शरण आँसु – मेरो गाउँ
घंगारुको लौरो टेकेर
घैयावनको उकालो चढ्दै जानुस्
तपाईं मेरो गाउँमै पुग्न सक्नुहुनेछ ।
क्लान्त छ – मेरो गाउँ
तर
तपाईंको मनलाई यसले
शान्त बनाउँछ ।
नडराउनु होला नि –
रोइलाको चुलेसी स्वरले तपाईंको
मन काटिंदा ।
जति काटियो,
उति पलाउँछ गाउँमा त मन मान्छेको ।
बाटोमा चात्रो हालेर
छोट्टीहरूले तपाईंको
बाटो छेक्ने छन् ।
अलिकति उज्यालो दिएर
जानु होला है ।
दु:खका पाँजा बटुलेर-
दु:खकै बिटा लाउन हिंडेका
दयेंराहरूले सोध्नेछन् तपाईंसित-
के सुखको स्वाद पनि यो
लामपाते सुर्तीकै जस्तो हुन्छ र ?
प्रत्युत्तरमा कृपया
हाँसोमात्रै फ्यास्स फालेर
नहिंड्नु होला है ।
एक हुल हरिया चराहरू
बिरानो ठानेर तपाईंलाई
ठुङ्ग्न आउन सक्छन् ।
सहृदयताको हरियै आँखाले
हेरी दिनु है ।
छाउँकीहरूको पीडा गीत
प्रेमगीत सम्झेर
कहिल्यै पनि नगाउनु होला है !
सबै गीतहरू गाउनकै लागि हुँदैनन् ।
थुम्कीमा पाती चढाउँदै
हात जोड्न नभुल्नु है !
तपाईंको हार्दिक नमस्ते
फर्काउने छ छिग्रो पाखोले
खुसी नै खुसीका घामहरूको
घमस्ते शैलीमा ।
तपाईंको अभिवादन
ग्रहण गरेर
गाउँ बोल्नेछ –
जय नेपाल ।
गुन्द्री तानेर पिंडीमा
बस्नु होला है !!