Damodar Pudasainee – Sabun

दामोदर पुडासैनी किशोर – साबुन

मलाई तिमीले
साबुन बनायौ
बिस्तारै चुम्यौ
दल्यौ बिस्तारै
आफ्ना अँग अँगमा
र,बगाइदियौ
ढलका दुर्गन्धी कुनाहरूमा
जुनबेला
असाध्यै हुर्केको थियो मेरो बैँश
म मा रँग थियो
मीठो मीठो सुगन्ध थियो
समातिहालुँ छोइहालुँझैँ लाग्ने
अरूभन्दा फरक अनुहार थियो
एक से एक नायिकाहरू उभिन्थे
कयौँ नायकहरू लाम लाग्थे
मेरो बिज्ञापनमा
ठीक त्यहीबेला तिमीले पारेका हौ मलाई
आफ्नो दह्रिलो मुठ्ठीमा
हाम्रो भेटमा
के मात्र गरेनौ तिमीले
नाँगियौ ,पुरै नाँगियौ
र ,निष्फिक्री खेलाइरह्यौ मलाई
मेरा पत्र पत्र नँग्याएर
मैले पनि
मायानै हो सबैकुरा भनेँ
तिम्रो अनुहार चुमेँ
सुमसुम्याएँ तिम्रा अँग अँग
मायामा घिन मानिन
तिम्रा मयलका लाप्सा
कचेराका पहाड बिरूध्द लडिरहेँ
तिम्रा र्याल, सिँगान ,पसिना र दूर्गन्धसँग घिन नमानी
लुटपुटिइरहें निरन्तर
तिम्रो खुशीको लागि
आफू खिइदै गएँ वास्ता गरिन
आफ्नो भन्ने सबै हरायो
वास्ता गरिन
तिमी एउटा उच्च प्रशासक
तिमी एउटा ठूलो नेता
तिमी आफूलाई पदेन बिद्वान मान्छौ
र घुमिरहन्छौ धूप अबिर गर्दै
शक्तिशाली धूरीखाँवो वरिपरि
तिम्रो देखाउँने र चपाउँने दाँत बेग्लै छ
म त निरिह जनता, निरिह मान्छे
तिमीलाई सफा सुग्घर र सुगन्धित पार्दैमा
बिताईरहेछु जिन्दगी
जलिरहेको मैनबत्ति जस्तै
आखिर म एउटा साबुन न हुँ
तिम्रो खुशीकोलागि
क्षण क्षणमा सिध्याइरहेछु जिन्दगी मेरो
तिमी भने बिना सँबेदना
एउटा जिन्दगीमा खेलवाड गरेर
नयाँ नयाँ रूप ,रँग र सुगन्धको खोजीमा
कहिले कता कहिले कता भौँतारिरहेछौ

-२०७५ पुस १७ गते सोमबार
ग्वँग:बुँ,नयाँबसपार्क ,काठमाडौ