शरण आँसु – मेरो राष्ट्र छैन
टोर्पेड़ोहरूले ठुँगेर नीलो आकाश
रगताम्मे बनाउँछ,
म त्यै रगतमा राष्ट्रियता खोजिरहन्छु ।
अर्थोडोक्स विचारको बन्दी हुन्छ –
कलिलो समय ।
म यसको जिगीशाका पिङहरूमा
मच्चिरहन्छु।
मच्चिनुको पनि त सीमा हुन्छ:
माटो बोल्दछ ।
कविताहरूको केमोफ्लाज’
लाज बनेर नुनको उकालो
चढिरहन्छ ।
अनि लेख्छु म – फोहोर कविता
मेरै देशका सागाहरूको एन्टिक्लैमेक्स’ ।
सीमानामा झन्डाहरू
डरले केराको पात झैं काँपिरहन्छन् ।
जैतूनका सेता फूलहरू
पिलातेको दरवारका क्रुसमा
लर्किरहन्छन् ।
वैतरणी नदीमा इतिहासको
युयुत्सु सपना बग्न थाल्छ ।
मेरो तेश्रो विश्वको तेश्रो आँखामा
मौन पीडाले घाइते सपना
चहराइरहन्छ ।
यद्यपि –
ती श्वेत श्यामल
रिसल्लाहरूको बाटोमा
सतरंजा ओच्छ्याएर
जङ्ग बहादुर
सार्वभौम माटोको याचना गरिरहन्छ ।
च्व, च्व!
सेतो मजेत्रो ओडेका आमा हिमालहरू-
दुधले पखाल्न सक्तैनन् –
सन्तानका रगतको राजीनामाका अक्षरहरू ।
खुल्न सक्तैन –
हिमालका कुमुदिनी पत्रहरूमा:
रगतै रगत फुलेको फूलको सौन्दर्य ।
मुक्तिकामी ओठका अठोटहरू
फुटिरहँदा-
भीरबाट खसेको मनले म
तय गर्न सक्तिन दुरुह बाटो
गन्तव्य सम्मको ।
ऐजन ऐजन छ – दासत्वको शिरबेहोरा
ऐजन ऐजन छ – तिनका इश्तिहारहरूको पालना ।
सरजमिन । सरसैया
उत्पीडनहरूको उत्प्रेषण
ऐजन ऐजन छ- युगौंदेखि ।
म लेख्न सक्तिन – कखहरा
यो राष्ट्र स्फीतिको ।
मलाई माफ गर है – वीर वलभद्र !
म छुन सक्तिन – मेरो माटो
काली तरेर ।
म त राष्ट्रियताको जेव्रा’ क्रसिङमा
इतिहासले दुखाएको प्यारानर्मल’
पाइला लर्खराउँछु
किनभने म त पागल कवि
मेरो राष्ट्र छैन ।।