Aryabiman Chitrakar – Samarpan

आर्यविमान चित्रकार – समर्पण

एउटा स्पर्शले तिम्रो यहाँ
हजारौ कम्पनहरु पैदा गर्छन
एउटा मुस्कानको लागि तिम्रो
कोहि लाखौ सौदा गर्छन
ती लाखौ सौदाहरुका माझ
अल्झिएको यो मेरो मन
गर्दैछु तिमिप्रति समर्पण

एउटा Continue reading “Aryabiman Chitrakar – Samarpan”

Rakesh Karki – Bideshi Baato Ra Deshko Maato

इन्जिनियर राकेश कार्की – विदेशी बाटो र देशको माटो

झुक्याउला तिमीलाई विदेशी बाटोले
सम्झिने छ सधैँभरी देशको माटोले

फेरिन खोजौला भाषाले
रुपले अनि भेषले
बदलियौला तिमी खैर
चिनिरहला देशले

भुलौला तिमीले संस्कृति
आफ्नैपन र रीतिथीति
विदेशी हुँ तिमीले भनेपनि
देशले नै गर्छ मायाप्रीति

दिनरात गरी कमाउला
गाडी महल के के होला
तैपनि देशकै छहारीले
थाकेको तिम्रो मन छोला

पढीलेखी धेरै फुलौला
देशलाई बिर्से झैँ गरौला
जति चढे पनि अन्तमा
आमाकै काखमा झरौला

झुक्याउला तिमीलाई विदेशी बाटोले
सम्झिने छ सधैँभरी देशको माटोले ।।

– लस् एन्जेलस्

Biplav Pratik – Yug Prabesh

बिप्लव प्रतिक – युगप्रवेश

म ती दिनका कुरा गर्दैछु
जब सूर्य पनि आङ तान्दै
आफ्नो गुफाबाट निस्कन्थ्यो
अनि म ती रातका कुरा गर्दैछु
जब चाँदनी मस्किँदै
आफ्नो आश्रयबाट सुस्तरी ओर्लन्थी
बिहान मोतीभन्दा Continue reading “Biplav Pratik – Yug Prabesh”

Pravin Rai Jumeli – Gaunomics

प्रवीण राई जुमेली – गाँउनोमिक्स

अभाव आँशु र परिश्रमहरु गाँउमा फुल्छन्
यसैले हाम्रा आमा-बाबुहरु पनि गाँउमै बस्छन्
सुख त शहरको फँडानीभित्र पर्छ ‘रे
गाँउमा उनीहरु यसैले त भुक्तभोगी छन्

जुन हिँउदमा Continue reading “Pravin Rai Jumeli – Gaunomics”

Binod Khadka – Maile Koreko Merai Kabita

बिनिद खड्का – मैले कोरेको मेरै कविता

मरुभुमीका ढेर
अर्थहिन बालुवामा छटपटिदै
समुद्रको पल्लो क्षीतिज नियाल्दै
बिहानीदेखी अर्को बिहानीसम्म नै
म मेरा अविरल पाईलाहरु नाप्दै गरेको हुन्छु ।

निराशाका बादलभरी
एउटै आकाशको आभाशले
आशाका तानाबाना संगै
कहिल्यै नहराएको
म मेरो देश खोजि रहेको हुन्छु ।

अस्तित्व अस्तित्व
खोई मेरो अस्तित्व ?
म मेरो अस्तित्व नै खोजि रहेको हुन्छु ।
हर पल हर क्षण
भिडहरुमा
शहरहरुमा
अनि खुल्ला आकाशहरुमा
म मेरो अस्तित्व नै खोजि रहेको हुन्छु ।
धेरै टाढा भए पनि
मेरो एउटा सुन्दर देश
मलाई मेरो अस्तित्व बोध गराई रहेको हुन्छ
म गौरव गर्छु ।

मृगतृष्णा,
उफ मृगतृष्णा
कति कष्टकर यो मृगतृष्णा
मिल्ने आशामा
मेटाउन पो खोज्दो रहेछ
कति कठोर यो मृगतृष्णा
फेरी पनि
म मृगतृष्णाकै पछि दौडि रहेको हुन्छु ।

अँध्यारो
नितान्त अँध्यारोमा जस्तै
हराउँदै हराउँदै
अनि फेरी हराउँदै
म मेरो परिचय माँगी रहेको हुन्छु ।
मेरो एउटै परिचय
मेरो एउटा सुन्दर देश
धेरै टाढा भए पनि
टाढाको यो मानब बस्तिमा
मेरो परिचय दिई रहेको हुन्छ
म गौरव गर्छु ।

खाली हातभरी
बग्रेल्ती आशाहरु सँगाल्दै
सपनाको सँसारमा रुमल्लिँदै
सुखी जीवनकॊ लालषाभित्र
म निरासाको बाँध बाँधी रहेको हुन्छु ।

सबै यहाँ सपना जस्तो लाग्दा पनि
मृगतृष्णाको जालभित्र
विपनाको अभिनयमा जुटि रहेको हुन्छु ।

किनभने
म एक प्रवासी नेपाली हुँ ।

Rakesh Karki – Mantri Jyu Lai Fursad Chhaina (Nepali Gajal)

राकेश कार्की – मंत्रीज्यूलाई फुर्सद छैन

झारपातको नाता पर्न मंत्रीज्यूलाई फुर्सद छैन
गरीबको झोली भर्न मंत्रीज्यूलाई फुर्सद छैन

भोकले मरोस् या बन्दुकले मरोस् देशवासी
जङ्गलमा झैँ सँगै चर्न मंत्रीज्यूलाई Continue reading “Rakesh Karki – Mantri Jyu Lai Fursad Chhaina (Nepali Gajal)”

Bhupin Byakul – Jeewan Ko Gati

भूपिन ब्याकुल – जीवनको गति

मा पक्रन खोज्छु जीवनलाई
कुनै सिकारु फोटोग्राफरले
क्यामरामा पक्रन चाहेझैं चट्याङको कला

आकाशमाकालो बादल लागिरहेछ
छिनछिनमा आइरहन्छ डरलाग्दो आवाज
र छिनछिनमा परिरहन्छ चट्याङ
कुनै पेसेवर सर्जनले झैं
चट्याङले गरिरहन्छ
बिरामी आकाशको सफल अप्रेसन

म निको पार्न चाहन्छु
छातीको घाउ !

बर्षौदेखि उभिइरहेको छु
आकाशतिर फर्किएर
र चोरऔंला तैयार राखेर बटनमाथि
जब संकेत पाएर चट्याङको
थिच्छु मा क्यामराको बटन
चट्याङले बनाएको सुन्दर चित्र
आकाशमा मेटिइसेकको हुन्छ !

हरपल
म पक्रन खोज्छु जीवनको गति !

Baidyanath Upadhyaya – Paryaya

वैद्यनाथ उपाध्याय – पर्याय

नहेर मलाई
तिम्रा बैंशालु नजरले
यो छाती मेरो
चिरिएर दुख्छ !

न देउ माया
तिम्रा कोमल स्पर्शहरूले
मेरो मुटू त्यसै
टुक्रा टुक्रा भएर फुटछ!

कहाँ मेरो भाग्य
तिमिलाई म पाऊँ
निको भै सकेको घाउ
बल्झिएर उठछ !

कति पीरहरूले
सँधै बास दिए
मेरो यो यात्रा
धेरै चौतारीले छेक्छ !

हिंडिरहेछु
हिंडिरहेछु
बाटो नै जीवनको
पर्याय भएको देख्छु ।

Tanka Subba – Jiwan Chitra

टंक सुब्बा – जिवन चित्र

यो समयको क्यान्भासमा
खै ! कसरी कोर्ने होला ?
अस्तित्वको कुचीले आफ्नै जिवनचित्र
जहाँ मैले चाहे जस्तै समयहरु
पर्याप्त छैनन्
र मैले खोजे जस्तै रङ्गहरु छैनन
म मात्र देख्छु
धमीला किरीङमिरीङ ,धर्सैधर्सा र थोप्लाहरु
मलाई लागिरहेछ मेरा लागि
पर्याप्त समयहरु यिनै हुन्
त्यसैले जीवनचित्रलाई
आफ्नै सीप र कलाले रङ्ग भर्न थाल्छु
आफ्नै मेहनत र खुशीले रङ्ग पोख्न थाल्छु
र जीवनलाई मूर्तआकृतिमा
उतार्ने प्रयास गर्छु
जीवनको फैलावटमा आउँने
दुख कष्टहरुलाई कुल्चदै
स्वतन्त्र बिचार उभ्न खोज्छु
स्वतन्त्र भावना बाँच्न खोज्छु
तर हरेक नयाँ समयले
नयाँ रङ्ग घोप्ट्याई दिन्छ
र नयाँ रङ्गीन दिनको सुरुआत गरिदिन्छ
तिनै दिनहरुसँग रम्न थाल्छु
आत्मियता गाँस्न थाल्छु
क्षणहरुसँग घोलिन थाल्छु
तव सोच्छु जीवनलाई
कस्ता दिनहरुसँग सामेल गराउँ ?
जहाँ चाहे जस्तै दिन बिताउँन पाईयोस्
जहाँ ब्यवधानहरुलाई कुल्चिन सकियोस्
यसरी म सरल ढङ्गले सोचिरहन्छु
अस्तित्व र जीउँनुलाई जीवनसँग जोडेर सोच्छु
सोच्दासोच्दै दिवास्वप्ना देख्न थाल्छु
त्यहाँ पनि यथार्थ भोगाईहरु अनुभव गर्छु
सवै कुरा उस्तै पाएपछि
लाग्यो समयको रङ्ग
जहाँ पनि उस्तै हुँदोरहेछ
तसर्थ समयको क्यान्भासमा
अनेकौं रङ्गहरुले उदाएका दिनहरु
छाम्न खोज्दा अनायासै वद्ली दिन्छन्
तर पनि आफ्नै हिसावले बाँच्नुको आयतनमा
उपायका हातहरुले निरन्तर रङ्गार्इरहेछु
आफ्नै जिवनचित्र

Chhabi Anitya – Gurans Ra Youbana

छवि अनित्य – गुराँस र यौवना

भञ्ज्याङ्ग काटेर उकालो लाग्दै गर्दा
दुई थुँगा गुराँस बोकेकी
तिमीलाई देख्दा लाग्छ
मैलाई नै पर्खिरहेकीछ्यौ,
ति गुराँसका थुँगा
मेरा लागि सौगात हुन्,
अनि कुहिरोमाथिको त्यो देउराली
मेरै स्वागतको लागि हो
जहाँ तिमी उभिएकी छ्यौ

हातभरि गुराँस फुलाएर
जब हिमश्रृंखला झै दन्तलहर मुस्काउँछौं
पाइला टक्क अडिन्छ त्यहीँ—
ती दन्तलहरमा वा उसको हाँसोमा
बादल माथ गर्ने केश या उसको जञ्जीरमा
रित्तिँदै गरेको शिशिरले छोएको गाला
वा त्यसको लालीमा
त्यो गर्विलो छाती वा त्यसमा उठेका नितम्बमा
भलै तिमी गुराँस फूलले रोक
तर गुराँस बेच्ने केटी !
म तिम्रो गुराँस किन्दिन ।
अभ्यस्त बनाउँदिन तिमीलाई
गुराँस बेच्ने बहानामा
मादक हाँसो हाँस्न
अनि गर्विलो छाति फुकाउन ।
हो, म तिम्रो गुराँस पैसामा किन्दिन ।

तिम्रो गुराँस फूलको बदला
बरु तिमीलाई
पारिजातको शिरिषको फूल दिन्छु
अनिँदो पहाडदेखि नजन्माएको छोरो
अनि तसलिमाको लज्जा
र प्यासभित्रको बिद्रोहहरु दिन्छु,
तर गुराँस बेच्ने केटी,
म तिम्रो गुराँस किन्दिन ।
माटो बेच्नेहरुको देशमा आज फूल बेच्न अभ्यस्त तिमीले
भोलि फूलजस्तै यौवन
नबेचौला भन्न सकिन्न,
बरु फूल किन्नेहरु कुर्ने यो एकाध घण्टा
यौटा सुन्दर अक्षर पढ…

रेडियो थाहा संचार,एफ एम ९९.६, हेटौंडा

Komal Shrestha Malla – Piunchhu (Muktak)

कोमल श्रेष्ठ मल्ल – पिउँछु (नेपाली मुक्तक)

कतै हारेर
पिउँछु म
कतै मरेर
पिउँछु म
जिवन जिउन
जिवन खोजेर
पिउँछु म

Bairagi Jetha – Lal Bahadur Lai Samjhiyera

वैरागी जेठा – लालबहादुरलाई संझिएर
(मधुपर्क २०६६ भदौ)

लालबहादुरले
समाएर पड्काइएका गोली चुमेर
पढ्छ माक्र्सवाद
गरिब किसानको छोरो
एउटा सिपाही भएर
भयङ्कर भुँवरीमा
होमिएर सहिद बन्छ
एउटा गुराँस फुलाउन
पत्थर चट्टान छेडेर
फक्रिन्छ
न्यायका चिमाल
हिमाली गाउँ
वनमारा फाँडेर
ऊ अग्राख रोप्दै छ
एउटा सुन्दर फाँटमा
काँस र खरको झाडीमा आगो झोसेर
मानव सभ्यताका लागि
सदाझैँ
युद्ध लडिरहन्छ
एउटा मानव जन्माउन
इमानदार भएर
वर्गीय समाजमा
मोर्चामोर्चा बनाउँदै
नेपाली पहिचान खोज्छ
गरिब किसानको छोरो
जीवनलाई थाती राखेर
माइन चुमेर हिँड्छ
हजारौँ जङ्घारहरू
टकटक आवाजमा
शत्रुका किल्ला कब्जा गर्न
रात विरात भन्दैन ऊ
एकनास
माइन बोकेर
लालबहादुरझैँ
राष्ट्रिय आस्थामा रमाइ

पहाडको टुप्पोमा पुग्न खोज्दै
मानवीय गीत गाउँछ
ढाक्रेले गाएझैँ गाउँछ
मेसिनकगनसँग
जुधेका कथाहरू सुनाउँछ
लालबहादुरझैँ
मुटु छेडेर
भलभल रगत बग्दा पनि
आत्तिदैन
निरन्तर लडिरहन्छ
राष्ट्रियताको झण्डा फरफराउँदै
लालबहादुरजस्तै
साहस झिकेर
नेपाली माटो जोगाउन
हातका ठेला हेर्दै
नदीको वेग भएर

वर्गीय युद्ध लडिरहन्छ
सुन्दर गुराँस फुलाउन ।

-नुवाकोट

Komal Bhatta – Milayera Hatai Garaun Prem Sancho

कोमल भट्ट – मिलाएर हातै गरौँ प्रेम साँचो
(प्रणय दिवसको उपलक्षमा हार्दिक शुभकामना सहित)

मिलाएर हातै गरौँ प्रेम साँचो
बिते बित्छ रातै गरौँ प्रेम साँचो

नजर क्यै झुकाई लजाएर घुम्टो
उघारेर बातै गरौँ प्रेम साँचो

पिई प्रीत धारा अधिक लट्ठ पर्दै
बढाएर मातै गरौँ प्रेम साँचो

उदाई बिहानी चरी चिर्र गर्दा
बनी फेरि तातै गरौँ प्रेम साँचो

अपूर्वै मिलनले मधुर जिन्दगीको
रची गीत खातै गरौँ प्रेम साँचो

दिवस प्रेमको यो बनोस दिव्य धारा
न होस् तुच्छ घातै गरौँ प्रेम साँचो

( भुजङ्गप्रयात छन्द )
गण :- य य य य
सूत्र:- ISS ISS ISS ISS
पुरानो नैकाप,काठमाडौँ / हाल:-न्युयोर्क,अमेरिका

Saroj Dhital – Samaroha

सरोज धिताल – समारोह

ऊ आयो
मलाई बोलायो, म आएँ
उसले भट्ट्यायो
मलाई लगायो, मैले पनि भट्ट्याएँ ।

गम्भीर थिए श्रोताहरू
अझै गम्भीर भएर मुखामुख गर्दै रहेछन्
“ठूला मान्छे रे यिनीहरू त !
ठूलठूलै कुरा गर्दा रहेछन् ”

ऊ मुसुक्क हाँस्यो
मतिर हे¥यो, म पनि फिस्स हाँसिदिएँ
ऊ फर्कियो
मलाई बिदा ग¥यो, म पनि फर्किएँ ।

अर्को वर्ष
अर्को तक्मा पाएको खबर उसले पठायो
“फोटो खिच्न म आउँछु
हवाइजहाजको टिकट पठाइदेऊ ”
मैले पनि चिठी पठाएँ ।

Birkha Chhetri Kranti – Mero Gaadi

बिर्ख छेत्री “क्रान्ति” – मेरो गाडी

मान सरोवरको ताल नाघ्दै,
सिन्धुघाटीको भञ्ज्याङ्ग काट्दै,
नाइल नदीको पूल तर्दै,
२१ औं शताब्दीको,
मेरै टोलतिर उडिरहेको छ
मेरो गाडी ।

मेरो टोलमाः
युरियाको ड्याङ्गमाथिः
लाइ लागेका सिस्नुको झोल खाएर म अर्गानिक डकारिरहेको छु ।
रातो कमिलाले खाएका मानेका गानाका नाबो गुबाहरु पिएर,
अर्गानिक फार्म चलाउने गुमोज बुनिरहेको छु ।
धर्के जुकाले छोडेका डौंठे निगुरो फ्राइ गरेर,
अर्गानिक बासना छोडिरहेको छु ।
बोन्साइ टिम्मुरका पातहरु सुँघेर,
गाउँको पुराण साक्षी बकिरहेको छु ।

मेरो टोलमाः
कठपुतली मान्छेहरुः
लाशको लिलाम घटाघटमा,
मलालीहरु प्रतिस्पर्धा गरिरहेछन् ।
अघोरी बाबाको माला लगाएर,
मूर्दाको शिकार गरिरहेछन् ।
विशाक्त प्रसान्त फिँजाएर,
श्रीखण्डको झाडी बगाइरहेछन् ।
आकाशको छाला खुइल्याएर,
वर्षाको घैला सुकाइरहेछन् ।
हिमालका बुर्काहरु च्यातेर,
मस्तले टायरको नसा तानिरहेछन् ।
महान दुव्र्यसनीहरु,
मानव अधिकारको लागि धरती डढाइरहेछन् ।

मेरो टोलमाः
मान्छेलाई गर्व छः
लुटी खान पाएकोमा,
दासताको वाक स्वतन्त्रता खेल्न पाएकोमा,
आलोचना शास्त्रको दीक्षान्त लिन पाएकोमा,
बत्तीका पुतली भएर,
सभ्यताको साइनाइडमा लाश हुन पाएकोमा ।

तर
मान्छे आत्मलज्जित छः
आफैंले गरिखानु परेकोमा,
आफैंलाई आत्मसम्मान गर्न नजानेकोमा,
कस्तुरी भएर काशी घुम्नु परेकोमा,
आफैं ईश्वर भएर पनि,
स्वर्गमा नर्क ओछ्याएर सुत्नुपरेकोमा ।

यी गुराँसका वन र,
सिस्नुका झ्याङ्गहरु पछि हुत्याउँदै,
विचारका गोलाइहरु उक्लिँदै,
शताब्दीको हर्न बजाएर,
मनको महाभारततिर उडिरहेछ
मेरो गाडी ।

-दोलखा

Biwash Pokhrel – Gaun Ma Euta Sanjh

विवश पोखरेल – गाउँमा एउटा साँझ

पहाडको मायालु छातीमाथि
निर्धक्क टाउको अड्याएर
एउटा थकित दिन
विश्राम लिने तरखरमा छ

गुलाबी बिछ्यौनामा निश्चिन्त
सुतेजस्तो देखिन्छ पहँेलो घाम
निर्जनता छिचोल्दै–
निर्बाध बगिरहेछ नदी
चिरबिर चिरबिर गाइरहेछन् चराहरू
समयको उदास गीत

एउटा सग्लो दिनको अन्त्य गरेर
गोधूलिसँगै फर्किरहेछन् गोठालाहरू
पिठ्ँयूको दाउराको भारी पिँढीमा बिसाएर
कमिजको फेरोले निधारका पसिना
पुछिरहेका छन् एक हुल गाउँले
तुरतुरे धारोमा
माटो सुगन्धित फरुवा पखाल्दै
सन्तुष्टिका स्नान गरिरहेछन् किसानहरू

दिनभरि मेलापातमा हराएकी
आमाको न्यानो काखमा लुट्पुटिंदै
निस्सासिंदै चुसिरहेछ एउटा बालक
आमाको गानिएको दूध
गोठमा गाँसिदै छन्
बिहानी पूर्वाद्धमा फुकेका
बस्तुका असरल्ल दाम्लाहरू
एउटा सिलसिलाको
नवीकरण गरिरहेछ समय

क्रमशः आँखाबाट ओझेल परेको छ
अनवरत यात्रारत एउटा दिन
जीवन समरमा हारेको छ समय
गाउँलेहरू मनाइरहेछन्
समयको पराजयमा एउटा विजयोत्सव
पाहुनाजस्तै –
प्रकृतिको ढोकाबाट भर्खरै भित्रिएको छ
गाउँमा एउटा साँझ ।

Shreeshisha Rai – Akshar Haru

श्रीशीशा राई – अक्षरहरु

निम्तो पठायौ विश्वासको खाम हालेर
म कलम लिएर आएँ

कुटील मुस्कुरायौ अंकमाल ग¥यौ
आत्मियता स्विकार्न मैले
कलम च्यापेको हातले तिमीलाई अंगालेँ
अंकमाल गर्ने बहानामा तिमीले
मलाई पिठ्युँमा छुरा घोप्यौ
म एक्कासी कहालिएँ
कलम भुईमा खस्यो

तिम्रो निम्तो मान्न म कलम लिएर आएँ
मलाई स्वागत गर्न तिमी छुरा लिएर आयौ

यी भत्किएका सीमाहरुको घाइते बनेर म अहिले
अस्पतालको शैय्यामा असुरक्षित पल्टिएको छु
कलम भुईमा छ

असामान्य आवाज कहालिएको मेरो चित्कार
सारा संयन्त्रहरुले सुने
तर त्यो कुनै संगीत थियो
रक्ताम्य हातहरुले जीवन मागिरहेको देखे
तर त्यो कुनै रमीता थियो
मेरो कलम अहिले सडकमा छ

यही बाटो भएर
पजेरो–संयन्त्र र स्कर्टिङका चक्काहरु
मेरो कलम कुल्चँदै अघि बढिरहेछन्
अक्षर जति निचोरेर वर्दि र लाठीहरु
कलमलाई चौकहरुमा निषेध गरिरहेछन्
अक्षरहरु हतार हतार पम्प्लेटमा सिउरिएर
भीड र टाउकाका ताज बनेका छन्

तिमीले उमारेका यी
अमुक पीडाहरु वापत तिमीले स्यावासी पायौ
विस्वासको मुहानहरुका यी अस्वाभाविक भङ्गिमाहरुले
मेरो शीर निहुरिएको छ
कलमवाट छुटेर अक्षरहरु
तिम्रा विकृत पाइला र आवाजहरु स्तब्ध पार्न
तिखो सल्बलाईरहेछन्

तिम्रा ताण्डवहरुको मुकदर्शक
तिमीले निलेका यी पजेरो र चक्काहरु
कुनैबेला मेरा आस्थाका शीरफुल थिए
अहिले
कलमले कोरेको घाम छेक्न खोजीरहेछन्
घामै अर्घेलो भएपछि
तिम्रो कुनै फुलबारीमा अब रंग टुसाउनेछैन
कुल्चँदैमा कलमको भाषा भाँचिनेछैन
तिमी क्षीण सम्भावना र नाजुक विकल्पहरुको उत्कर्षमा छौ
अक्षरहरुको घेराबन्दीमा छौ तिमी

यहीँ नेर
तिम्रा ताण्डवहरुको अन्त्य हुनुपर्छ
सारा विषाक्त शैलीहरु
अक्षरहरुको कठघरामा उभिनैपर्छ
कलम हातमा हुनुपर्छ
अक्षरहरुसँग खेल्नुपर्छ

धरान

Basanta Mohan Adhikari – Aja Pani Yo Sanjh Ma Maile Khana Khaina (Nepali Gajal)

बसन्त मोहन अधिकारी – आज पनि यो साँझमा मैले खाना खाइन

आज पनि यो साँझमा मैले खाना खाइन
चामल किन्न गाकी आमा अझै पनि आइन

चाडपर्व दशै तिहार गाउँघरमा आए
हाँसो खुसी उमंगको कहिल्यै गीत गाइन

कालीकोटको Continue reading “Basanta Mohan Adhikari – Aja Pani Yo Sanjh Ma Maile Khana Khaina (Nepali Gajal)”

Gautam Rimal – Bhugol Ra Aatmiyata

गौतम रिमाल – भूगोल र आत्मीयता
(असोज मधुपर्क, २०६८)

इतिहासको पाना पानामा
वीरताको रक्तसञ्चार भएर
कोरिएका हाम्रो आमाका अङ्गप्रत्यङ्गहरू
कहिले कालापानी गडेर मुटु चिस्याउँछ
त कहिले खुर्दलोटन बाँधिएर
पानीमा निस्सासिन्छ
समयको अन्तरालमा
आमाको नाङ्गो कुर्कुच्चा र पाइतालाहरू
सिमाना बनेर चरचरी चिरिए, चिथोरिए
मातृभूमिको योगदान चुकाउने अभिनयमा
मातृभूमिकै छातीमा कुल्चिएर
धेरैले ढोलक पिटे, कुल्चिएर
रङ्गमञ्चमा नाटक मञ्चन भैरहृयो
मात्र पात्र र शीर्षक फेरिदै रहे
देशप्रेम र सुशासन छताछुल्ल बिस्कुन बनाइयो
तर मानसिकताले दासताको माखेसाङ्लो भेद्न सकेन
उही धमिलो आहालमा डुबुल्किएर
भागीरथ गङ्गाको स्नान सम्झनु !
मुखमा रामनाम जपी
बगलीमा छुरा धस्नू !
यो कस्तो राष्ट्रियता महोदय ?
त्यसैले अब मन मुटुहरूमा गुट र फुटको रेखा होइन
आत्मीयपन रेखाङ्कति हुनुपर्दछ
मेचीलाई घाउ दुख्दा कालीले मलमपट्टी गर्नुपर्दछ
अबको नयाँ नेपालमा
हरेकको मन मस्तिष्कमा
मात्मीयपनको राष्ट्रियता
र स्वाभिमानसहितको स्वाधिनतायुक्त
भावनात्मक रेखा कोरेर
आमाको दुखेको घाउमा मलमपट्टी गर्नुपर्दछ ।

Saroj Dhital – Ghau (Nepali Short Poem)

सरोज धिताल – घाउ

गहिरो पीडा
वर्षाको चोट्को हो कि
हिउँदको खतको ।

फरवरी, २००४