Laxmi Prasad Devkota – Jureli Ko Gaan

क.
के बोल्छे यो जुरेली ?
सगरभरभुवा आँसुका बान्किला छन् !
राम्री ती इन्द्र–रानीतिर दिल–उछला छालझैं
भङ्गिला छन् !
रोएका ली जवानी दिलभर तिनको बोल्दछे यो निचोर !
चिर्छे एकान्तलाई पिउ पिउ स्वरले,
गीतले चित्त चोर !

ख.
सारा शब्दार्थ घोली अमृत–मथनले
विश्व–भाषा बनाई,
स्पन्दी, छन्दी, उछाली, सकल हृदयका्े
वेदनानन्दलाइर्,
कोपी खोलेर बोल्छे, सजल मृदुलता, सूक्ष्म बास्ना बहाई !
के, के, के, खल्बल्याई दिलदिल ! पृथिवी भावगोला तुल्याई !

ग.
बास्नाले फूल बोल्छन् यति, ज्वलनमा प्यास रङ्गीन वाणी !
यै हो गाना उडेका रुदित भ्रमरको, जिन्दगीको कहानी !
वाणी छोटी यही हो प्रकृति–पुरुषको ! गुन्जिदो यो जवानी !
यो हो थोपा, निचोर श्रुति, रस कविको प्यारको फूलदानी

घ.
पानीको कल्कलाई जलनिधितिरको यो दगुर्दो रुलाई !
यो हो बोली निशाको शशधरतिरको, शीतको पिल्पिलाई !
फिर् फिर् हो पुतलीको छवितिर, छविको पुतलिमा ढलाइृ!
माटाको भित्र बोल्दो बुलबुल मुटु हो, सम्झिदो स्वप्नलाई !

ङ.
छायालाई अँगाली छवि छ जलदृशी ! सम्झना शून्यलाई !
केही, काहीं भएको, तर सँग नहुँदा क्यै पिरल्दो मलाई !
‘आ ! आ !’ भन्दो झझल्को, अमिट कठिनता कल्पनाको छुआई !
छाया गाडा बिझेको, कणकण चसकी, खालि रुँ रुँ जिलाई !

च.
राम्री सृष्टि, प्रकृति अथवा खूव श्रृङ्गार पारी,
पर्खी, झुक्दै चलेकी, प्रियतम नमिली, दृष्टि मार्गभिसारी,
रुन्छे कोही थलामा मनमन गहिरो, आँसुको बाफ पारी,
भाषाभन्दा परैका ध्वनि त्यस दिलका गुँज्छ पन्छी, फिजारी !

छ.
रुन्छन् रानी जवानी सब युग, थलका, धोइ एकान्तलाई !
माटो फोरेर आत्मा मुखरित छ, जिती पुष्पको वासलाई !
यो हो माधुर्य के को ? –पिउपिउ रसको, मृत्युमा अमृतलाई !
बोल् ! बोल् ! मिठो जुरेली ! म पनि सँग बगें अर्थ पारी, रमाई !

ज.
कोपी खोल्ने क्रिया हो जलकण भरिने कुँद्नु यौटा कटौरा,
जो फुल्छन् फूल रुन्छन्, दिलभर जलका विन्दु झल्केर बौरा !
पन्छी यो, व्यक्त गर्दो कुसुम–हृदयको वेदनाको जवाफ,
दोटै आवान फाली, दुख सुख सुकला विश्वको चाल्छ साफ !

झ.
मोटोले स्पन्द पाई, किरणसँग जहाँ प्यारको भो प्रसूति,
भाषा खोज्दै उठयो त्यो तृण, कुसुम भई, गाउँदै अश्रुगीति,
पन्छी भै त्यो छचल्क्यो श्रवणविवरमा, वेदना बोल्छ साफ !
भाषा हो काल सारा बिउँझिनु दिलमा–दिव्य बक्सीस, श्राप !

ञ.
‘पी पी’ हो शब्द पैलो, अमुखर दिलको, जन्मिदा प्यास, पानी !
भाषा या प्यारको हो ! विधु गगनसिखा, भूचरी कल्पिंदा नि !
तान्छिन् शोभा निचोरी दिलउपरतिरै— बोल्न लागी जुरेली,
पृथ्वीको जन्मदेखिन् अझतक जति छन् बोल्दछे क्या पिरोली !

ट.
ऊषा रुन्थिन् पियासी, मखमल फुलमा अङ्ग गोरा बटारी,
स्वप्ना भारी पुकारी, उदयविरहिणी, स्वर्ग गुम्दी, विचारी,
रुन्थे सारा फुलेका कुसुम वनभरी, वाणपुत्री निहारी,
तैंले होला सिकेको विरहुसुर त्यहीं, बोल्न पन्छी पियारी !

ठ.
फुल्दा, सेता बदामी कुसुम झरझरी झार्दथे मिष्ट झोका
रोका आँशू खसाली बरबर उरमा, जूनले जल्पिएका,
राधा बन्दी कसैकी मनमन, वयसी दिव्य संयोगिताले
एकान्ती गुन्गुनीमा दृगजल उछलिन् बुल्बुली यै टुनाले !

ड.
जल्पीथिन् जानकीले मनमन सुर यी, रामजी कल्पिएर,
वंशी बज्थ्यो यसैमा टिरलिर यमुनाकूलमा कल्किएर !
हेलेन् होलिन् रुँदी यी दुखमय सुरमा, प्यारि पारी विषाद,
वर्षाई वेदनाका अति सुषम कणी, —युद्धका बाफ वाद !

ढ.
सोला हो, स्वादु सोला, अतिशय दुखको सौख्य यो हो पिरोला !
गोला, मीठो, अबोला, बहन दुध भए, प्राप्ति बैकुण्ठ होला
यो चोलाको सुनौला जलप, रस यही, धाम गौरी र भोला !
पी पी बोल् रे जुरेली ! हृखय हृदयको बोल्छ संसार–गोला

ण.
यो कोपीको सुहानी जललव, रसको जिन्दगीबीच नानी !
यो तिर्खाको छ वाणी, प्रकृति–पुरुषको यो पुरानो कहानी !
यो हो दर्दी जवानी, प्रणय मुखरिंदो, गीतिकी रानी !
यो चूली हो हिमानी, शरण जगतको, भित्रको ढुक्ढुकानी !

त.
झुक्लिन् छाया अँध्यारी सघन गगनकी, वर्वरी वर्ष वर्ष !
झिल्केली है बिजूली, क्षण क्षण मनमा सम्झनाबाट पर्श !
थोपा झर्लान्, सिहर्लान् तरुवर, लतिका ! वायु बोक्ने छ बाफ !
चल्ला यस्तै जगत्मा ! हृदय पिरलिंदै आउलान् यै विलाप !

थ.
छाती, छाती पुकार्लान् ! जल, जलकणिका बैंसले बैंसलाई !
प्यासी बोल्लान्, छिचोल्लान् समय र पिंजरा, गीतमा बग्न पाई !
घाँसी बाला छहर्लिन् हृदयजल कहीं, चम्चमाई हँसिया !
उक्लेका क्वै, सुसेली नव दिल–सपना, श्री पुकार्दो घँसीया !

द.
बोल् ! बोल् ! बोली सुरीलौ, पिउ पिउ नित हे पिंजराकी जुरेली,
बोल्छन् यै वेदनवाणी–अतिसुषम उषातर्फ आत्मा पिरोली,
जूनेली ज्योति जेली हृदयभर यही, थोर संकेत खोली,
प्यासी बोलें म आफैं ‘पिउ’ अरथविना मृत्तिका क्यै छिचोली !

Abhas – Aaja Bholi Ko Akanchhya

आजभोलि आकांक्षा
किन यसरी चम्केको

लाग्छ कहिले
फुल भएर फुलूँ
र ढपक्क ढाकूँ प्रिय धरतीलाई
अरु केही नसके
अलिकति सुगन्ध छर्न सकिन्थ्यो

लाग्छ कहिले
आकाश भएर फैलिऊँ
र काखमा लपेटूँ सिङ्गै पृथ्वीलाई
अरु केही नसके
अलिकति छहारी भर्न सकिन्थ्यो

हैन
आजभोलि आकांक्षा
किन यसरी चम्केको

लाग्छ कहिले
आकाश पनि हैन
आगो भएर दन्कूँ
र खर बाले झैं बालिदिऊँ
आफैं भित्रको नामर्दीलाई ।

Simanta Lamichhane – Ma Ra Duniya

सीमान्त लामिछाने – म र दुनियाँ

म हिमाल भएर हाँसे
दुनिया को नज़रमा म धेरै चिसो भए
म आकाश भएर फैलिएँ
मेरो विशालतामा प्रश्न चिन्न उठाइयो
म प्रेमी भएँ
मलाई भाबुक भनियो
मैले नेताको बिरोध गरे
मलाई प्रतिगामी भनियो
मैले झुटको बिरोध गर्दा
मलाई नै झुटको मतियार ठहर्याईयो
म विदेशिए
मलाई भगुवा भनियो
मैले कसैसंग मारपिट गरिन
मलाई नामर्द भनियो
कसैलाई ठगिन
कमजोर भनियो
म यस्तै बस्त्राभुषणले सजिदै गएँ
आज भोलि मेरो पहिचान यहि बस्त्राभुषण भएका छन्
बस्त्राभुषण भन्दा भीत्रको म कहिले देखेन यो दुनियाले
यी बस्त्रहरु मैले कहिले चाहिन
तरपनि
यी मेरो छाया जस्तै मसंग टाँसीरहे
न यीनलाई उतारेर फाल्न सक्छु
न त जलाएर जलौनै

यीनै झुटा बस्त्र पहिरिएर
म हरेक बिहान उठ्छु
हरेक रात सुत्छु
म झुट जिउँछु
तर पनि म जिउँछु
त्यो बिहानीको प्रतिक्ष्यामा
जब
सुर्यले म भित्रको
मान्छेलाई चिनेर ढकढकाउने छ मेरो घरको ढोका
अनि यी सम्पूर्ण बस्त्रहरु झर्ने छन् मेरो जिउबाट
शिशिरमा रुखबाट पातहरु झरे झैँ
अनि म नयाँ पालुवाहरू हाल्ने छु
सक्कली सुवास छर्दै
नयाँ उत्साहसंगै
त्यो दिन म हिमाल भएकोमा डाहा गर्ने धेरै हुनेछन
त्यो दिन म आकास भएकोमा रीस गर्ने धेरै हुनेछन
त्यति हुँदाहुँदै पनि
म, म नै हुनेछु
ममा कुनै परिवर्तन हुनेछैन
परिवर्तन हुनेछ
त मात्र यो दुनियाको चस्मा

– अमेरिका

Rajendra Pahadi – Desh Harayeko Suchana

राजेन्द्र पहाडी – देश हराएको सूचना

काठमाण्डौं बानेश्वरमा रहेको
संविधानसभा भवनबाट
फुत्त निस्केर
पूर्व लाग्यो या पश्चिम लाग्यो
उत्तर लाग्यो या दक्षिण लाग्यो
केही दिन अघि मेरो देश हरायो ।
खै! देश कोसँग डरायो ?
देशलाई कस्ले तसार्यो ?
देशलाई कस्ले चुस्यो ?
देशलाई कसले लुछ्यो ?

मेरो देश
पछिल्लो समय
भेषविहिन, परिचयविहिन
स्वाभिमानविहिन बाँच्न विवश
बनेको थियो
बनाइएको थियो
देश भाषाविहिन
इतिहासविहिन
नाङ्गो बन्दै गएको थियो
खै! कुन पीडाले मेरो देशले
माटो छाड्यो
थलो छाड्यो
मित्र
मेरो देश हरायो ।

महाशय,
तिमीले थाहा पायौ ?
मेरो देश हराएको छ
कहिँ कतै देख्यौं
कहिँ कतै भेट्यौं भने
पेरिसडाँडा दरबारमा
वा सानेपा दरबारमा
वा बल्खु दरबारमा
वा शितल निवासमा
खबर गरिदिनु ।

पहाडतिर
हिमालतिर
मदेशतिर
सबैलाई खबर गरिदिनु ।
देश देख्यौ भने
देश भेट्यौ भने
च्याप्प समात्नु मेरा मित्र !

देश फुत्किन सक्छ
देश उम्किन सक्छ ।

मेरा मित्र,
मेरो आस्थाको देश
ताम्सालिङतिर लाग्यो कि
लिम्बुवानभित्र छिर्यो कि
खुम्बुवानसँग मिल्यो कि
तमुवानसँग सल्क्यो कि
खै कता लाग्यो मेरो देश ?

मेरो चेतनाको धरोहर
मेरो देश
मगरातमा पस्यो कि
एक मधेश–एक प्रदेशमा फस्यो कि
खै! यहिँ कतै काठमाण्डौं खाल्टोभित्रै
नेवा प्रदेशमा बिलायो कि
अस्तित्वको संकट खप्न सकेर या नसकेर
मेरो देश हरायो ।

मेरो देशको भूगोल हरायो
मेरो माटोको अस्मिता लुटियो
म किंकर्तव्यबिमुढ देश गुमाएको पीडा
निशर्त भोगिरहेछु
आँखा फारेर नक्शामा
मेरो देश खोजिरहेछु । खोजिरहेछु ।।

मैत्रीचोक – ४, कुश्मा, पर्वत

Kopila Thulung – Mero Pal Haru

कोपीला थुलुङ्ग ‘आंशुतोष’ – मेरो पलहरु

हरेक विहानीको उषासंगै
एउटा आशा लिएर उठ्ने गर्छु
सूर्यका किरण चारैतिर फैलिएजस्तै
फैलिन्छन् आशाका लहराहरू
तर,
ती मेरा आशाहरू लहरा बनेर फैलिनुमा र
नफैलिनुमा करिव-करिव उस्तै हुन्छन्
यसरी नै कति विते हिउँद अनि वर्षापनि
त्यसैमा म घुमीरहे ऊन घुमाउने चर्खा वनि
मैले काटेको रातमा,
सिङ्गो धर्ती ओछ्यान बन्छ
खुला आकाश मोड्ने गर्छु
कति रूज्झनु झरि वादलमा
आफू वाच्न अनि वचाउनलाई
टालेकै छु थोत्रा भोटो
नाङ्डो शरीर जोगउनलाई

Laxmi Prasad Devkota – Sangeet Sangeet

लक्ष्मी प्रसाद देवकोटा – संगीत संगीत

मान्छे किन भो टिन झैँ खोक्रो ?
केवल काँचुली ? केवल बोक्रो ?
वीणा जीवन उसले बुझेन,
सुरसा सङ्गीत एक बजेन,
हजार हवाले तारै टुक्रयो ।
मानवताको मुटु तुम्बा,
गुँज्नैपर्दछ सुरले गम्म,
मानिसप्रति भै मानिस आफु,
बज्नै पर्दछ लयमा झुन्न !!
कुइराहरुले तन्त्री बिग्र्यो,
भाइ स्वरले भाइ ठक्रयो !
मानवताप्रति मानवको ध्वनि
सागरप्रतिको जलकण प्रतिध्वनि,
जातिप्रतिको लयको रुनझुनि,
समष्टिसँगको सङ्गतिमय ध्वनि,
विकृत स्वप्नले बिग्र्यो ।
निश्चयताको शुद्ध प्रहार,
क्षणको कम्र्म र भावप्रसार
एकै लयका सुरक धार,
एकमुखी तर विभिन्न हजार,
मल्न नजानी झोक्रयो !
कलाकारको प्रतिभा देऊ !
क्षण क्षण सुर सब बटुली लेऊ,
‘मानवता’ यति लयको भेउ
मिल्छ भने यो जीवन सप्र्यो,
नत्र आखिर टिनझैं खोक्रो !
केव काँचुली, केवल बोक्रो !

Saroj Dhital – Aastha Ra Avatar

सरोज धिताल – आस्था र अवतार

मान्छेको
अगाध आस्था थियो–
भगवान्मा ।

त्यसैले
निस्तेज दृष्टि भएको
माछाको रूप लिंदा उसले
मान्छे मुस्कुराइरह्यो,
सुस्त कछुवा बनिदियो भगवान्
मान्छे पूजा गरिरह्यो,
हरे †
त्यो कुरूप सुङ्गुरकै रूप लेओस्
वा वीभत्स नृसिंह रूप धारण गरोस्
मान्छेले भजन गाइरह्यो
प्रार्थनामै लीन रह्यो ।

मान्छेको अगाध आस्था थियो–
भगवान्मा ।

तर एकदिन
जब आकाशवाणी भयो–

‘भगवान्को अर्को अवतरण हुंदैछ
र यसपालि
आकर्षक अनुहारको धनी
कुशल मायावी
मनुष्य शरीरभित्र
भगवान्को प्रवेश हुंदैछ ।’

अनि मान्छेको आस्था भत्कियो ।

मान्छेले माछालाई नबुझ्ला
कछुवा र वराहलाई नबुझ्ला
तर सुन्दर अनुहार अनि
बलिष्ट शरीरसंगै
कुटिल मन लिएर
शैतानी महलमा बस्ने
आफैंजस्तो देखिने प्राणीलाई
मान्छेले जति अरू कसैले बुझ्दैन ।

Sudhir Chhetri – Samalaingik Diary

सुधीर छेत्री – समलैङ्गिक डायरी

पहिरोको ठिक्क डिलमा
ठूलो ढुङ्गा अल्झिएजस्तै गरी
भुत्लाले ढाकिएको छातीमा
अप्ठेरोसित अड्किएको छ
ब्रा।

लिप्स्टिक चाटिरहेका उसका ओँठहरू
लियोनार्डो डि-क्याप्रियोका किशोर गाला चाट्नचाहन्छ।

व्याक्सिङ् गरिएका छेपारीदेखि
च्याउँदै हेरिबस्छ मिनिस्कर्टबाट टाउको निकालेर
एउटा अश्लील ट्याट्टुले।

शनिबारको रात।
रात्रि भोज।
नयॉं होटल।
सबै सोँचेर नाइटोमा खोपेको गुलाबको फूल
मुसुक्क हॉंस्छ।

चञ्चले हावा रत्यौली गर्छ
फेशनेबल केश-विन्याससित।

ढुकढुक गर्दै आवेगहरू गन्ती गर्छन्
कृत्रिम वक्षभित्रपट्टिको
परायथार्थवादी मुटु।

हरियो चश्मापछि
लुकेका एकजोर नारसिस्ट आँखाहरू
संशोधित दृष्टिले यौन निचोर्दै रस टिप्छ।
मुहार सँधै हँसिलो राखिराख्न
अभ्यस्तताको जोगाड गरिरहेछ
रसाद्र मेक अप्।

(Sent to Sanjaal Corps via Email)

Tanka Subba – Paitalaharu

टंक सुब्बा – पाइतालाहरु

आजभोलि म सँग सम्वन्धित
मेरा एकजोर पाइतालाहरु
स्वतन्त्र मार्गमा गतिशील भैरहेकाछन्
जुनवेला उसको स्वतन्त्रता खोसीएको थियो
त्यो स्वतन्त्रता अहिले प्राप्त भएकोछ
त्यसैले पाईतालाहरु
आयतनको खोजिमा दौडीरहेकाछन्
पहिचानको खोजिमा लम्किरहेकाछन्
गाउँवाट विलाएका पाइतालाहरु
शहरवाट हराएका पाइतालाहरु
आज पाईतालाहरु कै कोलाहलबाट
नयाँ यात्राको तय गरीरहेछन्
हिजो विर्सीएका पाइतालाहरु
हिजो छोडिएका पाइतालाहरु
आज परीवर्तनको वाटोमा
हुरीवतास भएर वेगीदैछन्
जो यहि देशमा उपेक्षित थिए
तीनै पाईतालाहरु
आज हरेक ध्रुववाट
आज हरेक दिशावाट
आज हरेक स्तरवाट
केन्द्रतिर क्रमश नयाँ सोच लिएर
निरन्तर वढीरहेकाछन्
नयाँ घामको उज्यालो वोकेर
निरन्तर उदाईरहेकाछन्
जुनवेला यिनै पाईतालाहरु
शासकहरुको कालो नियमले
निषेधित थिए
वाञ्चित थिए
पीडीत थिए
तर तिनै शासकहरुको विरुद्धमा
आन्दोलन छेडे पछि
र्इतिहासले नयाँ मोड लिएकोछ
त्यसैले त ती नदेखिएका पाईतालाहरु
आफ्नो अस्तित्व खोज्दै
आफ्नो र्इतिहास खोज्दै
मुल सडकमा आईपुगेका हुन्
त्यसकारण प्रत्येक पाईतालालाई
पाईतालाको सरोकार वढेकोछ
प्रत्येक पाईतालालाई
पाईतालाको अधिकार चाहिएको छ
किनकी पाईतालाहरुलाई थाहा छ
पाईतालाहरुको सम्मान हुनुपर्छ भनेर
पाईतालाहरुको स्थान हुनुपर्छ भनेर
यसरी मसँग सम्वन्धित
मेरा एकजोर पाईतालाहरु पनि
आजभोलि यहि सडकमा मिसीएकाछन
किनकी यो सडक सम्म आईपुग्नलाई
पाईतालाहरुले वलिदान चडाएकाछन्
त्यसैले अव यो सडकमा
हरेक पाईतालाहरुको उपस्थिती
अनिवार्य भएकोछ
यर्सथ यो सडक
हरेक पाईतालाहरुको लागि हो
त्यसैले त पाईतालाहरु
कहिल्यै नटेकिएका ठाउँहरुमा टेकिएकाछन्
कहिल्यै नपुगेका ठाउँहरुमा पुगेकाछन्

पाईतालाहरु हिजो सम्म
सपनाको खोजीमा थिए
स्वधिनताको खोजीमा थिए
स्वतन्त्रताको खोजीमा थिए
तर आज तिनै पाईतालाहरु
सफलताको मार्गमा पुगेकाछन्
अव मसँग सम्वन्धित
मेरा एकजोर पाईतालाहरु मात्र नभएर
सवै पाईतालाहरुले यो सडकमा हिड्ने
समान अधिकार पाएकाछन्
त्यसैले यो सवैको साझा सडक हो

Basanta Mohan Adhikari – Dharma

बसन्त मोहन अधिकारी – धर्म

संसारको यात्रा गर्दा
हर व्यक्तिको सोधाइ
परिचय दिंदै गए
उनीहरू सोध्दै गए
कहाँबाट आयौ?
मेरो उत्तर धर्तीबाट
चन्द्र र सूर्यबाट त म आएको होइन ।
तिम्रो धर्म के हो?
मानव कल्याण
एउटै मानव जातिमा बिभिन्न धर्म हुन सक्दैन ।
कयौ स्थानमा
कतिले पागल भने
कयौले ज्ञानी भने
तर म दुवै होइन ।
म त विद्यार्थी हुँ ।
यो संसारसँग सिक्दैछु ।
मानवका विसङ्गति र बिकृति चिर्दै
प्रकृति स्वरुपको सत्य खोज्दै छु ।

बिभिन्न स्थानमा
बिभिन्न समयमा
आवश्यकता अनुरुप
तिमीले जे लेख्यौ
तिर्मा धर्महरू
मानव सविधान न हो ।
परिर्वतनशिल संसारमा
तिर्मा धर्महरू यथास्थितीमा रहेँ
आज समय र कालसंगै चल्न नसक्ने भए ।

यो एकले अर्कोलाई दोषारोपण
धेरैले धर्मकै प्रश्न गर्ने भए
धर्मयुद्ध लड्दै रहेँ
तिमीले भने जस्तै
धर्म
इसाई
मुस्लिम
हिन्दु
र बौद्धिष्ट इत्यादि भने होइनन् ।
यि त मानव लिखित
मानवकै बौद्धिक सम्पत्तिहरू हुन् ।
एउटै मानव वंशमा
एउटै सत्य धर्म
मानव कल्याण कसैले लेख्न सकेनन् ।
सबै भौतिकवादी हुन् ।
क्षणिक सुख खोजिरहेका छन् ।
यसका उपलब्धीहरू
महल, पजेरो, जहाज र कामवासना हुदैँ
बम, बारुद र मिसाएल सम्म आएकाछन् ।
आ आफ्नो स्वार्थ पुर्तीका आधार
आआफ्नै धर्म स्थापित गर्न
यो धर्ती र मानव वस्तिहरूमा
तिनै उपलब्धिहरू ठोकिरहेकाछन् ।
मानव मारिरहेकाछन् ।
लिङ्ग भेद र अमानविय कार्य गरिरहेकाछन् ।

यो अध्यात्मिकतामा भौतिकवादको प्रकोप
क्षणिक सुखभोगको कामनामा
म-आफ्नो भाग खोजी रहेको छु ।
ऊ उसको भाग खोजी रहेछ ।
नपाए उही धर्मको नाम छ ।
सोझा सिधालाई लर्डाई रहेछन् ।
यही सत्यता र यर्थाततालाई
हामी धर्म भन्छौ भने
चैतन्यशील मानवलाई
मेरो भन्नु केही छैन ।

चितवन

Rakesh Karki – Sanchchikai Ho Maile Chhaleko Haina (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – साँच्चिकै हो मैले छलेको हैन (गजल)

साँच्चिकै हो मैले छलेको हैन
डुबेँ होला यादमा जलेको हैन

छातीमै छ तस्वीर पिउँदै नशामा
मातेँ होला बरू ढलेको हैन

कोट्याउँने किरणले त्यो Continue reading “Rakesh Karki – Sanchchikai Ho Maile Chhaleko Haina (Nepali Gajal)”

Sarubhakta – Bhitto

सम्प्रति यातनालय
खुम्बू हिमनदीका खरपसजाल
हुडिनीजात्राहरुमा हामीले पाएका छौ
आखेटोपहार – मुक्त कमैयाका
वन्धनहरु
क्यानोपीका नात्रेडयामसहरु
वधशालाका सिम्फोनीहरुमा
रगतका मूल्य किट्छन्
टटेरो – संविधानका खोस्टाहरु
सौसुरिया लाप्पाका धावाहरुमा
अवशोषित छन्
कोपरा उत्सवभरि
हुइयाँ गर्छन् आठपहरियाहरु
वन्दी सिधा खाएर
उत्प्रेषणको आदेश के छ ?
जलवनस्पतीय गृहिणीहरु धमाधम
पोतेमा झुण्डिएर आत्महत्या गर्दैछन्
रगतका अक्षरहरु
जातीय युद्ध भष्मासुरित छन्
खोई कस्लाई थाहा छ कहाँबाट
ओइरिए – अनन्त सहस्रार्जुनहरु ?
राष्ट्रिय सम्वत्सरमा
जहिलेपनि हामीसित अपहरित भित्तो छ
आह ! कहिलेसम्म रजाइ गर्नान्
नेपथ्यका माउसुलीहरु ?

Matrika Pokhrel – Usko Mrityu Ma

मातृका पोखरेल – उसको मृत्युमा

देशको मानचित्र बोकेर
गाउँगाउँ घुमी हिँड्ने
हामीले सधैं देखिरहेको
हाम्रै चेतनाको बारीमा
घाम रोपेर हिँड्ने एउटा मान्छे
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्यो

उसको मृत्युमा
शोकले निन्याउरा भए
झुप्राहरू
नियास्रोले सुस्ताए
दलानहरू
अनुहारहरू फुङ्ग उठाएर
बेहोसझैं भए
गाउँका गोरेटाहरू
सहयात्रीहरूको एक हुल झैं
शिखर चढेको बेला तिर्खाएर
टुकुचाको नालीमा फालनहालेको
चेतनाको माछापुच्छ्रे
अस्तिमात्र ढल्यो
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्यो ।

सुनेको थिएँ–
माटोको मायामा जून फल्छ
विवेकको छातीमा घाम उदाउँछ
इतिहास लेख्न सकुन्जेल
जून मर्दैन
घाम मर्दैन
मैले सुनेकै थिएँ
माटोको माया गर्ने मान्छे
मृत्युपछि पनि बास आउँछ
घाम र जूनमा रूपान्तर भएर
सृजनाको एउटा बोत्री
अस्तिमात्र निभ्यो
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्यो ।

हाम्रो एकता, वर्ष १, अङ्क २, ०६१ असोज

Dr. Madhu Madhurya – Aja Ko Antim Prarthana

हे भगवान् ! तिमी कहाँ छौ –
जसरी भए पनि एकचोटि नेपाल आऊ !
भत्केका त्रि्रो डेरा, मुर्तिविहीन मन्दिरहरु हेर !
देवता बिर्सनेहरुको लाममा मान्छेको क्रन्दन र छटपटी हेर !
पखेटाबिना नै राजा उडिसक्यो, राज्य Continue reading “Dr. Madhu Madhurya – Aja Ko Antim Prarthana”

Acharya Prabha – Man Mero Tyasai Nai Jali Rahyo [Nepali Gajal]

किन किन मन मेरो त्यसै नै जली रह्यो
रापिलो आगो बनी तन मेरो बली रह्यो ।

मुहारमा खुशी छैन,अधरमा हाँसो पनि
सुस्ताएर सारा शरीर कमजोर बनी ढली रह्यो ।

जोश,जाँगर खोसिएर मन त्यसै निरश भयो
किन ,किन सारा Continue reading “Acharya Prabha – Man Mero Tyasai Nai Jali Rahyo [Nepali Gajal]”

Rajendra Sharma – Sheesha Ra Ratna Haru

राजेन्द्र शर्मा – शीशा र रत्नहरु

सूर्यको किरण
फुटेका शीशाका टुक्रामाथि झरेपछि
जाज्वल्यमान् ज्योतिपुञ्जहरु झैँ
झल्झलाकार छन्
प्रत्येक टुक्रा
लाग्छ उनीहरु नै हीरा हुन् ।

मानौ यस धर्तीमा
उनीहरु Continue reading “Rajendra Sharma – Sheesha Ra Ratna Haru”

Abir Khaling – UU

अबिर खालिङ्ग – ऊ

फिदाइन पाइलाहरु हिंडेर
ऊ गई हाम्रो गाउँबाट टाढा
कोलाहलको कपिलवस्तु घुम्न
वोधिसत्व बेईमानीको बगदादमा हेर्न ।

चर्चवेलमा कसरी पड्कन्छ आजकल बम
कसरी मस्जिदमा पस्छ साइकलसँगै
आतंकको ठूलो स्वर ?
मन्दिरहरु गुरूद्वाराहरुमा लादेनको निश्वास छ
ईश्वर निर्वासित छ वर्तमान ।

लुंग्दरमा छ कि ?
बिहानीको चरीको गीतमा पो छ कि ?
डावामा छैन, पानीमा छैन
मान्छेको गीतमा छैन ।

रेलको चर्को सिटीमा
नरसंहारको गीत गाउँदै ऊ गएदेखि
अँह, ऊ आएकी छैन
हाम्रो गाऊँमा
मान्छेको गाँउमा ।

(Sent to Sanjaal Corps via Email)

Tanka Subba – Hami

टंक सुब्बा – हामी

हामी
उस्तै आकास ओढेर
एउटै ब्रह्माण्डमाथि
व्यस्तव्यस्ततामा हराएका उस्तै मान्छेहरु
प्राणको थमौतीमा
अस्तित्वलाई कुल्चदै समयको चौतारीमा
भागवण्डा गरेर सुख-दुःखलाई
कार्यक्षेत्रको Continue reading “Tanka Subba – Hami”

Pratima KC – Shanti Ko Kulo (Nepali Gajal)

प्रतिमा के.सी. – शान्तिको कुलो

खडेरीले बाली खायो बलेन खै चुलो आज
कता सिंचाई गर्दै होला शान्तिको कुलो आज

सललल बग्ने कुलो छिमेकीले आँखा लाए कि
कि कुल्लीले नै मुहानमा बाँध हाल्न भुलो आज

अभिमान Continue reading “Pratima KC – Shanti Ko Kulo (Nepali Gajal)”

Manoj Kafle (Mansoon) – Hijo Rati Sapanima

मनोज काफ्ले मनसुन ‍ – हिजो राती सपनीमा

हिजो राती सपनीमा झल्किएर आइन उनी
मिलनको कल्पनामा पल्किएर आइन उनी

रैछ मनमा रातैभरी अंग अंग छुने मेरा
यौवनाको रंग आफै भल्किएर आइन उनी

नसकेर सहन त्यो तातो Continue reading “Manoj Kafle (Mansoon) – Hijo Rati Sapanima”