Love Gaunle – Surya Grahan

लव गाउँले – सूर्यग्रहण

सूर्यग्रहण हेरिसकेपछि
मैले सूर्यलाई इमेल पठाएँ ?
“हे सूर्यदेव !
तपाईमाथि समय समयमा ग्रहण लागिरहन्छ,
यस्बारे तपाईको अनुभव र प्रतिक्रिया के छ प्रभू?”
सूर्यले तुरुन्तै टेलिफोनबाट जवाफ दिनु भयो ?
“हे नेपाली मनुवा !
मलाई नेपाल भन्ने देशमा उदाउनु पर्दा
सँधै ग्रहण लागेको अनुभव भइरहन्छ !”

Sudhir Chhetri – Kaksha 2007

सुधीर छेत्री – कक्षा-2007

लुगा सिलाउने मसिन जस्तो एउटा लुइरे शिक्षकले
दशपल्ट उध्रिरहने लास्ट-बेञ्चरहरूको दिमागलाई
खुटिरहन्छ।
यो कक्षाको ज्यामिति-बाकसभित्र
स-साना कम्पास र चॉंपहरू
बेमेलको बक्ररेखालाई
तन्काई-तन्काई
तेर्सो पार्ने प्रयासमा छन्।

मेरो श्रेणी कक्षा
राधाकृष्णन् र
कृष्णमूर्तिले टालेका कोटेसन चाखेर
जिब्रो पड्काइरहन्छ अनि दिनहुँ
दिमागको छानाबाट चुहिरहने
विचारका तप्कनाहरू
समयको भूईंमा पछारिइरहन्छ।
समय-तालिका चपाएर
अनुशासनको वान्ता गर्छ
उज्यालोले लाटिएका
पोल्ट्री फार्मका पङ्क्षीहरू।
जुनकिरीको रॉंको बोकेर
उमेरभन्दा अघि-अघि हिडिरहेछन्
दुबोहरू।

काठको टेबलले
आफ्नो संवेदनशीलता बचाउन
छातीभरि कोर्नदिइरहन्छ अङ्ग्रेजी गीतका स्थायीहरू।
हतास फलामका बेञ्चीहरू पनि
कनाइबस्छ ढाड
ग्रफाइटको पेन्सिलले।

इतिहासको किताबबाट
पिरियडैपछि निस्कनचाहने योद्धाहरू
भूगोल र विज्ञानको बीचमा चेप्टिएर
समय-कटनीको लागि
टिफिनको गन्ध सुँघ्दै
मुख मिठ्याइरहेछन्।

बाहिर देखेँ,
बयेरका टफी चुसेर चराहरू
मसीनका आवाजबाट
कर्कशता छिलेर
साङ्गीतिक लेप लाउनलाई
भुर्र-भुर्र हावा हम्किरहेका रहेछन्।

Basanta Mohan Adhikari – Jiwan Bhitra Ra Bahira

बसन्त मोहन अधिकारी – जीवनभित्र र बाहिर

यि आँखाहरु
यो संसार
देख्छु भन्छन्
हेर्छन्
लोभ, मोह, डाहमा
हाँसो खोजेर
आँशु दिन ।

कानहरु
बाहृय ध्वनीलाई
विश्वास गर्दै…
प्रतिफल
आँशु, रोदन र चित्कार ।

यो मुख,
आँखा र कानको प्राप्तीमा
घमण्डी भै
क्रान्ति र जेहादसंग
प्रजातन्त्र, गणतन्त्र र धर्म देखाउँदै
युद्ध, हत्या र हिंसा गर्न
चर्का आवाज निकाली रहेछ ।

यो बुद्धि
यिनै, देख्ने, सुन्ने र बोल्नेसंग
समागन भै
प्रतिष्प्रधामा
उच्च र निच देखाउदै
संसारमा हैकम राख्न
स्वयम आफ्नो र संसार विनासको लागी
बम, बन्दुक र मिसाएल बनाईरहेछ ।
सम्पुर्णको यो प्राप्ती,
जीवनको अन्त्य र
संसारकै विनास ।

बिचरा सोझा, सिधा र निरीह
जिर्बो, छाला र नाक
मिठो खाने
न्यानो पाउँने
र सुगन्धको आशमा
देख्ने, सुन्ने र बोल्नहरुसंग
हातेमालो गरिरहेछन् ।

बिगत देखी आगत सम्मको
यो यात्रामा,
आशा राख्नेहरु
उहि र उस्तै
हिजो अस्ति झैँ
भोकै,
हैजा र दुर्गन्ध बिच
चिसो सीरेठोमा
कठ्ठै,
अकाल अगालिरहेछन् ।

Abhas – Mero Gaun

[बिहान]

नारीका चुरा बज्न थाल्छन्
थुरमाथि बसेर
धोवीचरो
गीत गाउन थाल्छ
मेरो गाउँ
बिस्तार ब्यूँझन्छ
पँधेरा जान्छ
र पानी ल्याउँछ
रातोमाटो घोलेर पोतेरी ठीक पार्छ
र संघार लिप्न
मेरो गाउँ
हरेक बिहान
घामलाई निम्त्याउने गर्छ

[दिउँसो]

आमा
रछ्यान छेउका भाँडा मस्काउँछिन्
र भाँडासँगै
आफुलाई पनि खियाउँछिन्
बुद्ध
स्कुल जान्छ
र स्तुति पढ्छ
अर्जुन
धनुकाण हैन
कलम भिर्छ
र जागीरमा जान्छ
धुर्बे
कोदालीले चपरी उप्क्याउँछ
र आफैंलाई थिच्न थाल्छ
अम्बिका
घाँस काट्न जान्छे
र औंलो पनि काट्छे
आकाशको घाम
जोवनले धपक्क बल्छ
मेरो गाउँ भने
घर्ती बूढाले पिँढी कुरे झैं
पिँढी कुर्छ
र आफ्नै अतीतमा डुब्छ

[साँझ]

जसरी
कुनै तरुनी छोरी
बेहुली बनेर माइतीसित बिदा हुन्छे
त्यसैगरी
दिनभरिका असंख्य डामहरु छोडेर
घाम
यहाँबाट बिदा हुन्छ
गाईको बाच्छो
थुनमा झुण्डिए जस्तै
बुबुमा झुण्डिएको बालक च्याप्दै
आमा
चुलामा आगो जोर्छिन्
र खुईऽऽय सुस्केरा काढ्छिन्
धुवाँ
धुरीबाट बाहिर निस्कन्छ
र सायद
अँध्यारोसित साउती मार्छ
अँध्यारो
झ्यालबाट चोर पसे झैं
खुसुक्क भित्र पस्छ
र गाउँको घाँटी मचक्क कस्छ
यसरी
अँध्यारोले छापामारेको मेरो गाउँ
टुकी छेउ पढ्न बसेको बालकले झैं
टुकी निभाउनै बिर्सन्छ
र भुसुक्क निदाउँछ ।

Narendra Raj Paudel – Purana Ti Rangamanch (Nepali Gajal)

नरेन्द्रराज पौडेल – पुराना ती रङ्गमाच उठाउँदै म आएँ (गजल)

पुराना ती रङ्गमाच उठाउँदै म आएँ
नयाँ नौलो रोदीघर बसाउँदै म आएँ ।

यौवनको भेलबाढी गयो बेसै भयो
पीरतीको पहरामा रसाउँदै म आएँ ।

वैली जाने रहरहरु उखेलेर फाल्दै
वैशाखको पालुवामा पलाउँदै म आएँ ।

शून्यताको लेक बेसी धाउनु धाएपछि
मनैभरि जाई-जुही फुलाउँदै म आएँ ।

तिमीसँग यात्रा गर्ने नौलो धोको बोकी
जिन्दगीको नयाँ गाडी गुडाउँदै म आएँ ।

Bikram Subba – Shrap

बिक्रम सुब्बा – श्राप

गौँडा-गौँडामा सौन्दर्यहरु ड्युटीमा तैनाथ छन्
‍क्याप्सुलजस्ता जवानीका ओठ उघारेर
बाबरी फुलजस्ता गुरुङसेनी ङोलोस्योहरू
अन्नपूर्णको दाँत जडेर सप्फा हाँस्दछन्
बाटुलेचौरका सारङ्गीहरूलाई
भोकै परे पनि हिमालको यौवनसँग
दोहोरी गाएर सन्तुष्ट भएपछि मात्र निद्रा लाग्छ
कविहरू, माछापुच्छ्रेको फेदमा फलेको
स्नीग्ध वातावरणको पन्नामा
मुटुको टुप्पाले कविता लेखिरहेछन्
पाहुनालाई जेठाबुढाको भात र फापरको ढिँढोसँग
गोलभेडामा टिम्बुरको छोपजस्तै मुस्कान पस्कन्छ
माइली थकाल्नीको भान्छा घर

तालतालका बडेबडे प्यालामै पसेर
दिउँसै रमरम मातेर वतास
पर्यटकका गर्लफ्रेण्ड सुँघ्दै हिँड्छ
तपश्यामा मग्न पहाडहरूको ध्यान भंग गर्न
वादलले विजुलीसँगै ताण्डव नृत्य थालेपछि
हेर्दाहैर्दै पर्वत सृङखलाहरूमा उभिएका
जून ताराका आँखाबाट
झर्के थालमा सित्तल पञ्चामृत वर्षन्छ
यहाँ, जताततै रोमाण्टिक जोडीहरू
हेराहेर गर्छन्
के के सम्झन्छन् र फिस्स हाँस्छन्
अझ सुन्दर हुने होडबाजिमा
उपत्यकाका हरेक छन्द र अनुप्रासहरु
शालीग्राम जस्तै चिटिक्क चिल्लो भएर पेस हुन्छन्
ओ सौन्दर्यले भरिपूर्ण रसप्लाविता !
ओ पोखरा !!
तिमी देखेर मेरो पीताम्बर वैँस पनि हुरुक्कै भएकोले
म श्राप दिन्छु कि – ‘तिम्रो जवानी कहिल्यै नढलोस्‍!’

Gobardan Pooja – Jeevan Aru Ko Naam Ma

गोबर्दन पूजा – जीवन अरूको नाममा

पाँचवर्ष अघि म मरेको भए
म कसैको पति बन्न पाउने थिइन
मेरो बिहेको भोज खान चाहनेहरुको इच्छा अधुरै रहने थियो
उनीहरुको बधाइको बारी बाँझै रहने थियो

तीन बर्ष अघि म मरेको भए
मेरो बंश बिनास हुने थियो
पत्नीले बिधवाको जीवन बाच्नु पर्ने हुन्थ्यो
बूढी आमाको नाती खेलाउने चाहना तुहिन्थ्यो

आज म खुशी छु
म बाच्न पाएकोमा
तर शंका लाग्छ
भरिएको बेलुनबाट हावा निस्किए झै
शरीरबाट स्वास बाहिरियो भने
एक जना बालकले टुहुरोको नाम पाउने छ
एकजना महिलाको सिउँदोबाट सिन्दुर हराउने छ
खोसिने छ कसैको बूढेसकालको सपना

उफ
म अहिले मर्न हुँदैन
कसैगरी पनि मर्न हुँदैन
मेरा आफन्ताका लागि भए पनि
म बाँच्नु पर्छ

आफू बाच्ने चाहनाले आफ्नो आयु लम्ब्याउन चाहनेहरु
सबै यस्तै सोच्ने गर्छन्
बाँच्छन् आफू तर अरुको नाममा ।

Bhupi Sherchan – Basanta

भूपी शेरचन – वसन्त

सारा ढोका र झ्यालहरु लातले खोलेर
डाँकाझै आउँछ हावा कोठाभित्र
र एक छिनमै दराजहरु उघारेर,
कागतपत्रहरु पल्टाई हेरेर
केही नपाउँदा रिसले रन्थनिएर
अरु झ्यालहरुबाट हाम्फालेर भाग्दछ ।
आकाशको आँखा दुखेको छ
ऊसित आँखा जुधाउँदा आफ्नै आँखा पीरो हुन्छ,
ज्वरपीडित सूर्य सकी नसकी हिडिरहेछ आकाशमा
तुवाँलो भुवाको खास्टो ओडेर
झ्यालमा उभिएर एक्लै,
म बाहिर हेरिरहेछु
हेरिरहेछु र सोचिरहेछु–यो कस्तो बसन्त
यो चैतको दिनको कस्तो उराठलाग्दो पहर हो !
यो कस्तो मुर्दा शहर हो !
सडकका दुई किनारमा वसन्तको स्वागतार्थ
हरियो सारी हतार–हतार बेरेर उभिएका झ्याङहरु
अबीरका थाल बोकेका आरुका रुखहरु,
लावाका थाल बोकेका आलुबखडाका रुखहरु
अनि स्कूलका केटाकेटीहरुझैं
सङ्गीन झण्डाहरु हल्लाइरहेका पूmलका सानासाना बोटहरु
म हेरिरहेछु
देखिरहेछु
र सोचिरहेछु
वसन्त यहाँ किन आउँछ विदेशी पाहुनाझैं
यो कस्तो औपचारिकता
किन आउँदैन ऊ त्यसरी
जसरी युवावस्थामा जुँघारेखी आउँछ ?
या हर्षमा मुस्कान
आफंै, अनायास र अनजान,
उफ् यो कस्तो वसन्त हो !
जता हे¥यो उतै देखिन्छ
भित्र ठोस हुन छाडेर
बाहिर बाहिरै मात्र बढेर अग्ला भएका
बाँसका ठानाहरुलाई नुहेर
पश्चात्ताप गरिरहेका आफ्m्नो खोक्रोपनमाथि
आफ्नो हातको बलभन्दा
ग¥हुङ्गो रातो पूmल समाएका
कल्कीका बोटहरुलाई
दुई हात तल झारेर उभिरहेका
यी लत्रेका हातहरुले रातो पूmल समात्ने के दर्कार
के अधिकार
टाढा–टाढासम्म उभिएका छन्
न्यास्रो अनुहार लाएका असङ्ख्य मौन घरहरु
प्रत्येक घरको मुखमा झुुि न्डएको छ विदेशी ताल्चा
भोटे ताल्चा अथवा हिन्दुस्तानी ताल्चा
कुनै घरको मौलिक ओठ छैन
यो कस्तो वसन्त !
खोई मानिसहरुले चोला फेरेको ?
खोई घरहरुले बोक्रा फेरेको
खोई
खोई
खोई
म चिच्याउन चाहन्छु —खोई
तर खोई मेरो आवाज किन निस्कन्न ?
के भयो मेरो आवाजलाई
यो के हो डल्लो गुच्चाजस्तो मेरो घाँटीमा
जो मैले घाँटी खोल्दा मुखमा गई अड्कन्छ
र मुख खोल्दा घाँटी थुन्न पुग्दछ
अनि यस्तो लाग्छ मानांै
अब ममा कुनै उम्लाई छैन
कुनै उत्तेजना छैन
कुनै आवाज छैन
कुनै विस्फोट छैन
मभित्रको मानिस मरिसक्यो
अब त फगत् मेरो रुपमा उभिएको छ
पड्किसकेको सोडाको एक बोतल—
एउटा खाली बोतल !

Dhooswan Sayami – Dhokha

धुस्वां सायमि – धोखा

तिमी
दिन्छौ धोखा
सदा मलाई

धोखा खानु
मेरो आदत हो
तर मलाई
चोट लाग्दछ
त्यससमय
जब तिमी दिन्छौ
धोखा
गलत ढङ्गबाट
सही बाटो
तिमी जान्दैनौ कहिल्यै ।
बस्यस्तो गर्नुमा तिमी
आफू Continue reading “Dhooswan Sayami – Dhokha”

Krishna Bahadur Chhetri – Sapana Ka Ful Haru

कृष्ण बहादुर छेत्री – सपनाका फूलहरु

१)
मेरा साथीहरु खै मलाई के ठान्छन्
सधैं मसित आठौं आश्चर्य माग्छन्
सधैं मेरो दिमागमा सपनाका फूलहरु रोप्छन्
मलजल र गोडमेल गर्न भनेपछि दायाँ- बायाँ लाग्छन्

२)
पाईलैपिच्छे सपना लिई
एक्लै म कति बाँचूँ !
तिमी साथ देऊ अब त
दुबै मिली खूब नाचूँ !

३)
सपना देख्दा – देख्दै
विपना भईसक्यो बडेमानको रित्तो भारी
अझ किन थप्दैछौ यति धेरै उधारो सपना
यो सुस्त गतिलाई नै ठप्प रोक्ने गरी ?

४)
चराहरु पींजडाभित्र सपना देख्दैनन्
सपना देख्न्न खुल्ला आकाश चाहिन्छ
चराहरु जुन बेला पनि गाउँदैनन्
गाउनलाई धर्तीको संकेत चाहिन्छ

Komal Shrestha Malla – Man Pareki Lai (Nepali Geet)

कोमल श्रेष्ठ मल्ल – मन परेकीलाई

मन परेकीलाई बोलाए मन खेलाएर,
के लाग्छ र नचिन्नेलाई ब्यर्थै बोलाएर
मन बहेको धर धर किन रुक्छ र
बतासले सिरानी कहिले सुक्छ र?

कल्पनाको बारी भरी फुलि राख्छिन् उनी
अंग अंग नसा नसा खेली राख्छिन उनी
न्यानो न्यानो स्पर्समा उनी नभएर
के हुन्छ र मनमा शान्ति मौसम बदलिएर

कल्पनाले श्रृंगारेको मनको महल भित्र
नमेटिने कोरिएछ उनको मिठो चित्र
लाग्दो रैछ नपिएरै प्रियसीको नसा
मिलन बिना हुदोरैछ जिन्दगी नै शिशा
मन बहेको धर धर किन रुक्छ र
बतासले सिरानी कहिले सुक्छ र?

Dhooswan Sayami – Shabda

धुस्वां सायमि – शब्द
(रचना द्वैमासिक)

यी शब्द जो छन्
भगवान् पनि हुन्
शैतान पनि हुन्
तर आज आएर
मानव बनेका छन् यी ।
हेरुँ आज
शब्द मानिस बनेका छन्
र, मानिस पनि शब्द बनेका छन् ।
कुनै समयमा
शब्द आत्मा थियो
आस्था थियो
तर आज
भड्किएको छ शब्द ।
बस, यी दिनहरूमा
शब्द खेलाडी बनेका छन्
किनभने
मानिस यीसँग खेल्दछन् ।
जब सही हुनेछ
आधुनिक कालको मानिस
शब्द
सत्यम्, शिवम्, सुन्दरम् हुनेछन् ।

Laxmi Prasad Devkota – Bhoot Lai Jhataaro

क.

प्रकृतिले जब व्यङ्ग्य रेखिन्
चेहरा तिनका बने,
नेपालीको भान लेखिन्,
बान् भो हाम्रो भने ।

ख.

सब गधाले खुशले ऐंके,
भ्यागुताले गाए कें कें,
भो भुजङ्गजाति प्रसन्न,
मातृ–भूका पुष्प रोए !
धन्य तिनको जन्म धन्य !

ग.

(हुन त केवल शुक्र–कीरा ! )
ज्योतिषीले नाम राख्यो
कोहेनूर ! वाह ! विश्वहीरा !
नामजस्तो व्यङ्ग्य के छ ?
मणिधर भन्छन् सर्प जो छ
नेपाली रे देश–धमिरा,
अङ्ग नै मानिन्छ राम ! राम !
सब खटिरा !

घ.

(व्याकरण मिल्दैन, सड्छ)
माफ गर्नोस् !
हँस्सी मात्रै लेखिरैछु,
आँसु झार्नोस् !
पातालपुरीको गद्य भो !
अङ्ग्रेजीको उल्था जस्तो !
हिन्दी वा नेपाली यो !
तैपनि के दालरोटी–
निम्ति कलम नरेटूँ यो ?

ङ.

गधाका बच्चा हुन्छन् पाजी
भ्यागुताका के हुन् काजी ?
खूब पढाउँथे ती गुरु !
(गुणशील गुरुका पुच्छर थिए
लौरो सीङ ?) भो है कथाको
होस् न छिटै पो शुरु !

च.

“ए गधा हो ! ‘फ्रग’ को माने ?
भ्यागुतो ।”
“फ्रगको माने भ्यागुतो ।
फ्रगको माने भ्यागुतो ।”
“के रे ? के रे ? के रे ? के रे ?”
“भ्यागुतो
भ्या ! भ्या–गु–तो ।”

छ.

एकादशीको दिन थियो
पशुपति ल्याएछ कालले
एक दिन निज धम्र्ममा,
मरन्च्याँसे, अक्षता–आशे !
मालिक सम्शेर कोही सम्झे
वेकुण्ठ सुख–टर्ममा
चाकरीका निम्ति आए–
शिवको, अनि शेरको औ खीरको

ज.

धम्र्मराही धर्मराई
भस्मेश्वरका पासमा
चिता सँुघेछन् आफ्नो है,
ढल्को तनको भासमा ।
“हे ठिटा हो ! ”बोल्न थाले,
“भातृभाषा मर्दछिन्,
नेपाली बाँच्दैन कहिल्यै
हिन्दीले राज गर्दछिन् ।”

झ.

मानिस मर्ला भन्ने डर पो !
आत्मा भरी छारो चल्यो,
वेद तत्पर डग्मगाए
गीता जल्यो, गाीता जल्यो ।

ञ.

बोल्न एउटा लाज हो जब
मानिस भैकन साँप स्याँक ! स्याँक !
भ्यागुतो क्याँक ! क्याँक
लगुड हाम्रो भै सजीव
बोल्छ हातमा–
‘टाउको टयाक ! टयाक !’
(माफ गर्नोस् तीतो लागे ! )
सग्लै छन् ती मन्त्र बोलूँ
‘फर्सी फ्याक ! फ्याक ! ’

ट.

बाँसमाथि राख नरिवल
काक झुत्रो एक बनाऊ
तीतेपातीले सजाऊ
स्मारक एउटा महापुरुषको
मलको ढिस्कोमा बनाऊ !

ठ.

मुर्दा बोल्थ्यो नेपालीमा
छक पयौं ।
क्या गह्नायो मुखको गन्ध ।
थुक गयौं ।

ड.

सिलटिम्मुर बरफसाथ
ल्याऊ पहेंला चाँवल,
श्याम भाग्छन् रात भरभर
यस्ता मीठा पागल !

ढ.

हीहीहह ! हीहीहह !
बोल्यो गधा !
छेपाराले मुत्दछन् रे
यस्ता बुज्रुगका चिहानमा
सर्वदा !

ण.

खूब झरीमा एक कुकुर
स्याउँ स्याउँ कीरा
सड्थ्यो लाचार ! नाम सोधेँ,
रै हीरा ।
झन्डै झन्डै मै मरेथें
त्यो गह्नाई
बान्ता आई !
तिम्रो बुद्धि ! गिद्धलोचन !
यस्तै लाग्यो है मलाई !

Sarita Tiwari – Anta Bodh Buddhaka Aankhaa Haru

सरिता तिवारी – अन्त:बोध बुद्धका आँखाहरु

निर्निमेष
अनन्त चेतनाका आँखाहरुले
बुद्ध
मलाई टिठलाग्दो गरि हेरिरहेछ

यो बाटो हुदै जाँदा
यो बाटो हुँदै आउँदा
जीवन यात्राका सन्धि-बिग्रहहरुमा
घुम्ती बिसौनीहरुमा
मेरो अन्त: बोधभित्र
कदाचित
बुद्ध मुसुक्क नहाँसेको होइन ,
तर

बिचारका बहसहरु गरेर नथाक्ने मान्छे,
झन्डाका भाषान्बाजिहरुले नअघाउने मान्छे
भर्खरै
नृशंस किसिमले मारिएकोएउटा भर्भराउँदो बिहानको
सनाखत गरेर
फर्कदै छु हतार हतार

यतिबेला
अनन्त चेतनाका आँखाहरुले
बुद्ध
मलाई टिठलाग्दो गरि हेरिरहेछ

२०५६-०१-१०

Sarita Tiwari – Satyagraha : Ghaite Bhugol Ko Simana Bhari

सरिता तिवारी – सत्याग्रह: घाइते भूगोलको सिमनाभारी

लालीगुराँसका
सजल आँखाहरुबाट
शीत बग्दै छ कि आँशु?

बीभत्स
युद्ध असन्तुलनमा
रगतपिच्छे
मेरा आस्थाका क्षितिजहरु
सिमनानेरै
सत्याग्रह गरिरहेछन


कसले Continue reading “Sarita Tiwari – Satyagraha : Ghaite Bhugol Ko Simana Bhari”

Yuddha Prasad Mishra – Buddijibi Haru Sanga

युद्धप्रसाद मिश्र – बुद्धिजीवीहरूसँग

संगिन रोपी गर्भवतीको
पेटभित्रको बालक मारी
कसरी सक्छौ भुल्न, दिएको
हात्तीद्वारा बस्ती उजाडी

पीडाको चित्कार नसुन्ने
बहिरा छौ कि हे विद्वतवर्ग
तुच्छ स्वार्थतिर Continue reading “Yuddha Prasad Mishra – Buddijibi Haru Sanga”

Prakar Antar – Bisangat

प्रकार अन्तर – विसंगत
(Sent to Sanjaal Corps via Email)

विसंगत सपनाहरुको संभोग
म के संगत !
बोझिल पहाडको छाती
चरक्क चिरेर
निस्कन्छन् खोलाहरु
खोलाहरु सँगै
केही पिसाचहरु
केही रहस्यहरु
चुपचाप !
चुपचाप Continue reading “Prakar Antar – Bisangat”

Krishna Prasai – Ujyalo Ko Chaukidari

त्यतिखेर,
सम्पूर्ण ताताहरू हराएका थिए ।
समस्त उज्यालाहरू बिलाएका थिए ।
र समग्र न्यानाहरू चोरिएका थिए ।
समान न्यानो बाँड्ने सुर्य समेत सेलाएको थियो ।
जसको उपस्थितिमा,
चिसोको अस्मिता स्वयं टुहुरो हुने गर्दथ्यो ।
र त्यतिखेर केवल,
चिसोका साम्राज्यहरू पालेर
ताराहरु जाग्राम बसेका हुन्थे आकाशमा ।
र लगातार रुपमा एउटा जूनलाई काखी च्यापेर,
शीत छरिरहेका थिए !
चिसो झारिरहेका थिए !!
र तुसारो फ्याँकिरहेका थिए !!!
उचाइको घमण्डमा,
आफ्नो सत्ताको तुजुकमा-
आकाश त्यतिखेर मात्तिएको थियो ।
हुनसक्छ आकाश अहंकारले ग्रस्त थियो ।
कैयौं वसन्त झरे पनि
सधैं शरद फलाएर,
अनि हिमपात बर्साएर-
र सिरेटो र्छर्केर,
आकाश त्यतिखेर
हाम्रो अस्तित्व नै निल्ने दाउमा थियो ।
हामी तल धर्तीमा,
बाँच्ने अधिकारको स्पष्ट बहुमत ल्याउन नसकेका,
मान्छेहरू भने,
चिसिएर-
सेपिएर-
र कक्रिएर आक्रन्त हुँदै,
आकाशले चोरेका हाम्रा न्यानाहरू,
धर्तीमै फर्काउन भनेर,
आकाशको विरुद्धमा एकजुट भएर-
समूह भरिरहन्थ्यौं ।
सभा लगाइरहन्थ्यौं ।
र नारा घन्काइरहन्थ्यौं ।
खबरदार !
तिमी तातो चोर्ने आकाशहरू,
अब कसैगरी हामीसँग नजिस्क-
हामी मान्छे हौं र मान्छे हुनुको हाम्रो हकलाई-
समाप्त पार्ने षड्यन्त्रहरू पनि नपस्क ।
जुलुसमा उभिएका हामीहरू त्यसबेलासम्म पनि,
ताताकै खोजीमा हुन्थ्यौं-
र आकाशले हडपेका न्यानो पार्ने हाम्रा संयन्त्रहरू –
हामी फिर्ता लिने तरखरमा थियौं ।
हुँदा-हुँदा,
हाम्रो आवाजले थर्किएर-
हाम्रो भीडसँग डराएर-
केही सीप नचलेपछि
एक दिन,
आकाश एकाएक एउटा सम्झौतामा आयो ।
र उसले लुकाएका हाम्रा उज्यालाहरू,
हाम्रा लागि धर्तीमै फिर्ता दिने भयो ।
यसरी हाम्रा न्यानाहरू विनाशर्त आकाशले फिर्ता दियो ।
अहिले पनि हामी एक हूल मान्छेहरू छौं ।
जो धर्तीमा फ्याँकिएको त्यो उज्यालो तापेर बसेका छौं ।
कतै फेरि आकाशले उज्यालो नचोरोस् भनेर,
अहिले हामी,
उज्यालोको चौकीदारीमा छौं ।

Yagyesh Dhwoj Karki – Timi

यज्ञेशध्वज कार्की – तिमी

तिमी दिया हौ कि सोचेको थिएँ
अथाह अन्धकारमा सुन्दर बिन्दु,

तर महाग्नी रहेछौ
कोइला नि नबक्सने खरानी बनाइदिने!

तिम्रो आगमन जीवनको शिखर थियो,
यात्रा खोंच र खाल्डाहरु,
नाङ्गो Continue reading “Yagyesh Dhwoj Karki – Timi”

Nimesh Nikhil – Tyo Bato Hijo Ra Aja

निमेष निखिल – त्यो बाटो: हिजो र आज

अग्लो पहाडबाट ओर्लने एउटा बाटो
तिमीतिर आउने गथ्र्यो
स्वागतमा बोटहरूलाई
गुराँस थमाएकी हुन्थ्यौ तिमीले हातहरूमा
आत्मीयताको रङ्गरोगन गरेकी हुन्थ्यौ कलिला पातहरूमा
भावुक अपनत्वले ओसिलो बनेको नागवेली बाटो
तिम्रै मनको परिसरजस्तो विशाल हुने गथ्र्यो
ओराली काटेर गाउँ टेक्नेबित्तिकै
स्वागतको मानौँ एउटा सिङ्गो हिमचुली उभिन्थ्यो मअघि
आँगनको डिलमा –
मनभरि बर्र्सौँको प्रतीक्षाको थकान बोकेर
ओठभरि मेरो आगमनको मुस्कान बोकेर
उभिएकी हुन्थ्यौ तिमी
हर्षाश्रु भरिएका आँखाहरू एकाकार हुन्थे
र बुन्न थाल्थ्यौँ हामी सुदूर भविष्यका तानावाना ।

र धेरैपछि
त्यही बाटो हिँड्दैछु आज
उजाडउजाड बाटो
उदासउदास बाटो
नाङ्गिएका रुखहरूको कोलाज छ जताततै
अज्ञात भयको लहर मनभित्र
तिमीलाई भेट्ने बर्र्सौँपछिको उत्कण्ठाभन्दा
अझ डरलाग्दोसँग मडारिएको छ
थाहा छैन आइपुग्छु-आइपुग्दिनँ तिमीसम्म
थाहा छैन भेट हुन्छ-हुँदैन तिमीसँग
कहालीलाग्दा कल्पनाहरू समेटेर मनभरि
भयाक्रान्त आँखाहरू दौडाएर वनभरि
सोचको एउटा सुदूर कुनामा
ओठभरि स्वागतका मुस्कान बोकेर उभिएकी तिमीलाई कल्पेर
म हिँडिरहेछु/हिँडिरहेछु …. ।