Hemanta Pardeshi – Timro Abhagi Premi Ko Katha

हेमन्त परदेशी – तिम्रो अभागी प्रेमीको कथा

यता तिमी बैंशालु गुराँश बनेर
लेकाली पाखाभरि ढकमक्क फूलिरहँदा
उता रेगिस्तानको बन्जरभूमिमा ‘नोष्टाल्जिया’का हाँगाभरि
मरुभूमिको ‘क्याक्टस’ फूल्न विवश तिम्रो अभागी प्रेमी
कति फिक्का र निरस जीवन बाँचिरहेको होला l

हुन त पैतलामा काँडा बिझ्दा मष्तिष्क दुख्छ मान्छेको
त्यसैले, आफ्नो अभागी प्रेमीको पीडामय जीवनकथा सुनेर
तिम्रो छातीभित्र पनि अदृश्य घाऊको खिल पल्टिएको होला
अनि दिनरात आँशुको सागरमा डुबुल्की मार्दै
तिम्रो कोमल हृदय बेस्सरी तड्पिरहेको होला l

तर, आँशुले दु:ख धुन सकिँदैन -ले
मलाई चट्टान जस्तै दह्रिलो मन बनाएर भन्न मन लागेकोछ
कि, सबथोक गुमाएर पनि-
फाटेको मन टाल्ने एक टुक्रा आफ्नै माटो त छ नि तिमीसंग
अनि, आँखाका डीलबाट बगिरहेका आँशुलाई धोई पखाली गर्ने
आफ्नै हिमालको चिसो पानी पनि त छ तिमीसंग l

साँच्ची आफ्नो माटोको सुगन्ध कति मिठो हुन्छ है
कल्पना मात्रै गरेर त हेर एकपल्ट
तिमीले कोशेली स्वरुप पठाइदिएकी
गुन्द्रुक र अकबरे खुर्सानीमा
तिम्रो अभागी प्रेमीले कति मिठो सुगन्ध अनुभूत गर्दो हो
पराईभूमिमा पनि आफन्त र आफ्नो देशको माटोको l

यीनै पाखा, पखेरा र सौलुङ्गको दृश्यानुभूतले
कति बिक्षिप्त बन्दो हो उसको मन ?
कति बगाउदो हो तिम्रा यादहरुलाई आँशुका भेलहरुमा ?
तर बिडम्बना !
न आँशु पखाल्ने हिमालको चिसो पानी छ ऊसंग
न सिंचित हुने एक टुक्रा आफ्नै माटो नै ।

तर पनि ऊ निरास बनेको छैन रे !
धेरैपल्ट चिठ्ठीमा लेखेको छ उसले –‘जिन्दगी दिन र रात जस्तै हो l’
दिन पछि रात आए, रात पछि दिन पनि अवश्य आउछ
बस् खाँचो छ त केवल सकारात्मक सोच सहितको समयको सही उपयोगको
अनि, साथ, सहयोग र सद्भावपूर्ण सहयात्रामा
एक अर्का प्रतिको अपरिवर्तनीय बिश्वास र साझा समर्पणको l

Kusum Gyawali – Gati Kendra Ra Astitwa

नीचोरेर त्रस्त चिसा पसीनाहरू
रातको रखवारी गर्दै
चिसो जून घुम्छ निरन्तर
पृथ्वीको केन्द्र समातेर नियमित बक्ररेखामा
पृथ्वी पनि घुम्छ सूर्यको केन्द्र समातेर
अनन्त अस्तित्वको लागि परिभाषित बक्ररेखामै
जलाएर करोडौं हेलियम कणहरू छातीमा
सूर्य पनि निरन्तर घुम्छ नियमित बक्ररेखामै
निश्चित केन्द्र विन्दु समात्दै विशाल जिम्मेवारी बोकेर
अस्तित्व-सूत्रहरूका लागि
आकास गंगा पनि घुम्छ निरन्तर
अस्तित्वकै लागि घुम्नुपर्छ सबैले
कुनै न कुनै केन्द्र विन्दूमा
सबैलाई चाहिन्छ एउटा ‘ग्यालेक्टिक सेन्टर’

अन्यथा,
टुक्रिएका प्रेमकथाको मिथक जस्तै
उल्कापिण्डहरू खसेर हराएको आकाशमा
हराउने गर्दछन अनियमित गतिहरू
केन्द्र विन्दुहिन घुमाइहरू

त्यसैले, सोध्न सक्छ पृथ्वीले
ए मान्छे ! खै तिम्रो केन्द्र विन्दू ?
खै नियमित यात्राको बक्ररेखा ?
खै तिम्रो सूत्रबद्ध गति ?

यदि छैन भने समुचित जवाफ यी, समय प्रश्नको
नानीहरूले तिम्रो पनि इतिहास पढ्नु पर्नेछ,
खस्दै गरेको उल्काको धरातलमा
एउटा निरर्थक उर्जाहीन फिलिङ्गोको कथा !

Madan Rai ‘Lamakhule’ – Dharanka Chowkharu

मदन राई ‘लामाखुले’ – धरानका चोकहरू
(मधुपर्क २०६६ माघ)

अत्यन्त समृद्धचोकहरू
कतै नलर्खरावस्
कतै नबरालियोस्,
उभियोस् अटल छाती
साँगुरी भन्ज्याङ्ग भएर
भानुचोक, छाताचोक, लक्ष्मीचोक
बालकचोक, किराँतचोक, Continue reading “Madan Rai ‘Lamakhule’ – Dharanka Chowkharu”

Rakesh Karki – Rasayan

इन्जिनियर राकेश कार्की – रसायन (कविता)

विषाक्त रसायन सल्वलाए
स्वच्छता वर्षिने बाटोमा
अंग अंग पक्षघात पारे
सिर्जेन कतै केही माटोमा

जोडिन्छन् गुनिन्छन् थप्दै
व्यालेन्स मिलाउन खोजिन्छन्
हचुवाका एक्सपेरिमेन्टहरुले
डरलाग्दा मिश्रण थपिन्छन्

रटाएका सूत्र कोही बक्छन्
प्रतिफल बारे अनभिज्ञ छन्
कतै पड्काउछन् जलाउछन्
कतिलाई जिउँदै गलाउँछन्

कर्तव्य गर्नेलाइ जमीन सिँच्नु छ
बाँच्नेलाइ हातमुख जोर्नु छ
अम्ल क्षारले कन्टामिनेट हावा
सास त तिमीलाइ पनि फेर्नुछ

जन्माउने जमिन एउटै हुन्
स्तनपान गराउने गौरी हुन्
रसायन बन या अमृत झर
बनाउ या मास आफ्नो घर

– लस् एन्जेलस्

Bhupi Sherchan – Aljechha Kyare Pachhyauri

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

आउँछे कि चेली भनेर आमा दोबाटो धाइथिन्
तीजमा पनि बिर्सेछ क्यारे गरीब माइती
सल्लाझै आमा सुसाइरहिन, एक्लै कोठामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

छोरीलाई आशीष हाल्न पाइन अन्तिम सासैमा
भन्थे नि बाबाले आँसु झारी टिकाको थालीमा
त्यै आँसु टिका पठाइदिऊँ कि, प्रवासको पातमा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

भन्थे नि दाइले भाइटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो ईन्द्रेणी लर्केला
दिनभरि काग कराइरह्यो, बेलको ठुटामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 001 – Ke Lekhnu Maile Paryo

धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए
मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए
छाया आज पर्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पर्यो
आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पर्यो !

मेरीलाइ म देख्छु झल्झल, त्यही टाँसिन्न यो पत्रमा
मेरीको मनको किनार रँगिलो, गाँसिन्न यो पत्रमा
यो बायाँ मुटु चस्कँदो छ कसरी, जान्दैन कोही पनि
छाया एक मभित्र रुन्छ कसरी, सुन्दैन कोही पनि

मेरा अक्षर लेखिदे वनचरी ! वैशाखको पातमा
बोल् हे गोलसिमल् ! चुँडेर दिल यो एकान्तको रातमा
लैजा बादल ! दूर देश, दिलको आँसू, कहाँ छन् उनी
आउन्नन् हकि, काव्य सुन्न उनकै फर्केर कैल्यै पनि

मेरो साथ बसेर हाँसिरहने रानी ! खरानी बन्यौ
आमा शान्ति र कान्तिकी, सकलकी साजा कहानी बन्यौ
आफैँ ईश्वरले रचेर कसरी त्यो चित्र च्यातीदियो
के थालूँ अब लेख्न जीवन जहाँदेखिन् इतिश्री भयो

सम्झी ल्याउँछु– आज छैन रिस क्यै, गाली गरेहूँ किन
जाने नै रहिछन् नि ! त्यो दिन त्यसो मैले गरेहूँ किन
आफ्नैले त कसूर गर्छ, अहिले देखेर पो के भयो
के सम्झेर गइन् उनी, गुणकथा लेखेर पो के भयो

आनन्दी दुनियाँ छ एक, मनका मेरा पखेटामनि
छन् दुःखी परिवार किन्तु घरमा चीसा परेलामनि
केही छैन उपाय, खालि कमलो छाती लिएको कवि
टाढा ताक्छ, नगीच गुम्छ, कविता मुर्दा छ, छैनन् छवि

यौटा मानिस जो गयो–हृदयको सर्वस्व मेरो गयो
यौटा पुस्तक लेखियो–हृदयको रुन्चे कुना देखियो
साँचो जीवन त्यो गुमाइ, कसरी झूटो कथा यो भनूँ
वैरीलाइ समेत लेख्न नपरोस् यस्तो अरु के भनूँ !

क्वै भन्लान्– शिरको सिँदूरसहितै गौरी गइन् स्वर्गमा
क्वै भन्लान्– यस काव्यमा अमर छन् गौरी यहीँ मत्र्यमा
बाँचेको क्षण सत्य हो, अरु कुरा के हो कसो हो अब
ती मेरी घरमा थिइन्, हृदयको छन् सम्झनामा अब

कोट्टयाऊँ कति घाउ यो कलमले अड्कन्छ अड्कन्छ है
सम्झी ती दिन, ती कुरा, हृदयमा खड्कन्छ खड्कन्छ है
खोली पुस्तक आँसुको लहर यो हेरेर बत्तीमनि
सम्झीद्यौ सबले कुनै दिन यहाँ गौरी थिइन् रे ! भनी

Tanka Subba – Barsha

टंक सुब्बा – वर्षा

बादलको जलमग्न छाती निचोरेर
जब आकास चुहिन्छ
तब माटोमा उदाउछन् असीमित खुशीहरु
उर्वर भएर बेहुलीको घुम्टो झैं
हरियाली छाउदा मुस्कुराउछन् डाडापाखाहरु
र श्रद्घाञ्जली हुन्छ खडेरीको
त्यसैले Continue reading “Tanka Subba – Barsha”

Haribhakta Katuwal – Pokhiyera Gham Ko Jhulka

हरिभक्त कटुवाल – पोखिएर घामको झुल्का

पोखिएर घामको झुल्का भरि आँगनैमा,
तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है
सयपत्री फूलसँगै फक्री आँगनैमा,
बतासको भाखा टिपी बोलूँ बोलूँ लाग्छ है ।

कति कति Continue reading “Haribhakta Katuwal – Pokhiyera Gham Ko Jhulka”

Chhabiraman Silwal – Mero Naya Nepal

छविरमण सिलवाल – मेरो नयाँ नेपाल !!

नयाँ सडकको
पिँढीमा बसेर
नयाँ नेपालको मेरो
शरीर निहालेँ
तिल चामल फुलेका मेरा
कपालमा कालो दलेर
मैले बुढ्यौली कम गरेको थिएँ
नयाँ सडकमा
बसेर मैले आफैँले आफैँलाई निहालेँ
घडी हेरेँ दिउँसोको
एक बजेको रहेछ
घडी कहाँ बनेको रहेछ ?
हेरेँ मेड इन जापान
वा, जापानिज घडी
म दङ्ग परेँ
जुत्ता निहालेँ
मेड इन हङकङ
एवं क्रममा मैले
आफ्नो कौतूहल मेटाउँन
मैले लगाएका सबै चीजहरू
क्रमशः निहालेँ
सर्ट, पाइन्ट, गन्जी, कट्टु आदिआदि
कोही भारतमा बनेका थिए, कोही चीनमा
हातमा बोकेको ब्याग निहालेँ
त्यो पनि चीनमा बनेको रहेछ
म नेपाली भएकोमा गर्व छ मलाई
र मेरो नेपालको नयाँ सडक
मलाई निकै प्यारो लाग्छ
म दिनहुँ यहीँ बस्छु

मैले शरीरमा लगाएका लुगाहरू निहाल्छु
म र मेरो लुगाभन्दा बाहेक
मसँग एउटा चिनो छ नेपालको
सबै अड्डा अदालतमा दिनहुँ काम लाग्ने
यो चिनो मेरो खल्तीमा सधैँ हुन्छ
हुन त
मेरो गौरव भनेकै यहीँ हो
एउटा नागरिकता र अर्को सगरमाथा
सगरमाथा नाङ्गै रहे पनि
हामीलाई स्वाभिमान सिकाएर नाङ्िगएको छ
तर म नाङ्िगन सक्तिन त्यसरी
किनकि मेरो इज्जत जान्छ अरे !
मैले मेरो इज्जत जोगाउन
विदेशी खोल ओडिरहेको छु
सगरमाथाले भने मलाई बारम्बार
नाङ्िगने सल्लाह दिन्छ
सपना होस् या विपना
आफ्नो स्वाभिमानको खातिर
म अब साँच्चिकै नाङ्िगने नै छु ।
त्यही नयाँ सडकको पिँढीमा
म आफ्नो निर्वस्त्र शरीर लिएर
बस्ने छु,
म बौलाएको ठान्नेहरू
मेरो वरिपरि झ्याम्मिरहेका हुने छन् ।

काभ्रे

Sagar Saund – Timra Saath Hindne Lai (Nepali Gajal)

सागर साउद – तिम्रा साथ हिड्नेलाई (गजल)

तिम्रा साथ हिड्नेलाई धेरै पछि देखे आज
त्यसैले त सम्झनामा एउटा गीत लेखे आज ।।

तिमीलाई देखे पछि उस्कै याद आयो मलाई
वेदनाले झर्ने आँशु गहभित्रै रोके आज ।।

उनी संग बोल्न नपाई विछोड मेरो भ’को थियो
उनी सम्झि तिम्रैसाथ सबै पीडा पोखे आज ।।

तिम्री साथी देखेपछि तिम्लाई भेटे जस्तै लाग्यो
अस्ताएको माया फेरि उदाएर बोके आज ।।

सम्झिएरै तिम्रो खेल्ने त्यही सुन्दर आँगनीलाई
तिम्रै नाममा एउटा सुन्दर फुल मैले रोपे आज ।।

डडेल्धुरा, जोगबुडा

Bhim Darshan Roka – Timro Saamipya

जति जति म तिम्रो वर वर पुग्छु
लाग्छ उत्ति नै झन् पर पर हुन्छु
यो कस्तो सफर ?
मृत्यूभन्दा पनि पर
निकटताभन्दा कोसौँ दूर
जहाँ जीवन शुरु हुन्छ
म जन्मिरहन्छु जन्मिरहन्छु
मभित्रको बच्चामा ।

Chanki Shrestha – Chiso

मौसम चिसिएको छ
प्रत्येक दिन देशको मौसम चिसिँदै गएको छ
तर, बाबा पशुपतिनाथ देशमा अझै चिसो भित्र्याउन प्रतिबद्ध छन् ।

हिमाललाई नै टपक्क काखमा लिने सौभाग्य पाएकोले होला
पर्याप्त चिसो सञ्चयन गरेको छ देशले
चिसो सापटी फर्काउने मन छँदै छैन उसलाई
त्यसैले त सडक, बगैँचा, बन
खोला, खोल्सा
आँगन, मझेरी, कोठा, चुलो
कहाँसम्म भने मान्छेको मनभित्र समेत चिसोकै साम्राज्य छ ।

चिसोबाट बच्न मान्छेहरू अनेक उपाय गरिरहेछन्
देशवासीले शरीरमै हिटर जोड्नमात्र बाँकी छ

चिसो अचाक्ली बढेपछि
निकै महंगिएको छ रायोको स्वाद
प्रिय भएका छन् गाँजा र चुरोटको सर्को
चिया र कफीको सुर्को
तर, खङरंग सुकेका छन् दुबो र तुलसीका पात
ठहरै भएका छन् सुन्तलाका बिरुवा र पालुवा सपनाहरू

तर, बाबा पशुपतिनाथ
देशमा अझै चिसो भित्र्याउन प्रतिबद्ध छन् ।

Manoj Kafle (Mansoon) – Alo Ghau Dukhi Rahyo

आलो घाउ दुखि रहयो सियेपानी सिईदेउ
नसापिउदा भुल्छौ पिडा पियेपनी पिईदेउ

तिम्रा मनका चाहाना दिनानुदिन गुन्ने गर्छु
भुलें भन्दै एक रात खुसी दियेपनी दिईदेउ

तिमीलेनै धोका भन्छौ मुटु छियाछिया पारी
मलाइ मारी एक्लै तिमी जियेपनी जिईदेउ

डर त्रास देखाएर किन नाम कमाउछौ र
शंघर्ष ले हात तिम्रो खियेपनी खिईदेउ

शैशवमै बालेउ आगो उन्नतीको भकारीमा
मलाइ मास्न पान सुपारी लियेपनी लिईदेउ

Dr. Mohan Prasad Joshi – Malai Ta Hansai Uthchha

डा. मोहनप्रसाद जोशी — मलाई त हाँसै उठ्छ

मलाई त हाँसै उठ्छ,
तपाईं कस्तो उट्पट्याङ कुरा गर्नुहुन्छ,
अलिकति विश्राम गर भन्नुहुन्छ |
तपाईंलाई थाहा छैन म कति व्यस्त छु ?
केके गर्दछु ?
ल सुन्नोस् —
फेसबुकमा Continue reading “Dr. Mohan Prasad Joshi – Malai Ta Hansai Uthchha”

Rajab – Khatara Purna Ek Yathartha

आजका सब खराब
इतिहासमा राम्रो देखिने छन्
यो खतराको प्रारम्भ
आज भएको छ
हामी सब निरुपाय
टोलाउँदै
गन्दैछौँ
खराबहरूको सङ्ख्या
जो हुनेछन् असल भोलि
ती खराबहरूको
आज सत्तामा जाने उपक्रम चल्दै छ

Shiva Prakash – Shasak

शिव प्रकाश – शासक !

पेट भर्न
गाँस मागे
गोली दियौ

शरीर ढाक्न
कपास मागे
नेल दियौ

टाउको ओत्न
छानो मागे
जेल दियौ

स्वतन्त्र बाँच्न
अधिकार मागे
मृत्यु दियौ

मैले सुनेको
हो, तिमी यस्तै हुन्छौ
किन भने
तिमी त शासक न हौ !

Krishna Bahadur Chhetri – Hansna Deu Tyaslai

साउनको आकाश निरन्तर
बादलको झापडले रोए झैं
आफ्नै भित्री पीरको सुईरोले घोचिएर
मुटुभरि धुरु-धुरु रुने
मरुभूमिको बालुवामा पानी
सिनित्तै बिलाए झैं
भित्रै आँसु लुकाउने
दाँत देखाएर बेला-बेलामा
हाँस्ने Continue reading “Krishna Bahadur Chhetri – Hansna Deu Tyaslai”

Ratna Shamsher Thapa – Bedana

रत्नशमशेर थापा – वेदना
(मधुपर्क असार, २०६७)

छिटै नै आँउछु भनेर गएको
निर्दयी आएन फर्केर ।
वाचा त्यो सम्झेर आँखा यी रसाइ
दुख्छ नि यो मन चर्केर ।
डुब्ने भो मेरो मायाका तारा
गहिरो दहमा ।
रुझ्ने भो मेरो चाहना सारा
ओसिलो गहमा ।
सुसाइरहेछ एकनास आँधी
मेरो चारै सूर ।
विझाइरहेछ हररात छाती
हुँदै चूरचूर ।

Shyam Rimal – Shabda Seema

श्याम रिमाल – शब्दसीमा

मानिसहरु किन व्यर्थमा
शब्द फालिरहेछन् हँ ?

हावामा बिलाइरहेका शब्दप्रति कुनै शोक छैन
शब्दवाचकहरुलाई,
न शब्दलेखकहरु
कागजका भावहीन शब्दप्रति पश्चाताप गर्छन्

शब्दको अनस्तित्वमा
आशौच बार्छन् त
शान्त सौम्य हावाहरु
सेता कागजहरु
र मौन आत्माहरु

शब्द त ब्रम्ह हो
शब्द त सृष्टि हो
शब्द त सत्य हो र शाश्वत रहन्छ
शब्द त नित्य हो र अनन्त रहन्छ

मानिसहरु शक्तिहीन शब्द फ्याँकेर
किन आफंैलाई कमजोर बनाइरहेछन् ?

B S Chhetri – Pal Pal

बिष्णु सिलवाल छेत्री – पल पल

पल पल मर्ने गर्छु ,बर्सौ बाँच नभन
थोपा थोपामा प्यास मेटछु सागरको कुरा नगर
संघर्षमै जीवन बित्यो प्रगति के भो नसोध
एकान्तमा एक्लै रुन्छु ,सुखको कुरा नगर

पश्चातापमा जलिरहेछु Continue reading “B S Chhetri – Pal Pal”