Samarthya – Hawa Haru

सामर्थ्य – हावाहरु

हावाहरुमा सत्तामोह
छ,
कणहरु यत्रतत्र छन्,
फुट्दै,
भेट्दै,
एकीकृत हुँदै
हावामा मिस्सिदै छन्,
सबैलाई यत्ति थाहा छ,
हावाबिना जिउन
बिछट्टै गाह्रो छ….
कणहरु व्यग्र छन्,
चियापसलमा,
भट्टीमा,
कणहरुकै हावा-सम्मेलन
हुन्छ,
कणहरु रक्सीका पेग
थप्तछन्,
तर
मात चढ्छ हावा
राजनीतिको…
भट्टीमै,
एक कण,
जसको छोरो बेपत्ता छ,
उस्का आफ्नै दस्तावेज
हुन्छन्,
प्रतिवेदन हुन्छन्,
भन्छ-
राजनीति नशा हो,
कारण,
उसको छोरो शहीद
नायक भएको छ,
अर्को कण,
उस्का भिन्नै आदर्श छन्,
फरक घोषणापत्र,
फरक प्रतिवेदन छन्,
भन्छ-
राजनीति जन्मदै एकखुट्टे
जन्मिएको कुखुरोको
उफ्राई हो,
कारण,
कणकै समाजबीच ऊ
नालायक भएको छ…
यसरी नै,
देशभरिका भट्टीबाट
विचार ओढेका कणहरु
तात्दछन्,
अनि हावा तात्दछ,
कणहरु बहकिन्छन्,
अनि हावाले गति पाउछ,
प्रक्रिया चलि नै रहन्छ,
फुट्दै,
भेट्दै,
एकीकृत हुदै,
वामपन्थी हावाहरुको
बृहत वाम एकता हुन्छ,
कणहरु एकीकृत हुन्छन्,
र बन्दछन् चट्टान,
हावाहरुमा चट्टान खेप्ने
तागत हुदैन….
चट्टान बाँच्नलाई हावा
चाहिन्न ।

-सामर्थ्य