Samarthya – Kaka Ko Dalin

सामर्थ्य – काकाको दलिन

फरक पर्दैन यो बाटो बेचियोस् बेरङ्गीन या रातो भएर;
सडकछेउका चियापसलहरु अबेरसम्म जाग्ने गरेकै छन्,
मदिराका बोतलहरु कुनै कम्युनिष्ट नामधारी दलझै बेपर्वाह फुट्ने गरेकै छन्,
फुटपाथमा रोपिएका कादम्बरी फूलका बिरुवाझैँ मुलुक फुल्ने कोशिशमा तत्पर छ,
तर फुल,केवल त्यसमा बनाइएका भ्रष्टाचारी माउ गौँथलीहरुले मात्र पारेका छन्;
विस्तारका नाममा,
फुटपाथ मिचिएको छ,
मिचिएको फुटपाथ
काकाको बलेसीकै साँधमा आइपुग्छ,
बलेसीमा झर्ने पानी कता बग्दछ उहाँलाई पत्तो छैन,
काकालाई थाहा छैन,
यो विस्तारले वाद अँगालेको
काकालाई यो पनि थाहा छैन,
बलेसीको पानी कसले काटेको,
तर उहाँलाई डर छ,
(उहाँको भाषामा-लोकतन्त्रे डर),
कि बाटो दुईतिर बाँडिदा
आघौँ कता राखेर धान दाउनी गर्ने,
कि माटो यसरी नै फाटिँदा
बा को वाक्य बस्नेबेलामा कता निकालेर विधिपूजा गर्ने,
बाटोलाई देश दाँज्ने हो भने,
देश
बुख्याँचा मन लिएर बसेको छ काकाको अगाडी माटो बनेर,
तर काका निश्चिन्त छन्,कारण,
उनलाई पनि भ्रम छ
कि देश बनाइने भोटले हो
तथाकथित वामपन्थी अठोटले हो,
त्यसैले काका निश्चिन्त छन्
अब
फरक पर्दैन उनलाई
देश ठिङ्ग उभियोस उनैको बाँकी बलेसीमा बाटो भएर,
फरक पर्दैन उनलाई यो बाटो बेचियोस् बेरङ्गीन या रातो भएर ॥

-सामर्थ्य