Rajani Dhungana – Aascharya

रजनी ढुंगाना – आश्चर्य

के को आश्चर्य
के नै नौलो भयो र
सीताको अग्नि परिक्षा माग्ने यो समाजले,
औला उठायो, कानेखुसी गर्यो।
के बिस्मात केको गुनासो,
खुला आकाशमा बिचरण गर्नु तिम्रो स्वतन्त्रता ,
अनि छेउ छेउ सम्हालियेर पाइला सार्दा मैले , नदि उल्टो बग्यो,
तिम्रा बकम्फुसे कुरा गहन गहकिला
अनि मेरो तर्क चाहिँ पोथी बासेको,
तिम्रो अट्टहास त अर्थपूर्ण भैगयो
अनि मेरो मन्द मुस्कान छाडा, छिलिएको…
मेरो अतीत त जीवन भर कै अभिषाप
तर तिम्रो अतीत त सानो भुल मात्रै ,
के नै नौलो भयो र?
केको घोर आश्चर्य
मेरो ब्यस्तता , मेरो कार्य
ढोङ , गैरजिम्मेवारि,
तिम्रो सयर, तिम्रो यात्रा
भविष्यको पुर्व तयारी
घडीको सुइले साँझको सात हान्दा
चरीत्रको तराजुमा जोख्छौ मलार्इ
रात रात भर तिमी न आउँदा
त्यो तिम्रो मौलिक अधिकार ,
मेरो बुझाइ , मेरो चेतनशीलता
घमण्ड ,अहंकार
के नौलो भयो र के को घोर आश्चर्य?

Rajani Dhungana – Mahan Aama

रजनी ढुंगाना – महान अामा

छाउ गोठमा तिमीलाई पठाई
बिस्तारामा म चैनले निदाउँथे
दुखाई अनि लज्जाबोधका
त्यो कालरात्री उपहार दिन्थे

कौमार्यको परिक्षा लिएर
तिम्रा चरित्रमा औला उठाउथे
हजार गल्ली चाहारेर आफू
लोग्ने हुनुको धाक जमाउथे

गोडाको पानी पिउन लगाई
मधुशालामा प्याला रित्ताउथे
निराहार तिमीलाई छोडेर
मिष्ठान्नका भोग लगाउथे

प्रसव वेदना तिमीलाई दिएर
ढोकामा बसि चुरोट सल्काउथे
भुक्तान गरेर अस्पतालको रकम
पितृत्वको रवाफ जमाउथे

चिताको अग्निमा आफू जलेर
जीवन तिम्रा खरानी बनाउथे
खोसेर श्रृङ्गार अनि रंगिन बस्त्र
बैध्ब्यको चोला ओढाउथे

कति परिक्षा लिन्छाैं नारीकाे
कति जाेख्छाैं न्यायकाे तराजुमा
उपभाेग्य वस्तु नठान नारीलार्इ
नारी महान अामा हुन सृष्टिकाे ।