Bibek Dulal Chhetri ‘Damak’ – Apthyaro Lai Pani Ruwai Dinu Chha

अप्ठ्यारोलाई पनि रुवाइ दिनु छ
उनीलाई मेरो याद सुनाइ दिनु छ

विवेक दुलाल क्षेत्री “दमक” – अप्ठ्यारोलाई पनि रुवाइ दिनु छ (गजल)

अप्ठ्यारोलाई पनि रुवाइ दिनु छ
उनीलाई मेरो याद सुनाइ दिनु छ

जो जो छन् आत्महत्या गर्नेहरू यहाँ
सबैलाई जिउने कला सिकाइ दिनु छ

असफलतामा कोहि सफलता उमार्छ
खोजी खोजि उसैलाई बधाई दिनुछ

झुप्रोमा आनन्द छ महलको के कुरा
दुख के हो आज मैले सफाइ दिनु छ

म दिलको राजा उनी मेरी दिलकी रानी
साँचो प्रेमको परिभाषा बताई दिनु छ

म बाहेक सबै दह्रा ,बलिया ,बांगा तर
मैले एकफेर आफ्नु जादु चलाई दिनु छ .

अस्तु :

@विवेक दुलाल क्षेत्री “दमक “
(वास्तबिक नाम :भानुभक्त दुलाल )
दमक , झापा
हाल :अबुधाबी ,यू ए इ .

Rajendra Shalav – Shashak Ra Joon

राजेन्द्र सलभ – शासक र जून

मेरो झ्यालनिर आएर जून
मलाई सधैं माया गर्न सिकाउंछ
म भित्र उत्साह र प्रेम भरेर जान्छ ।

बिहानै मेरो देशका शासकहरू
म भित्र घ्रिणा भरेर जान्छ्न
बिस्तारै म भित्र पनि
स्वार्थको बिऊ रोप्न आतुर छ्न
र, म पनि अरूलाई माया गर्नुभन्दा
अरुले माया नगरेको गुनासो गर्छु
मलाई आफ़ैसंग डर लाग्न थालेको छ ।

म प्रेम बांड्न चाहन्छु
म जूनको कुरा सुन्न र मान्न चाहन्छु
मलाई मेरा शासकहरूभन्दा
जून नै बडी प्रिय छ ।

थाहा छैन,
जून कतिन्जेल मेरो झ्यालमा आइरहन्छ
र म स्नेह बांडी रहन्छु

अचेल शासनका काला बादलहरू
आकाशभरि मडारिन थालेका छ्न ।

Manoj Kafle (Mansoon) – Yaad Aayo

मनोज काफ्ले ‘मनसुन’ –  याद आयो

डाँडा पाखा पाहाड अनि हिमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो

दाउरा घाँस पानी पधेरो संगै गरि हिड्दा
प्रियेसीसंग साटासाट गरेको रुमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो

दिनभरि रानीबनमा लुकामारी खेल्दाखेल्दै
काहाली लाग्दो राम्चेलीभिर विशाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो

विदेशको परिवेशमा रम्न सकेन मेरो मन
आफ्नै भेषभुषा आफ्नै दौरासुरुवाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो

चिल्ला र महंगा बिदेशी कार जति चढेपनी
देवीस्थानको हु तु तु खेल्ने पर्खाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो

डाँडा पाखा पाहाड अनि हिमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो

Bhupin Byakul – Ulto Rukh

भूपिन ब्याकुल – उल्टो रुख

बालककालमा
बालसाथीहरुले भन्थे-
“फलफुल खाँदा बियाँहरु ननिल्नू
निलेपछि
पेटमा उम्रिन्छन बियाँहरु
पेटमा नै बिरुवा लाग्छ
पेटमा नै बिरुवा पलाउँछ
रुख बन्छ
र मानिसको मृत्यु हुन्छ | ”

रातभरी सपनामा म
आफ्नो पेटमा रुख देख्थें
मृत्युदेखि भयभित
म संधैसंधै
फलफूलका बियाँहरुसंग सतर्क रहन्थेँ

थाह छैन कहिले निलें मैले
अन्जानमा फलफुलका बियाँहरु ?
कहिले उम्रियो यो उल्टो रुख मेरो शरीरभित्र ?
कहिले हाँगाहरु पलाए ?
मेरो मस्तिष्कभरि
कहिले झ्यांगिए रुखका जराहरु ?

थाह छैन
कहिले र कसरि हुर्काएँ मैले
यो सुन्दर उल्टो रूख आफुँभित्र ?
यधपि थाह छ-
म भित्र हुर्किएको यो उल्टो रुख
कोर्न थालेको छु आस्थाले ब्रसले
मनको रङ्गहीन क्यानभासमा-
एक सुन्दर देश र एक सुन्दर विश्व,
मन पराउन थालेको छु-
सम्झौताहीन जीवन,
माया या घृणा गर्न थालेको छु जीवनलाई
माया या घृणा गर्न थालेको छु मृत्युलाई
र खोज्न थालेको छु उत्साहले-
मान्छेकै बस्तीमा मान्छे हरु
मनकै बस्तीमा इश्वरहरु !

हामी सबैले निल्छौँ अन्जानमा
फलफुलका बियाँहरु
उम्रिन्छन् तिनीहरु
हाम्रो मलिलो छातीभित्र
र हुर्काउँछौं आफुँभित्र
सुन्दर तर उल्टा रुखहरु !

बाल्यकालमा
बालसाथीहरु भन्थे-
‘फलफुल खाँदा बियाँहरु ननिल्नू !’

Santosh Thapaliya – Ma Ra Timi

सन्तोष थपलिया – म र तिमी

ख्याल ख्यालैमा बिझाएं भने तिमीलाई
‘दुखायौ तिमीले’ भने भैहाल्थ्यो नि
मायाले सेकिदिन्थें, कहिले थाकें नभनी
एकैबारको जुनी हो माया लिने र दिने
बसेर त हेर आफ्नै ठानी
आँखा भित्रै राखी दिन्छु बिझायो नभनी !!!

मन त मेरो पनि ढुंगा हैन, माटो हैन
भेलले लछार्दै पछार्दै ल्याएको मुढा हैन
तिम्रो एक मुस्कान, हाँसोमा रम्छ मन
तिम्रो एक एक पिडामा अतालिन्छ मन
दुइ दिन त बाँकी छ जीवन यात्राको
दुइ शब्द यी फूल तिमीलाई मेरो अन्तरात्माको !!!

हाँस्ने अभिलाषामा कैले घाम, कैले पानी
बाँच्ने जिजिविषामा कैले विष, कैले ओखती
एउटा मुटुमा कैले चोट, कैले माया
यथार्थमै मेरो यात्रा अस्ताउनै लागेको छ
गोधुली नपर्दै थाप न माया एक मुठी
वदलामा मेरो मुटु पनि छामी हेर न एक चोटी !!!

Gyanuwakar Poudel – Jaari Chha Ajhai Safar Aafno (Nepali Gajal)

ज्ञानुवाकर पौडेल – जारी छ अझै सफर आफ्नो (गजल)
(मधुपर्क माघ, २०६७)

जारी छ अझै सफर आफ्नो
भएर पनि छैन घर आफ्नो
आफैसित आफू टाढा किन ?
सोद्ध छ यो मन अक्सर आफ्नो
ठानेथे आत्मीय जसलाई सधैँ
उसैसित पर्‍यो टक्कर आफ्नो
खेल्दा खेल्दै बैँसको यो खेल
बिटुलो पो भएछु अघर आफ्नो
रूप त के धन दौलतमा पनि
रहेन मोह जीवनभर आफ्नो
सकिने रहेछ जिउन यहाँ सजिलै
बनाएर दिललाई पत्थर आफ्नो
जमेन खोई आज यो महाफिल
उठौँ अब गरौँ तरखर आफ्नो
धेरै भो ‘ज्ञानु’ नफर्केको गाउँ
चिन्न सकुँला के त्यो घर आफ्नो ।

Anup Joshi – Chaheun Bhane

अनुप जोशी – चाह्यौँ भने (कविता)

यदी चाह्यौँ भने
यौटा सिँगो जीवन छ हामिसित ।

बटुवा पर्खेर बसिरहेका चौतारीहरु
सुवास छरेर आगन्तुक निम्त्याईरहेका बगैँचाहरु
हिमालले एकटक हेरिरहेको भञ्ज्याङ अनि डाँडाहरु
सबै छन् हामीसित , हाम्रो संगमस्थल ।

के तिम्रो मायाको ब्रह्माण्ड पनि फैलिरहेछ ?
तिम्रो मनको आकाशमा पनि चम्किरहेछन्
सम्झनाका नौ लाखे तारा ?

सुन मेरो धड्कन !
खोल आफ्नो मनको आँखा !
र स्पर्श गर हृदयको तरंग !
जहाँको कोषकोषमा कुँदिएका छन् तिम्रो आकृतिहरु

यदी चाह्यौँ भने
कहिल्यै नसकिने राजमार्ग छ हामीसित
कहिल्यै नअघाउने हृदय
कहिल्यै पट्यार नलाग्ने पिरतीको अर्केस्ट्रा
अनि कहिल्यै नथाक्ने अजस्र साहस छ हामीसित ।

यदी चाह्यौँ भने
सम्पूर्ण चाहनाहरु पुरा हुन तयार छन्
हाम्रो गर्भमा नै !

तर यदी चाहेनौँ भने
केहि पनि हुनेछैन हामीबीच ।
सन्देशको संवाहक बतास ,
दृश्यको संवाहक प्रकाश
सबै सपनाजस्तै गायव हुनेछन् हामी बीचबाट
न तिमीसम्म पुग्नेछ मेरो हृदयको तरंग
न चम्कनेछन् मेरो आकाशमा सम्झनाका नौ लाखे तारा ।

Sijan Nayan – Sisa Ko Jharee Ra Asina Ka Pyramid Haru

सिजन नयन – सिसाको झरी र असिनाका पिरामिडहरू

सिसाको झरीमा
सिसाजस्तै फुटेर गयौ तिमी ।

जसरी सिसाको जिन्दगी लिएर जन्मिएथ्यौ तिमी
त्यसरी नै तिम्रा उन्मेषहरू
सिसाकै विहङ्गम भएर उडिरहँदा
मेरा हर्षका Continue reading “Sijan Nayan – Sisa Ko Jharee Ra Asina Ka Pyramid Haru”

Yatiraj Ajanabee – Hidne Tasbir Haru

यतिराज अजनबी – हिड्ने तस्वीरहरू

यात्राको सिल्शिलामा
म एउटा कन्क्रिट जण्गलममा
आइपुगेकोछु
यो जङगलमा कोब्राहरू छैनन्
ँब्वासा, बाघ, हात्तिहरू पनि छैनन्
मान्छेहरू त झन
हुन सक्ने नै भएनन्
यो जंगलमा Continue reading “Yatiraj Ajanabee – Hidne Tasbir Haru”

Manoj Kafle (Mansoon) – Anshu Ko Pokhari Ma

मनोज काफ्ले ‘मनसुन’ –  आँसुको पोखरीमा

आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु

जीवन यो यात्रा भन्छन त्यसैले हिंडिरहेछु
आँसुको वर्षा यहाँ हिउँदै छलेर बाँचेको छु

वियोगमा रसाएका नयनहरूलाई सोध
आगोको रापमा जिउँदै बलेर बाँचेको छु

कमजोर भाग्य असफल संघर्ष भो
फलेका चोटहरू सिउँदै चलेर बाँचेको छु

आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु

Biwash Wasti – Jaba Ghara Farkiyen

विवश वस्ती – जब घर फर्किएँ

जब घर फर्किएँ
उज्यालियो सेता र सपाट आँगन
छेउमै फुलिरहेको एकदशक पुरानो अज्ञात फूलले
गर्‌यो हार्दिक स्वागत
चम्किन नसकेका घरका नाङ्गो भित्ताहरूले
गर्न थाले अङ्कमाल
अभिवादन गर्न उभियो
मेरो सामुन्ने
एउटा सुव्यवस्थित ढोका
जब घर फर्किएँ
एक शब्द बाँकी नराखी
सुनाउन थाल्यो जीर्ण छानाले
आफ्नो पीडा
हरेक वर्ष
जाडोका क्रूर स्पर्शले कक्रिएको जस्केलो
सम्वेदनाहीन देखियो
र, निदाउन थाले चुपचाप
अलिकति विपद्य्रामा उभियो नजिकैको पर्खाल
जहाँ बसेर
वसन्तभरि चराहरू गाएँथे
आफ्नै वेदना/आफ्नै गीत

जब घर फर्किएँ
आँखाहरूमा
उभियो एउटा तस्वीर
जो भित्ताका माउसुलीझैं टोलाइरहेको थियो
अवाक
जसलाई हेरेर
धेरै वर्ष पहिले
एउटा चम्किलो बाटो कोरेका थिए आफन्तहरूले
जहाँबाट
सहजै पुग्न सकिन्थ्यो
हाम्रो आँसु निख्रिने ठाएँ
जब घर फर्किएँ
हाँसिरहेका थिए मन्दमुस्कानमा
खेतहरू
आँगनहरू
जो चढिसकेका छन् तमसुकका पानाहरूमा
निश्चित भाखा बोकेर
जब घर फर्किएँ
धेरै वर्ष पहिलेको दृश्य उभियो मेरो सामुन्ने
मानिसहरू
बिर्सेर आफ्ना मनमुटाव
सँगै मिलेर बस्थे जङ्गलमा
ओडारहरूमा
घर
के हो घर भनेको ?
बन्छ यो कसरी ?
थिएन उनीहरूको स्मरणमा
जब घर फर्किएँ
एकपटक आफैलाई सोधें गहिरिएर
ओडार छाडेर मान्छे
घरसम्म आए
घर छाडेर मान्छे
अन्त कतै जान सकेको छैन आजसम्म
जबदेखि बन्न थाले घर‘
लडिरहेछन्
त्यही समयदेखि घर नहुनेहरू
घरको निम्ति
घर हुनेहरू पनि लडिरहेछन्
घरको सुरद्य्राका निम्ति

-सिन्धुलीमाढी, हाल काठमाडौं

Dhruab Silwal – Uslai Bhaneko

ध्रुव सिलवाल – उसलाई भनेको

भैगो जिन्दगीलाई नभनौं
उसलाई बरु केही भनौं
असाध्ये कहिल्यै दिँदैनदे
परिश्रमको दुइ छाक खान दे ।

भोग बिलास त अन्धो न हो
ठूला साना दुवैका बीचको
थेग्नै नसक्ने भो दिँदै नदे
नग्न नहुने गरी छोप्न दे ।

कसलाई भन्दा के हुन्छ र
नहुनेलाई कसले छुन्छ र
अपकारीलाई दिँदैनदे
उपकारीलाई मात्र धान्न दे ।

जिन्दगी त कर्म हो न कमाई
अकाट्य यो नीतिको भनाई
अबुझक्कीलाई छुनै नदे
मर्मज्ञलाई बरु छान्न दे ।

लामो भन्छ जिन्दगी कर्महीन
भन्छ छोटो जिन्दगी मर्महीन र्
कर्म र मर्म नबुझाइनदे
त्यो मौका दुवैलाई बुझन दे ।

कमाई हो जिन्दगी अघिको र्
कर्म हो मीठो फल हो पछिको र्
कर्मविनाको जिन्दगी नदे र्
कर्मयोगी जिन्दगी रम्नदे ।

जिन्दगी त एउटा कमाई
कोही बाँच्छन् त्यसमै रमाई
स्वभाग नमान्नेलाई नदे
सम्झौता गर्नेलाई छान्न दे ।

(साभार: जनमत कविता खण्ड १ २०६४)

Tanka Wanem – Asurakhshya

टंक वनेम – असुरक्षा

ओजनतह ओर्लेर
आँधी निम्त्याई रहेछ
आगोका लप्काहरु
जयगान गाइ रहेछन्
विध्वंसको घडामा
बारुद भरिएर
बन्दुक पड्काई रहेछ
तोप नारि रहेछ
बाइलोजिकल
केमिकल र
न्यूल्कियरको भट्टीबाट
बिनासको
दुर्गन्ध उडी रहेछ ।

रक्त रञ्जित
वर्तमानको घाउमा
दलेर नुनचुक
आतङ्कको बरर्ना सार्दै
महासमरको बृक्ष
अग्लि रहेछ आकास छुन
ताकि रहेछ बन्दुक
सुरो निशाना
मरि रहेछन् मान्छे
बाँची रहेछ भोक
फस्र्टाई रहेछ शक्ती
बौलाई रहेछ
बजाउदै मृत्युको घुँगुरा
कहाँ रहर्यो र – अब
बाँच्नुको मज्जा
जीवन भोग्नुको अर्थ ।

बुझेको हुनु पर्छ
युद्ध हाँक्ने
युद्ध सरदारहरुले
बन्दुक द्धारा
इतिहास मात्र बङ्ग्याउन सकिन्छ
सभ्यतामात्र भत्काउन सकिन्छ
मान्छेको –
टाउको मात्र गेड्न सकिन्छ
बङ्ग्याएर, भत्काएर, गेँडेर
कुरुक्षेत्रमा नउम्रेको
शान्तिको कल्प बृक्ष
उम्रिन्दैन भने-
युद्ध गर्नुको के औचित्य
बिना अर्थको विध्वंस
घाँटी रेटेर –
कस्तो विजयको उच्छ्वास
तर पनि-
बार्बेर्इअन् द्धन्द्धमा आतिन्दै
श्वास फेरि रहेछौं
जीवन र मृत्युको दोबाटोमा
जीवनको रथ गुडी रहेछ
खस्न लागेको
आकास मुन्तिर
ओत लागि रहेछौं
आफै प्रश्न गरौं
कस्तो संसारमा बाँचेका छौ हँ ?

दिन दहाडै मृत्युको
तान्डव नृत्य नाच्छ
समसाँझै-
मृत्युले भुत्ते धार उध्याउछ
विज्ञानको अविस्कारमा
युद्धको पाठ घोकाइने समय
दर्ुयाेधनको दाउ पल्टी रहँदा
असुरक्षित छ समय
असुरक्षित छ हावा
असुरक्षित छ पानी
असुरक्षित छ आकास
असुरक्षित छ धर्ती
असुरक्षित छौं
संसारमा भएका
सून्दर
सृष्टिका रचनाहरु ।

Manjul – Mero Topi Kabita Le Lagaunchha

मञ्जुल – मेरो टोपी कविताले लगाउँछ

मेरो टोपी
कहिलेकाहीँ दराजले लगाउँछ
कहिलेकाहीँ बाकसले
कहिलेकाहीँ गलैँचाले लगाउँछ
कहिलेकाहीँ गिटारले
कहिलेकाहीँ कुर्सीले लगाउँछ
कहिलेकाहीँ पर्खालले
मेरो टोपी
कहिलेकाहीँ मेरो कविताले लगाउँछ।
म चाहन्छु
मेरो टोपी आकाशले लगाओस्
सारा नीलिमाले,
बहिरहने बतासले लगाओस्।
यस्तो सोचिरहेका बेला
मेरो टोपी
कि त मेरी सानी छोरीले लगाइरहेकी हुन्छे
कि घरको अँध्यारो कुनाले
कसैले वास्ता नगरिएको
मिल्किएको घरको कुनाले…..।

Krishna Prasad Bhandari – Hamro Chahana

कृष्णप्रसाद भण्डारी – हाम्रो चाहना
(मधुपर्क बैशाख, २०६७)

नव्य नेपालको कल्पना गर्दथ्यौं
लोकतन्त्रसँगै जीविका गर्दथ्यौं
सोच यो पूर्ण भो राजतन्त्रै ढल्यो
फेरियो शासनै क्रान्तिले त्यो गल्यो ।

पच्चिसै Continue reading “Krishna Prasad Bhandari – Hamro Chahana”

Hemanta Pardeshi – Euta Sachcha Nabinata Ko Janma Dina Chahanchhu

हेमन्त परदेशी- एउटा सच्चा नवीनताको जन्म दिन चाहान्छु

आफ्नै अन्तर्बोधी अवचेतनको लम्बेतन शल्यक्रिया पछि
आज मैले मानसिक अपहिजताबाट उन्मुक्ति पाएको छु ।
अर्थात अभाव , गरिबी , कुपोषण केहि छैन अब म संग ।
त्यसैले अब मैले जीवनको निस्सारता महसुस गर्नु पर्ने छैन ,
न त फिक्का र उधारो जीवानुभूतिमा –
पटक पटक आत्महत्याको असफल प्रयास नै गर्नु पर्नेछ ।
हो अब म भन्छु – आत्महत्या गर्नु सृष्टिलाई मार्नु हो ,
र सृष्टिलाई मारेर मोक्ष प्राप्त हुँदैन ।
अर्थात मोक्षको नाममा रुक्षता र निराकृतता अस्वीकृत छन् अब म बाट ।
किन कि १ र १ , २ मात्र होइन ११ पनि हुन्छको गणितीय सिद्धान्तमा-
मैले जीवनको सार्थकता देखेकोछु ।

त्यसैले त भास्कोडिगामा र कोलम्बस बन्नु अघि –
मोहेन्जोदाडो र मेसोपोटामियाको परिभ्रमण गरिरहेकोछु म ।
अनुभूत गर्छु आफ्नै अवचेतनले ,
मनश्चक्षुको वाचलता भित्र बिशाल पिरामिडहरु ठोक्किन्छन् ,
नियाँल्छु , सुम्सुम्याउँछु अनि पटक पटक ठम्याउँछु ।
आहा ! कस्तो देदीप्यमान र उद्विप्त मानव सभ्यताका अरक्षणीय पिरामिडहरु ?
आफ्नै अभ्यन्तरिक चित्तभ्रममा नतमस्तक बन्छु म ।
थाहा पाउँछु –
सभ्यता रुख होइन , जो हरेक सालको पालुवा फेराइ संगै बुढो होस् ,
अनि सभ्यता थोत्रो घर पनि होइन , जो चाँहदैमा सजिलै भत्काउँन सकियोस् ।
त्यसैले साल फेरिँदैमा बुढो हुनुलाई अस्वीकार गर्छु म ,
अनि पुरानो हुनुको परिभाषा भित्र सभ्यताको नवीनता खोज्छु म ।
किन कि मेरो अन्तर्बोधी अवचेतनले भन्छ –
बुढो र पुरानो हुनलाई नवीनताको जन्म हुनुपर्छ ,
रुखको पालुवा फेरिए जस्तै अथवा नयाँ घडेरीहरु सम्याए जस्तै ।
तर मलाई थाहा छ आयु छोट्टिनुलाई नै बुढ्यौली ठान्नेहरु ,
अर्थात पुरातन माथिको नवीनतमको दिग्बिजय ठान्नेहरु ,
सधैँ झैँ यो साल पनि त्यसरी नै उल्लासित हुनेछन् , उमङ्गित हुनेछन् –
अनि नयाँ सालको आगमन संगै –
अरुको बुढ्यौलीमा आफ्नो जवानीको बिजयोत्सव मनाउँनेछन् ।
त्यसैले दिगभ्रमित समयको सुरुआत हुनु अगावै ,
अर्थात कुपोषित मानसिकताहरुले इन्क्लाबका नाराहरु उराल्न अगावै ,
म आफ्नै अन्तर्बोधी अवचेतनमा सभ्यता संग संभोग गर्न चाहन्छु ,
स्खलित हुन चाहान्छु ,र एउटा सच्चा नवीनताको जन्म दिन चाहान्छु ।

Sharmila Pokhrel – Pardesh Ma Mero Desh

शर्मिला पोखरेल – परदेशमा मेरो देश

मेरो देश
मसँगै प्लेनमा चढ्यो
र मेरै छेउको सिटमा बस्यो
मेरो देश मैले लाउने
रातो टिका र पोतेमा आयो
मैले बोल्ने नेपाली भाषामा आयो
मेरो देश
गायत्ती मन्त्रमा आयो
पुजाको Continue reading “Sharmila Pokhrel – Pardesh Ma Mero Desh”

Balkrishna Magar – Dukhad Niyati

बालकृष्ण मगर – दुःखद नियति

यी मध्यान्ह जति
आत्महत्या गरिरहेछन्।
दिउसै दिन डूबे पछि
सडक आफ्नो स्वतन्त्रतालाई खुम्च्याएर
जीबन संगत बन्न खोजिरहेछ।
यतिखेर,
कैदि भएका छन्
नेल्सन मण्डेला र महात्मा Continue reading “Balkrishna Magar – Dukhad Niyati”

Aryabiman Chitrakar – Timi Bujhdainau Sanu

आर्यविमान चित्रकार – तिमी बुझ्दैनौ सानु

दन्त्य कथाका रोबोटहरु यहाँ
साइबरनेटिक घोस्टका पुराण सुनाउछन
तिलिस्मीय सञ्जालहरु यहाँ
गगनचुम्बी महलका कुना ताक्छन
खोइ कहाँ राख्ने हो परमाणु!!!!

फ्लाईओवर Continue reading “Aryabiman Chitrakar – Timi Bujhdainau Sanu”

Tulsi Diwas – Awaz, Nadi Ra Ma

तुलसी दिवस – आवाज, नदी र म
(मधुपर्क माघ, २०६७)

समय थुनिएको बुइगलको भत्किएको पाखामा
शताब्दीको पुरानो डोकोबाट पोखिएको जैविक मलजस्तो
अँध्यारोको थुप्रोमा पुरिएर आफैँ निसासिई
दसैँको जमराजस्तो उज्यालो विमुख पहेलिएको आवाज,
युगको आफ्नै छिंडीको चिसो भुइँतलामा
युगौँदेखि बन्द समयको रुघा लागेको मोटो आवाज,
बन्दीघरमा थुनिएका तर नसुनिएका घरभरिको पातलो आवाज,
द्वन्द्व र सङ्घर्षको पहिरोमा परेर बगी
आफैँबीच चेप्टिएर पुरिएको आवाजहीन शून्य आवाज,
अनियन्त्रित राजनीतिक भ्रष्टाचारको मेदभावयुक्त बाढीमा बगेर
यत्रतत्र खण्ड खण्ड छरिएर टुक्रिएका मौन आवाज,
भोकमरि र सङ्क्रात्मक रोगको भुइँचालोले थिलथिल्याएको
कहिल्यै नसुनिएको भूमिगत कोलाहलको आवाजहीन आवाज
चुरा फुटेर सिन्दूर पुछिएको सेतो लुगाको रङ्गीन आवाज
अपहरण, बलात्कार र हत्याको मलिलो माटोमा उगि्रएको
भूमिगत पीडाको बाक्लो भित्रभित्रै चर्किएको
पोल्ने एकान्तबाट निसृतः जलिरहेको आवाज,
संवेदनारहित शक्ति र सत्तामा केन्दि्रत विभाजित दलगतस्वार्थ हो
पुरेको मान्छे मात्रको नसुनिने दबाइएको सेतीको दबेको आवाज,
सबै चेतनाको उज्यालो भरेङ चढेर
तला, बार्दली र कौशीमा क्रमशः उक्लिरहेका,
र निस्किरहेका छन् -हूल हूलमा घाम ताप्न
बन्दीगृहको युद्ध मोर्चामा मात्र सीमित छैनन् ती,
हरेक घरका मूलढोकाबाट खिया लागेको
फलामे गजबार तोडेर सडकमा ओर्लेका छन् ती
सानो-ठूलो बाटो हुँदै निस्केका ती आवाजहीन आवाजहरूको नदी
एउटा बाढी भएर मूलसडकमा अनियन्त्रित रूपले बगेका छन्
र आवाजहरूको उर्लंदो जुलुस भएर उर्लेका छन्
समूह-समूहमा बाँडिएर बेलाबखत ती
असन, इन्द्रचोक, भोटाहिटी र रत्नपार्कमा कोणसभा गरिरहेछन्
साँझ ओर्लंन नपाउँदै फेरि नयाँसडकमा मसाल जुलुस पनि निकालिरहेछन्
समावेश हुन नसकेको तर आक्रोशित कहिल्यै नसुनिएको
मैदानबाट उठेको भुइँ कुइरोको हूल
यही नदीको ओछ्यान र बगरबाट माथि पहाडमा उठेको छ
सडकमा आएको अप्रत्यासित तर योजनाबद्ध दमित
आवाजहरूको यो बाढीले पैदल हिँड्ने दुबै किनार ढाकेर
नाङ्ले पसलदेखि ठूला डिपार्टमेन्टल पसलसम्म
साना-साना घरदेखि गगनचुम्बी ठूला दरवारसम्म भेटिसकेका छन्
ती चर्किसकेका छन्, भत्की, लडिसकेका छन्
तर हूल-हूलमा बाँडिएर सडकमा कुद्ने यी आवाजका भुइँ कुइरोहरू
आकाशको अज्ञात कुन दिशातिर घुँडामाथि उडिरहेछन्
ध्यान मग्न भई फेरि पनि आफ्नो कोठामा म सोचिरहेछु-
एकता, स्थिरता र मेलमिलापको विषयमा,
सहमति, शान्ति र संविधानको विषयमा
यसरी सोच्दा-सोच्दै आफ्नै आवाज पनि फुत्त निस्केर
आवाजहरूकै बाढीमा मिसिएर बगेको देखिरहेछु
रस्वयं म पनि आवाजहीन आवाज भएर बगिरहेछु ।