Rajesh Natansh – Menuka Tauko Nihurayera Sundai Thiyin

राजेश नतांश – मेनुका टाउको निहुँर्याएर सुन्दै थिईन्

रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरू रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे । रुपालाई आर्कषित गर्नका लागि मञ्चित नाटकहरू हेर्न निक्कै रोमाञ्चकारी हुने गर्दथ्यो । उनीहरूले रुपालाई लोभ्याउनका लागि गरेको सहयोग सबै नक्कली लाग्दथ्यो । रुपा आफैंलाई पनि आफ्नो सौन्दर्यतामा गर्व थियो । छिन्–छिनमा ऊ ऐनाको अगाडि बस्ने गर्दथी । ऐनामा आफ्ना सम्पूर्ण सुन्दर शरीर धीत मरुञ्जेल नियाल्दा एक प्रकारको लज्जाको अनुभूति हुने गर्दथ्यो, हाँसोका विम्बहरू उतार्ने गर्दथी ।

झन् क्याम्पस आउँदा–जादाँका पलहरू निकै अविष्मरणीय हुने गर्दथ्यो । बाटामा क्याम्पसे केटाहरूले जिस्काउने गर्दथे । रुपा त्यसको मौन समर्थन गर्ने गर्दथी । कति पनि प्रतिकार गर्दिनथी । लज्जालु मुस्कान छाडेर निरुत्तर बनेर हिँड्दा ती केटाहरूले एक प्रकारको समर्थन पाएको सम्झन्थे । घर आईपुगेपछि ऊ बाटोभरिका रमाइला पलहरू सम्झेर मुस्कुराउने गर्दथी । उसलाई सधैं त्यही बाटो नै प्यारो लाग्दथ्यो । ऊ त्यो बाटोलाई एक प्रकारको प्रेम गर्दथी अथवा भनौं त्यो बाटो दिनमा एक दिन नहिँडी चित्तै बुझ्दैन थियो ।

अरुणसँग उसको नजिकको सम्बन्ध छ । उसले अरुणलाई भाइ मानेकी छे । प्रत्येक भाइटीकामा अरुणको निधार रङ्गिने गर्दथे उसका हातहरूबाट । सायद आफ्ना दाजुभाइ नभएकैले होला निकै प्रेम गर्दथी ऊ अरुणलाई । अरुण उसको घर पटक–पटक जाने गर्दथ्यो । यी दुई एकदिन नदेख्दा नै छट्पटिन पुग्थें । प्रत्येक दिन र रातहरू सँगै हुने गर्दथे । हाँसी–मज्जाक गर्दा गर्दै समयले नेटो काटेको पत्तै हुदैन थियो ।

अरुण पनि उसलाई निकै प्रेम गर्ने गर्छ । सधै उसको छत्रछायाँमा बस्न रुचाउँछ । प्रत्येक पल अरुण उसको सुन्दरताको खुलेर प्रशंसा गर्ने गर्दछ । सायद यही कारणले होला रुपालाई अरुण निकै प्यारो लाग्ने गर्दछ । क्याम्पस जान लाग्दा रुपालाई अरुण नभई हुदैन । ऊ अरुणले ‘राम्रो देखिएको छ !’ नभनेसम्म घरबाट बाहिर निस्किदैनथी ।

रुपालाई आफू बन्धनमा बाँधिएको छु जस्तो लाग्थ्यो । प्रत्येक समय आफूलाई ठूला–ठूला पर्खालहरूकाबीच कैदमा पारिएको अनुभूत गर्ने गर्दथी । आफूलाई घरमा पिँजडामा राखेर थुनिएको सुगाझैँ सम्झिन्थी । क्याम्पस समयबाहेक उसलाई घरको चौघेराभन्दा बाहिर जान छुट थिएन । ऊ आफू सँगैका साथीहरू आफूभन्दा निकै स्वतन्त्र भएको ठान्दथी । आफ्ना साथीहरूलाई जहाँ पनि जान छुट भएको तर आफूलाई कहीं जान पनि छुट नभएको भनेर आत्मालोचित हुने गर्दथी । यसैकारणले होला ऊ आफ्ना रहरलाग्दा सम्पूर्ण इच्छाहरू दबाएर राख्ने गर्दथी । क्याम्पस पार्कहरूमा प्रेमीप्-रेमिकाहरू अँगालोमा बाँधिएर प्रेमकर्म गरेको देख्दा इर्ष्या लाग्ने गर्दथ्यो उसलाई । एक मनमा त आफूलाई प्रेम गर्ने प्रेमी खोजु जस्तो लाग्ने गर्दथ्यो तर डराउने गर्दथी त्यसबाट उब्जने परिस्थितिहरूसँग ।
०००
रुपाकी आमा मेनुकाका दिनहरू सधैं फुर्सदिला भएर बित्ने गर्दथे । आफ्नो श्रीमान् विदेशमा भएका कारण खर्चका लागि अरु कहाँ धाउनुपर्दैन थियो । उनी गाउँकै गन्यमान्य पार्टीको सक्रिय कार्यकर्ता थिइन् । उनलाई जहिल्यै बिहान ६ बजे चिया पसलमा बसेर पार्टीका लगायतका कुराहरू गर्न अभ्यस्त हुन्थ्यो । थोर–बहुत राजनीतिबारे प्रशिक्षित भएकी उनी आफूलाई सभ्य र अरुलाई असभ्य भन्ने बानीले गाउँका दिग्गजहरूले मनपराउँदैनथे । एक्लो हठ गर्ने बानीले गर्दा गाउँका शिक्षित महिलाहरू उनकोको अज्ञनता देखेर मनमनै खिल्ली उडाउँथे । उनी आफैलाई पनि विना जानकार प्याच्च बोल्ने बानीले धेरै चोटी लज्जित बनाएको थियो । आफ्ना कमजोरीहरू पत्ता लगाई चिया पसलमा बसेर गफिएको देख्दा गाउँका महिलाहरूले ‘कुरा काट्ने आईमाई’को पगरी लगाईदिएका थिए।

रुपालाई निकै कडाई गर्थिन् उनी । उनी छोरीहरू स्वतन्त्र भए बेइज्जती बाहेक केही हुँदैन, । उनीहरूलाई आत्मनिर्णय अधिकार दिनुहुँदैन लगायतका सोचाई राख्ने गर्थिन् । छोरीले गरेका हरेक कुराहरूमा बन्देज लागाउँथिन् । गाउँमा सानै उमेरमा आफू खुसी बिवाह गर्ने लहड चलेको थियो । यस्तै विषयप्रति असान्दर्भिक रुपमा उनी छोरीलाई सजग गराई राख्ने गर्थिन्, “फलानो जस्तो गरी पोइला हिँडिस् भने तेरो के हुन्छ थाहा पाउनेछेस् तैँले !”
०००
भुँइमा तासहरू असरल्ल छरिएका थिए । मेनुका आफ्ना साथीहरूसँग तास खेल्नमा अभ्यस्त थिइन् । साथीहरू चाहिँ छिमेकीका बारेमा कुरा गर्दै थिए । उनी भने घरेलु मदिराको चुस्की लिँदै तुरुन्तै प्रतिक्रिया जनाई हाल्थीन्, “हैन, मान्छेको कसरी मन बदलिन्छ हँ । एकजनासँग बिहे गरेर जीवन सुम्पिदिई सकेपछि फेरि अर्कोसँग किन जीवन सुम्पिदै पोइला जानु ? यो आईमाईको जात त ! ….फेरि त्यो वीरले किन बुढी आईमाईलाई बिहे गरेको होला ? मोराले अरु केटी देखेन !” उनका कुरामाथि अरुहरूले हो मा हो मिलाउँथे ।

“तिमीहरूलाई थाहा छ आज कान्छी त पोइला गइछ । भर्खर १५ वर्ष के लागेकी थिई ! के हतारो परेको त्यसलाई ! फेरि आफूभन्दा डबल उमेरको आर्मीसँग !”

“के–के सुन्नुपर्छ यो कानले ? हैन त्यसले आर्मी जस्तो बोकालाई छान्नुपर्छ ? तालपरे सय वटा बिहे गर्छन यी आर्मी बोकाहरू । ठिक्क पर्यो त्यसलाई ! अस्ती मसँग मुखमुखे लाग्दै थिई वेश्या ! ।”

“जवान छोरीलाई ठेगानमा नराख्दा यस्तै हुन्छ । लखर–लखर चारैतीर कुदी हिँड्थी । छोरी होस् तपाईकी जस्तो !” आफ्नो छोरीको प्रशंसा गरेकोमा मेनुकालाई गर्वको महसुस भयो ।

रुपा खाटमा बसेर आफ्ना आमाको कुरा सुनिरहेकी थिई । उसलाई भित्रभित्रै डर लागिरहेको थियो आफूबाट कहित्यै त्यस्तो प्रकारको कार्य नहोस् भनेर । हात खुट्टाहरू मन्द–मन्द गतिमा कापिरहेका थिए, आफू दोषी ठहरिने डरले । मनमा चिसो परिरहेको थियो ।
अकस्मात् रुपाले वाक्–वाकी गरी । मेनुका साथीहरू तीनछक्क परे । मेनुकालाई शंका लाग्यो । मनमा डर–डरको अनुभूति गरायो उसलाई । रुपा भने बाहिर गएर आई ।

“ए ! के भो तलाई”

“केही भा’को छैन मम्मी !”

“केही भा’को छैन भन्छस् । म थाहा पाउँदिन ?” मेनुकाले छोरीको मन तौलिन खोजिन् । रुपा चुप लागेर बसिरही । डराए जस्तो गरी । टाउँको निहुराई । अनुहारमा हेर्न सकिन । टाउँको निहुँरिई रहिँ ।

छोरी यसरी निँहुरिएको देखेर मेनुका जोडले कराइन्, “कसले गर्यो यस्तो तलाई । भन् न कोसँग सुतिस् ?” मेनुकाले शंका गर्दै अँध्यारोमा जाल हालिन् ।

रुपाका सम्पूर्ण शरीर डरले काम्न थाले । सुकुसुकाउँदै रहि । मेनुकाको रिसले कन्पारो तातिएर आयो । आफूले गरेको शंका वास्तविक हुन लाग्दै थियो । सहन सकिनन् । अनायासै रुपामाथि हातहरू बजार्न थालिन् ।

“को हो त्यो ?”

“अरुण”

रुपाले अरुणको के उच्चारण गरेकी थिई । मेनुका छाँगाबाट खसेझैँ भईन् । सिमेन्टीमा बजारिएको जस्तो भयो । सोच्दै नसोचेको मानिसबाट यस्तो हुन्छ भनेर सोचेकी थिइनन् । स्तब्ध भईन् । केही बोल्नै सकिनन् । सधैं केही न केही बोलीराख्ने बोलक्कड मेनुका यतिखेर मौन थिइन् । साथीहरूले मौनताको भङ्ग गर्दै आश्चर्यमा परिरहेका थिए । उनीहरू पनि मौन थिए ।

०००

ब्रेन्चमा तीन पात्रहरूलाई राखिएको छ मेनुका, रुपा अनि अरुण । वरिपरि मान्छेहरू जम्मा भएका छन् । सबै एकअर्काका मुखामुख गर्दै कुरा गर्दै थिए । कतिले ‘जोशमा होश गुमाएपछि यस्तै हुन्छ’ भन्दै थिए । मेनुकाका विरोधी भनिनेहरू अनेक लाञ्छनाहरू लगाउँदै पालोको पैचो गर्दै थिए । रुपालाई अरुणसँग जिम्मा लगाईदै थियो । मेनुका यस्तो दृश्य हेर्न सकिरहेकी थिइनन् । केही गर्न नसक्ने गरी लाचार बनेर टाउको निहुँर्याएर सबै सुन्दै थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *