Narayan Tiwari – Man Paryo, Man Parena

नारायण तिवारी – मन पर्‍यो/मन परेन
(नेपाल साप्ताहिक ३७१)

तिमीले कोट-पाइन्ट लगाएको
मन पर्यो
राष्ट्रियता
पोसाकमा नखोजेको मन पर्यो
तर, बन्दुक बोकेको मन परेन
बन्दुकको धङ्धङीले अझै गाँजेको
मन परेन ।

तिमीले स-साना मानिसहरूको आँसु पुछ्छु भनेको
मन पर्यो
तिमीले देश बनाउँछु भनेको
मन पर्यो
तिमीले चेतनाको दियो बालेको
मन पर्यो
तर, बन्दुकले नै जितेको हो भनेको
मन परेन
बन्दुकले हारेको नस्वीकारेको
मन परेन ।

हिजो-
बन्दुक बोकेको मन परेन
आज-
बन्दुकको धङ्धङीले नछाडेको मन परेन ।

तिमीले आगो बोकेको मन पर्यो
आगो बालेको मन पर्यो
आगोले पोलेको मन परेन
त्यही आगोले डढाएको मन परेन…!