Purna vaidya – Pani Ko Artha

पूर्ण बैद्य – पानीको अर्थ

सायद, पग्लनुको अर्थ,
पानी हो –
ठोस-कठोर तिमी
आफ्नो स्वार्थमा
जब कहिले पग्लन्छौ
करुणाको घाममा

तिम्रो आँखामा
पहिले पानी नै त देखा पर्छ
जसले तिमीभित्र भित्र सुक्दै गइरहेको
जुन मानवताको बीज छ
त्यही यसले भिजाउँछ

पहिले, बीज नै नभिजिकन
कहाँ के उम्रिन्छ र ?
तिम्रो हृदय फाँटहरूमा ।

(साभार: जनमत कविता खण्ड १ २०६४)

Bimal Vaukaji – Garba

विमल भौकाजी – गर्व
(नेपाल साप्ताहिक ३९७)

मसँग एउटा सुन्दर देश छ
मसँग चन्द्र-सूर्य अंकित झन्डा छ
तर, तिमीसँग के छ ?

मसँग अग्लो सगरमाथा छ
मसँग शान्तिवाहक बुद्ध छ
मसँग लालिगुराँस छ
मसँग डाँफे-मुनाल छ
मसँग फेवा-रारा छ
तिमीसँग के छ ?

मसँग वीर बलभद्र छ
मसँग स्वाभिमानी अमरसिंह छ
मसँग बडामहाराज पृथ्वीनारायण छ
मसँग चेली भृकुटी छ
मसँग कलाकार अरनिको छ
तिमीसँग के छ ?

मसँग कवि भूपी शेरचन पनि छ
मसँग उसको कविता पनि छ
र, कवितामा एउटा साँघुरो गल्ली छ
‘साँघुरो गल्लीमा चोक छ
त्यहाँ के छैन ? सबथोक छ
असङ्ख्य रोग छ
अनन्त भोक छ
असीम शोक छ ।’
तर, तिमीसँग के छ ?
भन, के छ तिमीसँग ??

Gopal Prasad Rimal – Sapana Ma

मेरो हरघडीमा जपना,
तिमी आज सपनामा आए !
यही आशाको पिलपिले बत्ती लिएर यो आधारातमा
म आफूलाई निद्रको घोर जङ्गलमा छोडिदिन्छु
बत्ती हुरीमा निभ्ला, म अललिउँला,
केही छैन,
तिमी मेरो पुग्ने ठाउँझैँ एक्कासि देखा मात्र परे,
तिमी आज मेरो सपनामा आए !
सपनामा तिमी सुरुसुरु आउन सक्छौ,
न पर्खान, न पहरा–
बिपनाको पखेटा सपना न हो !
चाहन्छौ भने उडेर आऊ न, को रोक्छ ?
मन लागे तिमी दुष्यन्त भएर आऊ,
म शकुन्तलाझैँ फूलको सुसारमा हुन्छु ।
अथवा कथाका राजकुमारझैँ देशभूमण गर्दागर्दै
राक्षसले लुटिएको सुनसान शहरमा आयपुग,
एकलासको बगैँचामा सुतिरहेकी मलाई एक्कासि फेला पार,
मलाई बाबु–आमा भन्न कर परिरहेका राक्षसहरुबाट
छुटकारा दिन कम्मर मस,
म राक्षसहरुलाई आँसुले छकाएर
तिनीहरुको काल पत्ता लगाइदिन्छु,
तिमी उनीहरुलाई मार, मलाई हर !
अथवा मलाई झुक्यानमा पारेर यस्तो बेलामा आइपुग
जब म मेरो लाज र सङ्कोचको
पातलो घुम्टो र सप्को हाल्ने बहनासम्म गरुँ;
बल गनै नसकूँ !
तिमी आऊ—
बिपनाको हराएको मणि नै सपना न हो !
पृथ्वी पनि त निद्राजस्ता गहिरा समुद्रको पानीमा
स्वगैको दौलत चन्द्रमा र तारा पाउँछिन् ।
मेरा राजा !
मेरा परेला निद्राले भारी हुँनै लाए,
तिमी आज सपनामा आए ।

Shreeshisha Rai – Sapana Ko Wari Pari

श्रीशीशा राई – सपनाको वारीपारी

कतै निदाईहाले पनि अबदेखि
कहिल्यै पुरा नहुने सपना नदेखुँ भनेर
सुतेको हुँ म
निदाउनु एकछिन अघिसम्म पनि
दुनियाँलाई सपना मात्रै नबाढुँ भनेर
मुठ्ठी उठाईरहेको थिएँ

सपनामा–
मेरो देशभित्र एउटा देश माग्छ हाङ बुद्धिकर्ण
तर देश देश जस्तो हुनलाई शान्ति चाहिन्छ भन्छ
चमार हल्लाउँदै उसले ढ्या……म्म ढोल बजाएपछि
मैले सौहार्दतामा जाँडको एक सुरुप पिएँ र
एउटा शान्त देश हातमा राखिदिएँ
उसले जीतको उल्लास मनायो

विउँझिदा
विपनासँग समागमका लागि
मेरो पाइला एक कदम अघि थियो
यहिनेर लोडसेडिङ, भोक र अँध्यारो बाटो थियो
आफ्नै लामखुट्टेहरुले झुलको छिद्रवाट चोरेर
मेरो पाखुरा चुसेछन्
कन्याउँदा कन्याउँदै
भुईमा खसेको कलम टिप्न पाइनँ मैले
सँगै सुतेकी मेरी श्रीमति विरालो झैँ घुरिरहेकी छ
म उनलाई विउझाउन सक्दिन किनभने
अन्तरसंघर्ष छ, बोलचाल छैन

ई यसरी,
विपनातर्फको मेरो यात्रा अल्मलिन्छ
र मेरा सपनाहरु सँधै व्यर्थ हुन्छन्

तरहरा, सुनसरी

Komal Bhatta – Ki Ta Timle Pratibha Nai

कोमल भट्ट – कि त तिम्ले प्रतिभा नै (गज़ल)

कि त तिम्ले प्रतिभा नै लुटेको भे हुन्थ्यो
नत्र तिम्रो खराव आदत छुटेको भे हुन्थ्यो

निन्दनीय कार्य गर्छौ लुकी छिपी सधैं
समीपमै आई बरु कुटेको भे हुन्थ्यो

सत्यताको आँखा भित्र छारो हाल्नलाई
कठालोमा समाएर चुटेको भे हुन्थ्यो

देख्दा राम्रो अनुहार कपट राख्ने मनमा
जालीसङ्ग सबको नाता टुटेको भे हुन्थ्यो

भित्तो भित्तो चाहारेर चोट दिनु भन्दा
घरमै बसी थाङ्ना भोटा खुटेको भे हुन्थ्यो

तिरस्कृत हुने कर्म आजै देखि त्याग्दै
आफैँ कोशिश गर्छु भन्दै जुटेको भे हुन्थ्यो

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Lakshmi Mali – Mamata

आमाको हृदयको एक छेउमा
राहत पाउन
बास बसेर हेरें
भत्किएका सपनाहरु आफसेआफ बुनिन थाले
चाहनाहरु फुल्न पुगे
प्रेमको
ममताको अथाह सागर
उर्लेर आयो र नुहाइदियो मनलाई
धन्य ! म आफै पूmल बनेर
सुवास फिँजाउन पुगेँ ।

Shiva Prakash – Asat Dristi

शिव प्रकाश – असत् दृष्टि !

म अहिले जहाँ छु
त्यसैलाई राम्रो मानिरहेको छु
राम्रोमात्र हैन,
अति राम्रो !
तर जहाँ सधैं
नराम्रोको खोजी भइरहेको हुन्छ
जस्तो कि
एटम बम !
अहिले म जहाँ छु
त्यसैलाई सुरक्षित मानिरहेको छु
सुरक्षितमात्र हैन,
अति सुरक्षित !
तर जहाँ सधैं मानवीय विनासको
उद्योग चलिहरेको हुन्छ
जस्तो कि
आणविक भट्टी !

Ashok Parthib Tamang – Anuhar Haru

अशोक पार्थिव तामाङ – अनुहारहरू

अनुहारहरू
मृगतृष्णाको रापमा जल्दै
तासको पत्ति फिट्छन्
एक्का, दुक्की, बास्सा अनि जोकर

लोभले च्याँखे थाप्छ रहरहरू
दाउ बल्झिन्छ घाउ भएर अतितहरू
पन्ना पन्नामा लिप्सिएका Continue reading “Ashok Parthib Tamang – Anuhar Haru”

Dr. Madhu Madhurya – Bigyapan

डा. मधु माधुर्य – विज्ञापन

नखुर्मुरुन्जेल
वीरताको भूमिकामा
कहालीलाग्दो भीरको बाटो हिंडेर
युग-युगान्तर
समयलाई/ संसारलाई तर्साइरहेका छौं
केहि फुटाइरहेका छौं / टुटाईरहेका छौं
कसैको अनुरोधमा
आफैलाई गिराइरहेका छौं

संदिग्ध बिज्ञापन झन् झन् फणा उठाईरहेको छ:
पित्तललाई सुन भनेर झ्याली पिटीरहेछ
हाम्रा यान्त्रिक / दिग्भ्रमित आँखाहरु टोलाईरहेका छन्
कांचलाई हिरा भनेर फलाकिरहेको छ
हाम्रा यान्त्रिक/ भुत्ते कानहरु चुपचाप सुनिरहेका छन्
अब सुनलाई सुन भन्न गाह्रो भो !
अब हिरालाई हिरा भन्न गाह्रो भो !
हाम्रै नेताको भाखामा
विज्ञापनले विश्व-मानचित्रमा
देशलाई अन्तै कतै देखाउने दुस्साहस गरिरहेछ
अब देशलाई देश भन्न पनि गाह्रो भो ?
पन्चामृत र सर्वत सुकाएर
विज्ञापन हामीलाई कोला-विष पिलाई रहेछ
हामी आमाले खुवाएको दूध बिर्सेर रमाईरहेका छौं
स्मृतिको दस्तावेजमा आफैलाई मेट्ने चेस्टा गरिरहेका छौं

जीवन-समापनका श्रृंखलाहरु छन्
विज्ञापनमा –
रंगीला आकृति / रातहरु छन्
मृत्युका आवाज/ छायाहरू छन्
सेक्स र नशाहरु छन्
कहाँ छन् विज्ञापनमा
फूलको स्पर्श र सुवास?
उर्लेको आस्था र साँचो प्रेमका तरंगहरु ?
देशभक्ति र मानवताका भावनाहरु ?

लौ हेर !
फेरि पनि बिज्ञापनको पर्दामा
आधुनिक भष्माशुरहरु
सल्बलाईरहेका छन्
देश सम्झेर आफ्नै पुर्पुरोमा
कतिखेर हातहरु बिसाउँछन्
थाहा छैन…..
आऊ
टुटेफुटेका हातहरु जोडेर
राम्रो प्रार्थना गरौँ |

Krishna Bahadur Chhetri – Udas Anuhar Ko Samjhana Aaunda

मेरो आँखामा यस बेला
एउटा अनुहार झल्झली आईहेछ
म सम्पूर्ण आफ्नो ध्यान
त्यसैमा लगाईरहेछु
लुगामा टाँक लगाउने कामदार
एउटी युवतीको उदास अनुहार
त्यसै-त्यसै धेरै दिनदेखि सम्झिरहेछु

एकान्तको गहिरो Continue reading “Krishna Bahadur Chhetri – Udas Anuhar Ko Samjhana Aaunda”

Shyamal – Waripari

देशे बेचेर आफ्नो छोरालाई घडेरी किन्नेहरु छन् वरिपरि
अर्काको काँधमा चढेर सगरमाथा आरोहण गर्नेहरु छन् वरिपरि
जोताएर तमाम मानिसहरुलाई किसान बन्नेहरु छन् वरिपरि
भोक्दै छु एकनाससँग
मलाई लुछ्दै गइरहेका किर्ना, जुम्रा र बिच्छीहरु झैं
केही बाबुहरु छन् वरिपरि ।
हावामा झुलिरहेछन् प्लाष्टिकका रङ्गीन फूलहरु
र जबरजस्ती चुँडिएर
पूजाकोठाको मूर्तिमा चढाइएका छन् सृष्टिका सुन्दर शिशुहरु
परन्तु निःशब्द मानिसहरुको लाटो भीड छ वरिपरि
निहत्था आमाहरुको जमात छ वरिपरि
र ग्रह घुमिरहेका उपग्रहहरु छन् वरिपरि
केही बाबुहरु छन् वरिपरि ।
यो कहाँ हो ?
कहाँ छु म ?
र कहाँ छ यहाँको मानवबस्ती ?
कतिहजार कोष टाढा फैलिएको छ यो अँध्यारो जङ्गल ?
को सँग सोधूँ, कहिले पुगिन्छ मानिसहरुको बस्तीमा ?
यहाँ त केही ताजमहलहरु छन्
जो बनाउँदा काटिए हातहरु कर्मीका
केवल ठुटा हात भएका कलाकारहरु छन् वरिपरि
इतिहास बन्दै गएका केही मानवकृतिहरु छन् वरिपरि
अकुत सम्पत्तिको समुद्रमा पौडिरहेका केही बाबुहरु छन् वरिपरि ।
छद्म समाजसेवीहरु छन् वरिपरि
मृत्यु—घण्टाको रालो अँठयाएर
जबरजस्ती बाँचिरहेका सिकारी चितुवाहरु छन् वरिपरि
सधै घातक खेलमा व्यस्त
व्यूह रचना गरिरहेका केही दुष्टहरु छन् वरिपरि
आगो चोरेको आरोपमा मानिसलाई सजाय दिन सधै उत्सुक
सिकारी द्यौताहरु छन् वरिपरि
केही बाबुहरु र उनका
प्रिय नातेदारहरु छन् वरिपरि ।

Acharya Prabha – Ma Pardeshinu Ko Ashaya

करुण चित्कार मनमा लिएर
आँशुका थोपाहरुलाई
मुटुको घडामा समेट्दै
बन्धकी हाँसो उकास्न
म परदेशिएको मान्छे ।
बिवसता मेरो नजिक थियो
त्यो क्षण ,
अनी पीडा आफन्त थियो
त्यो पल,
शायद समस्याले जकडिएको
त्यो समयमा आफ्नाहरु पनि
तर्किएर बैरी बने होलान,
मन भौंतारिएर आश्वासनको खोजिमा थियो
शान्त्वनाको पुल बाँधिदिने हातहरु
सुन्यतामा हराए शायद ,
हो यस्तै बाध्यताहरुको कसिमा
आफुलाई बाँधेर म परदेशिएकी छु।
बैरी र अवसरबादिहरुलाई आकर्षणको
फूल चढाउन
म टाढा आइपुगेकी छु ,
मेरो टाडिनुको अर्थ हो
म आकर्षक बनुँ
जस्लाई फेरि बैरी मनहरुले
श्रद्धा र आफ्नोपनको आँखाले नियालोस
घ्रीणा र हिनभावनालाइ पखालेर
एउटा जिवित मान्छे बनोस।

Shreehari Luitel – Briddha Ko Spandan

श्रीहरि लुईटेल ‘दुःखी’ – बृद्धको स्पन्दन
(मधुपर्क जेठ, २०६८)

सुक्यो देह मेरो
मकैको ढोडसरी ।।
झर्‍यो पात मेरो
शिशिरको रुखसरी ।।
भए म आज किन
खोलाको बगरसरी ।।
लौरोको साथी भो
शरीर पनि भो लौरोसरी Continue reading “Shreehari Luitel – Briddha Ko Spandan”

Harihar Dahal – Dashain Byaaj Ra Narapichas Haru

बालीनालीहरू थन्क्याउन थाले होलान गाउँघरतिर
मकैका थाङ्राहरूले बारीका पाटाहरू सजिएका हुनन्

सुने,
काकी बितेर जुठो परेछ ठुलाघरेहरूलाई,
मेरो समबेदना सुनाइदिनु ।
कठै! कति रोए होलान् बिछोडमा आफन्तहरू!
दशैं Continue reading “Harihar Dahal – Dashain Byaaj Ra Narapichas Haru”

Rakesh Karki – Nawa Barsha 2070

इन्जिनियर राकेश कार्की – नववर्ष २०७०

सूर्य जून ताराहरुले उज्यालो छरि
हाम्रो भूमिमा ल्याए नववर्ष २०७०
विदेशदेखि गोडाहरु समुन्द्र तरि
लौ आए मनाउन नववर्ष २०७०

हुन्छन् विवेकी हुन्नन् भ्रष्टाचारी
असल सोच देउ नववर्ष २०७०
डुबाउदैनन् देश कालोधन्दाले व्यापारी
लेनदेन सुपथ बनाउ नववर्ष २०७०

हुन्छन् दयावान हुदैनन् अत्याचारी
शुद्ध आत्मा देउ नववर्ष २०७०
हटाइदेउ लोभलालच कमिशनको भारी
कर्ममा विश्वास दिलाउ नववर्ष २०७०

संपूर्ण नेपाली मनमा प्रेम-सुधा भरि
शहर गाउँ आँगन आयो नववर्ष २०७०
सुख समृद्धि होस् देशले प्रगति गरि
बाँडिरहन्छ शुभ-कामना नववर्ष २०७०

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 002 – Hey Narayan Ke Bhayo

पानी सिमसिम बर्सिएर सकियो आषाढको रातमा
निस्के झिम्झिम ज्योतिमा जुनकिरी ओस्याइला फाँटमा
फारी बादल शैलको शिखरमा तारा उदाइन् अब
आई विष्णुमती–पवित्र तटमा मेरी निदाइन् अब

कस्तो शान्ति छ – रातको पहरा रातै घुसको सरि
रोकि श्वास मसानमा छ शिवको छाया बसेको सरि
गङ्गा खालि सुसाउँछिन् बगरमा नाना बिलौना गरी
टाढा रोइरहेछ एक बटुवा साथी छुटेको सरि

मान्छे हो, अहिल्यै अमङ्गल अहो ! भन्छौ मलाई किन
यै कालो निशिमा छिपाइ मुख यो देओ मलाई रुन
हे नारायण के भयो ! जुन कुरा भन्थेँ नहोस्, त्यै भयो
छैनौ हे सँगिनी ! तिमी कि अहिले संसार नै छैन यो !

बेहानीपख जो उठेर बटुवा चल्छन्, तिमी चल्दिनौ
यत्रो खल्बलपूर्ण भूमितलमा खाली तिमी बोल्दिनौ
धारामा जल जो भरेर युवती हाँस्छन् तिमी हाँस्तिनौ
तिम्रै मात्र भयो र के ? सब जना बाँच्छन् तिमी बाँच्दिनौ

हे गौरी ! अब हेर्दिनौ हकि तिमी ब्यूँझी उज्यालो दिन
मैले देख्नुपर्यो नि आज भुइँमा मेरी नभा’को दिन
बाँचेरै यतिसम्म, एक छिनमै के जिन्दगी सिद्धियो
मेला आज उठ्यो विशाल उनका लेखा जगत् सिद्धियो

तिम्रो अन्तिमको शिँगार सँगिनी ! कात्रो कसोरी भनूँ
तिम्रो निम्ति दिइन्छ पात्र जुन त्यो ‘टीलो’ कसोरी भनूँ
गाली होइन, किन्तु भन्नु कसरी यो अन्न बुर्की भनी
मुर्दानीर्, कसरी भनूँ, जुन तिमी मेरी थियौ जीवनी

यत्रो लोक कहाँ गयो, जब तिमी एक्लै गयौ घाटमा
चिम्ल्यौ लोचन अन्धकारबिचमा आषाढको रातमा
के भो लोक चिनेर, फेरि ममता मेरो लिएरै पनि
हा अज्ञान, अभाव, भूलहरुमा तिम्रो गयो जीवनी !

अउन्नन् अब हे नहेर, चुचुरा ! गौरी पखेरामनि
गाउन्नन् अब गाउँका युवति हो ! गौरी छहारीमनि
बर्सी जा र पहाडमा खबर यो लैजा रुँदै बादल
घर्पेटी ! अब शान्तिलाई भनिद्यौ– आमा गइन् मावल !

Kamal Koirala – Asare Mahima

कमल कोइराला – असारे महिमा
(Source: मधुपर्क असार, २०६७)

चर्काे घाम कडा परेर जगमा सुख्खा छ सारा चीज
तिर्खाले मुख आँ… गरेर दिनमा सुक्छन् गराका बीज ।
सुख्खा भैकन वैलिएर नमरून् भन्दै फिँजाई दया
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
र्झछन् पर्वतबाट श्वेत झरना खोला र खोल्साहरू
देखिन्छन् हरिया वनस्पतिहरू उस्तै पहाडी तरु ।
पानीको भल बग्छ खेतभरि नै भिज्छन् सबैका गरा
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
धस्छन् हातहरू सिँगार्न धरती सङ्घर्ष ठूलो गरी
देखी पौरख त्यो किसानजनको गाथा कहन्छे चरी ।
जोती खेत हिलो भएछ धरती हो बीउ रोप्ने कहाँ
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
खेताला अघि नै तयार अनि ती जोत्ने र खन्नेहरू
खप्छन् घाम, झरी सही दुख सबै भोकै मरून् ती बरु ।
गाई गीत कहीँ, कहीँ छमछमी नाच्छन् असारे जहाँ
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
खोलाको जलले हिलो दबदबे पारिन्छ धर्ती जब
हेर्दै फाँटतिरै कसेर पटुकी सानी झरिन् ती अब ।
हाँस्दै काम गरी ठिटा अनि ठिटी बूढा र पाका त्यहाँ
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।
नेपाली त्यो सपना दिमागभरि नै उब्जाउँछन् रासन
जुट्छन् पौरख गर्न मानिसहरू धान्नै छ यो जीवन ।
यस्तो कार्य हुँदै रहोस् झिलिमिली बर्सेनि नौलो यहाँ
आयो फेरि घुमी असार महिना उल्लास बोकी नयाँ ।।

Dr. Khumnarayan Paudel – Antim Raat

डा. खुमनारायण पौडेल – अन्तिम रात

तिम्रो प्रस्थानपछि
जूनले कतै बिसाउनेछ आफूलाई
घामले उम्रिन बिर्सिने छ क्षितिजमा
अँध्यारो झन् अँध्यारोभित्र
साउती मात्र गर्नेछन् चराहरू
शोकाकुल पहाडहरूमाझ
बग्नेछ निशब्द एउटा नीरनदी
तिम्रो प्रस्थानपछि

तिम्रो प्रस्थानपछि
कोठाका हरेक भित्तामा
टाँगिनेछन् शून्यताका क्यालेन्डरहरू
सोफा, मेच र पलङहरूमा
लम्पसार पर्नेछ गहन रिक्तता
कोठाको हरेका कुनाबाट
चियाउनेछ मौनताको निरीह अनुहार

तिम्रो प्रस्थानपछि
अडिने छैनन् आँखा
पुस्तकका पानाहरूमा
देह, सडक-घर, घर-सडक गर्ने
एउटा सटलबस बन्नेछ
मनभरि बास बस्नेछ एउटै उदास ऋतु
झर्नेछन् इच्छाहरू भईभरि
र्झछन् जसरी-
शरदमा म्यापलका पातहरू

अडिनेछन् घडीका सुइहरू
दिक् र काल निर्वासित हुनेछन्
तिम्रो प्रस्थानपछि

Shreeshisha Rai – Mulghat Yatra

परेलाको स्याउलाले छोपिएको आँखा हो भने
यात्राहरु उस्तै पनि देखिन सक्छन्
कपालले ढाकिएको आँखा खोलिहेर
अवका सवै यात्राहरु नयाँ हुन्
वाह्रमासे भुईचालोले रन्थनिएर
पश्चिम फर्किएको त्रि्रो सिकुवामा पनि
घाम यसरी खस्यो कि
यो विहान त्रि्रो जिन्दगीकै नजीर बनेको छ

अवको यात्रा हिड्न
रुपान्तरित पदचाप हुनुपर्छ किन भनिरहनु मैले
पाईलाको सापेक्षता मुलघाटसँग छ भन्नु पनि किन
दिनको यो सुरुवातले गरेको सप्रसङ्ग ब्याख्यालाई
हु वहु उतार्दा पनि र्छलङ्ग हुन्छ
कि त्रि्रो शीर अर्थात मुलघाट पुग्न
पहिलो पाईला दक्षिण फर्किएको हुनुपर्छ

सपाङ्ग फड्काहरु हुँदैनन् अव
तमोरलाई जोड्ने पुलमा घुम्तीहरु भेटिनेछन्
पुग्नकै लागि तिमी र जीवन भनीसकेपछि
नाकले टेकेर पनि हिँड्नैपर्छ
असामान्य यात्राका सामान्य ध्रुवहरु हुन् यी
नाक भईमा टेकिँदा मुखमा आउने माटोको स्वाद
दुर्गम गन्तब्यको पक्षमा पानीको तरकारी हुनसक्छ
त्यसवेला त्रि्रो भान्साकोठाका सवै टोकरीहरुवाट
नुन र मसलाहरु रित्तिनेछन्

अलिकति माथि हो भने
ट्याक्सीको वगरलाई सम्याएर सोई ढोले सोई नाचीरहेको
या जुलुसमा सडक उम्लीरहेको भएपनि
चौक र उभौलीको सिमानामा कर्फ्यु लाग्छ
उकाला र घुमाउराहरुको प्रक्षेपणले तिमी
भेडेटार पुग्दै मुलघाटमा उभिएको भन्छौ भने
माथिल्लो पट्टीको ओरालोमा त्रि्रो टाउको ठोक्किनेछ

अलि तल
युगको पिलरमा लेखिएको छ- शताब्दी किलोमिटर
तिमीलाई नजिक देखेर बजाज डिस्कभरी हर्न बजाउँछ मुलघाट
दुरि पढ्न नजानेर हतार दौडन थाल्यौ भने
यात्राको पुर्वी आँगनमा अव समवेदना खस्नेछ
शब्द नफुरेको असह्य छटपटीमा मैले
श्रीमतिको एक भोल्ट म्वाई खाएर
कविता पुरा गर्न खोजे जस्तो
तिमी उठेर खोच्याउँदै पुग्नुपर्नेछ मुलघाट
अनि र्सलक्कै देखिनेछ गणितमा
तिमीदेखि मुलघाटसम्मको दुरि
र मुलघाटको उचाई

Bimal Pradhan – Sunami

बिमल प्रधान – सुनामी

डगमग सागरका उचालिएका हाथहरुले
मानिसका खिलोउनाहरु हुताएको देखें
पछारिएको अट्टालिकामा प्वाख उम्रिएर
य्त्र तत्र छ्रिएको शरीर देखें
शान्ता सागरको छातीमा उम्लिएको स्तन्हरुमा
योउवन Continue reading “Bimal Pradhan – Sunami”