Chetnath Harit – Sahidko Ragatle Polchha

चेतनाथ हरित – सहिदको रगतले पोल्छ !
(मधुपर्क २०६६ मंसिर)

सधैँ गन्गन् / निरन्तर पर्पर्
उही परिवेश, उनै आवाज
उही धरातल, उनै आत्मवञ्चना
हेर्दाहेर्दै/पर्खंदापर्खंदै
वाक्क लागेर जनता
लोकतन्त्रको देउरालीमा बसेर गम्दैछन्-
कि यिनका बोली र काममा सामिप्य आउने कहिले ?
यिनका द्वेष र अन्तरकलह सिद्धिने कहिले ?
‘सङ्गीत-कुर्सी-दौड’ जस्तै यी अनवरत दौडिरहेछन्
मक्किएका तिनै पुराना कुर्सी ताक्दैछन्/हानथाप गर्दैछन् !
जे बोल्छन्- त्यो गर्दैनन् हाम्रा नेताहरू
जे गर्छन्- त्यो पनि बोल्दैनन् हाम्रा नेताहरू
सहरमा एउटा कुरा गाउँमा अर्को कुरा
राजधानीमा उटा कुरा ‘गृहनगर’मा अर्को कुरा
सदनमा एउटा कुरा सडकमा अर्कै कुरा
ठाउँपिच्छे शब्द फरक र अर्कै कुरा गरेर
सनसनी मच्चाउनु यिनको नियति बनेको छ
सुनेर छक्क पर्दैछन्- ‘जनता’
देखेर अचम्मित बन्दैछन्- ‘भोटबैंक’
कि-
अब पनि भरोसामा नयाँ ‘खम्बाहरू’
यसरी नै अस्थिर रहन्छन् भने
अझै पनि आस्थाका नयाँ ‘धरोहरहरू’
वाणी र कर्ममा एकरूपता देखाउँदैनन् भने
सहिदको रगतले भत्भती पोल्नेछ तिनीहरूलाई !
‘जनमत’ ले सराप्नेछ अवसरवादी साइँदुवाहरूलाई !!

-गुल्मी, हालः काठमाडौँ