Saroj Dhital – Retaasur Ko Raajya Ma

सरोज धिताल – रेतासुरको राज्यमा

यही ठाउँ हो त्यो
तिमी र म उभिएको ।

जहाँ कविता र सङ्गीत
सुगन्ध र हरियाली
अनौठो बिल्कुलै लाग्दैनथ्यो
छोइदिएपछि मान्छेको मायाले फेरि
हृदयको शूल जाग्दैनथ्यो ।

विनम्र, लज्जालु हरियालीमा त्यो
टुसाएछ कुनबेला मृत्युको अङ्कुर !
हुर्किएछ कसरी, झाङ्गिएछ कतिबेला
जगतै ढाकेर यो रेतासुर !

वीणाका झङ्कारहरू
निस्कन नपाई तारहरूबाट
हावामै सुक्छन्, जम्छन् र धारिला वाण बन्छन्
बगेका कविता अक्षरहरू
लठारिन्छन् अराजक भई र चर्का नारा बन्दछन् ।

बिउँझौँ प्रिये !
हरियाली र सगन्धको धङधङीबाट
र आँखा खोलौँ
हेरौँ यी अमान्छेहरूको संसार
कति निर्लज्ज भई
यिनीहरू गरिरहेछन्— हेर न मृत्युको व्यापार !

अब चुप लाग्नुको कुनै अर्थ छैन
निष्फिक्री गाइदेऊ तिमी
बने बन्न देऊ— तानहरू सब वाण बन्लान्
अब त लेख्छु मै पनि कविता
भने भन्न देऊ—मार कविलाई हान भन्लान् !