Hependra Rai – Dharti Ka Shovahin Phool Haru

हेपेन्द्र राई – धर्तिका शोभाहिन फूलहरु

धर्तिका शोभाहिन फूलहरु
जसलाई जति डिग्रीको कोणबाट खिचेपनि
उस्तै सुन्दर देखिने

जस्तो सुकै मौसमा पनि उहि रुप रंगमा भेटिने
देख्ने जो कोहिको मन मन्त्रमुग्ध पार्ने
यी फूलहरुको काँडा छैन
कसैलाइ छेकबार गर्ने डाँडा छैन
जसको मुल्य छ
महानता छैन
आत्म छ
अस्तित्व छैन
सुन्दर छ
शोभा छैन
फूल हो
सुवास छैन
दुइ, चार पाउन्ड तिरेपछि
यी फूलहरुलाई पैतालाले किचे पनि भयो
जीउले थिचेपनि भयो
या हातले मनखुसि मिचेपनि भयो
हाँगा हाँगा डुले पनि भयो
थुँगा थुँगा टिपेपनि भयो
धित मरुन्जेल रसहरु चुसेपनि भयो
पाएको समयभरि
डाली डाली टेकेर पातहरु लुछेपनि भयो ।

Prakash Sayami – Phool Bhaye Pani Ramro Kaanda Bhaye Pani Ramro (Gajal)

प्रकाश सायमी – फूल भए पनि राम्रो काँडा भए पनि राम्रो (गजल )

फूल भए पनि राम्रो काँडा भए पनि राम्रो
विना शर्त माया गरेँ टाढा भए पनि राम्रो

तिम्रो नाउँ कहिले रगतले लेखेँ कहिले आँसुले
नमेटिए त के भो मसी गाढा भए पनि राम्रो

म विनाको एउटा संसार देख्यौ आज तिमीले
सँधै समतल कहाँ हुन्छ डाँडा भए पनि राम्रो

ढुँगा सम्झी टेक्यौ, थुँगा सरि फ्याँक्यौ फेरि
नविक्ने त हैन म, थोत्रो भाँडा भए पनि राम्रो

आधा सिरानी थियौ सँधै तिमी विहानीमा गयौ
अधुरो थेँ हिजो पनि , आज आधा भए पनि राम्रो

Haribhakta Katuwal – Dali Dali Ful Fulyo

हरिभक्त कटुवाल – डाली डाली फूल फुल्यो पात पात म फुलें

डाली डाली फूल फुल्यो पात पात म फुलें
फूल भूल्यो भँमरामा कुन्नि केमा म भुलें

किन होला हिजोआज बरालिन्छ मन यो
जति बाँधिराखुँ भन्छु उति उँड्छ मन यो
छायाँ एउटा सँगै डुल्छ जहाँ जहाँ म डुलें
फूल भूल्यो भँमरामा कुन्नि केमा म भुलें

को हो छायाँ बनी हिंड्ने भनिदिने को होला
जिन्दगीको साथी मेरो बनिदिने को होला
वसन्तमा वन फुल्यो कुन्नि कहिले म फुलें
फूल भूल्यो भँमरामा कुन्नि केमा म भुलें

शब्द – हरिभक्त कटुवाल
स्वर – साधना सरगम
संगीत – रनजीत गजमेर
चलचित्र – दुई थोपा आँसु

Saroj Dhital – Retaasur Ko Raajya Ma

सरोज धिताल – रेतासुरको राज्यमा

यही ठाउँ हो त्यो
तिमी र म उभिएको ।

जहाँ कविता र सङ्गीत
सुगन्ध र हरियाली
अनौठो बिल्कुलै लाग्दैनथ्यो
छोइदिएपछि मान्छेको मायाले फेरि
हृदयको शूल जाग्दैनथ्यो ।

विनम्र, लज्जालु हरियालीमा त्यो
टुसाएछ कुनबेला मृत्युको अङ्कुर !
हुर्किएछ कसरी, झाङ्गिएछ कतिबेला
जगतै ढाकेर यो रेतासुर !

वीणाका झङ्कारहरू
निस्कन नपाई तारहरूबाट
हावामै सुक्छन्, जम्छन् र धारिला वाण बन्छन्
बगेका कविता अक्षरहरू
लठारिन्छन् अराजक भई र चर्का नारा बन्दछन् ।

बिउँझौँ प्रिये !
हरियाली र सगन्धको धङधङीबाट
र आँखा खोलौँ
हेरौँ यी अमान्छेहरूको संसार
कति निर्लज्ज भई
यिनीहरू गरिरहेछन्— हेर न मृत्युको व्यापार !

अब चुप लाग्नुको कुनै अर्थ छैन
निष्फिक्री गाइदेऊ तिमी
बने बन्न देऊ— तानहरू सब वाण बन्लान्
अब त लेख्छु मै पनि कविता
भने भन्न देऊ—मार कविलाई हान भन्लान् !

Komal Malla – Neta Haruko Mahango Bazaar

कोमल मल्ल – नेताहरुको महङ्गो बजार

कर्तव्य मरेको,
नेताहरुको महङ्गो बजारमा
हक, अधिकार, न्याय, समानता धेरै सस्तो छ
किनकि, मेची, कोशी, गण्डक, कालीको किनबेचले नपुगेर
अब पन्चेश्वर पनि बिक्री भै सकेको छ
यो बजार,
हातखुट्टा काटेर, रगतले लिपपोत गरिएको छ !
टाउको छुट्याएर
नैवैद्य चढाइएको छ !
चिहानका मन्दिरहरुमा
चिताको होम गरेर
कुर्चीको माकल
तहस नहसको भग्नावशेषबाट सजाइएको छ !
यो बजारमा,
विधुर, विधुवा, बालक, बृद्धाहरुलाई
समावेशी र रुपान्तरको माला लगाउँदै
खोक्रो आदर्शको शंखनाद गर्दै नचाइएको छ,
र अन्ध अपाङ्ग विस्थापितहरुलाई
राहतको नाममा
गल्ली, सडक, चउरको ओसमा सुुताइएको छ ।
वीरसपुत, महापुरुष, लौहपुरुष
र सहिद विभूतिलाइ
श्रद्धा भक्तिको ‘श्रद्धासुमन’
आफ्नै भाषा, भेष, संस्कृति
र धर्मको छाति चिरेर
तछाड मछाडको ताण्डवनृत्य गरेर
युवाहरुलाई शस्त्र अस्त्र बनाउँदै
जिन्दावाद, मुर्दावादको शंख फूक्न लगाउँदै
मान्छे कै अविर, गुलाव फूल छरेर चढाइएको छ

Shyam Krishna Shrestha – Yatri Sahasrabdi Ko

श्यामकृष्ण श्रेष्ठ – यात्री सहस्राब्दीको

बढ्नैपर्छ अगाडि मानिस भई कर्तव्यको मार्गमा
मेरो मित्र, बिलम्ब गर्दिनँ हिडेँ पुग्नै छ गन्तव्यमा
देखेजति हटाइदिन्छु पथमा बाधा तथा बन्धन
पूरा गर्छु अवश्य भित्र Continue reading “Shyam Krishna Shrestha – Yatri Sahasrabdi Ko”

Harihar Timilsina – Resham Keera

हरिहर तिमिल्सिना – रेशम कीरा
(मधुपर्क २०६६ असोज)

रेशम कीराजस्तै भयो जिन्दगीको चाल
जाल बुन्छु भन्नु मात्रै बुन्नु रै’ छ काल ।
मेरा लागि बराबरी दिनरातहरू
बाटेको छु धागोहरू खाँदै घातहरू
आफूलाई आफूले नै जेली बाँच्नुपर्ने
खोलाभित्र थुनिएर खेली बाँच्नुपर्ने ।
लुगा बन्न रेशमको हुँ म सृष्टिकर्ता
बचाएझैँ गर्नेहरू मेरो प्राणहर्ता
तातोपानी तताएर डुबाएर मार्छन्
खोजी खोजी दर्दमाथि दर्द मात्रै पार्छन् ।

-सुडाल-९, भक्तपुर

Indra Kumar Sunuwar – Namaga Timro Yaad

ईन्द्र कुमार सुनुवार – नमाग तिम्रो याद

किन आउछ मलाई तिम्रो याद्
तिमीलाई त मैले सदैभरी भुल्नु छ ?
बसन्तको हरियालिमा तिमी फुलेउ
म त शरदको उजाडमा फुल्नु छ!

तिमीबाट बिछोडिनु नै थियो भने
हाम्रो मिलन नभाकै जाती हुन्थ्यो
टुक्रीएको दिल जोड्न मिल्ने भए
मेरो दिल लगी जोडी दिए हुन्थ्यो

दिने तिमीलाई जीवनमा केही छैन
थियो केवल मुटु भरिको चोखो माया
परखाल बनी म हुरीवतास छेकिदिउला
आनन्दमा बाच आउनेछैन दु:खको छाया

जेजस्तो भए पनि म बाचेको नै छु
सम्झेर मलाई तिम्रो समय खेर नफाल
साथ नभए पनि तिम्रो याद मसग छ
बरु सारा खुशी लग तर तिम्रो याद नमाग

Rupesh Rai – Takbar Ko Ek Raat Ra Chiyabari

रुपेश राई – टक्बरको एक रात र चियाबारी

कमाने म आफै गर्व
गर्छु। मेरो पसिना पुछिदिने तिमी छौ नी!

पसिना झरोस् यहाँ र मलिलो बनोस्
चियाबारीहरू। मैले देख्ने गरी। भन्छु। तर
अझसम्म मेरै पसिनाका रङ्गहरू मलाई थाह छैन…।

लिलाम गरिरहे छौ। पसि… ना… निर्यातमा तरेली-तरेली।
बासनाका छापहरू। चियाबारीबाट।

नौ औँलाहरूमा तिम्रै हैकम छ
केवल एउटा मात्र चल्छ मेरो।
चाँदमनीदेखि दार्जिलिङका सर्बत्रै चियाबारी हुँदै
टक्बरसम्म। मैले सोचेँ। अलपत्रै परेको उकालो र साँगुरो बाटोमा।
पस्टाउँदैन मेरो सपना। जसरी गाप हाली बस्छन् इच्छहरू पनि।

निचोरिएर अनुहारबाट पसिनाले
जिब्रो खोज्दै ओँठमा लत्पतिएर। अस्तित्वबोध गराइरहेथ्यो।
रूमाललाई के थाहा? पसिनाको अस्तित्व।
सोहोरिबस्छ केवल सोहोरी बस्छ। टुसाउँदै गरेका
मुस्कानहरू कमानका अनुहारबाट। अन्त कतै
मैले नजानिने गरी। नखोजिने गरी।

‘वाव नाइस पिक्स’ को कमेन्ट पनि सम्झेँ फेसबुक्मा!
अनि ‘चियाबारी साहित्य’ का कविताहरू। व्यङ्ग्यात्मक र मर्मस्पर्शी।
साँच्चै चि… सो पस्छ शब्दहरूमा,
कविताको । त्यो पिक्स। हेरेर साँच्चै तिमी रमायौ?
व्यङ्ग्यात्मक प्रश्न पनि गर्छु। आफैलाई। अँहँ…।
पनि भन्छु। मनमनै, गोयल छु जस्तो।

तिमी कमानेतर। त्यही चियाबारीमा। एउटा, भ्रामक पोज
हिर्काउँ जस्तो भयो होला। त्यही मुनाहरूमा लुटुपुटिएको;
नकल गर्ने मन भयो होला! अनि कल्पना गऱ्यौ होला
कसले, कतिपल्ट लाइक गऱ्यो-
‘नाइस…
नाइस पोज!
नाइस पिक्….’
अनि के नै छ र…! तिमीलाई फुर्क्याउने शब्द >>सरररररर
कल्पना कुद्यो।

रात नपरेर निद्राहरू आँखामा,
ओछ्यान टोहोल्याइ रह्यो बिहानसम्म। फर्लङै उज्यालो
भएथ्यो- ‘इ, यी नै हुन् हाम्रा चियाबारीहरू’ मित्रको
निर्दोष वाक्यमा। टेबलको चियाले रिफ्रेश
भएन हिजोको ओभर डज कल्पना। अझ
बिडम्बना लागिरहेछ। हिजो उसले नधकाइ
बनेकी। आफ्नोवोधका कुरा।

मैले बिडम्बना मानेँ। निर्दोष वाक्यलाई।
हो। तिमीहरू पनि त्यसै भन्छौ?
उसको अज्ञान्तालाई शङ्का नगरी
प्रश्न गरेको तिमीहरू। चियाबारीका मानिस।

नुन हालेको चिया तिमीलाई मात्र थाहा छ!!

Rakesh Karki – Prahari Jawan

राकेश कार्की – प्रहरी जवान

बेपत्ता पारी मारीएका
प्रहरी जवान धनबहादुर
विहृ्वल भै रोइरहेकी
धर्मपत्नि मनहजूर
अनिश्चित भविष्यमा रुमल्लिएका
टुहुरा टुहुरीको के कसूर –

जीवन कति सजिलै उजाडिएछ
भयावह पिंडामा घोप्टिएछ
जीवन केवल एकचोटी रहेछ
रुंदा रुंदा शून्य नयन पनि निचोरीएछ

जीवनको चालक नै वितेपछि
बांकी जीवन कतिदिन चल्ला र ?
घीस्रींदै घीस्रींदै जीवनले
कठोर अंधकार कसोरी छल्ला र ?

उ थियो त कर्तव्यको प्रहरी
जसको सत्ता उसैको प्रहरी
राष्ट् र जनताको प्रहरी
बेरोजगारी र भोकमा पाएको पद प्रहरी

त्यसैले जहिले पनि
खटाइएको ठाउंमा जानैपर्ने प्रहरी
तर अहिले केवल
धर्मपत्निको आंशुमा खसीरहने प्रहरी

Pravin Khaling – Gaun Ko Antara

प्रवीण खालिङ – गाँउको अन्तरा

गाँउको धारामा संगीत बज्छ
पँधेराबाट दिन उँदाउछ
घरको घुरीले बादल जन्माएपछि
गाँउमा बिहान हुन्छ
अनि
नागबेली गोरेटाहरू भएर गाँउ शहर पस्छ
दुधको साइत बोकेर महलहरूमा पस्छ
गाँउले हरेक बिहान शहरलाई बिउँझाउछ।

* * * *

तर अचेल गाँउलाई सञ्चो बिसञ्चो परिबस्छ
खोरेतले बाख्रा मर्दा
बर्ड फ्लुले कुखुऱा मर्दा
गाँउ हैरान हुन्छ
गरिखाने मेलो नै मासिन्छ
धरौटी नै रित्तिन्छ
यद्यपी नयाँ फिल्मको गीत कलर ट्युनमा हालेर
शहरको फोटो वालपेपरमा सेभ गरेर
हरेक साँझ बेरोजगार छोराहरू घर फर्कन्दा
गाँउलाई शंका लाग्छ
ब्युटि पार्लर पुगेर आएकी तरूणी छोरीको मुहारमा दाग देख्दा
गाउँलाई साह्रो डर लाग्छ
खोरेत र बर्डफ्लु भन्दा साह्रो
गाँउमा एड्स पस्ने डरले
शहरबाट फर्केका हर्कमानसित
अचेल हाम्रो सानो गाँउ थर्कमान छ।

* * * *

तरै पनि गाँउ नै सधैं शहरलाई
माथि उचालेर आफू तल परिबस्छ
विकास होला नी गाँउमा साँझ बिहान कुरा गरिबस्छ
तर विस्तारै गाँउलेहरू शहर पस्दैछन्
गाँउको आफ्नै घर छाडेर किरायमा बस्दैछन्।

Bhumi Raj Bastakoti – Om Brahmha

भूमिराज बस्ताकोटी – ॐ ब्रह्म

नयाँ सम्भावनाहरूसँगै
नयाँ वृन्दावनमा
आज डेरिडासँग
नाचौँ भैmँ लाग्यो ।

ए ! कौन्तेय कर्ण
आज चाहिएको छ नयाँ गर्भाधान
तिम्रो दानवीरता रूपान्तरित भएर
मानवतामा मानव बोल्नु छ
मलाई सिकन्दरदेखि घृणा छ
ती स्वतन्त्रताका जेलहरू
म किन नमागूँ, बुद्धका मुक्तिहरू
म किन नमागूँ आल्हादित रजनिशका आँखाहरू
जहाँबाट मौनताको चरम चुली चढ्न सकूँ म
ॐ ब्रह्म ।

ए ! नारी
तिम्रो कोमलतामा ‘सुनकेशरी’ पीडा बोल्छ
कति सहने हो त्यो निलो पीडा
घोट घोट ढुङ्गा घोट
आगो निकाल आदिमताको
जङ्गल जङ्गल स्वतन्त्र हिँड्नु छ
महान् यात्रा गर
ए ! कोलम्बस, शून्यबाट हेर
त्यो यात्रा बाटो नबिरायोस् ।

यात्रा शून्यकै हो ए आकाश
तिम्रा अनन्त सम्भावनाहरू
अनन्त मार्गमा रूपायित भएर
बोलाऊ यी भावनाका लहरहरू
तिमी शून्य, म शून्य
आनन्द शून्य
यो शून्यताको अनन्ततामा
एक पटक फेरि भन्छु
ॐ ब्रह्म ।

Rupesh Rai – Ajhai Pani Futaunu Chha

रुपेश राई – अझै पनि फुटाउनु छ !

हिँही..हिँही..
हिँड़ी रहने, खुट्टाहरू
पट्यार लागे पनि, गोजीमा हात
कति न्यानो राखेको हुन्छ,
देख्ने आँखाहरू,
टटाउँदा के भो र ??

‘एक्का दुक्की तीर्की’हरू
नमिलेसम्म, घरलाई भोकै लाग्दैन..!!
साचै सोध्नुहोस्..
तपाईको जुवाड़े स्वामीलाई,
भोक भनेको क्या हो ??
तर, होइन नसोध्नुहोस्

यहाँको गणितमा त ‘घटाउने’ मात्र छ..
‘जोड़न’ जान्दैनन्
‘गुणा’ गर्न त झन् आम्मामा..
‘भाग्’ गर्न अलि-अलि पाराल्याउँछ
हिजो, ‘त्यै’ क्षेत्रफल विषयमा
फलनाको घर फुटाएर…

वैयक्तिक स्वभिमान हाँस्दा-हाँस्दै
जुलुस कराउँदै थियो..
अझै पनि फुटाउनु छ
‘गाड़धन’। ‘गोजी’हरू च्यातनु छ
‘गोप्य भण्डार’हरू…
विश्व नफुटेसम्म… ।

Baldev Bhatta – Dhrubiya Bipatti Haru

बलदेव भट्ट – ध्रुबिय बिपत्तिहरु

सङ्कटकालिन भूगोलको जीवन-चक्र
धरापमा अभिसापहरु लुकाएर
चियाउँदै छन सुपरब्वाइजका भबिष्यहरु
डढाएर पैरवी आँखाहरुमा ।

रडारको आँकलनमा हिडेका
सर्बनाशी टाइटानिक यात्रीहरु
आफ्नै छातीमा घोपी रहेछन
बिनाशका जहरिला संगिनहरु ।

निलो समुद्र निला सपनाहरुसँग
रगतमा साट्दैछ आफ्नो वासस्थान,
सुनाखरी फुलाएर छातीमा मान्छेहरु
हेर्दैछन चराचरहरुको दाहसंस्कार ।

मैदानको अनुहार फुस्रीदै
जुत्ताहरुको भारी बोकेर,
मृत गोडाहरुलाई
सिकाउँदै छ जीवनको पाठ ।

आफ्ना गरिब सन्ततिहरुको निम्ति
ध्रुबिय बिपत्तिहरु जम्मा गर्दै
आजको रातो शिकारमा
क्रुर नियति पस्किइ रहेछन अभियन्ताहरु ।

Gopal Jhapali – Aaja Sagarmatha Hocho Bhayeko Chha

गोपाल झापाली – आज सगरमाथा होचो भएको छ

यो होचो संसारालाई धिक्कार छ,
अनि आफ्नो उचाईको घमण्डले संसारलाई किचेको सरगमाथालाई पनि धिक्कार छ ।
सगरमाथा तँ त आज म भन्दा पनि होचो भएको छस्,
मेरो पैतालमा परेको तँ, तेरा टाउका माथि उभिएको छु म ।
८ हजार ८ सय ४८ मिटरको तेरो उचाई आज होचिएको छ,
तँ माथि उभिएको मेरो उचाई झण्डै तँ भन्दा २ मिटर माथि उचालिएको छ ।
सगरमाथा भएकै कारण केचनालाई आँखा तर्ने धमास मेरा पाईतालामा मुनि पुगेको छ,
किनकी म त्यहि केचनाको छोरो सगरमाथा आरोहि भएको छु,
त्यसैले संसार मात्र होईन सगरमाथासँगै यो प्रकृती धसिएको छ ।

यो उचाई सधैका लागि मेरो हुनेछ,
अर्थात सगरमाथा म भन्दा होचो र म सगरमाथा भन्दा अग्लो भईसकेको छु ।
महलका रेलिङ्मा लेटिएर सडकको रमिता हेरेझै,
म अब सधैं सगरमाथाको टुप्पाबाट संसारको रमिता हेर्ने छु ।
मेरो उचाईका अगाडी यो संसार होचो भई सकेको छ,
खाल्डो अर्थात खाल्डो भित्रको भ्यागुत्ता मेरो उचाईमा कहिल्यै आउने छैन ।
म अव भ्यागुत्ताहरुको संसारमा छैन र भ्यागुत्ताहरु पनि मेरो संसारमा छैनन् ।
होचाहरु सवै मेरा लागि भ्यागुत्ता हुन र म मात्र रुख चढ्न सक्ने सिरिसे सर्प भएको छु ।
किनकी म त्यहि केचनाको छोरो सगरमाथा आरोहि भएको छु,
त्यसैले संसार मात्र होईन सगरमाथासँगै यो प्रकृती धसिएको छ ।

सगरमाथाको टुप्पामा पुग्न साथ संसारलाई यसरि होचो देख्ने,
अनि सगरमाथा भन्दा अग्लो भएको भ्रम पालेर सगरमाथालाई गिज्याउने ,
संसारलाई आफु सवै भन्दा अग्लो भएको सपना बाँढेर दिवालिया हुनेहरुलाई
सादय थाह हुँदैन होला सगरमाथा माथिको उचाई क्षणिक मात्र हो ।
केहि घण्टाको आरोहण पछि आफू पनि त्यहि होचो संसारमा झरेर,
त्यहि होचो संसार जस्तै होचो हुनु पर्छ ।
सायद, त्यस बेला उ अरु जस्तै होचो भएको हुने छ
अनि संसारको सवै भन्दा अग्लो उचाईको पगरि सगरमाथालेनै गुथ्ने छ ।
उसको आरोहणको उचाईमा अर्को कोहि पुगेर यस्तै सपना पाल्न थालेको हुने छ ।

लखनपुर –४ झापा

Tanka Subba – Duniya Bhitra Ko Natak

टंक सुब्बा – दुनिया भित्रको नाटक

शुन्य शुन्याकासमा…..
जन्म्यो होला कसरी ?
गोल गोल ब्रम्हाण्डको सुनौलो मञ्च
उघ्र्यो होला कसरी ?
फङ्लङ्ग
आग्लो घचेटेर यो सृष्टिको ढोका
भरियो होला कसरी ?
रोशनी
चारैतिर हरियाली
आए होलान् कसरी ?
दुनिया भित्रको नाटकमा
तमाम यी पात्रहरु
मिथ्या कल्पना जस्तो
एउटा दन्त्य-कथा जस्तो
कविले लेखेको कविता जस्तो
थाहा छैन तर पनि धकेलिदैं परिस्थितिसंग
बाध्य भएका छौं भोग्न
बेकसुर सजायहरु
समात्दैं अनिश्चित दिनका फेरामा
ब्यहोरी रहेछौ नाटकीय पलहरु
बाधिदै दायित्वको डोरीले
हिंड्न शाहस गरिरहेछौ
आपत्तकालिन गोरेटाहरु
कोरिदै वर्तमानको अस्पष्ट आकृतिहरुसंग
नाटकका परिदृश्यहरुमा
दोहोरिन्छन् उस्तै क्षणहरु
पोतिन्छन् उस्तै रङ्गहरु
यथास्थितिबाट अनुवाद भएर
विडम्वनामा
हासो अनि रोदन
जन्म अनि मृत्यु
टेकिन्छन् प्रत्येक पाइलाहरुमा
सजीव नाटकका फाटकहरुमा
थाहा छैन,
पर्दा खस्ने हो कहिले ?
समयको
ढोका बन्द हुने हो कहिले ?
सृष्टिको ।

Pushpa Khanal – Khai Kunni

पुष्पा खनाल – खै कुन्नि

सँगसँगै चालेथ्यौं पाइलाहरु हामीले,
खै ! हिंड्दा हिंड्दै कहाँनिर ठेस लागेछ कि कुन्नि ?
म वैशाखी खोज्न थालें
तर तिमीले त नेटो काटिसकेछौ

एउटै ओढेथ्यौं च्यादर दुवैले
खै ! Continue reading “Pushpa Khanal – Khai Kunni”

Tanka Subba – Asmita Ko Khatir

टंक सुब्बा – अस्मिताको खातिर

मुटु छेड्ने चित्कारहरुले
गाढा निद्राको तन्द्राबाट
एक्कासी ब्युझिएका छन् निद्रित मेरा आखाहरु
झस्किएका छन् भयभीत आवाजहरुले
र तत्काल दृष्टिहरु हुत्याउदा
देखे त्यहा हुलका हुल व्वासाहरु एकातिर
देखें त्यही निरीह मान्छेहरु अर्कोतिर
ढुङ्गा हानाहान गर्दैछन् तिनीहरु सडकमा
अस्मिताको खातिर

अध्यारो छैन
विडम्वना भैरहेछ मध्यदिनमा
सगबगाई रहेछन् भोको पेटमा
हिंस्रक जनावरहरु
क्षणभर मै कोतपर्व अपनाएर
बगाएका छन् रगतका नदीहरु
त्यसैले असुरक्षति भान भैरहेछ
आफ्नै धरती अस्मिताको खातिर
निरुपाय र असहयोगले
कमजोर भैरहेछन् मनस्थितिहरु
वर्वरतामा होमिएका छन् यथास्थितिहरु
जो आफ्नै देशमा पनि
बाच्नु परिरहेछ शरणार्थी झैं
त्यसैले बाध्य हुनु पर्दोरहेछ हतियार उठाउन
अस्मिताको खातिर

कोही चिथोर्दै छन् रक्ताम्मै पारेर स्वाभिमानलाई
कोही विशालु तरवार चम्काउदै छन् खतरा मोल्नलाई
वैमनस्यता बढिरहेछ मान्छेहरु बीच
सायद त्यसैले होला
तनावग्रस्त कुरुक्षेत्र जस्तै
गोलि हानाहान भैरहेछ
अस्मिताको खातिर

Prakash Thamsuhang – Hariyo Graha Ko Manchhe

प्रकाश थाम्सुहाङ – हरियो ग्रहको मान्छे

१.
तिम्रो लुगाभन्दा हजारौँ गुणा मैलो
कालो आयातित कम्बल ओढेर
निस्लोट सुतेको यो सहर
तिम्रो नाङ्गो पाइतालाको हस्तक्षेपले
बेस्सरी थर्किएछ जमिन
सहर आतङ्कित ब्यूँझियो,

२.
छक्क पर्‍यो सहर
अचम्भित भए सहरवासीहरू
कसको भयङ्कर पदचाप हो यो ?
हेर कस्तरी हल्लिएको हाम्रो पृथ्वी ?
यो भवन, टावर, सोपिङमल
यो धरहरा, घन्टाघर, सिंहदरबार
किन हल्लिएको यस्तरी ?
कुन ग्रहको जीव आइरहेछ यहाँ ?
अनेकौँ प्रश्नहरूको थाक बोकेर
सहर सोचमग्न उभियो,

३.
तिमी आइपुग्यौ
आफ्नो आदिम अनुहारको चमक बोकेर
तिमी आइपुग्यौ
गहुँगोरो पसिनाको गन्ध छरेर
तिम्रो काँधमा भिरेको हतियार
तिमी युद्धमा हिँडेको हुनुपर्छ
तिमीले पिठ्यूँमा बोकेको पहाड
टाउकोमा ओढेको सुर्जे
घाँटीमा बेरेको जङ्गली लहरा,
तिम्रो गहना हुनुपर्छ
चौडा छातीमा किरिङमिरिङ कोरिएका शब्दहरूले
तिम्रो उत्पत्तिको कथा भनेको हुनुपर्छ
तिम्रो आँधीजस्तो हिँडाइ
बिजुली चम्केजस्तो बोली
तिम्रो चट्याङ विचार
तिमी पक्कै देउता हुनुपर्छ,

४.
आकाश छुन अग्लिएका भवनहरू
चर्किदैछन् जगैबाट
यो सडक फाट्दैछ धुजा-धुजा भएर
कस्तरी काँपेका भित्रैबाट
लोडसेडिङले रतन्धो लागेका
यहाँका असङ्ख्य मान्छेहरू
कुनै ड्रगिस्टझैँ
कस्तरी लुगलुग काँपेका
यहाँका डरपोक शासकहरू
सम्भवतः यिनीहरूले इतिहासमा
अक्षम्य गल्ती गरेको हुनुपर्छ
सम्भवतः यिनीहरूले यो ब्रह्माण्डमा
भयानक अपराध गरेको हुनुपर्छ,

५.
तिम्रो शरीरमा मगमगाइरहेको
जङ्गली फूलको सुगन्ध
तिमी जङ्गलकै बाटो भएर आएको हुनुपर्छ
तिम्रो नश्ल, तिम्रो संस्कृति, तिम्रो सौन्दर्यचेत
तिमी अर्कै देशको हुनुपर्छ
जङ्गली तरूलजस्ता पाखुराहरू
सखुवाको रूखजस्ता बलिष्ठ हातहरू
तिमी अर्कै पृथ्वीको हुनुपर्छ
तिमीले कानमा सिउरेको बुकी फूल
र हातमा लगाएको काँडाहरूका बाला
तिमी पक्कै यो ब्रह्माण्डको
आदिम मानिस हुनुपर्छ,

६.
झ्याप्प सडकको बत्ती निभ्यो
जहीँको तहीँ रोकिए सवारीहरू
डिस्कोथेकमा कर्कश सङ्गीत बन्द भो
स्तब्ध भयो समय
मूर्तिवत उभिए मानिसहरू
शासकहरू कुनै अर्को षड्यन्त्रका लागि
गोप्य बैठकमा सामेल भए
विचारको सवारीमा तिम्रो आगमन
रातो ग्रहझैँ तिम्रो अनुहार
ओ ! सृष्टिको प्रथम मान्छे
तिम्रो नाङ्गो पाइतालाको हस्तक्षेपले
एकाएक यो सहरको गति ठप्प भयो,

७.
यो सहरमा
तिम्रो आगमनको अर्थ
तिम्रो उपस्थितिको प्रभाव
पूर्वानुमान थिएन यिनीहरूलाई
फलस्वरूप विसङ्गतिले निर्मित यिनीहरूको चिसो मस्तिष्कमा
तिम्रो सटिक विचारको आक्रमण
तिम्रो सटिक तर्कको प्रत्याक्रमण
तिम्रो साँध-सिमानाको दस्तावेज
तिम्रो स्वतन्त्रताको खबरदारी
यस्तरी बजि्रएछ कि
गिदी छताछुल्ल निस्कियो
र तिमी घोरियौ निकैबेर
छामी हेर्‍यौ अनि चाख्यौ छरपस्ट गिदीलाई
कुनै खास जनवारको गिदी तिम्रो स्वादिष्ट भोजन
जस्तै लागेको हुनुपर्छ तिमीलाई,

८.
ल्याएर विचारको सुनामी
छरेर बीउ उत्सुकताको
आतङ्कित, भयभीत, स्खलित
यो सहरबाट
तिमी फर्कियौ आफ्नै बाटो
तिमी फर्कियौ आफ्नै भूगोल
तिमी फर्कियौ आफ्नै पृथ्वी
ओ पि्रय हरियो ग्रहको मान्छे !
तिम्रो नाङ्गो पाइतालाको पदचाप
यो सहरको चिसो छिँडीमा बसेर
ध्यानपूर्वक सुनिरहेछ एउटा कवि
प्रेमपूर्वक सुनिरहेछ ऊ, नेपथ्यमा बिलाउँदै गइरहेको
तिम्रो नाङ्गो पाइतालाको पदचापलाई ।

Komal Shrestha Malla – Hasi Hasi Ude Ude Ma (Nepali Geet)

कोमल श्रेष्ठ मल्ल – हासी हासी उडे उडे (गीत)

हासी हासी उडे उडे … म
नाची नाची खुले खुले … म
पिरतीको चोखो चोखो
योवनको धोको धोको
फिजाउदै डुले डुले डुले डुले म ।

मन्द मन्द सुवासको
बाचा बन्धन Continue reading “Komal Shrestha Malla – Hasi Hasi Ude Ude Ma (Nepali Geet)”