोहरुसँग कम्प्युटरसँग जोडेर खाना बनाउने तरिकाको सफ्ट्वेर रोजी र ईन्स्टल गराई। भोलिपल्टदेखि प्रतिभाको मस्तिष्कमा घरका काम, किनमेल, मोटर चलाउने, भाषा पढ्न लेख्न सक्ने गराउने सफ्ट्वेयरहरु थपिए। प्रीति स्कूल गएको बेलामा प्रतिभा दिनभरि या त घाम तापेर बस्थी या कुनै नयाँ खाना बनाउन तल्लीन हुन्थी । अथवा नयाँ सफ्ट्वेर खोजेर आफ्नै मस्तिष्कमा ईन्स्टल गर्थी र यस सृष्टिको एक अर्को अदभुत पाटोको बारेमा ज्ञान लिन्थी। केही हप्तापछि नै प्रतिभा बाहिरी मानिससँग सम्पर्क गर्न सक्ने भई। ऊ छोरीलाई बेला बेलामा लाड-प्यार दिने, ओहर्याइँ गर्दा गाली गर्ने, अटेरी गर्दा रिसाउने गर्नसक्ने भई। किनमेलमा जाँदा फर्किंदा छिमेकीहरुसँग पनि भालाकुसारी गर्न थाली। छिमेकका महिलाहरु, जो उसका साथीहरु थिए, उसको पीडा बुझ्थे वा बुझे जस्तो गर्थे। उनीहरु प्रतिभालाई हेर्दै ऊबेला बिरानो शहरबाट नयाँ ठाउँमा नयाँ जीवनको सुरुवात गर्न आएकी मान्छे, अहिले दुखदायी दुर्घटनामा परेर कस्तो बिजोग पर्यो भनेर साहनुभूति दर्साउँथे। कोही उसको घर माइतीलाई खबर गरिदिनुपर्यो भनेर हल्ला गर्थे। कोही उसलाई मनपर्ने ठाउँहरुमा घुमाइदिने प्रस्ताव राख्थे। तर अन्त्यमा दुर्घटना अगाडिको स्मृति नभएकोले सबै मित्थ्या सम्झन्थे। र केही परेमा सहयोग गर्ने वचन दिई छुट्टिन्थे।

दुर्घटनाबाट छ महिना पुगेको दिन प्रतिभा र प्रीति पान्डेको कोठामा आए। आमाछोरीलाई ढोकामा देख्ने बित्तिकै पान्डे रोमाञ्चित हुँदै कुर्चीबाटै करायो “ओहो!!! तिमीहरु आयौ? प्रतिभा तिमी त सामान्य भइसकिछौ, तिम्रो अनुहारको चमक देखेर मैले अनुमान लगाइसकें।” प्रतिभाले मधुरो हाँसो फ्याँकी र पान्डेको अगाडिको कुर्चीमा बसी। पान्डेले प्रीतिको हात समातेर तान्यो, कपाल सुम्सुम्यायो र भन्यो “ओहो, प्रीति पनि कत्रो भइसकिछ। घरमा ममीसँग बस्न रमाइलो छ?”
प्रतिउत्तरमा प्रीतिले गाला रातो पारी, टाउको निहुर्याई र मुन्टो हल्लाई “अँ।”
“ममीले कस्तो खाना बनाउँछिन् नानु?”
“मी–ठो”
पान्डेले प्रीतिको हात छोड्दै भन्यो “ल, एकछिन तिमी पल्लो कोठामा खेल्दै गर, म तिम्रो ममीलाई चेक गर्छु है?”
प्रीति ज्ञानी हुँदै बाहिर निस्की।
“प्रतिभा! तिम्रो प्रगति देखेर मलाई धेरै खुसी लागेको छ। मैले बिकास गरेको कृतिम मस्तिष्क ट्रान्स्प्लान्ट पहिलो पटक तिमीमा परिक्षण गरिंदैछ। र तिमी छ महिना मै सामान्य जीवन यापन गर्न सक्ने भयौ। मेरो लागि योभन्दा खुसीको कुरा अर्को के हुन सक्छ?” केही बेरको सन्नाटा तोड्दै पान्डेले भन्यो।

प्रतिभा भावविभोर भई। डाक्टर पान्डेले उसलाई जीवन दिएको थियो। र त्यस एक्लो, सुन्य, अनि अज्ञानी जीवनमा बाँच्ने बाटो देखाइदिएको थियो, प्रीतिसँग चिनाइदिएको थियो। हुन त छोरीसँग कस्तो सम्बन्ध हुन्छ, मानिसलाई कसरी माया गर्न सकिन्छ आदि बारे ऊ अनभिज्ञ थिई, तर पनि अरुले छोरी भनिदिएको भरमा र प्रीतिले आफूलाई ममी भनेको भरमा उसले प्रीतिलाई छोरी स्वीकारेकी थिई। आखिर उसलाई एक अमूल्य साथी पनि त मिलेको थियो। रसाएका आँखालाई पान्डेको नजरबाट लुकाउने प्रयास गर्दै ऊ बोल्न लागी – “डाक्टर पान्डे! तपाईंप्रतिको यो ऋण कसरी तिर्न सकुँला!!”
“रिल्याक्स् रिल्याक्स्! बरु मैले तिम्रो पुरानो मस्तिष्कको भाग साँचिराखेको छु। र तिम्रो स्मरण फिर्ता गर्न सक्छु कि म प्रयास गर्छु।” प्रतिभाले आशै नगरेको कुरा पान्डेले बोल्यो र शैय्यामा सुत्न ईशारा गर्यो। प्रतिभा पनि आज्ञाकारी बिद्यार्थी झैं शैय्यामा उत्तानो परेर सुती। पान्डेले मांशपेसीजस्तो देखिने मासुको टुक्रो रहेको शिशीबाट दुईटा तार तान्यो र प्रतिभाको टाउकाको पछिल्लो भागका धातुमा जोड्यो। टेबलबाट रिमोट कन्ट्रोल हातमा लियो र कोठामा अरु कोही नभएको पक्का गरेपछि रिमोट कन्ट्रोलको स्वीच दबाउँदै मुसुक्क हाँस्यो।

प्रतिभाले आँखा खोली र उत्तेजित हुँदै एकै शासमा बोली “डाक्टर पान्डे? मलाई यहाँ कसले ल्यायो? त्यो गाडी चलाउने मान्छे को थियो? त्यस मानिसले मलाई जानी जानी गाडीले हान्यो पान्डे! मलाई थाहा छ। मैले उसको आँखामा मृत्युभाव देखेको थिएँ।”
“नआत्तेऊ प्रतिभा। तिमी ठिक छौ। यहाँ तिमीलाई कसैको डर छैन।” पान्डेले विचलित स्वरमा भन्यो।
“अनि, प्रीति खोई?”
“प्रीति ठिक छ। पल्लो कोठामा खेल्दैछिन्।”
“मलाई छिटो जान देऊ। मलाई अबेर भएको छ। प्रीतिको अर्को महिनाको जन्मदिनको लागि उपहार किनिदिनुछ।”
“प्रीतिको जन्मदिन गएको पाँच महिना भइसक्यो प्रतिभा!” पान्डेले बिचैमा कुरा काट्यो, “उसको लागि उपहार किनिसकियो। रातो मिक्की टिसर्ट।”
“उसो भए म छ महिनासम्म बेहोस थिएँ?” प्रतिभाले आफ्नै बोली विश्वास गर्न सकिन।
“त्यसो पनि हैन।” पान्डेले रिमोटको अर्को बटन दबायो र स्क्रिन अन गर्यो, “कुरा अलि जटिल छ। यो हेरेपछि आफैं बुझ्नेछौ।”
स्क्रिनको पर्दामा प्रतिभा देखिई – मस्तिष्क ट्रान्सप्लान्ट हुँदै गरेकी प्रतिभा, घरमा बसेर आफ्नै दिमागमा सफ्ट्वेर ईन्स्टल गरिरहेकी प्रतिभा, किनमेल गर्न लागेकी प्रतिभा, छोरीलाई खाना खुवाएर स्कूल पठाउन लागेकी प्रतिभा।
“नाइँ! पान्डे यो हुन सक्दैन। तिमीले कसरी यस्तो काम गर्न सक्यौ? एक मानवको जीवन लुटेर तिमीले आफ्नो मानवताको तिलाञ्जली दियौ।” स्क्रिनको आफ्नो तस्वीर हेर्न नसकी प्रतिभा चिच्याई।
“हैन प्रतिभा। मानवताको लागि नै म यो सब गर्दैछु। हेर, अहिले मानव सभ्यताको पराजय हुँदैछ। जताततै मानिस जोतिएका जोतियै छन्। जनसंख्या कम हुने क्रम जारी छ। त्यसमाथि, अहिले तीस वर्ष नाघेका पुरुषहरुमा साठी प्रतिशत अविवाहित छन्। किन? थाहा छ? अहिलेका मानिसहरु एक आपसमा भेट्ने समय नै पाउँदैनन्। त्यसमाथि पनि अधिकांश मानिसहरु पहिले आफ्नो चाहना पुरा होस् भन्ने चाहन्छन् – कुनै पनि कुरामा कसैसँग सम्झौता गर्न चाहँदैनन्। त्यसैले विवाह गर्ने चलन पनि हराउन लागिसक्यो। त्यसैले, प्रतिभा! मैले अब यस्तो प्रणालीको विकास गर्दैछु कि मस्तिष्कको स्मरणशक्ति भएको भागलाई फेरेर कुनै चाहना रहित, भावना रहित मानिसमा परिणत गर्न सकियोस् र प्रत्येक मानिसलाई सुहाउँदो जोडाहरु यही प्रयोगशालामै तयार गर्न सकियोस्। तिमी नै मेरो पहिलो प्रयोग हौ, प्रतिभा।”

प्रतिभा शब्दविहिन भई। पान्डे अगाडि भन्दै गयो “हेर प्रतिभा! अब म मेरो यो प्रणालीलाई व्यवसायिक बनाउँछु। मकहाँ लोग्ने मानिसहरु आफ्नो ईच्छा अनुसारको स्वभाव भएको महिलाको अर्डर दिन आउँनेछन्, स्वास्नी मानिसहरु आफू सुहाउँदो पुरुषको अर्डर दिन आउने छन्। अनि म क्लोन गरेका मानिसहरु, दुर्घटनामा परी मर्न लागेकाहरु र दिमागका रोगीहरुमा यो प्रणाली जडान गर्नेछु र मेरो क्लायन्टहरुको माग बमोजिमको जोडा तयार गरिदिनेछु। यसबाट मलाई पनि फाइदा त हुन्छ नै, तर मानव समाजका धेरै एक्ला मानिसहरुलाई राहत दिनसक्नेछु।”
पान्डे झन उत्तेजित भयो “तिमीले यो छ महिनामा सामान्य जीवनको बारेमा सिक्यौ र पहिलो स्टेप पास गर्यौ। दोश्रो स्टेपमा अब तिमीले पुरुषसँग प्रेम गर्न, र घर बसाउन सिक्नुपर्छ। त्यसैले भोलिदेखि तिमीकहाँ तिम्रो श्रीमानको रुपमा मेरो स्टाफलाई पठाउँदैछु। तिमीले उसले भने अनुसार उसको घरको काम हेर्न सिक्नुपर्छ, उसको चाहना अनुसार आफूलाई परिवर्तन गर्न सिक्नुपर्छ, अनि उसको सोचाइ र कामलाई सपोर्ट दिन सिक्नुपर्छ। तिमीले त्यो स्टेप पास गरेपछि म तिम्रो दिमागको स्याम्पलबाट अरु प्रतिलिपिहरु बनाउँछु र अन्य मानिसहरुमा त्यसैको आधारमा मस्तिष्क फेर्नेछु।”

प्रतिभाले यी सब विश्वास गर्न सकिन। उसलाई चिच्याउन मन लाग्यो, मस्तिष्क ट्रान्सप्लान्टको बिरोध गर्ने संसारभरिका शक्तिशाली नेताहरु र धर्मगुरुहरुका अगाडि गएर पान्डेको करतुतको पर्दाफास गर्न मन लाग्यो। तर ऊ अहिले अवाक थिई, कमजोर थिई र विवश थिई। दयनीय स्वरमा ऊ बोलौना गर्न लागी “तर पान्डे! म नै किन? मैले के बिगारेको छु तिम्रो?”
पान्डेले अट्टाहसका साथ भन्यो “मेरो लागि ब्रेनट्रान्स्प्लान्टको बिरोध गर्ने समूहको अध्यक्षभन्दा उत्तम स्याम्पल् को हुन सक्छ?”
“उसो भए पान्डे! त्यो दुर्घटना नभएर—-” प्रतिभाका ओठ काँप्न थाले।
पान्डेका शब्द झन कठोर भए “हो! मैले मान्छे खटाएर दुर्घटना पारेजस्तो गराएर तिमीलाई यहाँ ल्याउन आदेश दिएको हुँ।”
“पापी! निच!! मेरो संसार बिगारिस्। म तँलाई छोड्दिन। तैंले हामी आमाछोरीलाई यत्रो अन्याय गर्ने?” प्रतिभाको धैर्यताले सीमा छाडिसकेको थियो, पान्डेतिर मुक्की बजार्न खोज्दै कुर्लिई।
पान्डेले हतपत रिमोट कन्ट्रोलको बटन दबायो र भन्यो “प्रतिभा! धैर्य गर। होसमा आऊ।” उसले फेरि कृतिम मस्तिष्कलाई काममा ल्याइसकेको थियो; वास्तविक प्रतिभा रिमोटको एक दबाइमा विलिन भइसकेकी थिई। प्रतिभाका हात एकाएक रोकिए। उसले आफ्नो अवस्था महसुस गरी, पान्डेतिर लजाउँदै हेरी र क्षमायाचना गरी।
“केही छैन। तिम्रो स्मृति फिर्ता ल्याउन नसकिने भयो, मलाई दुख लागेको छ।” पान्डेले आफ्नो स्वर गम्भीर बनायो।
“हैन डाक्टर पान्डे। म मेरो अहिलेको जीवनदेखि खुसी छु। मलाई जीवनदान दिनुभयो; त्यसैमा म धन्य छु।” प्रतिभा नम्र हुँदै उत्तर दिई।

हलबाट प्रीति दौडिंदै भित्र आई र आत्तिंदै सोधी “ममी, के भो? किन चिच्याउनु भएको?”
“केही पनि होइन प्रीति” पान्डेले मायालु स्वरले प्रीतिको गाला मुसार्दै भन्यो “तिम्री ममी एकदम ठिक छिन्। बरु, तिमीलाई खुसीको खबर छ। भोलि तिम्रो ड्याडी तिमीकहाँ फर्कँदै हुनुहुन्छ।”
पान्डे आफ्नो कुर्चीमा फर्कियो र केही सम्झेझैं गर्दै भन्न लाग्यो “प्रतिभा! तिम्रो श्रीमानको मैले पत्ता लगाएको छु। तिमीले प्रीति जन्मे लगत्तै लोग्नेसँग पारपाचुके गरेकी रहिछौ। तिम्रो दुर्घटनाको खबर सुनेर ऊ खिन्न छ। अब जिन्दगीभर तिम्रो साथ बस्न चाहन्छु भनेर तिमीकहाँ भोलि आउँदैछ। म भन्छु, तिमी उसलाई माफ गरिदेऊ। तिमीलाई पनि सजिलो हुन्छ, अनि प्रीतिलाई पनि त बाबुको माया चाहिन्छ। हैन त प्रीति?”
प्रीतिले फेरि गाला रातो पारी, टाउको निहुर्याई र मुन्टो हल्लाएर स्वीकारोक्तिभावमा बोली “अँ।”

Krishna Bajgain – Ghumne Kursi [Nepali Laghu Katha]

कुरा धेरै अगाडिको हो । कुर्सीमा बस्ने शक्तिशाली टाउकाहरुले आफूसंग असहमत बिचार राख्ने र समाजमा आतङ्क फैलाउँने टाउकाहरुलाई कसै गर्दा पनि तह लगाउँन सकेनन् । अनि ती टाउकाहरु अराजक हुन् भन्दै ढोल पिटाए । समाजको अमनचयन शान्ति-सुरक्षा आदिमा खलल् पुर्एको अभियोग लगाइयो उनीहरुलाई ।

त्यसपछि ती टाउकेहरुलाई तह लगाउँन तिनका टाउकाको मूल्य तोकियो । टाउको ल्याउनेहरुलाई टाउकोको वजन बराबरको सुनको असर्फी दिइने घोषणा भयो । यो खवर थाहा पाएर सुरुमा त ती टाउकाहरु छक्क परे । तर आफ्ना टाउकाको यत्रोबिधि मूल्य बढेको थाहा पाएर दंग पनि परे । त्यसपछि ती लाखौं मूल्य बराबरका टाउकाहरु आफूलाई सुरक्षित राख्न गोप्यरुपमा हिंडडुल गर्न थाले । उनीहरुलाई डर लाग्न थाल्यो- कतै वुनै आफ्नै आफन्तले आफूलाई नबेचिदियोस् । आफूलाई सुरक्षित राख्नाको अर्को कारण पनि थियो । कालान्तारमा महंगी सँगसँगै कतै आफ्नो टाउकाको मूल्य पनि अझ बढिहाल्छ कित भन्ने ।
निकै समय बितिसक्दा पनि टाउको बापत्को मूल्य कसैले हात पारेनन् । शक्तिशाली टाउकेहरुको फेरि टाउको दुख्न थाल्यो ।

निक्कै लामो छलफलपछि अर्को आकर्षक उपाय निकाले उनीहरुले । ती टाउकाहरु आफू खुशी आएमा तोकिएको मूल्य उनीहरु स्वयंलाई दिने घोषणा गरे । यस्तो निर्णयले ती टाउकाहरुका बीचमा खैलाबैला मच्चियो । टाउकाको वजन अनुसारको मूल्य किटान भएकोले ठूल्ठूला टाउके सरह फाइदा नहुने भएतापनि केही स-साना टाउकाहरुले आफ्ना टाउका बापत् वजन अनुसारको सुपथ मूल्य ग्रहण पनि गरे ।

खासै धेरै टाउकाहरु त्यस कार्यक्रममा सहभागी भएनन् । अनिपछि शक्तिशाली टाउकाहरुको टाउकोदुखाइ फेरि बढ्न थाल्यो । उनीहरु चिन्तित भए अनि अर्को विकल्पको खोजीमा लागे ।

सबै टाउकाहरुलाई समेट्न अर्को पासा फ्याँकियो । ती टाउकाहरुलाई आरामदायी घुम्ने कुर्सीको व्यवस्था मिलाइने घोषणा गरियो । त्यसपछि ती टाउकाहरुले त्यो घोषणालाई पनि सहर्ष स्वीकार गरे । उनीहरुले यो नै आफ्नो मुख्य माग भएको कुरा बल्ल बताए । तर कुर्सीको संख्या सीमित थियो । कुर्सीमा बस्न हानाथाप गर्न थाले । कुर्सी नपाउँनेहरुले पहिलेकै कार्यलाई निरन्तरता दिएका कारण समाजमा आतङ्क यथावत् रहिरह्यो । कहिल्यै स्थायी शान्ति हुन सकेन । जन-धनको सुरक्षा हुन सकेन ।

भनिन्छ त्यसबेला देखि नै हल्लिने र घुम्ने कुर्सीको व्यवस्था थालिएको हो । स्थायी कुर्सीको जग हल्लन थालेपछि त्यसलाई जोगाउँन उनीहरुलाई पनि हल्लिने घुम्ने कुर्सी दिइएको थियो । घुम्ने कुर्सीको व्यवस्था सांकेतिक अर्थमा गरिएको थियो । जसरी त्यो कुर्सी अस्थिर तथा चलायमान छ त्यसरी नै त्यहाँ बस्नेको पद पनि अस्थायी प्रकृतिको हुन्छ है भन्ने अर्थमा ।
तर घुम्ने कुर्सीमा जोसुकै बसे पनि आफू बसेपछि त्यसलाई पुनः स्थायी बनाउँने प्रयासमा चलखेल सुरु गरिहाल्थे । त्यसकारण कुर्सी माथिको संकट सदा ज्यूँका त्यूँ रहिरह्यो । तर समाजमा शान्ति सुरक्षा र जन-धन उपर संकट झन्-झन् गहिरंदै आयो ।

Dr. Rishi Raj Baral – Ghodchadhi (Nepali Laghu Katha)

डा. ऋषिराज बराल – घोडचढी (लघु कथा)
(Source: गोरखापत्र)

नयाँ सरकार बनेपछि गाउँ पुग्ने इच्छा, उत्सुकता र आवश्यकताबोध गरेर एक जना पत्रकार सहरबाट गाउँतिर लाग्यो । गाडीबाट झरेपछि उसले एक जना गाउँलेलाई पनि साथमा लियो ।

दिनभरिको हिँडाइपछि गोधुलीमा ऊ एउटा भञ्झ्याङ अर्थात् नेटोमा पुग्यो । चौतारी थियो, पसिना ओभाउन , सुस्ताउन चाह्यो । त्यति नै बेला दुई जना कुद्दै र पसिना पनि पुछ्दै स्याँस्याँ र फ्याँफ्याँ गर्दै त्यतैतिर आउँदै थिए । पत्रकार अलि डराए जस्तो पनि भयो- बन्दुक बोकेका ती दुई जना देखेर । उसले पुलुक्क हेर्‍यो गाउँलेतिर ।

“सेनाका मान्छे हुन्”- गाउँलेले विश्वस्त पार्‍यो ।

ती दुई बन्दुकधारीले पनि चौतारामा बस्नेहरूलाई पुलुक्क हेरे र फेरि कुदे ।

पत्रकार र गाउँले पनि ओरालो लागे । दस मिनेट तल जति गाउँ थियो । गाउँको मुखमै पुगे । त्यहाँ पनि बन्दुक बोकेको एउटा मान्छे कुद्दै अघिअघि आउँदै थियो र अलिकति पर चार पाँच जना घोडचढीहरू त्यतै आउँदै थिए । उनीहरू तल झर्दै गए, घोडचढीहरूसितको दूरी कम हुँदै गयो । पत्रकारमा केही मात्रामा भय पनि थियो र कौतुहलता पनि । घोडचढी र पत्रकारबीचको दूरी झन् कम भयो ।

बन्दुक बोकेर अघिअघि कुदेको मान्छेले आफ्नो गति बढायो ।

सबैभन्दा अगाडि कालो घोडा थियो । यस्यल्आर् बोकेको सेनाको मान्छे त्यहाँ थियो । त्यसपछि सेतो घोडा थियो, युवा कामरेड त्यसमा थियो । त्यसपछि थियो- रातो घोडा । त्यसमा केही अग्लो, मोटो, भुँडीवाल, खाइलाग्दो, जीउडाल र अनुहार परेको मान्छे चढेको थियो, त्यसको पछाडि खैरो घोडा थियो । त्यसमा एक जना अधबैंसे थियो र घोडाहरूको पछाडि यस्एल्आर बोकेका दुई जना , घोडालाई पछ्याउँदै कुद्दै थिए ।

घोडाहरू एउटा घरको आँगनबाट धुलो उडाउँदै कुदे, मान्छेलाई मिच्तै कुदे । कुखुराका चल्लाहरू यताउति कुदे, केटाकेटी छेउ-किनारा लागे । एक जना बूढीआमै घरको पिँढीमा बसेकी थिइन्, डरले भित्र कुदिन् । जान्न मन लाग्यो र सोधिन् ः

“फेरि बडाहाकिमहरू आउन थाले कि क्या हो गाउँमा ?”

”कस्तो नचिन्नु भा’को हाम्रा नयाँ मन्त्री होइनन्” – नातिनीले उत्तर दिई ।

उनले हावामा हात हल्लाइन्, हात हल्लाइको भाव अनुहारमा झल्कियो ।

त्यसको लगत्तैजसो एक जना गाउँलेले डोकोमा, मोर्चामा घाइते भएर दुवै खुट्टा गुमाएको जनमुक्ति सेनालाई बोकेर ल्याउँदै थियो ।

पत्रकारले पछाडि फर्केर हेर्‍यो । घोडचढीहरू पर पुगिसकेका थिए । बाटोमा धुलो उडेर कुइरिमन्डल भएको थियो ।

घाइतेलाई बोक्ने गाउँलेले भिन्नै अनुहारका साथ घोडचढीहरूलाई हेर्‍यो र लामो सास फेर्‍यो ।

पत्रकारको मुखबाट अनायास लामो उच्छवास निस्कियो ।

हिमालको चुचुरोबाट बाफ निस्किरहेको थियो ।

Bhairab Aryal – Mapain (Hansya Byangya)

भैरव अर्याल – मपाईं (हाँस्य-व्यंग्य)

‘तँ’को आदरार्थी ‘तपाईं’ भएजस्तै ‘म’को आदरार्थी ‘मपाईं’ हुन्छ। त्यसैले सभ्य भाषामा ‘तँ’को ठाउँ तपाईंले ओगटेपछि ‘म’को ठाउँ ‘मपाईं’ले नलिनु किन? ‘म’लाऐ संस्कृत वैयाकरणहरुले उत्तम पुरुषको श्रेणीमा पुज्दै आएका छन् भने अरु भाषामा पनि ‘म’को स्थान प्रथमै छ। त्यसैले हामीले पनि बाह्रखरी पढ्दैदेखि ‘म’लाई राम्रो ‘म’ भनी मान गर्दै आएका छौं। जब सँगैको ‘तँ’ जाबोले पदोन्नति पाई ‘तपाईं’ भयो भने ‘म’लाई पदोन्नति दिई ‘मपाईं’ नगराउनु पच्चीसै आना पक्षपात हो, ‘म’प्रतिको अन्याय हो। यसकारण अरुले ‘तपाईं’ भने पनि नभने पनि हामीले आफूलाई ‘मपाईं’ भन्नै पर्छ, यो युगको माग हो; ‘मपाईं’को मन्तव्य यस्तै छ।

‘मपाईं’ शब्द सुन्दा नयाँजस्तो लाग्।छ। तर यसको भाव बाषाभन्दा जेठो र इतिहासभन्दा बूढो छ। किनभने मुख चलाउनुभन्दा पहिले मान्छेले ‘म’को माया गर्न जान्यो; अरुलाई केही मान्नुभन्दा पहिले आफैंलाई सम्पूर्ण ठान्न थाल्यो। फलत: शक्ति बढ्ता हुनेले आफूलाई लायक वा नायक भनाई आत्मआदर खोजे, मपाईं बने; बठ्याइँ बढ्ता हुनेले धर्मकर्ममा अक्कलझक्कल झिकी आफूलाई ईश्वरको नक्कल भनी ‘म’को महत्ता दर्शाए, मपाईं बने।

एक पटक ब्रह्मा र विष्णुमा तँ ठूलो कि म ठूले भन्नेबारे गम्कागम्की परेछ, फैसलाको लागि दुवै महादेवकहाँ पुगेछन्। देवमाथिका उपरदेव महादेव, उसै त तपाईंको धुरन्धर, झन् त्यो मौका पाएका। हत्त न पत्त आफ्नो ‘ज्योतिर्लिङ्ग’ तेर्स्याउँदै भनेछन्- “लौ, एक जना उँधो जाऊ, अर्को उँभो। जो यसको फेद वा टुप्पो पत्तो लगाउँछो, त्यही ठूलो।” मारेन के? न्यायधीश मानिसकेपछि आज्ञा नमानून् कसरी? ब्रह्मा र विष्णु राणाकालीन लाठसाहेबका चाकरीवाल दौडेझैं स्याँस्याँ गर्दै लागे तल-माथि। तर दुवैले लक्ष भट्टाएनन्। कीर्ते साक्षी बकाएर भए पनि आफ्नो मपाईंत्व जोगाउने ब्रह्माको षडयन्त्र पनि असफल भयो। अनि लँगौटी बाँध्दै महादेवले छाँटे- “देख्यौ, को ठूलो रहेछ? मेरा अगाडि तिमीहरुको मपाईंत्व! दुवै उस्तै हौ, लौ जाओ!”

यसरी ब्रह्मा-विष्णुका पालादेखि चलेको मपाईंलाई कसरी नयाँ मान्नुहुन्छ?

मपाईंत्व प्रदर्शित गर्ने यस्ता कथाहरु नौ मुरी पाइन्छन्। पुराण पढ्नोस्, पण्डित भेट्नोस् कि पादरी भेट्नोस् मपाईंकै गाथा सुनिन्छ। जो बूढो उही बाटो हगुवा भनेझैं जसजसलाई दुनियाँले महापुरुष मान्दै आयो, ती सबैले आफ्नो महापुरुषत्व मपाईंबाटै सुरु गरेका त होइनन्? कुन्नि, मपाईंलाई त शङ्कै लाग्छ।

अर्काको तपाईंत्व स्वीकार नगरेर ‘म’कै महिमा मादल बजाउनु मपाईं बन्नु हो। सभ्यताको जतिति विकास हुँदै आयो, उतिउति मपाईंत्व प्रवृत्ति पनि विष्णुमतीले मूला मौलाएझैं मौलाउँदै आएको छ। त्यसैले प्रत्येक व्यक्ति आफूलाई हात्ती सम्झन्छ, अरुलाई बोका। अब समाज हात्तीहात्तीको हो वा बोकैबोकाको हो कसले छुट्याइदिने?

अर्को शब्दमा मपाईंत्व एक नशा हो, यसले लट्ठयाएपछि कक्टेल पार्टीका श्रीमानहरुले झैं सब मपाईंहरु एकअर्काका बीच ठक्कर खान र चर्किन थाल्दछन्। सम्झनुभएन? राम र रावणको मपाईंत्व बजारिएर लङ्का डढयो, भीम र दुर्योधनको मपाईंत्व चर्केर कुरुक्षेत्र बन्यो। यस्तै मपाईं मपाईंको चर्काचर्कीमा हिरोशिमामा एटम बम पड्क्यो, त जर्मनी खड्गीज्यूकहाँको बनेल बन्यो।

हिरण्यकशिपुदेखि हिटलरसम्म, अलेक्जेन्डरदेखि एडवर्डसम्म, बाबरदेखि बबरसम्म कसले आफूलाई मपपईं भनेन? तर के गर्नु! सबै मपाईं ठोक्किए-बरालिने पोइको काटमुनि गुन्डाका मुन्डा टाउका जुझेझैं। फलस्वरुप नौरङ्गी क्रान्ति भए, संघर्ष भए, युद्ध र महायुद्धहरु भए, आखिर बलियाहरुको मपाईं झन पाक्यो, चतुरहरुको मपाईं झन् चर्क्यो। दब्ने मपाईंको इतिहास माटोमा मिल्यो, जितुवा मपाईंको महिमा चितुवाझैं उफ्र्यो, त्यसैले रामायण लेखियो, रावणायण लेखिएन, ‘चन्द्रमयूख’ देखियो, ‘देवमयूख’ देखिएन।

मपाईंको त यस्तै खस्रा कुरा गर्ने बानी छ। नास्तिक भनून् वा नाकठाडो भनून्, मपाईंलाई पनि आफ्नो महान् मपाईंत्वमा पूरा विश्वास छ। वास्तवमा मपाईं बन्नु आत्म-आदर खोज्ने मानवीय मनस्थितिको मोटो विशेषता हो। आफू जस्तै बामपुड्के भए पनि अरुलाई होच्याइदिन पाए हातले नछोइदिन धर्को लामो पार्ने ‘बीरबल मेथड अफ् डेभलपमेन्ट’ सफल भइरहन्छ। त्यसैले होला खुश्चेभले मरिसकेको स्तालिनकको जरैसम्म जुँघा उखेलेर मपाईं बने। त्यसैले त जुनसुकै गल्लीमा भेटिने जोसुकै मान्छेसित सोध्नोस्- सब चोर, सब लोफर, सब आवारा, सब नामर्द, सद्दे भन्नु उही मात्र, जो तपाईंसँग हाँकिरहेको हुन्छ।

प्रत्येक पसले भन्छ- म अरुजस्तो ठगाहा होइन, प्रत्येक कर्मचारी छाँट्छ- म अरुजस्तो कामचोर र घूसखोर होइन, प्रत्येक युवती नखरा पार्छे- म अरुजस्तो छँडुली होइन, प्रत्येक युवक धक्कु लगाउँछ- म अरुजस्तो नामर्द होइन, प्रत्येक कवि-कलाकार फुल्छ- म अरुजस्तो बकमफुसे होइन। प्रत्येक नेता गुड्डी हाँक्छ- म अरुजस्तो झ्यासझुस लिडर होइन। ओहो! जसका अगाडि उभिए पनि उही मपाईंजनित थुकका छिटा मुखमा पर्नुसिवाय केही छैन। हुँदाहुँदा गल्लीको लुते कुकुरले कुइँकुइँ गरेको सुन्दा पनि म अरुजस्तो भुस्याहा होइन भनी फुइँ छोडेको त होइन? भन्ने शङ्का लाग्छ मपाईंलाई।

शङ्का मात्रै होइन, कुकुरको मपाईं झन मापाको हुन्छ। फोहोर खाने जात भएर के गर्नु, जुनसुकै देवीदेवताको स्थानतिर हेर्नोस्-
वरिपरि झुम्मिइरहेका हुन्छन् उनै। मोटरमा गुड्नेदेखि रकेटमा उड्नेसम्म सौभाग्य पाएको कुकुर जस्तोसुकै लुते, लुखुरे, लिँडे, तिल्के, टाटे, रागेपाटे, झिल्के, झ्याउरे भए पनि आफूलाई बेलाइती नै सम्झन्छ। त्यसैले त मान्छे जहाँ पूजा गर्छन् कुकुर त्यहाँ जिभ्रो लतपताइदिन्छ, मान्छे जहाँ ढोग दिन्छन्, कुकुर त्यहाँ तुर्क्याइदिन्छ। कसले नदेखेको छ र? एक चौटा मासुको निम्ति अथवा एउटी माली कुकुर्नीको निम्ति कुकुरहरुको मपाईं कसरी चर्किन्छ? कसरी उनीहरु दाँत ङिच्याएर एकअर्कासित लुछाचुँडी गर्छन् र कति चाँडै मित्र शत्रु हुन्छन; अनि मपाईंको धुमर्के झन्डा पिँधतिर झुन्ड्याएर एकै दिन भए पनि, एकै छिन भए पनि, कुकुरतिहार मनाउचछन्, माला लगाउँछन्। जब मपाईंत्व चुर्लिंदा माछापुच्छ्रेको चुचुरोमा पुग्छ अनि कार्तिके डाँगाहरु झैं उनीहरु जसको पाए पनि घोडा चढ्न खोज्छन्, जसलाई पाए पनि टोक्न ताल्छन्।

अनि सबैतिरबाट घुस्सा खान्छन्, कुइँकुइँ गर्दै फेरि बिरालासित मित्रता बाँध्न थाल्छन्। त्यसैले त कहिलेकाहीं राजनीतिमा कुकुर-बिरालाको पनि संयुक्त मोर्चा भएको देख्न पाइन्छ।

मपाईं- न धार्मिक दृष्टिकोणले पाप हो, न कानुनी दृष्टिले अपराध। मागेर खानेदेखि मात्तिएर खानेसम्म सबैलाई आफ्नो महिमा गाउने मौलिक अधिकार छ। त्यसैले त अचेल जसले आङ्देखि टाङ्सम्म रङ्गीचङ्गी प्वाँख जडेर आफ्नो महत्ता दर्शाउन सक्छ त्यो महान् हुन्छ। कामले नसके कुराले, दिमागले नभ्याए सुराले, जसरी भए पनि आफ्नो महत्ता बढाउनुपर्छ, अनि स्वास्नीले नुन किन्न पठाउँदा “नुनभन्दा चुन सेतो रे’छ बूढी” भन्दै चुनको पोको गोजीमा हालेर आउने भलादमीले पनि चतुर चन्द्रको उपाधि पाउन सक्छ। युग मपाईंको हो। त्यसैले युगअनुसार आवाज हुनुपर्छ, आफ्नो सह्रनी आफैंले गर्नुपर्छ- अरु कसले गरिदिन्छ?

हाम्रा साहित्यिकहरुले पनि यो कुरा छर्लङ्ग बुझेका छन्। त्यसैले कोही आफूलाई शेलीको सालो ठान्छन् त कोही मिल्टनको मामा। कुनै पनि सभासम्मेलन वा समारोहमा जानोस- कर्केछड्के हावभावका साथ मञ्चमा उभिनेचाहिँ कवि वा वक्ता सुनाइरहेको हुन्छ- मपाईं-महिमा। सुन्नेहरुचाहिं खासखास खुसखुस गर्दै सुनाउनेलाई तीन कटडी पनि नगनी आफआफ्ना महत्वको महिमा गाइरहेको हुन्छन्। यसै क्रममा सम्मेलन सिद्धिन्छ, अरुले लेखेको पनि पढिदेऊँ, अरुले बोलेको पनि सुनिदिऊँ, अरु पनि तपाईं हुन् भन्ने प्रवृत्ति कसैमा छैन। किनभने यो ‘नामकरण’को बेला हो, कामकरणको होइन।

मपाईं धेरै थरीका हुन्छन्। कसैलाई उपाधि-मपाईंले छोएको भोलिपल्टैदेखि उनीहरु शङ्का गर्न थाल्छन्- के दुनियाँमा मजत्तिको पढैया र बढैया अर्को कोही होला त? कसैलाई पगरी-मपाईं लागेको हुन्छ, ओहदामा पुग्नेबित्तिकै उनीहरुका आँखाले सबैलाई हल्कारा देख्छ। त्यस्तै, कोही जहानियाँ-मपाईं हुन्छन् त कोही घरानियाँ-मपाईं। कसैलाई मोहनी-मपाईंले सताएको हुन्छ। बाटाघाटामा, अड्डाअदालतमा, कार्यालयमा व विद्यालय, महाविद्यालयमा जति पनि युवती देखिन्छन् सबैका आँका उनीहरु आफैंपट्टि फर्केको देख्छन् र साथीहरुसँग फुइँ छाड्छन्- मलाई देख्नासाथ सबै युवती मोहित हुन्छन् किन होला? तर युवतीले उसको गालाको चाउरी हेरेका हुन् वा गलाको गाँड हेरेका हुन् उसलाई सुइँकै हुँदैन। यस्तै कोही चुइयाँ-मपाईं हुन्छन् जो पेट मार्नु नै आफ्नो पुरुषार्थ सम्झन्छन्, कोही फुइयाँ-मपाईं हुन्छन्, घर बन्दकी राखी पार्टी जमाउँछन्। यस्तै कोही हुन्छन टपर्टुइयाँ-मपाईं, उनीहरुलाई एकै थोकमा मात्रै मपाईंत्व प्रदर्शित गरेर हुँदैन। चढ्नेमा रिक्सादेखि रकेटसम्म, पढ्नेमा पिनासको कथादेखि प्याराडाइज लस्टसम्म, चिन।नेमा चोरदेखि चर्चिलसम्म, किन्नेमा रिबनदेखि रेडियोसम्म इत्यादि सबैतिर उत्तिकै महत्ता प्रदर्शन गर्नु टपर्टुइयाँ-मपाईंको मूलभूत विशेषता हो।

मपाईं त छँदै छन्, अझ त्यस्ताको मपाईं रमाइलो हुन्छ, जसलाई कसैले झुक्किएर पनि तपाईं भनिदिंदैन। बिचराहरु आफ्नो महत्ता देखाउन टोपीको चुच्चोदेखि जुत्ताको टुप्पोसम्म झिलिक्क पार्दै दिनदिनभर पूल सडक चक्कर मार्छन्। सिउन लागेको सूचीकार देखे पनि, पिउन लागेको जँड्याहा देकेप पनि ‘हलो’ भन्दै हात मिलाउँछन्। एक-दुईवटा फिल्मी गीत गुनगुनाएर उसको ध्यान तान्न खोज्छन्। जब कसैले पनि वास्ता गरिदिँदैन, घरमा गएर स्वास्नीलाई हकार्छन्- “बुझिस्, मलाई दुनियाँले कत्रो सन्मान गर्छ, तर तैं जैरी मात्र मेरो महत्ता बुझ्दिनस् बाबै!” यस्ता पुङ न पुच्छरका मपाईंहरु जत्ति धेरै भए मपाईंलाई चाहिं उत्ति रमाइलो लाग्छ। किनभने भेट हुनासाथ “ओहो तपाईंजस्तो” भनिइपछि कमसेकम भोजन वा सिनेमाको निम्तो पाइहालिन्छ। कोही यस्ता अभागी पनि हुन्छन् ख्वाउँदा-प्याउँदा पनि प्रशंसा पाउँदैनन्। त्यस्ताको मपाईं यस्तरी बटारिन्छन् कि अर्थ न बर्थ धोक्रो फुलाएर तीन धोक्रो रिस मनमा कोची मनमनै आफ्नो प्रशंसा गर्न थाल्छन्।

सबै तँजस्तै छुसी हुन् त!- भन्नुहोला तपाईंहरु, त अचेल तपाईं निम्ठो भए मपाईं झन् झुसी! नपत्याए तपाईं नै भन्नोस्, यो सिङ्गो लेख पनि एउटा मपाईंत्व-प्रदर्शन नै न हो?

सिंहनाद

Dr. Rabindra Sameer – Buba Ra Bubaharu (Nepali Laghu Katha)

डा. रवीन्द्र समीर – बुबा र बुबाहरु (लघु कथा)

‘बाबु ! उँहा तिमो बाबा होइसिन्छ ।’ उसले आर्श्चर्य मान्दै गोरो तथा लजालु युवकको खुट्टामा ढोगिदियो ।
* * *
‘बच्चु ! तिमो पिता आउनुभयो ।’ रातिको पिल्पिले बत्तीमा गहुँगोरो तथा प्रौढ देखिने व्यक्तिको खस्रो काखमा ऊ निधार खुम्च्याउँदै बस्यो ।
* * *
‘फुच्चे ! तिमो बालाई चियो लगिदेऊ ।’ उसले पोल्दापोल्दै मसानघाटबाट उछिट्टिएको जस्तो कालो भुस्तिघ्रेलाई डराइ-डराइ चिया पुर्याइदियो ।
* * *
‘सानु ! डयाडीको कोठामा बत्ती पुर्याइदेउ !’ यसपटक पनि ऊ आज्ञाकारी बन्दै कपाल पालेको तथा कानमा मुन्द्रा लगाएको झयापुल्लेको मुहारमा बुबाको प्रतिबिम्ब खोज्न विवश भयो ।
* * *
‘छोरा ! हेर त तिमो बुबा तीन वर्षछि लाहुरबाट आउनु भो, खुट्टामा ढोगिदेउ ल ।’ उसले यसपटक पनि अनास्थापूर्वर्क बुबा खुट्टामा टाउको राख्यो ।
* * *
एक साँझ बुबा र आमाको बीचमा सुतेर तोतेबोलीमा कुरा गरिरहेको बेला छोराले आफ्नो आमासँग साध्यो – ‘मम्मी – हाम्रो लाहुरेबुबा सधैँ यहाँ किन बसेको -‘ उसको आमाले उत्तर दिइन्- ‘बाबु ! यो उँहाकै घर हो, उहाँ तिमो बुबा……. ।’ अनि हाम्रो बुबा नभएको बेलामा हामीसँग सुत्न आउने बा, पिता, बाबा डयाडीहरु …….. आजभोलि किन नआएको -‘