Komal Shrestha Malla – Hasi Hasi Ude Ude Ma (Nepali Geet)

कोमल श्रेष्ठ मल्ल – हासी हासी उडे उडे (गीत)

हासी हासी उडे उडे … म
नाची नाची खुले खुले … म
पिरतीको चोखो चोखो
योवनको धोको धोको
फिजाउदै डुले डुले डुले डुले म ।

मन्द मन्द सुवासको
बाचा बन्धन Continue reading “Komal Shrestha Malla – Hasi Hasi Ude Ude Ma (Nepali Geet)”

Dr. Bhola Rijal – Maina Ye Maina

डा. भोला रिजाल – मैना ए मैना

मैना ए मैना तेरो कोही पनि आफ्नो छैन
तँलाई मान्छेले पिँजडामा थुनिराखेको
मैना ए मैना तेरो आफ्नै जीवन छैन
तँलाई जिन्दगीको जन्जीरले बाँधिराखेको

उड्ने रहर कति होला तँ चरीलाई वन
कति छाती पोल्दो होला कति रोला मन
मिर्मिरेको शीतको थोपा झुल्ले घामको ऐना
एक्लै रुन लेख्या रे’छ कठै तँलाई मैना

कुन्जिएर बस्नु पर्ने कस्तो तेरो कर्म
मनमनमा गुम्स्यो होला तेरो मनको मर्म
बुझ्ने कसले तेरो पीडा वनकी प्यारी चरी
कसले भन्ला संसारमा तँलाई कठैबरी

शब्द: डा. भोला रिजाल
स्वर: उदितनारायण झा
संगीत: सम्भुजित बासकोटा

Ghamaraj Luintel – Singha Darbar Ko Kera

घमराज लुईंटेल – सिंहदरबारको केरा
(Source: नेपाल साप्ताहिक)

कुकुर छिर्नसमेत पास चाहिने सिंहदरबारमा
एउटा केराको बोट गर्वले उभिएको छ
नेता र कर्मचारीहरूको आशीर्वादमा
बटुवाहरूलाई शक्तिको धमास छर्दैछ ।

यसका पहेँला पात
सिंहदरबारको कमसल शासन लाग्छन्
यसका हरिया पात
सिंहदरबारको मौलाएको भ्रष्टाचार लाग्छन्
यसको जबरजस्ती अडिएको बुँगो
सिंहदरबारको कुर्सी लाग्छ
अनि, पलाइरहेका हरिया कांगिया
भर्खरै बजेट भाषणबाट बढेको करझैँ लाग्छन्
बढिरहेको यसको गुबो
अकासिएको महँगी लाग्छ
हृष्टपुष्ट थाम
स्वयं कुशासनको प्रतिमूर्ति ।

सिंहदरबारको केराका पात
सधैँ ‘छैन, छैन’को संकेतमा हल्लिन्छन्
मानौँ, मन्त्रीले हात हल्लाएजस्तो !
सिंहदरबारको केरामा लागेको फल
आमबटुवाले हेर्न पाउनु नै अहोभाग्य !
यसको फल चाख्ने-
पर्खालभित्रैका थोरै भाग्यमानी छन्
सिंहदरबारको ओत र स्रोत पनि
भित्रैका मुट्ठीभरहरूकै लागि मात्रै त हो ।

लाग्छ,
सिंहदरबारको केरा
सिंहदरबारकै प्रतिमूर्ति हो
जहाँ सिंहदरबार मात्रै मौलाउँछ
जनता सधैँ दुब्लाउँछन्
जहाँ सिंहदरबार मात्रै जित्छ
जनता सधैँ हारिरहन्छन् ।

Hemanta Pardeshi – Kahan Jaun Ma Desh Khojna

हेमन्त परदेशी – कहाँ जाऊँ म देश खोज्न

देश नै जनता
र,
जनता नै देश !
कहिँ सुने जस्तो
कतै पढे जस्तो
तर बिस्मृत छन्
मेरा मानसपटलहरु
सुषविताबाट
क्षयग्रस्त बने जस्तै ।

तपाईलाई थाहा छ?
तपाईलाई पो थाहा छ कि?
सडक सडक

गल्ली गल्लीहरुमा
एक्लै भौतारिँदै
प्रश्नै प्रश्नहरुको
तुल टाँग्दैछु म l
सहरका होर्डिङ्गबोर्डहरुमा
बियर र चाउ चाउको
बिज्ञापन टाँगे जस्तै ।

सामयिक खोज
समादृत प्रश्न
हार्दिक बधाई दाइ/भाइ !
बधाई र शुभकामनाका
अनगिन्ती शब्दका पोकाहरुले
टन्न भरिएको
गह्रुँङ्गो झोला
पिठ्यूँमा बोकेर
यौटा अपरिमित
सडकको दुरी
निरन्तर नापिरहेकोछु म
ओलाङ्चुङ्ग गोलाका
खम्बा भोटेहरुले नुन बोकाएर
उकाली ओराली गराइरहेका
लेकाली ‘याकहरु’ जस्तै ।

ए मूर्ख मान्छे !
सडक र गल्लीहरुमा
खोजेर पनि पाइने चिज हो र ?
देश र जनताको
अर्थ र परिभाषा ?
म भित्रको ‘म’ ले
मलाई नै प्रश्न गर्छ
अनायसै झस्किन्छु म
आफ्नै प्रतिविम्वसँग l
आफ्नै छाँया देखेर तर्सिएको
खरायो र सिंहको कथाको
मूख्य पात्र बुद्धु सिंह जस्तै ।

पुग्छु म सिंहदरबार
नियाल्छु एक एक दृश्य
खोइ देश?
कहाँ छन् जनता?
सबै अरुकै ईशारामा नाँचिरहेका
नर्तकीहरु देखेर
आश्चर्यचकित हुन्छु म
अब कहाँ जाऊँ?
के गरौँ म?
बेस्सरी अलमलिन्छु l
मेरा थकित पाइलाहरु
पुन: लम्किन्छन्
आफ्नै गाउँ-बस्तीतिर
आहा ! जनता नै जनताको लस्कर
भावमङ्गित हुन्छु म अनायसै
र ,
नियाल्न थाल्छु
प्रत्येक अनुहारहरुलाई l
तर अफसोच !
कहिँ कतै देशको चित्र देख्दिन म
ती अनुहारहरुमा l
मिथ्या लाग्छन् मलाई
देश नै जनता
र ,
जनता नै देश-को परिभाषा l
मानौ जनता हरु
फगत न्यूरोडमा बेच्न राखिएका
बिभिन्न मानवाकृतिमा कुँदिएका
हस्तकलाका सामानहरु मात्रै हुन् ।

अब कहाँ जाऊँ म देश खोज्न ?
सडक?
गल्ली?
सिंहदरबार?
मेरो गाउँ-बस्ती?
अझै अनुत्तरित छन्
मेरा प्रश्नहरु आफैसित ।

Narayan Tiwari – Mausam Ko Kunai Bharosa Chhaina

नारायण तिवारी – मौसमको कुनै भरोसा छैन

कालो बादल मडारिंदै छ
चट्याङ पो पर्ने हो कि !
थाप्लामा हात राख्छु म
घरी शहीद सम्झन्छु
घरी शहीदका परिवार
आ“खा बारम्बार रसाउ“छन्
किन निरन्तर ओठमा मुस्कानको आशा छैन
सायद नियति यस्तै छ हाम्रो

यहा“ मौसमको कुनै भरोसा छैन…. ।
बन्द छ युद्धको शिविर यस बेला
युद्धवीरहरू बिचरा !
घामको न्यानो ताप्दै छन्
कोही कौरव छैनन्
कोही पाण्डव छैनन्
सबै अङ्कमालमा व्यस्त छन्
यस बेला
कृष्णजीहरू ‘माखन’ (सायद नौनी ?)
खाइरहेछन् खुलेआम ….
गर्व गर्दै बिचरा कृष्णहरू
कि युद्ध त सुदर्शन चक्रकै खेला हो
शहीद– प्रसङ्ग…. सब वाहियात,
बेकार झेला हो
बिचरा हुस्सू पाण्डवहरू
‘हुस्सू’ले छोप्न– छोप्न लाग्दा पनि
अन्ठाउ“छन्
बिचरा स्वनामधन्य युद्धवीरहरू
कालो– कालो घुरमैलो फोहरी मेघको
गड्याङ– गुडुङलाई
आफ्नो विजय– उत्सवको प्रतिध्वनित बाजाको
भ्रम पाल्दछन्
मानौं ‘पुसकी रात’** को जाडोमा
एउटा गरिब किसान रखवारीमा
जो रातभरि आफ्नो बाली सखाप हु“दा पनि
केही नभएको भ्रम पाल्न विवश छ
तर स्वनामधन्य हाम्रा वीरहरू
कसरी मानिहालौं निरीह छन्, विवश छन् ?

थाप्लामा हात राख्छु म
मस्तिष्क घुम्छ मेरो
जुलुस सम्झिन्छु,
शहीद सम्झिन्छु
मुटु रुन्छ, तर यो रुन्चे मनको
कुरा कसले सुन्छ ?
मनलाई बुझाउने पनि कुनै आशा छैन
दुर्गति भनौं कि नियति
यहा“ मौसमको कुनै भरोसा छैन… ।

भर्खर–भर्खर
लागेको यो पातलै घाम
छोप्न उद्यत छन् स्वयम् युद्धवीरहरू
स्वार्थको ‘न्यानो’ ताप्दै
र कुहिरो आउ“दै छ
जिस्क्याउ“दै जा“दै छ
मेघ गर्जिंदै छ
तर्साउन– तर्साउन खोज्दै
यस्तैमा म
शहीद सोचिरहेछु–
कुहिरोभित्र छोपिने स्थितिमा बिचरा
निरीह शहीद !
तिम्रो नाममा दुई थोपा आ“सु चुहाउ“दै…
तिमीले सुम्पिएको यो घाममा
दुई थोपा आ“सु चुहाउ“दै…
थाप्लामा हात राख्छु म,
घाम अझै झलमल्ल लाग्दै जाने कुनै आशा छैन
कालो बादल मडारिंदैछ
यहा“ मौसमको कुने भरोसा छैन..
(** भारतीय साहित्यकार प्रेमचन्दको प्रसिद्ध कथा)

Dipendra KC – Desh, Buddha Ra Duryodhan Haru

दीपेन्द्र के. सी. – देश, बुद्ध र दुर्योधनहरु

कसले भन्छ हँ ?
यो देश
बुद्धको देश हो
गलत !
सरासर गलत !!

यो त
काजी भीम मल्लले
मृत्यु पुरस्कार पाएको,
जँग बहादुरको कोत पर्व हुदै
हिंसाको रगतले नुहाएर
१७ हजार वलीले ढाडिएको
हिंउदको अजिँगर झै
आरामसाथ निदाएको
देश पनि हो ;

अहिले एउटै भय छ
कहिले व्यँझिने हो ?

बहुलाएको राजनीति
निर्वस्त्र सरकार
जारी गर्छन सरकारी प्रवक्ता !
असत्य र बक्रशैलीका शन्देस
देशवासीका नाममा,
सँधै भट्ट पुजारीले
प्रसादसँग आशीर्वाद साटेर
भट्याएको मन्त्रजस्तै
केवल !
उनैका लागि
जनताको भोग खान
शहीदको वलि चढाएर
धेरैले शासन चलाएको
देश हो यो ।

कठै कहाँ हुनु
यो देश बुद्धको ।

यो देश
बुद्धको देशै होइन
बुद्धले टेकेको भूमिमात्रै हो
बुद्धको पाइला भएर मात्रै हुदैन
बुद्धत्व छैन यहाँ –
त्यसैले, यदाकदा
शकुनीको पासामा चलेको देश हो यो
यादवहरु साक्षी वसेपनि
यदुवंशी कृष्णहरुको देश होइन यो
जहाँ पासामा गडवडी भएपनि
निरीह कृष्ण !!

कहिलेसम्म हो कुन्नि ?
दुर्योधनले जवर्जस्ती चलाउन खोजेको
देश हो यो
अनि फेरि
महाभारत हुनसक्छ यहाँ कुनैपनि वेला
त्यसैले –
कसले भन्छ हँ ?
यो देश बुद्धको देश हो
सरासर गलत !

वरु अलि अलि यो सही हो
यो देश अलि अलि
शकुनीहरुको पनि हो
दुर्योधनहरुको पनि । ।

–दीपेन्द्र “अपजसी”

वागलुङ, हाल– ओस्टण्डे, बेल्जियम

Bibek Dulal Chhetri ‘Damak’ – Kumbhakarna Himal

विवेक दुलाल क्षेत्री “दमक” – कुम्भकर्ण हिमाल

मलाइ काट्टीकुट्टी
उ जस्तै उभ्याएर
कुम्भकर्ण हिमाल हिडेको धेरै भयो .

म टन्न अघाएको थिए
र स्थिर थिए
क्रमश बढ्दो थियो मेरो बैभबताको उचाई
क्रमश चुलिदो थियो मेरो अहम् .

तर
कुम्भकर्ण हिमाल भोको थियो
थुप्रै दिनदेखि खाना सम्म खाएको थिएन उसले
पानी समेत पिएको थिएन उसले .

शहरमा त उ नअडिन पनि सक्छ
फोहरदेखि सक्त एलर्जी थियो उसलाई
अधेरोमा उ नटिक्न पनि सक्छ
नराम्रो काममा दीलचश्बी थिएन उसलाई .

मन्दिरमा आउने जाने निस्छल अनुहारमा
तै कतै भेटियो भने अचम्म नमान्नु
कुनै असहायलाई हातले उठाउदै गरेको पाइयो भने
उसलाई पाएको सम्झनु .

थुप्रै दिनदेखि उसको अत्तोपत्तो छैन
र पनि सुन्छु
मैले गरेका गल्तीहरू पखाल्न उ श्रम गर्दै छ रे
र यो पनि सुन्छु
मान्छेमा असल सभ्यता सिकाउन
उ किताबहरूको अक्षरमै पढिने भएको छ रे .

अब महाशय ..!
मलाई नै आफूमा प्रक्षेपण गरेर
मेरै रूपमा हिडेको त्यो कुम्भकर्णलाइ
म बदलिएको खबर सुनाइ दिनु
म पहिले जस्तो इर्स्यालु ,विभेदकारी नरहेको कुरा बताई दिनु .

के थाहा यो सानो खुशीको कुराले उसको मन पग्लन्छ कि ?

किनभने –
मलाई काटिकुटी उ जस्तै उभ्याएर
कुम्भकर्ण हिमाल हिडेको धेरै भयो .

अस्तु :
दमक ,झापा
हाल :अबुधाबी ,यू ए ई .

Ishwar Ballav – Marijuana Ko Lat

ईश्वर बल्लभ – मेरिजुआनाको लत

पानी रोकिदिएकै हो
तलाउले, दहले कि पोखरीले
आखिर सागर पुग्नु भनेको त हो त्यसैले
बादल भएकै हो
शिखरमा परेका साँझ र सखारका किरणहरूसित
पानीले भिजेकै हो
शीतमा थोपा-थोपा परिणत भएकै हो
यस यात्रादेखिन्
उस यात्रासम्म
यहादेखिन् पर दूरन्तसम्म
सबै दिगन्तहरूसम्म, सबै सिमानाहरूसम्म
पुग्ने र जाने इच्छाहरू र क्षितिजमा वास बस्ने इच्छाहरूसम्म ।

आकाशका नीला-नीला भुवाहरू
कहिले सपना पनि भएका हुन्
कहिले बेँसी र लेक भएका हुन् यात्रामा
कहिले कुनै बिसौनी र विश्राम भएर ठाउँ-ठाउँ
रोकिएका हुन्
त्यहाँ देखिएका विम्ब र स्वरूपहरूमा कहिले
म आफूलाई अनुवाद गर्छु यसो हुनाले
तिमी के हौ म चिन्दिन
पलाँस र गुराँसको बोट लाग्छ, राता फूलहरू
गुलाबी, सेता र बैजनी फूलहरू ।

गुम्बजहरू
छानाहरू, ओतहरू र गुफाहरू
यात्राका बिसौनी र विश्रामहरू
भइगो
म पानी हुँ भने
म बगुँला यात्रामा
तिमी पानी हौ भने
तिमी एउटा लत हौ र मेरिजुआना ।

Siddhicharan Shrestha – Prem Ra Bibaha


सिद्धिचरण श्रेष्ठ – प्रेम र विवाह

पौडिरहेको माछा जस्तै
उडिरहेको चरा जस्तै,
दौडिरहेको समय जस्तै
उसले उसलाई देख्यो ।
पानीसँग गई उसले भन्यो-
“त्यो माछालाई समात्छु;”
आकाशसित गई जोड लगायो-
त्यो चरालाई पक्रन्छु;
महाकालसित गई बिन्ति चढायो-
समयलाई म रोक्छु ।
हुन्न कसैले पनि भनेनन्,
अनि ती दुवैको बिहे भयो ।

Dr. Mohan Prasad Joshi – Malai Deu Priya

डा. मोहनप्रसाद जोशी — मलाई देऊ प्रिय

घाम लागेपछि सबै देखेजस्तै,
बादल हटेपछि आकाश भेटेजस्तै
दृष्टि,
मलाई देऊ प्रिय !

सुत्न नपाएकाले निद्रा पाएजस्तै,
भोको मान्छेले पेटभर पाएजस्तै
तृप्ति,
मलाई देऊ प्रिय !

मनभित्र विचारहरु रित्तिएजस्तै,
लामो यात्रापछि घर भित्रिएजस्तै
शान्ति,
मलाई देऊ प्रिय !

पुरानो बन्दीले छुट्न पाएजस्तै,
बिझेको काँडा निस्केर गएजस्तै
मुक्ति,
मलाई देऊ प्रिय !

आमाको दूध बच्चाले पाएजस्तै,
रोग निको भएर फुर्ती आएजस्तै
शक्ति,
मलाई देऊ प्रिय !

मन्दिरमा पस्दा आँसु आएजस्तै,
आफूलाई हेर्दा आफैँ पाए जस्तै
भक्ति,
मलाई देऊ प्रिय !

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको | डा. जोशीकै ‘कहाँ छ ठाउँ ‘ नामक गीति सङ्ग्रहमा पनि समावेश भएको | सङ्गीत: न्ह्यू बज्राचार्य, स्वर: रामकृष्ण ढकाल |)

Binod Aryal – Samjhauta

विनोद अर्याल – सम्झौता
(मघुपर्क पुस, २०६८)

सम्पादकको सम्पादनबाट
भ्रूण हत्या भएर
काँचो वायु बनेको एउटा कविता
कविता लेखिरहेको मलाई पिर्न आयो ।
ऊ कहिले बत्ती निभाइ कागज उडाउथ्यो,
पूर्खाको नासो भनी Continue reading “Binod Aryal – Samjhauta”

Diyesh Ratna Shakya – Samabedana Ka Swar Haru

दियेश रत्न शाक्य – समबेदनाका स्वरहरू

त्यो पठार भूमिबाट
जब तिमी निस्प्राण भएर
कफिनमा सजिएर आयौ
नजाने तिमीसंगै
कति सपना
कति आकांक्षा
कति खुशी
कति रहरहरूको
प्राणपखेरु उडेको छ

म अनुमान गर्न सक्छु
तिम्रो मृत्युको खबर
आफ्ना प्रियजनसमक्ष
कुन आँधीबेरी लिएर पस्यो होला
अनि हरेकपल्ट तिम्रो आगमनमा
आँखाले भ्याएसम्म बाटोभरी
बैंसको मुस्कान छरेर
अटुट बन्धनको गुँरास बिछ्याएर
पर्खिबस्ने मायालु मनहरूमा
यो खबर कुन बज्रपात बनेर पस्यो होला

विस्फोटसंग विवश हुँदै
मृत्यु अँगाल्नु पर्ने यो सजाय
आखिर तिम्रो के दोषको लागि थियो
तिमी
फरक अनुहारको हुनु
फरक भुगोलको हुनु
फरक धर्मको हुनु
अथवा
डर्टी, डिफिकल्टी र डेन्जरससंग लड्न
तिमी जन्मजात
बहादुर र साहसी हुनु
जोशिलो र जाँगरिलो हुनु

ओ! बिस्फोटको जिम्मा लिनेहरू हो
म मेरा यी प्रश्नहरूको जवाफ चाहन्छु
निहत्था
निर्दोष
मान्छेका लाश गनेर
आखिर कुन युद्ध जितिन्छ?
अथवा
कुन भगवान खुशी हुन्छ?

(राजधानी दैनिक २०७३/७/१३मा प्रकाशित)

Diyesh Ratna Shakya – Aago Bandai Chhu Ma

दियेश रत्न शाक्य – आगो बन्दैछु म

तिम्रो सत्ता उन्माद
र उत्पीडनमा
हदैसम्म पिल्सिएर
असहमति
र चरम असहमतिमा
म आगो भएको छु आगो
किनकी मलाई जलाउनु छ
निहत्था
मतिर सोझिरहेको बन्दुक
निमुखा
मलाई घोचिरहेको कानुन

केवल दुई छाक चुल्होचौकाकोलागि
आगो खोज्न हिडेको म
आज आफैं आगो बनेर फर्केको छु
आगो भएको छु आगो

म त शान्त हिमाल
हाँसेको देशको मान्छे
हिमनदी ,झरना र पानीको देशको मान्छे
यहीँको चिसोमा रम्न चाहेको मान्छे
यहीँको शितलतामा जम्न चाहेको मान्छे
रहर नहुँदा नहुँदै पनि
तिम्रो ब्यवहारले आज
झिल्कोबाट फिलिंगो भएको छु
आगो भएको छु आगो

म कहिल्यै स्वीकार गर्न सक्दिनँ
तिम्रो
-जयनेपाल परिभाषाभित्र
लुकेको भागशान्ति
-लालसलाम परिभाषाभित्र
छिपेको मुर्दाशान्ति
-परिवर्तन परिभाषामा
जमेको सत्ता समीकरण

हरेक दिन तिमीले सुनाउने गरेको
राष्ट्रबादभन्दा कयौं गुणा बढी
मलाई मेरो देशको माया छ
यसैले डर लाग्छ
कतै यो देशको पानीको
आयतनभन्दा बढी
म आगो बनेर फैलिएँ भने
कतै थोरै बचेको
” हरियो बन नेपालको धन”
डढेलोमा सकिए भने
कतै हिमाल पग्लिएर होचिएर
कालो कुरुप बने भने
र संगसंगै हाम्रो अग्लो स्वाभिमान
सर्लक्क ढले भने
त्यो गल्ती तिम्रो हुन्छ कि मेरो ?
त्यो पराजय तिम्रो हुन्छ कि मेरो ?

K Acharya – Tyasai Garnu Parla

के. आचार्य – त्यसै गर्नु पर्ला

काँढा मिच्न नसकेनी फूल मिच्नु पर्ला
बाठा जित्त्न असम्भव छ लाटै जित्नु पर्ला
काम, क्रोध, लोभ, मोह जन्मैदेखि साथी
यिनैसंग मित्र गांसी जीवन जिउनु पर्ला

मान्छेको बजारमा राम भेटीएन
भेटनै परे आखीरमा रावण बन्नु पर्ला
पुस्तौपुस्ता विति सके यही थोत्रो घरमा
नयाँ घरमा बस्न चाहे सल्काई दिनु पर्ला

उस्ले उल्ले, तैले मैले भन्नै हुन्न यहाँ
भनिएछ कतै भने एक्लो बन्नु पर्ला
यनतेन टिलपिल गर्ने यै छ एउटा दीयो
निभी हाल्यो भने कतै छाम् छुम् गर्नु पर्ला

Komal Shrestha Malla – Jasto Ghaat Ustai Haat (Nepali Gajal)

कोमल श्रेष्ट मल्ल – जस्तो घात उस्तै हात (गजल)

जस्तो घात उस्तै हात छुटेपछि साथ
नजिक टाढा के कुन्नी छैन कुनै बात

फूलै फूल केहो जात किन छोप्छ रात
सोध्छ किन छिन छिन भित्र भित्र आत

भोग पियास कस्तो लौ खिस्स हिस्स दाँत
कस्तो नसा नपियरै अङ्ग अङ्ग मात

अहो अहो तर्कनाको नदेखिने खात
नजिक टाढा के कुन्नी छैन कुनै बात

Bhanuraj Aryal – Bukhyancha Ko Desh Ma

भानुराज अर्याल – बुख्याँचाको देशमा

अलि अक्करे भिरमा
कुनै आली मरेको लाशहरुले
कुनै अधकल्चो लाशहरुले
गह्राहरु छुट्टयाईएका
एउटा सानो खेत,
जहाँ,
जताततै सिनो गन्हाइराऽछ,
आलीहरुमा खुँखार देखिने
सयौं गिद्धहरु
लाश लुछन् झगडा गर्दैछन,
वरिपरि व्वाँसाहरु
मौका कुर्दैछन र खुशी छन ।

खेतभर छरिएका छन
अचम्म लाग्दा बोटहरु
कुनै निख्खर राता
कुनै राता-पहेँला
कुनै निला,
र, रगतका फाल्सा जस्ता
अश्लिल निसास्सिने पानीहरु ।

यी अराजक खेतका वर्णनविच
रातो हाँडीको टाउकोमा
पट्यारलाग्दा
काला
मसानका गोलहरुले
आँखा, नाक बनाइएको
तर कान नभएको,
ताइचीन परालको जीउ बनाएर
जुटले खुकुलो संग
बाँधिएको
कमलपित्ते रंगको
बाहुला नभएको
आधा रातो आधा पहेँलो
माग्ने कमिज लगाएर
एक बुख्याँचा
राखिएको छ।

यो समय त्रासदमा
गाउँ कोलाहल छ
र, सहर भित्र
गोपाल, भूपी र बिक्रमहरु
झक्झकाइ रहेछन
तैपनि सहर
कट्टु पनि नलगाई
दिउँसै भट्टीमा
कोक संग म:म: चपाई रहेछ ।

Kapil Lamichhane – Fohor Ko Thupro Bata Ke Khojchha U (Nepali Baal Gajal)

कपिल लामिछाने – फोहोरको, थुप्राबाट के खोज्छ ऊ

फोहोरको, थुप्राबाट के खोज्छ ऊ ?
मजस्तै, पढ्ने बेला, के सोच्छ ऊ ?

झुत्रे झ्यामरे तर ममी, मैजस्तो नै
थोत्रो बोरा थुप्रा बाट के रोज्छ ऊ ?

जाडो कडा त्यतिकै छ, छ तुषारो
थुरथुर काम्दै दिनभरी के छोप्छ ऊ ?

किताब कापी, झोलाभरि, मेरा छन् नि
पढ्नु छैन बोरामा पो के बोक्छ ऊ ?

मीठो-मीठो खानेकुरा म त खान्छु
खालीपेट दाँत के टोक्छ ऊ?

 

Kedar Sanket – Rukh Dhaleko Chhaina

केदार संकेत – रुख ढलेको छैन

इतिहासको पाना पल्टाएर
एकथरीले लेखे / भने
उहिले उहिले
सबैले हाम्रो गाँउमा रुख मौलाएको कुरा
दरो जरा गाडेको कुरा
त्यो रुखको बिगतका हाँगाहरुबाट
अमृत फल फल्दै गर्दा
पटक पटक
बिसाक्त फल फलेको कुरा
भाच्चिएको र लछारिएको र पछारिएको
तर कहिल्लै जरा नउखेलिएको कुरा
अर्थात काटेर नफालिएको कुरा ।

अर्का थरीले लेखे / भने
हेक्का राखेस्:
रुख ढलेको छैन
रुख उखेलिएको छैन
– मात्र पात झरेको छ
– मात्र फल कुहिएको छ
– मात्र केही हाँगाहरु लछारिएका छन्
यदि रुख ढलेको भए
रुखको जराहरु पनि उखेलिनु पर्ने हो
त्यो भएको छैन
गाउलेहरु यस्तै भन्छन्
गणतन्त्रले मात्र हाम्रा गाँउमा
नयाँ मुजुरामए रुख
के रोपिन्थ्यो र
किनकि यहाँ
एउटा रुख ढले पनि
अरु थुप्रै बुढोरुखहरु ढलेकै छैनन् ।

Baidyanath Upadhyaya – Paisa Ko Lagi

वैद्यनाथ उपाध्याय – पैसा को लागि

कैयौं टूक्राहरूमा बाँडिएर
बाँच्न अभ्यस्त छौं
हामी
सीसा जस्तै
टूटतछन
हाम्रा संकल्पहरू
हाम्रो आशा
जीऊँछौं
लक्ष्यहीन,उद्देश्यहीन
बेसूर भएर
इमानलाई दबाएर
झूठको बैशाखीमा खडा भएर
आफैंलाई ऊँचा देखाउने
ढोंग सीकेका छौं
हामीले
जीवनलाई ढाल्यौं
एउटा मशीन सरह
यस दौरमा
हामीले बाँच्न भूल्यौं
केवल मरिरहेछौं
पैसाको लागि।

Dipendra KC – Balirahechhu Ma

दीपेन्द्र के.सी. – बलिरहेछु म

आज बलिरहेछु म
न्यानो दिन कसैलाई
उज्यालो दिन कसैलाई ।

बलिरहन आगो –
जल्नुपर्ने रहेछ कोही
जीन्दगीको खलियानबाट
झिकिएर घरीघरी
सल्किरहेछु दाउरा झैं ।

भन त –
के सम्झिन्छौ मलाई
आगो निभीसकेपछि पनि ?
न्यानो
सेलाइसके पछि पनि ?

जतिवेला धुँवाले
सँकेत गर्नेछैन
मेरो मृत्युको ।

आज बलिरहेछु म
न्यानो दिन कसैलाई
उज्यालो दिन कसैलाई ।

बागलुङ, हाल ओस्टण्डे बेल्जियम