Rajani Dhungana – Mahan Aama

रजनी ढुंगाना – महान अामा

छाउ गोठमा तिमीलाई पठाई
बिस्तारामा म चैनले निदाउँथे
दुखाई अनि लज्जाबोधका
त्यो कालरात्री उपहार दिन्थे

कौमार्यको परिक्षा लिएर
तिम्रा चरित्रमा औला उठाउथे
हजार गल्ली चाहारेर आफू
लोग्ने हुनुको धाक जमाउथे

गोडाको पानी पिउन लगाई
मधुशालामा प्याला रित्ताउथे
निराहार तिमीलाई छोडेर
मिष्ठान्नका भोग लगाउथे

प्रसव वेदना तिमीलाई दिएर
ढोकामा बसि चुरोट सल्काउथे
भुक्तान गरेर अस्पतालको रकम
पितृत्वको रवाफ जमाउथे

चिताको अग्निमा आफू जलेर
जीवन तिम्रा खरानी बनाउथे
खोसेर श्रृङ्गार अनि रंगिन बस्त्र
बैध्ब्यको चोला ओढाउथे

कति परिक्षा लिन्छाैं नारीकाे
कति जाेख्छाैं न्यायकाे तराजुमा
उपभाेग्य वस्तु नठान नारीलार्इ
नारी महान अामा हुन सृष्टिकाे ।

Raju Himanshu – Ritto Gilas Thinga Ubhiyeko Chha Ahile

राजु “हिमांशु” – रित्तो गिलास ठिङ्ग उभिएको छ अहिले

रित्तो गिलास ठिङ्ग उभिएको छ अहिले

कतिपल्ट पानी
कतिपल्ट ह्विस्की
खनिएर यसमा
रित्तो भएको छ अहिले यो
यसले
सुरिला स्वरहरु सुनेको छ धेरै पल्ट
नुनिला आँसुहरु झारेको छ धेरै पल्ट
कतिपल्ट छछल्किएर
बन्धनहरु पोखाएको छ धेरै पल्ट

ठूलो दर्शन छाट्ने यसको ओठबाट
समाधान भने खसेन कहिले
जाबो समस्याको खोपिल्टा पुर्न सकेन कहिले

टोड्का परेर समस्याहरु खाड़ल भए
गिलास रित्तियो
साहस सिद्धियो
जून-ताराजड़ित आकाश चियाउने रहरहरु
बन्दी बने
आकाङ्क्षाहरु भयभीत हुँदै पलायित भए

सपना टुङ्गो लागेन
विपना उँभो लागेन

अवनतिको नदी बगिरह्यो चुपचाप
एकताको हात भाँचियो ट्वाक्कै
दागाको चिप्लोमा लड़ेर

रित्तो गिलास उभिरह्यो ट्वा परेर

रित्तो गिलास ठिङ्ग उभिएको छ अहिले
चुपचाप !

डाउहिल पथ, खरसाङ, दार्जिलिङ

– बिहीबार, 19 भाद्र, 2071

Chandra Gurung – Naya Nepal

चन्द्र गुरुङ – नयाँ नेपाल

हिजो आज,
हुलकाहुल हुल मानिसहरु
म र म जस्ता थुप्रैलाई खोज्दै आईपुग्छन्
र माँग्छन् हाम्रो साथ
माँग्छन् हाम्रो हात
कि, अब उनीहरुले
नयाँ नेपालको निर्माण गर्दै छन् रे ।

Continue reading “Chandra Gurung – Naya Nepal”

Ananda Ram Paudel – Ganatantra Diwas

आनन्दराम पौडेल – गणतन्त्र दिवस
(मधुपर्क साउन, २०६७)

पार्टीको कार्यकर्ता
अबेला उठ्यो
कागजको एउटा टुक्रामा
‘व’ अक्षर देख्यो
वर्गसङ्घर्षका कसहरू
रेडलेबलले कुल्ला गरिसकेको हो
यो शब्दले तैपनि पिछा Continue reading “Ananda Ram Paudel – Ganatantra Diwas”

Kamala Shrestha – Jeewan

कमला श्रेष्ठ – जीवन
(मधुपर्क २०६६ भदौ)

कस्तो अट्टहास
कस्तो निस्सासिँदो
यो कहालिलाग्दो जीवन
बाटो हिँड्दाहिँड्दै
दोबाटोमा अल्भिmएको जीवन
कतै फूल छ त कतै काँडा
घोचाइलाई सहँदै
अघि बढ्दै जानुपर्ने जीवन
टुक्रिएर छताछुल्ल
भुइँमा झर्दा नझर्दै पनि
समयले दिएको घात भनी
सम्हालिएर फेरि उठ्नैपर्ने जीवन
कति पीडा
कति बोझिल सपना
यो उराठलाग्दो जीवन
आत्मालाई ऊँमा अर्पिएर
हृदयमा शान्ति ल्याउनुपर्ने जीवन
कस्तो मृगतृष्णा
कस्तो चाहना
भाग्यको भेलमै बगाएर
बाँच्नुपर्ने जीवन
निमेषमै आँसु झरिदिने
निमेषमै हाँस्न मन लाग्ने
सहाराका हातहरू
तड्पिँदै खोजिरहेको जीवन ।

– नारायणगढ, चितवन

Raju Himanshu – Man Ko Ghau Dukhi Rahyo

राजु “हिमांशु” – मनको घाउ दुखिरह्यो

कस्तो छायाले छेल्दैछ मायालाई ?
उज्यालो देख् नै पाएको छैन त्यसले
दिउँसै बलात्कृत भएर घरिघरि !

सामूहिक बलात्कारपछि
सामूहिक विरोधको आवाज सुनेर
पीड़िता–मायाले सञ्चोपन अनुभव गर्न सकिन ।

मनको घाउ दुखिरह्यो
सुरक्षा मूर्तिवत्: भएर उभिरह्यो
आरोपको तीरले छेड़िएर ।

घाउमा मलम लगाउने तरखर गर्छ सरकार
बथाने विरोधकों ऊर्जा देखेर
कानून पारित भएको भोलिपल्टै
उल्लङ्घन हुन्छ त्यो कानून फेरि
कुमारीत्व लुटिएर बिहानै
एउटा गाउँमा ।

अहो !
प्रजाको तन्त्रमा प्रजा नै असुरक्षित हुन्छन् प्रजाबाटै
त्यसरी अचेल !!

डाउहिल पथ, खरसाङ, दार्जिलिङ ,

– वुधबार, 28 श्रावण, 2071

Krishna Kattel – Antim Samjhana

कृष्ण कट्टेल – अन्तिम सम्झना

तिमीले अन्तिम पटक
फोनमा भनेको याद छ
ल राम्रोसँग बस्नुहोला
ठूलो मान्छे बन्नुहोला ।

त्यो अन्तिम फोनभन्दा
चार दिन अगाडीको अन्तिम भेटमा
मैले तिम्रो चिउडो समाएर भनेथेँ
मलाइ कहिल्यै नछोड है ।

त्यसबेला बगेको तिम्रो आँशु
मलाइ के थाहा
मेरोसामु बगेको तिम्रो
अन्तिम आँशु थियो भनेर ।

थाहा छ मलाइ
तिमीले छोड्न चाहिनौ
मैले छोड्न चाहिँन
तर छुट्नैपर्ने थियो तिमी म बाट
म तिमीबाट ।
मैले चाहिँन
तर तिमीले चाह्यौ ।

यसरी हो हाम्रो सम्बन्धमा
पूर्णविराम लागेको ।
आज तिमीले छोडेर गएको एउटा तस्विर बाहेक
केहि छैन मसँग ।

छनत छ
तिम्रै यादमा बगेर रित्तिएका
आँशु बिनाको आँखा
तिम्रै सम्झनाले एकोहोरिएको
चेत बिनाको मन्
अनि तिम्रै अभावले बाँझो बसेको
मेरो हृदयको फूलबारी ।

भन्न त भन्थेँ म
तिमी बिना बाँच्न सक्दिन भनेर
तर मलाइ माफ गर प्रीया
तिम्रो अभावमा मर्न नसकेर म
कवि बनेको छु ।

तिम्रै यादमा लेखिएको कविताले
मलाइ बाँच्न सिकाएको छ
मेरो भोलि देखाइदिएको छ
त्यसैले धन्य तिमीलाइ
जसले पागलप्रेमीबाट मलाइ
कवि बनाइदियौ ।।

ओखलढुंगा,कटुञ्जे

– शुक्रबार, 5 मङ्गसीर, 2071

Sharan Aansu – Mero Rastra Chhaina

शरण आँसु – मेरो राष्ट्र छैन

टोर्पेड़ोहरूले ठुँगेर नीलो आकाश
रगताम्मे बनाउँछ,
म त्यै रगतमा राष्ट्रियता खोजिरहन्छु ।

अर्थोडोक्स विचारको बन्दी हुन्छ –
कलिलो समय ।
म यसको जिगीशाका पिङहरूमा
मच्चिरहन्छु।

मच्चिनुको पनि त सीमा हुन्छ:
माटो बोल्दछ ।

कविताहरूको केमोफ्लाज’
लाज बनेर नुनको उकालो
चढिरहन्छ ।
अनि लेख्छु म – फोहोर कविता
मेरै देशका सागाहरूको एन्टिक्लैमेक्स’ ।

सीमानामा झन्डाहरू
डरले केराको पात झैं काँपिरहन्छन् ।
जैतूनका सेता फूलहरू
पिलातेको दरवारका क्रुसमा
लर्किरहन्छन् ।

वैतरणी नदीमा इतिहासको
युयुत्सु सपना बग्न थाल्छ ।
मेरो तेश्रो विश्वको तेश्रो आँखामा
मौन पीडाले घाइते सपना
चहराइरहन्छ ।

यद्यपि –
ती श्वेत श्यामल
रिसल्लाहरूको बाटोमा
सतरंजा ओच्छ्याएर
जङ्ग बहादुर
सार्वभौम माटोको याचना गरिरहन्छ ।

च्व, च्व!
सेतो मजेत्रो ओडेका आमा हिमालहरू-
दुधले पखाल्न सक्तैनन् –
सन्तानका रगतको राजीनामाका अक्षरहरू ।
खुल्न सक्तैन –
हिमालका कुमुदिनी पत्रहरूमा:
रगतै रगत फुलेको फूलको सौन्दर्य ।

मुक्तिकामी ओठका अठोटहरू
फुटिरहँदा-
भीरबाट खसेको मनले म
तय गर्न सक्तिन दुरुह बाटो
गन्तव्य सम्मको ।

ऐजन ऐजन छ – दासत्वको शिरबेहोरा
ऐजन ऐजन छ – तिनका इश्तिहारहरूको पालना ।
सरजमिन । सरसैया
उत्पीडनहरूको उत्प्रेषण
ऐजन ऐजन छ- युगौंदेखि ।

म लेख्न सक्तिन – कखहरा
यो राष्ट्र स्फीतिको ।
मलाई माफ गर है – वीर वलभद्र !
म छुन सक्तिन – मेरो माटो
काली तरेर ।
म त राष्ट्रियताको जेव्रा’ क्रसिङमा
इतिहासले दुखाएको प्यारानर्मल’
पाइला लर्खराउँछु
किनभने म त पागल कवि
मेरो राष्ट्र छैन ।।

Sharan Aansu – Manchhe Haru (Nepali Muktak)

शरण आँसु – मान्छेहरु

मान्छेहरु – १

मान्छेहरु मैले दिनदिनै हिंड्ने गरेको बाटोलाई भीर भन्दछन्
मैले बोकेर हिंडेका यी यावत् खुसीहरुलाई पीर भन्दछन् ||

मलाई थाह छ – भन्न मात्र जान्ने यी मान्छेहरुले जे पनि भन्दछन् –
असारे हिलो नै नखेली आएको-समयलाई पनि यी मान्छेहरु मङ्सिर भन्दछन् ||

मान्छेहरु -२

मान्छेहरुले माटोलाई चिन्न सकेनन्
सत्बाटोमा मिलिजुली हिंड्न सकेनन् ||

जुन माटोमा अभिमानको महल ठड्याए – त्यै माटो बिर्से यी मान्छेहरुले –
र यो स्वाभिमानको मेलामा एक मुठी स्वत्व र अस्तित्व किन्न सकेनन् ||

मान्छेहरु – ३

यी अँध्यारा मान्छेहरु देशको उज्यालो भविस्य कोर्छु भन्दछन्
बर्बराएको शैलीमा चुनौतीहरुको कालो पहाड फोर्छु भन्दछन् ||

तर जब तिनको कुत्सित स्वार्थ र अहंकारहरुमा चोट लाग्दछ –
चोरबाटोमा हिंड्छन् तिनीहरु र अन्तत:यो देश चोर्छु भन्दछन् ||

Raju Himanshu – Baad, Bibaad Ra Pathak

राजु “हिमांशु” – वाद, विवाद र पाठक

अचेल म
मार्जिनलाइजेसनको आगोले जल्दैछु
साबल्टर्न सोचको एसिडले भित्रभित्रै गल्दैछु
डायोस्पराको रुख भएर चुपचाप ढल्दैछु
अचम्म !
राम्ररी निर्मित हुन नसकेको मेरो अस्मितालाई
विनिर्मित पार्न खोज़्छन्
माकुरे षड्यन्त्रहरु ।
राम्ररी कन्स्ट्रक्सन हुन नसकेको अस्मिता
कसरी डिकन्स्ट्रक्सन हुन्छ ह ?
त्यति लामो रात परेपछि पनि विहान नहुनु
उन्मुक्ति खोज्ने सोच लास भएपछि पनि
चुपचाप सुत्नुलाई चिहान धरि नहुनु
कस्तो प्रारब्ध हो यो कालको ?
कस्तो उपहास हो यो अकालको ?
मगजको कानमा प्रश्नहरू तिखो तीर बनेर पस्दै छन्
ग्वार्लम्म ढल्दै छ अपाहिज विचार
सिद्धान्त र वादको विवादमा परेर ।
बन्दको दिनमा कमाइ नभएर
निस्तो भात चियामा भिजाएर
भोकको राक्षसलाई मार्ने पाठक भने
अरकच्च परेको छ असुरक्षित भविष्य पालेर
निल्दै छ उसलाई भयवादले ख्वाप्पै
निल्दै छ उसलाई भोकवादले ख्वाप्पै
समाधान लुकिरहेछ
समस्या चुहिरहेछ
वाद भने फेरि लड़िरहेछ चम्कँदै
विवाद भने फेरि अघि बड़िरहेछ लम्कँदै
ट्वा पर्दैछ छ त केवल पाठक ।

डाउहिल

– सोमबार, 19 श्रावण, 2071

Yuwa Baral Ananta – Bigaun

युवा बराल ‘अनन्त’ – विगाउँ

मलाई गाउँ फर्केर
हलो-जुवा समाउनु छैन
किनकि समयमा बा’ले मलाई
गोरु नार्न सिकाएका छैनन्
मलाई गाउँ फर्केर
खेत-बारी बिराउनु छैन
किनकि सानो छँदा बा’ले मलाई
माटो खेल्न दिएका छैनन् ।

बसोस् खेत-बारी बाँझै बरु
त्यो बाँझो बस्दा म भोको हुनेवाला छैन
मौलाइरहुन् घर-घुरेनमा लहरा र झार-जंगलहरु
त्यहाँको कमाइले मेरो भविष्य बनिनेवाला छैन ।

म पसिसकेको छु विगाउँ
दुई पैसा कमाउने उपाय रोच्दै
म पलायन भइसकेको छु बजारतिर
सहज उपभोगको वस्तु खोज्दै ।

मलाई थाहा छैन-
दाल-चामल रुखमा फल्छ कि भूईंमा
मलाई ज्ञात छैन-
स्कुस-फर्सी घुरेनमा फल्छ कि सड़कमा
भोक लाग्दा
भात पकाउन जानेको छु
निद्रा लाग्दा
ओछ्यान पस्न जानेको छु ।

मलाई ढुङ्गा-माटोसंग साइनो गाँस्न सिकाइएन
मलाई हावा-पानीसंग मितेरी जोड़न भनिएन ।
मलाई पर्म-परेवाको रह्स्य नै बताइएन
मलाई ईष्ट-मित्रको महत्व नै बुझाइएन ।

म चिन्दिनँ नी, साँल्दाई
मावलाकी आमै, गैरीघरे काकी अनि सानिमा
म जान्दिनँ नी ठूलदिदी
डोको, नाम्लो अनि घाँस दाउरा गर्न
धानको कुन्यु अनि मकैको झुत्ता पार्न।

स्मृतिमा अलि-अलि आउँछ्…
वर्खामा आमाको त्यो रातो गुन्यु रुझेको
सम्झनामा झलि-झलि आउँछ
अगेनाको डिलमा बसेर दन्तेकथा सुनेको ।

मलाई गाँउ फर्केर
काँटा-कोदालो खन्नु छैन ।
मलाई त ज्ञानी बनी आइज भनी
शहर पठाएका हुन् मेरा बा’ले
मलाई घर फर्केर
खेति-किसान गर्नु छैन ।
मलाई त आफ्नो खूट्टामा उभिनु भनी
गाँउको सिमानादेखि
टाड़ा कटाएका हुन् मेरा बा’ले ।

बसोस् खेत-बारी बाँझै बरु
त्यो बाँझो बस्दा म भोको हुनेवाला छैन
मौलाइरहुन् घर-घुरेनमा लहरा र झार-जंगलहरु
त्यहाँको कमाइले मेरो भविष्य बनिनेवाला छैन ।

– बिहीबार, 12 आसाढ, 2071

Ashank Upadhyaya – Pirati Thunga Diyen (Nepali Gajal)

आशांक उपाध्याय – गज़ल – पिरती थुंगा दिएँ

पिरती थुंगा दिएँ साटोमा काँडा पाएँ
भरेर बस्दा माया लौ खाली भाँडा पाएँ

देखेंथें सपनीमा बैंशालु रुप तिम्रै
झस्केर आँखा खोलें उराठ डाँडा पाएँ

जीवन यात्रा गर्ने तयारी गर्न खोज्दा
एक्पान्ग्रो नभएको लंगडो गाडा पाएँ

सोचेर बसें सुर्य चन्द्रको साथ मेरै
लम्केर छुन खोजें कोशौं पो टाढा पाएँ

नजिक रहँदामा नाताको आशा गरें
दिएको साथ साटो किराया भाडा पाएँ

Baldev Bhattarai – Birya Dan Garna Sakdina Ma

बलदेव भट्टराई – वीर्यदान गर्न सक्दिन म

बिहानी मनोरम छटाको भूमिमा
पहेंलिदै गरेका रवि किरणहरु
पहेंलो समुद्रमा डुबुल्की मार्दा
उत्तरबाट ध्वंसको ध्वाँस र रगतको गन्ध बोकेर
क्षेप्यास्त्र गोता लगाउँछ
त्यहीं कतै युद्धभेदी लडाकु जहाजहरु
शान्तिका प्रवर्तकहरुको इशारामा
प्रतिरक्षाको अभ्यास गर्दैछन्
अबुझ म
चिसिएको शसंकित मन लिएर
सन्नाटा बाँच्छु
आँखीभौँ सल्बलाउँछन् !

हिमाली मनोरम छटाको भूमिमा
बिहानी भालेको डाक नहुँदैं
दूलो पसेका भ्यागुताहरु
ट्वार-ट्वार गर्दै कोकोहोलो गर्छन्
वर्षाको संकेत
खडेरीको मौसममा मेघको महत्व, कठै !

लाचार भएका कोदालाहरु
आकाश नियाल्छन्
जात-प्रजातका भ्यागुताहरुको जोहो गर्छन्

चलेको चलन
ईन्द्र खुशी पार्न, धुमधाम
बिहे गरिन्छ भ्यागुताको
चारै दिशाका पण्डितहरुको मन्त्रोच्चारणमा
खोइ, थोपा खस्दैन आकाशबाट
शीतलताले छुँदैन कतै !
मनमा, तनमा पसिना खल्खली
उफ !

मुस्काउँदै गरेको त्यो बालक
वनकुसुम !
मेरी प्रिय अर्धागिंनीको अंगालोमा खेलाउने रहर
त्यो अधैर्यता
माफ गर प्रिय !यसपाली पनि
वीर्यदान गर्न सक्दिन म
मेरो मनभरि,
आशंका,भ्रम,भय,आक्रोश र जलनको आगो छ
जुन मेरा सन्तानले बोक्न नपरोस
विज्ञान भन्छ, वंषानुगत गुण ।

जहाँ जे भए नि
आऊ, यो साँझ सब बिर्सेंर
समागम गरौं
अलिकति मनको नैरास्यता भगाऔं
प्राकृतिक-अप्राकृतिक
गर्भनिरोधको उपाय कायम राखौं ।

Rakesh Karki – Nachiplinus Mantri Jyu

इन्जिनियर राकेश कार्की – नचिप्लीनुस मंत्रीज्यू

अब धेरै नचिप्लीनुस मंत्रीज्यू
यो तपाईकै गाउँ हो
तपाईले नै क्रान्ती सिकाएको
रक्तरंजित ठाउँ हो

बिर्सिनु भो होला शायद
तपाईँ पनि हामी जस्तै हुनुहुन्थ्यो
अहिले पो सुटेड बुटेड हुनुभो
पहिले पसिना पुछ्दै यो माटो छुनुहुन्थ्यो

माथी भत्किएको स्कुल देखाउँ भने
तपाईँको बहुमुल्य जुत्ता दु:ख्ला
भोका नाङ्गा आफ्नै गाउँले
हेर्न नसकेर घाँटी सुक्ला

के हो यो सामन्ती गीत बज्ने
करौँडोको गाडी
सर्वहारावर्गसंग गाएको
जनताको गीत छाडी

देश विदेश फुल्ने महोदय
फेरी गाउँमा पलाउनु होला र
मकै धान त खाँदै हिँड्नेले
संविधान फलाउनु होला र

अब धेरै नचिप्लीनुस मंत्रीज्यू
यो तपाईकै गाउँ हो
तपाईले नै क्रान्ती सिकाएको
रक्तरंजित ठाउँ हो ।।

– लस् एन्जेलस्

Biplav Pratik – Niyati

बिप्लव प्रतिक – नियति

कुनै एउटा त्यस्तो बखत थियो
जब ब्रहृमाण्ड के थियो थाहा छैन
फेरि त्यस्तो बेला आयो जब ब्रहृमाण्ड भयो
तत्पश्चात् के के भयो सबैलाई थाहा छ
र कोही अनभिज्ञ छैनन् ब्रहृमाण्डको इतिहाससँग ।

ब्रहृमाण्डमा पृथ्वी, चन्द्र र सुर्यसँगै
धेरै अरू ग्रह पनि बने
माछा, हात्ती, चरा अनि मान्छे पैदा भए
र, मानिसको अनादिदेखि अनन्तको यात्रा पनि सुरु भयो
यहाँ समयानुसार लिङ्कन, मार्क्स, हिटलर
लेनिन, बुद्ध, एरिस्टोटल सबैसबै जन्मे
अहिले म, तिमी र हामी पनि जन्मेका छौँ
र हामी हाम्रो कर्मप्रति उदासीन
स्वार्थ, मोह र प्रतिस्पर्धामै
आफ्ना पसिना र रगतका प्रत्येक थोपा
निथारेर खर्च गर्न लालायित छौँ ।

ऐइया, कस्तो दुख्ने जिन्दगी !

घट्टेकुलो, २८ जनवरी १९९१

Thakur Belbase – Pahiro Ko Makhe Sanglo

ठाकुर बेलबासे – पहिरोको माखेसाङ्लो
(नेपाल साप्ताहिक)

पहिरोको माखेसाङ्लो रहेछ मान्छे
पहिरोको मध्यभागबाट यात्रा गरेर
पहिरोमै अडेको बासमा पुग्नु छ ।

जीवनको यति लामो यात्रामा
नभेटिने होइनन् सहयात्रीहरू
सबैको Continue reading “Thakur Belbase – Pahiro Ko Makhe Sanglo”

Kumar Simkhada – Teej Ki Badhu (Nepali Gajal)

कुमार सिंखडा – तीजकी बधु (गजल)

आफ्नै आँगन डिल पनि आफ्नो हैन अर्को लाग्यो
कौवा केही बोल्न खोज्यो, न्यास्रो हैन झर्को लाग्यो।

आवाजहरु आज नौलो मिरमिरेको पँधेरीमा
बधुसंगी कुर्दै थिएँ चेलीबेटीको लर्को Continue reading “Kumar Simkhada – Teej Ki Badhu (Nepali Gajal)”

Komal Bhatta – Sojha Sidha Janata Lai (Nepali Gajal)

कोमल भट्ट – सोझा सिधा जनतालाई

सोझा सिधा जनतालाई नचाउन सक्छौ अब
निर्दलको हल्ला खल्ला मचाउन सक्छौ अब

जाली,झेली,कुकर्मी र अपराधी भए पनि
बन्धु बान्धव रैछन भने बचाउन सक्छौ अब

विरुद्धमा बोले भने गोर्खे Continue reading “Komal Bhatta – Sojha Sidha Janata Lai (Nepali Gajal)”

Bhupin Byakul – Pathak Ko Hatya

भूपिन ब्याकुल – पाठकको हत्या

यस युगको महान् कवि
पाठकको हत्या गर्छ
तर कुनै शोकगीत गाउँदैन

शब्दको मन्दिरमा
बिम्ब र प्रतीकहरुको पुरानो गजुर चढाउँछ
झुठा मिथहरुको टुँडाल सजाउँछ
थुनिराख्छ कवि
निकाल्नै चाहन्नँ मन्दिरबाहिर
शब्दका नयाँ इश्वरहरुलाई !

आत्मप्रलापका लागि
कबिताभर स्खलित गर्छ
शब्दका कामुकताहरु
सुन्दरी वेश्यालाई झैं कवि
भोग्छ शब्दहरुको सौन्दर्यलाई !

कवि
अक्षरका आत्महरुको चीरहरण गर्छ
अक्षरहरुलाई नाङ्गै पार्छ
र कुण्ठाको सपाट सडकमा हिडाउँछ !

‘एडिक्ट’ छ कबिताको
कविताका नसाहरूमा सिरिन्ज हान्छ
कविताका कलिला हातहरुमा
अँध्यारो सूर्य थमाउँछ

दुर्व्यसनी आँखाहरुमा
रक्सीले मातेको पृथ्वी बोकेर
कविताको अन्तरिक्षमा हराउँछ

नयाँ कवितामा
ककटेल उपदेशहरु वान्ता गर्छ
हल्लाहरुको हाटबजारमा
शब्दहरुको किनबेच गर्छ
समीक्षा गर्न लगाउँछ भक्तहरुलाई
सापटी पुरस्कार थाप्छ
र सृजनशील उचाइको भ्रममा बाँच्छ !

सबैभन्दा बढी
अमूल्य प्रेमका सस्ता कबिताहरु लेख्छ
कि कवितामा
आत्महत्याको बीउ छर्छ
प्रिय छैनन् जीवनका बहुलरङ्गहरु
यस युगको महान कवि
सादा रङ्गहरुको कोलाजभित्र निस्सासिन्छ !

आधुनिक ‘भ्यानगग’ हो
यस युगको महान कवि
सत्ताको समर्पणमा
कविताको कान काट्छ र चढाउँछ
र गर्वले
बुच्चा कविताहरुको पोट्रेट बनाउँछ !

यस युगको महान् कवि
पाठकहरुको हत्या गर्छ
तर कुनै शोकगीत गाउँदैन

Krishna Kattel – Sarkar Sanga Prashna

कृष्ण कट्टेल – सरकारसँग प्रश्न

सरकार !
मेरा बा को पसिनाले
हुर्कायो,बढायो अनि पढायो
मेरी आमाको मायाले
संस्कार सिकायो,

हो सरकार
अब म भित्र जाँगर पसेको छ,
सपनाहरु सजाएको छु मुटुभित्र
अब प्रयोग गर मलाइ तिमीले
किनकी म यहि माटोमा
स्वर्गीय फूल फूलाउन चाहन्छु

भन सरकार,
किन मौन छौ ?
मलाइ कहाँ देखाउछौ चुनौती ?
म तिमीले दिएको चुनौती सामना गर्न तयार छु,
त्यसबेला बगेको मेरो पसिनाले
यो देशको दुःख बगाउन सकोस ।

खै किन बोल्दैनौ सरकार ?
कि म पनि राहदानी बनाउने लहरमा बसौँ ?
आँसु चुहाउदै मेरी आमालाइ छोडेर
अर्काको लागी म दुःखको समुन्द्र तर्न चाहन्न
म यहि हिमाल,पहाड र तराइको लागी बाँच्न चाहन्छु
यहि माटोमा तागत रोप्न चाहन्छु
खै कहाँ ? के देखाउछौ मेरालागी चुनौती?
जसलाइ म अबसर ठानेर आमाको सेवा गर्नेछु

जसरी एकमुटठी चारोले
हजारौ परेवाको पेट भर्न खोजेझै
सिमित धोक्रोभित्र असंख्य बिचारहरु
र असंख्य जवानहरु थुपार्न नखोज
त्यसैले देखाउ चुनौती यी जुर्मुराएका सन्तानहरुलाइ
जो खोजिरहेका छन् फूलाउन
लालीगुरासझै यो देशलाइ ।।

ओखलढुङगा, कटुञ्जे ५

– बिहीबार, 19 भाद्र, 2071