Yatiraj Ajanabee – Shanti Aainan

यतिराज अजनबी – शान्ति आइनन्

अणु बमको बिष्फोट संगै
धुजा धुजा भएर च्यातिएकी,
पिइसकेको रक्सीको बोतलसंगै फ्यालिएकी,
फुत्किएकी मेसिन् गन मिजाइलहरूबाट,
त्यो कोलाहलदेखि
ज्यानमारा बन्दी झैं
हिडेकी आश्रयको खोजीमा कहीं,
रावणले हरेकी सिता झैं
खोसिएकी मेरो जिन्दगीदेखि,
प्रचण्ड हुरीको चक्रब्यूहले रन्थन्याएकी,
आकस्मिक भीमकाय खहरेले लगारिएकी,
आज यी छातौराक बथानमा छैनन्
यी सुन्तलाले चुलिएका डोकामा छैनन्
छैनन् उनी यी तोते बोल्ने बालकका कोक्रामा
खोइ कता बिलाइन्
तापको रापले पग्लेको हिउँ झैं
पलकमै मलाई छोडेर एक्लै
गएकी शान्ति आइनन्

हिजो सम्म त्यही पाखामा आउँथिन्
मस्त मेरो नानीमा निदाउँथिन्
सुमसुम्याउँथिन् मेरा पाखुरा
पलाउँथिन् भएर आँकुरा
भर्दै हरियाली हराभरा
पुग्थिन् कहिले हिउँ फुल्ने टाकुरा,
क्यामेराको लेन्सले तान्यो भनूं
मैले क्यामेराम्यानलाई सोधें
उनलाई मैले एकान्तमा खोजें
उनलाई नै भेट्न भनेर वनपाखा धाएँ
खुप् कुरें भञ्ज्याङ चौतारीहरू
कतिपल्ट पुगें पानीका पँधेरीहरू
कति सल्काएँ दीपकमा रात्री अँधेरीहरू
सेकिएँ सकेसम्म
शिशिरका चिसा सिरेटाहरूसँग
उनकै स्वागतका निम्ति,
ह्याँगिंग गार्डनले मोहनी लायो भनूं
मैले उनलाई फूल-फूलमा खोजें
खोज्दै उनलाई म सगरमाथा पुगें
मैले ढुंगा पनि फुटाई हेरें
हेरें उनलाई प्यासिफिकको तरलतामा
तर उनी भेटिइनन्
हराइन् बितेको समय झैं
पलकमै मलाई छोडेर एक्लै
गएकी शान्ति आइनन्

भाद्र १० २०५७ चन्द्रगढी, झापा

(Sent to Sanjaal Corps Via Email)