Shrawan Mukarung – Aghi Jasto

अघिजस्तो म–
तिमीलाई मनै नपर्ने अब कहाँ छु र !
जसरी–
खन्यूको जराबीच लस्करै पस्छन् राता कमिलाहरू
त्यसरी नै–
मेरो मस्तिष्कको चेपबाट निस्केका करुण र पुंसत्वहरू
भागिहिँड्ने अर्थहरूले
अलपत्रै छाडेर गएका शब्दका जिउँदा टुहुराझैँ
तिम्रो हृदयको छानोमुनि ओत मागिरहेछन्

अघिजस्तो म–
अल्लारे/नागा/भङ्ज्याहा/बेरोजगार/व्यवस्थाविरोधी कहाँ छु र !
जसरी–
हरेक बिहान सूर्यझैँ उदाउँछ–इ्च्छा
अन्तिम प्रहर कराउँछ– चिभे चरो
एकोहोरो बगिरहन्छ खोलो– क्षणको
म त्यस्तो भएको छु ।

मलाई एकपल्ट हेर्न आयौ भने तिमी
छक्क पछ्र्यौ
मेरो अनुहारको रापमा तिम्रो आँखाको उज्यालो सल्किएर
मैनबत्तीझैँ पिलपिल–पिलपिल पिलपिलाइरहेको हुनेछ
गाढा रातजस्तो हाम्रो अतीतलाई
पश्चातापका हाँगाहरूमा बुद्रुक–बुद्रुक उफ्रिहिँड्ने
सपनाका किरणहरूले ठुँगेर
रगताम्ये बनाएको हुछेछ

अघिजस्तो म–
तिमीलाई तिर्खै नमेटिने पानी कहाँ छु र !
मेरो छातीबाट यौटा सम्भावनाको गोरेटो
तिमीलाई मन पर्ने क्षितिजसम्म फैलिएको छ
अग्लो पहाडको काँधमा टेकेर फेरि अर्को पहाडलाई कुल्चिनु
फेरि अर्को पहाडलाई कुल्चिनु
तिमी सक्छ्यौ अब ।

यौटा ऐना–
घरी खोपा, घरी ताक, घरी ओछ्यान
यौटा पुस्तक–
घरी सिरानी, घरी आलमारी, घरी दराज
यौटा फूल–
घरी गमला, घरी आम्खोरा, घरी केशराशी
जहीँकहीँ राख्न सक्छ्यौ अब ।

अघिजस्तो म–
तिमीलाई दिक्कै लाग्ने कुनै बर्खे झरीजस्तो अब कहाँ छु र !
जसरी– छोड्छ लती अफिमको गहिरो लत
फेर्छ आँसु आफ्ना पीरका थोत्रा लुगाहरू
त्यसरी नै– म तिमीलाई सुहाउने भइसकेँ
एकदम सुहाउने ।

Nishprav Saji – Sapana Akash Ra Basti Haru

निष्प्रभ सजी – सपना, आकाश र बस्तीहरू

यी टुक्रा टुक्रा बादलहरु
जोडीए हुन्थ्यो एकै चोटी

जे हुनु छ
भए हुन्थ्यो छिट्टै
भोली सखारै खुले हुन्थ्यो आकाश
धेरै भयो
क्षितिजमा नपोतिएको इन्द्रेणी

पर्नै खोजेको भए
परे हुन्थ्यो चट्याङ
बग्नै खोजेको भए
बगे हुन्थ्यो पहाड

म होश मै छु
र मलाई यो पनि थाहा छ
हामी
पहाडकै जरा समातेर झुण्डिएका छौं

हुन त, यो अँध्यारोमा
कहाँ जिउँदा छन् र बस्तीहरु !

हेमजा, कास्की, हाल: अष्ट्रेलिया

Rajendra Shalav – Jangal Ko Kunai Kanoon Hundaina

राजेन्द्र शलभ – जंगलको कुनै कानून हुँदैन

उनीहरू शहर पसेका छन्
र,शहरलाई पनि जंगल ठानिरहेछन्
जंगलको कुनै कानून हुँदैन

आफ्नो अनुहारमाथि
अर्को अनुहार टाँसेर
उनीहरू शहर पसेका छन्

हितैषीको भ्रम पारेर
उनीहरू हाम्रो विश्वास जिस्किरहेछन्
उनीहरू हाम्रो भविष्य खेलिरहेछन्
उनीहरू हुल बाँधेर आएका छन्
हामीहरू एक्लै – एक्लै
निधारका रेखाहरू खुम्च्याएर
आगत र अनागतमै अल्झिरहेछौँ

उनीहरू योजनाबद्ध छन्
उनीहरूलाई थाहा छ – एकान्त धमिरा हो
उनीहरूले हामीलाई एक्लो बनाइरहेछन्
धमिराले भित्रभित्रै खोक्रो पारिरहेछ
धमिराले थाहै नदिई मक्काइरहेछ
तै हामी एकान्तलाई सिर्जनाको भ्रम बाँचिरहेछौँ

उनीहरू निर्धक्क छन्
भोलि सम्झेर उनीहरू दंगछन् र
हामी पनि बुद्ध अँगालेर
स्वयम्भूको आँगनमा मस्त निदाइरहेछौँ

अहिलेसम्म त,
निराश छैनौँ हामी , पराजित पनि छैनौँ
अझै विश्वास मक्किएको छैन
अझै आस्था भत्किएको छैन

तर …
तर , कुनै पनि पल शहर जंगलमा अनुवाद हुनसक्छ
हामी कुनै पनि पल जंगल काटिन सक्छौँ , बञ्चरोले
हामी कुनै पनि बेला स्तम्भ ढल्न सक्छौँ , धमिराले
र, शहरमा पनि जंगलको हैकम चल्न सक्छ
नक्कली अनुहारहरूको हैकम चल्न सक्छ

जंगलको कुनै कानून हुँदैन ।

Rakesh Karki – Aayo Aayo Mantri Aayo

इन्जिनियर राकेश कार्की – आयो आयो मंत्री आयो

आयो आयो मंत्री आयो
कति लामो पुच्छर ल्यायो
देश त खायो खायो
हात लम्काउदै विदेश धायो

चटकेले छडी हान्यो
जे जे भन्यो त्यही मान्यो
लाखौँ लाखको खेला जान्यो
दुत व्यापारी सबै तान्यो

हेरौँ अब के के तार्‍यो
आधी जस्तो पुच्छर झार्‍यो
जोकरहरु वरीपरी
चाप्लुसी र चाकरी

आउने पाउने देखायो
खाँदै ख्वाउँदै घुमायो
के के नशा पिलायो
के तालले मंत्री मिलायो

यता उता र्‍याङ ठ्याङ
पैसै पैसा छ्याङ छ्याङ
ल्याउने लाने खुलायो
थपडीवालालाई भुलायो

देश बिदेश तिन्कै भो
धुर्त्याई दाउपेच फन्कै भो
मंत्रीले खबर पठायो
चटकेले पगरी लगायो ।।

Acharya Prabha – Pardeshinu Ko Pida

सयपत्री मखमली ,गोदावरी अनी चमेलिसङै
मेरो आगन रमायो शायद ।
दुबो अनी अक्षतामा दशै तिहार
जग्मगायो शायद,
म भने झ झल्को आँखाभरी सजाएर
परदेशी हुनुको पीडाबोध सहिरहेछु
साँझको नभलाई चिहाएर
मान्यजनको आशिषको कामना मागिरहेछु ।
त्यो देवी थान,
लिङेपिङमा आफ्नो बैँश साटेर मचियो होला ।
त्यो गाउँको गोरेटो
आषिशको टीका र जमराले ढाक्यो होला
अभावको भकारीमा जमरा टुसाए शायद ।
बर्षौ बर्ष हराएको खुशी
लालुपाते ओठ बनेर मुस्काए होलान ।
म भने,
सम्झना मनभरी पालेर
टाढा हुनुको आघात खपिरहेछु ।
पारी क्षितिजलाई मेरो आगनको
पर्याय मानेर
जुन, तारा झलमल्ल कल्पनामा
सजाइरहेछु ।

Sharu Bhutiya – Usle Kehi Garna Sakena hola

शरु भुटिया – उसले केही गर्न सकेन होला

भीडमा थियो ऊ
खुलेर रुन सकेन होला,
मलाई बिश्वास छ
कि ऊ एकपल पनि
सुत्न सकेन होला

त्यो मान्छे
जसलाई बुझ्न
मलाई
पुरै उमेर लाग्यो,
बिछोडिएर मसँग
अरु कसैको
हुन सकेन होला

कामेका हातहरु
कमजोर
धागो सासको,
त्यो सुकेको फूल
उन्न सकेन होला

धेरै उजाड थियो
गहिराइ
उसको आंखाको,
त्यो आंसुले छाती
भिजाउन सकेन होला

मेरो लागि ऊ
सबै सुख सयल
छोडेर आउँथ्यो ,
मलाई बिश्वास छ
उसले यो गर्न सकेन होला ।

रचना समय :- ५ जूलाई २०१०

Rajendra Shalav – Bhadrapur

राजेन्द्र शलभ – भद्रपुर

भद्रपुरमा
अलिकति कारिन्दाहरू छन्
त्यो भन्दा बढ्रता हाकिमहरू छन्
अलिकता उद्योगधन्दाहरू छन्
त्योभन्दा बढी नेताहरू छन्
केही स्कूल र कलेजहरू छन्
त्योभन्दा बढी भट्टी पसलहरू छन्
कमबेसीको कुरा बेग्लै हो
तर , मेरो भद्रपुरसँग सबै थोक छ
छैन भने – जाबो प्रगति छैन ।

मेरो भद्रपुरमा
बाह्रै महिना राजनीतिको खेती हुन्छ
मेची पुल सेलाए
हुलाकी राजमार्ग तात्छ
हुलाकी राजमार्ग सेलाए
मेची पूल तात्छ
खोयाबिर्केहरूको एउटा जमात छ
जो हरेक साँझ नेता बन्छन्
अर्काथरी
कोठे नेताहरू छन्
जो बिना काम नै
बाह्रै महिना चर्चामा हुन्छन् ।
के छैन मेरो भद्रपुरसँग
क्याम्पस छ , अस्पताल छ
जिल्लास्तरीय कार्यालयहरू छन्
यो अर्कै कुरा हो
हामी सौदादेखि चन्दासम्म लिन
धुलाबारी जान्छौँ
दुईदुईवटा दैनिक अखबार छन्
तर यो अर्कै कुरा हो
हामी पनि गोरखापत्र र कान्तिपुर मात्रै पढ्छौँ ।

भद्रपुरका छोराहरू राजधानीमा छन्
भद्रपुर उनीहरूका लागि साँगुरो छ
दशैँतिहारमा घर आँउछन्
बाआमाहरूसँग चिनजान गर्छन्
र , माया बस्न नपाउँदै राजधानी फर्किन्छन्
राजधानी आखिर राजधानी हो
उनीहरूबिना शून्य राख्नु पनि त भएन ।

जे होस् , भद्रपुरसँग
अलिकति सम्वेदनाहरू छन्
केही नाता – गोताहरू छन्
त्यसबाहेक ,
जमिन्दारी हराएको जमिन्दारजस्तै भद्रपुर
आफ्नो अस्मिता जोगाउन
पुराना सामानहरू लिलाम गर्दैछ ।

Bhim Darshan Roka – Neel Aakash Ko Yo Tara Lai

नील आकाशको यो तारालाई
हेरिरहेछु म मेरो सहारालाई
हेरिरहेकी होलिन् प्रियतम मेरो
दूर प्रवासबाट यही तारालाई
नील आकाशको यो तारालाई ।
हामी जति टाढा भए पनि
दिउँसो दूर दूर गए पनि
सन्ध्या–समय फर्कन्छु सधैँ
बलिरहे Continue reading “Bhim Darshan Roka – Neel Aakash Ko Yo Tara Lai”

Saru Subedi – Prem

सरु सुवेदी – प्रेम

निरन्तर समयको रफ्तारसँगै
घरि आगो घरि हिउँसँग
पौठां जोरी खेल्दै
सुस्किदै सुसेल्दै
कति उकाली काटिएछन्
कति देउराली र भञ्ज्यांग सुतिएछन्,
तरिएछन् थुपै्र चीसा जंघारहरु
पत्तै भएन Continue reading “Saru Subedi – Prem”

Hari Ghimire – Swadhinata

हरि घिमिरे – स्वाधीनता

मनुष्यको स्वाधिनताको महान सपना हुन्छ
बिहान फक्रेर बेलुका ओइलिने
एउटा फुल फुले जस्तो होइन
पत्थरका कुना-कुनामा किराहरु
आफ्नो साम्राज्य फैलाएर
स्वाधीनताको गीत गाइरहेका हुन्छन्
आकाससँग उन्मुक्तिको साइनो गाँसेर
म कठघरामा उभिएर भए पनि
तिमीसँग स्वर मिलाउँन चाहन्छु
एक दिनका लागि होइन
एक छिनका लागि होइन
तिम्रा-उसका रगतका थोपाले
सिञ्चिएको हरियो दुबोको चौरमा
गाउँका बच्चा खेल्न पाउँन्
बेरोकटोक हाँस्न पाउँन्
मुजा परेका जेष्ठनागरिकले आफ्नो लठ्ठी दह्रोसँग टेक्न पाउँन् ।

धृतराष्ट्रले धर्तीलाई चिन्न सक्तैनन्
केवल अगाडि दुर्योधन हुन्छन्
फलामको मूर्तिलाई चकनाचूर पार्नेले
मान्छेको स्वतन्त्रताको गीत गाउँनेको गला निमोठ्न
मान्छेको भविष्य हेर्दैनन्
तैपनि स्वाधीनताको सङ्लो सपनामा
सपूतहरु निरासाको कथा भन्दैनन् ।

भर्जिनिया, अमेरिका

Bishnu Nanda Chamling – Gopya Patra Lekheko Then (Nepali Gajal)

बिष्णुनन्द चाम्लिङ – गोप्य पत्र लेखेको थेँ (गजल)

गोप्य पत्र लेखेको थेँ सुनाएछौ सबैलाई
तिमीलाई आफ्नो ठाँने चुनाएछौ सबैलाई

ठान्थेँ म त तिमी मनकी संसारमा एउटी
ज्ञानी भनि ठानेको थेँ भुलाएछौ सबैलाई

निर्मल निस्चल सागरकी सोझी माछी ठान्थे
जाल ढँडिया बुन्नै पर्ने बनाएछौ सबैलाई

भुकी रहेछौ आजभोलि घमण्डको पोको
आफू सद्ये अरु पागल गराएछौ सबैलाई ।

Ananda Ram Paudel – Poster

आनन्दराम पौडेल – पोस्टर

बस्तीका भित्ताभरी
टाँसिएका छन् पोस्टर
पोस्टरमा छ
ङीच्च दाँत देखाएर हाँसिरहेको
नेताको फोटो
ढाकछोप गर्दागर्दै
छोपिन नसकेको कुटीलता
र जतनसँग ढाकिएको आडम्बर
छेउकुनाबाट चियाइरहेको छ।
हजूरआमाले नियालेर हेरिन्
प्रस्ट देखिन् तीखा बङ्गारा
यस्ले केही चपाइरहेको छ
हाम्रो सपना
हाम्रो जीवन
र एउटा सिङगो राष्ट्र ।
कहाँ लगेर जोगाउने होला
नातीनातिनाको भविष्य
सोचमग्न भइन् हजूरआमा
र एक थोपा आँसु झारिन्।

(Sent to Sanjaal Corps via Email)

Shiva Prakash – Maanisharu Ko Jangal

बस्ती छैन
उजाडिसकेको छ
मान्छे छैन
मरिसकेको छ
मानिसहरुमात्र उम्रिरहेछन्
मानिसहरुको जंगलमा ।
मान्छे बिनाको बस्ती
बस्ती हुदैन
र बस्तीमा जहाँ मान्छे हुदैन
त्यो जंगल हुन्छ
मानिसहरुको जंगल !
चितुवाहरु
ब्वाँसाहरु
बाघहरु
भालुहरु
गोहीहरु
अजिङरहरु
छेपाराहरु
सबै छन् त्यो जंगलमा
मानिसहरुको जंगलमा ।

फरक छ
मान्छे र मानिसमा
मानिस यावत् छन्
मान्छे थोरै
गान्धी मान्छे भए
टाल्सटाय मान्छे भए
मान्छे कृष्ण ईश्वर भए

न गान्धी, न टाल्सटाय, न कृष्ण
न एउटा नयाँ बस्तीको निर्माता
मात्र बाँचिरहेछु
मानिसहरुसँग
मानिसहरुको जंगलमा ।

बोस्टन, अमेरिका

Manju Niraula – Yo Baini Ko Maya

मन्जु निरौला – यो बैनीको मायाँ

अम्बर, अबनी, चारैतिरको दिशामा
बैनीको सुकोमल, चोखो, गहीरो मायाँ

गुनकेशरी, सुनकेशरी, मखमली जताततै
यो बैनीको अगाध स्नेह र सम्झना

मखमली फुलले उनिएको मालामा
सुवास छैन तर बैनीको औधि मायाँ

सयपत्री, लालुपाते अनि शीतको थोपामा
दुबो झैं पवित्र बैनीको सुकोमल मायाँ

भैली, देउसी, मारुनीको नाचमा
छ परदेशी बैनीको प्रखर छायाँ

यम र यमिकाको भूमिका निभाउने
आशीर्वादमा झुक्ने बहिनीको काया

हिमालपारी देउराली चौतारीको गाउँमा
बैनीको माइती कति झिलिमिली होला

कमेरो, रातो माटोले पोतेको माइतीको आँगन
दाजै र भाइको मायाँले लतक्कै भिझेको होला

मन मेरो रुन्छ, तन मेरो पुग्छ माइती मझेरीमा
कति नै बिर्सु भन्छु देउराली मन मेरो मान्दैन

बाबा र आमाको काखबाट भागेर आएँ पराइ भएर
दाजु, दिदी, भाइको बाल्यपन ताजै छ मनभरि

मखमली फुलले सजाऊं यो बैनीको तिहार
हिमाली छायाँ यो मेरो मायाँ तिम्रै हो उपहार

चाहिंदैन यो बैनीलाई कुनै लोभलाग्दो उपहार
आशीर्वाद, सम्झना मात्रै गरे यो मन प्रफुल्ल

तीज, दशैं, तिहार आयो कि माइतीको सम्झना
जति नै रमाए पनि पतिको घरमा यो मन माइतिकै माझमा

आशीर्वाद लेउ आज परदेशी बैनीको
दीर्घायु होउ तिमी यही आशीष बैनीको

दीयो बत्तीले झिलिमिली होस् तिम्रो आँगन
अटल रहोस बैनीको मायाँ यही छ शुभकामना

Rishi Bastakoti – Farkun Farkun Lagyo Kina (Nepali Gajal)

ऋषि बस्ताकोटी – फर्कुं फर्कुं लाग्यो किन

फर्कुं फर्कुं लाग्यो किन आधी बाटो हिडेपछि,
अरू भन्नु छैन अब, भित्रैदेखि चिनेपछि

बेमौसमी फूल फुल्यो, नफक्रदै झर्यो तर ,
आफ्नो भन्नु के रह्यो र मनकै डोरो छिनेपछि

हुँदा खाँदा सबै साथी, नहुँदाको को रह्यो र !
लावालस्कर सबै हुन्छन दिउन्जेल दिनेपछि

मनको कालो फेरिंदैन, तीर्थ ब्रत जे जे गर ,
मुहार त चम्किएला बजारको किनेपछि

फर्कुं फर्कुं लाग्यो किन आधी बाटो हिडेपछि,
अरू भन्नु छैन अब, भित्रैदेखि चिनेपछि

२५ जून , २०१०
भ्यानकुभर, क्यानाडा

Bishwa Sigdel – Purna Mrityu Ko Tayari

विश्व सिग्देल – पूर्ण मृत्युको तयारी

घरको जर्जर भित्तोले सोध्यो मलाई
अब अझै कति मैले
ठडिनुपर्छ ?

मैले भनेँ
पख केहीक्षण,
हावामा अझै दुश्मनको गन्ध फैलिसकेको छैन
पानीमा रङग चढिसकेको छैन
माटो मन्द Continue reading “Bishwa Sigdel – Purna Mrityu Ko Tayari”

Basanta Mohan Adhikari – Bhul Raichha Mero (Nepali Gajal)

बसन्त मोहन अधिकारी – भुल रैछ मेरो – गजल

फूलसँग आँखा जुध्नु, भुल रैछ मेरो
मलाई नै आँशु दिने, फूल रैछ मेरो

मेरो संसार तिमी हौ, भन्दै सजाउँदा
मेरै फूल आँशु दिने, मुल रैछ मेरो
मलाई नै आँशु दिने, फूल रैछ मेरो

रुप,रगं, वासनामा आत्म छैन रैछ
मायाप्रीति देखाउने, तुल रैछ मेरो
मलाई नै आँशु दिने, फूल रैछ मेरो

बगैंचामा धेरै थरी, फूल फुलिरा’छन्
मलाई नै रुवाउँने, कुल रैछ मेरो
मलाई नै आँशु दिने, फूल रैछ मेरो

म त रुदै जान्छु अब प्रेम वियोगमा
जीवन त नष्ट हुने, धुल रैछ मेरो
मलाई नै आँशु दिने, फूल रैछ मेरो
फूलसँग आँखा जुध्नु, भुल रैछ मेरो

Sharad Nirola – Sagarmatha Hansi Rahechha

शरद निरोला – सगरमाथा हाँसिरहेछ

बीस बर्ष अघिको नेपाल सम्झेर
त्यति नै बर्ष अघिको काठमाडौंलाई गुनेर
आज त्यही नेपाललाई अनिमेष हेर्दा
त्यही काठमाडौंलाई नियालेर हेर्दा
सगरमाथा किन हो
मरिमरी हाँसिरहेछ

घिनलाग्दो राजनीति र पराकाष्ठाको पदलोलुपता
सहमतिको नाममा मोलमोलाइको महाभारत
पार्टीगत स्वार्थले चिराचिरा भएको एकता
कोही दक्षिण, कोही उत्तर
कोही राष्ट्रियताइतर
देशको माया कसैलाई छैन
नेपाली भनाउन कसैलाई मन छैन
यो हरिबिजोगलाई
उनन्तीस हजार फीट माथिबाट हेर्दै
सगरमाथा किन हो
औधि हाँसिरहेछ

सहमतिका नाममा अतिरन्जित भागबन्डा
यो नभए त्यो, त्यो नभए ‘म’ को कुश्ताकुस्ती
समयको सीमांकन खरानीको थुप्रो
जिन्दगीभर अन्तरिम संबिधान काँधमा बोक्ने
पूर्ण संबिधानको वास्तै नगर्ने
अन्तर्राष्ट्रिय जगतमा भैरहेको देशको बेइज्जति
देखेको नदेखै गर्ने, आँखा भएर पनि अन्धा
यस्ता मतिभ्रष्ट हुतिहाराहरुले
देशलाई च्याँखे थापेको देखेर
साँच्ची नै सगरमाथा
खित्का छोडेर हाँसिरहेछ
कस्तो देशमा स्थायी बसोबास गरिएछ भन्दै
अट्टहास गरी गरी
वायुमंडल थर्काइरहेछ

यस्ताका लागि म किन हुनु राष्ट्रियताको प्रतीक
सोच्छ सगरमाथा–
मैले सदा देखिआएको भातृत्वको भावना
चार जात छत्तीस वर्णको सुमधुर सहअस्तीत्व
अभिवाजित एउटा सिंगै सबल मुलुक
आज टुक्राटुक्रा हुने खतरा
बढ्दो छ, उर्लंदो छ

यस्तै सोचाइले आक्रान्त छ सगरमाथा
नेपाल छोडी बरु तिब्बततिरै घस्किने कि ?
उग्रपन्थी सोचाइमा पर्छ सगरमाथा
यो अर्काले नउचालेसम्म स्वविवेकले नजुर्मुराउने जनता अंगालेर
निरर्थक कति दिन बस्ने
सोचमा परेको छ सगरमाथा
तर टुलुटुलु हेर्ने बाहेक
अरु कुनै विकल्प नदेख्दा
आँखाभरि आँसु लिएर
आहत हाँसो हाँस्न
बाध्य छ सगरमाथा

अमेरिका

Bimal Rai – Shital Batas Bhitra Ka Kurup Jhonka

बिमल राई – शितल बतासभित्रका कुरुप झोँका

यो संदिग्ध आकाशको ओतमुनी
गल्लि र बस्तिको उष्ण साम्राज्यमा
वर्तमान म असहज छु
मैले टेक्ने धर्तिको यस फाटक भरी
म, र
मेरै आँगनसँग खेलेका
ति आत्मियताहरू
अनायास
हृदयको आयतनमा धरधरी
फाटेको यो क्षण
बिध्न, असामानजस्यतामा
चोरिएको छु ।
चर्किएको छु । ।
मन र मष्तिश्कको लाभामा
समयको कुन असति इकाइबाट
म र म हरूको बगैंचा,
बन्दैछ रे छातिबाट ओझेल
टेक्दै आमाको आलो बेदना
च्यात्दै कुलको बंशावली
टेक्दै पितृत्वको नाङ्गो बक्ष्यस्थल
पलायमान छ बिक्षिप्त मनहरू
भाग्दै
उ र उ हरूको जत्था ।
बिचराहरू त्यो कालो अन्धकारमा
खै कहाँ होला ?
च्व”” च्व””
कठै तिम्रा, अधुरो पाइलाहरू
पुर्बजले सुम्पेको आगाध सडक छाडेर
बन्धकी बाटोमा मौजाद छौ रे
दुइटा कृतिम शब्दको नासो बोकेर
एक रातको रमझममा छौ रे
आजभोली ,
चढ्दै मानसिकता आत्मग्लानिको
अनि
हिनताबोधका बाइपंखी उड्दै
सिंहमरमरको जादुगरी स्वपनिल सपनामा
अ-बिवेक सुत्नुको अर्थ के ?
माथको बन्द आँखा तकियामा लडाइ
नहिड प्रलय जीवन
नहेर्ने तिमीहरू स्वेत इतिहास
मात्र देख्छैा खुनी कलम
अँध्यारो कहानि लेख्ने
त्यो महाभारतका बिभत्स पात्रहरूलाई
तर
एकांकीको पर्दाहरू लत्रिसक्यो
उघार पर्दा उघार
च्यात्दै मस्तिष्कको मौलिक रागमा
ओढेर समय
टोकेर जलपहरू
छरिदेउ प्राकृत शब्दका रागहरू
आफ्नै विवेकको सघनता भित्र
बर्तमानका विवेकहरू
र,
स्पर्श गरि हेर आमाको माधुर्यता
हुनेछौ तिमी, टेकिएको एउटा फूल
लाछिएको उपेक्षित एउटा हाँगा
नपल्टाइ इतिहासका स्वेत पानाहरू
केवल तिमी,
घडिभित्र टाँसिएको काँटा
आँधि तुफान बीचको अन्धो धावक
नपुग्ने टाकुराको गन्तव्यमा
एउटा असभ्य जिवन लडन सक्छौ ।
रोक ! रोक !!
टक्क उभिएर, नरोक भित्रि आँखाको गहिराइ
टाँस छातिमा समय बिगतका लम्बाई र चौडाईहरू
त्यो प्रहरको साइत
बाल्दै टुकिले बुझ्ने छौ
गौरवशाली इतिहासका चमक
बैभवशाली बंशजका स्वर्निम अक्षर
शुन्दर सस्कारका बिम्बहरू
यसर्थ,
फर्केर आऊ
आफ्नै आकारमा रम्नु
आफ्नै ओजस्विता चम्काउनलाई
जहाँ तिमी प्राकृत बनेर बाँच्ने आकाश छ
अनि,
धर्ति र आमाका कैयौ भविष्यहरू छन ।

Yuddha Prasad Mishra – Aradhana

आँखा अन्तर खोल पूर्व घडीको सल्किसक्यो झोपडी
वाणीको बलको विवेक मतिको आयो परीक्षा घडी
तोडी संकट दुर्ग घोर भुमरी फोरि अगाडि बढी
धावा बोल निमित्त जन्मथलको डाँडा र काँडा चढी
भै उत्तीर्ण अजेय जन्म भरको झोंकेर आफ्नो बल
छातीबाट गराऊ दूर जनको दारीद्रय दावानल
के न्यूनू छ यहाँ भएर हत श्री निर्बोध निर्गौरव
आऊ पार लगाऊ देशकन यो तीतो पिरो रौरव
जसको कोमल काखमा ब्यतित भो तिम्रो सबै शैशव
जसको दुःख पिएर बन्न तिमी छौ मानिस जस्तै अब
छोरा भै अभिमन्युका हृदयको राँको अगाडि गर
चोला सार्थक पार आर्तहरूको चाँडो अगाडि सर