सरोज धिताल – तस्वीर
भित्ताको तस्वीर
देखाउंछ तिमीलाई कि
लुकाउंछ सबलाई
फरवरी २००४
नेपाली कविता को बिशाल संग्रह
सरोज धिताल – तस्वीर
भित्ताको तस्वीर
देखाउंछ तिमीलाई कि
लुकाउंछ सबलाई
फरवरी २००४
प्रकाश सुनुवार – शब्द बजार
शब्दहरुको
किनबेच चलिरहेछ
आपसमा साटासाट पनि भैरहेकै छ
तिनीहरु आशाहरुको चुचुरो बुन्दैछन्
निराशाहरु पनि जन्माउदैछन्
सिमाभन्दा उत्ताबाट पनि आयातित छन्
कुनै यहि माटोमा जन्मिएका पनि छन् ।
शब्दहरुलाई
पत्रीकामा सुकिलो पारेर किनाइएका छन्
पर्चा मार्फत लादिएका छन्
अपिल बनाएर अग्रसर गराइएको छन् ।
शब्दहरु
नयाँ पनि छन् – केहि जोसिला छन्
पुराना पनि छन् – केहि निराश देखिन्छन्
नयाँ शब्दहरुमा दम छ भन्ने भान छ
तर
शब्दहरुको
न त हात छ
न त खुट्टा छ
न त मुख छ
न त मष्तिस्क छ
न त मुटु छ
न त मुस्कान छ
एउटा मासुको थुप्रो जस्तो बिबस छ – शब्द
कसैले बोलिदिदैमा
आँधीबेहरी जस्तै भैदिन्छ
कसैले रोक्न खोज्दा
भोलि उसैको सामर्थ्य शुन्य होला जस्तो देखिन्छ ।
जोसिला शब्दहरु छन् –
छलांग, लोकतन्त्र, गणतन्त्र,
संघियता, जातीयता, पहिचान,
इत्यादी ।
निराश शब्दहरु छन् –
शहिद, आतंक, गुण्डागर्दी,
भ्रष्टाचार, अशिक्षा, अपहेलना,
इत्यादी ।
एउटा दोधारे शब्द छ – संबिधान ।
अर्को निष्पक्ष शब्द पनि छ – जनता ।
यिनीहरु कै चहलपहल छ
शब्द बजारमा ।
जनता
आफू निष्पक्ष भईकन पनि
बेचिएकै छ
र सस्तो छ उ
यो शब्द बजारमा ।
– २ मे २०१२ फ्रीम्ली
विवेक राउत – मेरो प्रेमलिला
(मधुपर्क २०६६ चैत)
सपना त्यो उद्यानको भमरा बन्ने
त्यसैसरी मायामा रम्ने
तर निर्जन गगन पो रहेछु
धर्तीसँग मिलनो कल्पना गर्ने
मन हुन्छ फरक सबैको, बुझिन मैले
आफ्नै संसारलाई काखी च्याप्दै डुलिरहे जैले
सोच्दै नसोची कुवामा हामफालेछु
पौडन नसकेर आफ्नै वजनको सामना गरिरहेछु ।
प्रेमको साटो अस्वीकार सहनुपर्यो उनीबाट
लोभै नगरी सबै प्रेम खन्याएछु आफूभित्रबाट
रित्तियो सबै चीज, खाली हाड छाला बाँकी
अब के दिन सक्छु र ? जीवन जिउँदो लास बनेपछि
प्राणभन्दा प्यारो मानेर के गर्नु उनलाई
नचाहेर पनि गुमाउन परेको छ जसलाई
प्रेम गर्छु झै म, मरुस्थल बने पनि
मनमा हिननाबोधको आगो दन्के पनि
-सिरहा, हालः बूढानीलकण्ठ उमावि नारायणथान, काठमाडौं
दिनेश अधिकारी – तर्क
अफ्रिकी अँध्यारा जङ्गलहरूमा
लौरो टेक्दै
अनगन्ती आमाहरू
अपहरित छोराका लासहरू खोजिरहेछन्
– बारम्बार सुनिरहेछु
नामेबियाका सेपिला खोँचहरूमा
असङ्ख्य निर्दोष यौवनाहरू
चुपचाप चुपचाप Continue reading “Dinesh Adhikari – Tarka”
सीमा आभाष – अंश
अंश लैजानु,
दुम्सीले माडेको फापरबारी
बाँदर लागेको मकैबारी
पछ्यौरीले छोपेको
सोलीको कोदाको बीउ
आँगनको कुखुराको खोर
बुन्दाबुन्दै छोडेको डोको
एकमुठी सुकेका चोया
खेतमाथि बगेको बाढी
घरपर्तिरको खहरे
रित्ता किला-दाम्ला
लैजानु,
भूतले तर्साउने खोल्सो
लाहुरे हजुरबाले कमाएको भित्तेघडी
हजुरआमाले सिन्दुर टीका गर्ने बिर्के ऐना
बाँसको काइँयो
लैजानु,
गोल्चे लगाएको सन्दुकमा
पुखार्ंैदेखि लुकाएका अभाव
वर्षौंदेखि बगेको पसिना
छानोमाथि फैलने बादलको टुक्रा
बूढो आँपको रूख
बल्न नपाएको अँगेनो
भरिन नपाएको गाग्रो
काँक्राफर्सी बेरिन नपाएका थाङ्ग्रा
लैजानु,
पानी नतर्ने घरको धुरी
करेसामा रोपेको घामफूल
बार्दलीमा झुण्ड्याएका
सयपत्री र मखमली माला
अँगेनामाथि ध्वाँसो लागेका कप्टेरा
सोली र फिपी
खुर्पा र कोदाली
पुर्खाले आर्जेको दुःख
लैजानु,
हिँड्दाहिँड्दै थाकेको गल्ली
मैले लिएको पनि यही हो
मैले दिने पनि यही हो
अंश लैजानु मसँग भएका
यी सबै सबै…!
सीमा आभास
रामचन्द्र भट्टराई – चेतना
म विद्यालयमा उच्च विश्वविद्यालयादिमा
पुस्तकालय या यस्तै अनन्त ज्ञान–ध्यानमा
कलाकार र साहित्यकार या पत्रकारमा
ज्ञानी शिक्षक–विद्यार्थी सबैका ज्ञान–तारमा
मुक्तिका गीत गुञ्जाई Continue reading “Ramchandra Bhattarai – Chetana”
प्रेम विनोद नन्दन – यो गाउँको ठिट्टो म
पहराको छातीबिच फुलेको म फूल
सकेसम्म हुनेछैन जिन्दगीमा भूल
यो गाउँको ठिटो म, कान्छा मेरो नाम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम
पीर व्याथा बोकिहिंड्ने कति साथी भेट्छु
ऊ पनि त एक्लो छैन, मजस्तो नै देख्छु
वनपाखा एकान्तमा उभिएको घर
जिन्दगीको उकालोमा सबलाई चाहिन्छ भर
मनको भारी गह्रुँगो छ, सँगै उचालौं
मनभित्र मायाको एउटा बस्ती बसालौं
साँझपख डाँडापारि दियो बलेजस्तै
जिन्दगीको अँधेरीमा आएँ लड्दै-पढ्दै
गीतकार – प्रेमविनोद नन्दन
स्वर – उदित नारायण झा, आदित्य नारायण झा
संगीतकार- सम्भुजित बासकोटा
चलचित्र – मोहनी
हरिभक्त कटुवाल – कतै आउला कि कुनै यस्तो दिन
हिजो एक मित्रकहाँ गएको थिएँ,
एउटा पोको कोठाको कुनामा,
दलिनमा झुण्डिरहेको थियो
ती- अब फेरि आउने जाडो छल्न सुरक्षित राखिएका
सिरक र दोलाईँहरू हुनुपर्छ पक्कै Continue reading “Haribhakta Katuwal – Katai Aula Ki Kunai Yesto Din”
दिनेश चापागाञी – बर्षा यामका पाँच हाइकुहरू
पिन्चे आकास
पारिजात झरेछ –
खोई त प्रभु ? ।१।
असारे झरी
कमिलाका लहर,
नागको भोटो।।२।
भिजेको घाम-
आँखा तरी स्वयम्भू
मागिरहेछ।।३।
झरीको वेला-
मान्छेले Continue reading “Dinesh Chapagain – Barsha Yam Ka Panch Haiku Haru”
छविरमण सिलवाल – यात्राका यात्री
आऊ
हामी यात्रामा छौं
यस यात्रामा
तिम्रो पनि साथ चाहिन्छ
उनको पनि साथ चाहिन्छ
गरिब, पीडित
विधवाहरूको
गहिरो घाउ निको पार्न
हामी सबैको साथ चाहिन्छ
**
यात्राका Continue reading “Chhabiraman Silwal – Yatra Ka Yatri”
नवराज सुब्बा – राउटेको मन
समयसित चिप्लदै गुड्ने
तिम्रा गाडी
भो मलाई चाहिएन
गति पन्छाउँदै
हावामा उड्ने
तिम्रा जहाज पनि
मलाई चाहिएन ।
मलाई
कम्प्यूटरमा च्याटिङ गर्दै
भासिनु छैन मुगलानमा
मलाई त मेरो माटो
मेरो जंगल मेरो बाँदर
अनि यी तरुलभ्यागुर नै
मीठो छ ।
नच्याऊ मेरो नाङ्गोपन
मैले छोप्नु छैन लाज
ती तिम्रा रङ्गीन कपडाले
नचिथोर मलाई
अनि मेरो संसारलाई
भो नपढाऊ
तिम्रा भाषा
मलाई यत्तिकै छाडिदेऊ
किन कि
मलाई तिमी वा अरू कोही
बन्नुपरेको छैन
मलाई म नै रहन देऊ
मलाई म मै रम्न देऊ
बिन्ति मलाई नमास तिम्रा प्रेमले
बरु थप अरू तिम्रो तिरस्कार
मेरो जंगल मलाई नै छाडिदेऊ
मलाई जंगलमै रम्न देऊ
तिमीले देखेका मेरा दुःखमैं
विन्ति मलाई छाडिदेऊ
जसरी म यतिन्जेल बाँचे
मलाई त्यसरी नै हाँस्न देऊ ।
कोमल भट्ट – कस्तो हुन्छ चोखो मायाँ
कस्तो हुन्छ चोखो मायाँ गर्नेलाई नै थाहा हुन्छ
कति दुख्छन चोटहरू पर्नेलाई नै थाहा हुन्छ
बाध्यता र विवसताका कथा व्यथा जति सबै
अभावमा सधैँ आँसु झर्नेलाई नै थाहा हुन्छ
सतहलाई नियालेर देखिंदैनन भित्री कुरा
जङ्घारको गहिराई तर्नेलाई नै थाहा हुन्छ
गाह्रो छ कि सजिलो छ विछोडमा जिउनु पर्दा
प्रत्येक पला तड्पिएर मर्नेलाई नै थाहा हुन्छ
कसले लुट्यो सुख,शान्ति,रमाइलो र हाँसो अनि
जिन्दगीका सारा खुसी हर्नेलाई नै थाहा हुन्छ
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
देशमा धेरै कुराहरु
हराउँदै गए
एकपछि अर्कोगरी
गुम्दै गए
फैलिएको देश
खुम्चिने क्रममा
सीमास्तम्भहरु हराए
वैशाखी टेक्दै
सत्तासीन हुनेहरुले देखाउने
परिकल्पनाहरु हराए
हराउनुको आभाष छ
हराउनेहरुकै भीड छ
हराउनेको मौसममा
हराउनेहरुकै एकाधिकार छ ।
हराउँदा हराउँदै
र गुम्दा गुम्दै
पछिल्लो संस्करणमा
कुनै सूचना प्राप्त भएको छ
हराउनुको यस श्रृङ्खलाको
नवीन कडी बन्दै
आज कसैको मोजा हराएको
जानकारीमा आएको छ
हो इतिहासको कुनै हिस्सा बन्दै
आज मेरो
मोजा हराएको छ ।
देख्दा सानो देखिन्छ
तर मोजाको अर्थ
सोचेभन्दा विशिष्ट छ
विषयको महत्वमाथि
प्रश्न उठाउन सकिन्छ
तर त्यसको हस्तक्षेप
विशेषतासहित भेटिन्छ
पैतालामा जब
चिसोले सिर्का हान्छ
मस्तिष्करुपी स्पर्श
कठ्याँग्रिदै खस्छ
केही गरौं भन्दा पनि
गर्न सिकंदैन
केही सोच्न खोज्दा पनि
त्यसले सोच्न दिंदैन
मोजालाई हल्का रुपमा
लिन मिल्दैन
जीवनमा संभावनाहरुलाई
निर्देशित गर्दै
त्यसले आफ्नोपनको
आभाष गराउँछ
मोजाको मौनता
संवादहीनताको सूचक
हुनै सक्दैन
अविच्छिन्न यात्रालाई
सुरक्षा कवच ओढाउँदै
त्यसले वर्गीय विभेदको
दूरीसमेत मेटाउँछ ।
भन्छन् हराउनुको मजा नै
अरुभन्दा बेग्लै छ
प्राप्त हुँदा नपाएको चीज
गुमाउँदा प्राप्त हुन्छ
हुन त सन्दर्भसहित
आएको नग्नता
कहिलेकाहीं मीठो पनि सुनिन्छ
कलामय उज्यालोले
आनन्द उत्साहित पनि हुन्छ
साँच्चै नै अब हराउनुको
थप श्रृङ्खलामा
मोजाजस्तै
अरु कुराहरु पनि
हराउँदै गए भने के हुन्छ ?
प्रश्न छ
साँच्चै नै अब गुमाउनुको
निरन्तरता स्वरुप
मोजाजस्तै
अरु कुराहरु पनि
गुम्दै गए भने के हुन्छ ?
प्रश्न उठ्छ ।
बिप्लव प्रतिक – धरती र म
यही धरती हुँ म
जसरी यस धरतीलाई मान्छेको कुनै स्वार्थले
टुक्रयाएर अन्तरिक्षमा फ्यालिदिन सक्तैन,
त्यसैगरी मलाई पनि
तिम्रा कुनै पनि दबाब, घृणा र तिरस्कारजस्ता हतियारले
पर्छार्न सक्तैन ।
म आदिम युगदेखि नै आगोको रूपमा छु
म आदिम युगदेखि नै पानीको रूपमा छु,
म पञ्चतत्व हुँ, म प्रकृति हुँ, म शाश्वत सत्य हुँ ।
मलाई कुनै लोभले उत्तेजित गराउन्न
मलाई कुनै तिरस्कारले विक्षिप्त पार्दैन
म गति हुँ, अगाडि बढिरहन्छु
म ऊर्जा हुँ, शक्ति बनिरहन्छु
मेरो आकार छैन, म हरेक छ्रि्रमा अटाउँछु
म पृथ्वीभित्रै अटाउँछु
मेरो अनुहार छैन, म हरछेउ हरपुछारका
हर अनुहारमा प्रस्फुरित छु ।
सबले मलाई त्यही धरती माने हुन्छ
जसरी त्यस धरतीलाई मान्छेको कुनै स्वार्थले
टुक्रयाएर अन्तरिक्षमा फ्यालिदिन सक्दैन
त्यसैगरी मलाई पनि
तिम्रा कुनै दबाब, घृणा र तिरस्कारजस्ता हतियारले
पर्छार्न सक्तैन ।
नयाँसडक, २९ जुलाई १९८८
हरिभक्त कटुवाल – यो जिन्दगी खै के जिन्दगी
यो जिन्दगी खै के जिन्दगी !
भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी !
बन्दुकको नालमा टाउको राखेर निदाउनु पर्छ यहाँ
खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ
आँखा चिम्लनु पनि जगजगी आँखा उर्घार्न पनि जगजगी
यो जिन्दगी खै के जिन्दगी
पसलमा सोकेशभित्र सजाएरराखेको
काँचको चुरा जस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दाचढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी!
रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी!
बाटामा हिँड्दाहिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी!
यो जिन्दगी खै के जिन्दगी!!
भवानी पौडेल – जीवनका मूल्यहरू
जीवन अस्ताउँछ
अस्ताउँदैनन् जीवनका मूल्यहरू
जीवन ढल्दछ
ढल्दैनन् जीवनका रंगहरू
फूल झर्दछ
झर्दैनन् फूलका सुवासहरू
फूल मर्दछ
मर्दैनन् फूलका सौन्दर्यहरू
हिम बग्दछ
बग्दैनन् हिमालका शिखरहरू
नदी बग्दछ
बग्दैनन् नदीका गतिहरू
धुवाँ उड्दछ
उड्दैनन् आगोका रापहरू
बादल फाट्दछ
फाट्दैनन् सगरका छातीहरू
घाम डुब्दछ
डुब्दैन उज्याला दिनहरू
छाल उर्लिन्छन्
उर्लन्नन् सागरका गुणहरू
नासिन्छन् वस्तुका रूपहरू
मासिन्छन् वस्तुका शरीरहरू
तर मर्दैनन् वस्तुका गुणहरू
त्यसैले
तिमी जुन रंगको भए पनि
तिमी जुन जातको भए पनि
तिमी जुन भाषाको भए पनि
तिमी जुन वर्गको भए पनि
मान्छेका जात हौ तिमी
फगत मान्छेका जात
गोड तिमीभित्रका ऐजेरूहरू
फाल स्वार्थका काँडाहरू
रोप मानवताका मूल्यहरू
उठाउ सेवाका हातहरू
टंक सुब्बा – सम्मोहन
हरेक दिन यो सडकमा ओहोर दोहोर गर्दा
थुप्रै थुप्रै र्इच्छा आकांक्षहरु फूलेको देख्छु
सपनाहरु झुलेको देख्छु
त्यसै वेला मैले टेक्दै गरेका सडकहरुले
आकार वदल्न थाल्छन्
दिशा परिवर्तन गर्न थाल्छन्
तव मैले नसोचेको परिस्थिती
मडारिएर आईदिन्छ
अनि त्यसले वेस्सरी कुल्चिन्छ
थाहा थिएन यहाँ यस्तै होला भनेर
तर हिड्दै जाँदा
अनगिन्ति चोटहरु सहन पुगे
अनगिन्ति दुखहरु भोग्न पुगे
लाग्थ्यो अव कसरी हिड्ने होला
यी सडकहरुमा ?
जहाँ अनेकौ वाधाहरुछन्
जहाँ अनेकौ अड्चनहरुछन्
तर त्यसलाई पन्छाएर हिड्नै पर्दोरहेछ
यसरी अप्ठ्याराहरुसँग
कतै ठोकिएर पनि
कतै चोईटिएर पनि
यात्राका क्रमहरु जोड्नै पर्दोरहेछ
लाग्थ्यो खुशीहरु कहिल्यै उदाउँने छैनन्
लाग्थ्यो आकांक्षहरु कहिल्यै छोइने छैनन्
तर उज्याला दिनहरुको आगमनले
सपनाहरु फूल्न थालेपछि
मैले नाप्दै गरेका सडकहरुले
आकार वदले पनि
दिशा परिवर्तन गरे पनि
मेरो उत्साह मरेन
मेरो यात्रा विथोलिएन
समयले अनेकौं प्राहार गरे पनि
मेरो बाच्ने र्इच्छा घटेन
वरु झन आशाका मुनाहरु पलाईरहे
तव नयाँ दिनहरुसँग सम्झौता गरेर
म हाँस्न मञ्जुर भैदिए
त्यसैले त विवशतामा पनि
सम्मोहित भएका छन् मेरा जिजीविषाहरु
प्रकाश थाम्सुहाङ – बाजेको कपुरथान
चढ्दै-चढ्दै उमेरको भयङ्कर उकालो
हिँड्दै बिसाउँदै जिजीविषाका पाइलाहरू
चपाएर रहर
भोग्नु भोगेर जिन्दगी
मेरा बाजे यतिबेला सुतेका छन्
यो सेतो सिमेन्टको कपुरथानमा
हो, म पनि सुत्नेछु यसरी नै
यसरी नै चिरनिद्रामा मेरो पनि बन्नेछ
यस्तै कपुरथान यस्तै फलैँचा
र
त्यो फलैँचाको दायाँ-बायाँ उमि्रएको
बर-पीपलको हाँगामा
मेरो सपना झ्ुण्डिएर आत्महत्या गरेको
देख्नेछ मेरो नातिले
म यतिबेला
मेरा बाजेको कपुरथानमा
शब्दको फूल चढाउँदैछु।
श्रीहरि फुयाँल – ओडार छोड्ने दिन
(मधुपर्क बैशाख, २०६७)
पैसाले पदले अपार मदले सारै घमण्डी बनी
ढाँचा-फुर्ति गरेर हिँड्छ मनुवा यस्तो र उस्तो भनी
सारै सुन्दर मूल्यवान बहुतै मैले बनाएँ घर
भन्दै फुल्दछ Continue reading “Shreehari Phuyal – Odhar Chhodne Din”
माधबप्रसाद घिमिरे – आजै र राती के देखेँ सपना
आजै र राती के देखेँ सपना मै मरी गएको
बतास बिना हांगाको फूल भुइँ झरी गएको
मर्स्याङ्ग्दी नदी नरमाईलो सुसाई रहेको
कहाँ हो कहाँ बादल भित्र म रोई रहेको
वारि Continue reading “Madhav Prasad Ghimire – Aajai Ra Raati Ke Dekhen Sapana”