Basudev Adhikari – Switzerland

वासुदेव अधिकारी – स्वीट्जरल्याण्ड

त्यति पर प्रकाश फाल्ने स्वीट्जरल्याण्ड
त्यति पर न्यानो पठाउने स्वीट्जरल्याण्ड
आफैँ किन कामेको जाडोले ?
घामको अस्पर्श पीडाले !

ज्ञानै ज्ञान
सीपै सीप
इमान्दारी नै इमान्दारी
कति पौडनु विश्लेषणमा ?
कति ब्यामोहित हुनु
राइन वा लिमत नदीको कञ्चन प्रवाहमा ?

स्वीट्जरल्याण्ड !
म आउनुपूर्व
तिमी नै आइपुगेका थियौ मेरो हृदयमा
चखाएका थियौ पसिनाको स्वाद
पठाएका थियौ पहाडको वास्ना
त्यतिखेरसम्म
हामी हिमाल हेरेर रुन्थ्यौँ (नाघ्न नसकेकोमा)
पहाड हेरेर पुर्पुरो बजाथ्र्याैँ(फुटाउन नसकेकोमा)
तिमी त पहाडलाई नै छेड्दा रहेछौ
हिमालको आभा फ्रेन्कमा बेच्दा रहेछौ
कति जानेका तिमीले
आफैँभित्रबाट उज्यालो झिक्न !
पहाडको कण कणबाट सौन्दर्य निकाल्न !

स्वीट्जरल्याण्ड !
हिजो अरु गफ बेच्थे÷रवाफ बेच्थे
तिमी हिजो भेडा पाल्थ्यौ
दूध कुरौनी बेच्थ्यौ
गफाडीहरु आज हतियार बेच्छन्
जनजनलाई लडाउँछन्
तिमी सीप र इमान प्रदर्शन गर्छौ
तैपनि पैसाको तुलो
तिमीतिरै ढल्किएको छ
मनको सुई तिमीतिरै फर्किएको छ

म अभिवादन गर्छु
पहाडबाट उदाएको यस ज्योतिलाई
ज्योति संवहन गर्ने हृदयको मोतीलाई